भागःचौबिस अंशः चार
त्यस दिन दिउँसो हामी अबेरसम्म त्यहीँ बसेर थाकेर हिँड्यौँ । घाम तापेर थाक्यौं, तर थकाई अर्कै आनन्दको पाराको थियो । फर्कदा बाटोभरि नै मलाई लाग्यो शोहरबले मलाई हेरिरहेको छ | कलिङग कार्ड बेच्ने पसलको छेउमा मैले ड्राइभरलाई गाडी रोक्न लगाएँ । दौडेर भित्र गएर मलाई कार्ड किनेर ल्याइदिए वापत मैले उसलाई पैसा र टिप्स दिएँ ।
त्यस रात हामी ओछ्यानमा पल्टेर टीभीमा टक शो हेर्दै थियौँ । लामो कालो दाह्री अनि सेतो फेटा गुथेका दुईजना मुल्लाहहरूले संसारभरिका आफ्ना भक्तका जिज्ञासाहरू टेलिफोनमा सुन्दै थिए । फिनल्यान्डबाट फोन गर्ने एक जना अयुब नामको मान्छेले ऊ सँग कुखुरे बैंस लागेको उसको छोरोले भित्रको अन्डरवियरको गेटिस देखिने गरी तल झारेर पायन्ट लगायो भने ऊ नर्कमा जान पर्ला नपर्ला भनेर सोधेको थियो ।
“एक पटक मैले सनफ्रान्सिस्को सहरको तस्विर देखेको थिएँ,” शोहरबले भन्यो |
“साँच्चै हो ?”
“त्यहाँ एउटा रातो पुल थियो र टपमा चुच्चो भएको एउटा घर थियो ।’
“त्यो सडक गल्लीहरू देख्न पाए दंग पर्थिस्,” मैले भनेँ ।
“के छ र त्यस्तो त्यो सडक गल्लीहरू ?” ऊ अहिले मलाई हेर्दै थियो | टीभीको स्क्रीनमा ती दुई मुल्लाहहरू एक आपसमा छलफल गर्दै थिए ।
“सडकहरू यति ठाडै उकालो छन् कि जब तँ गाडीमा उकालोतिर जान्छस् तैँले तेरो कारको हुड र आकासभन्दा अरू क्यै देख्दैनस्,’ मैले भनेँ ।
“सुन्दैखेरि डरलाग्दो पो छ त, उसले भन्यो । ऊ टीभीलाई पछाडिपट्टि पारेर मपट्टि फर्कियो र मलाई हेर्यो ।
“सुरूमा एक दुई पटक त्यस्तो डर लाग्छ, भैले भनेँ । “तर तेरो त्यसमा बानी पर्छ ।’
“के त्यहाँ पनि हिउँ पर्छ ?”
“पर्दैन । तर कुहिरो भने असाध्य लाग्छ । तैले देखेको रातो पुलको बारेमा थाहा छ ?”
“कहिलेकाहीँ त बिहानमा कुहिरो यति बाक्लो लाग्छ कि कुहिरो छेडेर माथि निक्लेको त्यो दुईवटा टावरहरू बाहेक अरू केही पनि देखिँदैन । उसको मुस्कानमा आश्चर्य भरिएको थियो । ‘हो र ?’
“ए शोहरब, सुन त ।”
“हस् ।”
“तैँले मैले तँलाई अघि सोधेको प्रश्नको बारेमा केही विचार गरेको छस् त ?”
उसको अनुहारको मुस्कान ओइलायो । ऊ फर्केर उत्तानो पर्यो । दुईहात जेलर टाउको पछि राख्यो । मुल्लाहरू अयुबको छोरोले त्यसै गरी पायन्ट लगायो भने पक्कै नर्कमा जाने छ भन्ने निर्णयमा पुगे । तिनीहरूको त्यो कुरा हादिथमा (Haddith) लेखिएको छ भनेर दाबी गरे ।
“मैले त्यसको बारेमा सोचेको छु”, शोहरबले भन्यो ।
“अनि के भो त ?”
“त्यो कुराले म डराएको छु ।”
“म जान्दछु यो अलिकति डरलाग्दो कुरा पनि हो ।’ आशाको सानो त्यान्द्रोलाई समाउँदै मैले भनेँ, “तर तैँले अंग्रेजी छिट्टै सिक्न सक्छस् र तेरो बानी पर्छ….”
मैले भन्न खोजेको त्यो होइन । त्यो सम्झिँदा म पनि डराउँछु तर _ ”
“तर के ?”
ऊ फेरि म तिर फर्कियो । घुँडा मास्तिर उठायो । “तपाईंलाई म देखेर वाक्क लाग्यो भने नि ? तपाईंकी श्रीमतीले मलाई मनपराउनु भएन भने के होला ?’
म बल्लबल्ल ओछ्यानबाट ओर्लिएँ र दुई ओछ्यान बीचको खाली ठाउँ हिँडेर काटेँ । म उसको छेउमा बसेँ । “म तँलाई देखेर कहिल्यै वाक्क हुने छैन शोहरब, मैले भनेँ । “यस्तो कहिल्यै हुने छैन | त्यो मेरो वाचा हौ । तँ मेरो भतिज हो, था छ ? मैले भनेँ । र, शोराया जान असाध्य दायालु छिन् | ममाथि विश्वास गर, उनले तँलाई असाध्य माया गर्ने छिन् । म त्यो पनि वाचा गर्छु ।” मलाई मौकामा चौका हान्ने ताल पर्यो । हात तल लम्काएर उसको हात समातेँ । उसले जिरऊ अरट्ठ पार्यो, तर हात समाउन चाहिँ दियो ।
“मलाई अर्को अनाथालयमा जाने मन छैन,” उसले भन्यो ।
“म त्यसो कहिल्यै हुन दिने छैन | म तँसँग यो वाचा गर्छु । मैले दुवै हातले उसको हात समाते । “मसँग घर हिँड ।”
उसको आँशुले तकिया भिज्दै थियो । लामो समयसम्म ऊ केही बोलेन । अनि उसले मेरो हात समातेर बेस्सरी अँठ्यायो र उसले ‘हुन्छ’ को इसारामा टाउको हल्लायो । सहमतिमा टाउको हल्लायो ।
चौथो पटक बल गर्दा बल्ल फोन लाग्यो | उनले फोन उठाउनु अघि जम्मा तीनपालि घन्टी बज्यो । “हेलो ? त्यति बेला इस्लामाबादमा साँझको साढे सात बजेको थियो भने क्यालीफोर्नियामा झन्डै बिहानीको त्यति नै बजेको थियो । त्यसको मतलब शोराया उठेको एक घन्टा भइसकेको थियो र उनी स्कुल जान तैयार हुँदै थिइन् ।
“म बोलेको,” मैले भनेँ । म शोहरब निदाएको हेर्दै मेरै ओछ्यानमा बसेको थिएँ ।
“अमीर !” उनी झन्डै रोएकी थिइन् । “तिमीलाई सन्चै छ ? तिमी कहाँ छौ ?”
“म पाकिस्तानमा छु ।”
“पहिले फोन किन नगरेको त ? तासवीश (Tashweesh) ले म त बौलाइसकें । मेरी आमाले दिनदिनै तिम्रा लागि नजर र प्रार्थना गरिरहुनु भा’छ ।”
“म दुःखी छु मैले फोन गरिनँ । मलाई ऐले सन्चै छ ।” मैले उनलाई एक वा बढीभन्दा बढी दुई हप्तामा फर्कन्छु भनेको थिएँ, तर मैले घर छोडेको झन्डै महिना दिन भैसक्यो । म मुस्कुराएँ । “र खाला जमीलालाई भेडाको बलि दिने काम बन्द गर्न भन्दिनू ।’
“अहिले सन्चै छ भनेर के भनेको ? अनि तिम्रो स्वर पनि गडबड छ किन हो ?’
“अहिलेका लागि त्यसको चिन्ता नगर । म ठीक ठाक छु | साँच्चै शोराया तिमीलाई सुनाउनपर्ने एउटा कथा छ जुन मैले धेरै समय अघि सुनाइसक्नुपर्ने थियो, तर पहिले मैले तिमीलाई एउटा कुरा भन्नु जरूरी छ ।”
“के कुरा हो ?’ अलि सतर्क हुँदै सानो स्वरमा उनले भनिन् ।
“म घर एक्लै आइरहेको छैन । मैले एउटा सानो केटो पनि सँगै लिएर आउँदै छु ।’ म एकछिन रोकिएँ । “म चाहन्छु कि हामी उसलाई धर्मपुत्र बनाऔँ |”
“के रे ?”
मैले घडीमा समय हेरें । “यो कुला कलिङ्ग कार्डमा जम्मा सन्ताउन्न मिनेट कुरा गर्ने समय बाँकी छ र तिमीलाई भन्नु धेरै कुरा छ । तिमी कतै बस त ।” हतारहतार उठ्न फ्लोरमा मैले कुर्ची घिसारेको आवाज सुनेँ ।
“ल भन,” उनले भनिन् ।
अनि मैले मेरो पन्ध्र बर्षको वैवाहिक जीवनमा कहिल्यै नगरेको काम गरेँ । मैले मेरी श्रीमतीलाई सबै कुरा बताएँ । क्यै पनि बाँकी राखिन । यस मुहूर्तको बारेमा मैले धेरै पटक कल्पना गरेको थिएँ । यससँग डराएको थिएँ, तर जब म बोलें मलाई लाग्यो कुनै चीजले मेरो छाती उचाल्दै थियो । मलाई लाग्यो हाम्रो खास्तेगारी गरिएको रात शोरायाले पनि यस्तै अनुभव गरेकी थिइन होला जति बेला उनले मलाई आफ्नो विगतको बारेमा बताएकी थिइन् |
मैले मेरो कथा भनेर सकुन्जेलसम्ममा उनी रुँदै थिइन् ।
“तिम्रो विचार के छ ?” मैले भनें ।
“के सोच्ने म आफैँलाई थाहा छैन, अमीर | तिमीले एकै पटकमा मलाई यति धेरै कुरा भनेका छौ ।’
“मैले त्यो महसुस गर्छु ।”
मैले उनले नाम बजाएको सुनेँ । “मलाई यति मात्र थाहा छ । त्यो के भने तिमीले उसलाई घर लिएर आउनै पर्छ । म तिमीले त्यो गर भन्ने चाहन्छु ।’
“पक्का हो त ?’ आँखा बन्द गरेर मुस्कुराउँदै मैले भनेँ ।
“पक्का हो र ?’ उनले भनिन् । “अमीर ऊ तिम्रो काओम (Qaom) हो, तिम्रो परिवारजन । त्यसैले ऊ मेरो पनि काओम हो । हो त एकदम पक्का हो । तिमीले उसलाई कुनै पनि हालतमा सडकमा छोड्न मिल्दैन ।’ एकै छिन केही पनि आवाज आएन । “ऊ कतिको राम्रो छ हेर्दाखेरि ?”
मैले ओछ्यानमा निदाइरहेको शोहरबलाई हेरेँ । “ऊ अलि गम्भीर स्वभावको, राम्रो छ ।”
“उसलाई दोष लाउने कसको तागत ?” उनले भनिन् | ‘म उसलाई हेर्न चाहन्छु, अमीर । मलाई साँच्चिकै उसलाई हेर्न मन छ ।’
“शोराया ?”
“अँ भन न ।”
“दोस्तेन दारूम (Dostest Darum) ।” म तिमीलाई धेरै माया गर्छु ।
“म पनि त तिमीलाई माया गर्छु नि, उनले भनिन् । उनले ती शब्दहरू मुसुक्क हाँसेर बोलेकी छन् भन्ने कुरा फोनमै सुनिन्थ्यो । “र अलि आफ्नो ख्याल राख्नू ।
“ठीक छ म राख्ने छु । र, एउटा अर्को कुरा । ऊ को हो भन्ने कुरा तिम्रो बाआमालाई नभन्नु । यदि उहाँहरूलाई त्यो जान्न जरूरी भए त्यो म बाटै आउनु राम्रो हुन्छ ।’
“हुन्छ ।”
हामीले फोन राख्यौं ।
ईस्लामावादको अमेरिकन एम्बेसीको भवन बाहिरपट्टिको दुबो घाँसको चौरी काटेर चिटिक्क पारिएको, ठाउँठाउँमा वृत्ताकारमा झुप्पझुप्प फूलहरू फुलेको र चारैतिर चिटिक्क पारिएको हेज रहेछ । भवन त ईस्लामाबादका अरू धेरै भवनहरू जस्तै थियो । ठूलो र चौडा अनि रङ चाहिँ सेतो | हामी त्यहाँ पुग्नलाई थुप्रै रोड ब्लकहरू भएर जानु पर्यो | मेरो ज बाँधेको तारले गर्दा मेटल डिटेक्टर बजेपछि तीन जना सुरक्षा जाँच अधिकारीले मेरो शरीरको चेक जाँच गरे । अन्तिममा जब हामी चर्को घाम छोडेर भित्र पस्यौँ, ऐयरकन्डिसनिङ्गले गर्दा मेरो अनुहारमा कसैले चिसो पानीले छ्यापे जस्तो लाग्यो | जब मैले मेरो नाम बताएँ, त्यो लगभग पचासबर्ष जतिकी, ख्याउटे अनुहार भएकी, कालीकाली रङी, लबीमा बसेकी सेक्रेटरी मुसुक्क हाँसिन् । उनले क्रिम कलरको ब्लाउज र स्ल्याक्स लगाएकी थिइन | धेरै हप्ता पछि बुर्का वा सलवार कमिजभन्दा बाहेक अर्कै पहिरनमा मैले देखैको पहिलो महिला उनै थिइन् । मेटाउने भए पट्टिको पेन्सिलको टुप्पोले टेबुलमा टकटकटक पार्दै उनले एपोइन्टमेन्टको लिस्टमा मेरो नाम खोजिन् । उनले मेरो नाम फेला पारिन् र मलाई बस्न भनिन् ।
तपाई लेमनेड लिनुहुन्छ कि ?” उनले सोधिन् ।
“म लिन्न, धन्यवाद,” मैले भनेँ ।
“तपाईंको छोराको खबर के छ, ठीकै छ ?”
“मैले त कुरो बुझिनँ ।”
“त्यही मजाको राम्रो ठिट,” शोहरबतिर हेरेर मुस्कुराउँदै उनले भनिन् ।
“ए । राम्रो कुरा गर्नुभयो । त्यसका लागि तपाईंलाई धन्यवाद ।”
शोहरब र म रिसेप्सन डेस्कको सामुन्ने एउटा अग्लो अमेरिकाको झन्डाको छेउमा एउटा कालो छालाको सोफामा बस्यौं । शोहरबले सिसाको कफी टेबलबाट एउटा म्योगेजिन टिप्यो । साँच्चिकै ध्यान दिएर चित्रहरू नहेरीकन उसले सरसर्ती पानाहरू पल्टायो ।
“के भयो ?” शोहरबले भन्यो ।
“तैले के भन्न खोजेको ? मैले त बुझिन त ।’
“तपाईं मुस्कुराई रहुनुभएको छ नि ।’
“म तेरै बारेमा सोचिरहेको थिएँ,” मैले भनेँ ।
ऊ अलि हतास मुद्रामा मुस्कुरायो । अर्को म्यागेजिन टिप्यो र तीस सेकेन्डभित्र सबै पानाहरू पल्टाएर सिध्यायो ।
‘डराउनु पर्दैन,” मैले उसको पाखुरामा छुँदै भनेँ । “यी मान्छेहरू सहयोगी छन् | आरामले बस ।’ मैले उसलाई आस्वस्त पार्न खोजेको हुन सक्थेँ । जुताको तुना खोल्ने र फेरि बाँध्ने गर्दै अलिकति छटपटाएर घरि यता घरि उता फर्कीरहेँ । सेक्रेटरीले कफी टेबलमा एउटा अग्लो गिलासभरि आइस राखेको लेमोनेड राखिन । “ल लिनुस् ।”
शोहरब लाज मानेजस्तो गरेर मस्कियो । ‘थ्याङक यू भेरी मच,” उसले अंग्रेजीमा भन्यो, तर सुन्दा “ट्याङ्क यू वेरी म्याच’ जस्तो लाग्थ्यो । उसले मलाई बताइसकेको थियो कि उसले जानेको अंग्रेजी त्यति मात्रै हो । त्यो र “ह्याभ अ नाइस डे’ भन्न ।
उनी हाँसिन् । “यू आर मोस्ट वेलकम ।’ अग्लो हिल जुत्ता भुइँमा टकटक बजाउँदै उनी आफ्नो डेस्कमा गएर बसिन् ।
“ह्याभ अ नाइस् डे,” शोहरबले भन्यो ।
क्रमस……
नोटः उपन्यासको यो भाग धेरै लामो भएको हुनाले यसलाई अंश अंशमा विभाजन गरेका छौं, धन्यवाद ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।