कपिलले जागिर छोड्ने निर्णय गरेर राजीनामाको इमेल लेख्न लागेको थियो । एस्ट्रेमा राखेको चुरोट उठाएर एक सर्को तान्यो अनि फेरि कम्प्युटरको स्क्रिनमा हेर्‍यो । त्यहीबेला धेरै दिनपछि चियाङ सरासर कपिलको कोठामा पस्यो ।

चियाङ अर्थात् कपिलको विगत डेढ दशकदेखिको आत्मीय साथी। हरेक सुखदुखमा उसले कपिललाई सहयोग र सुझाव दिँदै आएको थियो। तर केही समयदेखि चियाङ र कपिलको सम्बन्ध त्यति राम्रो थिएन । कपिलले चियाङले आफूलाई पैसाको प्रलोभन देखाएर आफ्नो शक्तिको दुरुपयोग गरेर आफूलाई नजरबन्द जस्तो जिन्दगी बाँच्न बाध्य बनाएको ठानेको थियो। त्यसैले चियाङलाई थाहै नदिई कपिल राजीनामा गरेर त्यो अफिसबाट निस्कन चाहन्थ्यो । तर ऊ चियाङको नजरबाट कहिले पो लुकेको थियो र त्यो दिन लुक्न सक्थ्यो ?

चियाङ भित्र आएको देखेर कपिलले उठ्दै भन्यो— “ओ हो, अचानक कसरी चियाङजी? ल बस्नुस्।”

कपिलले आफ्नो अफिस कोठाको सोफातिर देखायो अनि अफिसको ढोका बन्द गर्‍यो । चियाङलाई देखेपछि ऊ फेरि तर्सिएको थियो । जति लुकाउन खोजे पनि कपिलको तनाव उसको मन छेडेर मुहारमा प्रकट भएको थियो ।

“के लिनुहुन्छ? चिया कि कफी?” मनभित्र चियाङलाई कुटेर लखेटौं जस्तो लागेको भए पनि कपिलले औपचारिकता निभाउँदै सोध्यो ।

“चिया भनेको त्यही ग्रीन टि त होला नि, हैन ? कफी नै लिऊँ” चियाङले सोफामा बस्दै भन्यो।

कपिलले कफी मसिनबाट कफी बनाएर ल्याएर चियाङको टेबलमा राख्यो अनि चियाङ बसेको सोफामै ऊ नजिकै गएर बस्यो।

एक सुर्पी कफी तान्दै चियाङले सोध्यो— “के साँच्चै राजीनामा दिने नै हुनुभयो त?”

चियाङको अप्रत्यासित प्रश्नले कपिल झस्कियो। उसले राजीनामा तयार गर्न लागेको कुरा चियाङलाई कसरी थाहा भयो ? राजीनामा पत्र उसले पठाएको थिएन, त्यो त अझै उसको कम्प्युटर मै थियो।

“कसरी थाहा भयो तपाईँलाई ?” कपिलले अलि झर्किएर सोध्यो।

“कपिलजी, तपाईँ आइटी विभागको हाकिम भएर मलाई सोध्दै हुनुहुन्छ कसरी मैले थाहा पाएँ ? प्रविधिको यो जमानामा कस्ता कस्ता गोप्य कुराहरू त छिप्न पाउँदैनन्। यो त के ठूलो कुरो भयो र ? ल तपाईँ आफैँ पत्ता लगाउनुस् न मैले कसरी थाहा पाएँ होला भनेर । यो तपाईँको परीक्षा नै भयो ।” चियाङले कपिलको प्रश्नको उत्तर नदिएर उल्टै कपिललाई आफैँ पत्ता लगाउनुपर्ने चुनौती थम्यायो ।

कपिलले सोच्न सकिरहेको थिएन यो के भैरहेको थियो भनेर । आफू आधुनिक प्रविधिसँग निकै परिचित छु र त्यसको गतिसँगै आफू पनि हिँडिरहेको छु जस्तो लाग्थ्यो उसलाई तर चियाङले उसलाई आफ्नै ज्ञान प्रति शङ्का उत्पन्न गराइदियो। उसलाई थाहा थियो उसले हेर्ने गरेका हरेक सामाग्रीहरू यदि इन्टरनेटको जालोसम्म पुगे भने चिनियाँ सरकारले उसका सबै कुराहरू ट्रयाक गर्छ भन्ने। उसले कुन साइट हेर्‍यो, त्यो साइटमा कति समय बितायो, त्यो साइटमा के गर्‍यो, चिनियाँ सरकार, चिनियाँ कम्युनिष्ट पार्टी अनि त्यसका नेताहरूको बारेमा केही सम्वेदनशील कुराहरू पढ्यो अथवा लेख्यो कि भनेर उनीहरूले हरबखत हेरिरहेका हुन्छन् अनि यदि कुनै सम्वेदनशील कुराहरू लेखेको वा हेरेको रहेछ भने अर्को दिन प्रहरी खोज्दै आइहाल्थ्यो। तर कपिलको राजिनामा त अझै इन्टरनेटको पहुँचसम्म पुगेकै थिएन, उसले त्यसलाई आफ्नो कम्प्युटर भन्दा बाहिर जान दिएकै थिएन, कसरी चियाङलाई थाहा भयो? ऊ सोच मग्न भयो।

डा. राजु अधिकारी

अफिसले केही समय अगाडि सबै फाइल ‘क्लाउड’मा राख्ने नयाँ प्रविधि अपनाएको थियो। कपिल आफैँले नै त्यसको लागि पहल गरेको थियो र आफ्ना सबै फाइल ‘क्लाउड’मा राख्न शुरु गरेको थियो। सायद चियाङले कुनै उपाय लगाएर क्लाउडबाट त्यो सूचना पायो कि भन्ने अड्कल काट्यो र केही बोलेन। तर चियाङले कफीको अर्को चुस्की लिँदै कफीको कप टेबलमा राखेर कुराकानी जारी राख्दै सोध्यो— “तपाईँको रुघाखोकी निको भयो त कपिलजी?”

“अ अहिले ठिकै छ” कपिलले अरु केही नसोची उत्तर दियो। ऊ अझै त्यही राजिनामाको कुरा कसरी चियाङलाई थाहा भयो भनेर सोच्दै थियो।

तर एकैछिन पछि उसले सोच्यो चियाङलाई त्यो रुघाको बारेमा पनि कसरी थाहा भयो त? उसले त चियाङलाई त्यसको बारेमा पनि केही भनेको थिएन। कति महिना पछि बल्ल चियाङसँग उसको भेट भएको थियो भने दुई दिन अगाडि मात्र ऊ रुघा जाँज गराउन अस्पताल गएको थियो।

उसले शंकाकै भावमा चियाङलाई सोध्यो, “तर कसरी मेरो रुघा बारेमा थाहा पाउनु भयो तपाईँले?”

“कस्तो कुरा गर्नुहुन्छ कपिलजी? आज भोलिको युगमा तपाईँ हामीको केही प्राइभेसी छ र? तपाईँको हर कुरा ट्र्याकिंग भैरहेको हुन्छ। कुरा यत्ति मात्र हो कि त्यो कुरा अरु कसैले हेर्छ कि हेर्दैन भन्ने। मेरो त कामै नै तपाईँहरूको गतिबिधि निगरानी गर्ने हो। तपाईँ कहाँ जानु हुन्छ, के गर्नुहुन्छ, कोसँग भेट्नु हुन्छ, कोसँग कुरा गर्नुहुन्छ, के कुरा गर्नुहुन्छ, कसलाई मेसेज पठाउनु हुन्छ, के पढ्नु हुन्छ सबै थाहा हुन्छ नि मलाई।”

उसको कुराले कपिल झन् झस्क्यो। हुन त उसलाई थाहा थियो कम्प्युटरको युगमा त्यो कुरा सबै सम्भव छ, तर पनि उसले सोचेको थिएन कि उसको त्यति धेरै निगरानी भैरहेको थियो भनेर— उसको कम्प्युटरमा उसले के लेख्दै छ भनेर पनि थाहा पाउने गरी।

तैपनि उसले जान्नको चियाङलाई लागि सोध्यो— “कसरी ट्रयाक गर्नुहुन्छ मेरा हरेक गतिबिधि? मलाई पनि भन्नुस् न त।”

“ल सुन्नुस्। त्यो दिन बिहान तपाईँ अस्पताल गएकै कुरालाई उदाहरण लिऊँ— तपाईँ बिहान आठ बजे ब्रेकफास्ट खाएर कोठाबाट निस्कनु भयो, त्यहाँ तपाईँको कोरिडोरमा क्यामेरा छ। अनि लिफ्टमा छिर्नु भयो, त्यहाँ पनि क्यामेरा छ, त्यसपछि कुन तल्लामा जाने भनेर त्यहाँ आफ्नो कार्ड स्क्यान गर्नुभयो। त्यहाँ तपाईँको कुरा रेकर्ड भयो कुन तल्लामा जानु भयो भनेर।

अनि तपाईँको घरको पार्किंग लटमा गएर गाडी निकाल्नु भयो। बाहिर निकाल्दा त्यहाँ तपाईँको गाडी कति बजे बाहिर निस्क्यो त्यो रेकर्ड भयो। तपाईँको गाडीमा र तपाईँको मोबाइलमा पनि जी पी एस जडान गरेको छ त्यसैले कुन बाटो भएर तपाईँ अस्पताल जानु भयो त्यो पनि रेकर्ड भयो। अनि अस्पतालको पार्किंग भित्र जाँदा तपाईँको गाडीको नम्बर त्यहाँ रेकर्ड भयो। अनि तपाईँ अस्पतालको नाम लेखाउने ठाउँमा गएर आफ्नो कार्ड मसिनमा घुसाएर नाम लेखाउनु भयो त्यहाँ पनि तपाईँको सूचना रेकर्ड भयो। अनि डाक्टरले तपाईँको कार्ड स्क्यान गररे तपाईलाई जाँचेर औषधि लेख्यो र तपाईँले औषधिको पैसा बुझाउनु भयो अनि त्यहाँबाट औषधि काउन्टरमा गएर औषधि लिनु भयो। त्यो सबै कुरा त्यहाँको सिस्टममा रेकर्ड भयो। अनि तपाईँ फेरि पार्किंगमा गएर पैसा तिरेर आफ्नो गाडी निकाल्नु भयो। गाडी निकाल्दा तपाईँले पैसा तिरेको र तपाईँको गाडीको नम्बर त्यहाँ फेरि रेकर्ड भयो। अनि बाटोमा एकछिन् गाडी रोकेर तपाईँले कफी किन्नु भयो। कफी किन्दा तपाईँले आफ्नो मोबाइल वालेट प्रयोग गरेर पैसा तिर्नु भयो त्यहाँ पनि तपाईँको सूचना रेकर्ड भयो— कुन कफी किन्नु भयो समेत थाहा हुने गरी। अनि अफिस जानु भयो। अफिसको पार्किंग लटमा तपाईँको गाडीको नम्बर रेकर्ड भयो। अफिस पुगे पछि त्यहाँ तपाईँले आफ्नो कार्ड देखाएर ढोका खोल्नु भयो त्यहाँ पनि तपाईँको सूचना रेकर्ड भयो। अब तपाईँ आफै भन्नुस् त्यो सूचना मैले कहाँबाट पत्ता लगाउँछु। म त सरकारी मान्छे, त्यसैले ती सबै कुरा थाहा पाउन मैले इच्छा मात्र गर्नु पर्छ मेरो लागि केही ठूलो कुरै होइन। तर यो सबै तपाईँहरूको सुरक्षाको लागि हो। यसलाई अन्यथा नलिनु होला। किनभने तपाईँहरू भनेको सरकारको उच्च दक्षता युक्त विशेषज्ञ हो। त्यसैले यो काम मैले आफूले चाहेर भन्दा पनि गर्नै पर्ने भएर गर्नु पर्छ।”

उसले भन्दै गयो, “त्यसैले कपिलजी एक किसिमले तपाईँ हाम्रो नजरबन्दमा हुनुहुन्छ। हाम्रो विद्युतिय नजरको नजरबन्दमा। यो सबैको कारण हो तपाईँले सही गरेको त्यो कागत। सम्झनुस् त तपाईँले सही गरेको सहमति पत्र। हामीले तपाईँलाई स्वीकृति नदिंदासम्म तपाईँ यो अफिस छोडेर कहीँ जान पाउनु हुन्न। हामीले अघोषित नजरबन्दमा तपाईँलाई राखेका छौं। यदि आफ्नो सहमतिपत्रको विरुद्ध जान लाग्नु भयो भने हामी कुनै न कुनै बहाना निकालेर तपाईँलाई रोक्न बाध्य हुन्छौं। तर यो सबै तपाईँको भलाईको लागि त हो नि। तपाईँलाई हामीले यहाँ यत्रो इज्जत दिएर, पैसा दिएर राखेका छौ। तर यो सबै तपाईँ र तपाईँको परिवारको भलाइको लागि मैले साथीको नाताले गर्दैछु।”

“तर म यहाँ खुशी छैन। म उकुश मुकुश भएको छु। नजरबन्दमा पनि कोही खुशी भएर बाँच्न सक्छ र? अनि यदि मैले तपाईँहरूको कुरा नमानेर यहाँ छोडेर गएँ भने के हुन्छ?” कपिलले सोध्यो।

“ल यो भिडियो हेर्नुस् के हुन्छ भनेर। अनि आफै थाहा पाइहाल्नुहुन्छ” भन्दै चियाङले गोजीबाट आफ्नो फोन निकाल्दै फोनमा भएको एउटा भिडियो देखायो। त्यो भिडियो कपिलको कान्छो छोरो प्रसिद्धको भिडियो थियो। उसको कान्छो छोरोलाई स्कुल जाँदै गर्दा गुण्डाहरूले फकाई फुलाई लगेर अपहरण गरेका थिए। उसलाई मुखमा पट्टी लगाएर हात बाँधेर राखिएको थियो। ऊ चिच्याउँदै थियो तर मुखमा पट्टी बाँधेकोले राम्ररी आवाज आएको थिएन।

त्यो देखेर कपिल रिस र डरले एकै चोटी रातो र तातो भयो। अनि चियाङको कठालो समातेर सोध्यो— “के गर्न खोजेको तिमीहरूले? तिमीहरूसँगको मेरो सम्बन्ध किन परिवारसम्म पुर्‍याउँछौ? जे गर्नु छ मलाई गर न। मेरो परिवारलाई किन दु:ख दिन्छौ?”

“कुरै नबुझी नरिसाउनुस न् कपिलजी, घर फोन गर्नुस् न पहिले” चियाङले कपिलको हात हटाउँदै शान्त भावमा भन्यो।

कपिलले तुरुन्तै घरमा फोन गर्‍यो।

“हेलो”— उताबाट आवाज आयो। फोन उसको कान्छो छोरो प्रसिद्धले उठाएको थियो।

“कहाँ छौ तिमी छोरा? के भो तिमीलाई? मामु खै?” कपिलले एकै चोटी सबै प्रश्न सोध्यो।

“किन र? केही भा छैन। मामु ट्वाइलेटमा हुनुहुन्छ” छोरोले जवाफ दियो।

“अनि स्कुलबाट किन यति छिटो आएको त आज?” उसले अपहरणको कुरा के रहेछ भन्ने जान्नको लागि सोध्यो।

“आज स्कुलबाट हामीलाई प्रहरीहरूको बारेमा जनकारी गराउने भनेर प्रहरी स्टेसन देखाउन लगेको थियो। प्रहरीले हामीलाई नचिनेको मान्छेलाई आफ्नो बारेमा भन्नु हुँदैन, उनीहरूसँग बाहिर जानु हुँदैन भनेर पनि सिकायो। अनि पापु, त्यहाँ हामीलाई अपहरण परेको नाटक पनि गर्न लगायो, कस्तो रमाइलो भयो” प्रसिद्धले भन्यो।

“के रमाइलो भयो?” कपिलले फेरि सोध्यो। उसलाई अपहरणको उत्तर मिलेको थिएन।

किडन्याप कसरी हुन्छ, किडन्याप भए पछि के गर्नु पर्छ भनेर पनि सिकायो। मैले पनि किडन्याप भएको नाटक गरें, कस्तो रमाइलो भयो। अनि त्यतैबाट घर ल्यायो। हजुरलाई ग्रुपच्याटमा मेरो त्यो भिडियो पठाएको छ नि टिचरले, हेर्नु भयो?”

“अँ हेरे। ल ल हुन्छ, म अहिले फोन राख्छु है” उसले शान्तिको स्वाश फेर्दै फोन राख्यो। अनि पुलुक्क चियाङलाई हेर्‍यो। अपहरणको कुरा के रहेछ उसलाई थाहा भयो तर उसले चियाङमाथि गरेको व्यवहारमा उसलाई पछुतो लागेको थिएन। अपहरणको कुरा नाटक मात्र भए पनि चियाङलाई कठालो समात्न पर्ने कारणहरू कपिलसँग सयौं थिए।

“मैले भन्दै छु नि। त्यत्तिकै रिसाउनु हुन्छ कपिलजी तपाईँ पनि। तर यदि हामीले भनेको मान्नु भएन भने कुनै दिन त्यो भिडियोमा भएको जस्तै नहोला पनि भन्न सकिंदैन। त्यसैले विचार पुर्‍याएर आफ्नो निर्णय लिनुहोला” त्यति भन्दै ऊ कुर्सीबाट उठ्यो र कोठाबाट निस्क्यो।

कपिल दिक्दारीमा टाउकोमा हात लगाउँदै कहाँ फसिएछ भन्दै पछुताउन थाल्यो।

उसलाई आफूले पढेको १९८४ भन्ने पुस्तकको याद आयो। त्यो पुस्तक उसलाई निकै मन परेको थियो। तर ऊ त्यही पुस्तकको पात्र विन्स्टन जस्तो भएको थियो। जहाँ गए पनि उसलाई चियाङहरूले आफ्नो निगरानीमा राखेका थिए। जति कोशिश गर्दा पनि उनीहरूको जालोबाट ऊ बाहिर जान सक्दैनथ्यो।

कहाँ जान्छ, के गर्छ, के खान्छ, के पढ्छ, कसलाई फोन गर्छ, कति बेला कहाँ हुन्छ हरेक कुरा उनीहरूले पूर्ण निगरानीमा राखेका थिए। इन्टरनेटले गर्दा खेरि उनीहरूलाई निगरानीमा राख्न निकै सजिलो भएको थियो। ऊ त्यसबाट उम्कन सक्दैनथ्यो।

कपिलको रिस र डर एकै चोटी निस्क्यो तर उसले केही भन्ने आँट गरेन। केही भन्ने स्थिति र ठाउँ पनि थिएन।

कपिलले लामो सुस्केरा फेर्‍यो तर केही उपाय थिएन। बाहिर ढोकामा आएको ढक् ढक् आवाजले ऊ झस्कियो।

“ढोका खुलै छ, भित्र आउनुस्” कपिलले भन्यो। उसकी स्वकीय सचिव जुलिया ढोका खोलेर हातमा फाइल सहित भित्र पसी।

अफिसमा ऊ मात्रै एक्लै थियो। जुलियालाई अचम्म लाग्यो। केही अगाडिसम्म कपिलको अफिसमा दुईजनाले कुरा गरेको सुनेकी थिई। उसलाई बुझ्नै गाह्रो भयो तर केही सोध्ने आँट गरिनँ। सायद स्पिकरमा राखेर फोनमा कुरा गरेको होला भन्ने ठानी।

“यी फाइलमा सही गर्नु छ सर” भन्दै केही फाइलहरू उसको टेबलमा राखेर ऊ अचम्म मान्दै फर्की।

कपिलले पनि उसको त्यो हेराइमा अचम्म मान्यो। उसका आँखाहरूले त्यो कोठा भित्र केही खोजिरहेका जस्ता देखिन्थे। तर उसले पनि सोधेन के हो भनेर।

अफिस सकिने बेला भएको थियो, हिउँदको दिन भएकोले अलि अलि अँध्यारो भैसकेको थियो। घर फर्कन भनेर ऊ बाहिर निस्क्यो। बाहिर निस्केर कपिलले के गरौँ भनेर सोच्दै थियो। उसलाई अलिकति इख पनि थियो— आज म यिनीहरूलाई देखाउँछु, कसरी मेरो ट्रयाक गर्दो रहेछन् त भनेर सोच्यो। प्रहरीमा गएर चियाङ विरुद्ध उजुरी गर्ने कि भनेर पनि सोच्यो। तर चियाङ त सरकारी मान्छे थियो, प्रहरीले त्यो उजुरी के सुन्ला र? अँझ उसको विरुध्द्द उजुरी गरेको भनेर उसको अँझ धेरै निगरानी पनि हुने पो हो कि? भन्ने सोचले हच्कियो।

साँझको मिर्मिरे उज्यालोमा ऊ आफ्नो गाडी पार्किंग गरेको ठाउँमा जान भनेर हिड्यो। उसको गाडी पार्किंग गरेको ठाउँ लिफ्टबाट जानुपर्थ्यो। जताकतै क्यामेराहरू थिए। उसलाई क्यामेरा देख्दा पनि डर लाग्न थालेको थियो। त्यो क्यामेराबाट पनि कतै चियाङले नै उसलाई हेरिरहेको पो छ कि जस्तो उसलाई लाग्थ्यो। के गर्ने भनेर उसले सोच्न थाल्यो। गाडी चलाएर जाऊँ भने चियाङले ट्र्याकिंग गर्ने छ, मेट्रोमा चढेर जानु पर्‍यो भनेर उसले सोच्यो। तर मेट्रोमा पनि त कार्ड प्रयोग हुन्थ्यो अनि त्यो कार्ड उसको मोबाइलमा क्रेडिट कार्ड माध्यमबाट जोडिएको थियो। पक्कै पनि त्यहाँ पनि उनीहरूले ट्र्याकिंग गर्छन् होला। नभए ट्याक्सीमा जानु पर्‍यो भनेर उसले मोबाइल निकालेर ट्याक्सी बोलाउने एप खोल्यो। त्यसमा त झन् स्पष्ट कहाँबाट चढ्ने कहाँ ओर्लने भनेर ट्र्याकिंग भैरहेको हुन्थ्यो।

हैन साइकलमा जानु पर्‍यो भनेर साइकल भाडामा लिने एप खोल्यो मोबाइलमा। त्यहाँ पनि ऊ बच्न सक्दैनथ्यो, त्यसमा पनि सबै ट्र्याकिंग हुन्थ्यो। बसमा जानु पर्‍यो भनेर सोच्यो। त्यहाँ पैसा तिर्न पनि कार्ड प्रयोग गर्नु पर्ने अनि ट्र्याकिंग हुने। बसमा कार्ड प्रयोग नगरेर पैसा तिरेर जानु पर्‍यो भनेर सोच्यो तर खल्तीमा पैसा थिएन। उसले पैसा बोक्न छोडेको धेरै भैसकेको थियो। जहाँ पनि मोबाइलबाट नै पैसा तिरिन्थ्यो त्यसैले पैसा बोक्नु केही आवश्यकता पनि थिएन। तरकारी पसल देखि सरकारी कार्यालयसम्म सबै ठाउँमा मोबाइलबाट नै कारोबार हुन्थ्यो। अब हिंडेरै जानु पर्‍यो भनेर सोच्न थाल्यो तर हिंड्दा पनि त मोबाइलको जी पी एस मार्फत उसको ट्रयाक भैरहेको हुन्थ्यो। दिक्क मानेर उसले टाउकोमा हात राख्यो।

“घर फोन गर्नु पर्‍यो भनेर नम्बर डाएल गर्‍यो। तर उसको फोन पनि त ट्र्याकिंग भैरहेको होला। तर उसले त नेपालीमा कुरा गर्छ कसरी बुझ्लान र? किन नबुझ्नु? चियाङले त नेपाली बुझ्छ नै। अरुहरूको लागि बोल्दा बोल्दै एउटा भाषामा बोलेको कुरा अर्को भाषामा सुन्ने प्रविधि आइसकेको छ, त्यो पनि उनीहरूबाट लुक्ने कुरै भएन। कि मोबाइल फालेर हिंड्नु पर्‍यो। त्यसो गर्दा पनि सडकका कुना कुनामा चारैतिर छरिएर रहेका क्यामेराबाट त ऊ जोगिन सक्दैनथ्यो। अनि अन्तिममा केही उपाय नलागे पछि उसले हार मान्दै आफ्नो गाडीबाटै जाने निधो गर्‍यो अनि गाडी चलाएर घरतिर लाग्यो।

गाडी चलाउँदै अफिसबाट निस्कँदा उसलाई चियाङप्रति निकै रिस उठ्यो। केही पनि व्यक्तिगत कुरा भन्ने थिएन, यस्तो लाग्थ्यो कि उनीहरूले उसको शयन कक्षको पनि निगरानी गरिरहेका होलान्। उसका व्यक्तिगत विवरण बटुलेर उसलाई स्वतन्त्र जीवन बाँच्न नदिने सबै चिज भत्काईदिउँ जस्तो पनि उसलाई लाग्यो। पोलमा ठडिएका क्यामेराहरू, मोबाइलका सिग्नल फ्याक्ने मसिनहरू सबैलाई गाडीले ठोक्काएर बिगारी दिउँजस्तो लाग्यो तर उसको आँट आउँदैनथ्यो। जताततैबाट ऊ निगरानीमा थियो। अलिकति केही हुने वित्तिकै कहाँ कहाँबाट प्रहरीका गाडीहरू जम्मा भैहाल्छन् र उसलाई लगेर जेलमा कोच्नेछन् भन्ने उसलाई राम्रोसँग थाहा थियो। आफू एक्लै भए त सायद ऊ डराउदैनथ्यो होला तर परिवरार र छोराहरूको बारेमा सोच्ने वित्तिकै उसका मुर्खताका सबै जोशहरू सेलाए।

(राजु अधिकारीको मनोवैज्ञानिक उपन्यास ‘धुवाँको तस्बिर’बाट)