पृथ्वी रिसाइन्!
कहिले सुनामी बनेर, कहिले कट्रिना बनेर, कहिले कामिन भूकम्प भएर, कहिले थर्काइन्- बाढीपैरो बनेर, कहिले प्रचण्ड आगो ओकलिन्, कहिले चिसिइन्, बरफ बनेर।
मानवीय अतिका विरुद्ध संकेत गरिरहिन् । मान्छेले मात्र नदेखेझैं नबुझेझैं गरिरह्यो सदियौँसम्म। यो कोरोना अन्तिम चेतावनी हो। मान्छेहरुलाई सम्झाउने बुझाउने अवसर हो। आफ्नो अमूल्य धर्तीलाई पूजा गर्ने बेला हो। ८४ लाख योनिहरू सबैको साझा घर हो यो। मान्छे फगत तिनमा एउटा सानो प्राणी मात्र हो। किन धर्तीको विनाशमा यति धेरै लम्केको मान्छेको जात? वनस्पति जलचर कीट पतङ्ग सबैको अस्तित्व बिर्सिएको? जंगलहरु फ़ाँड्यो। पहाडहरु फोर्यो। धर्तीलाई छियाछिया पारेर छेड्यो। जमिनमुनि-जमिनमाथि आकाश-पाताल सबैले नपुगेर अब चन्द्रमा, मंगल ग्रह सबैमा आफ्ना कर्तुतहरु बढाउँदै छ- दिन दुई गुणा रात चौगुणा।
कोरोनाले विश्व नै त्राहिमाम भएर घरभित्र लुकिरहँदा मान्छेले अब त चेत्यो कि भन्ने लागेछ प्रकृतिलाई। मान्छेले अब त सिकेछ कि पाठ भन्ने लागेछ धर्तीलाई। मान्छे अब पूरै बदलियो भन्ने घोषणा गरेछ सफा आकाशले। सङ्गलिएका खोला खोल्सा, निस्फिक्री डुलिरहेका वनचर, थलचर सबै सबैलाई यो अनुपम शान्ति देखेर मनुवा यसरी बदलिएर आफ्नै आदिम लयमा फर्किएको घोषणा गरे।
यता मान्छेका बस्तीमा सभा सम्मेलन गर्न नपाए पनि प्रविधिको प्रयोगले जुम मिटिङहरु भए। विज्ञहरुले कार्बन न्यूनीकरण, नवीकरणीय ऊर्जा, साइकल लेन, इलेक्ट्रिक गाडी, सादा जीवन, योग, प्रकृति प्रेमका गीत गाए। कविहरु जुर्मुराए आआफ्ना धर्ती प्रेम लिएर छन्दमा बेछन्दमा सबै सबै निस्किए। धर्ती तीन छक्क पर्यो, यो अप्रत्याशित मान्छेको प्रकृति प्रेम र धर्तीको पूजा देखेर।
शनै शनै जब-जब लकडाउन खुल्न थाल्यो अनि देखियो शहर बजारमा भीड, रमाइला सामुन्द्रिक किनारका सुन्दर बीचमा मान्छेको जात ओइरियो। खायो पियो मोज गर्यो। लाखौँको संख्यामा थुप्रिएको त्यो हुलले गरेको विरूप दृश्य भोलिपल्ट पत्रिका र टेलिभिजनमा देखाइयो। फोहोरको डङ्गुर, मिल्क्याइएका क्यान, स्न्याकका पोका, बियर र रक्सीका सिसाहरुको डङ्गुरले मान्छेलाई जिस्क्याइरह्यो।
धर्ती, आकास, हिमाल, वनजंगल सबैले एकआपसमा कानेखुसी गरेर घोषणा गरे, यो मान्छेको जात कहिल्यै बद्लिँदैन, कहिल्यै सुध्रदैन।
(लेखकले नवीकरणीय ऊर्जामा बेलायतबाट विद्यावारिधि गरेका छन् ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।