यसभन्दा अगाडिका कुरा जान्नेसुन्ने इच्छा भए पनि त्यो थाहा पाउन मात्रैलाई भय लागिरहेको छ; मन चाहिं भित्रभित्रै बर्सिन थाल्छ र व्यक्ति सुन्तलीमाथि केकस्तो परेको होला त्यस कथाको पूर्वकल्पना कुनै गाह्रो कुरो थिएन र त्यसैले त्यसलाई शब्द र सुरमा प्राण नै तर्सिन थाल्छ, आङ नै जिरिङ्ग हुन जान्छ । तर… तर जेजति पीर लागे पनि, जतिसुकै कष्टानुभूति पाए पनि सुन्तलीलाई पनि त्यो भारी नबिसाई धर छैन, सुख छैन ।

लाहुरेले जसको काखमा मलाई बसाली गएको थियो र जसलाई ‘आमा’ भनी अँगालेकी थिएँ ती आइमाईले पनि मलाई माया नै गरेकी हुन्, शङ्का नै छैन । उनी निकै नै राम्री थिइन् । मलाई आफ्नै हातले नुहाईधुवाई राम्राराम्रा लुगा लगाइदिएर मेरो म्वाइँ खाँदा उनको आङ (जीउ) बाट आएको मीठो बास अझै सम्झन्छु । फेरि गर्धनदेखि तलको उनको खुल्ला जीउजति सुनौला गोरो र रेसम जस्तो चिप्लो तथा नरम भएर उनको काखमा बसेर त्यति जीउ सुमसुम्याउन मलाई भनिनसक्नु सुख मिलेको अनुभूति अझै सम्झन्छु । परेवाको गर्धन जस्तै सलक्क परेको उनको पनि गर्धन थियो र लाम्चा आँखा, पातलो उठेको नाक, त्यसमा टल्कने हीराको फूली र राता कलिला नरम ओठहरूलाई मैले कसरी र कतिको मन पराएकी थिएँ, त्यस थुप्रिएको राम्रोपनामा म कसरी रमिएकी थिएँ – भनिसाध्य छैन र उनैले पनि मलाई मन पराएकी थिइन्, केही दिनपछिदेखि नै आफ्नो सन्तान जस्तै जसरी माया गर्न थालेकी थिइन्, त्यो जम्मै बिर्सने कुरा नै होइन ।

लामो कुरा किन गर्नु, मेरो उमेर बढ्‌दै गएपछि बिस्तारबिस्तार मैले थाहा पाएँ- त्यस ठाउँमा आइमाईको बेपार हुन्छ । मेरो पनि त्यही हविगति हुने निधो नै भयो र अब आफ्नो नवडाँडा कहिल्यै पुग्न सक्तिनँ भन्ने कुरा सम्झेर छातीमा उठ्ने क्लेश भनिसाध्य छैन । तर विवशताले अन्ततः सन्तोष लिन समर्थ भएँ । लाहुरे पनि एक-दुई पटक आएको थियो, तर ऊसित भेट्न निरर्थक र घिनलाग्दो भएर भेटिनँ र बरु उसले नै एक पटक सप्रयास मसित भेट्यो । भेट्दा आमाबुबाका कुरा नवडाँडाका कुरा सोधें । उसले भन्यो, ‘ठीकै छ, रुपियाँपैसा पठाउनु छ भने देऊ, पुऱ्याइदिन्छु ।’ सुनेर उसको मुखमा थुक्ने इच्छा भयो, तर बोलिनँ ।

वर्तमानसित सम्झौता गर्नैपर्ने जस्तो भयो । यद्यपि उमेरसँगै म सतर्क र सावधान पनि हुँदै गएकी थिएँ । साँचो कुरा के त त्यहाँको वातावरण नै साराका लागि सतर्क सावधान पार्ने साथै तम्तयार रहनुपर्ने जस्तै थियो र कस्ताकस्ता खालका मानिस त्यहाँ आउँथे, फोहोरी र घिनलाग्दा ठट्टा गर्थे र मन नपराएर पनि त्यस्ता सारा कुरा व्यवहारप्रति मनको माथिल्लो तहमा म अभ्यस्त पनि हुँदै गएकी थिएँ । जम्मै मामुली हुन गएका थिए । खालि एउटै कुरा मेरो लागि महत्त्वको भएको थियो, त्यो के भने त्यहाँ त्यस संस्थाकी मालिक्नी भनूँ सञ्चालिका चाहिं मेरो लागि निकै नै मनपर्दी भएकी थिइन् र कुन्नि केले हो, उनले मलाई अभ्यन्तरैले माया गरिन्, यसमा श‌ङ्का छैन । फेरि यी सारासँग उनको सलक्क परेको लोभलाग्दो जीउ र एउटा गरिमा जस्तै अँगालिराखेको उनको साँच्चिकैको सुन्दरताले कुन्नि कहाँले हो कहाँले मलाई निकै गरी अँठ्याएको थियो । उनीप्रति आदर र आफन्तपनाको जस्तो स्नेहभाव ममा सिर्जना हुन गएको अहिले पनि सम्झनै पर्छ ।

यहाँ सुन्तली एक्कासि चूप लागी र अस्ताउँदो सूर्यको एउटा प्रकाश किरण उसको अनुहारमा परेको थियो । उसले आँखा पनि चिम्लिराखेकी थिई । उसको बाह्य अनुहारमा कुनै तीखो पीर लुकाउने चेष्टाको झैं प्रष्ट आभास हुन्थ्यो । हो, भन्नैपर्छ, मैले आमा भन्न थालेकी मेरी मालिक्नीले मलाई विशेष हेरचाह र आत्मीयको झैं आफन्तपना दिएकी थिइन् । उनले मलाई पढाउने बन्दोबस्त पनि गरिन् । तर कसैकहाँ गएर वा कुनै स्कूलमा राखेर पढाउने होइन कि मास्टर जस्तो एक जना युवकले घरैमा गएर पढाउने बन्दोबस्त मिलाइन् र स्कूलमा गएर वा कुनै ट्युटरको घरमा ग्रुप क्लासमा बसेर पढ्‌नै पाएकी भए कदाचित् अझै बढ्ता पढ्न सक्थें ।

तर बरु थोरै पढे पनि बाहिर पठाउँदिन भन्ने निधो मेरी मालिक्नीको भएकोले मेरो शिक्षा त्यहींको एउटा कोठाभित्रै हुन थाल्यो र मलाई घरबाहिर नपठाउने, निस्कनै नदिने कुरामा त्यहाँ भएका अरू केटीहरूमा मप्रति ईख, उपहास, व्यंग्य र अनेकन खालका दुष्ट-कुटिल भावना छर्लङ्गै हुन्छ । तर त्यस्ता जम्मैलाई म उपेक्षित पारिदिन्थें । तिनीहरूलाई मुरमुरिएरै बस्नुपर्थ्यो ।

सुन्तलीको व्यतीत लामो र सुसङ्गठित छ । थोरैमा थाहा पाउनुपर्यो । अतएव मैले थाहा पाएजस्तै केही प्रमुख कुरा मात्रै सम्झिदिए पुग्छ ।

सुन्तलीले अक्षरज्ञान गरेपछि उसलाई केही प्रारम्भिक शिक्षा एउटा हिन्दु नवयुवक शिक्षकसित दिलाइयो । त्यस्ता बदनाम घरभित्र कोही जानै मान्दैनथ्यो । तर घर घर नभनी संस्था भने हुन्छ : …. की मालिक्नी चाहिं प्रचुर अनुभवी र एउटा खास किसिमकी व्यक्तित्वसमेत राख्ने एउटी राम्री प्रौढा थिइन् । थाहा पाइएजतिका उनको अतीत कथा- क्रमैमा आवश्यकताअनुसार आआफैं प्रकट हुनेछन् । सुन्दर, किशोर निश्छलताले नै होला, सुन्तलीलाई संस्थाकी मालिक्नी चाहिंले धेरै मन पराएकी थिइन् । पहाडी सुन्तलीको केटाकेटीपना, उसको प्राकृतिक सुधो सरलतासँगै उसको चञ्चलपनाबाट पनि उनी प्रभावित थिइन् । कदाचित् यसैले होला उनले त्यसलाई पढाउने अठोट पनि गरेकी थिइन् । सुन्तलीप्रति उनले कुनै नैतान्तिक अन्तरको आशा पनि राखेकी थिइन् क्यारे ।

अन्ततः केही दिनकै तत्परताले खोजीवरी, मिलाई, सम्झाई माथि उल्लिखित युवकलाई तसल्ल गरिन् र उसले त्यसै घरमा आएर सुन्तलीलाई पढाउन पनि थाल्यो । अझ उसले पढाउने पारिश्रमिक पनि लिन मानेन । पठनपाठनक्रममा सुन्तलीनजिक बस्न पाउने, खेल्न-खेलाउन पाउने सुबिस्ता नै कदाचित् उसका लागि पर्याप्त पारिश्रमिक हुन आएको थियो । सुन्तली त्यतिन्जेल परिपूर्ण किशोरी पनि भएकी थिइन् र त्यो बच्चीजस्तै भएकी हुनाले ऊसित खेल्नु र खेलाउनुबाहेक यद्यपि कुनै वासना वा कामतृप्ति जस्तोको आश‌ङ्का थिएन, तैपनि मालिक्नी चाहिं यसतर्फ बाट असावधान, बेपर्बाही र गाफिल पनि थिइनन् ।

सुन्तलीले हिन्दी वा पाए नेपाली भाषाका सान्तिना किताब पढ्न सकिनेसम्मको शिक्षा त्यहाँ प्राप्त गरी । अनि त्यसपछि स्वभावतः उसको शिक्षा समाप्त भएको थियो । यसबाट कुनै विशेष ज्ञानार्जन नभए पनि सुन्तलीलाई पढ्ने चाख लाग्यो र जसले उसको बढ्दो जीवन यौवनमा अन्ततः निकै लाभ पुऱ्यायो र के-कति र कुन खालका लाभ उसले आर्जित गरी, त्यो भन्नु पर्दैन । तर आज भने त्यही गाउँले चन्चले सुन्तली चाहिं सुषमाबालादेवी भएकी छ- पेन्ट, जर्सी, स्ट्रा ह्याटधारी सुषमा ।

शिवशङ्कर अधिकारी महादेव, अर्थात् ‘शिवू’ बन्नु, सुन्तलीका यी यतिका कुरामा यति बिघ्न रसाग्रह तिमीमा उब्जेको नै किन, कसरी ? भन्ने चाहन्छौ भने सफासफी नै भन लाज लाग्छ क्यारे ! लुकाइवरी छद्म भाषा, छद्म शैली समातेरै आफ्नो सदाचारको वास्तविकता, सच्चाइ पनि उघ्रन नदिने र सुन्तलीको सुषमाबालापना पनि भनिसिध्याउने बठ्याइँ लगाउन खोजेको हो कि ? होइन त ?

तर कथाकथनमा यस बठ्याइँको लोभले विकृतिबाहेक सुकृति उब्जाउन सकिंदैन । होइन होइन, चोर बन्न सक्तिनँ, अब चोर पनि बन्दिनँ । भित्र कमजोरी छ- विकनेस, इनर विकनेस ! त्यसलाई विजित पार्नुपर्छ । छर्लङ्ग्याएरै भन्नुपर्छ । कथनचाहिं सत्य होओस्, आग्रही होओस्, आकर्षक होओस् । कथनीय मात्रै नरहोस्, श्रवणीय पनि होओस्, श्रवणीय नै होओस् ।

शिवू अधिकारीले गर्यो निश्चय, उफ्र्यो भने लाभ ! वाहवाह, उन्मुक्त चेतना, दिव्य दृष्टि । मनोवैज्ञानिक अनुमान होइन – दिव्य दृष्टि, प्रत्यक्ष !

हेर्दै छु, थाहा पाउँदै छु, मनभित्रका कान ठाडो पारेर मेरा आगामी पङ्क्तिहरू – निहित कथन सुन्न साराका आँखा, कान एकाकार भई उन्मुख उभेका छन् । मनश्चक्षुअन्तर्गत दृश्य मज्जा लाग्दो नै छ । त्यसो भए सुन्नुस् अर्थात् पढेर थाहा पाउनुस् । यस शिवूले पनि थाहा मात्रै त पाएको हो नि ! त्यही थाहा पाएको कुरा जहिले पनि मूल्यवान् भएका छन् ।

तर… तर एकछिनलाई अहिले सुन्तली यहीँ नै रहिरहोस्, सुषमाबालाको रूपमा नै ! अहिले शिवूकै सच्चाइ खानुपरेको छ । सच्चाइ उघार्ने अवसर सधैंभरि कहाँ पाइन्छ ? त्यसका लागि चाहियो उद्वेग, चाहियो सुअवसर, सुअवसर-लभ्य आवेग ! आज त्यही आवेग उपस्थित भएको छ । खुलोस् सच्चाइ, शिवूले पाओस् उन्मुक्ति !

+ + +

श्रीमान् शिवू अधिकारी थिए कैशोरावस्थामा, किशोर होइन, कैशोरावस्थामा जान थालेका ! उस बखत सुन्तलीसित जिस्किनु वा उसबाट अपमान पाएर क्रोधले भुटभुटिनुपर्ने कुरा पनि आवश्यक जस्तै भएको थियो र यद्यपि त्यो ‘आवश्यक’ भएको अनुभूति-ज्ञान आज सुषमाबालालाई प्रत्यक्ष पाएर मात्रै उपलब्ध भएको छ । सम्झन्छन् मिस्टर ‘शिवू’, उस बखत कुन्नि कुन खालको र कुन्नि केके हुन थाल्यो सुन्तलीलाई हेरेर नै ।

वस्तुतः यस मानवशरीरमा ‘जान्नु’ ले प्रवेश पाउने कैयन् ढोका प्रकृतिनिर्मित नै छन् । गुलियोले प्रवेश पायो यस जीउको जिभ्रोको पोकाले, त्यस्तै सुबासले नाकको ढोकाले ! चोट र सुमसुम्याइचाहिं छालाका अनगिन्ती ससाना प्वालहरूले – अर्थात्, छोयो कि दुखेको, मोज लागेको वा जीउ नै जिरिङ्ग हुन गएको जम्मै थोकलाई छालाका प्वालहरूका ढोका प्रवृष्टि- उपकरण हुन् ।

अहा हा हा ! बल्ल सम्झें ! उस बखत, अर्थात् शिवूको केट्यौली र कैशोरको सन्धिकालमा खालि मोज लाग्थ्यो सुन्तलीलाई हेरेर ! तर त्यो मोज भन्ने संज्ञा पाएको तत्त्व-लब्धि आज पो अनुभूत भएको छ, आज, आजकी सुषमाबालालाई हेरेर ! किशोर वय अर्थात् उमेरको तर्स्याइँ आज ‘सिजन्ड’ भएको छ । सर्वसह्य भएको छ । आज पो सम्झन्छु- सुन्तली कतिकी लोभलाग्दी भएकी थिई त्यस शिवूको तत्कालीन त्यही कुन्नि कुन खालको, कुन्नि केकेको आँखाका लागि !

यी यतिभन्दा बढ्ता भन्नु पर्दैन । अब भन्न पनि भन्दिनँ । प्रारम्भमा नै सम्झँदै भनेको हुँ- कामिनीको अन्तर र बाह्यको उद्घाटन सारालाई देखाउनु, बताउनु, सुनाउनु अपराध हुन जाला कि ?

+ + +

ग्लिनरिजको भोजन र डेराको कोठाको आफ्नो नरम ओछ्यानमा लडेको छु । सामुन्नेको ज्यालबाहिरको दृश्य, पर्वतशृङ्खला, अति सुन्दर वृक्षावलि, हरितिमामा आँखा भने गाडिएको छ । अपलक, निर्निमेष ! तर मथिङ्गलमा सुन्तली ! सुन्तलीका कुरा छन्, सुन्तली अर्थात् सुषमाबालाकी नारी, चपल र अझै चन्चलाका कथा, भनी सुन्तलीले-

साहै मायासाथ मेरो युवक शिक्षकले मेरो पठन र आफ्नो पाठनको काम चलाउन थाल्यो । दिन बित्तै गए र बिस्तारबिस्तारै म जान्ने पनि हुँदै गएँ । जम्मै त होइन, तर केही कम्ती रूपमा मैले थाहा पाएँ- मेरो युवक शिक्षकले मलाई पढाउने काम मात्रै मिलेको छैन । कितापमा आँखा गाडेर मलाई पढ्नुमा दत्तचित पाएको बखत त्यस फुर्सदको समयको उपयोगचाहिं मास्टरले आफूलाई नै पढाउने काममा गर्न थाल्दछ र अर्थात् उसले … लगाई मलाई नै नियालिबस्ने काम गर्न थाल्दछ । तर मेरो पढाइमा मास्टरको त्यस्तो बेपर्वाहको कुरा मैले दस-पाँच दिनपछि मात्रै थाहा पाएँ र त्यो पनि… त्यो पनि कसरी भने… प्रसङ्गको यस क्रममा शिवू अधिकारीको मथिङ्गलभित्रका आँखाले हेरे- छिपिएकी सुषमाबालाको पनि अनुहार फक्रिनै आँटेको गुलाफ हुन थालेको छ । तै अहिले त्यो नहेरूँ, नसम्झूँ, कथा-चिन्तन नै रुमलियोस् ।

एक दिन पढिरहेको बखत मेरो कोठामा कोही छँदै छैन जस्तो शून्यताको अनुभव हुँदा कितापबाट नजर उठाई मास्टरतिर हेरें । उसले त मलाई पो हेरिबसेको छ । ‘के हेरिराख्नुभएको मास्टरसाहेब’ भनी सोधें, केही बोल्दै बोलेन । मतिर हेरि मात्रै बसिरहेको छ । मलाई कस्तोकस्तो लाग्यो । मनमा केकस्ता कुरा चले, त्योसम्म पनि थाहै पाउन सकिनँ । तर अहिले सम्झन्छु- ‘मलाई लाज लागेर होला मेरो जीउ नै जिरिङ्ग हुन गएको थियो । तर पनि मलाई मास्टरले हेरि नै रहयो ।

मैले फेरि पनि सोधें, “मास्टरसाहेब, किन बोल्नुहुन्न, के हेरिरहनुभएको, के भयो ?”

यस पालि ऊ हाँस्यो उसको, उसले हाँसेको, अनुहार हेर्दा मलाई पनि रमाइलो लाग्यो । फेरि उसले मलाई पढाउन पनि थाल्यो, म पढ्न थालें । तर…

के हँ, के भयो तँलाई शिव… ?

रहस्यपूर्ण दृष्टिसाथै मलाई हेर्दै आफ्नो कथाक्रमैमा सोधी र उत्तर थिएन । अनि उसले फेरि भनी, “सम्झन्छु, सम्झँदै छु, अहिले त्यतिसम्मको ज्ञान आर्जित भएको छ । तर, शिवू, पढाएर मास्टर गएपछि मैले पनि तँलाई नसम्झेको होइन । सम्झेको मात्रै होइन, भरदिन सम्झिरहेको थिएँ र सानै केटी थिएँ, तर त्यो थियो उद्गम ! अन्ततः एउटी नारीको उद्गम । ‘केटी’ आर्थात् नारीको सानो बिरुवा, पलाउनु, फुल्नु, फक्रनुको आइमाईको विकास-प्रारम्भ !”

सोधें, ‘शिवशङ्कर अधिकारीले सोध्यो, मास्टरले तिमीलाई कति पढाएको थियो ? अहिले त निकै गरी बोल्न, बताउन, व्यक्ताउन थालेकी छ्यौ ! हिन्दी, नेपालीका ससाना किताबहरू पढ्न थालेकी थिएँ, भन्छ्यौ । तर त्यतिकैले यस्तरी भन्न, बताउन, व्यक्त गर्न सकिन्छ र ?”

उत्तरमा सुषमाबाला एकछिन चूप लागी । आँखा रसाएका देखा परे, अनुहार पनि उदास भयो, पछि भन्न थाली सुषमाबाला-

शिवू, अहिले पनि कहाँले हो कहाँले लाज लाग्न थालेको छ । तर सुषमाबालाको होइन, सुन्तलीको यस लज्जालाई त अब पचाउन सक्तछु । मैले पुस्तकको ज्ञानमा त्यत्तिकै पढेकी थिएँ- ससाना किताब पढ्न सकिने ज्ञान ! तर अरू ठाउँमा सके पनि तेरो अगाडि त्यो शब्द भन्दिनँ । त्यसै, मैले नभनेरै अनुभव गर- अब म के भएकी छु, मेरो जिन्दगीको नाउँ के हुन सक्छ ?

तैंले अनुभव गर्न नसकिने कुरा त्यो कहाँ हो र ? तर तँलाई शिवू मानेकी छु, योचाहिं हो – नवडाँडाकी सुन्तली ।

सुन्तलीबाट अहिलेकी सुषमाको परिचयले शब्द किन पाओस् ? अहिलेकी सुषमा जो छ, जो हो, त्यही रहोस्; त्यसलाई जसले पनि र जहिले पनि चिन्न सक्छ । ओपेन फ्याक्ट- सुन्दर, चटपटे सुषमाबाला रानी ! हो, रानी ! लौत सुन, सुषमाबालाले पढाइ नपढे पनि, नपढेकी भए पनि जान्ने, बोल्ने, अनुभव गर्न सक्ने, तमिजदार – हाम्रो भाषामा र यस बङ्गालको भाषामा – सुसंस्कृत । शिष्ट, सभ्य आइमाई हो सुषमाबालादेवी र एक होइन, दुई होइन, सयकडन खालका ठूला विज्ञ, विद्वान्सँगै क्रूर, राक्षस, नीच, बर्बरसमेत अनेकनले अझसम्म भन्न, पोख्न, बताउन नसकिने होली र ? तर विश्वास गर, तँलाई यस दार्जिलिङमा हेरेर, हेर्नेबित्तिकै बिच्छीका हजारन दर्शनले सम्झाइ नै छोडे- तँ, सुषमा, अहिले पनि त आफ्नो अन्तरसत्यमा त्यही नवडाँडा गाउँकी सुन्तली छँदै छस्, मरेकी छैनस्; नत्र भने यस शिवशङ्कर अधिकारीलाई हेर्नेबित्तिकै शिवू भनी कराउन सक्तथिस् ? सक्थिस् ?

शिवू, फूटा बोल्दिनँ, तँसित लुकाउनुपर्ने केही छँदै छैन र बच्चा छँदै तँलाई मन पराएकी थिएँ, मन पराएरै नवडाँडामा ढिस्कोपछाडि उभिईउभिई जिस्क्याउँथें । फरि जुन बखत त्यो मास्टरचाहिं मेरो कुमारी मनमा अलिअलि रुचाउने जस्तो हुन थाल्यो, उसै बखत यो पनि सम्झेकी थिएँ, थाहै पाएकी थिएँ- शिवूलाई मैले माया गरेकै हुँ, उसले पनि मलाई माया नगरेको कहाँ हो र ? कति माया गर्थ्यो हरे… ! र… र… शिवू, विश्वास मान, त्यही सत्य, त्यही तथ्य नै थियो तँमाथि र त्यस दिन यस दार्जिलिङमा नजर पर्नेबित्तिकै निष्प्रयास नै मेरो प्राणको छटपटे बोलीले कराएको थियो- शिवू, शिवू नै होइनस् र ?

सुन्तलीका आँखाले आँसुका थोपा झार्न थालेका छन्, स्वच्छ थोपाहरू ! ती शुचि मात्रै होइनन्, पवित्र पनि छन्, निश्छल पनि छन्, सुन्तलीका नेत्राश्रु । यस शिवशङ्कर अधिकारीको मनमा केके हुन थालेको छ केके ? सुषमाको होइन, त्यस बखतकी सुन्तलीको सम्झना उदायो जब ऊ नवडाँडाबाट अल्पिएकी थिई- मेरी सुन्तली, मेरी फ्याउरी गुमिई । त्यही ‘गुमिई’ शब्द सहस्र कोटि घण्टा-निनादऊँ आज पुनः गुन्जरित भएको छ- सुन्तली गुमिई, गुमिई नै । आज जो छ, त्यो हो- सुषमाबालादेवी । छविमान आधुनिका ।

आँसु पुछेर भन्न थालेकी थिई सुषमाले – ‘एक दिन मेरो मास्टरले मेरो चिउँडो उठाएर भन्यो- छलकपट केही नभएकी तिमी, यस्तरी नरम गुलाफका पत्रजस्ती केटी यहाँ कसरी जन्म्यौ ? तिमी कसकी छोरी हौ, यहीँका कसैको हो कि… ? कुरा सुन्दानसुन्दै मेरा आँखा रसाए, आँसुका थोपा तप्कन थाले र मन रोइरहे पनि त्यतिसम्मको अभिनय त गरेँ-गरेँ । भित्रभित्रै तर्सी पनि रहेकी थिएँ – कोठाको ढोका खोली आमा नै आइपुगिन् भने… ? यसैले लगातार एक-दुई मिनेटसम्म नै आँखा पुछ्‌तै गरेँ र आँखा सुक्खा रहोस् भन्ने सावधानी पनि थियो नै !’

मास्टरको सोधाइको कुनै जवाफ पनि चूप नै लाग्यो । अनि, सम्झेजस्तै, ढोका खोली कोठाभित्र पस्तै आमाले सोधिन्- “पढ्दै छे कि मास्टरसाहेब ? हेलचेक्य्राइँ गरे कान निमोठे पनि हुन्छ ।”

हाँस्तै मास्टरले भन्यो- “पढ्दै गएकी छ । पढ्नुमा मन त लगाउँछे ! यो किताब पनि चार-छ दिनभित्रैमा सिद्धिने भयो ।”

मास्टरको उत्तर सुनेर एक पटक त उनी खुशीले धपक्क बलेकी जस्तै देखा परिन्; तर निमेषपछि नै उनको अनुहारमा एउटा कालो छाया सुसेलिँदै जस्तो गएको प्रष्टै आभासित भयो । निकैबेरसम्म उनी उदास अनुहार, चुप नै बसिरहिन् । मेरो पढाइ जारी नै रह्यो ।

अनि पढाइवरी मास्टर जानथाल्दा उनले मलाई आफ्नो छातीमा टाँस्दै भनिन्- “मास्टरसाहेब, यो मेरै छोरी हो, यसलाई अरूसरह नसम्झी मेहनतसाथ राम्ररी पढाइदिनुभयो भने मैले गर्नुपर्ने जति सेवा गर्नेछु र…।”

मास्टर गएपछि उनले मलाई आफ्नी कोठामा लगिन् र साथमा आफूसँगै सुताएर छाती च्यापिन् । निकैसम्म हामी लडी नै रह्यौं । खाटबाट उठ्‌ता मैले प्रष्टै देखें, मेरी अभिभाविका यस बखत पनि रोइरहेकी थिइन् ।

यसपछिका कुरा अहिले सम्झन मन लाग्दैन । बरु सुषमासित भेट्न, नजिकै बसाल्न र पाए म्वाइँ खान… होइन, अब म्वाइँ खान्नँ, म्वाइँ खाने त सुन्तली पो थिई । चकचके सुन्तलीको गुलाफजस्ता राता गाला, जो पहाडको शीतल हावाले अलिअलि चर्केका जस्ता थिए । र त्यही गालाको म्वाइँ खान मन लागेको हो । तर त्यो छैन भोलि सुन्तली होइन, सुषमालाई ल्याउनुपर्छ । यहीं बसेर कुरा गर्नुपर्छ । हेर्नु र थाहा पनि पाउनुपरेको छ- यस सुषमाका नयाँ अभिवृद्वि के, कति र कस्ता छन् ? कति चर्को र कति शिथिल; कति निश्छल र कति छलना; कति सुन्तली र कति सुषमा ? तर…

तर यी सारा जान्नु, थाहा पाउनुपर्ने आवश्यकता नै केका लागि आइपरेको छ ? शिवू मिस्टर, तिम्रो कुनै ‘आवश्यकता’ होइन, हो भने मोह हो, हो भने ममत्व, हो भने लोभ ! यस सुषमामा त्यो ‘सुन्तली’ के मरी नै सकेकी छ वा कुनै कुनामा, कतै कहीं त्यस सुन्तलीचाहिंको केही लुकिबसेको पनि छ ? छ भने त्यो सुन्तलीको चिह्न मात्रै हो वा सुन्तली नारी- पहाडकी, नवडाँडाकी, खेल्ने- उफ्रने-बाज्ने-जिस्क्याउने सुन्तली-सम्यक ? जान्न र थाहा पाउन भने यही नै चाहेको होइनौ त ? हो भने पनि त्यो किन… ?

क्रमशः