१२

“अलि लाज त लाग्नुपर्ने हो है तिमीलाई ।”- दुवै अफिसरहरू आफ्नो कोठामा फर्किसकेपछि पोलोजोभले भन्यो । – “जानाजान नै केही पैसा हारौं भन्ने म कोशिस गर्दैथिएँ र टेबुलमुन्तिर गोडाले ठक्कर दिएर तिमीलाई पनि इशारा गर्दै थिएँ । तर तिमी त बेसोमती मान्छे पो रहेछौ । बिचरी बुढियाको चित्त दुखाइयो मात्रै ।”

ग्राफ खित्का छोडेर हाँस्यो ।

“विचित्रकी रहिछ आइमाई त ! हारेपछि कस्तो मुख लगाई उसले देख्यौ ?”

ऊ फेरि पेट मिचिमिची हाँस्न लाग्यो । ऊ यति रमाउँदै हाँसिरहेको थियो कि उसको सामुन्ने नै उभिएको नोकर जोहान्न समेत आँखा छलेर मुसुक्क मुस्कुरायो ।

“परिवारको पुरानो मित्रको छोरो । … हा ! हा ! हा !”- ग्राफको हाँसोको लहर छुट्दै गयो ।

“तर, तिमीले कुनै राम्रो काम गरेनौ । मलाई त बूढियामाथि दया जागेर आएको थियो !”- कोरनेटले भन्यो ।

“धिक्कार ! तिमी त अझै नाबालक नै रहेछौँ ! के त मैले जानाजानी हारूँला भन्ठानेको तिमीले ? किन हार्ने नि मैले ? जतिखेर खेल्न जान्दिनँथें, जरुर पनि हार्ने गर्थेँ । यी दस रूबल काम लाग्नेछन्‌, भाइ ! मान्छेले त जीवनमा व्यवहारपटु हुनुपर्छ । नत्र भने जहिले पनि मूर्खको मूर्ख नै रहनेछौँ !”

पोलोजोभ चूप लागिरहयो । फेरि ऊ एक्लै लीजाको बारेमा मनमनै सोच्न पनि चाहन्थ्यो । लीजा ज्यादै पवित्र र सुन्दर छे भन्ने उसलाई लागिरहेको थियो । लुगा फुकालेर ऊ आफ्नो लागि तयार पारिएको कोमल र सफा पलङमा पल्टिहाल्यो । सैनिक जीवन सम्मानित र गौरवपूर्ण हुन्छ- यो सब झुठो हो !’- झ्यालतर्फ नजर दिँदै उसले सोच्यो । झ्यालमा टाँगिएको पातलो रेशमी पछ्यौरापछिल्तिरबाट जूनको फिका किरण कोठामा छिरेको देखिन्थ्यो । – “कुनै एकान्त स्थलमा, कुनै साधारण, समझदार र सुन्दर पत्नीसँग जीवन बिताउनु- यो पो त सच्चा सुख हो ! यसैमा नै सच्चा र स्थायी सुख रहन्छ !

परन्तु पोलोजोभले आफ्नो साथीलाई आफ्नो मनको विचार बताएन । उसले त्यस ग्रामीण युवतीको पनि कुनै चर्चा गरेन, यद्यपि ग्राफ पनि उसैको बारेमा सोच्दै होला भन्ने उसलाई पक्का विश्वास थियो ।

“किन लुगा नफेरेको हँ तिमीले ?”- उसले ग्राफलाई सोध्यो । ग्राफ कोठामा टहल्दै थियो ।

“कुन्नि किन हो, मलाई त अझै पनि सुत्ने मन लागेको छैन । चाहन्छौ भने बत्ती निभाइदिन पनि सक्छौ । मलाई त्यसको जरूरत छैन !”

फेरि ऊ कोठामा एक कुनाबाट अर्को कुनासम्म ओहोर-दोहोर गर्दैरह्यो ।

“कुन्नि किन हो, सुत्ने मन छैन !”- पोलोजोभले दोहोर्यायो । उसमाथि ग्राफको ठूलो प्रभाव थियो, तर आज साँझको घटनापछि ऊ मनमनै चिढिएको थियो । पहिले उसलाई कहिल्यै पनि यस्तो लाग्ने गरेको थिएन । ऊ डटेर ग्राफको विरोध गर्न जुर्मुराउँदै थियो । मनमनै तुर्बीनलाई सम्बोधन गर्दै ऊ भनिरहेको थियो : ‘थाहा छ मलाई, तेरो यस तलासिएको खप्परभित्र अहिले कस्तो विचार चक्कराउँदैछ ! तँलाई यो केटी सापै मन परेको पनि मैले देखिसकेको छु । तर यो जस्ती सूधी र निष्कपट केटीको मनको कुरा बुझ्ने क्षमता त तँमा एक फुट्टी पनि छैन । तँलाई त मिना जस्ती आइमाई र कर्णेलको जस्तो तानावाना भए पुगिहाल्छ । जे होस्‌, यो केटी तँलाई कस्तो लाग्यो भनेर चाहिं तँसित सोध्नैपर्ला !”

परन्तु ग्राफतर्फ फर्केर हेर्नासाथै उसले आफ्नो मनसाय फेरिहाल्यो । ऊ के सोच्न लाग्यो भने लीजाको बारेमा ग्राफको विचार पनि उसले सोचेको जस्तै निस्क्यो भने त्यसको विरोध गरिटोपल्ने आँट नै उसलाई हुनेछैन, बरु उसको हो मा हो मिलाउन पुग्नेछ । कारण, ग्राफको रोबरवाफलाई शिरोपर गर्ने त उसको बानी नै भैसकेको छ । उसको लागि ग्राफको यस्तो रोबरवाफ दिनानुदिन झन्‌ झन्‌ असह्य र अन्यायपूर्ण हुँदै जाँदो छ ।

“कता हो ?”- ग्राफलाई पगरी लगाएर दैलोतिर जान लागेको देखेर उसले सोध्यो ।

“तबेलासम्म पुगिहालूँ ! हेरुँ त्यहाँ सबै कुरा ठीक छ कि छैन !”

‘अचम्म !’- कोरनेटले सोच्यो । किन्तु उसले बत्ती निभाइदियो र कोल्टे फेर्यो । आफ्नो पहिलेको मित्र प्रति उसको मनमा जुन किसिमको ईर्ष्या र द्वेषको भाव उत्पन्न हुन गएको थियो त्यसलाई झिकेर फ्याँक्ने कोशिसमा लाग्यो ऊ ।

त्यतिञ्जेलसम्म आन्ना फ्योदोरोभ्ना पनि सधैँ जस्तो दाजु, छोरीः र घरमा पालिएकी सानी केटीको जीउमा क्रसको चिन्ह बनाउँदै उनीहरूलाई चुमेर आफ्नो कोठामा दाखिल भैसकेकी थिई । लामो समयको अन्तरालपछि आज पहिलोपल्ट एकै दिनमा उसले यतिका भिन्दाभिन्दै र गहन भावनाहरूको अनुभव गरेकी थिई । केही भावनाहरू स्वर्गीय ग्राफको विषादमयी र सजीव स्मृतिहरूसित सम्बन्धित थिए भने केही चाहिं यस तन्नेरी गुण्डाको कारणले गर्दा उत्पन्न भएका थिए, जसले यतिबिध्न निर्दयतापूर्वक उसबाट पैसा थुतेको थियो । उसको मन ज्यादै विचलित भैसकेको थियो र ऊ निश्चित भएर प्रार्थना समेत गर्न सकिरहेकी थिइन । जे भए तापनि उसले सधैँको जस्तो गरी लुगा फेरि, पलङको छेकमा रहेको टेबुलमा उसैको निम्ति राखिएको आधा गिलास क्वास पिई र बिछ्यौनामा पल्टिहाली । उसलाई निकै मन पर्ने बिरालो सुट्ट कोठाभित्र पस्यो । आन्ना फ्योदोरोभ्नाले बिरालोलाई आफ्नो नजीक बोलाई र उसको आङ मुसार्दै उसको ङ्या–ङयार आवाज सुन्न लागी । ऊ निदाउन सकिरहेकी थिइन ।

“यस बिरालोले गर्दा नै म निदाउन सकिरहेकी छैन ।” आन्ना फ्योदोरोभ्नाले ठानी र बिरालोलाई धकेलेर पलङबाट तल खसालिदिई । बिरालो पनि बिस्तारै आफ्नो झ्याप्ले र मुलायम पुच्छर बङ्ग्याउँदै बुर्लुक्क उफ्रेर टाँडमा पुग्यो । त्यतिखेर नै नोकर्नी आफ्नो दरी लिएर भित्र पसी र भुइँमा दरी बिछ्याई । अनि उसले मैनबत्ती निभाएर दियो बाली र त्यसपछि भुइँमा ओछ्याइएको दरीमा पल्टेर घुर्न थालिहाली । परन्तु आन्ना फ्योदोरोभ्नालाई भने नीद लागि नै रहेको थिएन, न त उसको व्याकुल मन नै शान्त थियो । आँखा चिम्म गर्ने बित्तिकै हुस्सारको झझल्को आइहाल्थ्यो । अनि जब उ आँखा खोल्थी त कोठाको दराज, टेबुल, भित्तामा झुण्डिरहेको सेतो जम्फर जसमा दियालोको मधुर प्रकाश परिरहेको थियो ती सब कुराहरू थरी थरीका हर उभिइरहेका जस्ता लाग्ने गर्थे । कुनै बेला पातलो दोलाई भित्र उकुसमुकुस भएर सास नै रोकिन लागेको जस्तो हुन्थ्यो भने कुनै बेला चाहिं टेबुल-घडीको टिकटिक र नौकर्तीको घुरघुर असाह्या हुन जान्थ्यो । उसले नोकर्नीलाई व्युँझाइदिई र ‘घुर्न बन्द गर’ भनेर अह्राई । उसको मगजमा छोरी, स्वर्गीय ग्राफ र युवा ग्राफका अनुहार र तासको खेलको सम्झना तँछाड्‌-मछाड्‌ गर्दै चक्कराइरहेका थिए । कुनै बेला उसलाई स्वर्गीय ग्राफसँग नाचिरहेको झझल्को हुन्थ्यो- ऊ आफ्ना गोरा र चिल्ला कुम देख्थी र त्यसमा कसैको ओठको स्पर्श पनि अनुभव गर्थी । अनि कुनै बेला चाहि ऊ आफ्नी छोरीलाई युवा ग्राफको बाहुपाशमा परिरहेको देख्ने गर्थी । उस्त्युश्का फेरि पनि घुर्न लागिसकेकी थिई ‘अहँ ! अहिले जमाना अर्कै छ ! मान्छेहरू पनि बदलिइसकेका छन्‌ । उनी मेरो खातिर आगो र पानीमा हाम्फाल्न समेत तयार थिए । किन हाम्फाल्न नतम्सिनु र ? तर यो चाहिं आफ्नो जीतमा मख्ख परेर अहिले गधा झैँ मस्तसँग निदाइरहेको होला । प्रेमालापको बेला हो यो भन्ने त यसले विचारसम्म पनि गरेको छैन होला । मेरो अघिल्तिर घुँडा टेकेर उनी भन्नेगर्थे: “तिमी के चाहन्छ्यौ ? लौ, बताऊ, मैले के गर्नु पर्यो ? के अहिलेको अहिल्यै ज्यान फालिदिऊँ त ? म हाँसिहाँसी तिम्रो लागि ज्यान दिन तैयार छु !” मैले लौ त भनेको भए उनी गरेर पनि देखाइदिने थिए ।’

एकाएक बरन्डामा कोही हिँडेको आवाज सुनियो । त्यत्तिकैमा लीजा दगुरेर कोठाभित्र पसी । उसको अनुहार धुस्रोफुम्रो देखिन्थ्यो र शिरदेखि पैतालासम्म ऊ थरथर कामिरहेकी थिई । उसले एउटा पछ्यौरा मात्र ओढिराखेकी थिई । कोठामा पस्नासाथ ऊ आमाको पलङमा लडिहाली ।…

आमासँग बिदा भएर लीजा एक्लै मामाको कोठामा गएकी थिई । त्यहाँ उसले सेतो जामा लगाई र लामो केश रुमालले बाँधी । अनि बत्ती निभाई र झ्याल खोलेर मेचमा बसी । तलाउमाथि जून टहटह चम्किरहेको थियो । त्यतैतिर नजर दिएर ऊ विचार मग्न भई ।

सहसा आफ्ना सबै कामकाज र अभिरूचिहरूई ऊ नयाँ रुपमा देख्न थाली । सन्के स्वभावकी बूढी आमा जसलाई उ माया गर्थी र त्यो गहिरो माया उसको अस्तित्वको अङ्ग बनिसकेको थियो, बूढा तर मिजासिला मामा, नोकर-चाकर र धाइसुसारे जो आफ्नी सानी मालिक्नीको सेवाटहल गर्थे । घरमा दुहुना गाईवस्तु र बाछाबाछीहरू पनि थिए । चारैतिर प्रकृतिको मनमोहक दृष्य थियो र उसले देख्दादेख्दै कति वसन्त र कति शरद्‌ बितिसकेका थिए । यिनैको माझमा ऊ हुर्केबढेकी थिई र मानसिक आनन्द प्रदान गर्नेगरेका थिए । परन्तु आज यी सबका सब एकाएक निरर्थक, निरस र अवाञ्छनीय प्रतीत हुन गएका थिए, मानौं उसको कानमा कसैले खासखुस गर्दै भनिरहेको होस्‌: ‘बहुलाही कहींकी ! बीस वर्षदेखि अरुको सेवासुश्रुषामा हाड घोटिरहेकी छेस्‌ ! सब यो केको लागि ? जीवन के हो ? सुख केलाई भन्छन्‌ ? थाहा त छ के’ जूनेली रातको निस्तब्ध बगैंचाभित्र निकै परपरसम्म चियाउँदै लीजा विचार गर्दै थिई । पहिले कहिल्यै पनि उसको मनमा यस्तो प्रबल विचार उठ्ने गरेको थिएन । कुन कुराले उसलाई यसरी उत्प्रेरित गरेको थियो ? के ऊ एक्कासि ग्राफलाई प्रेम गर्न लागिसकेकी थिई त ? अहँ, बिल्कुलै होइन । उसलाई त उसको छाँटकाँट समेत मन परेको थिएन । बरु ऊ त कोरनेटप्रति पो आकर्षित हुन सक्थी, तर ऊ पनि बुद्दु सीधासाधा र गुपचूप खालको मान्छे थियो । तर ऊ अनायासै उसलाई बिर्सेर त्यही ग्राफलाई सम्झन पुग्थी र उसको मनमा रीस र क्षोभ उर्लेर आउँने गर्थ्यो । अहँ , त्यो मान्छे त यो हुँदै होइन !’-ऊ मनमनै भन्थी । उसको कल्पनाको आदर्श पुरुष त एकदमै अर्कै खालको थियो- परम सुन्दर ! यस्तो आदर्श पुरुष जसलाई यस रमाइलो रातको समयमा प्रकृतिको काखमा प्रेम गर्दा प्रकृतिको सौन्दर्य कत्ति पनि कलुषित हुनेछैन ! लीजाको मनमा आफ्नो आदर्श प्रेमीको धारणा यथावत्‌ नै कायम रह्यो । आफ्नो आदर्शलाई स्थूल यथार्थको अनुकूल तुल्याउन लीजाले कत्ति पनि ताछतूछ पारेकी थिइन ।

लीजाको जीवन एकान्तमा बित्ने गर्थ्यो र आसपास कतै पनि उसको रुचिको कुनै व्यक्ति थिएन । त्यसैले उसको मनमा प्रेमको सारा शक्ति अविचल र अक्षय रहेको थियो जुन बिधाताले हरेक प्राणीलाई समान रुपमा प्रदान गरेको हुन्छ । यस्तो स्थितिमा रहँदाबस्दा कहिलेकाहीं जब मनको भित्री तहमा प्रेमभाव जागृत भएर आउँथ्यो त्यतिखेर सुखको साथसाथै दु:खको पनि अनुभव हुन्थ्यो उसलाई । तर अब यसको त उसलाई बानी नै परिसकेको थियो र कुनै नवागन्तुकलाई आफ्नो अन्तरिक प्रेमको सर्वस्व लुट्न दिनु नै उसको लागि असम्भव भैसकेको थियो । कहिलेकाही आन्तरिक निधिको निरीक्षण गरेर सुखानुभूति प्राप्त गर्ने उद्देश्यले आफ्नो हृदयको पूर्ण कलश उघारेर हेर्न र त्यसको सर्वस्व नै अनायासै कसैउपर खन्याइदिन उसलाई मन लाग्थ्यो । भगवानले गरोस्‌ कि उसले आफ्नो मृत्युको घडीसम्म नै यस नगण्य सुखको अनुभव गर्न पाइरहोस्‌ ! त्यो नै बढी राम्रो र बढी शक्तिशाली छ कि ? कसलाई थाहा र ? के त्यही एउटै मात्र नै सत्य र सम्भावित त छैन ?

“हे भगवान्‌ !, ऊ सोच्न लागी ।-“के म यौवन र सुखबाट वंचित नै रहुँला त ? के यो सम्भव छ ? के मैले त्यसको कहिल्यै पनि अनुभव गर्न नपाउने भएँ त ? के यो सत्य हो र ?’ उसले आँखा उचालेर माथि आकाशतर्फ ताकी । त्यहाँ झकमक्क आकाशमा सेता बादलका टुक्राहरू ताराहरूलाई ढाक्दै चन्द्रमातर्फ उडिरहेका देखिन्थे । “त्यो सबभन्दा अघिल्तिरको बादलको टुक्राले चन्द्रमालाई ढाकिदियो भने यो कुरा साँचो ठहरिएला !’-उसले मनमनै विचार गरी । बादलको ध्वाँसे घेरोले चन्द्रमाको तल्लो लाइमका रुखहरूका टुप्पा र तलाउमा जूनको चहक मधुरो हुँदै गयो र रुखको अँध्यारो छाया अझ बढी अस्पष्ट भयो । प्रकृतिलाई ढाक्ने यस्तो नियास्रोलाग्दो छायादार पर्दाको पछिपछि लाग्दै मन्द मन्द बतास पनि सररर चल्न लाग्यो र पातहरू फरफर गर्न थाले । शीतले भिजेका घाँसपात, आर्द्र माटो र लटरम्म फुलेको हसिनाको मगमग बास्ना झ्यालबाट भित्र पस्यो ।

“अहँ ! यो साँचो होइन !’-उसले मनलाई सान्त्वना दिई ।-‘आज राति कुनै बुलबुल चरीको गाना सुन्न पाइयो भने म जे जस्तो सोच्दैछु त्यो सब बकवास हो र निराश हुनुपर्ने कुनै कारण छैन भन्ने मलाई पक्का भैहाल्नेछ !’ यस्तो तर्कवितर्क गर्दै निकै बेरसम्म कसैको प्रतीक्षामा रहे जस्तै ऊ चुपचाप बसिरही । कुनै बेला बादल फाटेर झकमक्क जून देखिन्थ्यो र जताततै उज्यालो भएर आउँथ्यो त कुनै बेला चाहिं फेरि बादलले चन्द्रमालाई ढाकिदिन्थ्यो र जताततै अँध्यारो छाउँथ्यो । त्यहाँ बसेको बस्यै उसका आँखा लोलाउन लागिहाले । एकाएक तलाउतिरबाट बुलबुल चरीको चिर्बिर सुनियो । त्यो आवाज ज्यादै सुरिलो थियो । ग्राम्य युवतीका आँखा खुलिहाले । चारैतिर सुनसान थियो र प्रकृतिको छटा झलमल्ल खुलेको थियो । लीजाको अन्तरात्मा नयाँ उल्लास र उमङ्गले भरिपूर्ण भयो । ऊ कुहिनाले टेकेर अघिल्तिर झुकी । एउटा सुखद उदासीनताको भावना उसको हृदयभित्र उर्लन थाल्यो । उसको आत्मा प्रेमको तृप्तिको लागि छटपटाइरहेको थियो । कुनै असीम र स्निग्ध प्रेमको आँसु उसका आँखामा छचल्किन लाग्यो । त्यो मीठो सान्त्वनाको आँसु थियो । झ्यालको पेटीमा हात राखेर उसले आफ्नो टाउको त्यसमाथि बिसाइदिई । अनायासै उसलाई सबभन्दा बढ्ता मन पर्ने प्रार्थाका चरणहरू भित्री हृदयबाट उर्लेर आउन थाले । त्यसरी बस्दाबस्दै उसलाई निद्रा लागिहाल्यो । उसका आँखाहरू आँसुले भिजेका थिए ।

कसैले उसलाई स्पर्श गर्यो । उसको निद्रा टुटिहाल्यो । स्पर्श सुकोमल र प्रिय थियो । उसको हात बेसरी मिचिंदै गयो । एकाएक उसले वास्तविकता बुझिहाली । उसको मुखबाट एक मसीनो चित्कार निस्कियो र ऊ जुर्मुराएर उठी । झ्यालमुन्तिर उभिइरहेको त्यो मान्छे, जसको पूरै शरीरमा जूनको उज्यालो परिरहेको थियो, ग्राफ हुनैसक्तैन भन्ने कुरामा आफूलाई विश्वस्त पार्दै ऊ कोठाबाट बाहिरतिर दगुरी ।…