द्वितीय प्रवाह

सानैदेखि म राम्री थिएँ । केटाकेटीमा खेल्दाखेरि सबैले मलाई नै दुलही बनाएर खेल्दथे । केटी होस् वा केटा- सबै मलाई साथी बनाउन रुचाउँथे । केटाहरूको बीचमा त मसित बस्न, सँगै खेल्नको निम्ति आपसी प्रतिस्पर्धा पनि नभएको हैन । त्यसरी केटीहरू पनि आपसमा मलाई पाउन नबाझेका थिएनन् । म राम्री छु अवश्य, तर मेरो सौन्दर्यले मात्र यसरी आपसमा प्रतिस्पर्धा र झगडा भएको हैन वा हुनुपर्ने होइन- यो त पछि मात्र बुझें ।

ममा सौन्दर्य पनि थियो । म टोलभरिका ठूला सेठकी एक्ली छोरी । आमा-बाबुकी एक मात्र छोरी र अरू बच्चाको हकमा मभन्दा आठ वर्षले कान्छो एउटा छोरो मात्र । यसकारण म आमा बाबुकी असाध्य प्यारी थिएँ । बाले त ठूली छोरी भएर हो वा किन हो, भाइलाई भन्दा पनि मलाई बढी माया गर्नुहुन्थ्यो । अनि मेरा मनका इच्छाहरू अपूर्ण भनेको त कहिल्यै हुन पाएनन् । टोलघरमा मेरो बालाई सबैले काजीसाह भन्दथे । सबैले खूब सम्मानको आँखाले हेर्दथे । अनि मलाई पनि टोलका मानिसहरूले स्वभावतः सम्मानको दृष्टिले हेर्ने नै भए ।

तर मलाई सुख र ऐश्वर्यको काखमा खेलिरहेको बखतैदेखि के-के केही नमिलेझैँ, केही भएझैँ, केही कुराले लखेटिरहन्थ्यो ! बिहान मेरो निद्रा खुल्नु अगावै वा घरबाट निस्कनुहुन्थ्यो । भान्छाको समयमा मात्र हाम्रो भेट हुन्थ्यो । त्यो पनि मलाई साथैमा सँगै राखी खानुपर्ने बाको बानी नभइदिएको भए त्यसबेला पनि भेट हुन्थ्यो, हुन्नथ्यो । अनि भान्छा सकी निस्कनु भएपछि घर पस्नुहुँदा राति अबेर हुन्थ्यो- म सुतिसक्थेँ ।

अनि कहिलेकाहीँ बा-आमाको के कुरामा हो, झगडा पर्दा तर्सेर बीच-बीचमा निद्राबाट व्युँझन्थे पनि । कारण के थियो- मलाई थाहा थिएन, म बुझ्दिनँ पनि ।

आमाले सधैँजसो भन्नुहुन्थ्यो- “छोराछोरीको त अनुहार हेर्नोस् ! यस्तो बानीले छोराछोरीको जीवन के हुने हो ?”

बा झर्केर जवाफ दिनुहुन्थ्यो- “कर्ममा लेखेजस्तो हुन्छ । एक दिन मर्नुपर्ने शरीर त हो नि- बाँचेसम्म मेरो मन खुसी गरी बाँच्न देऊ । हेर, मलाई त्यस्तो कचकच मन पर्दैन । बढ्ता कचकच गरिस् भने तैंले दुःख भोग्नुपरे पनि वास्ता हुनेछैन ।”

बाको स्वरमा चेतावनीको भावना प्रशस्त थियो, तर यसको इशारा थियो कतातिर, यस वाक्यको पछिल्तिर के थियो- मेरो बच्चा दिमागले बुझ्न सकेको थिएन । आमाबाबुको झगडामा पर्नु मेरो कर्तव्य पनि थिएन ! म फेरि निदाउने प्रयासमा लाग्थेँ, तर झगडाले गर्दा निद्रालाई मेरो नजिक आउनै दिँदैनथ्यो ।

एक दिनको कुरा । दिनहुँ बा आउनुभएको थिएन । आमाको अनुहार डर, त्रास र भयले भरिएको थियो । उसमाथि मामाले आएर मैले नसुन्ने गरी केही भनेदेखिन् त आमाको आँखामा आँसु पनि देखीन थाल्यो । मलाई एकचोटि च्यापेर भन्नुभयो- “मेरी छोरी, तिमीहरूको कर्ममा नै यस्तो हुनु लेखिएको रहेछ ।”

यतिभन्दा आमाको आँखाबाट आँसु बगेको मैले नदेखेको होइन । आमाले मैले देखुँला भनेरै न होला, विस्तारै फरियाको टुप्पाले आँसु पुछ्नुभएको । कति बज्यो, त्यो त मलाई थाहा थिएन, तर मेरो सधैँको सुत्ने वेलाभन्दा धेरै नै अबेर भैसकेको थियो । तैपनि बा आउनुभएको थिएन, आमा त्यसै झ्यालमा बसिरहनुभएको थियो ।

म निदाएँ । एक निद्रा सुति बिउँझिदाखेरि पनि आमा झ्यालमै निदाइरहनुभएको र बा अझै नआउनुभएको देखि म छक्क परें, तर, के ? म त निदाइहालेँ । बाको ठूल्ठूलो स्वरले गर्दा म बिउँझे ! बाको स्वरमा अधिकतर अस्पष्टता थियो । अनि पछि मात्र मैले बुझें… बा रक्सीले चूर भएर राति अबेर आउनुभएको थियो । आएदेखिन् आमासित कचकच भयो । बा-आमाको मनमा म निदाइसकेँछु भन्ने परेछ ।

आमा भन्दै हुनुहुन्थ्यो- “त्यसो भए घरैभित्र हुलाए पनि त हुन्छ नि ! बाहिरै राखिछोड्नू !”

“के तैंले ल्याउँदैन भन्ठानिस् ? अलि कुरा मिल्न नसकेर पो । “

-“हजुर भनेर आउलान् तपाईंको घरमा ! उसले आउन चाहे पनि उसकी आमाले पठाउँदिन । तपाईंको जस्तो घर लैजान्छु भन्ने कति छन् कति । तपाईंको घरमा पठायो भने अरूबाट हुने आम्दानी सबै भूस हुन्छ… अनि… ।”

-“हेर, नचाहिने कुरा नबोल्नू । मैले मात्र उनलाई ल्याउन सकिनँ भने- हरे ! जेसुकै भनून् । म साहूजी हूँ ! बुझिस् ! हेरिहालुँला, म छँदै कसले लैजान्छ उनलाई ?”

-“त्यही त भनेको, कसैले लैजाँदैन । लग्छु भने पनि आमा चाहिंले नै लैजान दिन्न ।”

यसपछि कोही एक जनालाई घरमा हुल्ने विषयलाई लिएर बा र आमाको बीच उज्यालो हुञ्जेलसम्म नै कचकच भइरह्यो । कहिलकाहीं त बाले आमालाई पिटिहालुँला जस्तो गरी हातसमेत उठाउनुहुन्थ्यो । तर बाले पिट्ने साहस गर्न नसकेर भनूँ वा आमाको मायाले गर्दा भनूँ, आमाले भन्नु नभन्नु भन्दाखेरि पनि बाले आमालाई कुट्नु भएन ।

भोलिपल्ट बिहान बा भान्छा गरिरहनुभएको बेला बासँगै बसिरहेकी मलाई आमाले भन्नुभयो- “नानी, तिमीलाई थाहा छ, तिम्रो बाले एउटी नयाँ आमा, राम्री आमा ल्याउनुहुने भएको छ । म बूढी भएँ रे, म राम्री छैन रे !”

-“उसोभए बा, के म पनि मन परिनँ ? म राम्री छैन ?” मैले केही विचारै नगरी आफ्नो भावनाको प्रतिघातमा बोलें । सानैदेखि मलाई मेरो सौन्दर्यको ज्ञान थियो, साथै अभिमान पनि । मेरो यो जवाफबाट बा जिल्ल पर्नुभयो । मलाई सालिकले हेरेक गरी हेर्न लाग्नुभयो । अनि केही रिसाएझैँ गरी आमालाई भन्नुभयो- “बच्चाहरूको सामुन्ने के नचाहिँदो कुरो गरिरहेकी ?”

-“नचाहिँदो कुरा… । मलाई त के छ ? यिनै बच्चाहरूको निमित्त न हो । नत्र मलाई मात्र केको वास्ता ? सय जना ल्याउनोस्… ।”

बा रीसले चूर हुनुभयो र जुरुक्क उठ्नुभयो । हात मुख धोएर कोठातिर जानुभयो । एक छिनपछि ढ्याम्म कोठाको ढोका बन्द गरी निस्कनुभएको मान्छे, त्यस दिन घर फर्कनुभएन । दुई दिनसम्म त घरमा हेर्नसम्म पनि आउनुभएन । बा र आमाको बीच भएको संघर्ष सबै मेरा आँखाको सामुन्ने छर्लङ्ग भएर उभिन थाल्यो ।

मैले यो बुझ्न थालेँ-बाले बाहिर एउटी भर्खरकी, भर्खर-भर्खर तरुनी वन्न सिकेकी एउटीलाई राख्नुभएको छ । यस आइमाईको इशारामा, उसको प्रत्येक इच्छाको पूर्ति गर्नमा बाले पानीसरी रुपियाँ खर्च गर्न लाग्नुभएको छ । यस कुराको प्रतिक्रिया मलाई अर्कै किसिमले हुन गयो । मलाई आमाको झैं बाप्रतिको क्रोध उब्जेन । मलाई कुनै प्रकारको आफ्नो परिवारको भविष्य के हुन्छ, कस्तो हुन्छ भन्ने विचार भनूँ वा चिन्ता केही पनि आएन, आउँदै आएन । आफू राम्री छु भन्ने मलाई राम्रैसँग थाहा थियो । अनि इच्छा पूर्ण गर्न मेरो इशारामा लोग्नेमान्छेहरूलाई नचाउने !

तर पछि मलाई यो पनि थाहा हुन थाल्यो- यसो गर्न केवल सौन्दर्य मात्र भएर पुग्दैन । यति मात्र हैन कि अर्को एउटा वस्तु नभएसम्म सौन्दर्यको केही मूल्य नै छैन र त्यो वस्तु हो- यौवन, मानव जीवन कथाको चरम सीमा (Climax), जुन वस्तुको प्रभावले मानिसको जीवन बिग्रेमा नराम्रोसँग बिग्रन सक्तछ र बनेमा अरूले द्वेष-ईर्ष्या र प्रतिस्पर्धा गर्ने किसिमसँग बन्न सक्तछ ।

अनि मलाई चाँडै नै यौवनको घेराभित्र पस्ने इच्छा पैदा भयो । नभन्दै मेरो इच्छा र भावनाले गर्दा मेरो शरीरमा, मेरो प्रत्येक व्यवहारमा अनौठो व्यवहार गरेमा मलाई चोटको अनुभव हुन थाल्यो । कसैले जिस्क्याएमा मेरो मानसिक जवान हृदय त्यसै दङ्ग पर्थ्यो । अवश्य, पनि मेरो यस्तो मनोभावनालाई नवुझेरै धेरै जनाले मलाई पहिलेजस्तै व्यवहार गरिरहेछन् । तर मलाई भने त्यसको असर अर्कै किसिमले पर्न थाल्यो । कसैले मलाई एक छिन हेरी मात्र रह्यो भने पनि मलाई शरम लाग्न थाल्यो र अनुहार रगत राता हुन थाल्थ्यो । कसैले मेरो हात समातेमा एकदम करेन्ट लागेझैँ भई शरीर रोमाञ्चित हुन्थ्यो ।

मेरो मानसिक अवस्था यस्तो भैरहेको बखत एकदिन मलाई बाको एकजना साथीले गालामा चिमट्यो । मेरो मुखबाट “ऐय्या ।” भन्ने निस्क्यो । उसको उमेर काफी ढल्किसकेको थियो । ऊ कुरा गर्न साह्रै सिपालु थियो । अगाडि पनि भेट्यो कि उसले मेरो गालै समात्थ्यो र धेरैपटक समातिसक्यो । तर त्यस दिन अलि जोडसँग दुख्ने गरिकन समात्यो- मेरो आँखामा आसुँ नै भरिने गरिकन । मलाई दुख्यो भन्ने कुरा उसले थाहा पाएछ र भन्यो, “नानीको गाला त कपासजस्तै नरम छ ।”

त्यस बूढाको यो वाक्यले मेरो दुखेकोमा मल्हमको काम गर्यो म कुद्दै कोठामा गएँ र ऐनामा आफ्नो अनुहार हेर्न पुगेँ । गाला रातो थियो, पट्ट फुटी रगत नै चुहिएलाजस्तो । ऐनामा आफ्नो यस्तो प्रतिमूर्ति देख्ता मेरो मनमा त्यसै पनि हर्ष उब्जिन थाल्यो । यसरी समयभन्दा अगाडि नै आफ्नो घरको वातावारण-अनुकूल म यौवनतिर बग्दै गएँ ।

तर उमेरले भने तरूनी भइसकेकी थिइनँ । त्यसैले म वारको न परको भई बीचमा पुरें । तरूनी भनूँ-शरीरले भन्दैन, बच्ची भनूँ मनले खाँदैन । बाह्र वर्षको उमेरमा सायद प्रत्येक स्वास्नीमान्छेमा यो भावना आउनेहोला । तर ममा अलिक छिटो एवम् खतरनाक रूप आयो । बाको बूढो साथी मदन बा, माथि बासँग कुरा गर्दै थियो, म पनि केही काम नहुँदा बाहिर निस्केँ ।

बिहान आठ बजेको थियो । साथीहरू अब खेल्न लागेका । मलाई त्यस दिन ठिटीहरूसँग भन्दा पनि ठिटाहरूसँग बसेर खेल्न मन लाग्यो । म ठिटाहरू “च्याम्पटी” खेल्न लागेको ठाउँमा गएँ । उनीहरूसँग धक्कामक्का गरी खेल्न पाउँदा मलाई सन्तोष लाग्ने, त्यसो त अगिपछि पनि ठिटाहरूदेखि कहिल्यै डराउँदिनथें । बाको नामैले सबै तर्सन्थे । म त पिट्थेँ पनि । यसरी खेल्दै थिएँ, त्यसै बेला सियोबाल च्याम्पटी जुधाउँछौ भन्दै एउटा अलिकति बदमासजस्तो ठिटोले ठक्कर हुने सियोवाल च्याम्पटी घुमायो । मलाई त सहिसक्नु भएन ।

फेरि आफ्नू इच्छालाई अपूर्ण त राख्नै नजान्ने, मैले त्यो च्याम्पटी स्वाट्ट लिएर भनें- “यो एउटा मलाई देऊ ।”

“अर्काको कति मुस्किलले सियो घोचेको” भन्दै त्यस ठिटोले च्याम्पटी मसित खोस्न थाल्यो ।

मलाई यसमा लज्जा अनुभव भयो । अनि, अर्काको च्याम्पटी सित्तैमा किन लिनु भन्ने विचार मनमा आउँदाआउँदै पनि मैले नदिने इच्छा गरेँ । अझ यसभन्दा बढी त्यससित, त्यस ठिटोसित बाझ्ने इच्छा गरेँ । म च्याम्पटी लिएरै घरतिर भागें । त्यो ठिटो पनि लखेट्दै पछि आयो, मलाई भेट्टायो पनि । अनि उसले मेरो कपाल लुछ्यो । उसले मेरो कपाल लुछ्दा मेरो हात समाति मर्काउन खोज्दा मलाई रमाइलो अनुभव हुन गयो । मेरो शरीरलाई कष्ट अवश्य तर मेरो मनलाई भने सञ्चो हुन थाल्यो । मैले ज्यान गए पनि च्याम्पटी नदिने विचार गरेँ । ऊ मेरो हात मर्काउँदै थियो । अरू बाको नाउँ लिएर उसलाई कति तर्साउन खोजे, तर ऊ तर्सेको होइन । अनि मलाई झोंक पनि चल्यो ।

मैले उसको हातमा घाउ हुने गरी टोकिदिएँ । ‘ऐया !’ भन्दै उसले मेरो हात छोड्यो । तर, मलाई ऊदेखि माया लाग्यो । उसको झुकोझात्रो कपडा, ज्यामीको जस्तो हात, तर उसको अनुहार, उसको अनुहारको भावना र क्रोध, जुन हेर्दाहेर्दै मानूँ मुस्कुराउन थालेजस्तो देखीयो मानौं मलाई भन्न लागेझैँ सुनियो मेरै च्याम्पटी लिएर मलाई नै टोक्ने ! तर तिमीलाई मैले माफ दिएँ, किनकि तिमी एउटी ठिटी छौं, ठिटो हैन । अनि मैले उसको च्याम्पटी उसलाई दिँदै भने -“लौ तिम्रो च्याम्पटी ।” उसले च्याम्पटी लियो, तर लिनासाथै एकैचोटि घरको छानै नाघिने गरी फ्याँक्यो पनि । अनि बोल्दै नबोली ऊ सरासर आफ्नो बाटो लाग्यो ।

म टोलाएर उभिरहेँ । यसैबखत मदन बा घरबाट निस्क्यो । मलाई अव्यवस्थित देखी मदन बाले सोध्यो-“नानीलाई के भयो ? कोहीसँग बाझिरहेजस्तो छ नि, किन ?”

त्यस ठिटोले च्याम्पटी लिएर फ्याँकेको मलाई अवहेलना गरेको अवश्य हो भन्ने मनमा लागिरहेको थियो । त्यसैले मैले झर्केर बोलें- “त्यहीँ सुकुचा, बुलाचा ड्राइभरका छोराले एउटा सियोवाल च्याम्पटी मलाई देऊ भन्दा पनि दिएन ।”

मदन बा आफ्ना छिरबिरे जुङ्गासमेत चल्ने गरी मुस्कुरायो । “लौ, नानीलाई सियोवाल रातो, नीलो किसिम- किसिमको रंगीन च्याम्पटी जस्तो मन लाग्छ, मेरो घर आउनोस्, म दिई पठाउँछु । अहिल्यै जाऔँ हिँड्नोस् ।”

मदन बालाई मैले क्यै जवाफ दिइनँ । मदन बाको घरमा गएर किसिम-किसिमका च्याम्पटी ल्याएर साथीहरूको सामुन्ने फूर्ति गर्न मन लागेको त भनी साध्य छैन । तर बासँग नसोधी गयो भने असाध्यै रिसाउनुहुन्छ । फेरि जेसुकै भए पनि भान्छा गर्दा मलाई सामु नबसाई बाको चित्तै बुझ्दैनथ्यो । मदन बाले मेरो मनको भावना, मनभित्र चलिरहेको द्वन्द्वलाई मेरो चेहराबाट बुझ्यो होला र भन्यो- “नानी, बाले गाली गर्नुहुन्छ भनी डराउनुभो जस्तो छ । मदन बाकहाँ जाँदैमा बाले नानीलाई केही भन्नुहुन्न ।”

मदन बासित उसको घरमा गएँ । मलाई जान त मन लागेकै थियो । रङ्गविरङ्गका च्याम्पटीहरूको चाहनाले मलाई चुम्बकले झैँ तानिरहेको थियो । मदन बालाई पनि मलाई आफ्नो घरमा लैजान पाएकोमा खूब हर्ष भएजस्तो देखिन्थ्यो । मदन बाको घरमा अधबैंसे स्वास्नी एउटी सिवाय अरू कोही थिएन । दुइटा छोराहरू छन्, तर सानीआमा ल्याउनु-अगावै बाबुसित भिन्न भैसकेकाहरू । मदन बाकी स्वास्नीसित घरको सामुन्नेमा रहेका सानू चटक्क परेको बगैंचामा गएर कुरा गरिरहेँ । मदन बा मलाई च्याम्पटी ल्याउँछु भनी माथि गयो ।

मदन बाकी स्वास्नीले मसित कुरैकुरामा घरका कुराहरू सोध्न थालिन्- “बाआमा कचकच गर्छन् कि खूब मिलेका छन् ? बा मनपर्छ कि आमा ? बढ्ता माया कसले गर्छ- बाले कि आमाले ? तिमी र भाइमा बाले कसलाई बढ्ता मन पराउँछन् र आमाले कसलाई ?”

यसरी मदन बाकी स्वास्नीले कुरा गर्दागर्दै मसित मेरा घरका भित्री कुराहरू सबै थुतेर लिइन् । मैले पनि सत्य कुरा सब भनिदिएँ। मलाई थाहा पनि त थिएन कुन कुरा बताउनु हुन्छ र कुन बताउनु हुँदैन ! मदन बाले रङ्गविरङ्गका दसवटा जति च्याम्पटीहरू ल्याएर दियो । च्याम्पटी लिनासाथै उनीहरूले बस्नोस् भने तापनि म बसिन र फर्के । मदनवाले मलाई हेयो, मेरो मुटुमा के कसो हुने गरिकन, के- के असजिलो हुने गरिकन….।

साथीहरूलाई मैले सगर्व च्याम्पटीहरू देखाएँ । अवश्य पनि सबैलाई लोभ लाग्यो होला । मेरो च्याम्पटीमाथि कसैले लोभले आँखा गाडेको छ भन्ने थाहा हुनासाथ मलाई झन् रमाइलो लाग्दथ्यो ।

माथि भान्छामा गएर भात पकाउन लागेकी आमालाई मदनबाले दिएको च्याम्पटी भन्दै दङ्ग भएर देखाउन थालेँ । आमा त एकदम रिसाउनुभयो । भातको कसौंडी उठाउन एकातिर छोडेर उनीले च्याम्पटी जम्मै फुत्त तल रछ्यानमा फ्याँकिदिनुभयो । मेरो साह्रै चित्त दुख्यो । आँखा पनि भरिन थाल्यो ।

आमाले रिसाएको आँखाले हेर्दै भन्नुभयो- “अब फेरि कहिल्यै मदनवाको घरमा गएको थाहा पाएँ भने तिम्रो खुट्टा भाँचिदिन्छु । बाबु चाहिँ लाई मात्र हैन कि छोरीलाई समेत पनि फँसाउन कोशिश गर्दा रहेछन् ।”

“ए ! मलाई थाहा के थियो र ?”

म रुँदै बाकहाँ पुगेँ ।

अवश्य पनि बाको स्वभावमा अगाडिभन्दा धेरै परिवर्तन आइसकेको छ । घरप्रति, घरका मानिस परिवारप्रति । यो राम्ररी नै महसूस गरेँ- कि अगाडिजस्तै मेरो आँखामा आँसु देख्नासाथ वाको आफ्नो आँखामा रिसको ज्वाला वल्न थाल्यो । बाले सोध्नुभयो- “तिमीलाई कसले के भन्यो ? साथीहरूले पिटे कि आमाले गाली गरी ?”

बालाई मैले केही जवाफ दिन सकिनँ । म झन् हिकहिकाउँदै रुन थालेँ । अरू कसैले केही गरेको भए तम चुक्ली लाउन पछि पर्ने नै होइनँ । आमाले गाली गरी भने यसरी नै केही जवाफ नदिई रोइ मात्र रहने मेरो स्वभाव बुझेकोले वाले मलाई आमाकहाँ लिएर जानुभयो ।

मलाई देख्नासाथ आमाले रीसले झम्टन थालिन्- “महारानी, वाबुकहाँ चुक्ली गर्न पुगिसकिन्, हैन के ? तपाईंले बिगार्नु भएको हो, केटा-केटीलाई बढ्ता माया गरेर !-”

-“किन, के भयो ?” बाले अलिकति अक्मकाएर सोध्नुभयो ।

-“महारानी कोसित सोधेर मदन बाको घरमा गएकी ?”

“मदनकहाँ गएर के भयो त ? मेरो साथीको घरमा मेरो छोरीले जानु हुँदैन र ? “बाको यस जवाफले आमाको क्रोधलाई झन् बढाइदियो । आमाले भन्नुभयो- “किन केही थाहा नपाउनेलाई जस्तै कुरा गर्नुहुन्छ तपाईं ? बाबुलाई मात्र जालमा फँसाएर पुगेन, छोरीलाई पनि फँसाउन लागेको बुझ्नुभो तपाईंले ?”

-“अहँ, मैले बुझिनँ” बाले उसरी नै जवाफ दिनुभयो ।

आमाले फेरि केही भन्न नपाउँदै बाले भन्नुभयो- “काम न काजको बाह्र सत्ताईस कुरा किन ? भात पाक्यो ? जाऊ पस्किऊ !”

आमाले सुकुल ओछ्याएर मलाई र बालाई भात पस्किइदिनुभो । त्यसै वखत भान्छाबाहिर बुइँगलमा सुताइराखेको भाइ रोएको आवाज सुनियो । म गएर हेर्न पुगेँ । तर भाइ एकपल्ट कोल्टे परेर फेरि निदाइसकेको रहेछ ।

आमाले भात थप्नुभो । बा र म भात खाँदै थियौं । आमाले भन्नुभयो- “हेर्नोस्, नपढ्दैमा ममात्र त्यस्ती मूर्ख त होइन रे । खालि चुङ्गीमा बसेकी इनारको भ्यागुतो जस्ती आइमाईलाई केही थाहा छैन भनी नठान्नुहोला । मलाई एक-एक कुरा थाहा छ । मदन यहाँ किन आउने गर्छ, ऊ किन तपाईंको साथी बनिरह्यो, के कसैलाई थाहा छैन भनी ठान्नुभयो होला ? यो तपाईंको भूल हो । कसलाई थाहा छैन, उसको बन्धक परेको घर तपाईंले आफैले रुपियाँ दिनुभई फर्काई दिनुभएको थियो, कसलाई थाहा छैन उसकी भाञ्जीको रूपको जालमा फँसेर तपाईंले आज खोलाको पानीजस्तै रुपियाँ बगाइरहनु भएको छ । कसलाई थाहा छैन उही मदनकी स्वास्नीले सबभन्दा पहिले तपाईंलाई आफ्नी तरूनी भाञ्जी जुटाइदिएकी थिई । त्यो आइमाई बाहिरबाट हेर्दा कति असलजस्ती देखिन्छे, कुरा गर्दा कति मीठो बोल्छे, तर भित्रभित्रै गला सेर्ने पो रहिछ । यस्ती भएर न हो, छोराहरूले पनि वास्ता नगरेका ।”

आमाले यस्तो कुरा, त्यो पनि मेरो सामुन्नेमा सुनाउनुहुँदा त बा रिसाउनु हुन्छ कि भन्ने ठानेर म तर्सदै बाको मुख हेर्न थालें । तर बा रिसाउनुभएन अनुहार अलि कस्तो-कस्तो गरी बलले मुसुमुसु हाँस्दै चूप लागी भात खाइरहनुभयो । आफ्नो प्रहारलाई यसप्रकार विफल बनाउने प्रयत्न गरेको देखेर आमालाई के गरूँ, कसो गरुँ भएछ र अलिक रिसाएर भन्न थाल्नुभयो- “हैन भने हैन भन्नोस् । के हाँसीमात्र रहनुभएको ?”

बाले केही जवाफ दिनुभएन । आमा पनि सायद दिक्क हुनुभयो होला । त्यसपछि आमाले केही भन्नुभएन । मलाई पनि यो कुराको प्रतिक्रिया हेर्ने मात्र इच्छा भयो । भान्छा गरिसक्नुभएपछि उठ्न लाग्दा बाले एकचोटि मलाई नियालेर हेर्नुभयो । चुठ्न-निमित्त करुवा लिँदै मलाई भन्नुभयो- “तिम्रो आमाले भनेको कुनै पनि कुरो झुठो होइन, सबै सत्य हो ।” म टोह्लाएर हेरिरहें । बा सरासर तल ओर्लनुभयो । भाइ रोयो, आमाले उसलाई दूध पियाउनु भयो । मलाई आफ्नो अस्तित्व एक्लो भएजस्तो हुन थाल्यो ।

भोलिपल्टै लगेर बाले मलाई एउटा स्कूलमा भर्ना गरिदिनुभयो । अगाडि पनि पाँच वर्षको उमेरमा एकचोटि स्कूलमा भर्ना भइसकेकी थिएँ । पछि छ महिना जति बितेपछि घरैमा मास्टर राखी पढाउने भनी मलाई स्कुल पठाइएन । तर आमाले कतिपटक भन्दा पनि मास्टर राखिदिनुभएन । स्कूल पनि पठाएको हैन । मेरो पढ्ने विषयमा वाले केही पनि वास्ता गर्नुभएन । मलाई पनि स्कूलमा गएर पढ्न मन लागेको थिएन । दिन- दिनभर स्कुलमा बस्नुपर्थ्यो, तर आफूलाई भने बानी नै बसेको होइन, नियास्रो लाग्दथ्यो । फेरि सानो क्लास, सबै बच्चाहरू मभन्दा पनि कम उमेरका भएकाले पनि पढ्नै जान मन लागेन ।

तैपनि पढ्न गई नै रहें । एकदिन स्कूल गइनँ कि बा रिसाउनुहुन्थ्यो । बाको स्वभावमा पनि केही परिवर्तन आउन थाल्यो । बेलुका ठीक टाइममा घर पस्न लाग्नुभयो । आमालाई पनि खूब माया र ममताको आँखाले हेर्न लाग्नुभयो जस्तो लाग्छ, आमाको मुख पनि उज्यालो छ ।

केही दिनपछि बाको पुरानो बानी फेरि फर्कन थाल्यो । एकदिन बेलुका घर आउनुहुँदा अबेर त भएको थिएन, तर पनि रक्सीको बेहोसीपनालाई मुस्किलले होशमा ल्याउँदै आउनुभएको थियो । यसको भोलिपल्टदेखि आउन छोडिसकेको मदन बा फेरि देखापर्न थाल्यो । अनि त अगाडि कै चाला राम्रैसँग शुरू भयो । बाआमाको कचकच, बाको रिसाएर भातै नखाईकन निस्कनु-अबेर गरी रात बित्न लागिसेकपछि रक्सीले चूर हुँदै आउनु अनि स्कूल जान मन नलागिरहेकी मलाई पनि स्वतन्त्रता मिल्यो । मैले स्कुल जान पनि छोडिदिएँ । बालाई केही वास्ता भएको होइन । आमालाई मेरो वास्ता गर्न आफ्नै मनको कुराले फुर्सद छैन । अब मलाई बाहिर गएर खेल्न मन लागेन भनूँ वा मेरो तरुन हुन उकुसमुकुस भएको मनले पठाएन भनूँ – म एक्लै घरमा बसेर पुतली खेल्न थालेँ । विशेषतः आफू एक्लै कहिले दुलाहापट्टि लागेर र कहिले दुलहीपट्टि लागेर पुतलीको बिहे गरी खेलिरहन्थेँ ।

क्रमशः