साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

देवपत्तनमा मस्तराम !

‘किन ?’ पहिलोपल्ट नयाँ अनुभूति हुने सम्भावित क्षणमा विस्मित थिइन् प्रश्नवाचक वनिता । ‘शिव–प्रसाद किनेर चाख्नुपर्यो, १० रुपैयाँमा दुई खुकुरी पाइँदो रहेछ ।’

‘उत्तम छनोट’ … हामी जीवनभरि नै छनोट गरिरहन्छौँ । कुनै समयमा ठीक, कुनै समयमा बेठीक ।

‘ओ दाइ ! शिवरात्रिका दिन पनि यो क्रिस्चियन विचार भएको किताप किन बाँडेको ?’

bahulako diary small and inside post

‘के गर्ने बहिनी हाम्रो धर्मै यही हो !’

सनातनी समाज धर्म–निरपेक्षताको सङ्क्रमणकालीन अनुभूतिमा फसेको सवाल–जबाफ यथास्थितिमा छोडेर बायाँ च्याप्दै म अगाडि बढेँ ।

धमिलो पानीमा माछा मार्नेको कमी छैन ।

‘आम्मै ! नपेल न !, लाइनमा हिँड्नुपर्छ साथी हो, पालो मिच्नुहुन्न, सबैको जिन्दगी एउटै हो । बाटो अप्ठेरो छ ।’

देवपत्तनबाट ओरालो झर्दाझर्दै म वाग्मतीको बाँधमा, अनियन्त्रित हुँदै गएको भिडको एउटा भाग भइसकेको थिएँ ।

अचानक स्वस्थानीमा वर्णित वाग्मती नदीको पुलमा एउटा पुलिस सानोतिनो आँधी बनेर देखियो र मलाई तीन सिँढी तल धकेली दियो ।

‘साला ! कस्तो हरामी रहेछ ।’ भिडको मनोविज्ञानअनुसार मैले आफू सञ्चारकर्मी भएको एक पल बिर्सिएँ ।
‘के भनिस् रे !’

सबै चुपचाप । कोही झगडा गर्ने मुडमा थिएनन् । मैले पनि रिस, आवेग र लज्जालाई मनको हार्डडिस्कबाट तत्काल सिफ्ट–डिलिट गरेँ ।

‘हतार नगरौँ है ! सबको जाने बाटो एउटै हो, अलिकति ढिलो–चाँडो मात्र हो ।’

‘काका ! भनेर च्याप्प हात समातेको त अर्कै केटा पो रहेछ, कस्तो लोभलाग्दो पाराले हेर्यो विचराले !’ एउटी पिङ्गला उन्मुक्त देखिई ।

‘मेला घुम्दा–घुम्दै ‘म्याडनेस’जस्तै भो मलाई त !’

‘हेलो क्यामरा ! एक क्लिक पाँच रुपियाँ प्लिज !’

मान्छे पोलेको हरक प्रष्ट थाहा हुने ठाउँमा सधैँझैँ न बाँदर सन्तुलित थिए, न घाटे बाहुनहरूको कुनै अत्तोपत्तो थियो । नेपाल पूरै पवित्र पाशुपतक्षेत्रमा रूपान्तरित हुँदै थियो ।

मोबाइलको नेटवर्कले काम गर्न गाह्रो मानिरहेको ठाउँमा सुनको छानो छिचोलेर आएको भजन तरङ्गले मेरो जीवनशैलीलाई प्रभाव पार्न सुरु गर्यो ।

‘डिमीडिमी डमरु बजाउने बाबाको नागको माला छ,
हातमा डमरु साथमा त्रिशुल र भाङको झोला छ,
भाङकै झोला झुलाउँला, भोलेलाई भुलाउँला !’

रिमिक्स भक्तहरूको मन खुसीले अनुग्रहित हुन सुरु भयो ।

भाङ, धतुरो, गाँजा, अफिमको सनातनी हरकको जीवन्त प्रशारण गर्न ट्राइपडमाथि क्यामेरा एक्सनमा थियो ।

‘कट् ! कट् !’

निर्देशकको अप्रिय बोलीले मेरो तन्द्रा भङ्ग र भ्वाइसओभर गर्दागर्दै प्रस्तोता युवतीको अनुहार मलीन भयो ।

‘शिव–बुटी तान्दै गरेको अनुहार चिन्ने गरी नखिचौँ है साथी हो ! व्यक्तिको गोपनीयताको हकको सवाल छ !’
धन्न कोही–कोही सचेत पनि हुँदा रहेछन् भिडभाडमा ।

‘एकदिन त हो नि ! खा न खा आज ।’

‘ह्वाट ए नाइस म्यान ! हु आर यु, हु एम आई ? छु मतलब ! तपाईले लेख्नुभो, लेख्नुस्, मलाई मतलब छैन । आफू त ‘शिव ताण्डव’मा जाने हो अब ।’

‘लोकल दादा’ले स्थितिलाई सहज स्वीकार गरे । म निश्चिन्त पवित्र पाशुपत क्षेत्रमा विचरण गरिरहेको थिएँ ।

‘भारत र नेपालका शिवजी एउटै रहेछन्, पशुपतिमा पनि त्यही गाँजा, हरिद्वारमा पनि त्यही गाँजा ।’

‘ओ, मस्तराम ! इधर, इधर !’ राम मन्दिर तल छिँडीमा मान्छेको अलमल छायाङ्कन हुँदै गर्दा एकाएक नागा–बाबाको दृष्टिमा क्लिक भएँ म । मन्दिर पश्चिम छाया परेको भागमा केही टिप्दै थिएँ । २० रुपैयाँको शिवजीको प्रसाद, बुटी किनेर चाखिसकेको थिएँ । कहिले आर्यघाटतिर कहिले श्लेषमान्तकतिर हेर्दै दिएँ । कहिले केटी, कहिले केटाको चाल पनि विचार गर्दै थिएँ । बुलाहा, मर्कटहरू बिच्किएको निको लाग्दै थियो ।

‘हाथीका दील है फिर भी घबरा रहा है !’ बाबाजीले भक्तको मनोदशा बुझेर भने, ‘बहुत आगे जाएगा तु !’ सम्मोहित मेरो मनलाई ‘बाबा–वचन’ले तत्काल छोइहाल्यो । मन्दिरभित्र पसेर हाकाहाकी शिवलिङ्ग प्रदर्शनको रमिते बन्ने मन थियो तर बाबाले रामनामीले छोपेर सुनको सिक्रीले बाँधिराखेको ‘साक्षात् भगवान्’ दर्शनको अवसर भिडमै उपलब्ध गराइदिए ।

‘जय प्रभु !’ मैले सनातनी ठूली गरेँ ।

‘आज बैठ्नेका टाइम नही है, सम्झा करो, जिन्दा रहे तो फिर मिलेंगे ।’ बाबा निःशुल्क सेवाग्राहीप्रति क्षुब्ध देखिए ।
‘ह्या, त्यता, शम्भुतिर हेर्नुपर्दैन, नहेर मैचा !’ सोल्टी बोल्दै थिए ।

‘हेर्दैमा के हुन्छ, कति जना पूजा गरिराखेका छन् त्यसैको !’ सोल्टिनीको मन प्रतिबन्ध स्वीकार्न तयार थिएन ।

‘अब कता जाने ?’

‘बाटो मलाई पनि थाहा छैन !’

‘थाहा नहुनेले किन ल्याको त यतिभित्र ?’

नजान्नेले प्रयास नै नगर्नु राम्रो होइन । मैले शिव–प्रसाद अरू अलिकति थपेँ । जोगी, भोगी, रोगी अन्त्यानुप्रास काफिया मिलेको अपूर्व विचित्र संसार झलझली आँखामा भयो । जबरजस्ती मिलाउन खोज्दा हाँसोको पात्र होइने डर सँगसँगै थियो ।

‘यी केटाहरू मात्र कति मरिहत्ते गर्छन्, खोई निकाल् त तँ पनि ।’

‘के ?’ बुझेर–नबुझेर लाजले रातो भयो गाला ।

‘पैसा !’

‘किन ?’ पहिलोपल्ट नयाँ अनुभूति हुने सम्भावित क्षणमा विस्मित थिइन् प्रश्नवाचक वनिता ।

‘शिव–प्रसाद किनेर चाख्नुपर्यो, १० रुपैयाँमा दुई खुकुरी पाइँदो रहेछ ।’

‘ए ल ल !’

‘खोइ बाबा यता, प्रसाद मलाई पनि अलिकति ।’

‘स्यावास बेटी ! प्रसाद मिल–बाँट्के खाना चाहिए, आयुर्वेदिक दबा हो !’

‘ए नानी ! चन्दन लगाएर जाऊ है … सोचेको पुग्छ !’

‘वाहियात, १० वर्ष भो म लगातार शिवरात्रिका दिन पशुपति आउने गरेको, नयाँ आइटम केही छैन ।’

मनोरोगीको सल्लाह प्रेमरोगीलाई पचेन ।

‘ल, तिमीलाई थाहा छैन ? घन्टी–बाबा यस पटकको विशेष आकर्षण हो ।’

घडी झुन्ड्याउने घडी–बाबा, घन्टी झुन्ड्याउने घन्टी–बाबा, सुनको चुरा घन्टी झुन्ड्याउने चुरा–बाबा !

‘थाहा छ, तर एकपटक हेरे भैहाल्यो नि ! त्यही हेर्ने बहाना गर्दै ड्युटीमा बसेको मान्छे पनि कति त्यतै मात्र आँखा लान्छ्यौ ।’

‘ल, के भनेको यस्तो ? पशुपतिको जात्रा सिद्राको व्यापार गर्नुपरेन ?’

‘के सिद्राको भन्छ्यौ, गाँजाको भन न !’

‘जे सुकैको भए पनि के गर्नु ? हामीले केटाहरूलाई समात्न जाने कुरा आउँदैन ।’

महिला प्रहरीको विचारलाई पनि भोले बाबाको प्रसादले फरक पारिसकेको थियो ।

‘सबै देउता पापी छन्, म के गरुँ ?

तिम्रो साथ नलिइकन म कसरी तरुँ ?’

वनकालीमा भजनको जिङ्गल नियमित आकस्मिकताको क्रमभङ्ग गर्ने प्रयासमा थियो कि रातोमा सेतो थप्दै लगेर गुलाबी बनाउन चाहँदै थियो, भन्न सक्तिनँ ।

‘ए सीता ! खुकुरी चुरोट ले, शिखरको काम छैन आज ! कति सय बनाइस् ?’ साहुनीको बोली सुनियो ।
‘चार सय जति फिटियो ।’

‘आफ्नो त गिदी होलाजस्तो छ, कोही केटा आएकै छैनन् परिचय गर्न !’

आरती नाम रै’छ उसको । राम मन्दिर छेउमा निरास उभिएकी छे ।

‘शिवरात्रिका दिन पशुपति नगए कहिले जानु ? माघमा सुन्तला नखाए कहिले खानु ?’

काम न काजकोे तुकबन्दी आउँदै–जाँदै थिए गौशाला रिङरोडमा ।

‘ल ! भरतजी आउनु भो ! गुड ! रातभरि बस्नुपर्छ, प्रत्यक्ष शिव–पार्वती लीला हेर्ने, भजन सुन्ने हो अब ।’

राम–मन्दिर, वनस्थली, मृगस्थली, गुहेश्वरी, कैलाशडाँडा, किरातेश्वर जताततै धुँवामा रमाउँदै थियो जिन्दगी ।

‘यहाँ त वातावरण नै यस्तो छ कि मलाई त नखाइकनै लागिसक्यो, खाएपछि झन् के हुने होला ?’ भरतजीलाई दिव्य–ज्ञान भयो ।

‘अलिकति, अलिकति भन्दाभन्दै अति गर्ने केटाहरूको बानी छ ।’

‘नागा बाबा, हेर्न मजा आउँदो रै’छ ।’

‘ओम् शौभाग्यवती, शान्ति !’

भिड छिचोलेर छेउमा जानेबित्तिकै छ्याप–छ्याप मयुरको प्वाखले टाउकोमा हिर्काइयो, पालो सकियो । वर्षभरि साँचिराखेको रोमाञ्च एक निमेषमै खत्तम !

पवित्र ठाउँमा अपवित्र चलन कहिलेदेखि सुरु भयो ? पश्चिम ढोकाअगाडि नन्दी छेउको शिलालेखमा लेखेको केही बुझिएन ।

बाहिर प्रहरी घेरामा ‘लखनउ लुट’ चलेको छ ।

‘सेल ! सेल ! सेल ! मौका आउँछ पर्खिदैन, बगेको खोला फर्किदैन ।’

दिने दिँदा छन्, लिने लिँदा छन्, खाने खाँदा छन्, हेर्ने हेर्दा छन् ! बिन्दास मान्छे छन्, गजब रमिता छ ।

‘शिव इज लाइक रियल लिभ हियर । ओ, हामी डेनमार्कको, आधुनिक संस्करणको ट्याटुवाला हिप्पी सूचना आदान–प्रदान गर्दै थियो, ‘यहाँ गोप्य–गोप्य पाउँछ, त्यहाँ सपमा पाउँछ । यहाँ थोरै पैसा, त्यहाँ धेरै पैसा ।’

एकपटकको गँजेडी, सधैँको गँजेडी ।

सीमा छिचोलेर दुनियाँ बिर्सन चाहने अभ्यासकर्ताहरूको घुइँचो किरातेश्वरको उकालोमा भेटियो ।

‘किरातेश्वर जाने बाटो थाहा छैन भने कि गुगलमा सर्च गर्नू कि १९७ मा सोध्नू !’ ठट्टा मन पराउने स्वामी ज्ञानमित्रको प्रस्तुति कसैलाई आपत्तिजनक लाग्यो ।

‘ओ स्वामीजी, के गरेको यस्तो ?’

‘फोटो खिच्नू न फोटो ! फेसबुकमा हाल्न हुन्छ ! क्याप्सन – शिव–प्रसाद वितरणको तयारीमा स्वामी !’

मबाट हामीमा रूपान्तर हुने क्रम राति दुई बजेसम्म चल्यो ।

प्रत्येक वर्ष शिवरात्रिमा किरातेश्वरमा स्वागत छ, पत्रकारहरू पदम गौतम, स्वागत नेपाल, घनेन्द्र ओझा, नारायण अमृत, मोहन ढुङ्गेल, सुदर्शन घिमिरे, मनबहादुर बस्नेत, हरिराम पौडेल, जन्मदेव जैसी, नरेश ज्ञवाली, सुविद गुरागाईलगायत ज्ञानमित्रका सङ्गतिहरूको ।

राति अबेलासम्म चल्छ, भजनामृत–पानको अभूतपूर्व सिलसिला ।

‘भटकते–भटकते ना जाने कहाँ से, तुम्हारे महलके करिब आ गया है ।’

‘मस्तराम मस्ती मे, आग लगे बस्ती मे … लगने दो भाइ । म यही मनस्थितिबाट गुज्रिरहेको छु धेरै सालदेखि,’ स्वामीजीको प्रष्टीकरण छ, ‘सब शम्भुको कृपा हो, जय शम्भु !’

किरातेश्वरमा पुरानो पुस्ताले नयाँ पुस्तालाई सङ्गीत र पर्वको रमाइलो अनुभूति हस्तान्तरण गर्ने परम्परा थालेको दुई दशक बित्न लाग्दै छ ।

‘झाँपो–झाँपो निगाली झाँपो, दिन्न छोरी भन्नेले के नाप्यो ? … ओ ! इन्सपेक्टर साहब कस्तो लाग्यो यो गीत ?’
‘यो एक बजे राति, हल्ला गर्ने होइन पत्रकार साहब !’

गुहेश्वरीछेउ, पुरानो धरहराको अवशेषनजिक विशाल खत्री पत्रकारबाट जोगी हुँदै समाजसँग अलग्गिएर चिर–साधनामा लिप्त भएको केहीबेर स्थलगत खोजी–चर्चा भयो र वाग्मतीमा पानीफोकाझैँ बिलाएर गयो ।

‘सब निदाए प्रभु, छैन कोही साथमा, एक्लै छ प्राण यो अधेँरी रातमा ।’

वनकाली छिचोलेर चक्रपथ लक्षित हुँदै गर्दा हाम्रो पछिपछि भक्तराज आचार्यको लयमा रिमिक्स आत्मसात हुँदै थियो, ।
महान् तीर्थस्थलमा पूरै सफाइका साथ शान्ति, भक्तिमय सङ्गीतमा हनुमानहरू लठ्ठ भेटिए ।

‘लोकतन्त्रका अभाव था, आज भी है । महगाइका जमाना है, आप तो जानते हो … दिल दरिया, प्यार समन्दर है … हर–हर महादेव !’

कृपया, हरेक शिवरात्रिमा साधु, सन्त, महन्त मात्र किन तपाई पनि मस्त रहनुहोस् र रहन दिनुहोस् !

प्रतिक्रिया
Loading...