कोठाको नीरवताले मेरो मनको वेदनालाई झन् बढाउने मात्र कोशिश गर्न थाल्यो, वातावरणले नै थुक्न थालेजस्तो भयो । माथि आफ्नो कोठामा भाइ पनि अड्डा जान तयारी गरिरहेझैं लाग्यो । ऊभन्दा अगाडि नै म आफू बाहिर निस्कन्छु भनी सोचें ।
असनमा एउटी साथी थिई, आमाकी पुरानी साथी, जीवनका सुख-दुःख राम्ररी बुझ्ने साथी । तिनोटा केटाकेटीकी आमा । एकजनाले त यसपाली एक पासको जाँच पनि दिने हो क्यार !
म पछ्यौरा ओढी निस्कनै लागेकी थिएँ, तिमीलासित भेट भयो । म कोठाको ढोका लाउँदै थिएँ, उनी सुटुक्क मसित बोल्दै नबोली तल ओर्लिन् । तर आफ्नो मनभित्र विचारको बाढी आउन लागेको वखत मलाई यस कुराको वास्तै पनि भएन । म सरासर आफ्नी साथीको घरतिर गएँ। आजभोलि हाम्रो आवत-जावत अगाडि उस्तो थिएन । थाहा छैन, कारण के हो ? उनले मसित नजिक हुन नचाहेकोले हो वा म आफैं टाढा-पन्छेर हो, थाहा छैन तर किन-किन हामीहरूको सम्बन्धमा अगाडिको घनिष्ठता घट्दै गएको दुवैले नबुझेको पनि हैन । तर मलाई पूर्ण विश्वास छ, उनी एउटीले मेरो अतीत जीवनको ज्ञान भएर पनि मलाई आजसम्म हेलाँको दृष्टिले हेरेकी छैन ।
सालिकलाई नाघेर न्यायालयको सामुन्ने पुग्दा घण्टाघर “टाङ्ग टिङ्” करायो । साढे दश बजेको रहेछ । मैले अकस्मात् आफ्नो विगत जीवनका केही कुराहरू सम्झें । माया र म सधैँ असन घरमा जानुपर्यो भने सोझै कहिल्यै जाँदैनथ्यौँ, कलेज भएर जमलबाट घुमेर जान्थ्यौँ ।
कलेजको सामुन्ने उसबखत एउटा पसल थियो, जुन पसल आज पनि नभएको हैन, तर उसको रूप बदलिसकेको छ । यस पसलको चारैतिर कलेजका विद्यार्थी युवकहरू गुचमुच्च भई चुरोट तान्दै कुरा गरिरहन्थे, होहल्ला गरिरहन्थे । हामीलाई देख्नासाथ यी हल्ला गरिरहनेहरूको ध्यान हामीतर्फ यन्त्रवत् आकर्षित हुन्थ्यो । विशेष गरी मलाई त तिनीहरूले पाए त निलीहालुँलाजस्तो हेर्थे । म एकचोटि मुसुक्क हाँसे भने यिनीहरूको बीचमा कसलाई हेरेर हाँसी भनी प्रतिस्पर्धा पनि हुँदो हो । एक-दुईजना त हाम्रो पिछा पनि गर्थे । हामीहरू पनि फर्की-फर्की हाँस्थ्यौं र उनीहरूको साहसलाई बढाएर पौरूषताको आह्वान गथ्यौँ । तर, यिनीहरूमध्ये कोही पनि दर्बार स्कुल नाघेर आउन सक्तैनथे ।
बाटो उही, उही कलेज, विद्यार्थी युवकहरू पनि । त्यसरी नै बसिरहेका तर, यिनीहरूले मलाई आज हेरेनन्, पुलुक्क पनि हेरेनन् । मलाई चोट लाग्यो । मेरो हृदयलाई । मेरो अतीतको सम्झनाले निर्दयतापूवर्क कुल्चिदियो । त्यसै वखत कलेजमा पढ्न गैरहेका लडकीहरूको एक डफ्फाले मेरो मनलाई, मेरो आँखालाई आकर्षित गर्यो । एकसेएक राम्रो, सिंगारपटार गरेका ।
आफ्नो कालो अनुहारमा क्रीम, पाउडर दली सिंगारेर आएकी एउटी लडकीले अलिक पुड्की भएकी हुँदा, कुर्कुच्चा लामो भएकी जुत्ता लगाएकी लडकीलाई अंग्रेजी भाषामा केही भनी । यत्तिकैमा चिम्से आँखा हुँदा चश्मा लाएकी बबहेयरवाली लडकीले आफ्नो हात अभिनेत्रीको ढङ्गमा चलाएर केही भनी र उनीहरूको ध्यान एक विशेष दिशातर्फ आकर्षित गराई । तिनैजनाले कलेजतिर हेरेकाले मेरो आँखा पनि त्यतै फर्क्यो, एउटा राम्रो भर्खर-भर्खर जवानीमा पाइला टेक्ने, आइमाईको जस्तो मुख भएको आफ्नो आलिशान ढङ्गमा साइकल चढी आइरहेको रहेछ ।
ऊ नजिक पुगेपछि तिनैजना लडकीहरू सतर्क भए तथा उसलाई सबैले नमस्कार गरे । तिनीहरूमध्ये अलिक चटपटे स्वभावकी लड्कीले च्वाट्ट भनी पनि होली- “मलाई त उसले पढाएको पनि रमाइलो लाग्छ ।”
अर्की लडकीले भनी, “म त उसले पढाएको केही बुझ्दा पनि बुभदिनँ । उसको अनुहार मात्र हेरिरहूँजस्तो लाग्छ, अनि पढाएको एक शब्द पनि कानमा पस्तैन ।”
तिनीहरूले मलाई देखेछन् । सबै एकैचोटि हर्र हाँसे । मलाई गिज्याएझैं लाग्यो । मलाई झोंक पनि चल्यो । अनि आफूले आफैंलाई भनें जतिसुकै तिमीहरू क्रीम दल, पाउडर दल, कपाल छाँट, अंग्रेजी भाषामा बोल, तर सौन्दर्यको हैसियतमा तिमीहरू मेरोसामु केही पनि छैनौ ।
यसरी आत्मसन्तोष गरी म सरासर भोटाहिटीतिर लागें ! रत्न पुस्तक भण्डारमा विद्यार्थीहरू पुस्तक किन्न लागेका रहेछन् । राशनबाट चामल दिंदाखेरि जस्तै हूल थियो । मायाको छोरा पनि त्यहीँ आइराखेको छ कि भनी हेरें । छोरो त हैन, तर उनको भतिजा पुस्तक किन्न आइराखेको रहेछ । उसले मलाई देख्यो । देख्नासाथ पसलबाट ओर्लेर भन्यो- काकी कहाँ जान आउनुभएको होला, हैन ? काकी मधेस जानुभएको १५ दिन जति भयो ।”
मेरो मन खिन्न भयो । मैले आफ्नो मनोभावनालाई दबाउँदै सोधें- “किन गएकी ? काकीको भाइको बिहे थियो ।”
उसलाई उसको साथीले डाक्यो । साथीसँगै पनि । म किंकर्तव्यविमूढ भई एकछिन त्यसै उभिरहें । अब कहाँ जाने ! उही घरमा ! अहँ, जान्नँ । त्यहाँ त जाँदैजान्नँ । त्यसो भए जाने कहाँ, केही सोच्दै नसोची म त्यसै असनतिर लागें । असन आइपुग्यो । चौबाटोमा पुगेपछि कुन बाटो लाग्नेजस्तो लाग्यो । चारढुङ्गे भई सरासर स्वयंभू डाँडाको परिक्रमा गर्न थालें । घाममा शुद्ध दिउँसो स्वयम्भू डाँडाको परिक्रमा गर्न थालेपछि मात्र बल्ल मेरो हृदयमा शान्ति भयो ।
थकित भएपछि म घरतिर लागें । बुहारी धन्दा-सन्दा सकी सिउन बसेकी रहिछ । कोठाभित्र पसेपछि फेरि बिर्सिसकेको कुरा सम्झाउनेजस्तो हुन गयो । मलाई आफैदेखी रिस उठ्यो । के म आफैं यी सब कुराको कारण त हैन ? भाइले केही भनेको छैन मलाई । जोई-पोइको बीच कुरा चल्यो । यस्तो कुरा चली पनि हाल्छ । अलिअलि झगडा नभएको घर कसको मात्र होला ! तर झगडालाई निभाउने र साकार बनाउने त घरका मानिसकै हातको कुरा हो । केही काम नगरी, भाइबुहारीसित बोलचालै बन्द गरी बसें भने नभएको झगडा पनि बढेर आउँछ भन्ने विचार गरी बत्ती कान राखेको कपासको ढकी लिई वुहारीको कोठामा पसें ।
बुहारीलाई मेरो यस व्यवहारप्रति अवश्य पनि आश्चर्य भयो होला ! म बस्नासाथै सोधिन्- “दिदीज्यू ! कहीँ जानुभएको हो क्यारे ! सानुबाबुलाई जरो आएजस्तो छ !”
अनि मेरो आँखा सानू ओछ्यानमा सुताइराखेको भदातिर गयो । मेरो मनमा एकैचोटि भीषण अशान्ति मच्चिन थाल्यो । म हत्त न पत्त उठेर बच्चातिर पुगेँ । बुहारी भन्दै थिई- “भात खाइसकेपछि, कौसीमा खेल्न लागेको थियो, अकस्मात् चिच्याएर रोयो । झट्पट म कौसी पुग्दा त मुख कालो-नीलो गरी रोइरहेको । रुँदारुँदै खोक्न थाल्यो । घ्वार्रघ्वार्र दुईचोटि वान्ता पनि गर्यो । त्यसपछि अझ निदाएझैं छ । बच्चाको कपाल मुसारें । आगोजस्तै पोल्दो रहेछ । मलाई डर पनि लाग्न थाल्यो ! मुटुको धड्कन बढ्न थाल्यो । कलह भएको घरमा कहिल्यै भलो हुँदैन भन्ने कुरा याद आयो । के भएछ ! के रोग लागेछ ! मलाई त भाइ चाँडो आओस् भन्ने लाग्न थाल्यो । बुहारीलाई भने केही विशेष चिन्ता भएजस्तो लागेन ।
तर मेरो चिन्ताको कारण हो, मेरो मनको शङ्का-बच्चा निदाएको हैन कि जरोले लठ्ठ भई बेहोस भएको छ । भाइ आइपुग्यो सायद घर खोजेर आएको होला । तर बच्चा बिरामी भएकोले घर पसेपछि कलह शान्त भयो । फेरि रमा अगाडिकै वातावरण आयो । मेरो मन प्रसन्न भयो । तर यस शान्तिको पछाडि एक हुरीको सृजना हुँदै छ भन्ने कुरा बच्चाको जरो घट्दै गएपछि स्पष्ट हुन आयो ।
जोईपोइको बीच फेरि घर छाड्ने कुरा चल्न थाल्यो । मेरो कसैलाई वास्ता रहेन । मैले बोल्यो कि सबैले सोझो जवाफसम्म पनि दिन छाडे । एकदिन त बुहारीसित नराम्रै भनाभन पर्यो । मैले पनि भनिदिएँ – “मेरो घरमा बसेर मलाई नै घुर्की देखाउने ! गुण नचिन्ने कृतघ्नहरू !”
यस दिनदेखि अड्डा जान लाग्दा सधैं सोधेर जाने भाइले बोल्दै नबोली जान थाल्यो । त्यसरी नै तिमीलाले पनि स्कूल जानु अगाडि भेट गर्न पनि आउन छोडी । मसँग नसोधी गएको दिन मनमै शान्ति हुन्न, केही बिर्से, केही भुलेझैं हुन्छ भन्ने तिमीलाले पनि मप्रति यस्तो उदासिनतापूर्ण व्यवहार दर्शाएकीले मलाई साह्रै चोट लाग्यो, मर्ममा विझ्यो । तर मैले चित्त दुखाउने अधिकारै के ! म त को को… ? अब एक दुईदिन न बस्छन् यिनीहरू, यो घरमा । अनि अर्कै ठाउँमा, अर्कै घरमा बस्न जान्छन् । अनि आजको मेरो भाइ, भदै भोलि त को… को… भएर जान्छन् ।
यस्तै बिचार गरिरहेको बेला बुहारीले भान्छा ठीक भो भन्न आइन् । मैले केही बोलिनँ र उनीसितै भान्छामा गएँ । मैले बुहारीलाई सोझै हेर्दा पनि हेरिनँ । तर मलाई लाग्यो उनले मलाई नियालेर हेरिरहिन्, च्यातेको आँखाले । तर उनले पनि केही भनिनन् । म केही भनूँला कि भन्ने अवश्य पनि उनलाई परेको होला । जोसुकै होस्, मलाई मेरो मुखको सामुन्ने केही भन्ने साहस उनीहरूले गर्न सक्तैनन् भन्ने मलाई राम्ररी थाहा छ । अनि मलाई आफ्नी बुहारीको दोष केही छैन । म पनि उनको ठाउँमा भएकी भए अवश्य पनि मैले उस्तै काज गर्नेथिएँ होला, जुन आज बुहारीले गरिरहेकी छन् । यसप्रकार बुहारीप्रति मेरो मनमा असल भावना आइरहेको थियो ।
यसै बखत तल कोही भर्याङ उक्लेको आवाज सुनियो । भाइसाहेब रहेछ । बुहारी तल ओर्लिन् । फाइल एउटा घरमा छुटेकोले लिन आएको भनेको चुठ्न लाग्दाखेरि सुनें । म करूवा लिई चुठ्न निम्ति कौसीतिर जान भान्छाबाट निस्कन लाग्दा तल कोठा थुनेको आवाज र बुहारीले भाइलाई “हुन्छ” घर आजै हेरेर आउनुहोस्, मलाई त यहाँ यस्तीसँग एक दिन पनि बस्न मन लागेन भनेको कुरा पनि मेरो कानमा पर्यो । बुहारीदेखि मलाई एकदम झोंक चल्यो ।
तर… तर, झगडा गर्नु नै किन ? जति चाँडो यिनीहरू जान्छन्, उति नै मलाई फाइदा छ । म सरासर कौसीतिर लागें । चुठ्न लाग्दा मेरो आँखा कौसीको बायाँपट्टि र भान्छा घरको दाहिनेपट्टिको दाउरा, रातो माटो, भूस आदि राख्ने कुनामा पयो । अनि फेरि मेरो आँखा सोंमा (गोल्फ) घ्याम्पा, मोटोका भाँडाहरूमा पर्यो । योवन सकिएपछि उपेक्षित भएका कुलटाहरू फुकेर बसिरहेझैँ मलाई लाग्यो ।
हेर्दाहेर्दै प्रत्येक भाँडाले मूर्तिमान् भएर मलाई गिज्याउन थालेजस्तो भान हुन गयो । केही दिन अगाडि भात खान लागेको बिरालोलाई धपाउँदा तर्सी उफ्री भाग्दा फुटेको घ्याम्पाले त झन् मुख बाएर भयानक र बीभत्स रूपबाट अनुहार विगारेर मलाई गिज्याइरहे जस्तो लाग्यो ।
मलाई लाग्यो -यी वस्तुहरू मेरो अतीतका इतिहास हुन्, मेरो यौवनकालको बीभत्सताका प्रमाण हुन् अनि यी नै ती वस्तुहरू हुन् जसको कारण मलाई सारा मानव समाज, नाता कुटुम्ब, आफ्नै हाड-छालाका भाइ भदैहरू सबै-सबैले अवहेलनाको दृष्टिले आज हेरिरहेछन् । घृणा गर्दै मदेखि परपर भाग्दै छन्, भाग्न खोजिरहेछन् । मलाई प्रत्येक वस्तुदेखि रीस उठ्न थाल्यो । म रन्थनाउँदै जुरुक्क उठें । बुहारी टोह्लाएर मलाई हेरिरहेकी रहिछ ।
यो देखी मेरो क्रोध झन् बढ्यो । थाम्नै सकिनँ र सोंमा घ्याम्पाहरू एक-एक गरी कौसीमा पछार्न थालें । बुहारीले केही बोलिनन्, मैले बुझें उनी एक भीषण द्वन्द्व र धर्मसंकटमा परिरहिछन् । शायद उनको मनमा यो पनि पर्यो होला कि झोंक सोमा घ्याम्पासित हैन कि उनीहरूसित थियो ! त्यसैले मेरो रीसको बीच केही बोल्यो कि मैले बाँकी राख्तिनँ भन्ने पर्यो । उनी सरासर ओर्लिन् ।
अनि मेरो पनि शक्ति क्षीण भएर आँखाले कौसीतिर हेऱ्यो । सोंमा घ्याम्पाहरूको छितिरएका टुक्राटाक्रीबाट मैले माया ममता र स्नेहको स्रोत बगिरहेको पाएँ । मेरो आँखाहरू भरिन थाले । मैले हत्तपत्त गएर ती टुक्राहरूलाई अंकमाल गरें । यता मेरो भावुक मनले कल्पनाको सहायता लिई आफ्नो अतित जीवनलाई टुक्राटुक्रा भएर पनि फेरि एउटै भएर जोडिइसकेको आफ्नो विगत जिन्दगीलाई अँगाल्यो !
क्रमशः…
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।