
पर्सिपल्ट बिहानदेखिन् घरमा अलि खलबल मच्चिन लाग्यो- रामकान्त किन घर आएनन् । साथी भाइहरूकहाँ खबर पठाइयो । कतै कसैको दक्षिणकालिका जाने कार्यक्रम थिएन । सब जना ताजुबी प्रकट गर्दथे । के रामकान्त घरमा छैन ? ………
आखिर सुस्त-सुस्त यथार्थ कुरा खुल्न गयो रामकान्त अवश्यमेव भागेर बेपत्ता भएका थिए । चम्पाले पाँचौँ दिनका दिन आफूलाई लेखिएको पत्र फेला पारिन्, जसमा तल लेखिएबमोजिमका शब्दहरू भरिएका थिए –
चम्पा ! ……. मलाई ईश्वरको प्रेरणा यस्तै भयो । म तिमीबाट डराएर भागिरहेछु । तिमी भयानक वस्तु छ्यौ । पहिले त म तिमीमा होमिऊँ भनेजस्तो लाग्दथ्यो तर म बाँच्न चाहन्छु । म मर्न चाहन्नँ । तिमी मेरी मृत्यु हौ । यो पत्र तिम्रो हातमा कुनै दिन जरुर पर्नेछ । पढ्दा तिमी दुःखित हुनेछ्यौ तर तिमी विचार गर कि मलाई स्त्री विष छ । म अभागी टी.बी.को शिकार छु । निको भएजस्तो मात्र छ । कति जना निको भएर स्त्रीको संसर्गले मरेका छन् चम्पा ! तिमी मलाई माफ गर । म तिम्रो ज्वाला, पवित्र ज्वालामा होमिएर शीघ्र मर्न चाहन्नँ ।
म जान्दछु म तिम्रा निम्ति अयोग्य छु । सन्तान उत्पादनको लागि मेरो योग्यता खराब योग्यता छ । एक ता मनुष्यजातिमा कमजोर, कीटाणुयुक्त पैदावारी गर्नु, अर्कातिर आत्मध्वंस, तेस्रोतर्फ, तिमीलाई दुःखी बनाउनु । म यी तीनै कामबाट आफूलाई अलग राख्न चाहन्छु । सन्तान भए पनि म तिमीलाई रक्षा गर्न बाँचिरहने छैन । पालन गर्न सामर्थ्यशील जीवन जिउन सक्नेछैन । तिमी एक परिछ्यौ । म तिम्रो लायक थिइनँ । म आफ्नो न्यूनतामा सचेत छु । तिम्रो बैँस ज्वलन्त छ । तिमी एक मोहिनी अवतार छ्यौ तर हाम्रो बिहे हुना जानु एक परम अभाग थियो । हाम्रो भविष्य यस्तो होला भन्ने दुवैतर्फको सपना थिएन । अब हाम्रो दाम्पत्य जीवनका निमित्त झारतिराइ माग्नुभन्दा आत्मवचन या छाया, बोक्रो माग्नुभन्दा, त्यसको आशा छोड्नु नै मलाई ज्यादा वेश लाग्यो । किन परालको त्यान्द्रामा झुन्डिनु जब हामी दुवै जान्दछौँ कि यो पिटिक्क चुँडिन्छ ? अफसोस ! हामी ब्राह्मणवर्गमा विश्वासविच्छेद छैन ।
म तिम्रो रूपको मनमनको पुजारी थिएँ । जीवन-पुष्प तिम्रो पदमा समर्पण गर्न इच्छा राख्तथें । तर अचानक यस्तो पर्न आयो । यो न मेरो दोष हो न तिम्रो । मेरो रोगको सिकार अझ तिमी हुन आयौ । हाम्रो जीवनमा प्रेम सुरु हुनुभन्दा अगाडि मृत्युको आरम्भ भयो । म तिमीजस्तो प्रकृतिले सुसिज्जत सुकुमारी उर्वरा बैँसलाई स्पर्श गर्न चाहन्नँ । किनकि यो अनैतिक कर्म हो । म तिम्रो आत्मालाई दुःख दिने र धापमा गाड्ने क्रियाबाट पापको डरले पन्सिन्छु ।
म चिरकाल जीवित रहेँ भने पनि तिम्रो रहनेछैन ।
मैले तिमीलाई हृदयबाट निमिट्यान्न मेट्नका लागि यो विश्वभ्रमणका निम्ति प्रस्थान गरेको हुँ । तिमी नरोए ! तर तिमी व्यक्तित्व हासिल गरेर आफ्नो जीवनको बाटो (समाज र बोक्रे धर्म विरुद्धमा) ठिक गर्ने उपाय सोचे । तिम्रा निमित्त पुरुष म होइन । पुरुष अर्कै कतै जन्मिएको जरुर होला ….
मैतीदेवी तिम्रो कोही पनि नाइँ
१ वैशाख १९२६ श्री रामकान्त अधिकारी ।

महाकवि लक्ष्मीप्रसाद देवकाेटा
यस पत्रलाई पढेर चम्पालाई एक किसिमको अनौठा जिल्म-जिल्ला भएजस्तो लाग्यो जस्तो विदेशी मुलुकमा हराएको अबलालाई लाग्छ । अब उनी बुझ्न सक्तिन थिइन् बिहे गरेर दिएको घर आफ्नो थियो कि थिएन ? ती स्वामीदेवले आफूलाई त्याग गरेका थिए ? उनी यहाँ बस्नु उचित थियो कि थिएन ? उनको यसमा अधिकार थियो कि थिएन ? उनलाई एकछिन बेसरी रुन मन लाग्यो आफ्नो लाचारीउपर । आफ्नो कुइरोमय भविष्यउपर । आफ्नो यता न उताउपर । के उनी कसैकी थिइनन् त ? के उनी विश्वद्वारा निन्दित व्यक्त वस्तु थिइन् ?
उनले पत्रका सब कुराहरूको स्पष्ट अर्थ बुझ्न सकिनन् । “सायद रोगी भएकाले स्त्रीसँग फसे मरिन्छ भनेर भाग्या होला, जोगी भा होला अब । एक वचन त बोल्नुपर्थ्यो ? हामीसँग पनि ? … कसरी छोड्न सक्नु ? … कति निठुरी ढुङ्गा हुँदा रहेछन् पुरुष ?” अब उनको सहारा खै ? उनलाई पाल्ने को ? हेर्ने को ? हाँगा काटिएको लहराजस्तो जगत्का हावा आँधीमा उनको के दशा हुने अब ? ….. उनी बरबर रुन लागिन् । चौपट्ट चित्त दुख्यो । यसरी अवहेलित हुनु, आह ! “मैले के गरेकी थिएँ र ? के बिराएकी थिएँ र ?” हामी यिन आँसुको विश्लेषण पूरा तवरले गर्न सक्तैनौँ तर चम्पालाई निसास्सिएजस्तो लाग्यो । रुन मन लाग्यो । उनले भन्न सकिनन् किन ? यो पत्र अरूलाई देखाउन लायक सम्झिनन् । भागेको पक्का रहेछ अब । “संन्यासी या जोगी भा होला ! कसले के भन्या थियो र ? कसले छुनु भन्या थियो र ? अनैतिक कर्म भए घर वैरागी हुन कल्ले छेक्या थियो र ?” इत्यादि ।
चम्पाको हृदयले उसतर्फ पुरुषको हृदयको महती एकान्त वेदनाको एक रत्ती छेउ पक्रन सक्तैनथ्यो । उनी सम्झन्तिन् कि स्त्री त्याग गरेर जोगी बन्न गए । उनको हृदयमा कुनै कोमल भाव थिएनन् फुस्रा हुनेहरूको त कति पनि हिसी हुँदैन । त्यसै जरजरती परेका, अरिमठे मोराहरू ।
दया भए पो मान्छे । ती पशुपतिमा नाङ्गा भएर धुनी जगाउने मोराहरू पनि त्यस्तै हुँदै हुन् । तिनीहरू पनि त एक सुवासिनी रुवाएर घरबाट निस्क्या होलान् नि ……. दया हुन्छ र दिलमा जोगी भएर मात्र ? …. मान्छे त्यसै स्वर्ग जान खोज्दछन् ।
दुवैतर्फ भाले तथा पोथीमा स्वार्थका भावनाहरू प्रधान थिए । विशेषतः यसकारणले कि तिनीहरूमा एक बलिवेदीमा आत्मआहूतिमा परस्पर प्रदर्शन गरिने मिठासको अब अवकाश बाँकी थिएन । भालेले तीव्र वेदनाले प्रस्थान गरेको थियो । नैतिक तत्त्वका लागि समेत । पोथी त्यस प्रस्थानको निन्दा गर्दथी । साथसाथै र आफ्नो निस्सहायता तथा जीवनप्रयोजनको अपूर्तिको चेतनाले दुःखित थिई- हतियार र हराएका योद्धाहरूझैँ जो सङ्ग्रामका क्षेत्रमा आफ्नो बलियो हातबाट विजयास्त्र चट्ट फुत्केर नभेटिने ठाउँमा उडेर पुगेको पाउँछन् । अस्तु ।
चम्पाले अरूहरूलाई पनि आफूले बुझेको कुराको सङ्केत दिइन् । दुई-चार रोज, हप्ता, पक्ष, एक मास, खोजतलाशमा बिते । अर्को महिना चिठीको प्रतीक्षामा व्यर्थ तीस पङ्खामा उडेर पश्चिम गयो । त्यसपछि केवल निराशाले रामकान्त अधिकारीको मैतीदेवीको घरमा वास गर्न थाल्यो । त्यस सुनौला पिँजराबाट एक बोल्दो, गम्किदो चिडिया विशाल विश्ववनमा फुका उडान लिएर अक्कासिएर गएको थियो ।
त्यसपछि चम्पाको घरेलु जीवनमा अनेक कठिनाइहरू उपस्थित भए । उनी साराका अगाडि निरस्त्र जस्ती भइन् । सबकी हास्यपात्र उनी हुन्थिन् । सानो कुरामा पनि खिसिक्क हाँसिदिने माहिली जेठानी …… चुनु ।
“आज शनिश्चरवार होइन ?”
“खूँ…. खूँ …. खूँ …. खूँ … !”
कत्रो “खूँ ! खूँ ! खूँ ! – त ?” खुनै चुस्लाजस्तो बा हाँसो तिनीहरूको ! अरू पर्यो देखे खुब दाँत बजाउँछन् । खाडलमा पर्या देखे त ब्वाँसोजस्तो हाँसिरहँदा होलान् दिनभरि, कुन्नि ?
आइतवार भन्न पनि नहुने ! …
सासू पनि मानो पोइलाई निकाल्ने यही हो भनेजस्तो गर्ने घोरमुखा ! ……
“तँ आएदेखिन् खुब लच्छिन लागिरहेछ घरमा । मेरो कान्छो छोरालाई रोग लाग्यो तँ आएदेखि । तैँले नै गरेर ऊ घरबाट वैराग्यले निक्ल्यो । राम्रो छ तेरो चालामाला ? कान्छुलाई निकाल्न भित्र पसेकी सेती बिराली ।” बस् ! त्यसका साथ झन् ऊ नै पो रुन थाल्ने, ए !
चालामाला ? कठेनी, पहाडिनीले राम्ररी हाँस्या, खेल्या, चल्या देख्न हुन्छ र ? नाक चलाई रे ! भौँ बङ्ग्याई रे ! त्यस्तो पनि हो मान्छेलाई ? पनेला चोली लगाउने सासू ता नपरोस् वा कसैलाई ! एक आँठे कपाल बाट्दै थिइन् ल अस्तिसम्म । शुद्ध कँठेनी । रेसम लाएर सलम लाएर ऐना हेरी रे ! त्यस्तो पनि भन्ने कुरा हो कतै ? कस्तो असभ्य घर छिः ! जिब्रो ता भो, गाईको के खस्रो होला र ?
अघिल्लो जनममा बघिनी थिइन् कि भालुनी, कुन्नी ?
सासूबुहारीको कथा घरेलु दैनिक उपन्यासका रूपमा यथार्थ दर्शन सबले गरेकै छन् । यथार्थको अनुभव नै साहित्यभन्दा राम्रो हुन्छ । यो जुगान्तर चलिआएको वैमनस्य मनोवैज्ञानिकहरूले परीक्षण गर्दा यौनभावको प्रतियोगितामा आपखरी बैठान बसाएका छन् । विनाछोराकी बुहारी घरकी कसिङ्गार देखिन्छे ………. विधवा होस् या सधवा होस् । छोरीको व्यक्तित्वको कब्जा र प्रभावले गर्दा सासूनामक उग्र जलको बाढीलाई किनाराबद्ध गर्दिन्छ, तर सासूहरू खहरे भएर गड्कन्छन् त्यस वेला जुन वेला घरमा छोरो हुँदैन । नियन्त्रित सौतेनी ….. भावना सायद त्यस स्नेहकी अति धनीउपर खत्तिन जान्छ जो बेहतियार अकेली रहन्छे । त्यस वेला देउरानीजेठानीका बलले समेत सासूको साम्राज्याधिकारको दाबा पोषण गर्ने थाल्दछन् ।
चम्पालाई घर टिकिसक्नुको भएन । कस्तो घर ! कुरा फाँड्या छन् । फाँड्या छन् । कस्ता सुवासिनी मान्छेहरू छिः … एउटा बाजे आँखामा हाले पनि नबिझाउनेजस्ता नभा भे त भो !
चम्पाको जीवनस्वप्नको स्वर्णमहल हावामा बेपत्ता थियो । उनलाई एक आशा थिएन । एक भरोस । बैँस गुनकेसरी, लाहुरे सुनगाभाझैँ फुल्यो । तर केका लागि ? रुन, च्याँठिन, बोक्सी लाग्न । बुहार्तन खान ।
जीवन भन्या खै ? उनले विचार गर्न थालिन् । खै जीवन ? …. के छानामनि वास गर्नु चिथरेसन र कोपरेसनको नाम जीवन हो ? हामी किन जन्म्यौँ ? चम्पाले यस वातावरणमा व्यक्तित्वको विकास हुने तत्त्वहरू प्रारम्भिक तवरले पनि हासिल गर्न पाएकी थिइनन्, विचरी ! साथी कोही थिएनन् । उनको व्यक्तित्वको चेत गुणको विशेषताको चेत भएको गुण मनुष्यको मूर्तिझैँ ती आफूउपरका नियन्त्रक अधिकारीवर्गविरुद्ध बागी फटाफटाइ लिन खोज्थ्यो जो हामीहरू अन्यायपूर्वक तल थिचिएका छौँ भन्ने चैतन्य अन्तर्हृदयमा राख्तछन् । यो सहानुभूतिहीन भरेलु जीवन ? बोक्रा बाख्राहरू साथसाथ राखिँदा मनोरञ्जक सिँगौरी लडाइँ गर्छन् । त्यसमा द्वेष छैन ? …..
चिमट, विष छदाइ, कोट्याइ, छेड, रुवाइ, खिसीटेप्ली के हामी यत्ति चिजका निमित्त जन्मिएका हौँ र ? …
चम्पाको व्यक्तित्वले आफ्नो गृह नामको जेलखानाको बन्द उकुसमुकुसीबाट आत्माविस्तारको क्षेत्र क्रमशः खोजी गर्न लाग्यो उनलाई घर टिकिसक्नु भएन । एक दिन चम्पा कुनै माइतबाट भेट्न आएको मानिससँग कुरा गर्न लागेकी थिइन् । सासूले उनको हँसाइ, चलाइ इत्यादिबाट उनको चालचलनको टीकाटिप्पणी गर्न थालिन् ।
“यो मान्छे नचिनेकी हो र ? यो वेश्ये हुन्छे । वेश्ये ।’
चम्पाको हृदय विदीर्ण भयो । यति काइदासँग धर्म सम्झ्यो त्यसका लागि जो आफूलाई “तिम्रो कोही होइन” भनेर त्याग गरेर एक वचनविना बिदेसिन्छ । उनले सहेको, भोगेको कसले देख्यो ? यति गर्दागर्दै जेठानी छिमेकीहरूको अगाडि वेश्ये हुन्छे ?’ वेश्ये हुन मन लाग्या भए कल्ले छेक्न आउँथ्यो त कसलाई ? कतिका छोरीबुहारी चोखै रहेका छन् संसारमा त ? … गुण पर्यो भकून् थापा .. कस्तो मुखाले घोरमुखाहरू ! ….
घर त्यसको नाम हुँदैन जहाँ आफ्नो मालिक्याइँको सम्भावना न्यूनतम मात्र पनि छैन । परिवारिक जीवनको माने सुरु हुन्छ जब बुहारीले मातृत्वको आरम्भ गर्दछे तर चम्पालाई कुनै किसिमको प्राकृतिक या अरू दावा घर नामको विदेशतर्फ लगाउने अवकाश दिएको थिएन ।
उनको हृदयले तीव्र वेदनाको स्वरमा उद्गार गर्न लाग्यो “हाय ! अभागिनी चम्पा ! खै तेरो घर ! यत्रो संसारमा तेरो को छ ?”
चम्पालाई घरतर्फ झन् झन् वैराग्य लाग्दै गयो । उनी बोल्न चाल्नसम्म पनि छाड्दै गइन् । कृष्णको पूजातिर ज्यादा ध्यान दिन्थिन् । उनलाई अरू आश्रय या अरू कुनै पक्रिने हाँगो थिएन । यौनभाव परम पूजनीय भए तिनको आदर्श आश्रयस्थान जसलाई हामी कृष्णजी भन्छौँ सब स्त्री जातिका परमेश्वर तथा स्वर्ग मात्र होइनन् कि सब दबाबमा रहेका अन्तर्व्यापारका आच्छन्न प्रकाशनका दिव्य मार्गसमेत छन् । ज्यादाजसो ती स्त्रीहरू श्रीकृष्णतर्फ ज्यादा भक्ति गर्न प्रवृत्त रहन्छन् जसमा सामाजिक या घरेलु घटनाले तथा औद्योगिक कर्मका आभावले, आत्मप्रकाशनको बाटो सबभन्दा साँघुरा रहन्छन् । निरोधक कुलो श्रीकृष्ण चम्पाका निमित्त दिनदिन फैलिँदै भरिँदै जान लागेर तिनका स्रोतमा प्रशस्त जल बहन लाग्यो । त्यसउपर पनि अझ् विरोधी समालोचना भयङ्कर टिप्पणी !
संसारमा मानिसहरूलाई त राक्षस भन्नु न दैत्य । कति असहनशील हुन्छन् तिनीहरू ल । अर्काले गरेको धर्मलाई समेत हँस्सी उडाउन सक्ने यी-यी पापिनीहरू !
श्रीकृष्णको चित्र बडो सुन्दर सिँगारेर चम्पाले आफ्नो कोठाभित्र सजिसजाउ टेबिलउपर राखेकी थिइन् । ज्यूनारको समय हुन्थ्यो, स्नानको, सुकलाको । सुसारको समेत । कल्पनाले ती सब चिज कृष्णको चित्रलाई सजीव बनाएर उनका साथमा सम्बन्धित राख्दथ्यो, जतिको अभाव चम्पाको घरेलु जीवनको बैँसालु विकासमा उनी आफैँ भित्र-भित्र अनुभव गर्ने गर्थिन् ।
उनलाई कहिले पूरा तवरले विश्वास लाग्दथ्यो कि ती कृष्णजी चित्रबाट सजीव भएर जीवनकार पुरुषका स्वरूपमा चट्ट टेबिलबाट उर्लेर उनका बगलमा जुनेली रात बिताउन आउन सक्थे । सुन्दरतम मानव । एक आदर्श-मानवीय, राजसी मानवीय-सब युगका स्त्रीहरूका निमित्त आवश्यकीय पाइनुमा नै धर्मको मुख्य आधार र आश्रय बनेको छ ।
चुम्बन, वन्दन, आत्मसमर्पण, छातीटँसाइ, खुसखुस कुरागराइ, टहल, शुश्रूषा, स्वामीभावना इत्यादि सब भक्तिमार्गका शाखा पनि हुन् तथा यौनभावमा प्रशाखास्वरूप पनि । यस काल्पनिक नाटकीय दाम्पत्यजीवनमा चम्पालाई ठुलो सोख बढ्दै गयो अरू तवरको अदृश आश्रयको अभावले । यो पनि एक किसिमको व्यभिचार ता जरुर थियो, बुझ्न सक्नेहरूका निमित्त, किनकि सब सभ्य व्यभिचारजस्तो असन्तोष प्रेरित आकाङ्क्षाहरूको पूर्ति यहाँ पाइन्थ्यो । त्यस जीवन या पुरुष-धनीबाट जसमा समाज स्त्रीलाई सन्तुष्ट राख्न चाहन्थ्यो तर यो धर्म\समर्थित व्यापारमा आदर्श पति प्रतिबिम्बताको आडमा पुरुषतर्फ कुनै दुर्भावना गरिएको छ भन्नु फजुल थियो ।
चम्पाको, अरू नेपाली दलित अचेत या अर्धचेत या अर्धविकसित स्त्रीहरूको झैँ व्यक्तित्व विकासको भरखर आरम्भ हुने चेष्टासम्म देखिएको थियो । व्यक्तित्व नै संसारको सम्राट् हो । यसको अभाव शून्यता हो । त्यस शून्यतामा जीवनको लवलेश पाइन्न । मनुष्य जब एक चिज हुँ भन्दछ, र अरू चिजसँग लड्न थाल्दछ, ऊ केही न केही बन्न जान्दछ । जब ऊ सब किसिमको चिजमा एकाकार रहन्छ या सब मतको समर्थक रहन्छ, तबसम्म ऊ हावाको निर्जीव परालका रूपमा रहन्छ । मत्वको मात्राको प्रधानता चढ्नु नै विकासको पहिलो सिँढी हो । आज्ञाकारिताको विष्णु सहस्रनाम सबैले लेखेका छन् तर केवल झकाइ र निहुराइ मात्र विकास हो भन्नु सफेद गलत हो । चम्पाका निमित्त, प्रकृतिका नियमले नै, जीवनको सर्वस्वाभाविक सब क्रिया र गुणबाट वञ्चित भएर, स्त्रीत्वको निमिट्यान्नमा घरबुहारीको निन्याउरो मैलो आदर्श हुनु सुहाउने कुरो जरुर थिएन । चम्पा मानिस बन्न खोज्दथिन् तर चम्पा डराउँथिन्, उनमा संस्कारहरू भयङ्कर थिए । पूर्वजन्मका भीषण कीटाणुहरू, पुस्तानपुस्ताका विषाक्त वाष्पहरू क्रियाशील थिए । उनी अझै परिस्थितिकी दासी थिइन् तर प्रकृतिले उनलाई वर्ड्स्वर्थकी लुसीलाई झैँ क्रमशः व्यक्तित्व हासिल गर्न सिकाउने आवश्यकीय जीव शिक्षाको पाठशालामा एक कदम अगाडि बढाउने चेष्टा गरिरहेकी थिइन् ।
तब यस्तैमा एक दिन उनको सासूसँग घनघोर झगडा पर्यो ।
“ए कान्छी !”
चम्पाले आधा सुनिनन् ।
“अझ सुन्दिन ! भर्खर गुनगुनाइरहेकी थिइन ।”
“अ३”- चम्पाले आङ कर्काइन् । रातको एघार बजेको छ ।
“एक चम्पा ! तेरो कान छैन ! अझ बोल्दिनस् अजिर्नी ?”
चम्पा सासूको कोठामा फन्किँदै पसिन्-रिसले । बुढियाको पिँडौलामा घिउ घस्नु थियो ।
“आज पिँडौला चौपट्ट करकर खाइरहेछ । घिउ घसिदेन ए !”
“कस्तो घिउ घस्नुपर्यो ….. पहाडीका पिँडौला ।”
च्वाट्ट सासूले सुनिहालिन् । उनले आफ्नो मन-मनमै भने भन्ठानेकी थिइन् । बस् ! वज्र चड्क्यो ।
“के भनिस् चोथाले ? च्यात्नुपर्यो वेश्येका गाला ?”
“खुब नवेश्येजस्ती छु भन्ठानेकी होली- ए सहरिया पाडी !”
“म केको वेश्ये त ? उसै जिब्रो फट्कार्न पाइन्छ त अर्काले नबिराईकन ? सुन्नेले के भन्लान् ?”
“सबले देखिराख्या छन् आँखाले । सब सुनिराख्या छन् कानले । असल छ भन्ठान्नुभाहोला महारानीसाब !”
“कसैका आँखा फुट्या होवैनन् । कसैका कान फुट्या होवैनन्, ए, पित्तले कुह्या आँखा मात्र पहेँलो देख्छ सबैतिर ।”
“लौ बाबा ! मैले सहन सकिनँ नि बाबा ! यस चोथालेका वचन । मेरा आँखा फुट्या छन् रे ? मेरा कान फुट्या छन् रे ! मेरा आँखा पित्तले कुहिएर झर्याछन् रे ! बाबा ! यो कुन सहरियाकी पाडी आइलागेकी हो नि ? मेरी आमाले यसरी गाली गर्या थिइन मलाई ! मेरी सौताले यसरी सराप्या थिइन् नि मलाई !
बस, रडाको चल्यो आइन् जेठी जेठानी । आइन् माहिली देउरानी पसी वसुन्धरी वाइपा । उठे बाजे रमाकान्त अधिकारी ।
“यो केको रढाको हो ए ! मध्यरातमा ?”
तब बेली वृत्तान्त चले ।
“तैँले सासूसँग त्यसरी मुख लाग्न हुन्छ चोथाले ?”
“मैले केही पनि भन्या छैन । पहाडियाका छोरी त कस्तो आजमाउन जान्ने हुँदा रान् ।”
चम्पा ‘रान्’ शब्दमा यति नराम्रो तिखो जोड दिइन् कि सासूको ब्रह्माण्ड झन् अखन्डा जल्यो । घरदेखि सब स्त्रीका अधिकारबाट वञ्चित भएको ज्वलित, दलित चम्पालाई झनक्क रिस उठेको वेलामा आँखा देख्न मुस्किल भयो । उनको व्यक्तित्वले मोचनको बाटो खोजिरहेको थियो । उनको जिब्रो आज अरू ज्यादा तिखो तथा कस्टिक थियो ।
सासू झन्-झन् डाँको छाड्न लागिन् त्यससँग एक छानामनि वास गर्न किमार्थ सक्तिन थिइन् रे ! पूर्वजन्मकी सौता बदला लिन बुहारी भएर आएकी रे । पण्डितजीले दुवै बुहारीलाई बेसरी हप्काए । बुहारी मुरमुरिँदै आफ्नो कोठाभित्र पसिन् ।
तब आए खिसीटेप्लेका स्वरहरू ! “बघिनी, बघिनी .. कस्तो भुस्याहा कुक्कुर हुँदा रहेछन् बा नेपालमा-कसाही टोलमा मासु खुवाएर पालेको त दी !”
“कल्लाई भन्या ? …… खूँ खूँ खूँ खूँ खिर खिर ।”
“कसैलाई पनि होइन … साँच्चिकै बाबै । अस्ति बज्यै र म जाँदा झम्टेर कस्तो ! ठिक्क ! कोही-कोही मान्छेजस्तो !”
खिर ….. खिर …. खिर ….. खिर …..
एक कानदेखि अर्को कानसम्म हाँस्दा मुख च्यात्तिने गँड्याही वसन्धरी फलाक्न थाली ।
“छिः आजकालका बुहारी ता भो ! … सासूको ता चोक्टा पो लुछ्ने रैछ ! कस्तो जिब्रो ए ! कस्तो लाग्ने छुराजस्तो !”
“गँड्याहीसमेत आइलागेकी बाबा ! म पनि सक्तिनँ यस्तो घरमा बस्न । दिनरातको रडाको ।” चम्पा मुरमुरिन लागिन् भनभन । त्यसपछि सब आफ्नो कोठातिर लागे । वसन्धुरीले मात्र सुइँक्क सुइँक्क गर्दी सासूको पिँडौलामा घिउ घस्न लागेको आवाज सुनिन्थ्यो । कठबारले छेकेको पल्लो कोठाबाट ।
झगडा एक प्रकाशन हो । यो रोग होइन । रोगको लक्षण मात्र हो । झगडाको पूर्वरूप जो मनको वैमनस्य हुन्छ त्यही वास्तविक रूपको गन्दा खराबी हो । जस्तो लडाइँ खराब होइन केवल राष्ट्र वैमनस्यको र प्रतियोगिताको फुटान मात्र हो ।
अच्छा । म पनि यस छानामनि घोरमुखासँग एकै घरमा बस्दिनँ रे ….
बस्छु कहाँ त ? …..
त्यो थियो साँच्चिकैको समस्या । माइतमा त !
घरफाला बुहारीको माइत भाउज्यू बुहारी नामका दन्तदार आँखादार दुम्सीहरूको काँढोफेकाइको झन् बिस्टे खेर हुन्छ ।
जे भए पनि उनीलाई बरु माइतै बेस हुने थियो । दुई चार महिना त हेरून् । नभए भान्से लाग्ने थिइन् दरबारमा, कतै । कतै भएन भने देखा जायगा । यत्रो संसारमा एक ठाउँ कसो न मिल्ला ? घमन्डी, भ्रष्टसाधु, क्रोधिनी, दलित, ज्वलित, चम्पाले त्यो रातभर नसुतीकन पोका-पुन्तरा ठिक पारिन् । भोलिपल्ट झिसमिस हुँदा कसैलाई थाहा नदिईकन नोकर्नी वसुन्धरीकी छोरी पानमतीसँग वाग्मतीपारी माइतीको बाटामा रमाना भइन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे उपन्यास : चम्पा (अन्तिम भाग/भाग चार)

महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे उपन्यास : चम्पा (भाग – दुई)
