
गंकीको आफ्नो कथा
नेपाली भाषामा उपन्यास लेखनको सय वर्ष पूरा भइसकेको छ ।
नेपालीमा ‘वीर चरित्’ लेखिएको आधा शताब्दीपछि नेवारी (नेपाली भाषा) मा ‘मिसा’ उपन्यास लेखिन्छ, यो नै नेवारी भाषाको प्रथम उपन्यास हो- यसका स्रष्टा हुन्, धुस्वाँ सायमी ।
नेवारी भाषाका प्रथम उपन्यासकार धुस्वाँका प्रयोग र प्रसिद्धिले चर्चा पाएको प्रमुख ‘उपन्यास थियो- ‘गंकी’ । ‘गंकी’ नेवारी भाषामा प्रकाशन भएको वि.सं. २०१६ र नेपालीमा प्रकाशन भएको २०३६ सालमा- बीस वर्षको अन्तरालमा दुई भाषामा प्रकाशित भएको यस उपन्यासले छयालीस वर्षसम्म हलचल ल्याइरह्यो । त्यही हलचलको परिणाम हो, यसको पुनर्प्रकाशन । बहुचर्चित र बहुप्रतिक्षित मनोवैज्ञानिक उपन्यास ‘गंकी’लाई यस पालि माया गरेर ‘पैरवी बुक्स एण्ड स्टेशनरी’ ले प्रकाशन गरेको छ ।
प्रकाशनको यस घडीमा ‘गंकी’ का बारेमा केही चर्चा गर्न उपयुक्त होला । ‘गंकी’ मोनोलग फर्ममा (स्वागत शैलीमा आधारित) लेखिएको विचारप्रधान उपन्यास हो । अनुभूति र अतीतले यसमा विशेषाधिक प्रश्रय पाएको छ, उपन्यासकी नायिका यसकी कथावाचक भएकोले चरित्र-प्रधान पनि बनेको छ- यो उपन्यास ।
चरित्रका बारेमा भनिन्छ, त्यो आफैँ एउटा अभिव्यक्ति वा सम्प्रेषण हो । एरिस्टोटलले भनेका पनि छन्- “चरित्रले हामीलाई गुणहरू दिन्छ तर त्यो क्रियामा हामी के गर्दछौं- त्यो बेला हामी खुसी छौं वा त्यसको विपरीत ।’
एरिस्टोटल आफैँले भनेका छन्, फेरि; “सबै मानवीय खुसी र रहस्यले आफ्नै क्रिया रच्दछ ।”
‘ओडिसी’ र ‘यूलिसिस’ लेखिनुभन्दा अघिको कुरा हो यो, त्यसैले नयाँ लाग्दैन तर आजका परिस्थितिमा पनि उपन्यासलाई यही संयममा हेर्ने हो भने यसले न्याय गर्छ । उपन्यासको परिचय नै यसरी बनेको छ- इटाली भाषाको नोभेला (Novella) लाई शब्दान्तर गरेर नोवेल बनाइयो, जसको अर्थ हुन्छ- भनाइ, समाचारहरूको सङ्ग्रह (tale, piece of news)। पछि गएर वृहत् परिवेशमा लेखिने गद्य विधाको कथ्य शैलीलाई उपन्यास भनियो । ६०-७०,००० शब्दहरूदेखि २००,००० शब्दहरूसम्म लेखिने यस गद्य-विधा पछि गएर उपन्यासको नयाँ विधा बन्यो, जब यसले स्पेनी भाषाको नोबेला (Novela) र त्यसकै समतुल्यमा फ्रान्सिसी भाषाको नाभेल्ली (Nouvelle) को मिश्रित स्वरूप ग्रहण गयो, यो १६ औंदेखि १८ औं इस्वीका बीचको मूल्यवान् घटना हो ।
उन्नाइसौं शताब्दी छोडेर बीसौं शताब्दीमा उपन्यास विधामा भूगोलीय परिवर्तन अवर्णनीय भयो । यस समयमै चेक उपन्यासकारहरू फ्रान्ज काफ्का, यास्लोभा हासेक, कारेल चापेक मीलान कुन्देराको आगमन भयो । संस पोलिस उपन्यासकार इग्नासी स्टानीस्ल वित्केयवीज, र वितोल्ड ग्रोम्बोविक्ज्ड पनि चर्चामा आए, तदेउष कनविक्कीका कैयन् उपन्यास युरोपबाहिर पनि प्रशंसाभिमुख भए, जेस्ला मिलोस्ले त नोवेल पुरस्कार पनि पाए, जो सन् १९५५ मा इस्सा भ्यालीका कारण सर्वाधिक चर्चामा रहे ।
बीसौं शदीमै ग्रीक उपन्यासकार कजन्जाकिसका जोर्वा दी ग्रीक (१९४६), क्राइस्ट रि- क्यूसिफाइड (१९५४) द लास्ट टेम्पटेशन (१९५५) र द फ्रयाट्रिसाइड्स् (१९६७) शिखरारोहण भए । अन्य मुलुकका चर्चा पनि यतिबेला खूब भयो । तर हाम्रै परिप्रेक्ष्यमा पनि सन् १९५० पछि उपन्यासमा गतिला कामहरू खूब भए – धुस्वाँ, गोठाले, विजय मल्ल, इन्द्रबहादुर राई, वाङ्देल, इन्द्र सुन्दास, शिवकुमार राई व्याप्त थिए । नेपाली उपन्यासको प्रयोग त्यतिबेला भारतीय उपन्यासको नवीनताको निक्कै नजिक पुगिसकेको थियो, भारतवर्षमा मोहन राकेश, कमलेश्वर, निर्मल बर्मा, राजेन्द्र यादव, धर्मवीर भारती, भीष्म साहनी नयाँ-नयाँ धारलाई भित्रयाउँदै थिए भने नेपाल र भारतीय भूभागका नेपाली उपन्यासकारहरू पनि नौलो-नौलो प्रयोगमा अभ्यस्त थिए ।
वी.पी. कोइरालाको ‘तीन घुम्ती’, इन्द्र सुन्दासको ‘मङ्गली’, बाङदेलको ‘मुलुक बाहिर’, रूपनारायण सिंहको ‘भ्रमर’ ले आ-आफ्नो खम्बा गाडिसकेका थिए तर मनोविज्ञानको मूलभूमिमा नेपाली उपन्यासको कार्यान्विति दृष्यिकरूपमा भइसकेको भने थिएन । यही समय धुस्वाँ सायमीले यौन मनोवैज्ञानिक विषयमा कलम चलाए- ‘गंकी’ मार्फत् । नेवारी साहित्यमा यो प्रयोग पहिलो र पृथक भएजस्तै नेपाली साहित्यमा पनि यसले ठूलो करामत देखायो । वरिष्ठ समालोचक डा. तारानाथ शर्माले यस उपन्यासलाई ‘पाथ् फाइन्डर’ को रूपमा स्वीकारेका छन्, यो नै सत्य पनि हो ।
‘गंकी’ (नेवारी) कै हाराहारीमा गोठालेको ‘पल्लोघरको झ्याल’ र विजय मल्लको ‘अनुराधा’ ले पनि यस धारलाई प्रष्ट्यायो । यो त्यस अर्थमा समकालीन चेतना र विज्ञताको पहिचान थियो । ग्राम्य- रोमान्सेली परिवेशबाट उक्लिएर एक्कासि नगरीय जीवनको झलक र संदृष्टि दिन सफल यी तीनै उपन्यासका मूलपात्र काठमाण्डौली परिवेशका उपज मात्र थिएनन्, यिनका कथ्य संकल्पना, छलयोजना, बोधात्मक सौन्दर्य अनि कार्यव्यापार पनि नगरोन्मुखी थियो र संयोगले यी तीनै उपन्यासकार पनि काठमाण्डूकै उपज थिए । सो कारणले पनि लेखावटमा स्थानिकता र त्यसभन्दा बढी सांस्कृतिक विम्ब अनि रङ, वर्ण र घनत्व दिन यी तीनै सफल भएका छन् । सम्पूर्णतामा धुस्वाँको ‘गंकी’ मा अझै नेवारी जीवनका स्थानीय बोध अझै स्पष्ट र प्रख्य देखिन्छन् । पात्रहरूका नाममा पाइने टोनल कलरले उपन्यासको भाषिक परिवेशमाथि प्रशस्त न्याय गरेको छ- सुकुचा, रत्नमाया, मदनबा, काजी यसका नमुना हुन् ।
यस उपन्यासका मूल पात्र मध्यवित्तका मानन्धर समुदायका भएका हुनाले यिनको कार्यक्षेत्र काठमाण्डूको मध्यभाग भोछ्य देखि मरूहिटी र टाढामा ठहिंटीसम्म हुने हुनाले कथा वसन्तुपरको पेरीफेरिमा आलम्बित छ, यो नै लेखकीय इमानदारी वा पात्रमाथिको वैधानिक न्याय बन्न पुग्छ ।
जीवनको परिचय वा त्यसका माध्यमबाट व्यक्तिलाई चिनाउने तीन आधारहरू छन्, भन्छन् सीड फिल्ड । उनकै भनाइमा प्रोफेशनल, पर्सनल र प्राइभेट (व्यवसायिक, निजी र व्यक्तिगत) तवरमा चरित्रलाई उत्थापन गर्न सकिन्छ । यसै आधारमा हेर्दा धुस्वाँले आफ्ना पात्रहरूलाई पेशा प्रवृत्तिका आधारमा बढी प्रतिस्थापित एवम् परिभाषित गरेका छन् । चरित्रको बोली वा भनौं, कथोपकथन अनि त्यसलाई समायोजित गर्न र संयुक्त बनाउन अघि सारेका लोलीबोलीहरू पनि उदाहरण हुन्, च्याम्पटी, घ्वाइँकासा, घिन्तामणि, ज्यामीजस्तो हात, घ्याम्पा (सोमा) आदिआदि जनजीवन झल्काउने प्रतीकहरूलाई आज छयालीस वर्षपछि अधूनातन अनुभूति त हुन्छ नै तर त्यसभन्दा बढी कृतिले राखेको कीर्तिको पनि गुण मान्न सक्छौं ।
धुस्वाँ सायमीको यो उपन्यास एक व्यक्तीय वाचनमा आधारित छ, यो विशेषतः पश्चिमेली शैलीको पूर्वीय अवधारणा हो । कथा सुरू हुँदा यसले मञ्च स्थापना गरिसकेको हुन्छ । नायिका पर्दा खोल्नेबित्तिकै भन्छिन् “वास्तवमा म आइमाई राम्री नै रहिछु ।……” सकारात्मक भावलाई बोकेर अघिबढेको यो उपन्यासमा नायिकाले घटनाचेतना मुताविक आफ्नो भावदशालाई सच्याइरहन्छिन् र उनी भन्छिन्- “दुःख एक्लै आउँदैन ।….”
लेखकले बोल्ने भाषालाई त्यागेर जीवन र जगत्ले दिएका पाठ र मार्गचित्रका आधारमा पात्रहरू आफ्नो स्तर र शैली तय गर्छन्, धुस्वाँको खुवी पनि यही हो र मौलिकता पनि ।
“यस किसिमका उपन्यास छिमेकी मुलुकमा अन्यत्र कतै लेखिएको छ” भनेर स्रष्टालाई मैले सोधेको प्रश्नको उत्तर खाली गयो । र, म आज स्वयम् यसबारे उत्तर लेख्दै छु- “यस किसिमको उपन्यास धेरै वर्षपछि भारतीय साहित्यमा मराठी भाषामा जयन्त दलवीले लेखेको पाइन्छ । त्यस कृतिको नाम हो- ‘चक्र !’ र त्यो पनि यस्तै नारीप्रधान उपन्यास थियो। त्यसका पनि भाव, परिवेश र पेशागत पृष्ठभूमि यस्तै-यस्तै थिए ।
नवीनता र प्रवीणताका दृष्टिकोणले त्यति सशक्तरूपमा लेखिएको यो उपन्यास (गंकी) विश्वका अन्य भाषाहरूमा प्रशस्त अनुवाद भएका छन् तर नेपाली भाषामा यसको अपूर्व माग भइरहेको बेला प्रकाशन हुन सकिरहेको थिएन ।
विक्रमाब्द २०६० सालमा धुस्वाँ सायमीलाई नेपाली जनसमाजबाट सार्वजनिकरूपमा ‘उपन्यास-सम्राट’ घोषणा गरियो, वर्षभरि नै उनको चर्चा-परिचर्चा भइरह्यो । र, यही शुभलगनमा उनको कालजयी उपन्यास ‘गंकी’ को प्रकाशन भएको छ ।
यस पुस्तक प्रकाशनका निम्ति पुस्तक उपलब्ध गराइदिनु भएकोमा ‘गंकी-बसुन्धरा प्रतिष्ठान’ का अध्यक्ष डा. अरुण सायमीलगायत सम्पूर्ण सुधीजनमा अनेक-अनेक शुभकामना एवं धन्यवाद व्यक्त गर्दछु । यसै पृष्ठबाट धुस्वाँ सायमी अभिनन्दन समारोह समितिलाई सफल बनाउन सघाउने समस्त सहृदयी सदस्यजन एवम् शुभेच्छुकहरूमा हृदयको भित्रीतहदेखि अनन्त शुभकामना एवम् आभार व्यक्त गर्दछु । यस पुस्तक प्रकाशनको घडीमा वर्ण-सज्जा हेरेर सघाउने मित्र कवि भुपेन्द्र खड्कालाई हार्दिक धन्यवाद भन्न चाहन्छु । प्रकाशनको यस घडीमा पैरवी बुक्स एण्ड स्टेशनरी परिवार र अक्षर-सज्जाका निम्ति डिजिटल डिजाइनलाई पनि कृतज्ञताका शब्दहरू साँच्न चाहन्छु ।
यस कृतिका भ्रष्टा धुस्वाँ सायमीको सुख, सुस्वास्थ्य र समृद्धिको कामना गर्दछु ।
नेपाली साहित्यको, असङ्ख्य पाठकको सम्मान गर्दै यहाँहरूसमक्ष प्रस्तुत छ, सदास्मरणीय उपन्यास ‘गंकी’ र धुस्वाँ सायमी । सहयोग र शुभेच्छाका लागि ‘धुस्वाँ सायमी अभिनन्दन समारोह समिति- २०६१’ का तर्फबाट सवैमा धेरैधेरै धन्यवाद !
१५ अगस्ट २००१
प्रकाश सायमी सचिव
** ** ** **
प्रथम प्रवाह
वास्तवमा म आइमाई राम्री नै रहिछु । आज पनि मेरो सौन्दर्य, वसन्तकालीन नभए पनि शिशिरकालीन अवश्य भएको छैन । आफूमा रहेको समस्त यौवन-रस लिन आउने जति सबैलाई बाँडिसकेपछि उमेरले पनि बिस्तार-बिस्तार मेरो साथ छोड्दै गैरहेछ । तैपनि मेरो रूप भर्खर यौवनको सँघारमा उभिएकी कुनै-कुनै राम्री युवतीको भन्दा आज पनि केही कम छैन ।
हो, यौवनको चंचलता भने अa ममा छैन, तर प्रौढताको गाम्भीर्यले मेरो सौन्दर्यलाई झन् चम्काइदिएको छ । मेरो आँखामा आज पनि उही मादकता, उही आकर्षण र उही जीवन छ । अनि आफ्नो शक्तिलाई दोब्बर बनाउन आँखाको भित्री भागमा मात्र गम्भीर मुस्कान ल्याउने शक्ति पनि ।
हो, एकाध केश फुलिसक्यो । त्यसो त क्रिम, पाउडरले ढाक्ने यस जमानामा एक-दुई केश फुल्दैमा उखेल्नै नसकिने पनि कहाँ हो र ? तर, यसको जरूरतै पो के छ र ? एक-दुई केश फुल्दैमा हुन्छ नै के र ? मेरो लम्बिएको केशको अघिल्तिर घुँगुरिएको अलखको प्रशंसा गर्ने एवं ईर्ष्याले जल्नेहरूको संख्या अझ त्यत्तिकै छँदै छ क्यार ! अनि यसरी नै मेरो शरीरको अंग-प्रत्यंग अझै राम्रो सुलुक्क परेकै छ । यथार्थवादी साहित्यकारलाई त मेरो शरीरको गठन देख्नासाथ यौनोचित कामुक शरीर नभनी सुक्खै छैन । हो, अनुहारमा वैंस निखेर आइसकेको छ, तथा पहिलेको त्यो सुकोमलता अब छैन । तर पनि टाढाबाट हेर्दा पाउडर-बिनाको मेरो अनुहारबाट समेत वास्तविक उमेर बताउन अझ गाह्रै पर्ला ।
यस्तै तर्कना एक दिन नियास्रो लागेर चोटाको झ्यालमा त्यसै बसिरहेको बखत मेरो मानसपटलमा रंगमगिन थाल्यो । आफ्नो सौन्दर्यको बारेमा यस प्रकारको विचार आउँदा मेरो मन त्यसै पनि चंचल हुन थाल्यो । आफ्नो अनुहार एकचोटि ऐनामा गई हेर्ने तीव्र इच्छा पैदा भयो र म कोठातिर गएँ । भाइबुहारी आफ्नो कोठामा लुगा सिउन लागेकी रहिछन् । भदै स्कुल गएकी र भाइ पनि अड्डा गएको अझ फर्केको छैन । चोटाको झ्यालबाट उठेर आउँदा आउँदै मेरो मनमा केही चिसो पस्यो । आफ्नो कोठाभित्र पाइला टेक्नेबित्तिकै मलाई मेरो जीवनको एकाकीपनले एक्कासि अँगाल्न थाल्यो । अकस्मात्
मेरो मनमा यस्तो भावना उठ्यो-पहाडको चुचुरामा हाँगा र पातबिनाको एक ठुटो रूखसमान मेरो जीवन पनि एक्लो छ, म एकली छु ! हुनत, मेरो आफ्नो भाइ छ, भाइबुहारी छे, भदै छे । तर यिनीहरू सबै भएर पनि म एक्लो छु । आफ्नो भन्ने, मेरो कोही छैन भनेजस्तो लाग्न थाल्यो । अनि मेरो विचार ऐना हेर्नु र ऐनामा आफ्नो अनुहारको सौन्दर्य हेर्नुबाट बिस्तारै हटेर जीवनदर्शनतिर, जीवनरूपको दर्शनतिर बग्न थाल्यो !
साँच्चै, मेरो जिन्दगीको मेरो आफ्नो समाजमा के स्थान छ ? मेरो आफ्नो भन्ने छ नै को ? म मरेमा कसले मेरो दागबत्ती गर्छ ? भाइले ? तर म यस घरकी विवाहिता छोरी मात्र हुँ, बुहारी हैन ! त्यसो भए म बुहारी कुन घरकी ? मेरो गुठी कुन ठाउँको ? मेरा परिवार को हुन् ? प्रत्येक प्रश्नको जवाफ शून्य !
उत्तरविहीन प्रश्नले मानौँ भनिरहेछ, “तिमी यस जीवनमा एक्ली बनिसकेकी छौ ।” म एक्ली, मेरो जीवन एकाकी जीवन ! यस्तै-यस्तै नियास्रोलाग्दो विचार गर्दै आउँदा मलाई ‘हाई’ आउन थाल्यो । शरीर थकित र गलित हुन थाल्यो । बलपूर्वक सोझिँदा सामुन्ने रहेको ठूलो ऐनामा प्रतिविम्बित आफ्नो अनुहारलाई देखें र झस्केँ पनि !
मेरो क्लान्त फुङ्ग उडेको रूपदेखी आफैँलाई विश्वास लागेन कि यो अनुहार मेरो आफ्नै हो ! म साँचै नै बूढी भैसकेकी छु त ? आँखालाई खुम्च्याएर मैले आफ्नो छायाँलाई हेरें ? मलाई मेरै रूपले गिज्याएझैँ गरी हेरिरहेको हुँदा म आफै तखेँ । मेरा आँखा अनायासै टल्बलाउन थाले । टल्बलाएका आँखा देखेर त झन् मेरो छायाँले मलाई गिज्याउन थालेको, रन्थनाउने गरी गिज्याउन थालेको मैले सुनें, एक-एक शब्द स्पष्ट सुनें- “तिम्रो उमेर ढल्किसक्यो, तिम्रो जीवन सकिइसक्यो ।”
-कुन्नि किन हो, मलाई हाँस्न मन लाग्यो, खित्का छोडेर हाँस्न मन लाग्यो, हाँसे पनि । म हाँस्ता मेरो छायाँ पनि हाँस्यो, तब मलाई क्रूर अन्धकारले छाएको एकान्तस्थलमा कंकाल हाँसेझैँ लाग्यो, किच्कन्या हाँसेजस्तो भान पर्यो ! र आफ्नो छायाँदेखी आफै तर्सें । मैले आँखा चिम्लें ।
यसै बखत बाहिर सडकमा, “सबैले हेर्नुपर्ने, यो सालको सबभन्दा राम्रो सिनेमा आयो, हेर्न आउनुहोला” भन्दै सिने-विज्ञापन कराएको आवाज सुनियो । बल्ल मेरो मस्तिष्क यथास्थानमा पुग्यो । आफूप्रति, आफ्नू भावनाप्रति पुनः विश्वास जाग्यो । मनै हलुङ्गो भयो ।
ऐनाभित्रको मेरो छायाँले मुस्कुराउँदै भन्न थाल्यो- “तिमी बूढी भएकी छैनौ, यो त मायाजाल मात्र हो, भ्रम हो !”
“म बूढी भएकी छैन” भन्ने भावना आउँदाआउँदै मेरो अनुहार तेजिलो हुन थाल्यो, ममा स्फूर्ति बढ्न थाल्यो । मलाई एकदम गला खोलेर गाउन मन लाग्यो, नाच्न मन लाग्यो । धेरै वर्षपछि पहिलो पटक म गुन्गुनाउँदै नाच्न थालेँ, घुमीघुमी ऐनाभित्रको आफ्नो प्रतिविम्बको नृत्यमा ताल दिँदै मस्त हुँदै नाच्न थालेँ ।
यत्तिकैमा सामुन्ने घरको झ्यालमा बसेर एउटा युवकले मलाई हेरिरहेको देख्नासाथ म आफैँ लाजले भुतुक्क भएँ र देख्या नदेख्यै गरी सरासर पलङतिर गएँ । जाँदाजाँदै मैले ऐनामा आफ्नो अनुहारलाई नियालेर हेरें, किशोरावस्थामा आफ्नो प्रेमीसित लाज मानी-मानी कुरा गर्दाको झैँ मेरो अनुहार रातोपिरो भै राँकिएको रहेछ । उमेरले त्यो युवक मेरो छोरो भन्न सुहाउँछ । बच्चा छँदा नाङ्गै मेरो काखमा लडिबुडी खेलिसकेको, रत्नमाया दिदीको छोरा त हो नि ?
यसरी लाजले भुतुक्क भई अनुहार राँकिरहेकै बखत भऱ्याङबाट कोही उक्लेको आवाज सुनियो । स्कुलबाट फर्केकी भदै रहिछ । उसले मेरो मनको भाव बुझ्ली भनेर म हडबडाएर उठें र आफूलाई सम्हाल्न थालेँ । तर, दिनहुँ मेरो कोठाभित्र नपसी माथि नउक्लने भदै आज मेरो कोठामा पसिनन् र मतिर हेर्दै नहेरी माथि उक्ली । अनुहार पनि निन्याउरो थियो ।
त्यस दिन मेरो ध्यान उसको निन्याउरो मुखतिरभन्दा पनि उसको छाँटकाँटतिर आकर्षित थियो । अवश्य पनि अरू दिनमा भएको भए मलाई मेरी भदैको, प्राणभन्दा प्यारी भदैको, अनुहार निन्याउरो भएको देख्ता ठूलो चिन्ता हुने थियो होला । तर त्यस दिन त्यसो भएन । त्यस दिन उसको चेहरा देखेर त मलाई आफ्नो यौवनावस्था, भर्खर कोपिलाबाट फक्रिएर फुल्न लागेको यौवनावस्थाको सम्झना हुन थाल्यो ।
छरछिमेकीहरू सधैँ भन्थे- “तिम्रो भदैको र तिम्रो चेहरा कस्तो मिलेको, टाउकै काटेर जोडेजस्तो ।” यस कथनको सत्यतालाई मेरो मनले पनि स्वीकार नगरेको होइन, यस भनाइको पारखको निमित्त मैले धेरैपटक दुबैजना ऐनाको सामुन्ने उभिएर आफ्नो मनलाई सन्तुष्ट पनि गरिसकेकी छु ।
साँच्चै उसको अनुहारको त के कुरा, आँखाको भित्री भावनासमेत पनि मेरै जस्तो छ । उसको आँखा पनि मेरो आँखाजस्तै आफैं मुस्कुराउन सक्छ, उसको ओठ मेरै समान रिसाएको बखत नाच्न थाल्छ । उसको र आफ्नोबीच यस्तो सामञ्जस्य देखेर कहिलेकाहीँ मलाई डर पनि लाग्दथ्यो । यसकारण कि-आफू जस्तीसुकै हुँ, तर आफ्नी भदैको जीवन पनि मेरो जीवनजस्तै खल्लो र अलपत्र बनाउने इच्छा त के कल्पनासम्म पनि म गर्न सक्तिनँ ।
यसर्थ आफू र उसको बीच यस्तो सामञ्जस्य देखी भयभीत भएको मेरो मनले बलैले भन्यो- “(हैन, हामी दुईमा महान् अन्तर छ । कहाँ म, कहाँ ऊ । कहाँ म, राम्ररी फुल्न पनि नपाएकी, कोपिला छँदै उखेलिएकी फूल ! कहाँ ऊ, पूर्ण विकसित भएको सौरभ, सुगन्ध छर्कन तयार भैरहेको पुष्प । कहाँ म, फुटेको सुराहीको मदिरा, कहाँ ऊ मादकतापूर्ण भै कसैलाई मदमस्त बनाउन भरिएको पूर्ण कलशको मदिरा । कहाँ म, जीवनको हलचल देखाउँदै मृत्युतिर लैजान खोज्ने, कहाँ ऊ मृत्युको नीरवता पन्छाई जीवनतिर ल्याउन खोज्ने । म र मेरो भदैको बीच महान् अन्तर छ, …….. महान् … अन्तर छ ।) ”
यसपछि मात्रै भदैलाई सञ्चो भएन कि भन्ने विचार मेरो मनमा आउन थाल्यो ।
माथि गएँ-आमा र छोरी केही कुरा गर्न लागेका रहेछन् । मलाई देख्नासाथ उनीहरू यन्त्रवत् रोकिए । मैले भदैको कपाल मुसार्न थालेँ, तातो त रहेनछ ।
सोधें “के टाउको दुख्यो ?” उसले केही जवाफ दिइन । मतिर पुलुक्क हेरी । मैले देखें- उसको प्रत्येक हेराइमा केही भेद छ, अन्तर छ । कहिले डर त कहिले आकुलता,
कहिले गम्भीरता त कहिले उदासीनता । भन्न त उसले मुखले केही भनेकी होइन, तर पनि उसको आँखाभित्र देखापरेको अर्थ मैले नबुझेको पनि होइन । तर पनि उसको आँखाको मौन भाषालाई मैले बुझ्न सकिनँ र उसले आँखाको मौन भाषाबाट आफ्नो मनभित्रको सबै कुरा एकछिन पनि नअडिई धमाधम भन्दै गइरहिछ ।
बुहारी-उसकी आमाले पनि मलाई एकटक गरी हेरिरही, तर केही भनेकी होइन । एकछिनपछि बुहारी माथि उक्लिइन् । बीचमा ६ वटा बच्चाहरू लगातार मरिसकेपछि जन्मेको उनको सातौँ छोरो पलङ निरको बिछ्याउनामा सुतिरहेको छ ।
मैले भदैसित सोधें, “तिमीलाई भयो के ? मास्टरले गाली गर्यो ? साथीहरूले केही गरे कि ?”
तर अहँ, जवाफ आएन, आउँदै आएन । म एकछिन त दिक्क पनि भएँ, झर्किन पनि मन लाग्यो। अनि एक्कासि उनले ‘फुपू’ भन्दै मलाई अंगालेर सुँक्क सुँक्क गर्दागर्दै डाँको छाडेर रुन थालिन् । मलाई के गरुँ र कसो गरुँ भयो । आखिर कारण के हो ? म अकमकिएँ, उनको यो भावुकता देखेर ।
रुँदै मलाई अँगालिरहेकी भदैलाई हेरें- उनको अङ्गप्रत्यङ्गबाट जवानी टप्किरहेछ । उनको निन्याउरो, तर यौवनले प्रज्वलित झुकेको अनुहारलाई उठाउँदै मैले भनें, “यसरी रुनु किन पर्यो हेर, बच्चाझैँ रोएको ? कसैले देख्यो भने के भन्ला ? छि : त्यत्री ठूली भएर पनि केटाकेटीजस्तै रुन्छे । ल चुप लाग, अझ ।”
तिमीलाको रुवाइ घट्तै त गयो, तर पनि उनले मेरो प्रश्नको उत्तर भने दिइनन् । बरु एक्कासि मलाई अकमक्क हुने गरी सुँकसुकाउँदै उनले सोधिन्- “फुपूसित मैले कहिल्यै छुट्टिनु त परोइन हो कि ?”
तिमीलाको प्रश्नले मेरो मनमा अर्को प्रश्न उब्जाइदियो । सायद अब तरुनी भई, बिहे हुने बेला भयो, पराइघर जानुपर्ने भयो भनी दिवक मानेकी होलिन् । अचेलका लडकीहरू पराइघरमा गई पोइको सेवा गर्न कहाँ रुचाउँछन् । मैले कुनै जवाफ नदिएकीले तिमीलाको अनुहारको मलिनता अझ गाढा हुन थाल्यो ।
मैले विवश भै भनें – “किन छुट्टिनुपर्ला र ? म र तिमी जस्ती फुपू-भदैलाई छुट्याउन सक्ने को छ ?”
मेरो यस उत्तरको प्रतिक्रियास्वरूप उसको प्रसन्नताको लहर त देखिन थाल्यो, तर प्रसन्ताको साथै मेरो मनमा चिन्ताको सृजना हुन गयो । म सरासर बोल्दै नबोली आफ्नो कोठामा आएँ ।
पछि ममाथि जाँदा देखें-आमा छोरी कुरा गरिरहेका । अवश्य पनि तिमीलाले आफ्नो विहेको कुरा गर्न लागेकी होइन होला । तर पनि उनीहरूको कुरा उनको अनुहारको मलिनताको कारण अवश्य पनि उनको बिहेको कुरा होइन ।
अब मेरो अन्तःस्करणमा मानसिक द्वन्द्वको सृजना राम्रैसँग हुन गयो । आखिर कारण पर्न के गयो, मसित छुट्टिनुपर्ने शंका तिमीलाको मनमा उठ्यो ? स्कूलमा उनका साथीहरूले त केही भनेनन् ? आखिर स्वास्नीमान्छे न हुन्, सधैँ अर्काको चेवा चर्चा गर्न तत्पर रहन्छन् । यसैले उनका साथीहरूले मलाई उनकी फुपूलाई लिएर उनीसित केही भनेका पनि हुन सक्छन् । अस्वभाविक पनि होइन । ईर्ष्या, डाह, जलन र चुक्लीको राज चलेको यस समाजमा हुने कुरा यही न हो ! जसरी होस्, अर्काको बेइज्जत गरी हिँड्छ । अरूलाई लिएर हो न हो, बाह-सत्ताईस कुरा काट्नु !
यस्तै कुराहरू मनमा खेलाउँदै म झ्यालतिर गएँ । मनमा विसञ्चो हुन थाल्यो, के-कस्तो हुन थाल्यो । के-कस्तो हुन थाल्यो । केही बिर्सें ? बिर्सियो के ? -त्यो त मलाई याद छैन । आखिर बिर्सेको केही हुँदै होइन, त याद कहाँबाट आओस् !
सडकमा अड्डाबाट फर्केका कर्मचारीहरू, स्कुलबाट फर्केका छात्र-छात्राहरू चाँडो घर पुग्ने इच्छाले आपसमा धक्का दिँदै छिटो-छिटो घरतिर लागिरहेछन् । यिनीहरूको बीच घरतिर आइरहेको आफ्नो भाइलाई मैले देखेँ । आश्चर्य त मलाई त्यस बखतमा भयो, जब कि मैले आफ्ना भाइको अनुहारमा पनि एकै क्षण अगाडि भदैको अनुहारमा देखिएको कालो बादल छाएको देखें ।
मेरो मन पोल्न थाल्यो, नरमाइलो हुन थाल्यो । यो के हुन खोजेको ? हे ईश्वर ! यस्तो शान्तिपूर्ण घरको वातावरण हलचल पैदा गराउने जाल कसले रच्दै छ ? यो विचार मनमा आउनासाथै मलाई छटपटी हुन थाल्यो । शरीर लगलग काँप्न थाल्यो । जति-जति भाइ नजिक हुँदै आयो, त्यति मलाई डर र त्रासले सताउन थाल्यो । अब के हुने हो, अब के हुने हो ! भाइले आएर कुन दुर्वचन सुनाउने हो !
भाइ आइपुग्यो, मसित केही भनेन । सरासर माथि उक्ल्यो । मतिर एकचोटिसम्म पनि हेरेन । मुख त साँच्चै मलिन थियो। भीषण किसिमले नै उसको अनुहार मलिन थियो । मेरो मुटुको गति क्षण-क्षणमा तीव्र हुँदै गैरहेछ । मेरो भाइलाई आज भयो के ? सधैं, जस्तोसुकै भए तापनि मेरो चित्त दुख्ला, म चिन्तित हुँला भनी जस्तै आपत् परे पनि हँसिलो भैरहने मेरो भाइमाथि आज कुन वज्र बज्रियो कि मलाई एकचोटिसम्म पनि नहेरी ऊ माथि उक्ल्यो ।
मेरो मनले चुप लागेर बस्न सकेन । माथि नै गएर भाइसित सोध्छु भन्ने विचारले कोठाबाट निस्कें । तर मेरो मनमा झवास्स बिझ्यो त्यस्तो केही कुरा भएको भए आमा समानकी दिदीलाई बताउनुपर्ने हो ! मैले माथि नजाने नै निर्णय गरेँ । तर कोठाभित्र फर्कन लागेकै बखत मेरो कान सतर्क भयो ।
बाबु-छोरीको बीच केही कुरा भएजस्तो लाग्यो । एकैछिन पछि तिमीलाले माथि भान्छामा गएर आमाचाहिँलाई तल पठाइन् । उनीहरूको बीच कुरा के-के भयो, त्यो त राम्ररी बुझ्न सकिन तर पछि चर्काचर्की भएपछि मैले राम्ररी नै बुझें । आखिर मैले गरेको शङ्का सत्य नै निस्क्यिो ।
भाइले फर्केर भन्यो- “म दिदीलाई ऐल्यै गएर भन्छु । कति कुरा मात्र सुनिरहने !”
“मैले त तपाईंलाई अस्ति नै भन्या हैन ? तपाईं आफै झन् मसँग रिसाउनुभयो ।” -बुहारीले भाइको क्रोधाग्निमा घिउ थपिन् ।
“हो, तिमीले एकचोटि भनेको त सम्झना छ । तर पछि तिमीले पनि केही भन्न छोड्यौ !”
“भन्न त धेरैचोटि मन लागेको थियो । तर तपाईं रिसाउनुहोला भनेर डरले भन्न सकिनँ । जोईको कुरा सुनी आमाजस्ती दिदीसँग झगडा गर्यो भनी समाजले दोष दिलाउन त म मात्र किन चाहन्थेँ ! मलाई थाहा थियो,एकदिन तपाईं स्वयम् आफैले यो कुरा झिक्नुहुनेछ भनेर !”
” तर …. एउटा कुरा ! आज मेरो यति बुद्धि भएको, कमाउन सक्ने क्षमता भएको सबै उनै दिदीले गरेर त हो नि !”
“नहुने कुरा । के-के भन्नुभएको तपाईंले ? कसैले गरेर पनि कोही ठूलो-सानो हुँदैन । यो त भाग्यको खेल हो । आफ्नो कर्मको फल हो । कुन्नि, तपाईंकी दिदी पनि कस्ती, छि: ! आफैले पनि बुझ्नुपर्ने हो, बन्दोवस्त गर्नुपर्ने हो ! म त छक्क पर्छु ।”
“दिदीको यस कुरामा ध्यानै गएन होला । यस्तो कुरा बुझ्छे पनि कसरी !”
“तपाईं त साँच्चै लाटो हुनुहुँदो रहेछ । दिदीले यस्तो कुरा बुझ्नुहुन्न भनेर नभन्नोस् । हामीले भन्दा पनि राम्ररी बुझ्नुहुन्छ । मेरो विचारमा त दिदीले बुझ पचाएर तमासा हेर्न बसिरहनुभएको जस्तो लाग्छ ।”
भाइबुहारीको कुरा सुनी मेरो मगज तातियो । बाहिरबाट लक्ष्मी जस्ती देखिएकी बुहारी भित्रभित्रै यति कठोर पो रहिछ । बाटोबाहिर उभिरहने साहस गर्न सकिनँ, कोठाभित्र पसें । आफ्नो विरोधमा मेरो आफ्नै घरभित्र यसरी विरोधाग्नि सल्किरहेको देखी मलाई साह्रै चोट लाग्यो । महिनौँ दिनको बिरामीबाट उठ्दा काँपेजस्तै मेरो सम्पूर्ण शरीर लगलग काँप्न लाग्यो । सकी नसकी पलङमा गई पल्टें, भऱ्याङबाट कोही ओर्लेलान् कि भनी प्रतीक्षा गरिरहें । भाइले अवश्य आएर केही भन्छ । भाइको कुरा सुन्न सक्ने क्षमता ल्याउन आफूलाई तयार पारी आफ्नो मनलाई पनि स्वस्थ्य बनाउन मनोभावनालाई सुधार्ने सफल प्रयास पनि गरेँ ।
तर भाइ तल ओर्लेन । किन ? के कारणमा ? मेरो उत्सुकता झन् बढ्न थाल्यो । आउनै पर्ने पनि कारण के छ ? म हुँ को र ? आमा हैन, बाबु हैन । पराइघर गइसकेकी छोरीबेटी । थुकिसकेको थूक ! म उनीहरूको कोही नसही तर यो घर त मेरो हो । यस घरको एक-एक ईंटमा मेरो कमाइ छिपेको छ । म छिपेकी छु । मेरो विचार तीव्र हुन थाल्यो । अरू क्यै नभए पनि यो घर त मेरो हो । यसभन्दा बढी, मैले नै गर्दाखेरि न हो, भाइले जागीर खान पाएको, कमाउन सक्ने भएको !
अनि मलाई बुहारीको सम्झना हुनथाल्यो । जसलाई बुहारी बनाई मैले नै घरभित्र हुलें, जसलाई मागेर जीविका चलाउन पनि मुस्किल हुने देखी, जे भए पनि असल छे, विचरीका आमा-बाबु असमयमै खसे दाजुहरूले केही वास्ता गरेनन् भनी आफैले ल्याएर बुहारी तुल्याएँ । आज लोग्ने कमाउन सक्ने भयो भन्दैमा यस्तो फूर्ति । सात-सातवटा बच्चाकी आमा भइसकिन् । लोग्नेको जागीर भएको कति नै भयो र ! हद भए तीन वर्ष पुग्यो होला ? जागिर नहुँदा कसले हेर्यो ? जागीर भएरै के गरे, उनीहरूले । तिनलाई लुगाफाटादेखि लिएर चाहिने जति खर्च कसले बेहोर्यो ?
आज दुई पैसा कमाउने हुँदैमा बुट्टा भूइँमा छैन । मसित छुट्टिएर महारानी बन्ने इच्छा होला । त्यसैले होला मलाई पहिलेझैँ मान्न पनि छोडेको । मसँग केही सोध्नु छैन, जे मन लाग्यो, गर्यो । म किन बोलूँ ! स्वभाव राम्रै छँदै छ । घर भाँडिने गरी केही गरोइन भनी चूप लागेकी थिएँ । आज त उनको यस्तो चाला ! शत्रुलाई पनि मैले यति हेरचाह गरेको भए यस्तो गर्ने थिएन होला । साँच्चै रहेछ यो भनाइ- बरु साँपलाई दूध पिलाउनु जाति होला, नाता कुटुम्बको भलो चिताउनु जाति हुन्न ।
सोच्दासोच्दै मेरो भित्री मनमा क्रोधको ज्वाला झन्झन् सल्किन थाल्यो । उत्तिखेरै गएर मेरो घरबाट निक्ली भनूँ कि जस्तो पनि लाग्यो । तर मेरा भदैहरूको के दोष, भाइकै पनि केको दोष ? गएर कहाँ बस्लान् ?
-मलाई थाहा छ, मेरो एकै वचनमा पनि भाइले घर छोडेर हिँड्नेछ । तर मेरा भाइ, मेरी भदैहरूलाई दुःख हुन्छ । जसको निमित्त मैले के मात्र गरिनँ, त्यसै भाइलाई दुःख हुने कुराको म कल्पनासम्म पनि गर्न चाहन्नँ । मेरो आवेश शिथिल भयो ।
कोठाबाट निस्की माथि उनीहरू अझ कुरा गर्दै छन् कि भनी कान थापें, काइँकुइँ केही आवाज सुनिएन । सन्तोषको सास लिई म फेरि कोठैभित्र पसें । एकै छिनपछि दुवै जना भर्याङ ओर्लेको सुनियो । भाइ मकहाँ आयो होला भनी सशंकित दृष्टिले ढोकातिर हेरी उभिरहें । तर सरासर उनीहरू तल ओर्ले ।
अनि, एकछिनपछि बाबु-छोरी बाहिर सडकमा उभिरहेको देखें, सायद सिनेमा हेर्न जान लागेका होलान् । सिनेमाको समय पनि थियो । मैले मेरो भाइको सानैदेखि हेरविचार गरी आफैले हुर्काएको भाइको स्वभाव एक-एक नबुझेको होइन, दिक्क हुने कुरा चल्यो कि ऊ सधैँ मनको गहुँगोपन हटाउन सिनेमा जाने गर्थ्यो । त्यसो त अरूहरू जस्तो ऊ सिनेमा धेरै हेर्दैनथ्यो भने पनि हुन्छ । मलाई पनि याद छ, आमा हुँदाखेरि गाली गरेको बखत मसित पैसा लिई लुकी लुकी सिनेमा जाने गर्थ्यो । अरु बेला उसलाई सिनेमा हेर्नुपर्दैनथ्यो ।
हुन त, भर्खर भर्खर आमा मरेको बखत उसले धेरै सिनेमा हेर्ने गरेको थियो, नत्रभने आमा र म सिनेमा जाँदा उसलाई घरैमा छोडी जान्थ्यौँ ।
यस्तै विचार आइरहेको बखत बुहारीले आएर भनिन् – “भान्छा गर्न आउनुभए पनि भो ।”
उनको आवाजमा भद्रता थियो सायद मेरो अनुहारले मेरो मनभित्र उब्जेको उनीप्रतिको भावना त उनलाई बताइदिएन ? अन्यथा एकै छिनअघि मात्र मेरो विरोधमा पोइलाई त्यस्तरी धाप दिइरहेकीले अहिले तुरुन्तै यति नम्र र विनीत भावले मसित व्यवहार गर्नुपर्ने त केही कारण थिएन । मैले केही भनिनँ । उनी मेरो जवाफ पाउन अथवा मेरो मनोभावनाको अध्ययन गर्न त्यसै सँघारमै उभिरहिन् ।
यसै बखत माथि भान्छामा बच्चा रोएको सुनियो । अनि भात पस्काइराख्छु चाँडो आउनोस् भनी उनी सर्र माथि गइन् । सपनामा तर्सेर रोएझैँ बच्चा रोइरहेछ, रुक्दै रुकेन । एकतर्फ बुहारीदेखि मलाई माया पनि लाग्यो, त अर्कोतर्फ रिस पनि । आखिर म पनि एउटी आइमाई न हुँ ! तर फेरि उनीहरू जोईपोइको बीच एकैछिन अगाडि मेरो विरोधमा भएको कुराकानी एक-एक गरी सम्झिन थालियो । म भात खान गइनँ, जाँदै गइनँ । बुहारीले फेरि बोलाउन पनि आइन । अनि त मलाई झन् रिस उठ्नु स्वाभाविकै भयो ।
मेरो मनमा चैन नभएकोले होला, जीउ पनि बिसञ्चो भएजस्तो हुन थाल्यो । अलिअलि टाउको पनि दुख्न थाल्यो । भित्ताको घडीमा आठ हान्यो । सुत्न भनी म पलङ्गतिर गएँ । बच्चा बोक्दै बुहारीले आएर फेरि भनिन्, “तिमीलाहरू सिनेमा हेर्न गएका छन्, दिदीले खानुभए पनि हुने !”
उनको यस भनाइको अर्थ मैले नबुझेको होइन । किनकि म सधैँ कि त भाइसँग बसेर खान्थेँ, कि त भाइ खाइसकेपछि मात्र खाने गर्थे ! आज भोक लागेको छैन । उनीहरू आएपछि मलाई पनि उठाऊ, अनि सँगै खाऔँला – विचार त यसरी जवाफ दिऊँ भनी गरेकी थिएँ, तर मुखबाट च्वाट्ट निस्क्यो- “आज मलाई सञ्चो छैन । टाउको पनि दुखिरहेछ, केही खान्नँ ।”
यसो भन्दा मैले विचार त गरेकी थिएँ कि बुहारीले कोठाभित्र पसी मेरो टाउको छाम्नेछे, जरो आयो कि भन्ने शङ्काले । टाउको दुखेकै भए चिया भए पनि ल्याऊँ कि भनी सोध्छे । तर उनलाई वास्ता के ? उनले केही भनिन । बच्चा बोकेकी उनी सरासर माथि उक्लिइन् । त्यसो त अगाडि मेरो टाउको दुख्दा पनि उनले केही सोध्ने गरेकी थिइनन्, तर पनि आज उनले केही पनि नभनेको देखी मेरो चित्त दुख्यो ।
मेरो यत्रो हेलाँ ! मेरो चर्केको हृदयले आफ्नो कथा यसप्रकार पोख्न थाल्यो । पोइ कमाउने हुँदैमा यत्रो घमण्ड ! बुहारीप्रति दुर्भावना भरिँदै गएको मेरो मनले भन्न थाल्यो । कोठाको एक-एक वस्तुले मलाई हेलाँ गर्न थालेझैँ लाग्यो । जता हेर, अवहेलनाले साकार रूप लिँदै डस्न टाउको उठाउन थालेको ! बाहिर झ्यालबाट हेरें, पूर्णिमाको रात पनि बादलको टुक्राले गर्दा औंसीको रातझैँ कालो छ । स्वयम् प्रकृतिले नै मलाई हेलाँको दृष्टिले हेरिरहेछ भने अरूको के कुरा !
क्रमशः



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

