तृतीय प्रवाह

आखिर, मेरो विवाह भैहाल्यो । मदनबा र आमाले अब सन्तोषको सार फेरे होलान् । सबैको काँडा भैरहेकी म ! तर मेरो मनमा भने अशान्ति छाइनै रह्यो । दोजिया छु- यस कुराले मलाई रन्थनाइरहन्थ्यो । बिहे हुनु अगावै यस्तै भैसकेकी भन्ने कुरो थाहा पायो भने समाजले मलाई हेलाँ गर्नेछ । लोग्नेले पनि मन पराउन सक्तैन ! सम्झ्यो भने पनि म आफै तर्सन्छु । तर पछि-पछि लोग्नेको घरमा आएर बस्न थालेपछि यस किसिमको डर घट्दै जान थाल्यो । विशेषगरी, सन्तान नभएर बिहे गरेकालाई सन्तान दिन स्वास्नी मिलेपछि मलाई के हुन्छ ! समाज-देखा जाएगा ! संघर्ष न गर्नुपर्ला । मेरो यो अवस्था हुनुमा पनि त दोषी समाज नै हो !

उमेरले मेरो लोग्ने बाबु भन्न सुहाउँछ । शायद पहिली स्वास्नीबाट बच्चा पनि दिन सकिनन्, ऊ आइमाई त राम्री नै रहिछ । राम्रीमा मभन्दा बढी नभए पनि कम पनि अवश्य होइन । मेरो लोग्नेको दाँजोमा त ऊ तरूनी नै भने पनि हुन्छ । उमेरमा पनि लोग्नेभन्दा दश वर्षले कान्छी रहिछ ।

बिहेको केही दिनपछि असाध्यै नरमाइलो लाग्न थाल्यो । मलाई मेरो जीवन-साथी सुहाउँदो परेनछ । कहाँ म छुनासाथै लाग्ने करेन्टझैँ उन्मादपूर्ण, कहाँ मेरो लोग्ने जीवनहीन, लोसे । म ऊसित दिक्क हुन लागेकी छु । उसले मलाई सन्तोषसम्म पनि दिन सकेन । योभन्दा बढी श्राप म जस्ती उन्मादिनीलाई अरू हुनै के सक्छ !

जहिले पनि ट्वार्र तमाखु खाइरहेको छ, छ । मलाई भने तमाखुको गन्ध पटक्कै मन पर्दैन । वाक्क आउँछ । बोल्ने कोही छैन । कहिल्यै कुरा गर्‍यो भने उही बूढो ढङ्गमा । तर के लाग्छ ? आमाले बिहे गरी दिइसकिन् । बिहे आमा-बाबुको इच्छामा हुनुपर्छ भन्ने यो समाजमा जे होस् सहनै पर्दोरहेछ । विरोध गर्ने ममा साहस पनि आएन । आमाले पेटभित्रको वस्तुको सामुन्ने शिर उठाउन साहसै गर्न सकिनन् । मलाई मारेर भए पनि बस्नैपर्यो, करैसँग । अरू सुखको हकमा भने पोइले पनि मलाई खूब मान्दछ, सौताले पनि । तर मलाई यतिले कहाँ पुग्छ ? खानु मात्र पनि त जीवन कहाँ । मलाई मानसिक सन्तोष मिल्न सकेन ।

मेरो शारीरिक भोकलाई कसैले मिटाइदिनसकेको होइन । यता केही दिनदेखि भोक झन्-झन् बढ्न थाल्यो । समाजको रङ्गमञ्चमा मेरो जीवनमूल्य हने बेला नजिक आइरहेछ । पछि-पछि त मेरो पोइको मप्रतिको उदासीनताले गर्दा मेरो कोठामा सुत्न आउन छोड्यो । मसित, मेरो शरीरसित प्रेम गर्न पनि आएन । प्रेम गर्ने त अरू नै छँदै छ ।

म त बच्चाको निम्ति मात्र बिहे गरेको न हुँ । अनि, बच्चा त मैले आफ्नो साथमा ल्याएकै छु । बच्चा साथै ल्याउने भएकीले नै न हो, मेरो बिहे यस्तो घरमा भएको । म बच्चा दिनसक्ने, ऊ बच्चा चाहने ! हुनुपर्ने नै भयो भन्नुपर्छ मैले पेट बोकेछु भनी पोइ दंग हुन थाल्यो ।

महिना पुग्दै आएपछि मेरो अनुहारमा भय, त्रास देखिन थाल्यो, मेरो पोइको अनुहारमा आनन्द-उल्लास । यसरी मेरो जीवन भय र आशंकाको संगममा बस्न थालेको छ महिनामा बच्चा जन्म्यो । छोरो पाएँ । पहिले त मेरो पोइलाई हर्ष भएको थियो, तर पछि बिहे गरेको छ महिनामै बच्चा जन्म्यो भनी एक दुईजनाले शंकाको दृष्टिले हेर्न थालेपछि उसको मनमा पनि चिसो पस्न थाल्यो ।… छ महिनामा बच्चा नहुने हैन …तर त्यत्रो बच्चा त …छ महिनामा जन्मेको बच्चा त बाँच्नै सक्दैन… हद् बाँचे दश दिन… !  …समाजमा हलचल भयो । सुत्केरी चोख्याउने कुरा नैरोकिन थाल्यों ।

सुत्केरीको छ दिनको दिन हेर्न भनेर आमा आइन् । आमाले मलाई हेरिन्, मैले आमालाई ! उनको मनको कुरा मलाई थाहा छ मेरो मनको कुरा उनलाई । तर गर्ने के ? साँझको बेला थियो । पोइ बाहिर निस्केको भित्र आएको थिएन । सौता माथि थिई । आमाले बच्चा लिइन् । आमाको अनुहारमा मुस्कुराहट देखियो तर नरमाइलो ! यस मुस्कुराहटमा दानवताले छोपिरहेझैं देखियो । म तर्सें । आमाको काखको बच्चा मैले हत्तपत्त खोसें । दूध चुसाउन थालें ।

तर यस बीचमै उनले आफ्नो कर्तव्य गरिसकेछन् । बच्चा रोएको रुक्दै रुकेन । आमा जान्छु भनी गइन् । बच्चाले रुन थामेन, थाम्दै थामेन । एक छिनपछि त आँखा पल्टाउन थाल्यो । मैले चिच्याएर सौतालाई बोलाएँ । ऊ दौडँदै आई । अजिमाले छोपेको भन्दै चामलले जीउ भरी सोधन गरी बाहिर हुत्त्याई । पानी छर्कन थाली ।

बच्चा झन् झन् साह्रो हुन थाल्यो, मेरो मुटुको चाल बढ्न थाल्यो । मेरो सामुन्ने पालैसँग आमा र मदनबाको अनुहार नाच्न थाल्यो । मुटु फुट्लाजस्तो भयो । पोइ पनि आइपुग्यो, कुद्दै आएर बच्चा हेर्यो । उसले क्यै गर्न पाएको थिएन, बच्चाले प्राण छोड्यो । यो दुःख मलाई असह्य हुन थाल्यो । म चिसो हुँदै गएँ । यसपछि केही मलाई होश थिएन । मलाई याद छ, एकचोटि बीचमा होशमा आउनासाथै म चिच्याएकी थिएँ-मेरो छोरा, मेरो प्राण !-त्यसपछि के भयो, क्यै सम्झना छैन । सबैले छ महिनाको बच्चा भएकोले मर्यो, भने ।

तर मलाई थाहा छ, मेरो सृजनशक्तिको पहिलो फूल, मलाई अत्याचार गरिरहने समाजको जिउँदो प्रमाणलाई कसैले मारिदियो, मेरो आफ्नै लोकलाजको निमित्त ! ऊ मरेको होइन, मारिएको हो । जुन समाजले उसलाई पैदा गर्यो, उही समाजले उसलाई मार्यो, हत्या गर्यो । यो समाज, यसको एक-एक सदस्य यसको हत्यारा हुन्, ज्यानमारा हुन् । कसैले जानीजानी, त कसैले नजानीकन गला सेरिरहेछ, हत्या गरिरहेछ । भन्न सक्तिनँ, कति दिनसम्म मलाई यस विचारले लखेटेको थियो ।

पछि त मेरो जीवन सदाझैँ बग्न थाल्यो । मनले भन्न थाल्यो-बच्चा मरेको पनि बेसै भएछ । पोइ र सौताले मप्रति पहिलाको भन्दा डब्बल माया र ममता देखाउन थाले ।

मेरो पोइ एउटा साहूको बनौटो, साहूको घरमा कामकाज गर्ने । घरमा चाहिने जति किनमेल गरिदिने मानिस । एकदिन यिनै साहूका तरुनो छोरो नयाँ काकी हेर्न भनी मेरो पोइसँगै घरमा आयो । दिउँसो समय थियो, म आफ्नै कोठामा थिएँ । दुवै कोठाभित्र पसे । साहूको छोरालाई देख्नेबित्तिकै मेरो मनमा गजबको भावना आउन थाल्यो । केही तर्से, केही रुचाएझैँ- यस्तै के के भन्न त सक्तिनँ ! तर त्यसदिन केवल चिनापर्चीसम्म भयो । साहूको छोराको त्यस घरमा बराबर आवतजावत हुँदोरहेछ ।

सौताले माथिबाट भनिन्- “को, काजी आउनुभएको ? माथि पनि एकपटक आउनोस् है !” काजी र मेरो पोइ माथि उक्ले । माथि उक्लन लाग्दाखेरि काजी मतिर हेरी मुसुक्क हाँसेर गयो ।

यस हाँसोको भित्र लुकेको भावना मैले नबुझेको हैन । मलाई केही अप्ठ्यारो लाग्नथाल्यो । मेरो आँखा थियो- आफ्नो पोइतिर ! उसलाई भने यत्तिकै थियो- काजीलाई कसरी खुशी तुल्याऊँ र वक्सिस भरूँ । अरू कुराको क्यै वास्ता थिएन । दास मनोवृत्तिका शिकार बनिरहेका मानिसहरू यो सिवाय बढी विचार गर्दैनन् र गर्न पनि सक्तैनन्, समय पनि हुँदैन । न त उनीहरूमा यस्तो विचारको कुनै स्थानै रहन्छ ।

यसपछि काजी मकहाँ बराबार आउन थाल्यो । कहिले म पल्टिरहेकी हुन्थें, कहिले गर्मीले गर्दा भित्री लुगा मात्र लगाएर झ्यालमा बसिरहेकी हुन्थेँ र कहिले कपाल कोर्न लागेकी हुन्थेँ । तर सधैँ मेरो पोइ नभएको बेला ! पछि पो मैले थाहा पाएँ- मेरो पोइलाई कतै काममा पठाएर काजी मकहाँ आउने रहेछ । मलाई काजीको स्वभावमा, चरित्रमा शंका हुनु स्वाभाविक नै भयो ।

एकदिन त क्रीम, पाउडर ल्याएर दिँदै भन्यो- “काकी, जीवन भनेको अमूल्य छ, यसभन्दा बढी जवानी ! जुन गयो कि गयो, फेरि फर्कन जान्दैन ! यस्तो बेला श्रृङ्गार गर्नुभएन भने कहिले गर्ने !”

“काजीलाई यो किन चाहियो ? कृपा गरी मकहाँ आउने कष्ट नगर्नुहोला ।” यसो भन्न प्रबल इच्छा मनमा आएर पनि भनिनँ, भन्नसकिनँ, सक्तैसकिनँ । उसले ल्याइदिएको यो प्रथम उपहार स्वीकार गरेर भविष्यमा यसबाट नराम्रो प्रतिक्रिया पनि आउन सक्तछ भन्ने कुरा त्यसबखत मैले विचार गर्न सकिनँ ।

यो उपहार मैले स्वीकार गरेकीले काजीको हिम्मत बढ्न गयो । एकदिन भनी पनि हाल्यो- “काकी जस्ती तीन शहरमा खोजेर पनि पाउन नसकिने राम्री आइमाई यस्तो बूढासित कसरी पर्नुभयो ? काकी त कस्तासित पर्नुपर्ने थियो । काकीको हातै पनि हेर्नोस्, कति हिसी परेको ।” भन्दै काजीले मेरो हात कामुक ढंगबाट समात्यो ।

म त एकदम चिसी भएँ । मैले झ्वाट्ट हात तानेँ । यसपालि काजीले मेरो शरीरमा पनि हो-होइनझैँ गरी स्पर्श गर्न थाल्यो । अनि मैले सोचें यो कुरा मैले पोइलाई बताइदिनुपर्छ, नत्र यसको फल नराम्रो हुनेछ । मैले क्यै भन्न नसकेकी हुँदा काजीले धमाधम मलाई नराम्रो आँखाले हेर्न थालिसक्यो । सौताले धेरै पटक मलाई छेड पनि हानिसकिन् । त्यसैले एकदिन मैले पोइसित भनें, काजी मकहाँ आउने गर्न थालेदेखिन् पोइ मकहाँ आउन थालेको थियो । “तपाईंको साहूको छोराको स्वभाव त अलि नराम्रोजस्तो लाग्यो ।”

“के रे ? तिमीलाई के थाहा, ऊ कस्तो मान्छे । मैले त सानैदेखि चिन्दै आएको !”

“केटाकेटीमा त तपाईंले चिन्नुभयो । तर अचेल उसको स्वभाव अलि ठीक जस्तो छैन । मकहाँ कुनै खराब नियत लिएर आइरहेको हो कि भन्ने लाग्छ ।”

“के भन्यौ ?”

“म त अब नआउनु नै भनिदिन्छु । तपाईंलाई एकपटक सुनाउनु थियो ।”

“हेर, त्यस्तो नचाहिने काम नगर । तिमीले काजीलाई त्यसो भनौली, मलाई कामबाट झिकिदिन्छ ! अनि एकपेट खान पनि आपत् पर्छ । जोशमा आएर आफ्नो दाना नै हरिने काम नगर । अलिकति होश पनि राख्ने गर ।”

पोइको यस जवाफले मेरो आत्माभिमानमा गहिरो चोट पुऱ्यायो । त्यसो भए, यसको अर्थ यही न भयो-काजीले बिगार्नको निम्ति प्रयत्न गरिरहेको कुरा पनि उसलाई थाहा नभएको हैन जस्तो लाग्छ ! हुनसक्छ, काजीलाई खुशी पार्नको निमित्त नै उसले यसो गरेको हो कि ! हुन पनि, आफ्नी छोरी, आफ्नी बहिनी पनि दिन सक्नेहरूले आफ्नी स्वास्नी सुम्पन पनि किन बाँकी राख्छन् । फेरि, म त खाली सन्तानको निमित्त बिहे गरिएको न हुँ ! त मेरो विषय मेरो खुशी हो, म किन त्यसै सहन्छु ?

एकदिन मैले काजीलाई भन्यानभन्याझैं गरी भनेँ -“कस्तो काजी होला ! आइमाईको कोठामा पस्न एकपटक आवाज त दिनुपर्छ ! फेरि एक्ली आइमाई बसिरहेको कोठा । क-कसले के-के मात्र भन्दो हो । विचार त गर्नोस् ।”

मैले काजीको अनुहारमा हेरें । उसको अनुहारको रंग एकदमै रगतले मुछिएको भयो । म त केही भन्ला कि भन्ठानेथेँ । तर उसले विनम्र स्वरमा भन्यो- “काकीलाई म आएको मन पर्दैन भने अबदेखि आउने छैन ।” भन्दै निस्क्यो पनि । न हो कुन्नि, काजी त्यसरी गएको मलाई मन लागेन, तर मैले ठीक गरेँ भनी मनलाई विश्वास दिलाएँ । यसपछि काजी मकहाँ आएन, आउँदै आएन । काजी नआएपछि मलाई अलिकति नरमाइलोजस्तो पनि लाग्यो । क्रीम पनि सिद्धिइसक्यो ! क्रीम लगाउने बानी बसिसकेको, क्रीम लाउन नपाएपछि के-केजस्तो हुँदोरहेछ ।

काजी एकपटक आए पनि हुने थियो भन्ने लाग्न थाल्यो । यस्तै बखत एकदिन मेरो बूढो पोइले मलाई सिनेमा देखाउन लग्यो । मलाई आश्चर्य लाग्यो, मेरो सीटसँगै बसेर हेरिरहने त काजी पो रहेछ । उसले फिस्स हाँसेर सञ्चो विसञ्चो सोध्यो । यत्तिकैमा सिनेमा पनि शुरू भयो । राम्रै थियो । यसै बेला काजीले बिस्तारै आफ्नो हात मतिर पठायो । मैले चाल नपाएझैँ गरेँ । उसले त मेरो हातलाई साह्रोसँग समाएर आफूतिर लैजान खोज्यो । म त फसादमा परें । भित्रदेखि नै डरले काँप्न थालेँ । आफ्नो पोइतिर हेरेँ । ऊ त सिनेमा हेर्नमा मस्त थियो । मैले बिस्तारै आफ्नो हात तान्न खोजे, तर उसले छोडेन । यस्तै बेला मध्यान्तर भयो र उसले झ्वाट्ट हात छोड्यो र बाहिर निस्क्यो । मेरो पोइ पनि ऊ सँगसँगै बाहिर निस्क्यो । मचाहिँ भित्र बसिरहेँ ।

एक छिनपछि मेरो पोइ र काजी दुवै सँगसँगै भित्र पसे । काजीले मलाई चकलेट दियो । मैले लिइनँ । लिन लाज लाग्यो । पोइले लेऊ भन्यो, अनि मात्र लिएँ । फेरि सिनेमा शुरू भयो, तर मेरो ध्यान भने सिनेमातिर गएको होइन । काजीको हातको करामततिर नै मेरो विचार दौडिरहेको थियो । काजीले आफ्नो हात कामुक र आतुर किसिमसँग कहिले अगाडि, कहिले पछाडि गर्थ्यो । खलखल्ति पसिना आउन थाल्यो । कसैले देख्या भए । पछि, काजीको हरकत कम हुँदै गयो । उसले आफ्नो शिर मेरो काँधमा अड्यायो, पहिले त मलाई कसोकसो लाग्यो ! तर मेरो शरीरलाई भने मन परेकै थियो । बूढोको संसर्गमा लागिरहेको शरीरलाई भर्खरको जवान मानिसको स्पर्श मन नपर्ने त कारण थिएन ।

सिनेमा नसिद्धिएसम्म हामी यसरी नै बसिरह्यौँ ।

सिनेमा सकिएपछि काजीले सोध्यो – “कस्तो लाग्यो सिनेमा ?”

काजीको यस प्रश्नको मैले अर्थ नबुझेकी होइन । उसले मेरो मनोभावको जाँच गरिरहेको भन्ने पनि मैले नबुझेकी होइन । मैले नबुझेकै गरी बुझिने जवाफ दिएँ- “राम्रो त लागेन ।”

काजीको अनुहार हिस्स पर्‍यो । मलाई माया लाग्यो- बुझिए जति त राम्रै थियो, तर नबुझेकै धेरै । काजी मुस्कुरायो । उसले थाहा पायो- मैले सबै बुझेकै छु ।

तर घर पुग्न लागेपछि मलाई  काजीदेखि रिस उठ्‌यो तथा आफ्नो चालादेखि घृणा । पोइलाई भनूँ कि जस्तो लाग्यो । तर भनेर पनि केही फाइदा छैन । उसले त राम्ररी नै आँखा चिम्लिदिई सकेको छ । शायद, आज सिनेमा हेर्ने प्रोग्राम बनाउने नै काजी हुनसक्छ ।

अनि मेरो मनमा लाग्यो-यो बूढासित आउनुसट्टा सुकुचाकहाँ नै गएकी भए हुने रहेछ । उसले भए यस्तो सहन्थ्यो ? काजीको ज्यानै झिकिदिन्थ्यो ।

मलाई एक चोटि कुकुरले टोक्दा कुकुरलाई ढुंगाले हानेर झण्डै मारिदिएको ! सुकुचाको सम्झना त्यस दिन अनायासै आउन थाल्यो सुकुचा कहाँ छ ? मलाई थाहा थिएन । एक चोटि ड्राइभर बन्यो भन्नेसम्म सुनेकी थिएँ । पछि कुन्नि कता, मधेशतिर गयो रे !

यस्तो कुरा मनमा आउनुको साथै आफ्नो पोइप्रति एक किसिमको भयानक घृणाको भाव ममा आउन थाल्यो । यसपछि मैले उसको वास्ता न नराखीकन काजीसित भेट्ने गर्न थालेँ । काजी राति अबेरसम्म पनि मकहाँ रहन थाल्यो । मलाई कहिले मालसमान, कहिले रुपियाँ पनि दिन थाल्यो । मेरो पोइले अब सहन सकेन । सौताले कहाँबाट सहन सक्छे ।

काजीले उनीहरूको वास्ता गरेको होइन । अगाडि पो काजीले मलाई फँसाउन उनीहरूलाई रुपियाँ दिने गर्थ्यो । अब यसरी रुपियाँ दिन छोडेपछि उनीहरूलाई रिस त उठ्ने नै भयो ।

यस्तै बेला काजीलाई आफ्नो काम विशेषले मधेश जानुपर्‍यो । मेरो पोइ र सौताले यसै मौकाबाट फाइदा लिन खोजें । उनीहरूले त मलाई घरबाट निकाल्ने जाल पो रचेका रहेछन् । मेरी सौताका जवान भदाहरू घरमा आइरहन्थे । यिनीहरूले मलाई बिगार्न धेरै पटक कोशिश गरे । सहनै नसकेर मैले सौतालाई नराम्रै भनिदिएँ । झन् त मलाई रण्डी, वेश्ये, पोइ छँदै नाठो खेलाउने भनी आरोप लगाई। अनि त त्यस घरमा बस्नुभन्दा नबस्नै जाति ठानेर माइत आएँ ।

आमालाई सबै कुरा बताएँ । आमाले हाम्रो कर्मै यस्तो छ मात्र भनिन् । आमाको आर्थिक अवस्था नराम्रोसँग बिग्रिसकेको रहेछ । मदनबा पनि आउन छोडिसकेको रहेछ । अनि, सरकारले कडाइ गरी धमाधम समात्न थालेकोले रक्सी पार्ने काम पनि झनझन डरलाग्दो हुँदै आएको रहेछ । भाइको पढाइमा पनि फलतः शिथिलता आउन थालेको रहेछ ।

यो सब समस्या म माइत पुग्ने बित्तिकै मेरो सामु उभिन आएको मैले अनुभव गरेँ । आमाको स्वास्थ्य पनि धेरै नै बिग्रिसकेको रहेछ, खानाको समस्या एवम् मानसिक चिन्ताको कारणले गर्दा चूह्लोमा आगोसम्म हाल्न पन मुश्किल भैसकेको रहेछ । यो सब समस्याको समाधान गर्ने कसरी ?

त्यसो त मलाई काजीले दिएको रुपियाँले एकाध महिना त चल्न सक्छ भन्ने विचार आयो । काजीप्रति ममा कृतज्ञताको भाव उब्ज्यो । भाइलाई नयाँ पुस्तक चाहिएको थियो । स्कूल जान पुस्तक नभै नहुने ! पुस्तक किनिदिऊँ त घरको चूल्होको समस्या जटिल हुन जाने ! भाग्यमा लेखिएअनुसार नभै छोड्दैन भन्ने ठानी पुस्तक किनी भाइलाई स्कूल पठाउने गरेँ र यता सकेसम्म किफायतगरी घर खर्च चलाउन थालेँ ।

यसरी ज्यूँ-त्यूँ गरी १०/१५ दिन जति बित्यो । एकदिन चूह्लोमा आगो नसल्केको दिन पनि आइपुग्यो । भाइलाई बासीतसी बचेको खुवाएर स्कूल पठाएँ आमालाई सन्चो थिएन । मैले गर्ने के ? कहींबाट उधारो लिन सकिन्छ कि भनी घरबाट निस्कें । कसैले दिने कुरा गरेनन् ।

गहभरि आँसु आउन थाल्यो । कुनै दिन यस्तो पनि थियो नपत्याउने कोही थिएन, तर आज कसैको पत्यार पाउन सकिनँ ! साँच्चै, मानिसको विश्वास, पत्यार र आस्थाको नापो त धनैबाट मात्र हुँदोरहेछ । अब जाऊँ कहाँ ? बिरामी आमा, स्कूलमा दिनभर बसी फर्कने भाइ भरेको छाक टार्ने कसरी ? यस्तो विचार मनमा खेलाउँदै म टुँडिखेल पुगेँ ।

स्कूलबाट फर्कन लागेका लडकाहरूलाई देखी भाइको याद आयो । उसले घरमा अवश्य पनि मलाई खोज्न थाल्यो होला । भोक लाग्यो भनी आमालाई पिर्न लाग्यो होला । टुँडिखेलको एक छेउतिर एउटा लोग्ने मानिस, एउटी आइमाई र एक बच्चा डुलिरहेका छन् । उनीहरूको जीवन कति रमाइलोसँग गुज्रिरहेछ । मेरो होशै गुम होलाजस्तो भयो ।

विचारको तन्द्रामा बम बिजुली अड्डातिर गएँ । किसानहरू खेतमा काम गरिरहेछन् असारे गीत गाउँदै । टुँडिखेलको समानान्तरमा सारा काठमाडौं शहरकै भनेजस्तो फोहर थुपारिराखेको । कतै मरेको कुकुर फालिराखेको छ, त कतै बिरालो !

यस्तै बेला मलाई आश्चर्य हुने गरीकन कसैले साइकल अड्याएर भन्यो- “काकी, भेट नभएको त धेरै दिन भयो ।”

काजीलाई देख्नै बित्तिकै म झसङ्ग भएँ र साथै मेरो समस्याको समाधान हुने आशा पनि आयो । मैले पोइको घरको सबै हाल तथा माइतको हाल सबै विना-संकोच बताएँ ।

काजीले बडो गम्भीर भएर भने- “म भएसम्म कुनै फिक्री लिनु पर्दैन ।”

काजी र म कुरा गर्दागर्दै घर पुग्यौं । नयाँ मानिस देखेर भाइले अलिकति लाज मान्यो । आमाको स्वास्थ्य क्षण-क्षणमा बिग्रँदै गैरहेको सबै मर्म बुझिसकेपछि काजीले बीस रुपियाँ दियो । यसपछि काजी मकहाँ बरोबर आउन थाल्यो । बिहे पनि भैसकेको थिएन काजीको, त्यसैले मलाई खूब मन पराउन थाल्यो ।

समय बित्दै गएपछि कोठामा रेडियो, राम्रो राम्रो मेच, टेबुल, पलङ आदि भरिन थाल्यो । काजीले आफ्नै ढंगबाट मलाई राख्यो । आमाको पनि केही विरोध थिएन । भाइ आमासितै सुत्थ्यो । कोठामा परिवर्तन आएजस्तै मेरो जीवनमा पनि परिवर्तन आउन थाल्यो । मेरो मन आनन्दले नाच्न थाल्यो । अनि मलाई टोलघरका छरछिमेकले केही मान पनि गर्न थाले । काजीको रखौटी भनेर मेरो विषयमा कुरा काटेको मैले धेरपटक सुनेकी पनि छु । मलाई पनि काजीले मसित रामैसँग बिहे गर्नेछ भन्ने आशा हुन थाल्यो । तर आमालाई एक्लै छोडेर जान

मनले मानेको थिएन । अनि, म नभएपछि भाइको अवस्था र पढाइ के-कसो होला भन्ने ठानी मैले काजीसित बिहेको कुरा कहिल्यै उठाइनँ । भाइको कुरा गर्दागर्दै उसलाई राम्रोसित पढाउने मेरो इच्छा बुझेर काजीले एउटा मास्टरको पनि बन्दोबस्त गरिदियो ।

कुन्नि, कारण के पर्यो, काजी मकहाँ आउन छोड्यो । एकदिन मास्टरलाई भनी पठायो- “भन्नुपर्ने जति कुरा मास्टरलाई भनी पठाउनु । घरका जहानहरूसित अलि कचकच भएकोले म कहिलेकाहीँ मात्र आउनसक्नेछ ।”

यसपछि काजी मकहाँ जम्मा दुई पटक आयो, अनि आएन, आउँदै आएन । यसैबीच मलाई मास्टरले अर्कै आँखाले हेर्न थालेको पनि मैले नबुझेको होइन । मैले पनि रन्थनाएर मास्टरलाई नै आफ्नो जालमा फसाउने निधो गरेँ । अरू क्यै नसही, तर भाइको पढाइ त चालु रहन्छ ।

मलाई यस्तो लाग्न थाल्यो-मास्टरले मप्रतिको प्रेममा, मदनले झैँ कामवासनालाई सन्तुष्ट गर्ने मात्र कामना छैन, न त काजीको केवल सोखको भावना मात्र ! उसलाई पनि थाहा छ- मैले पनि माया नै गरिरहेकी छु, मलाई सब थाहा नभएको कहाँ हो र एकदिन भाइलाई पढाउँदै थियो, मैले गएर यताउताको कुरा गर्न थालेँ । बिहे भयो भएन, गर्ने हो होइन- यस्ता अनेक कुराहरू सोध्न थालेँ ।

यस्तो कुराबाट हामीहरू झन् नजिक हुन थाल्यौँ तैपनि मास्टरको गाम्भीर्यको सामु म कुरा खोल्न डराउँथे । उसको यस्तो स्वभावबाट ऊप्रति ममा सम्मानको भावना आउन थाल्यो ।