१. मोहिनी वन

अमरका बा-आमा सरुवा भएर हिमाली प्रदेशमा जानुभयो । अमर, आशिष र गीता पनि बा-आमाका साथमै गए । अमरका बाले अलि एकान्त ठाउँमा एउटा सानो घर बहालमा लिनुभयो ।

“गाउँमा त कति रमाइलो हगि दाइ !’ गीताले सहरदेखि वाक्क भएझैँ गरेर भनी । हुन त उनीहरू प्रत्येक वर्ष हिउँदे बिदा गाउँमै बिताउने गर्थे । कहिले मायाको मावलमा, कहिले विक्रमको काकाको गाउँमा र कहिले कविताको गाउँमा । तर ती काठमाडौं नजिकैका गाउँहरू थिए । त्यसैले ती गाउँमा र यो सुदूर हिमाली प्रदेशको गाउँमा धेरै फरक थियो ।

एनिड ब्लाइटन

उनीहरूको घरका झ्यालबाट चारैतिरका हिमाली चुचुरा र बाक्ला दियाल वनहरू अति रमाइला देखिन्थे । बिहान घाम उदाउँदा र बेलुकी घाम अस्ताउँदा हिउँका चुचुराहरू सूर्यका किरणले सुनका गजुरझैं झलझल टल्कन्थे । उनीहरूको घरको ठीक पछाडि, त्यस्तै आधा किलोमिटरजति पर एउटा दियाल सल्लाको पातलो उपवन थियो । लौ त भने त्यो उनीहरूको आफ्नै बगैंचाजस्तै थियो ।

अमरहरू गाउँमा आएको केही दिनपछि एकदिन बिहान सबेरै उठेर झ्यालबाट बाहिर हेर्दा बाहिरको दृश्य अत्यन्तै लोभलाग्दो देखिएको थियो । सूर्यको सिँदुर परेर नयाँ दुलहीजस्ता भएका हिमचुलीहरू, त्यसैको उज्यालोमा दियाल सल्लाका पात-पातमा टल्केका शीतका थोपाहरू –

“अहिले त्यो वनमा गएर घुम्न पाए कति रमाइलो होला !” अमरले सुनका गजुरझैं चम्केका हिउँचुलीहरू हेर्दै भन्यो ।

“साँच्चै हगि !” भन्दै गीता र आशिष पनि ओछ्यान छोडेर झ्यालसामु आएर उभिए । बिहानको यो सुनौला जादूले उनीहरूलाई कोठामा बसिरहन दिएन । उनीहरू बाक्लो लुगा लगाएर झटपट घरबाट निस्के । पछाडिको ढोकाबाट बगैँचा पार गर्दै घरमुनिको सानो पानीको कुलो तरे र एउटा अलि ओरालो पाखो ओर्लेर बनभित्र पसे । उनीहरू त्यहाँ पुग्नासाथ मानौं त्यहाँ फुलेका जङ्गली फूलहरूले झुलेर, चराहरूले गाएर उनीहरूको स्वागत गरे- ‘आओ साथी हो, मोहिनी बन तिमीहरूलाई स्वागत गर्छ ।’

‘कति रमाइलो बन !’ गीता चराहरूसँगै चहकिँदै उफ्रन थाली, हेरन कस्ताकस्ता फूल फुलेका ! हेर आशिष ।’

अँ | हेर न रूखहरू पनि मुन्टोमुन्टो जोडेर कानेखुसी गरिरहेजस्तै |, आशिषले भन्यो- ‘सुन त गीता, उनीहरू के खासखुस गर्दैछन्‌ ?’

केटाकेटीहरूले साँच्चै त्यहाँ रूखहरूले आफूआफूमा कुरा गरिरहेको सुने – स्याइँस्याइँ, सुइँसुइँसुइँ…..

‘साँच्चै रूखहरू कुरा गर्न लागेका जस्तै छन्‌’ गीताले भनी ।

‘अँ ! यो त चटकी वन पो रहेछ ।’ आशिषले भन्यो । तीनैजना केटाकेटी रूखका कानेखुसी सुन्दै उभिए । ती रूखहरू बडो प्रेमले एक-अर्कातिर झुकेर खासखुस-खासखुस गरिरहेका थिए ।

अझ भित्र जाऔँ न दाइ, भित्र अझ कस्तो रमाइलो होला ।’ गीताले भनी ।

‘हुन्न !’ अमरले रोक्यो ‘नौलो ठाउँमा जथाभावी हिँड्नु हुन्न । हराइन्छ, के हुन्छ के हुन्छ !’

वनभित्र के हुन्छ र !’ आशिषले भन्यो- ‘हद्द भए बाघ-भालु त होलान्‌ !’

‘वनभित्र परीहरू पनि होलान्‌ हगि दाइ ?’ गीताले सोधी ।

‘हो।’ अमरले आफ्नो बुज्रुक्याइँ छाँटयो ‘हिमालमा हिमपरी हुन्छन्‌ । … तर हामी घर फर्कनु पर्छ । आमा-बा चिया खान पर्खिरहनुभएको होला ।’

त्यसै बेला माथि घरको बरन्डाबाट आमाले बोलाउनुभयो अमर ! … आशिष ! … गीता ! तिमीहरू कहाँ गएका चिया पनि नखाई हँ ? …’

‘ऊ, आमाले बोलाइ पनि हाल्नुभयो’ अमरले भन्यो । चियाको नाउँ सुन्नासाथ उसलाई भोक पनि लागेर आयो । अरूले पनि मुख रसाएझैँ अनुभव गरे । सबै घर फर्के ।

आमाले चियासँग घिउमा भुटेका मकैका फूलहरू र चौंरी गाईको दूधबाट बनाएको पनिर (चिज) का टुक्राहरू कौला (ब्रेकफास्ट) दिनुभयो । हिमाली हावामा यो कौला उनीहरूलाई बडो स्वादिलो लाग्यो ।

त्यसै बेला बिहान काममा जानुभएको बा पनि फर्कनुभयो । उहाँले हात- मुख धोएर चिया खान बस्तै सोध्नुभयो ‘अँ, बिहान तिमीहरूले के-के गर्यौ ?’

‘हामी बिहान दियाल बनतिर डुल्न गयौं बा !’ गीताले खसखसाएर भनिहाली- ‘कति रमाइलो वन हगि आशिष !’

‘हो बा !’ आशिषले उछिन्‌पाछिन्‌ गर्दै भन्यो- ‘त्यै क्या त हाम्रो घरपछाडि, तलको वन । त्यहाँ त के बा, रूखहरू पनि टाउकोटाउको जोडेर कुरा गर्न लागेजस्ता ।’

‘त्यो वनलाई यहाँका मानिसहरू के भन्छन्‌ थाहा छ ?’ बाले हाँस्तै भन्नुभयो- ‘मोहिनी वन भन्छन्‌ । त्यहाँ मानिसहरू जाँदैनन्‌ । … त्यहाँ गयो भने फेरि फर्केर आउँदैन भन्छन्‌ ।’

केटाकेटीले मुखामुख गरे । उनीहरूका आँखामा कौतुक नाच्न थाल्यो – मोहिनी वन !… कति अनौठो नाउँ ! उनीहरू प्रत्येकले एउटै कुरा सोचे – त्यसो भए त्यहाँ गएर त्यसबारे पत्ता लगाउनै पर्छ । के रहेछ त त्यस्तो मोहनी लाउने कुरा त्यहाँ ! …

बेलुका कोठामा सुत्न जाँदा पनि केटाकेटीहरू बडो उत्तेजित थिए ।

रमेश विकल

“क्या रमाइलो नाउँ । …मोहिनी वन !” गीताले खितखिताउँदै भनी – “त्यहाँ पक्कै पनि मोहनी लाउने हिउँपरीहरू होलान्‌ ।”

“त्यहाँ गएर हिउँपरीहरूसँग भेटौं है दाइ !’ आशिषले भन्यो- “ती रूखहरू पनि के कुरा गर्दा रहेछन्‌, सुनौं ।”

‘ठीक छ, हामी गएर पत्ता लगाऔँला । तर बा-आमालाई भन्नु हुन्न नि !’ अमरले भन्यो ।

“हुन्छ, नभन्ने” गीताले भनी । अनि सुत्नुअगाडि उनीहरूले झ्यालको पर्दा सारेर बाहिर हेरे । जुनको सफा उज्यालोमा घरपछाडिको त्यो दियाल वन साँच्चै मोहिनी वनझैं देखिन्थ्यो । त्यो बडो रहस्य लुकाएझैं गम्भीर र चुपचाप थियो । तर रूखहरू आपसमा खासखुस गरेको स्वर अहिले पनि हावामा उडेर आइरहेझैं लाग्थ्यो ।