एक साँझ मेरो जन्मदिन भनी उसलाई खान बोलाएँ । पहिले त पिउने बानी छैन भनेर रक्सी पिएन, तर पछि मैले जिद्दी गरेपछि ढल्मलिने गरी, आँखा रातो हुनेगरी पियो । खाईवरी गफ गर्दा नौ बज्यो । माथि आमा र भाइ सुतिसकेका थिए ।

मास्टरले रक्सीको सूरमा जस्तो गरी एक-दुई पटक मेरो हात समाउन पनि थाल्यो । पछि त हुँदा- हुँदा उसले मसित अशिष्ट व्यवहार पनि गर्न थाल्यो । उसप्रति मेरो दिलमा उब्जेको सम्मानका सबै भावनाहरू चूर-चूर भए । पछि त मास्टरको कामुक पागलपन देखेर उसप्रति मलाई घृणासमेत उब्जन थाल्यो । भविष्यको विचार मनमा नआएको भए तथा मेरो अतीतमा कुनै यस्तो घटना घटिनसकेको भए, उसको मुखभरि थुकेर उसलाई मेरो कोठा, घरबाट घोक्र्याउने विचारसमेत आएको थियो । उसले त मलाई साँपले लखेटे जस्तै गरी लखेट्न थाल्यो । अनि, आखिर केही नलागेर आफूलाई उसको आलिङ्गनबाट मुक्त गर्न कोशिश गर्दामै मास्टरले मसित, मेरो शरीरिसत प्रेम गर्यो ।

भित्ताको घडीले मध्यरातको सूचना दिइरहेछ । मेरो दिमाग विकृत हुँदै गैरहेछ । म संसारसित, संसारको प्रत्येक मानिससित र आफूसित समेत विरक्त हुन थालें । मलाई घृणा हुन थाल्यो- म त नाठो खेलाएर जीविका गर्ने न भएछु ! म त रण्डी न भएँ ।

बत्ती बालें, कोठाको वातावरणले मलाई थुक्न लागेको रहेछ । मास्टर मस्त भएर आफ्नै बाबुको घरमा झैं सुतिरहेछ मेरो पलङमा ।

मास्टर र मरो सम्बन्ध झन् झन् बढ्दै गयो । तर मैले उसलाई प्रेमको पवित्र आँखाले हेर्न सकिनँ । तर पनि ऊसित जीवन बिताउन भने मलाई मन नलागेको होइन । कारण, यसको पछिल्तिर मेरो परिवारको स्वार्थ लुकेको छ । अनि हामी दुई बराबर डुल्न जाने गर्न थाल्यौं – शहरबाट टाढा कतै सानू छाप्रोमा वा रूखमुनि बसेर अघाउने गरी कुरा गर्न थाल्यौं । यो बानीले गर्दा त मैले विस्तार-विस्तार मास्टरलाई प्रेम गर्न थालें । ऊसित डुल्नमा पनि मलाई आनन्द लाग्न थाल्यो ।

दुवै डुल्दै थियौं । शहरबाहिर केही टाढा गएपछि हामीहरू एउटा मसानमा पुग्यौं । भर्खर मात्रै त्यहाँ मुर्दा पोलिसिध्याएको रहेछ । क्यै पाइएला कि भन्ठानी कुकुरहरू त्यहाँ भुक्न थालेका थिए । किनारै किनार हामी दुई जना कुरा गर्दै गइरह्यौं । हामीले वास्तविक संसारलाई नै भुलिदियौं भने पनि हुन्छ । कलकल आवाजमा बगिरहेको नदी, चारैतिर रमाइलो हिसी परेको भार, जंगल, खेतको माझबाट बगिरहेको पानीको ढल ।

यस्तो रमाइलो वातावरणले गर्दा हाम्रो दिल शान्त र रमाइलो भयो । मास्टरले मेरो हात बेस्करी समात्यो । मलाई यो मन नपरेको होइन । हामीहरू नदी तरेर एउटा सानू उकालोको कापमा गई कुरा गर्न थाल्यौं । वातावरणको नीरवताले गर्दा हामी दुबैमा उन्मादको लहर आउन थाल्यो, जुन कुरा, हाम्रो कुरा, एवम् एकले अर्कोलाई हेरेको भावनाले नै स्पष्ट गरिदियो । निश्चय पनि मेरो प्रेम गर्ने लालसा दुवैमा बेतोडले आउन थालिरहेछ । तर अबेर भैसक्यो, हामी दुवै घरतिर फर्क्यौं । मास्टर त अलिकति झर्थ्यो पनि ।

आमालाई त मेरो र मास्टरको सम्बन्ध थाहा नभएको हैन, थाहा थियो । आमालाई यसमा कुनै पनि विरोध पनि थिएन । भात पकाई आमालाई र भाइलाई खुवाइसकेपछि आफू पनि खाएर कोठामा आउन लाग्दा मेरो मनमा अलिक अशान्ति हुन थाल्यो । मास्टरिसत बिहे नै गर्नुपर्यो कि ?

हुन पनि, धेरै जनासित प्रेम गरी हिंडेर, एक जना हट्यो कि अर्को खोज्ने झन्झट बोकिरहनुसट्टा एकै जनासित जीवनयापन गर्नु अति राम्रो कुरा हो । फेरि उसको पनि बिहे भैसकेको छैन । भोलिपल्ट भाइलाई पढाउन लाग्दाखेरि मैले सोधें, “मास्टर साहेब ! एउटा कुरा तपाईंसित गरूँ भनेर ताकिरहेको धेरै दिन भयो !”

“भन्नोस् न लौ ! मसित कुरा गर्न पनि सोधिरहनुपर्छ ?”

भाइलाई चुरोट किन्न पठाएँ । ऊ गएपछि मैले भनें, “हामीहरू यस्तै मात्र भएर रहनुभन्दा त जीवनयापनै गर्नु जाती होला जस्तो लाग्छ । तपाईंको पनि त बिहे भैसकेको छैन । फेरि…।”

“मैले हेर्दा त यस्तो नचाहिने कुरा नसोच्नु नै जाती होला जस्तो लाग्छ ।”

“हैन मास्टर साहेब ! यो नचाहिने कुरा हैन । जीवनसित खालि खेली मात्र रहने मेरो इच्छा छैन । म त आज यही भन्नैमा छु, या त मलाई छोडिदिनोस् या बिहे गरी लानुहोस् ।”

मेरो यो कुरा सुनेर एकछिन अल्मलियो, घोरियो । केही सोचेपछि भन्यो, “बिहे गर्दिन त म भन्दिनँ । आमासँग पनि एकपटक सोधिहालूँ । हुन्न त भन्दिनन् जस्तो लाग्छ । तैपनि एकपटक सोध्नु बेस होला । काम पनि बन्ने, आमाको मन पनि रहने । अरू कोही भएको होइन, केवल उनै एउटी आमा मात्र ।”

मास्टरको यो जवाफबाट मलाई अवश्य आनन्द भयो । तर शंकालाई बिल्कुलै हटाउन सकिएको नि होइन । भाइ चुरोट किनेर फर्थ्यो । म माथि आएँ । आमा भात खान लाग्दाखेरि मास्टरिसत भएको बिहेको विस्तारै उठान गरें ।

मास्टर र मेरो बिहे हुने कुरा सुन्नासाथ गाँस मुखको मुखमै राखी आमा यन्त्रवत् सालिकझैं बनिन् । अनि अलिकति खिन्नझैं भई भात खाएर तल ओर्लिन् । मुखले भने केही भनिनन् । तर व्यवहारले सबै कुरा भन्न थाल्यो । मास्टरिसत मेरो बिहे हुनु आमालाई मन पर्दैन किन ? कारण के होला ? मेरो भलो हेर्न नचाहने त उनी अवश्य पनि छैनन् होला शायद आमाको मास्टरप्रति विश्वास छैन कि ? वा मास्टर ज्यथा केही नभएको हुनाले ऊसित बिहे हुन मन नपराएकी हुन् कि ?

हुन त हो ! मास्टरको घरखेत छ-छैन, मलाई केही थाहा छैन । जेसुकै भए पनि कमाएर त खाई नै रहेको छ । काम त गरी नै रहेको छ । काम भए पनि अरू चाहिन्छ के ! झन् सम्पत्तिवालाले त मलाई केवल गिज्याउँछ मात्र । मौकामा मर्ममा बिझ्नेगरी घुर्कीहरू सुनाउँछन् मात्र… बेलुकाभर ममा यस्तै विचार आइरह्यो । राति भात खान बसेकी आमाको अनुहारबाट खिन्नता हटेको होइन । मैले कुरा फुत्काउने विचार गरी सोधें, “आमालाई मेरो मास्टरिसत बिहे हुनु मन पर्दैन जस्तो लाग्छ, हो कि ?”

“हैन”, बोझिलो स्वरमा आमाले भनिन् । मुखले हैन भने पनि स्वरले त हो नै भनिरहेछ । मास्टरिसत मेरो बिहे हुनु आमालाई एक, दुई, तीन मनपर्दैन । योभन्दा बढी मैले आमासित केही सोधिनँ । राति सुत्न लाग्दा मलाई निद्रा परेन । मास्टरिसतको आफ्नो बिहेको कुराले मलाई मानौं गिज्याएझैं लाग्यो । हुन पनि मजस्ती आइमाईले बिहेको कल्पना गर्नु पनि व्यर्थ छ । आफ्ना बितेका कुराहरूसामु आउन थाले । साँच्चै, मेरो जीवन नराम्रोसँग बिग्रिसकेको रहेछ । मैले सपार्छ भनेर कोशिश गर्न नै केवल झन् बिगार्नु जस्तो मात्र हुनेछ । मास्टरले मेरो मनसम्म राखिदिन मसित बिहे गर्छु भनेको छ ।

उसले मसित किन बिहे गर्छ, मेरो र काजीको सम्बन्ध मास्टरलाई थाहा नभएको होइन । तर, तैपनि बिहे गरिहालें भने ! मेरो जीवन अवश्य सुध्रनेछ, जीवनयापन गर्न एउटा योग्य साथी नपाएर न हो, म यसरी बर्बाद हुँदै गएकी ! मास्टरले मसित अवश्य बिहे गर्नेछ । मैले मेरो जीवनमा ज्योति चम्केको अवश्य देख्न पाउनेछु ।

आज-आज, भोलि-भोलि गर्दागर्दै मास्टरले मसित बिहे नगर्न खोज्यो । तर पछि मेरो करमा परेर भनूँ वा उसको इच्छा अनुसारै भनूँ-हाम्रो बिहे भैहाल्यो । बिहेपछि मलाई मास्टरले माइतमा जानै दिएन । बूढी सासू पनि मलाई असाध्यै रुचाउँछिन् । तर मेरो माइतीसित भने मास्टर र सासू दुवैको घृणा हुन थाल्यो ।

मास्टरले भाइलाई पढाउने सिलसिलामा एकदिन भन्यो, “अब मैले पढाउने गर्नु भएन । तिमी नै अब मेरी भैसकेपछि तिम्रो भाइलाई पढाउनमा मलाई केही मजा लाग्दैन ।”

घरको वातावरणले तथा मेरो जीवनको मस्तीपनाले गर्दा भाइलाई पढाउने एवम् आमाको स्वास्थ्य बुझ्ने आदि विषयमा मलाई केही वास्ता रहेन । झन्, केही दिनपछि मास्टर र हामी सबै भादगाउँमा नै बस्न थालेपछि यिनीहरूसित केही सम्बन्धै रहन छोड्यो ।

केही दिनपछि मैले सुनें- रक्सी पार्ने काममा आमालाई समातेर लग्यो । मलाई त संसारमा आमा, भाइ भन्ने कोही छ जस्तो लाग्न छोड्यो । कोही नयाँ मानिससित परिचय हुँदा मैले आफ्नो कोही बाँकी छैन, सब मरिसके भनी बताएकी छु ।

केही दिनपछि आमा सिकीस्त भएकी छिन् भन्ने पनि यो कानले सुन्नुपर्यो । एकचोटि त आमालाई हेर्न जाने र केही सहायता गर्ने इच्छा पैदा भयो । तर मास्टर र सासूलाई उनले ठूलो बाधा विछ्याइन्, अनि म गइनँ पनि । यसपछि आमाको ममता, भाइको स्नेह भन्ने केही केही पनि ममा रहेन ।

अनि एकदिन, त्यो दिन पनि आइपुग्यो कि आमाको मृत्युको समाचार सुनेर पनि ममा कुनै असर परेन । शायद पालेको कुकुर मर्दा पनि मानिस यस्तरी बेवास्तामा बस्दैन होला ! आमाको मृत्युपछि भाइको के अवस्था भयो होला भन्ने त मनमा आएको थियो र तर कसैकहाँ नोकरी भैहाल्यो होला भन्ने मनमा आयो । अथवा कोही नाता कुटुम्बले लग्यो होला । घरको लालच भएका नातादारहरूले घरको निम्ति वास्ता गरेकै होलान् ।

केही काम नहुँदा मैले पनि पोइसँग पढ्न सिकें । अनि मेरो रूपले गर्दा जुनसुकै काम पनि गर्न सक्ने भएँ । झन् केही पढेपछि त मलाई जुनसुकै काम गर्न पनि सजिलो हुन थाल्यो । मेरो पोइको जागीर बढ्यो । यसप्रकार जीवन आनन्दसँग बितिरहेको बखत सात दिनको रोगबाट सासूको मृत्यु भयो ।

अनि त घरमा मेरो एकाधिपत्य चल्यो । मेरो खुशी ! पोइ त मेरो इशारामा नाच्ने । एकदिन मेरो पोइको एउटा साथीले निम्तो गरेकोले पोइसँगै काठमाडौंमा सिनेमा हेर्न आएँ । रातिको सो हेरेर साथीको घरमा सुत्ने प्रोग्राम थियो ।”

सिनेमा हेरिसकेर साथीको घरतर्फ जाँदै थियौँ । वसन्तपुर पुग्न लाग्दा हामीले माग्ने ठिटोहरू- कोही सुतिरेहका, कोही गीत गाइरहेका, कोही कुकुरिसत जिस्किरहेका र कोही आपसमा बाझिरहेका देख्यौं । सबैको ओढ्ने भने पनि, ओछ्याउने भने पनि एक-एकवटा बोरा थियो, वसन्तपुर दरबारको फलैंचामाथि यिनीहरू सबै आफ्नो घरजस्तै गरी बसिरहेका थिए ।

यिनीहरूलाई औंल्याउँदै मैले मास्टरिसत भनें, “विचरा ठिटाहरूका आमाबाबुहरू कहाँ-कता होलान् !”

हामीलाई देख्नेबित्तिकै दुई-तीनजना ठिटाहरूले हामीतिर आएर भने- ‘हजुर, दुई पैसा पाऊँ ! आज दिनभर केही खाएको छैन, भटमास किनी खान्छौं’ ।

मेरो पोइको साथीले आफूले खाइराखेको चुरोटको ठुटो एकजना ठिटोलाई दियो । यसै बखत, कुकुरिसत लडीबुडी खेलिबसेको एउटा ठिटाले दगुर्दै आएर “दिदी !” भन्दै मेरो हात समात्यो । आफ्नो भाइलाई यस्तो अवस्थामा देख्ता म झस्कें ।

मास्टरले पनि उसलाई चिन्यो । साथीको सामु आफ्नू बेइज्जति हुने देखेर उसले, “के गर्न लागेको, बेर भैसक्यो, ” भन्यो ।

मैले केही भन्न पाएकी थिइनँ, मास्टरले मलाई हप्काएर हात समातेर तान्यो । भाइलाई माग्ने भएपछि मागेर खाने तरिका त सिक्नुपर्छ भनी गालामा एक चड्कन पनि दियो । मैले केही भन्न सकिनँ । मैले थाहा पाएँ-स्वास्नीमान्छेमा कसैको जोइ बनिसकेपछि आफ्नू केही रहँदैन । गहभरि आँसु गरी फर्कें ।

भोलिपल्ट भक्तपुर आइसकेर पनि मलाई त्यही कुराको सम्झना भइरह्यो । मास्टर मदेखि झन् झन् रिसाउन थाल्यो । मसँग बोल्न पनि छोड्यो । हुँदा-हुँदा पछि बाहिर मात्रै धेरै रहने भयो । बाहिर कतै स्वास्नी राख्यो भन्ने कुरा पनि सुनियो । घरमा आयो कि रक्सीको सूरमा मलाई खूब चुट्थ्यो- मर्नु न बाँच्नु हुने गरी !

पछि मलाई खानलाई पनि धौ-धौ पर्न थाल्यो । यसरी तीन दिनसम्म भोकै बसिरहेकी बखत एकदिन भरेङबाट कोही उक्लेको आवाज सुनियो । को भनी हेरेकी त घर सँगैको साहूको नोकर रहेछ । एउटा कुकुर हराएको तीन दिन भयो, यहाँ पो आइरह्यो कि भनी हेर्न आएको रहेछ ।

मैले अहँ आएको छैन भन्नासाथ ऊ गयो, तर ममा एउटा नराम्रो भावना छोडेर । जाबो एउटा कुकुर मर्दा त मान्छेलाई कत्रो चिन्ता । मैले खान नपाएको तीन दिन भैसक्यो- कसैलाई वास्ता छैन ! त्यसो त म कुकुरभन्दा पनि गएगुज्रेको भइछु । पशुको दर्जामा पनि नपुगेको भइछु । यसरी बाँच्नुभन्दा त मर्नु जाती ।

सिद्ध पोखरीमा हाम्फालेर मर्ने दृढ निश्चय गरी म निस्कें । मतिर ध्यान कसैको गएको थिएन । साँझ परिसकेको थियो । म सरासर खुड्किलो चढेर “तान्छ” भन्ने ठाउँतिर गएर हाम्फाल्न खोज्दा कोही चिच्याएर रोएको सुनियो ।

म हडबडाएर उठें र बत्ती बालें । भित्ताको घडीतिर हेर्दा बिहानीपखको चार बज्न लागेको रहेछ । साथै, अस्ति भर्खर मात्रै नयाँ बस्न आएकी घिन्तामनि बज्यै भन्ने रोइरहेकी रहिछ । उसको बूढो पोइले स्वास्नीलाई गाली गर्दै पिट्न लागिरहेको रहेछ । यी बज्यैको नाउँ त के मलाई थाहा छैन, तर टोलका छरछिमेकी सबैले उनीलाई “घिन्तामनि बज्यै” भन्दछन् । किनभने उनको हिंडाइमा नटुको जस्तो लचक हुन्छ । छोरी नै तरुनी भैसकिन्, अझ तरूनी हुनलाई पुगेको छैन । बूढो पोइ प्रेसमा काम गर्थ्यो । पोइ प्रेसमा जाउञ्जेल घरमा उनी नाठो खेलाउँथिन् । अगाडि उनी एउटा दरबारमा तालिममा बसेकी रहिछन्, पेट बोकेपछि बूढो ब्राम्हण लगाएर पठाइएकी रहिछ ।

रोएको आवाज सुनिँदै छ । स्वास्नी चाहिं दुहाई महाराज ! मरें बाबा भन्दै चिच्याउँदै रोइरहेकी । तर जोईपोइको झगडा छुट्टयाउन कोही गएन । यस घटनाले मेरो दिमागको भित्री तहमा स्पर्श गर्यो ! मैले सोच्न थालें-मलाई पनि यस्तरी नै त पिट्ने होला पोइले । अनि सपनाको कुरा सम्झें । म त भन्भनाउन थालें । दिमाग रन्न घुम्न थाल्यो ।

अनि आफै झस्कें, म चिच्याएँ-“नाइँ, नाइँ कसैकहाँ जान्नँ, कसैसित बिहे गर्दिनँ !”

मेरो स्वरको प्रतिध्वनीले मलाई नै गिज्याएजस्तो लाग्यो । म चिच्याएँ, ‘म बिहे गर्दिनँ, गर्दै गर्दिनँ !’

म चिच्याएको माथि निदाइरहेकी आमाले सुनिन् र दगुर्दै तल झरिन् । ढोका बन्द थियो, मैले झवाट्ट खोल्न पनि सकिनँ । ढोका खुलिसकेपछि आमाले सोधिन्- ‘किन चिच्याएकी ? के भयो ?’

एकक्षण त मलाई के भनूँ के भनूँ भयो । अनि आफूलाई सम्हाल्दै भनें, ‘डरलाग्दो सपना देखिछु ।’ कोठाको ऊ त्यो कुनामा कालो ख्याक उभिराखेको ।-

‘अब डराउनुपर्ने के छ । विहान भैसक्यो,’ भन्दै आमा माथि उक्लिन् ।

त्यसदिन बिहान मास्टर आएन । यसपछि ऊ धेरै दिन आएन । मास्टरको घर कालिमाटीभन्दा अलि पर पर्छ भनी एकपटक सुनिराखेकी आधारमा म एकदिन खोज्न भनी निस्कें । खोज्दाखोज्दा आखिरमा बल्ल मास्टरको डेरा पत्ता लगाएँ । कुराको सत्यताले गर्दा त मलाई ऊ आफै भुइँमा लेसिएर गएजस्तो लाग्यो ।

मास्टरले बताएको सबै कुरा झुठो रहेछ । मास्टरको घर कालिमाटीमा हैन रहेछ । ऊ त त्यहाँ डेरासम्म गरी बसेको रहेछ । आमा छ भन्ने कुरा पनि असत्य रहेछ । घर पूर्वमा रहेछ – बिहे गर्न भनी गएको छ रे ! मैले केही भनिनँ । घटपट्टीले किन, के काम परेछ भनी सोद्धा हो, स्कूलमा बच्चा एउटा पढाइराखेकी थिएँ मेरो जिब्रो लडबडायो । यसभन्दा बढी मैले केही भनिनँ । शायद त्यहाँका मानिसहरूले के-के मात्र सोचे होलान् ! म सरासर घरतिर फर्कें ।

त्यसदिन बेलुका मलाई भोक पनि लागेन । कति भनें आफूलाई -बेसै त भयो । तर पनि मनदेवता मान्छ कहाँ ! मास्टरिसत रिस उठेको कुरा गरेरै साध्य छैन । कोठामा गै निदाउने कोशिश गरें, तर निद्रा आएन, आउँदै आएन । एउटा कुरा मात्र मेरो दिमागमा चक्कर काटिरहेछ- मास्टर ! आउने मंसिरमा हुन नसके माघमा त अवश्य मसित बिहे गर्छु भन्ने मानिस । कत्रो धोका ! तर, मसित उसले बिहे किन गर्छ ? म त कसैको स्वास्नी बन्न हैन, कसैको संचालन गर्ने हैन, अपितु कसैको नरमाइलोपना मेटिदिनसम्म, अझ योभन्दा बढी कसैको उन्मादको रङ्गमञ्चमा वासनाको खेलौनासम्म बन्नको निम्ति न हुँ !

यस्तै विचार गरिरहेकै बखत आमा आइन् । आमाले मलाई भनिन्, स्पष्टरूपमा भनिन्- ‘मास्टर मसित हैन, अर्कैसित बिहे गर्न गयो । यसमा मास्टरलाई पनि दोष छैन ।’ कुरामाथि खेल लगाउँदै सङ्केतमा आमाले यो पनि स्पष्ट गरिदिइन्, ‘मेरो बिहे हुनु आमालाई मन पर्दैन, पर्दैन ।’

कारण, उनीहरूको जीवनमा म मात्र छु । अनि यता मदनबाले, आफै आएर त होइन, तर मानिस पठाई रुपियाँको ताकिता गर्न लागेको कुरा पनि बताइन् । आमाको कुरा अनुचित जस्तो लागेन । मैले केही जवाफ दिइनँ । आमाले मलाई कुरा बुझाएर गइन् । अवश्य, मैले आमाको लाचारी एवम् विवशता महसूस गरें । तर मलाई आमादेखि असाध्यै रीस पनि उठ्‌यो । अनि निद्रा मलाई कहाँबाट आओस् ?

…..

त्यसो भए मेरो जीवनलाई सही बाटोमा जान दिन मन नपराउने आमा नै भइन्, हैन ? आमाको हृदय पनि यस्तो हुन सक्छ ? सक्ने रहेछ । म देखिरहेछु, मलाई बितिरहेछ-आफ्नो स्वार्थको लप्काले छोरीको जीवन सल्काइरहेछ । आमाप्रति ममा नराम्रो भावना आउन थाल्यो। मोहनी गरिएझैं म आमाको कोठानिर पुगेछु । बिस्तारै आमाको कोठाभित्र पसें । झ्याल खुलेको थियो । बत्ती बालें म त आमा बिउँझिन् भन्ठानेकी थिएँ, आमा त मस्त निदाइराखेकी, साथमा भाइ पनि सुतिरहेको । म भित्र पसेको कसैलाई थाहा थिएन । बिस्तारै आफ्नो हात मैले आमाको छातीतिर बढाएँ आपनो हातदेखि आफै तर्सें । हात भने डरलाग्दो किसिमले अगाडि बढ्दै छ । मलाई आफ्नो हात आमाको घाँटीबाट आफ्नो घाँटीतिर बढिरहेझैं कसैले मेरो घाँटी अठ्याएझैं लाग्यो । मेरो सास रोकिए जस्तो भयो । म तर्सेर आफ्नो हात झिकें ।

मेरो पाइला पछि हट्यो । आमाले मलाई एकटकले हेरिरहे जस्तो लाग्यो । मेरो सास रोकिएजस्तो भयो । म तर्सेर आफ्नो हात झिकें । मेरो पाइला पछि हट्यो । आमाले मलाई एकटकले हरिरहेजस्तो लाग्यो । डरले म ढोकासम्म पछि हटें फेरि एकचोटि फर्केर आमालाई हेरें । आमा त निदाएकी रहिछन् । आमा, यी यिनै आमा हुन्-जसले मेरो बर्बादीमा आफ्नो आवादी देखिरहिछन्, जसले आफ्नो स्वार्थको निमित्त मेरो जीवन डुंगा मझधारमा राख्ने कोशिश गरिरहिछन्, मेरो जीवन केवल खेलमा रमाउन लगाउने प्रयत्न गरिरहिछन् । यस्ती पनि आमा ? यस्ती आइमाई बाँचिरहने पनि अधिकार छैन । यस्ताहरू बाँचिरहनुभन्दा त मर्नु निको । अनि कत्ति नहडबडाई म फेरि आमातिर बढें । अगीझैँ मेरो हात काँपेन पनि, दृढताका साथ आमाको घाँटीतर्फ बढ्दै गयो । कुनै निष्कर्षको निमित्त !

त्यसै बखत मेरो आँखा अनुहारमा पर्यो । मनमा माया भरियो । आँखा बन्द गरेर मैले आफ्नो काम गर्ने कोशिश गरें । तर ऐन मौकामा मेरो आँखा यन्त्रवत् खुल्न गयो । आमाको चाउरी परेको अनुहार, खाडल जमेको गाला-मलाई आमादेखि दया उठ्‌यो, माया उब्ज्यो, ममता जाग्यो ! म चिच्याएँ, बेहोश भएर आमाको सुख ऐश्वर्य र जीवनको निमित्त म जे पनि गर्छु, जे पनि सहन्छु । …

क्रमशः