३
अस्पतालमा
भोलिपल्ट बिहान एघार बजेतिर मोहन एक राश अखबारहरू साम्ने राखेर प्रत्येक अखबारका पत्र पल्टाउँदै थियो । अंग्रेजी, हिन्दी र बंगालकाे प्रत्येक दैनिक अखबारमा निम्नलिखित सूचना प्रकाश भएथ्यो :
“श्री इन्द्रशेखर खड्का, वी.ए.-तपाईं जहाँ भए तापनि यो सूचना पढ्नेबित्तिकै आमा औ वीणाको मुख सम्झेर निम्निलिखित ठेकानामा तुरुन्तै आउनुहोला औ तारद्वारा त्यो कुरा जनाउनुहोला । क्षमा याचना छ-माया । ठेगाना-१६० लोअर सर्कुलर रोड, पी. ओ. एण्टाली, कलकत्ता ।”
सूचना पढेर मोहनको हृदय कृतज्ञताले पूर्ण भयो । मायाको विनय र सौहार्द्रले त्यो मुग्ध भयो ।
आज शुक्रवार । पर्सि आइतवार, कर्णेल कन्या हेर्न आउने । त्यसपछि कुरा पक्का गर्दा, बर-बन्दोवस्त आदि गर्दा महिना दिन लाग्ला । यसैबीचमा अखबारहरूमा प्रकाशित सूचना अवश्य शेखरको दृष्टिमा पर्ला । शेखर अखबार नपढी सक्तैन । एउटा न एउटा अखबारको सूचना निश्चय त्यसले पढ्ला औ पढेपछि त्यसको क्षुब्ध हृदय शान्त होला । आमाको माया औ वीणाको पवित्र प्रेमले अवश्य त्यसलाई घर फर्काउला ।
मोहनको मुख आशा र आनन्दले उद्दीप्त भएको थियो । कल्पनाका सुखसपनामा त्यो विभोर थियो । सहसा टेलिफोन घण्टीले मोहनको ध्यान भंग गर्यो ।
विरक्त भएर मोहनले टेलिफोन उठायो । यी बडा बजारका पाटका व्यापारीहरू एकोहोरा ललितसिंहसित टेलिफोनमा कुरा गरिरहन्छन् । बिस्तारै टेलिफोन कानमा पुऱ्याएर मोहनले सोध्यो, “को हो ?”
टेलिफोनको पल्लो अन्तबाट एउटी नारीको त्रस्त कम्पित स्वर आयो । मोहन झसङ्ग भएर कुर्सी छोडेर उभियो । त्यसको प्रत्येक इन्द्रिय सजग भयो ।
“के भन्यौ ? तिमी माया ? माया, मेडिकल कलेज अस्पतालबाट ? शेखर ?-? हँ हँ ? हँ ?-शेखर मर्माहत भएको छ ? म आएँ ।”
कसैलाई केही नभनी मोहन घरबाट बाहिर निस्क्यो औ एउटा ट्याक्सी लिएर सरासर मेडिकल कलेज पुग्यो ।
दक्षिणपट्टिको मूल ढोकामा मोहन र मायाको भेट भयो । माया ढोकाको दाहिनेपट्टि अडेस लागेर उभिएकी थिई । त्यसको मुख विवर्ण भएको थियो औ शुष्क नेत्रले त्यो आकाशतिर हेरिरहेकी थिई । मोहनले उद्वेत थाम्न नसकी मायाका दुवै बाहु समातेर उत्कण्ठित स्वरले सोध्यो, “शेखर, यहाँ कताबाट आइपुग्यौ ? माया । भन माया, भन- शेखरलाई के भयो ?”
मायाले अति कातर स्वरले भनी, “मोहन बाबू, उ त्यहाँ ‘वेटिङ रुम’ छ- त्यहाँ गएर बसौं अनि कुरा गरौंला ।”
मोहनले अधीर भएर भन्यो, “अहँ ! म शेखरलाई एकचोटी नहेरी कतै जान्नँ ।”
मायाले बिस्तार भनी, “मोहन बाबू, धैर्य धारण गर्नुहोस् । अहिले डाक्टरहरूले कसैलाई पनि भित्र पस्न दिनेछैनन् । त्यसबाहेक पुलिसका अनेक कर्मचारीहरू कोठा घेरेर बसेका छन् । हिंड्नोस् मसित ।”
अगत्या मोहन मायाले निर्देश गरेको कोठामा गएर एउटा बेञ्चमा बस्यो । माया पनि छेवैमा बसी ।
मायाले विस्तार बिस्तार भनी, आज म बिहानको क्लास शेष गरेर घर फर्कन लागेकी थिएँ; एम्बुलेन्सका दुइवटा मोटरले प्रचण्ड वेगमा अस्पतालको आँगनभित्र प्रवेश गरे ।
दुवै मोटरमा चारजना सिपाही देख्ता म विस्मित भएँ । दगुरेर मोटरबाट बिरामी झिकेको हेर्न छेउमा गएँ औ पहिलो मोटरबाट तिनीहरूले एउटा मानिस झिके ।
त्यसको जम्मै शरीर रगतै रगत भएको थियो । मैले अल्लि अघि सरी निहुरेर त्यसको अनुहार हेरें । शेखरको अनुहार चिनेर म मूर्छा परिछु ।”
निधारको पसीना पुछ्दै मायाले भनी, “चेत आएपछि आफूलाई डाक्टर र नर्सहरूले घेरेको देखेर किञ्चित् लज्जित भएँ ।”
त्यसपछि डाक्टर वसुले अरू सबैलाई कोठाबाट निकालेर मलाई सोधे, “के त्यो मानिस तेरो कोही पर्छ ?”
“मैले ती मेरा स्वजाति हुन् औ सानैदेखिका बन्धु हुन्” भन्ने परिचय दिएर एकचोटि तिनीसित भेट गर्ने अनुमति मागें । डाक्टर वसुले प्रथम ता अनुमति दिन अस्वीकार गरे तर पछि एक मिनटको अवकाश दिए । “शेखरको काखीमुनि छुराको घाउ छ । भित्र मुटु, कलेजो अथवा फोक्सो आदिमा आघात पर्यो कि परेन त्यो अहिले थाह भएको छैन । कसले अथवा किन यो दुष्कर्म गर्यो कसैलाई थाह छैन-पुलिसबाहेक । औ पुलिसका मुखबाट अझै कसैले केही सुन्न पाएको छैन । अर्को मोटरवाट एउटा मुसलमानलाई पनि झिकेका थिए, तर त्यो बाटैमा मरेछ ।”
मोहनले केही भनेन । मौन, निःशब्द रहेर भुइँतिर एकोहोरो हेरिरह्यो । माया पनि यति भनेर स्तब्ध भएर बसिरही ।
प्रायः दस मिनेट यसरी बितेपछि मोहनले बिस्तारै भन्यो, “माया, एकचोटि सोधी हेरन । डाक्टरहरूले के ठहराएछन् ?”
माया सम्मतिसूचक भावले टाउको हल्लाएर केही नभनी शेखरलाई राखेको कोठातिर गई ।
आधा घण्टापछि माया फर्की । मोहन हल न चल भई त्यहीं बसिरहेको थियो । माया उसका अघि आएर उभिई । मायाको मुखमा आशा र आनन्दका झलकले विषादका छापलाई मेटिदिएको थियो । मायाको मुखको भाव लक्ष्य गरेर मोहनले त्यसका दुवै हात समातेर सोध्यो, “समाचार ?”
मायाले भनी, “उत्तम ! घाउ पाकेन भने विशेष भय अरू केही छैन । जरोको प्रचण्ड ताप छ, औ विरामी अझै अचेत छन् तर चिन्ताको कारण केही छैन ।”
मोहनले मनमनै इष्टदेवतालाई प्रणाम गर्यो ।
त्यस दिन बेलुका चार बजे मायाको विशेष अनुरोध डाक्टर बसुले अस्वीकार गर्न नसकी, दुई मिनटका निम्ति मैना देवी, वीणा, मोहन, परशुराम र ललितसिंहलाई अस्पतालमा विरामी हेर्ने अनुमति दिए ।
छोरोको अवस्था देखेर मैना देवी अस्पतालैमा मूर्छा परिन् ।
ललितसिंहका आँखाबाट पनि आँसुका थोपा खसे । वीणाले शेखरको अनुहारमा टुलुटुलु हेरिरही । त्यसका आँखाबाट एक थोपो आँसु पनि खसैन, त्यसको मुखबाट एउटा शब्द पनि निस्केन । त्यो महान् आपदले त्यसलाई जड मूक बनाइदिएको थियो ।
शेखरले एकचोटि अस्फुट स्वरमा भन्यो, “आमा” ।
० ० ० ० ०
राती प्राय: ८ बजेको होला । मैना देवी अल्लि संयत भएर पलङमा बसेकी छन् । स्वामी नजीकैमा बसेका छन् औ परशुराम अविराम तमाखुको धूवाँ उडाउँदैछन् ।
मोहन र माया बिरामी हेर्न अस्पताल गएका छन् । नोकरले कोठामा प्रवेश गरेर ललितसिंहलाई भन्यो, “हजुर, एक जना मदिसे एउटा स्वास्नी मान्छेसित तल आइरहेछ । यो ‘काट’ हजुरलाई दिनु भन्छ ।”
ललितसिंहले भिजिटिङ कार्डमा छापेको नाउँ पढेर भने, “जा न है, अहिले मालिकको फुर्सद छैन भन्दे । कुन गुजराती व्यापारी दुःख दिन आइपुगेछ ।”
सेतेले लगत्तै फर्केर ढोकाबाट भन्यो, “हजुर, मदिसेले ठूला हजुरका कुरा हजुरसित गर्छु भन्छ ।”
ललित उदेक मानेर तल ओर्ले !
अम्बाभाई देसाई र तिनकी पत्नी शुष्क मुख लिएर ढोकामा उभिरहेका थिए । ललितसिंहले तिनलाई अफिस कोठामा लगेर बसाए। अम्वाभाईले केही नभनी जेवबाट दुईवटा अखबार झिकेर ललितसिंहका अघि राखिदियो । प्रथम अखबारमा ठूला ठूला अक्षरमा निम्नलिखित खबर छापिएको थियो ।
शुक्रवार – दैनिक भारतमित्र- विशेषाङ्क
(४ बजे)
हवडामा ११ बजे दिउँसो
लोमहर्षण काण्ड |
नारीहरणको विभत्स दृश्य :
नेपाली युवकमाथि गुण्डाहरूको
आक्रमण ।
“आज दिउँसो हवडा पुलको छेउमा औ वडा बजारको मुखैमा अत्यन्त लोमहर्षण दृश्य देखियो । हाम्रा विशेष प्रतिनिधिले घटनास्थलमा गई सोधपुछ गर्दा यस्तो आशयको वृत्तान्त थाहा पाइयो ।
“आज प्रायः ११ बजे बिहान एउटा ट्याक्सी वडा बजार र स्ट्याण्ड रोडको जक्शननेर आएर एक्कासि थामियो । ट्याक्सीको ड्राइभरले छेउमा बसेको युवकमाथि आक्रमण गर्यो औ एकजना अज्ञात मुसलमानले युवकलाई छुराले हान्यो । अर्को ट्याक्सीबाट एउटा सिखले प्रथम ट्याक्सीमा बसेकी एउटी अज्ञात युवतीलाई लिएर भाग्यो । मुसलमान गुण्डा पनि युवकको छुराले आहत भयो अहिले दुवै आततायी र नेपाली युवक अस्पतालमा छन् । ड्राइभर पुलिसको हाजतमा छ ।
पुलिस खूबै मुस्तैदीसित मामलाको अनुसन्धान गर्दैछ । पुलीसहरू भन्छन्- दोषीहरू चाँडै नै पकडा पर्ने सम्भावना छ । पुलीसलाई कति कुरा थाहा भइसकेको छ, तर हाल ती कुराहरू प्रकाश गरिनेछैनन् ।”
द्वितीय अखबारमा निम्नलिखित खबर प्रकाश भएको थियो-
शुक्रवार- दैनिक भारतमित्र-विशेषाङ्क
(५ बजे)
“हाम्रा विशेष प्रतिनिधिले पुलिस कर्मचारीहरूसित लाल बजार ठानामा भेट गरेर आजको लोमहर्षण पाशविक नारीहरणको घटनामा अज्ञात आततायीहरूका हातबाट आहत हुने नेपाली युवकको नाउँ पत्ता लाएका छन् । युवकको नाउँ – श्री इन्द्रशेखर खँडका-उमेर- प्रायः २३ वर्ष । कलकत्ता युनिभर्सिटीका ती बी.ए. हुन् । अपहृता युवतीको के पर्छ, त्यो पुलिसले अनुसन्धान गरेर जानिसकेका छन् । तर विशेष कारणले अहिले पुलिस त्यो कुरा जाहेर गर्न राजी छैनन् ।”
“युवक अझै अचेत छन् औ भयको कुनै कारण छैन ।”
ललितसिंहले दुवै पत्र पढेर देसाईपट्टि दृष्टि फर्काए ।
देसाईले शेखरसित परिचय भएका दिनदेखि आजसम्मका समस्त कुरा ललितसिंहलाई भनी सुनाए । “आज बेलुका यो पत्र पढेर म ता अवाक् भएँ । मेरी गृहिणी आत्तिएर प्रायः अचेत भइसकेकी छन् । हामी दुइ सरासर अस्पताल गयौं । त्यहाँबाट डाक्टर बसुका सौजन्यले तपाईहरूको नाउँ र ठेगाना प्राप्त भयो ।”
देसाईका आँखा सजल भए औ देसाईपत्नी ता धुरुधुरु रुन लागिन् ।
ललितसिंहले ती दुइलाई गृहिणी, वीणा र परशुरामसित परिचय गराइदिए ।
९ बजे राती मोहन र माया अस्पतालबाट फर्के । देसाई र तिनकी पत्नीलाई देखेर ती दुइ छक्क परे। परशुरामले सबै कुरा मोहन र मायालाई भनी सुनाए ।
** ** **
परिशिष्ट
तीन दिनपछि शेखरको चेतना फर्क्यो । माया, मोहन र डाक्टर बसु कोठामा बसिरहेका थिए ।
शेखरले विस्मित नेत्रले एकचोटि चारैपट्टि हेर्यो औ त्यसपछि झन् विस्मित भएर आफ्नो शरीर र आफूले लाएका वस्त्र परीक्षा गर्न थाल्यो ।
डाक्टर वसुले मोहनलाई संकेत गरे । मोहन शेखरको अघिल्तिर उभियो । विस्मयविस्फारित नेत्रले त्यसले मोहनलाई हेर्यो । शेखरको फेरि एकछिन चेतना हरायो ।
बेलुका मैना देवी, ललितसिंह, परशुराम, मोहन, देसाई र तिनकी पत्नीलाई डाक्टरले बिरामी हेर्न आउने अनुमति दिए । वीणा अघि नै मायासित अस्पताल पुगिसकेकी थिई । मैना देवीले हर्ष र विषादका आँसु चुहाउँदै धेरै दिनदेखि हराएको छोरालाई सुमसुम्याइन् ।
शेखरले सानो बालक झैं रोएर आमाको छातीमा एकछिन टाउको लुकायो ।
एकछिनपछि शेखरले सोध्यो, “आमा ! विजया खोइ नि ?”
मोहनले अघि सरेर भन्यो, “हामी पनि त्यही सोध्न पुलिस कहाँ गयौं तर पुलीस अहिले केही भन्न मान्दैन । अखबारमा तिमीसित एउटी युवती थिई औ त्यसलाई गुण्डाहरूले बलजफ्ती भगाए भन्ने खबर प्रकाश भएको छ । के त्यही युवतीको नाउँ विजया हो ?”
शेखरले विजयाको कथा छोटकरीमा भनी सुनायो ।
साता दिनपछि शेखर स्वस्थ भयो । डाक्टरहरूले अन्त्यमा बिरामीलाई घर लैजाने अनुमति दिए ।
० ० ० ० ०
विजयालाई लिएर गुण्डाहरू खिदिरपुरतिर भागे । खिदिरपुरको बाटगञ्ज रोडमा मुसलमान गुण्डाहरूको एउटा बस्ती छ । गुण्डाहरूले त्यही बस्तीमा विजयालाई लगे । ट्याक्सीबाट उत्रने बेलामा सिख गुण्डाले तीक्ष्ण छुरा देखाएर विजयालाई भन्यो, “खबरदार, कराइस् भने मर्लिस् ।”
एउटा दुई तले माटाको घरमा लगेर उत्तरपट्टिको एउटा कोठामा दुष्टहरूले विजयालाई हुले औ बाहिरबाट ताल्चा लाएको शब्द विजयाले सुनी ।
कोठामा माटाको गाग्रोमा पानी थियो औ एउटा काठको खाट एक कुनामा थियो । झ्याल भन्ने पदार्थ यो कोठामा केही थिएन । दक्षिणपट्टिको भित्तामा छानानेर एउटा निकै ठूलो प्वाल थियो । त्यही प्वालबाट अलि अलि हावा र सूर्यरश्मिको प्रवेश हुन्थ्यो ।
यस कालकोठरीमा बसेर विजया अज्ञात भविष्यको प्रतीक्षा गर्न लागी ।
यसरी कति घण्टा बितेपछि बाहिर मानिसहरूको पदध्वनि तथा गलाको आवाज सुनेर विजया संत्रस्त भएर उभिई । बाहिर ढोकामा कसैले बलियो प्रहार गर्यो । विजया छक्क परी ।
लगातार आघात खप्न नसकी ढोका दुइ फ्याक भयो । कोठा पुलीसका कर्मचारीहरूले भरियो ।
विजयालाई एउटा पुलिसका कर्मचारीले भने, “आज गुण्डाहरूले ट्याक्सीबाट भगाइएकी नारी तिमी नै हौ ?”
औ प्रश्नको अपेक्षै नगरी तिनले एउटा सिपाहीलाई संकेत गरे । शेखर र विजयलाई प्रतारणा गर्ने सिख ड्राइभर कोठामा ल्याइयो । यो ड्राइभर घटनास्थलमा पक्राउ परेको थियो । विजयालाई गुण्डाहरूले यहाँ ल्याएको कुरा पुलिसलाई यसै ड्राइभरबाट अवगत भएको थियो ।
पुलिस अफसरले सोधे, “गोविन्दसिंह – के ती स्वास्नीमानिस यिनै हुन् ?” गोविन्दसिंहले संक्षेपमा भन्यो, “ज्यू” ।
त्यसपछि अरू पुलीसका कर्मचारीहरू त्यहाँ भेला भए । ती दुइ मुसलमान ड्राइभर र सिख पनि पक्रा परेर बाँधिए ।
पुलिसको एउटा कर्मचारीले विजयालाई आफ्नो मोटरमा हालेर शहरको एउटा अबला आश्रममा लगेर राखिदिए ।
दश दिनपछि- पुलिसका तिनै कर्मचारीले विजयालाई श्याम बजारमा ललितसिंहको डेरामा पुयाइदिए ।
० ० ० ० ०
मैना देवी र वीणाको अपरिमित यत्न र अक्लान्त स्याहारले शेखरले छिटै आरोग्य लाभ गयो । महिना दिनपछि स्वामी, पुत्र औ मोहनसित मैनादेवी दार्जीलिङ फर्किन् । विजयाको भविष्य पनि यही परिवारसित गाँसिन गयो । वीणाकी बुढी फुपू विजयाको आचार, निष्ठा देखेर खुबै प्रसन्न थिइन् । विजयालाई साथमा लिएर घर फर्कने सुयोग पाउँदा तिनलाई असीम हर्ष लाग्यो ।
सियालदह स्टेशनमा बस्नेत र माया तिनीहरूलाई बिदा गर्न गए । प्रथम घण्टी लाग्यो । ट्रेन छुट्न अब पाँचै मिनिट छ । माया र बस्नेत सबैसित विदावारी भई प्ल्याटफार्ममा ओर्ले ।
सहसा शेखर पनि डब्बाबाट ओर्ल्यो औ उसले वृद्ध बस्नेत उभिएको ठाउँमा आएर बस्नेतका गोडा दुई हातले स्पर्श गरेर भन्यो, “तपाईं मेरा प्रणम्य हुनुहुन्छ । मेरा अपराध र त्रुटि तपाईंले क्षमा गर्नु हुन्यैछ ।”
यति भनेर त्यसले मायापट्टि हेर्यो । त्यसका आँखा अश्रुपूर्ण भएका थिए। तिनमा विषाद थियो औ अनुताप । शेखरले धीर कण्ठले भन्यो, “माया, ईश्वरले तिमीलाई सुखी…”
शेखरको गला रुद्ध भयो । रेलको द्वितीय घण्टी लाग्यो । मायालाई नमस्कार गरेर शेखर द्रुतगतिले डब्बाभित्र पस्यो ।
मोहन र वीणा दुवै डब्बामा बसेर यो दृश्य हेरिरहेका थिए ।
० ० ० ० ०
दार्जीलिङ फर्केको साता दिनपछि ।
मोहन कोठामा बसेर एउटा पुस्तक पढ्ने वृथा चेष्टा गरिरहेको छ । मन मान्दैन । चञ्चल भएर कहाँ, कहाँ विचरण गरिहिंड्छ । कहिले बनारस, कहिले कलकत्ता, कहिले कता-केही ठेकान छैन ।
अतीतका घटनाहरू एकएक गरी आँखाका साम्ने सजीव भई नाच्छन् ।
बनारसको घाटमा चन्द्रग्रहण शङ्ख र घण्टाको ध्वनि । विश्वेश्वरका मन्दिरमा आरती । रातो सारी लाएकी एउटी युवती । मृगिणीका जस्तो संत्रस्त नेत्र । अम्लान अनुहारमा कौतुक र हाँसो । पिठ्यूँभरि छरपुष्ट भएको कालो केशराशि । त्यो दृश्य फेरि मेटिन्छ औ अर्कै दृश्य देखिन्छ ।
कालीघाटको मन्दिर । अभिमानिनी किशोरी । नासिका कुञ्चित पारेर ओठ फुलाएकी । अभिमान र गर्व…..”
सहसा कसैको पदध्वनि नजीकैमा सुनेर मोहन त्यो दिवास्वप्नबाट ब्युँझ्यो ।
शेखरले मोहनलाई ध्यानपूर्वक हेर्दै सोध्यो, “मोहन, कलकत्ताबाट फर्केदेखि तिम्रो अनुहार सधैं मलिन देखिन्छ- किन हो ?”
मोहन निरुत्तर रह्यो ।
शेखरले प्रसङ्ग फेरेर भन्यो, “मोहन, एउटा कुरा सोध्छु । भन लौ, के वीणा जस्ती बौलाही स्त्री संसारमा अर्को हुन सम्भव होला ?”
मोहनले अल्लि विस्मित भएर सोध्यो, “किन ? ”
शेखरले एउटा पत्र पाकेटबाट झिकेर मोहनलाई दिएर भन्यो, किन ? किनको उत्तर यसमा पाउँछौ ।
निकै उत्सुक भएर मोहनले पत्र पढ्यो ।
१६०, लोअर सर्कुलर रोड,
कलकत्ता ।
प्रिय बहिनी,
तिम्रो पत्र पढेर म एक छिन् हाँसें अनि हाँसिसक्नेवित्तिकै मैले लेखनी समाएँ । एकछिन पनि अबेर गर्न सकिनँ ।
तिमीले मेरा निमित्त शेखर दाज्यूलाई प्रेम गर्न छोड्छु भनी लेखेकी रहिछ्यौ । शेखर दाज्यूले अझै मलाई नै माया गर्छन् भनेर !!
वीणा, मभन्दा तिमी वर्ष दिनले कान्छी छ्यौ यो पनि म नियतिकै इच्छा मान्छु । तिमीभन्दा उमेरमा जेठी हुनाले बैनीलाई अर्ती दिने हक मलाई छ । अतएव मेरा दुईवटा कुरा आज तिमीले सुन्नुपर्छ ।
बैनी, प्रथमतः तिमीलाई त्यो कुरा, जो मैले कलकत्तामा वारंवार भनेथें, फेरि दोहोऱ्याउँछु ।
शेखर दाज्यू मेरा निमित्त एउटा रित्तो सपनाबाहेक अरू थोक केही हुनुहुन्न । रित्ता सपनाको मोल ता तिमीलाई थाहै छ ।
अब अर्को कुरा शेखर दाज्यू मेरो अनुरोधले घर फर्कनु भएको होइन । उहाँ घर फर्कनुभयो तिम्रो माया र आमाको मुख सम्झेर । यो कुरा मैले भन्दा बढ्ता तिमीले जानेकी छयौ । तर जानी बुझी, अबुझ हुन खोज्छ्यौ ।
हुन पनि तिमीलाई दोष के दिने ? स्त्रीहरूको स्वभावै यस्तो हुन्छ । दुर्लभ पदार्थ पाउनालाई ती प्राणसमेत अर्पण गरिदिन्छन्, तर उही पदार्थ अघिल्तिर आएर उभिदिंदा द्विविधा गर्न थाल्छन्– मिथ्या अभिमान र भ्रममा भविष्यको सुख र शान्ति नाश पार्छन् ।
मेरी वौलाही बैनी, तिमी शेखर दाज्यूका निमित्त जन्मेकी हौ । आराध्य देवतालाई बल्ल भेट्टाएकी छचौ- अब देवतालाई विलम्ब नगरी हृदय-मन्दिरमा स्थापन गर ।
सुन ।
नारीको जीवनमा यस्तो मौका एकचोटि मात्र आउँछ । यसर्थ दिदीको अर्ती मन लाएर सुन ।
तिमी चिरञ्जीवी भए- सौभाग्यवती भए- यही दिदीको आन्तरिक आशीर्वाद छ ।
पुनश्च:- हामी अर्को साता शिलाङ जानेछौँ ।
तिम्रो भलो चाहने,
-दिदी-
इति-दि दी । ”
पत्र पाठ गरेर मोहनले दीर्घ निःश्वास तानेर शेखरको मुखमा जिज्ञासु नेत्रले हेप्यो ।
शेखरले भन्यो, “आज बिहान म पढ्ने कोठामा एउटा पत्रिका लिन भनी पस्दा त्यहाँ वीणालाई भेट्टाएँ । वीणा मलाई देखेर सारै अप्रतिभ भएर मुन्टो लुकाएर भाग्न खोजी । बाटो छेकेर मैले वीणालाई त्यसरी मुख लुकाएर भागेको कारण सोधें । वीणाले केही भनिन । मेरो टेबलपट्टि औंलाले निर्देश गरेर औ मुसुक्क हाँसेर वीणा त्यहाँबाट भागी । टेबलमा यही पत्र थियो ।
मोहनका आँखा आमोदले दीप्त भए । हाँसेर मोहनले भन्यो, “अहा ! कति चाखलाग्दो प्रणय-नाट्य !”
शेखरले मोहनको कुममा धाप मार्दै भन्यो, “तर त्यसभन्दा पनि चाखलाग्दो ता यो पो छ तिमीले अहिले पढेका पत्रको पछिल्तिर हेर त !”
मोहनले पत्र पल्टाएर पढ्यो । साना साना, सुन्दर, परिष्कृत अक्षरमा लेखेको थियो-
“आराध्य देवता, के माया दिदीका कुरा साँचा हुन् ? साँचै तपाईं माया दिदी जस्ती रूपवती, गुणी औ शिक्षिता रमणीलाई प्रेम नगरेर म जस्ती अकिञ्चनलाई माया गर्नुहुन्छ ?
औ अर्को कुरो । मोहन दाज्यू साँचै वैरागी हुनुहुन्छ- कि अन्धो ? तपाईंले भन्दिनोस् न । माया दिदी तिनलाई प्रेम गर्छिन्- भक्ति गर्छिन् । विजया औ बुढी फुपूसमेतलाई यो कुरा थाहा छ । मोहन दाज्यूसित रिसाई दिदी शिलाङ भाग्न आँटेकी छन् । मोहन दाज्यू पनि ता माया दिदीकै मायामा डुब्नुभएको छ । फेरि उहाँले के हेरिरहनु भएको ?”
पढिसकेर मोहनले भन्यो, “शेखर, के यो कुरा सम्भव छ ?”
शेखरले कौतुकपूर्ण दृष्टिले मोहनलाई हेर्दै भन्यो, “कसरी भनूँ, मोहन ! तिमी जान औ जानोस्, वीणा ! म विचरो लाटो सुधो मान्छे । तिमीहरूका यस्ता गहिरा, रसिला, काव्यका कुराहरू….”
मोहनले टेबलबाट टिपेर हानेको पुस्तकको आघात खाएर शेखरको वाक्यधारा त्यहीं
शेष भयो ।
० ० ० ० ०
भोलिपल्ट मोहन कलकत्ता पुग्यो ।
एउटा होटेलमा गएर स्नान आहार गरी दश बजे बिहान मोहन बस्नेतहरूका डेरामा पुग्यो ।
दलानमा रामे कुचो लाउँदै थियो । मोहनलाई देखेर रामेको मुख प्रफुल्ल भयो । दुई हात उचालेर प्रणाम गर्दै रामेले भन्यो, “आज बिहानै एक्कासि हजुरको कहाँबाट सवारी भयो ?”
मोहनले छोटकरीमा भन्यो, “दार्जीलिङबाट” । एकछिन इतस्ततः गरेर मोहनले सोध्यो, “मालिक घरै हुनुहुन्छ ? ”
रामेले भन्यो, “बाहिर बस्ने कोठामा सवारी होस् न हजुर ।”
मोहन अग्रसर भयो । रामे पछिपछि कुरा गर्दै गयो । “मालिक अहिले बाहिर पाल्नुभयो । तर ठूलो मैया पल्लो कोठामा हुनुहुन्छ । पर्सि शिलाङ जाने ।”
यति भनेर रामेले एकचोटि चारपट्टि हेरेर बिस्तारै भन्यो, “होइन, हजुरहरू दार्जीलिङ सवारी भएका दिनदेखि ठूली मैयाँको मनमा रत्ती चैन छैन । मालिकसित पनि उस्तो बोल्नुहुन्न । मालिकको इच्छा यो गर्मीमा दार्जीलिङ जाने थियो । तर ठूली मैयाँ ठ्याम्मै मान्नुहुन्न। शिलाङ जाने पक्का भयो । ठूली मैयाँले भनेका कुरा मालिक….”
भित्रबाट मायाको सोर आयो, “रामे । ए रामे !”
“हजुर, आएँ” भन्दै रामे कोठाबाट निस्कन लागिरहेथ्यो, ढोकामा माया देखाहा परी ।
“तपाईं ! मोहन बाबु !” मायाले कम्पित स्वरमा भनी । आनन्द, आश्चर्य र आवेगले मायाको अनुहार आरक्त भयो ।
“बस्नोस् न । कहिले दार्जीलिङबाट फर्कनुभयो हैं ? बस्नोस् न, मोहन बाबु ! के त्यसरी पक्क परेर हेरिरहनु भएको ? बा छिट्टै फर्कनुहुन्छ ।”
मोहन केही नभनी एउटा कौचमा बस्यो ।
“म शरबत लिएर आउँछु । रामे पडा खोलिदे। कस्तो हुस्सु रहेछ ?- एकछिन पर्खनोस है, मोहन बाबु !”
यति भनेर माया मोहनलाई त्यहीं छोडेर भित्र गई ।
कति दिनपछि फेरि मायासित साक्षात ! कति सरल औ उदार छ मायाको हृदय ! त्यहाँ अभिमान र कृत्रिम भावको गन्ध पनि छैन । कति सुन्दर, कति मनोहर मायाको अनुहार !
मोहनको हृदय आनन्दले प्लावित भयो ।
पाँच मिनटपछि माया फेरि देखाहा परी, काम गर्दा लाएकी मैलो सारी फेरेर एउटा हरियो रंगको सारी लाएकी । हातमा शरबतको ग्लास । अनुहार मधुर हास्यले उद्भासित । चटुल दृष्टिमा मनोहर चञ्चलता ।
टेबलमा मोहनको अघिल्तिर शरबत राखेर माया नजीकैको एउटा कौचमा बसी ।
एउटा पुस्तकको पत्र पल्टाउँदै मायाले प्रश्न गरी, “मोहन बाबु, तपाईं फेरि के भनेर कलकत्ता दगुर्नुभयो हँ ?”
मोहनले ईषत् हाँसेर भन्यो, “के भनेर ? तपाईंलाई कारण के बताऊँ अब ? तर के आजकल मान्छेहरू कलकत्ता आउँदैनन् र ? ”
मायाले झट्ट उत्तर दिई, “आउँछन् किन आउँदैनन् । तर सबै आउँछन् काममा- कुनै प्रयोजनले ।”
मोहनले भन्यो, “म पनि आएँ काममा कुनै प्रयोजनले मात्र होइन-विशेष प्रयोजनले ।”
मायाले पुलुक्क मोहनको मुखमा हेरी । मोहन र मायाका आँखा जुझे ।
कति दिनदेखि लुकाइराखेको रहस्य आज सहजै प्रकाश भयो ।
एउटा हातले बिस्तारै मायाको हात समाएर मोहनले अर्को हातले पाकेटबाट एउटा पत्र झिकेर मायाको अघिल्तिर राखिदियो । उही पत्र जो शेखरले दार्जीलिङमा मोहनलाई पढ्न दिएको थियो । मायाले वीणालाई लेखेको औ त्यसको पिठिउँमा वीणाले टिप्पणी गरेको ।
मोहनले हाँसेर भन्यो, “माया, वीणाले ठीक भनी । म अन्धो- म मूक- म बधिर ! आज म कसरी बताउँ माया, मेरो मनका कुरा । बनारसदेखि मेरो मनमा तिमीले चिरन्तन वास गरेकी छ्यौ ।”
मायाले मोहनका हातबाट आफ्नो हात झिकेर कम्पित स्वरमा भनी, “तर मोहन, म पापिनी- मेरा अतीतका पाप ! ओह ! तिनको सम्झनाले आज मेरो मन छियाछिया भइरहेको छ । मोहन, म तिम्रो प्रेम औ आदरको योग्य छैन ।”
माया हत्केलाले मुख छोपर रुन थाली ।
मोहनले मायाका हात मुखबाट सारिदिएर मायाको टाउको आफ्ना छातीमा राखेर, उसका आँसु पुछिदिदै गद्गद स्वरले भन्यो, “माया, यो के कुरा गरेको ? वीणालाई ता बौलाही भनी पत्रमा ठट्टा गरेकी छ्यौ । आफैं नि ता ? स्वास्नी मानिसको स्वभावै यस्तो
हुन्छ, होइन ?”
मायाले अश्रुपूर्ण दुईवटा नेत्र मोहनका मुखपट्टि फर्काई । पानी परेका बेला घाम लागेभै मायाको अश्रुसिक्त अनुहार हाँसोले उद्दीप्त भयो । संसारको सारा सौन्दर्यको ढुकुटी मोहनले मायाको मुखमा देख्यो औ देखेर मोहनको शरीरमा रोमाञ्च भयो ।
मोहनले बिस्तारै मायाका कानमा भन्यो, “मेरी माया-मेरी जीवनकी सहचरी !”
मायाले मृदुकण्ठले सोधी, “मोहन, मलाई कलकत्तामा छोडेर फेरि कहिले दार्जीलिङ जाने ?”
दृढ आलिङ्गनमा बाँधेर मोहनले भन्यो, “अबदेखि कहिल्यै म तिमीलाई छोड्दिनँ लौ ?”
० ० ० ० ०
शेखर र वीणाको बिहे भएको पन्ध्र दिन भइसक्यो । बिहेमा देसाई र तिनकी पत्नी पनि आएका थिए ।
बिहेका दिन देसाईले शेखरलाई अभिनन्दन गर्दै भने, “शेखर बाबू, म तिम्रो गुण कहिल्यै बिर्सनेछैन । आज मेरो कृतज्ञताको परिचयस्वरूप एउटा सामान्य दान तिमीले ग्रहण गर्नुपर्छ ।”
शेखरले भन्यो, “देसाईजी, तपाईंका औदार्यले म सुखी भएँ। तपाईंले दानस्वरूप एउटा निःशुल्क पाठशाला दार्जीलिङमा स्थापना गरिदिए म अत्यन्त वाधित हुने थिएँ। बिहेका उपलक्ष्यमा यस्तो अमूल्य दान पाए, म मात्र होइन, वीणा पनि संतुष्ट हुने थिई ।”
देसाईले भने, “शेखर बाबू, तिमी धन्य । बिहेका दिन पनि तिम्रो मन समाजका दीनदुःखीमाथि नै छ । तर यो निःशुल्क पाठशालामा के सिकाउने ?”
शेखरले भन्यो, “यसमा समाजका टुहुरा-टुहुरी केटाकेटीलाई पढ्न मात्रै होइन, नाना प्रकारका गृह-शिल्प पनि सिकाउने ।”
देसाईले भने, “हुन्छ लौ, म दुई हजार रुपियाँ दिने भएँ ।
आज शेखरको हर्ष असीम छ । देसाईजीको दानले एउटा पाठशाला स्थापित भयो । शेखरले केटाहरूका शिक्षाको भार आफैँ लिएर वीणालाई केटीहरूको विभाग सुम्पिदियो ।
दिनभरीको परिश्रमले थाकेर राती शेखर शयनकक्षमा पस्यो । वीणा एकान्त मनले एउटा तस्वीर हेर्न तन्मय भई । शेखर छेउमा आएर उभियो । तस्वीरमा टाइगर हिलको सूर्योदयको दृश्य थियो ।
शेखरले मृदुस्वरमा भन्यो – “वीणा ?”
वीणाले झसङ्ग भएर स्वामीको मुखमा हेरी ।
स्वामीले करुण स्वरमा भन्यो, “एक दिन यही टाइगर हिलमा हामी दुईको प्रेम-प्रभात भएथ्यो । सम्झना छ- तिमीलाई त्यस शुभ दिनको, प्रिये !”
पत्नीले ठूला-ठूला काला आँखाले एकचोटी पतिका आँखामा हेरी त्यसपछि परम तृप्ति औ अशेष आनन्द सहित आँखा चिम्लेर स्वामीका हात सुम्सुम्याउँदै पत्नीले भनी, “त्यही दिनको स्मृतिले मलाई अनेक दुःख, अनेक आपददेखि बचाएर हजूरकी दासी हुने शुभ दिन देखायो !”
* * * * * *
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।