एक दिन यसरी नै खेलिरहेको वेला मदनबा टुप्लुक्क आइपुग्यो । बाआमा माथि कचकच गरिरहेकाले मदन बा म खेलिरहेको बैठकमा पस्यो । कोडाभित्र पस्दै उसले भन्यो, “खै नानी त कहिल्यै आउनु पनि भएन । काकी कति सम्झिरहन्थी नानीलाई । नानीको निम्ति भनेर पुतली पनि किनेर ल्याइराखेको छ । साह्रै राम्रो । नानीजस्तै छ । लौ, आज त नानीलाई मसँगै लैजाने ।”

मदनबा कहाँ जान मलाई पनि मन नलागेको होइन । तर आमाले नजानू भनिराखेकालेसम्म जान डराउँछु । काकीसित कुरा गर्न कति रमाइलो छ, मदनबालेपनि मलाई कति माया गर्छ ! त्यसो त बाको नङमासुजस्तै मिल्ने साथी त हो नि । आमाले नचाहिने शंका गरेर पो । मैले भनें, “नाइँ, म त जान्नँ बाले पिट्नुहुन्छ ।”

– “लौ मदनबा कहाँ जान पनि बादेखि तर्सनुपर्छ र ! भैगो, त्यतिको तर्सन्छौ भने मैले नै तिम्रो बालाई भनुँला । खै, बा कहाँ हुनुहुन्छ ?”

मेरो जाने इच्छा यति प्रबल हुन थाल्यो कि बाआमा कचकच गरिरहेछन् भन्ने कुरा पनि बिर्सें । म दंग हुँदै माथि उक्लें । बा ओछ्यानमा लेटिरहनुभएको थियो । आमा झ्यालमा बसी सुक्सुकाइरहनुभएको थियो । सामुन्ने तमाखु भरिएको चिलिम टुक्रा-टुक्रा भएर चित्ता खाइरहेको थियो । नली एकातिर पडिरहेथ्यो । मेरो सारा शरीर जिरिंग हुनथाल्यो । बाले आमालाई पिट्‌नुभएको रहेछ । आमाप्रति मेरो माया मात्र के उब्जन लागेको थियो, तर मदन बा आइराखेको छ भन्ने र मदनबाकी स्वास्नीले मेरो निम्ति पुतली किनी ल्याइराखेको छ भन्ने कुरा सम्झें । अनि मेरो मनमा आमाप्रति घृणाको भावना उठ्यो ।

– हो त नि चाहिँदो नचाहिँदो शंका उठाई कचकच गरिरहनेलाई यस्तै त हुनुपर्छ । म मदन बाको घरमा जाँदैमा त्यस्तो के हुन्छ र ? मैले आमातिर ध्यानै नदिईकन बालाई तल मदन बा आइरहेको छ, भनें ।

– “आज भेट हुँदैन भनिदेऊ” बाको स्वरमा गजबको कठोरता थियो । म डराई- डराई कोठाबाट निस्कन लाग्दा बाले केही नरम स्वरमा भन्नुभयो, “भैगो, म आफैँ गएर भन्छु ।”

बा उठेर सरासर ओर्लनुभयो । म पनि पछि-पछि लागें । बाले झर्केर भन्नुभयो- “तिमी किन पछि लाग्छौ ? केही काम छैन तिम्रो !”

पुतली खेलिरहेकी थिएँ । पुतली लिन आएको । मदनबासित कुरा गर्दा बाको मिजास बदलिएको देखेर म छक्क परें । मानौँ क्यै हुँदै नभएको जस्तो गरी दुई जनाको कुरा भयो । म पनि अगाडि भएकोले किन हो कुन्नि, उहाँहरू दुई जनाको बीच त्यस दिन व्यापारसन्बन्धी कुरा नै बढी मात्रामा भयो ।

कुराको बीचैमा मदनबाले मलाई देखाउँदै भन्यो- “अरू काममा त म आएको होइन । नानीलाई नानीकी काकीले एकचोटि बोलाएर ल्याउनोस् भनेकीले एउटा कामबाट आउँदै थिएँ, बाटैमा परेकोले यसो आएको हूँ । आज एकदिन नानीलाई म आफ्नो घर लैजान्छु । साँच्चै, केटाकेटी नभएको घर त घरै होइन ।”

बडो उत्सुकतापूर्वक मेरो आँखा बातिर पुग्यो । बाले मुस्कुराउँदै भन्नुभयो, “तिमीलाई पनि घरमा मात्र बसिरहँदा नियास्रो लाग्दो हो, हैन ? जाऊ न, गएर आऊ । मन लाग्छ भने दिनभरि नै बसेर आऊ । बाको यो भनाई मलाई खूव मन पर्यो । मदनबाको अनुहारको भावनाबाट उसलाई पनि मन नलागे जस्तो लागेन । माथि गएर अर्को लुगा लगाएर जाने विचार गरें, तर फेरि आमाले केही भन्ने हो कि भन्ने लागेकोले त्यसै नै मदन बासित गएँ । बाहिर सडकमा नपुगुन्जेल आमाले बोलाउली कि, बोलाउली कि भन्ने डरले गर्दा सुस्तरी बिरालोजस्तै भर्याङ ओर्लें । तर आमाको अवस्था अर्कै भइरहेको थियो । बोलाउनुहुन्थ्यो किन मलाई । बाटोभरि मदन बासित पुतलीकै विषयमा कुरा गर्दै गएँ ।

“पुतली कस्तो छ ?”

-“कस्तो …..छ ? नानी जस्तै छ । आँखा पनि नानीकै जस्तै छ । गाला पनि गुलाबी छ ।”

-“कत्रो छ ?-”

-“कत्रो भनूँ अब ! नानीले यत्रो ठूलो पुतली त कहिले पनि देखेको छैन होला । तर सुरुवाल हैन, सारी लगाइराखेको तरुनी भन्दै मदनबाले मेरो गालामा चिमोट्यो ।”

मदनबाको घरमा पुगियो । तर पहिलोपल्ट आउँदाजस्तो ढोका खुला थिएन । बाहिरैदेखि ताला बन्द थियो । काकीले भित्रबाहिर दुवैतिर किन बन्द गरिराखेकी होली ! भित्र बगैंचामा पुग्यौं – काकी छैन । माथि उक्लेर कोठाभित्र पस्यौं-काकी छैन ।

मैले सोधँ- “खै, काकी ?”

-“तिमी आउँछौ भनी पर्खदाँपर्ख‌ंदा पनि नआएकीले माइत गई होलिन् । तैपनि माथि कतै छ कि हेरेर आउँछु ।” भन्दै मदनबा निस्क्यो । मलाई भने पुतली हेर्न हतार भैसक्यो । चारैतिर आँखा घुमाएँ-कतैतिर पनि पुतली देखिनँ । एकै छिनपछि मदनबा एउटा राम्रो ठूलो-तनी पुतली लिएर आयो ।

पुतली मेरो अगिल्तिर राख्तै भन्यो- “कस्तो लाग्यो, मन पयो ? ”

मैले केही भनिनँ । के भन्ने ! पुतलीलाई उठाएर एकचोटि राम्ररी हेरें । मदन बाले चकलेट पनि थियो । एउटा आफ्नै हातले खुवाइदियो । मदन बाको आँखासँग मेरो आँखा जुध्यो । किन हो कुन्नि, मलाई अलिकति डर लागेजस्तो भयो । तर पुतलीको प्रभावले गर्दा यो भावना त्यसै हरायो । मदनबाले कुरैकुरामा मेरो तिघ्रानेर टाउकोले बोकाले झैं विस्तार हान्न थाल्यो । तर मलाई यसको वास्ता के ! म त चकलेट खाँदै पुतली हेर्दै अनेक विचारमा मस्त थिएँ, साथीहरूलाई देखाउने ! कसैसित पनि हुँदैन यति ठूलो पुतली ।

त्यसैबखत मेले अनायास झ्वाट्ट सोधें, “त्यसो भए काकी आज फर्कनुहुन्न त अब ?”

-” कुन्नि ! एउटा मान्छेलाई त भनिपठाएको छु । नआए के भो र ? मदनबा त छँदै छ नि । मदनबा, मन पर्दैन नानीलाई ?”

यस प्रश्नको जवाफ दिन आवश्यक नठानेकीले म चूप लागेँ । मदनबा फेरि निस्क्यो । मैले कोठाको चारैतिर रहेका वस्तुहरू हेर्न थालेँ । एकसे एक राम्रो । तर तीमध्ये मलाई काँचको देवता असाध्यै मन पर्यो हेर्न थालेँ । मदनबा रोटी बोकेर आयो । म खानलाई लाज मान्ने हैन । खाइसकेपछि मदनबाले भन्यो- “यस्तो चर्केको घाममा किन जाने ? एकछिन लेट । काकी पनि त एकैछिनमा आइपुग्छे । एकैछिन बस । बरु एकछिन पछि मैले नै पुऱ्याउन आउँला नानीलाई ! बाले पनि दिनभरि बसे पनि हुन्छ भन्नुभएकै छ क्यारे ।”

मेरो उत्साह शिथिल हुन थालेको तथा गर्मी पनि बढ्न थालेकोले मलाई लेटूँ-लेटूँजस्तो लागिरहेको थियो । पलङ्गमा पल्टें पुतलीसमेत समातेर । मदनबाले कुरा गर्दै विस्तारै मेरो आँगमाथि हात राख्यो । हात बिस्तारै मेरो कम्मरतिर सर्यो । एकचोटि गालामा पुग्यो । चिमट्यो पनि ! मलाई पनि झोंक चल्यो मदनबाको छिरबिरे जुङ्गा जोडले तानें । मदन बाले दुखेको अनुभव गर्यो । आँखामा आँसु र नाकको टुप्पामा रीस चढ्यो ।

तैपनि बलले हाँस्तै भन्यो- “ज्ञानी भनेको त ल यही हो ?” भन्दै मदनबा पनि अटाई नअटाई उही पलङमा लेट्यो । मलाई बिस्तारै छोप्दै ल्याएको बखतमा मैले चाल पाएँ- मेरो छातीमा मदनबाको हातले सुमसुम्याइरहेको रहेछ, केही खोजिरहेजस्तो । मलाई झोंक चल्यो । “हेर, मदनबाको चाला । ऊ बाहिर गएको मौकामा मैले केही चोर्यो होला भन्ठानेर खोजिरहेको होला ।” म जुरुक्क उठें -मदनबा झस्क्यो ! मैले भनें पनि मदनबाको मनमा केही लुकायो भन्ने पर्यो होला हैन ? ल हेर मैले केही पनि लिएको छैन भनेर आफ्नै थैला खोलेर देखाइदिएँ । मदनबा जिल्ल पर्यो, तर उसले केही पनि भनेन ।

यसपछि आइसकेको निद पनि भाग्यो । मदन बासित जिस्किन थालेँ- कहिले ऊ मलाई केही भनेर गिज्याउँदथ्यो, कहिले मैले उसको जुँगा तानेर जिस्काउँथे । एकछिनपछि मदनबा निदायो । निद्रामा एकचोटि कोल्टे फेर्दा मदनबाको खुट्टा मेरो आँगमाथि पर्यो । मलाई कस्तो-कस्तो लाग्यो । म पलङबाट ओर्लें, मदनबा बिउँझ्यो ।

-“किन तिमीलाई निद्रा परेन ?-”

-“म त घर जान्छु ।”

-“किन ? एकछिन पर्ख न । मैले नै पुऱ्याउन आउँछु भनेपछि । कि, तिमीलाई नरमाइलो लाग्यो-हो ?” भन्दै मदनबा उठ्‌यो । उसको अनुहारको भाव देखी म तर्सें । मलाई त्यो कोठाबाट भागूँ भागूँ जस्तो लाग्यो । मदनबाले मलाई च्यापेर म्वाइँ खायो । अनि त मलाई झन् डर लाग्यो । बाह्र वर्षकी लड्कीले बल्ल मदनबाको व्यवहारको सबै इशारा बुझ्न सकें ।

यस घटनाले मेरो जीवनमा एउटा नयाँ मोड ल्याइदियो । मदनप्रतिको आमाको क्रोधको कारण अब बुझ्न थालें । अनि मैले माया र ममताको साकार मूर्ति ठानी श्रद्धा गरेका आफ्ना बाप्रति पनि घृणा उब्जन थाल्यो । मेरो मनभित्र आमाप्रति सहानुभूतिको भावना जाग्न थाल्यो । मैले आमालाई जुनसुकै काममा पनि सकेको सहायता गर्न थालेँ ।

हाम्रो घर झन्-झन् शरीर एवम् मन दुवैबाट जवानीको जगत्‌मा हाँस्नुभन्दा रुनु बढ्ता हुँदै गयो । बाको स्वास्थ्य दिनपरदिन गिर्दै जान थाल्यो ।

चौध वर्षकी भएपछि मदनबाको कुरा याद आउन थाल्यो, बुझिन थाल्यो । तर किन हो कुन्नि, ममा अगाडिको घृणाको भाव भने आएन । अवश्य पनि अलि के-के भएजस्तो लाग्यो । कैले मन लागेजस्तो, कैले मन नलागेजस्तो हुन थाल्यो । कहिलेकाहीँ त मदन बासित एकपटक भेट्न पाए पनि हुन्छ भन्ने लाग्थ्यो । मेरो मानसिक अवस्था यसप्रकार अस्थिर भैरहेको थियो । एकदिन बालाई मदन बाकी भाञ्जीकहाँ आउने अरू लोग्नेमान्छेहरूले नराम्रोसँग पिटेर पठाएछन् । क्षीण भैसकेको बाको शारीरिक अवस्थामाथि यस पिटाइको आन्तरिक चोट थपिन जाँदा हामीहरू साह्रै चिन्तित हुन थाल्यौँ ।

अन्त्यमा, बाले आमालाई छोडेर जानुभयो सधैंको लागि, जीर्ण भैसकेको जीवन तथा वासनासित परिचित हुने लालसाले दौडिरहेकी एउटी रूपवती छोरी सुम्पेर !

दुःख एक्लै आउँदैन । घरलाई थामिराखेको बाबुको मृत्युपछि हामीलाई यो पनि थाहा भयो- बाले मदन बाकी भाञ्जीको वासनाको जालमा फँसेर ढुकुटीसमेत शून्य गरिसक्नु भएको रहेछ । सेफमा सय रूपियाँजति छ । गहनाको नाममा शून्य नै भने हुन्छ- हामी आमाछोरीको जीउमा भएको बाहेक ।

जूठो नफुकेसम्म त मदनबाले केही भनेन, तर पछि यो पनि थाहा भयो कि हामी बसेको घरसमेत पनि मदनबाले बन्धकमा लिइसकेका रहेछन् । मेरो त्यसै पनि गह्रौ भैराखेको दिमागमा सहनै नसकिने गरी तुफान चल्यो, गयो पनि । तर आमालाई कत्रो चोटको प्रहार भयो होला ! बाहिरबाट हेर्दा आमालाई केही भएजस्तै त लाग्दैन । हुन पनि लोग्नेजति मरिसकेपछि आइमाईहरूले अरू कुराको वास्ता पनि के गर्न सक्तछन् र ! भाइ, भाइलाई त के थाहा र ! बाबु भन्ने यो हो भनेर पनि चिन्दैन होला । तर पनि आमा त्यसै चूप लागेर बस्नुभएन । केवल आँसु मात्र बगाएर आफ्नो दिन बिताउनु भएन । किनभने हाम्रो सामुन्ने आफ्नो निर्वाह गर्ने समस्या मुख बाएर खडा हुन आइरहेको थियो । सल्लाह माग्न कोही थिएन । बाको मृत्युसँगै छरछिमेकी र साथीभाइहरूको स्नेह र ममता पनि मर्न थाल्यो ।

मैले आमालाई के सल्लाह दिने ? भर्खर यौवनको सँघारनेर पुगेको मेरो मन त्यसै पनि नाचिरहन्थ्यो । झन् त मेरो यौवन आमाको निम्ति चिन्ताको अर्को एउटा विषय भयो होला अवश्य । किनकि आमाले धेरैचोटि झोक्रिएर शिरदेखि पैतालासम्म नियालेर हेरिरहेको मैले देखेकी छु ।

हुन पनि बिहे भइनसकेकी तरुनी छोरी आमाबाबुको निम्ति एक समस्या हो, जसको समाधान जति सक्दो छिटो गर्न प्रत्येक आमाबाबु हड्बडाएका हुन्छन् । मदनबा एउटा मात्र सधैँ आउँथ्यो, हुन सक्छ कुनै स्वार्थवश । तर मलाई यसको वास्ता थिएन । ऊ एकजना मात्र हाम्रो सुख-दुःखको कुरा गर्न आउँथ्यो । हामीलाई सल्लाह पनि दिन्थ्यो । फेरि उसको व्यवहारमा केही परिवर्तन पनि आएको थिएन ।

हुनसक्छ, यो उसको व्यापारिक बुद्धिको चातुर्य होला । आफ्नै हाड छालाको व्यक्तिजस्तै उसले हाम्रो दुःख हटाउनको निम्ति प्रयास नगरेको पनि होइन । तर बाको ४५ दिनको क्रियापछि, मसितको उसको व्यवहार बदलिँदै गयो । त्यसो त विशेष केही गरेको पनि हैन । तर मलाई कहिल्यै एक्ली भेट्टायो भने मेरो हात शरीरलाई अलिक काँपेको भाव गरी तान्ने गर्थ्यो ।

कहिलेकाहीँ कुरा गर्दागर्दै मेरो मन झसङ्ग हुने गरी हो-होइनजस्तो गरी मेरो आँगमा हात पसार्दथ्यो । मदनबाको भित्रभित्रै उठ्न लागेको भावना मैले नबुझेको हैन । मदन बाको यो व्यवहारबाट मलाई खुसी पनि हुन्थ्यो, दुःख पनि । खुसीको कारण-एउटा मानिस-बाबु भन्न सुहाउँदो, एउटा मानिस मेरो यौवनको जालमा फँसिरहेछ-एउटा मानिसलाई मैले एउटा पुतलीलाई जस्तै नचाउन सकुँलाजस्तो हुन लागिरहेछ-मैले मञ्जुर गर्नासाथै, मैले आफ्नो वासनाको पिंजडालाई खोल्नैबित्तिकै … । दुःख यसकारण कि मदनबा किन मेरो जीवन बर्बाद गर्न लागिरहेछ, अझ योभन्दा ऊ आफै आफ्नो जीवन किन बर्बाद गर्न लागिरहेछ ! किनकि मलाई थाहा छ, मैले इच्छा मात्र गर्नुपर्छ, मदन बाकी भाञ्जीले मेरो बाबुलाई नराम्रोसँग बिगारेजस्तै म पनि मदनबालाई बिगार्न सक्छु ।

यस्तो विचार आउनासाथ मेरो मुटु ढुक्ढुकाउन थाल्दछ र आफैँ तर्सन थाल्दछु । अनि कहिले त खित्का छोडेर हाँस्न मन लाग्छ मदनबाको व्यवहार देखेर । तर पनि मदनबाले फोरेर केही भन्न सकेको थिएन, केही गर्न सकेको थिएन । मदनबाको मसितको व्यवहारले गर्दा मेरो भर्खर जवान हुन लागेको अङ्ग-प्रत्यङ्गले आनन्दको अनुभव गर्दै गैरहेछ । मेरो शरीरको इच्छा भने झन- झन् बढ्दै जान थाल्यो । तर मदनबाले भने योभन्दा बढी केही गर्न हिम्मत गर्न सकेको थिएन । शायद उसको व्यवहारको ममाथि कस्तो प्रतिक्रिया भैरहेछ, उसले बुझ्न सकेको छैन होला । त्यसैले ऊ काँतर बनिरहेछ, ऊ डराइरहेछ ।

साँच्चै, प्रत्येक कामुक प्रेमी यस्तै काँतर हुन्छ । यस्तै कायरपनाले गर्दा ऊ यताको न उताको भइरहन्छ । अन्यथा मदनबालाई डराउनु किन पर्थ्यो ? मदन बाको यस्तो व्यवहार आमालाई थाहा नहुने होइन क्यारे ! जसलाई मदनबाको एक-एक कुरा थाहा छ, उसले यति कुरा त्यसै पनि अन्दाज गर्न सक्छ । अनि प्रतिहिंसाको भावनाले गर्दा मुखमा दही जमाएर टुलुटुल हेरिरहेको हुनुपर्छ ।

किनभने मैले राम्ररी सम्झिराखेकी छु कि मदनबा आयो कि केही काम नभए पनि हतार भएजस्तो गरी आमाले मलाई र मदनबाको अनुहार देखि माया लाग्थ्यो, करूणा हुन्थ्यो । आमा कोठाबाट निस्कन पाएकी हुँदैन, मदन बा ढोकातिर हेर्दै हात गिडगिडाउन थाल्छ । उसको मुखमा हडबडको भावना उठिरहेको हुन्छ, आँखाबाट वासना निस्किरहेको हुन्छ । सर्वाङ्ग पसिनाले खलखली भिजिरहेको हुन्छ । विस्तार-विस्तार मलाई, मेरो भावनालाई सोच्तै मसँग टाँसिन आइपुग्छ । तर्सी-तर्सी कुरैकुरामा मेरो शरीरलाई स्पर्श गर्न पुग्छ । अनि बिरालोले जस्तै केही खित्रिक्क आवाज आउनासाथ झस्केर आगोले पोलेजस्तै गरी आफ्नो हात झिक्तथ्यो।

म भने यी सब केही थाहा नभएझैँ गरी कुरा गरिरहन्थेँ । अनि मदनबा रन्थनाउन थाल्छ, थरथर काँप्न थाल्छ । यस्तै बेला आमा कोठामा आइपुग्दा उसको मुखको भावना देखेर एकातिर करुणा लाग्दथ्यो र अर्कोतर्फ हाँस्न मन लाग्थ्यो उसको त्रास देखेर । अनि, एकतर्फ झोंक पनि चल्थ्यो-मेरो कामुक वासनालाई सन्तोष गर्न हिम्मत नभएको काँतर, अर्काको आँखामा मात्र मलाई किन गिराउन खोज्छ ?

-मदन बाले जर्वजस्ती मेरो शरीरलाई आफ्नु कामुक वासनाको तृप्तिको साधन बनाएको खण्डमा पनि त मैले विरोध गर्ने थिइनँ हुँला, गर्न पनि सक्तिनँ हुँला । किनभने यौवनले भरिएको मेरो शरीर यसको निमित्त जान-अनजान रूपमा तत्पर भैसकेको थियो । यसप्रकार दिन वितिरहेको थियो । एकदिन मदनबाले आफूलाई सम्हाल्नै नसकेर आमाको अगाडि नै मलाई नराम्रोसँग कुतकुति लगाइदियो । आमाको अनुहारमा एकैचोटि परिवर्तन आयो । मदनबा र म-हामी दुवैले आमाको अनुहारको यस परिवर्तनलाई राम्ररी वुझ्यौं ।

यसरी आमाको मनको भावनालाई मदनबाले लगाएको कुतकुतिले खिन्न तुल्याएको कुरा नबुझ्ने कुरा पनि थिएन । मलाई त के गरूँ, कसो गरूँ भयो । आमाको अनुहार हेरेँ । आमाको आँखामा नदेखिने गरी भित्रभित्रै आँसु उम्लिन थाल्यो । तर मदनबाले भने असिद्धिसँग फेरि-फेरि मलाई कुतकुति लगाउन थाल्यो । मलाई त पैतालादेखि झोंक चल्यो । तर विरोध गर्न हिम्मत भने मैले गर्न सकिनँ । एकचोटि दास प्रवृत्तिको शिकार बनिसकेको मानिस जसरी कहिल्यै कसैको सामुन्ने शिर उठाउने साहस गर्न सकिनँ, मनभित्र जस्तोसुकै तुफान चलेतापनि विरोध गर्ने साहस गर्न सकिनँ, मनभित्र जस्तोसुकै तुफान चलेतापनि विरोध गर्ने इच्छा पैदा भएतापनि ! आमाले पनि केही भन्नुभएन । गम्भीर भएर केही वास्ता नभएझैँ गरी चूप लागेर बसिरहनुभयो ।

केही दिनपछि मात्र कुरा बुझियो-उस दिन आमा केही पनि नबोलिकन के सोच्न लाग्नुभएको रहेछ । आमाको विचार तीब्र गतिले कुन-कुन कुरा सम्झँदै कहाँ पुगेको थियो भन्ने कुरा मलाई पछि मात्र थाहा भयो-जब कि मेरो बिहे, चाँडै गरिदिनुपर्यो भनी।

आमाले रत्नमाया काकी आउँदा भनेकी थिइन् । रत्नमाया काकीको नारी समाजमा एक विशेष स्थान छ । कसैकी छोरीबेटी बिकेनन् भने, कसैकी बुहारी मिल्न सकिन भने, अझ यसभन्दा बढी कसैलाई लोग्नेको घरबाट निकालिदियो भने अथवा कसैलाई आफ्नो मनपरेकीसित बिहे गर्नुपरेमा, पारपाचुके गर्नुपरेमा जहाँ जस्तोसुकै कुरा गर्नुपर्थ्यो मिलाएर कुरा गर्न सक्ने क्षमता उनमा थियो । त्यसैले रत्नमाया काकीलाई रुचाउने जति छन्, त्यत्तिकै नरुचाउने पनि छन् । किनभने झुटमुट कुरा गरेर पनि कसैको कसैसित बिहे गराइदिनैपर्यो ।

तर रत्नमाया काकीलाई यसमा के दोष ? साँचो कुरा मात्र गरेर बिहे गर्नेहरूको निमित्त त उनको आवश्यकता नै छैन । अनि झुटमुट कुरा गरी बिहे गराइदिँदा अवश्य पनि एकातर्फको निमित्त त कुभलो हुने नै भयो । कहिले मेरो जीत, कहिले तपाईंको जीत । कहिले तपाईंको हार भए, कहिले फेरि मेरो हुन्छ । हार जीत तपाईंको र हाम्रो हुन्छ, रत्नमाया काकीको हुँदैन क्यारे !

अगाडि त उनी भोजभत्तेरमा जुठो लिएर जीविका चलाउँथिन् । घरमा पनि कोही थिएन । सानैदेखि विधवा भएकी । अब यस्तै मिलन कार्यबाट उनलाई प्रशस्त आम्दानी हुन गएको छ । सम्मान मिलेको छ । राम झुपडीदेखि लिएर महलसम्म पनि छ । उनले ठूलाबडा घर खान्दानको इज्जत धेरैपटक बचाइसकेकी थिइन् । कहिले पेट बोकिसकेकी छोरीबेटीलाई पोइ खोजिदिएर, त कहिले आफ्ना घरका जवान छोराहरूबाट पेट बोक्न गएकी नोकर चाकर्नीहरूको निम्ति अर्को नोकर खोजिदिएर, अझ कहिलेकाहीं त कसै-कसैलाई अर्काको बच्चासमेत पनि सकार्न लगाएर।

रत्नमाया काकी र आमाको बीच मेरो बिहेको कुरा हुन लागेकै बेला मदन बा पनि त्यहीँ आइपुग्यो । मदनबाले रत्नमाया काकीलाई र रत्नमाया काकीले मदन बालाई कर्के आँखाले हेरे । मदन बा आउनासाथ रत्नमाया काकीले आजलाई वेर भयो, फेरि आएर कुरा गरुँला भनी निस्किन् ।

मदन बासित पनि आमाले मेरो बिहेको कुरा गर्नुभयो । मदनवाले एकछिन गौर गरेर जवाफ दियो-“लौ, म छँदै तपाइलाई केको पीर । साथीकी छोरी मेरै छोरी बराबर हो।” कुरा सुनिरहेकी मैले हाँसो थाम्न सकिनँ । एकछिन झ्यालतिर लागेँ । फेरि बिस्तारै कुरा सुन्न लागेँ । मेरो बिहे बा र मदनबा दुवैले चिनेका एकजना सुब्बाको एकलौटी छोरोसित गरिदिने कुरा पक्काजस्तै भयो । काम केही नपाएकी तथा यसभन्दा पनि बढी घरको शून्यता र विरक्तिमा पनि चञ्चल भैरहेको मेरो मनलाई बिहेको कुरा नरुचाएको हैन ।

यसभन्दा बढी त मदन बाको दिन-दिनको व्यवहारले गर्दा उकुसमुकुस भैरहेको मेरो मनलाई कोही जवान लडकासित रहन पाउने कुरा मन पर्नु त स्वभाविकै भयो । मेरो बिहेको निमित्त धमाधम तयारी हुन थाल्यो । साँच्चै, मदनबाले पनि आफ्नी छोरीको बिहे जतिसुकै हुने गरी दौडधुप गरिरह्यो ।

मदनबाको यो चाहिं रूप देखेपछि मलाई उसप्रति रहेको मेरो मनको भावनामाथि शङ्का लाग्न थाल्यो । शायद प्रत्येक बूढा मान्छेको स्वभावै यस्तो हुने हो कि । अलिक तरुनी आइमाई देख्यो कि उनीहरूसित कामुक व्यवहार गरी ख्यालठट्टा गर्नु त यिनीहरूको स्वभाव नै भयो । मेरो बिहेको कुराले गर्दा ममा पनि धमाधम परिवर्तन आउन थालेको मलाई राम्ररी नै थाहा थियो । मेरो स्वभावमा अगाडिको उदासिनता अब छैन । मेरो मन जति-जति चञ्चल हुन थाल्यो, त्यति त्यति मेरो बाह्य स्वभाव गम्भीर हुँदै गयो । आमाप्रतिको मेरो विचार एवं व्यवहार पनि बदलिँदै जान थाल्यो । मलाई आफ्नो जीवन पूर्ण हुन लागेजस्तो हुन थाल्यो ।

अब म कसैकी छोरी मात्र भएर रहन्नँ, कि कसैकी स्वास्नी पनि हुन लागें, कसैको बुहारी र केही वर्षपछि कसैकी आमा पनि, अवश्य पनि अब मेरो जीवनको संघर्ष शुरू हुन लाग्यो । तर यही संघर्ष नै जीवन हो । अनि मानसिक आनन्दबाट मेरो शरीर पनि राम्रो हुन थाल्यो । मेरो सौन्दर्य झन् झन् खारिँदै जान थाल्यो । तर, तर यसै बेला मेरो कल्पनाको संसारमा बज्र बज्रिन आयो । मेरो रमाइलो संसारको कल्पना केवल कल्पना मात्र हुन गयो, किनकि मेरो लोग्ने हुने टी.बी. भैसकेका रहेछन् ।

मदनबाले आफ्नो नातेदार भएकोले जानी जानी क्षय भैसकेकोसित मेरो बिहे गरिदिने जाल रचेको भन्ने कुरा थाहा पाए देखिन् आमा र ममा मदनबाप्रति नराम्रो भावनाको साथै प्रतिशोधको भावनाले विस्तार विस्तार ठाउँ जमाउन थाल्यो । मेरो जीवन बिगार्ने मेरो भविष्य बर्बाद गर्ने मदनबाको यस षड्यन्त्रबाट मलाई भन्दा बढी चोट आमालाई पर्यो । अनि आमाले उसित भयानकसँगै बदला लिने विचार गर्नुभयो भन्ने कुरा त आमाको त्यसपछिको कार्य एवं कुराहरूबाट स्पष्टतर हुँदै गयो ।

यस षड्यन्त्रको पर्दाफास भएपछि मेरो बिहेको कुरा हराउनु त स्वाभाविकै भयो । तर पनि, यस घटनापछि मदनबाको हामीसितको बसउठ अब टाढा-टाढा हुँदै जान्छ भनी मैले सोचेकी त झन् उल्टो हाम्रो सम्बन्ध अझ बढ्ता नजिक एवं गाढा हुन थाल्यो । हुँदा-हुँदा दिउँसो आएर वस्ने मदनवा राति अवेरसम्म पनि रहन थाल्यो । भाइलाई पनि मदनवाले आफ्नै छोराझैँ गरी हेरचाह गर्न थालेको पनि मैले चाल नपाएकी होइन । तर किन हो कुन्नि, मदनबा र मेरो व्यवहारमा भिन्नता आउन थाल्यो ।

अघि-अघि सधैं हामी दुई जनालाई मात्र कोठामा छाडी जाने आमाले अब आफूहरू दुईजना मात्रै बसी कुरा गर्ने स्पष्ट सङ्केत गर्दै मलाई तल कोठामा पठाउने गर्न थाल्नुभो । विशेषतः मदन बा आउँदा मैले माथि आमाको काठोमा बस्नै नपाउने हुन गयो । यसरी म ज्यादाजसो तलै मात्र बस्ने भएँ । आमाको संसार र मेरो संसारमा झन् बढी विभिन्नता आउन थाल्यो । नरमाइलो लाग्दा एक छिन गएर कुरा गर्ने दुई चार साथीहरूको पनि बिहे भैसक्यो ।

अनि त मेरो जीवन ज्यादाजसो शून्यप्रायः हुन थाल्यो । म आफैसित रन्थनाउँथेँ, झर्किन्थेँ आफूदेखि, आफ्नो भाग्यदेखि त्यसै पनि रिस उठ्थ्यो । चियाको कपमा हुरी चलेझैँ मेरो मनभित्र पनि हुरी चल्न थाल्यो । यस प्रकारको अव्यवस्थित दशा एवं शिथिलताबाट मेरो जीवन बितिरहेछ ।

क्रमश: