भागः चौबिस, अंशः पाँच 

रेमन्ड आन्द्रुज साना हात, चिटिक्क पारेर काटिएको नङ्ग र साँहिली औंलामा वेडिङ रिङ्ग लगाएको होचो कदका मान्छे रहेछन् । उनले मसँग च्याप्प हात मिलाए । उनको सानो हात मलाई भँगेरो समातेर अँठ्याएको जस्तो लाग्यो । ती तीनै हातहरू हुन् जसमा  हाम्रो भाग्य निर्भर छ । उनको डेस्कको सामुन्ने शोहरब र म बसेपछि मेरो दिमागमा त्यस्तै सोचाइ आयो । आन्द्रूजको पछाडिपट्टि भित्तामा अमेरिकाको भौगोलिक (टोप्रोगाफिकल) नक्साको छेवैमा एउटा ‘लेस मिजरेबल्स’ को पोस्टर काँटी ठोकेर टाँसिएको थियो । झ्यालको चौकोसमा एउटा गमलामा गोलभेडाको रूखले घाम तापिरहेको थियो ।

“चुरोट तान्नुहुन्छ ?” उनले तिखो मध्यम स्वरमा सोधे जुन आवाज उनको सानो दुब्लो शरीर सुहाउँदो थिएन ।

“म चुरोट पिउँदिन, धन्यवाद, आन्द्रूजको नजर शोहरबमाथि मुस्किलले परेको थियो वा मसँग बोल्दा उसले मेरो मुखमा पनि हेरेको थिएन भन्ने सबै कुराको बेवास्ता गर्दै मैले भनेँ । उसले डेस्कको एउटा घर्रा खोल्यो र आधि सकिइसकेको बहट्टाबाट एउटा चुरोट निकालेर सल्कायो । त्यही घर्राबाट उसले एउटा लोसनको बोत्तल पनि निकाल्यो । ओठको कुनामा चुरोट अड्काएर हातमा लोसन दल्दाखेरि उसले त्यो गोलभेडाको रूखतिर हेर्यो । अनि उसले घर्रा बन्द गर्यो, डेस्कमाथि कुहिनो टेकाएर धुवाँ फूर्र उडायो । “अँ”, धुवाँको पिरोले आँखा खुम्च्याउँदै उसले भन्यो, “तपाईंको कुरा के हो मलाई भन्नुस्‌ ।’

मलाई जार्भेट (Jarvet) को सामुन्ने जाँ भाल्जाँ (Jean Vaijean) बसेको जस्तो भयो । म अहिले अमेरिकी माटो मै छु र यो मान्छेले मेरै समर्थन गर्छ र म जस्ता मान्छेलाई सहयोग गरे वापत उसले पैसा पाउने गरेको छ भनेर मैले आफैँलाई सम्झाएँ । “म यो फुच्चेलाई धर्मपुत्र बनाएर सँगै अमेरिका लिएर जान चाहन्छु,” मैले भनेँ ।

“तपाईंको समस्या के हो मलाई भन्नुस्‌,” चोरी औँलाले त्यो सफासँग मिलाएर राखेको डेस्कमा खसेको खरानी पुछ्दै, चुरोटको खरानी ट्र्यास क्यानमा फाल्दै उसले त्यही प्रश्न दोहोर्यायो ।

शोरायासँगको टेलिफोनमा कुरापछि मैले दिमागमा जेजे योजना बनाएको थिएँ सबै उसलाई बताएँ । म अफगानिस्तान आफ्नो सौताने भाइको छोरो लिन गएको थिएँ । मैले उसलाई बडो दर्दनाक अवस्थामा एउटा अनाथालयमा दिन खेर फ्याँकिरहेको अवस्थामा फेला पारेको थिएँ । मैले त्यो अनाथालयको डाइरेक्टरलाई केही पैसा दिएर केटोलाई फिर्ता ल्याएको थिएँ । अनि मैले उसलाई पाकिस्तान ल्याएको थिएँ ।

“तपाईं केटोको सौताने काका हो ?”

उसले घडी हेर्यो । ढल्किएर त्यो चौकोसमा रखेको गोलभेडाको गमलालाई घुमायो । “तपाईंले भनेको कुरा सत्य हो भनेर साक्षी बसिदिन सक्ने कसैलाई चिन्नुभएको छ त ?”

“चिनेको छु, तर उनी अहिले कहाँ छन्‌ म भन्न सक्दिनँ ।”

ऊ मतिर फर्कियो र टाउको तलमाथि हल्लायो । मैले उसको अनुहारको भाव पढ्न खोजेँ, तर सकिनँ । मैले उसले ती साना हातहरूले कहिल्यै काटपत्ति खेलेको थियो कि थिएन होला भनेर आश्चर्य मानेर सोचें ।

“म ठान्दछु कि तपाईंको ज हरू तारले बाँधिएको छ भन्ने कुनै भर्खरै बनाएको बनावटी कुरा होइन ।” शोहरब र म आपतमा परेका थियौँ भन्ने कुरा मैले त्यति खेरै बुझैँ । म पेशावरमा ठगिएको थिएँ भन्ने कुरा मैले उसलाई बताएँ ।

“ए हो त,” उसले भन्यो । उसले ‘अहँ गरेर घाँटी सफा गन्यो । “तपाईं मुस्लिम हो ?”

“हो ।”

“मुस्लिम बन्ने प्रयास गर्दै हुनुहुन्छ ?”

“हो ।’ साँचो कुरा के भने मैले अन्तिम पटक प्रार्थना गर्नलाई निधार भुइँमा कहिले टेकाएको थिएँ भन्ने मलाई सम्झना थिएन | अनि मैले त्यो समय सम्झिएँ । मैले त्यो काम डा. अमानीले बाबाको अन्तिम दिनको भविष्यवाणी गरेको दिन गरेको थिएँ | स्कुलमा सिकेका स्लोकहरू कताकती सम्झँदै म प्रार्थना गर्नै रगमा घुँडाले टेकेर घोप्टिएको थिएँ ।

“त्यसले तपाईंको केसमा सहयोग त पुन्याउँछ, तर धेरै होइन,” सर्लक्क मिलेको खैरो कपालको एक ठाउँमा कन्याउँदै उसले भन्यो ।

“तपाईंले के भन्न खोज्नु भएको ?” मैले सोधेँ । मैले शोहरबको हात समातेँ र उसका औँलाहरूसँग मेरा औँला जेलेँ । शोहरबले ट्वाल्ल पर्दै मलाई र आन्द्रूजलाई पालैपालो हेर्यो ।

“उत्तर धेरै लामो छ । मलाई थाहा छ कि यदि मैले यो सबै बताउन थालेँ भने म मासिन्छु । तपाईं पैले छोटो चाहिँ उत्तर सुन्न चाहनुहुन्छ हैन त ?”

“मलाई त्यस्तै लाग्छ,” मैले भनेँ ।

आन्द्रूजले चुपचाप केही नबोली चुरोट ठोसेर निभायो | ‘त्यो कुरालाई त्यागीदिनुस्‌ ।”

“मैले कुरो बुझिनँ ।’

“तपाईंले यो फुच्चेलाई धर्मपुत्र बनाउन पाउँ भनेर जुन निवेदन दिनुभएको छ नि, हो त्यसलाई त्यागिदिनुस्‌ । यो तपाईंलाई मेरो सल्लाह हो ।’

“मैले कुरो राम्रोसँग बुझे,” मैले भनेँ । “अब सायद तपाईं मलाई बताउनुहुन्छ होला किन ?”

“यसको मतलब तपाईं लामो उत्तर चहानुहुन्छ,” उसले मेरो झोक्किएको जस्तो स्वरलाई कुनै प्रतिक्रिया नजनाएर झर्किँदै भन्यो । उसले दुवै हत्केला जोडेर बेस्सरी दवायो मानौँ कि ऊ भर्जिन ग्यारीको अगाडि घुँडा टेक्दै थियो । “मानिलिउँ तपाईले मलाई सुनाएको कुरा सत्य हो तापनि म जागीर नै बाजी राखेर भन्न सक्छु कि त्यो कुराको धेरै जसो अंश कि त बनावटी हो या हटाइएको हो । तपाईंलाई ख्याल रहोस्‌ मलाई त्यसको कुनै वास्ता छैन । मुख्य कुरा के भने तपाईं पनि यहीँ हुनुहुन्छ र ऊ पनि यहीँ छ । त्यति हुँदाहुँदै पनि तपाईंको निवेदनले ठूलै झमेला झेल्नु पर्छ | यो बच्चो अनाथ हो भन्ने कुरा अलिकति पनि हो जस्तो लाग्दैन ।”

“एकदम हो ।’

“कानुनी प्रावधान अनुसार होइन ।”

“यसका बा-आमाको बाहिर सडकमै हत्या गरिएको थियो । त्यो छिमेकीहरूले देखेका थिए,” हामी अंग्रेजीमै बोलेकोमा खुसी हुँदै मैले भनेँ ।

“तपाईंसँग मृत्यु दर्ताको प्रमाण पत्र छ त ?”

“मृत्यु दर्ता रे ? हामीले कुरा गरिरहेको अफगानिस्तानको बारेमा हो । त्यहाँका धेरै मान्छेसँग मृत्यु दर्ताको त के कुरा जन्मदर्ताको पनि प्रमाणपत्र हुँदैन ।”

उसका चम्किला ती आँखा त्यति बढी झिम्किएनन्‌ | “कानुन मैले बनाउने होइन, महासय । तपाईंको रिसको बाबजुद पनि तपाईंले अझै पनि उसका बा-आमा मरेका हुन्‌ भन्ने कुरा प्रमाणित गर्न सक्नुपर्छ । केटोलाई ऊ अनाथ हो भन्ने कुरा कानुनी रूपमै प्रमाणित गर्न सक्नुपर्छ ।”

“तर…..”

“तपाईंले लामै उत्तर खोज्नुभएको थियो र म तपाईंलाई अब त्यो दिँदैछु । तपाईंको अर्को समस्या के हो भने तपाईंलाई यो बच्चा जन्मेको देशको सहयोग चाहिन्छ | अब अहिले जुन परिस्थिति विद्यमान छ त्यस अनुसार त्यो काम गर्न अलि्र अप्ठ्यारो छ । तपाईंकै शब्दमा भन्ने हो भने पनि हामीले कुरा गरेको अफगानिस्तानको बारेमा हो अरू होइन । काबुलमा अमेरिकी राजदूतावस पनि छैन । त्यसले झन काममा जटिलता थप्छ | झन्डै असम्भव जस्तै लाग्छ ।”

“के मैले यो बच्चोलाई फेरि सडकमै लगेर फालिदिनुपर्छ भन्न खोज्नुभएको हो तपाईंले ?” मैले भनेँ ।

“मैले त्यसो भनेको छैन ।”

“ऊ माथि यौन शोषण गरिएको थियो,” शोहरबले खुट्टामा लगाएको घुँघरु र उसको आँखाको गाजल सम्झँदै मैले भनेँ ।

“त्यो सुन्दा म दुःखी छु; आन्द्रजको मुखले बोल्यो । उसले मलाई हेरिरहेको थियो, त्यो देख्दा लाग्थ्यो मानौं हामी केही काम नपाएर मौसमको बारेमा कुरा गर्दै थियौं । “यो कुरा होला तर पनि त्यही एनएस ले यो फुच्चेलाई भिसा दिने वाला छैन ।”

“तपाई के भन्दै हुनुहुन्छ मैले त बुझिनँ ।”

म के भन्दै छु भने यदि तपाईं सहयोग चाहनुहुन्छ भने कुनै नाम चलेको सहयोगी (Relif) संस्थालाई पैसा पठाइदिनोस । शरणार्थी शिविरमा स्वेच्छिक सहयोग गर्नुहोस्‌, तर यो समयमा हामीले अमेरिकी नागरिकलाई अफगानी बच्चा धर्म पुत्र/पत्री बनाउन जोडदार रूपमा निरूत्साहित नै गर्छौ ।’

म जुरूक्क उठे | “आइज शोहरब,” मैले फारसीमा भनेँ । शोहरब फुत्त मेरो छेउमा आयो र टाउको मेरो हिपमा टेकायो | ऊ र हसन यसैगरी त्यो रङ्गीन फोटोमा उभिएको मलाई याद आयो | आन्द्रूस जीः म तपाईंलाई केही सोध्न सक्छु ?”

“एकदम सक्नुहुन्छ !”

“के तपाईंका छोराछोरीहरू छन्‌ ?”

पहिलो पटक बल्ल उसले नजर झुकायो |

अँ छन्‌ कि छैनन्‌ ? यो सजिलो प्रश्न हो ।

ऊ चुपचाप बस्यो ।

“मलाई त्यस्तै लाग्थ्यो, शोहरबको हात समात्दै मैले भनेँ । “तपाईंको कुर्चीमा यस्तो मान्छे ल्याएर राख्नुपर्छ जसले आफ्नो सन्तान नहुनेको मर्म बुझेको छ ।” म बाहिर निस्कनलाई फर्किएँ भने शोहरब लुरूलुरू मेरोपछि लाग्यो ।

“म तपाईंलाई एउटा प्रश्न सोध्न सक्छु ?” आन्द्रूज चर्को स्वरमा बोल्यो ।

“हुन्छ सोध्नुस्‌ !”

“के तपाईंले यो बच्चासँग म तँलाई लिएर जाने छु भनेर बाचा गरिसक्नु भएको छ ?”

“यदि मैले गरिसकेको छु भने पनि के फरक पर्छ त ?”

उसले टाउको हल्लायो । “बच्चाहरूसँग बाचा गर्नु भनेको बडो खतरनाक कुरा हो ।” उसले लामो सास तान्यो र डेस्कको घर्रा फेरि खोल्यो । “तपाईंले यो काम गरेरै छाड्ने सोच्नु भएको हो त ?” कागजपत्रहरू छामछुम गर्दै उसले भन्यो ।

“हो मैले गरेरै छाड्ने सोचेको छु ।”

उसले एउटा बिजनेस कार्ड देखायो । “म तपाईंलाई एउटा राम्रो ईभिग्रेसनको वकिल भेट्ने सल्लाह दिन्छु । ओमार फैसलले यहाँ ईश्लामाबादमा काम गर्छन्‌ । तपाईंले उनीसँग मैले पठाएर आएको भनेर भन्नु ।”

मैले उसको हातबाट कार्ड लिएँ । “धन्यवाद”, मैले सुस्तरी भनें ।

“तपाईंलाई भाग्यले साथ देओस्‌,” उसले भन्यो । जब हामी कोठा बाहिर निस्क्यौं, मैले टाउको उठाएर हेरेँ । आन्द्रूज त्यही झ्यालको छेउमा गमलामा सारेको गोलभेडाको विरूवालाई बडो माया गरेर मुसार्दै, गमलालाई घुमाएर घामतिर पार्दै घाममा उभिएर क्वार क्वार्ती बाहिर हेरिरहेको थियो ।

क्रमश….

नोटः उपन्यासको यो भाग धेरै लामो भएकोले यस्लाई अंश अंशमा विभाजन गरेका छौँ, धन्यवाद ।