९
जतिखेर अश्वारोही दल मोरोजोभ्का गाउँमा आइपुग्यो त्यस बेलासम्ममा सूर्य अस्ताइसकेको थियो । परन्तु हावा भने अझै पनि न्यानो नै थियो । गाउँको धुलौटे सडकमा एउटा टाटेपाङरे गाई अगाडि अगाडि दगुर्दै गइरहेको थियो । कुनै कुनै बेला ऊ रोकिन्थ्यो र कराउन थाल्थ्यो । घोडाहरूको अगाडि नपर्न खालि बीच बाटो छोडेर एक कुनेउटोतिर तर्किनु नै पर्याप्त छ भन्ने कसै गरी बुझ्न सकिरहेको थिएन उसले । गाउँका बृद्ध किसानहरू, आइमाईहरू र केटाकेटीहरू हुस्सारहरूलाई हेर्न सडकको दुवैतर्फ हुल बाँधेर उभिएका थिए । हिनहिनाउँदा घोडाहरूमा सवार भएका हुस्सारहरू हातले छोटो लगाम समातेर, धुलोका बादल उडाउँदै अगाडि लम्किरहेका थिए । घोडचढी सैन्यको दायाँतर्फ दुई जना अफिसरहरू सुन्दर काला घोडाहरूमा आरामसित बसिरहेका थिए । तिनैमध्येको एक जना थियो- ग्राफ तुर्बीन ! ऊ कमाण्डर थियो । अर्को चाहिं- पोलोजोभ भन्ने एक युवक थियो जो भर्खरै मात्र युन्केरबाट बढुवा भई अफिसर नियुक्त गरिएको थियो ।
गाउँको सबैभन्दा राम्रो बङ्गलाबाट सेतो कोट लगाइराख्ने एक जना हुस्सार बाहिर निस्कियो र चाँदतोडावाल टोपी फुकालेर सोझै अफिसरहरूको सामुन्ने पुग्यो ।
“डेराको बन्दोबस्त भयो त ?”- ग्राफले उससँग सोध्यो ।
“हजुरको लागि ?”- सैन्यको आवासप्रबन्धकले भन्यो । ऊ एकदमै तन्केर उभिएको थियो । -“गाउँको मुखियाको यो बङ्गला हजुरकै निम्ति तयार पारिएको छ । बिर्तावालको घरमा एउटा कोठा लिन खोजेका त थियौं, तर पाउन सकिएन । बिर्तावाल्नी निकै रिसाहा होली जस्ती छे !”
“ठीक छ !”- ग्राफले घोडाबाट ओर्लेर गोडा मिलाउँदै भन्यो र मुखियाको बङ्गलातिर फटाफट पाइला सार्यो । “गाडी त आइपुग्यो मेरो ?”
“हो हजुर ! आइपुग्यो !” आवासप्रबन्धकले ढोकैनेर उभिएको गाडीतर्फ आफ्नो टोपीले देखाउँदै जवाफ दियो र बङ्गलाको मण्डप द्वारतर्फ फड्को मार्यो । आवासप्रबन्धकले झड्का दिएर भर्खरै साफ गरीएको ढोका खोल्यो । त्यहाँ एक किसान परिवार अफिसरहरूलाई हेर्न गुजमुच्च परेर बसिरहेको थियो । उसको धक्काले एउटि बूढी झण्डैले लड्नै आँटेकी थिई । अनि ग्राफको निम्ति बाटो दिदै ऊ एकतिर पन्छिएर उभियो ।
बङ्गला ठूलो र फराकिलो थियो, तर उति सफासुग्घर थिएन । भलाद्मी झै ठाँटिएको एक जर्मन-अर्दली घरभित्र थियो । ऊ फलामे खाट मिलाएर सुटकेसबाट ओछ्याउने लुगा झिक्दै थियो ।
“उफ् कस्तो फोहोर कोठा !”- ग्राफले झर्केर भन्यो ।- “धादेन्को ! के बिर्तावालको बङ्गलामा एउटा कुना पनि पाउन सकिदैनथ्यो र ?”
“हुकुम हुन्छ भने म अहिले नै कसैलाई बिर्तावालको घरतिर पठाइहाल्नेछु ।”- धादेन्कोले उत्तर दियो।- “तर हजुर, बिर्तावालको घर पनि कुनै दर्बार त होइन, यस कटेरो भन्दा शायदै राम्रो होला !”
“भैगो, पर्दैन अब ! जाऊ !”
अनि ग्राफ दुवै हात टाउकोमुन्तिर राखेर बिछ्यौनामा पल्टियो ।
“जोहान्न !”- उसले आफ्नो अर्दलीलाई बोलायो ।-“फेरि पनि बीचमा यो अग्लो उठ्ने गरेर विछ्यौना के ओछ्याइस् हँ यसरी ? के हो यो ? तँ त बिछ्यौना पनि मिलाउन जान्दो रहिनछस् !”
जोहान्न बिछ्यौना मिलाउन भनेर अगाडि सर्यो ।
“रहन दे अब ! निकै बेर भैसक्यो !.. मेरो लुगा खै ?”-असन्तोष जनाउँदै उसले भन्यो ।
अर्दलीले भित्र लगाउने लुगा ल्यायो ।
लुगा फेरिहाल्नुभन्दा पहिले ग्राफले त्यसको किनारा ध्यानपूर्वक हेर्यो ।
“थाहा थियो मलाई यो ! तैँले यो दाग सफा नै गरिनछस् । तँभन्दा बेकम्मा नोकर पनि होला र कतै ?”- अनि अर्दलीको हातबाट लुगा थुतेर आफैले लगाउन थाल्यो ।- “के जानाजानी त तँ यसो गर्दैनस् ? बता !.. चिया पाक्यो त ?”
“मलाई फुर्सद नै हुँदैन, साप !” – जोहान्नले भन्यो ।
“गधा मोरा !”
त्यसपछि ग्राफले एउटा फ्रान्सेली उपन्यासको किताब हातमा लियो जुन यस्तै बेला-मौकाको लागि उसले साथमा राख्ने गरेको थियो । निकै बेरसम्म चूपचाप पल्टेर ऊ उपन्यास पढ्दै रह्यो । जोहान्न सामोभारमा पानी उमाल्न बाहिर दलानमा निस्कियो । थाहा भएकै कुरा हो, ग्राफ मुर्मुरिइरहेको थियो । ऊ लस्तसँग थाकेको थियो र बाटोको धूलोमाटोले गर्दा फोहोर देखिन्थ्यो । उसले लागइराखेको लुगा जिउमा कसिएको थियो र पेट चाहिँ खालि थियो ।
“जोहान्न !” -उसले कड्केर बोलायो ।-“यता आइज ! खै, त्यो दस रुबलको हिसाब देखा जुन मैले तँलाई दिएको थिएँ ! शहरबाट के के किनेर ल्याइस् ?”
अर्दलीले ल्याएको बिलमा ग्राफले सर्सर नजर दौडाउन लाग्यो र माल-सामान ज्यादै महँगा भएकोमा टीकाटिप्पणी गर्यो ।
“चियासँग रम पनि दिनू !”
“रम त किनिनँ , साप !”-जोहान्नले भन्यो ।
“गधा ! रम साथमा राख्नू भनेर कतिचोटि अह्राउने तँलाई !”
“पैसै पुगेन साप !”
“पोलोजोभले पनि किन किनेन नि ? उसैको नोकरसँग पनि त सापटी लिन सक्थिस् ?”
“कोरनेट पोलोजोभले ? कुन्नि, थाहा छैन ! उसले त चिया र चिनी मात्रै किनेको थियो ।”
“हरामी !..जा यहाँबाट !..जहिले पनि तँ त मलाई जङ मात्र चलाउँछस् ! कूच गर्दा म सघैं चियासँग रम पनि पिउँछु भन्ने तँलाई थाहा नभएको हो र ?”
“यो, सदरमुकामबाट हजुरको नाउँमा आएका दुई चिट्ठी !”-अर्दलीले भन्यो ।
ग्राफले बिछ्यौनामा पल्टेको पल्ट्यै चिट्टीहरू खोल्यो र मनमनै पढ्न थाल्यो । ठीक त्यसै बेला स्क्वाड्रनलाई आफ्नो ठाउँसम्म पुर्याउन गएको कोरनेट पनि भित्र पस्यो । उसको अनुहार हँसिलो देखिन्थ्यो ।
“के हाल छ, तुर्बीन ? यो ठाउँ उति नराम्रो लाग्दैन ! म थाकेर चूर भैसके ! ज्यादै गर्मी थियो !”
“राम्रै छ भन्नुपर्यो ! फोहोर गन्हाउने कटेरो छ र तिम्रो कृपाले गर्दा चियासँग रम पनि खान नपाइने भैहाल्यो । न तिम्रो पाजी नोकरले किन्यो, न त यस स्वाँठले किनेर ल्यायो ! जे भए तापनि तिमीले आफ्नो नोकरलाई त अद्वाउनु पर्ने थियो ।”
अनि क फेरि चिट्ठी पढ्न लाग्यो । एउटा चिट्ठी पूरै पढिसकेपछि उसले त्यसलाई कच्याककुचुक पारेर गुजमुज्यायो र भुईतिर मिल्काइदियो ।
त्यसबेला दलानमा कोरटेनले आफ्नो नोकरसँग खासखुस गर्दै सोध्न थाल्यो ।
“रम किन नकिनेको हँ ? पैँसा त थियो तँसँग ?”
“हामीले मात्रै सबै कुरा किनमेल गर्नुपर्ने के छ र ! सबका सब खर्च मैले नै बेहोर्नुपरिरहेको छ । यस जर्मनलाई चाहिँ पाइप तान्न पाए पुगिहाल्यो । बस् !” दोस्रो चाहिं चिठ्ठी, सम्भव छ, अरुचिकर थिएन, किनभने ग्राफ त्यो चिट्ठी पढ्दै मुसुमुसु हाँसिरहेको थियो ।
“कसको चिट्ठी हो ?”- पोलोजोभले सोध्यो । ऊ फेरि कोठामा फर्केर आइसकेको थियो र आतसखानाको छेवैमा फल्याकमाथि आफ्नो बिछ्यौना ओछ्याउँदै थियो ।
“मिनाको ।”- ग्राफले रमाउँदै जवाफ दियो र चिठ्ठी पनि उसको हातमा दिंदै भन्यो ।-“पढ्ने हो ? साह्रै हिसी परेकी छे मोरी !..हाम्रा युवतीहरूभन्दा कता हो कता राम्री छे ।… पढी त हेर ! कति सूझबूझ र भावनाहरू छन् यस पत्रमा ।.. बस्, एउटै कुरा मात्र राम्रो छैन- पैसा माग्छे ।”
“हो, यो त राम्रो होइन ।”-कोरनेटले सही थाप्यो ।
“मैले केही पैसा दिने वचन दिएको थिएँ उसलाई । तर हामीले यस कुचमा लागिहाल्नुपर्यो ! अँ होस्, स्क्वाड्रनको कमान अरु तीन महीनासम्म मेरो मातहतमा रहि नै हालेछ भने म उसलाई केही पैसा जरुर पनि पठाइदिउँला ! पक्कै पनि चित्त दुखाउँने छैन । ठिटी बिध्नै राम्री छे, कसो ?”- मुस्कुराउँदै र चिठ्ठी पढ्दै गरिरहेको पोलोजोभको अनुहारको भाव नियाल्दै सोध्यो ।
“ह्रस्वदीर्घ त मिल्दैन, तर राम्रै लेख्तिरहिछ । लाग्छ तिमीलाई प्रेम पनि गर्छे ऊ ! साँच्चै !”-कोरटेनले जवाफ दियो ।
“अँ ठीकै त हो ! यस्तकै ठिटीहरू त वास्तवमा साँचो मायापीर्ति पनि गर्छन् !”
“अर्को चिट्ठी कहाँबाट आएको रहेछ नि ?”-कोरनेटले आफूले पढिसकेको चिट्ठी फर्काउँदै सोध्यो ।
त्यो ?..छ एक जना भलाद्मी तर अति बेकक्मा ! उससँग एकबाजि तास खेल्दा केही पैसा हार्न पुगियो । तेस्रो पटक ताकेता गरिसक्यो ।…अहिले त म उसलाई एक आनाकौडी पनि दिन सक्तिनँ !.. कस्तो वाहियात चिठी !”-ग्राफले उत्तर दियो । सके त्यस घटनाको सम्झना भएर ऊ खिन्न हुन पुग्यो ।
त्यसपछि दुवै अफिसर केही बेर चूप रहे । ग्राफको मन:स्थिति बुझेर कोरनेट पनि चूपचाप चिया पिउँदै थियो । कुरा कोट्याउने आँट गरिरहेको थिएन ऊ । बेला-बेलामा ऊ तुर्बीनको सुन्दर अनुहारतर्फ पुलुक्क हेर्थ्यो । तुर्बीन चाहिं कुनै विचारमा हराए झैँ थियो र बारम्बार झ्यालबाहिर नजर दगुराउँदै थियो ।
“हुन सक्छ, सब कुरा ठीक भैहालोस् !”-एकाएक शिर झट्कार्दै पोलोजोभतर्फ फर्केर ग्राफले भन्यो ।-“यदि हाम्रो पल्टनमा यस साल तरक्की भयो र यदि यसको साथै हामीलाई फौजी कार्वाहीमा पनि पठाइयो भने,सम्भव छ, म आफ्ना जोरीपारीहरूलाई उछिन्न सकुँला ! ती अहिले गार्डका कप्तान छन् ।”
चियापानको दोस्रो क्रम शुरु भयो । त्यतिखेर पनि यस्तै-उस्तै विषयहरूमा कुराकानी चलिरह्यो । ठीक त्यसै बखत आन्ना फ्योदोरोभ्नाको सन्देश लिएर बूढो दानिलो त्यहाँ आइपुग्यो ।
“मालिक्नीले सोधिबक्स्या, हजूर ! कतै ग्राफ फ्योदोर इभानिच तुर्बीनका छोरा त होइसिन्न हजूर ?”-अफिसरको नाउँ थाहा पाइएपछि दानिलोले आफ्नै तर्फबाट अजमाएर प्रश्न गर्यो, किनभने स्वर्गीय ग्राफको ‘क’ शहरमा आगमनबारे पनि उसलाई सम्झना थियो । -“हाम्री मालिक्नी आन्ता फ्योदोरोभ्ना उहाँलाई राम्ररी नै चिनिसिन्थ्यो ।”
“मेरा पिताजी नै थिए उनी । आफ्नी मालिक्नीलाई भन्नू कि हाम्रो खोजखबर लिइएकोमा हामी उहाँप्रति ज्यादै नै आभारी छौं । हामीलाई कुनै कुराको नपुग पनि छैन । अँ, के पनि भन्नू भने आफ्नै घरमा अन्त कतै बास बस्न हाम्रो निम्ति एउटा सफासुग्घर कोठाको बन्दोबस्त मिल्न सके त ज्यादै आभारी हुनेछौं !”
“अरे, तिमीले यस्तो किन भन्यौ ? -दानिलो हिंडिसकेपछि पोलोजोभले सोध्यो ।-“के नै फरक पर्छ र ? एक रात न हो यहाँ बिताउनु पर्ने ? किन बिनसित्तै उनीहरूलाई दु:ख दिने
“के कुरा गर्छौं हँ तिमी पनि ? ध्वाँसे कटेराहरूमा खुबै सुतियो । लाग्छ, तिमी व्यवहारपटु छैनौं !.. एक रात पनि कतै आरामका साथ सुत्न पाइन्छ भने किन यस्तो मौकाको सदुपयोग नगर्ने ? अझ उनीहरूले चाहिँ यसलाई आफ्नो सम्मान ठान्नेछन् !”-अनि चम्किरहेका दाँत झल्काएर बिस्तारै मुसुक्क हाँस्दै उसले थप्यो ।-“बस्, एउटा कुरो चाहिं मलाई मन परेको छैन- यस महिलाले पनि मेरा पिताजीलाई चिनेकी रहिछ !..स्वर्गीय पिताजीको जहिलेसुकै सम्झना हुँदा पनि मलाई असाध्य लाज लाग्ने गर्छ । कतै कतै दङ्गाफसाद त कतै ऋण- बस्, यही मात्र सुन्न पाइन्छ । त्यसैले म त उनका पुराना जानपहिचानका मान्छेहरूसँग भेटघाट गर्न मन पराउन्नँ । परन्तु त्यो जमाना नै त्यस्तो थियो ।”-उसले गम्भीर भएर कुरा टुंगायो ।
“मैले त तिमीलाई एउटा कुरा बताउनै बिर्सिराख्या !”-पोलोजोभले भन्यो ।-“एक पल्ट मैले उल्हन ब्रिगेडको एक जना कमाण्डरलाई भेटेको थिएँ । उसको नाम इल्यीन थियो । ऊ तिमीलाई भेट्न चाहन्थ्यो । ऊ त तिम्रा पिताज्यूको खूबै पो गुणगान गर्थ्यो ?”
“सके त्यो इल्यीन पनि त्यसै ड्याङको मूला हुँदो हो । कुरा के त भने यी सबै भद्रभलाद्मीहरू मसँग हिमचिम बढाउन नै आफू मेरो पिताजीको अन्तरङ्ग मित्र भएको दाबी गर्छन् र मलाई थरी-थरीका यस्ता ठट्टेउला कथाहरू सुनाउँछन् जसलाई सुन्दा म लाजले भुतुक्कै हुन्छु । म ठण्डा मगजले हरेक कुरालाई तौलन्छु र त्यसको वास्तविक सार पत्ता लगाउन खोज्छु । मेरा पिताजी बडो जोशिला मान्छे थिए र कैयौं पल्ट उनले ज्यादै अनुचित कामकुरो पनि गरेका थिए । परन्तु त्यो जमानै त्यस्तो थियो । उनी आजको जमानामा जन्मेका हुँदा हुन् त ज्यादै नै काम लाग्ने मान्छे भएर निस्कँदा हुन्, किनभने उनको क्षमता र योग्यता निकै नै प्रखर थियो । यस कुरालाई चाहिँ इन्कार गर्न सकिन्न ।” झण्डै पन्द्र मिनेटपछि नै दानिलो फर्केर आयो र दुवै जनालाई मालिक्नीको घरमा नै बास बस्ने सन्देश दियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।