शिव प्रसाद शर्मा सानैमा शिव भक्त थिए । उनी शिवप्रति दिलो ज्यानले पूजा गर्थे। १० बर्ष नपुग्दै बाउ बिते । अभिभावक नहुनुको पीडा एक थियो । पुरुष प्रमुख समाजमा बा को बिँडो छोराले थाम्नै पर्ने थियो । उनी पीडित बने । गाउँको खेतमा पहिरो लाग्यो  । पीडा झनै थपियो ।
शिवरात्रीको दिन थियो । एक जना पेशेवर धुम्रपान गर्नेले शिवको प्रसाद भनेर गाँजा पिलाए । मात्रा तथा धेरै प्रय‍ोगले आदत बन्य‍ो । उनी चिन्ताबाट मुक्त भए ।  गाँजामा खुशी हुने हर्मोन (डोपामाइन) हुन्छ भन्ने थाहा थिएन । एक दिन अचानक भैंसी लड्यो भन्ने खबर आयाे । उनी दिलज्यानले भ्याएसम्म दौडेर भैंसी बचाउन पुगे । जब घटनास्थल पुगे उनको शरीर पसिनाले निथ्रुक्क भिज्यो । शरीरमा सेरोटोनिन रसायन निस्क्यो । उनी त्यस दिन अति खुशी भए । अर्को दिनबाट गाँजा  चटक्क छोडे । खुशी हुन कार्यहरु लगातार गर्दा आउँदो रहेछ भन्ने थाहा भयो ।
यस बर्षमा पनि शिवरात्री भब्य मनाइयो । एक जना पश्चिमी डलरमा बिकेका एनजिओ प्रमुखले भने, “यस्ता धुम्रपान गर्ने, गाँजा तथा भाङ पिउने पर्व मानेर काम छैन।”
शिव प्रसाद शर्मालाई उनको विषय मन परेन ।
उनले सम्झाउँदै भने, “मात्रा मिल्यो भने हरेक पदार्थले सहयोग गर्छ । औषधी पनि ड्रगकै विषय हो । एक सर्को पो तान्ने हो । प्रसाद धेरै ग्रहण गर्छन् र ? “