उनन्तिस

सबैलाई होसियारीको चेतावनी दिँदै नानीथकुंलाई घरमै छोडेर खेतमा काम गर्न जाने अनुकूल मिलाएका शिवनारान एक्लै त्यति बेलै खेततिर दौडे ।

रातभरिको छर्लङ्ग अनिद्रामा शिवनारानले नानीथकुंको बारेमा निक्कै चिन्ता गरे, नाना सोचविचार गरे । अब नानीथकुंलाई झट्ट एउटा सुपात्रसित बिहे गरेर नदिई यसै राखिछोड्नु उनले ठीक ठानेनन् । यसैले आफैले नानीथकुंलाई एउटा सुयोग्य वर खोजी गरेर पनि दुई-चार दिनमै विवाह गरी निश्चिन्त हुनुपर्यो । रातभरि नानीथकुंका बारेमा यस्तै केके, अनेक सोचविचार शिवनारानले गरेका थिए ।

यही फिक्रीको फेरमा दौडादौड गरी शिवनारानले एक हप्ताभित्रै नानीथकुंलाई एउटा सुयोग्य वर फेला पनि पारे। दुलाहा हुने केटो म्याट्रिक पास पनि भएको, एउटा मौजाको जिमिदार पनि, उमेर मिल्दो नै थियो । सबभन्दा हर्षको कुरा आफ्ना बाबु अष्टनारान र आफूहरूको पनि विचार र सिद्धान्तअनुसार केटो मधेसी थियो । प्रायः चाहिँदा गुनहरूले परिपूर्ण भएको मधेसी केटो पाएको र आफ्नो र तराईका मधेसी जातिसित वैवाहिक सम्बन्ध जोडिन पुग्ने कुराले शिवनारान चौप‌ट्टै सन्तुष्ट र प्रफुल्लित भए । नेवार, पर्वते, मधेसी यी तीनै जाति र संस्कृतिको मेल झन् आफ्नै घरमा हुन लागेकोमा शिवनारान अत्यधिक खुसी भए । किनभने यी तीन जाति र संस्कृतिको समन्वय वा स्थापना नभईकन नेपालको उन्नति हुँदै हुँदैन भन्ने उनलाई विश्वास थियो ।

दुलाहा हुने केटा अरू सबै गुनका साथसाथै स्वास्थ्यले पनि योग्य छन् । उनको घर सर्लाही जिल्लामा पर्छ, नाम रामखेलावन हो, अनि उनको थर कुर्मी; कुर्मी थरलाई ‘राउत’ पनि भन्छन् । रामखेलावन राउतको घरमा उनी नै मालिक हुन् किनभने उनका बाबु, दाजु वा अरू जेठाबाठा कोही छैनन् । दुई जना भाइ, एउटी बहिनी र आमा- बस, परिवारको नाममा यत्तिकै । घुमीघुमीकन काठमाडौँ उपत्यकाको खेती गर्ने तरिकाको अध्ययन राम्ररी गरेका थिए उनले। यहाँको प्रणाली अपनाएर मधेसमा पनि यस्तै चलन चलाउने पनि उनको दिलको मुराद थियो । यहाँका किसानहरूलाई मधेसमा लगेर खेती गराउने र उहाँका किसानहरूलाई सिकाउन लगाउने विचार पनि यिनले गरेका थिए ।

खेतका खेत डुल्दै गर्दा रामखेलावन राउतको भेटघाट र चिनजान भएको थियो शिवनारानसँग । नानीथकुं पनि खेतमै काम गरिरहने हुनाले रामखेलावनले देख्न पाइरहेकै थिए । नानीथकुंमा पनि गुणको कमी थिएन । केही कम थियो त पढाइ मात्रै हो, तर पढेर, शिक्षित भएर पनि नपाइने गुण रामखेलावनले नानीथकुंमा देखिरहेका थिए । नानीथकुंको सौन्दर्य र अरू सबै व्यावहारिक गुण देखी रामखेलावन मुग्ध भएर भित्रभित्रै लोभिइरहेका थिए । झन् विवाहको कुरा पेस भइदिँदा त उनी एकाएक आह्लादित भए ।

दुनियाँमा सब थोक हुन गाह्रो छ, समय लाग्छ, श्रम लाग्छ, बुद्धि खर्चिनुपर्छ, तर प्रेम हुन केही गाह्रो छैन, समय लाग्दैन, श्रम र बुद्धिको पनि खर्च हुँदैन, मानिस सजिलैसित एक घडी, एकछिनमै प्रेम सम्बन्ध जोड्नाका निम्ति तयार हुन्छ र गाँठो बाँध्नलाई अगाडि बढ्छ । समान गुण भएका दुई मानिसको दुई हाँस्तो दिल तुरुन्तै, आँखा झिम्म गर्दागर्दै एक हुन्छ, एक बन्छ । उसले जाति हेर्दैन, संस्कृति हेर्दैन, टाढापन हेर्दैन, खानु लाउनु, सुखदुःख केही हेर्दैन । यहाँसम्म कि दुई व्यक्तिको व्यवहार र सम्बन्धलाई चलाउने, अगि बढाउने परम साधन भाषासमेत मिल्नेनमिल्ने र जानेनजानेको वास्ता गर्दैन । कसैको दिलसित कसैको दिल हाँसेपछि उनीहरू एक हुनलाई तत्पर हुन्छन् र अगाडि बढ्छन् ।

रामखेलावन राउतलाई क्षणिक दर्शनमै नानीथकुं मन पर्न गएजस्तै नानीथकुंलाई पनि पुलुक्क हेराइमै रामखेलावन राउत राम्रो लाग्न गएछन् । झन् उनीहरू बीचमा वैवाहिक सम्बन्ध राख्ने प्रसङ्ग आएको हुँदा त उनीहरूलाई सोह्रमा तान्दा एक्का आएको जस्तो भयो ।

रामखेलावन राउत शिवनारानको खेतमा दुई-चार चोटि आउँदैमा शिवनारानले नानीथकुं र रामखेलावन राउत बीचमा मिठो भाव रहेको सङ्केत पाइसकेका थिए । अर्को कुरा, नानीथकुंको बिहे झटपट सिद्ध्याउनुपर्ने पनि थियो । सबभन्दा लायकको कुरा त दुवै जना जोडा मिलेर आफूले र आफ्ना सिद्धान्तले चाहेजस्तै संयोग मिलिरहेको थियो । त्यसैले शिवनारान मौका चुकाउने सुस्त्याइँ गर्ने मूर्खता किन गरिरहन्थे ?

प्रसङ्ग पेस हुनासाथै रामखेलावन राउतले मन्जुर गरे, नानीथकुंले पनि स्वीकृति दिइन् । मधेसतिर भएको हुनाले नानीथकुंलाई एक चोटि त अलि कस्तोकस्तो लागेको थियो, तर प्रेमको अगाडि दूरता कुन कुरा हो र ! नानीथकुं प्रसन्न नै थिइन् ।

चाँडै घर फर्कनुपरेको हुनाले विवाहको तिथि भरसक झ‌ट्टै तोक्ने प्रार्थना रामखेलावन राउतले गरे । शिवनारान आफैँ झ‌ट्टै बिहे सिद्ध्याउन चाहिरहेका, यसैले उनले सहर्ष स्वीकार पनि गरे । रामखेलावन राउतको अनुकूल मिलाउनु परेको र आफ्नो पनि व्यवहार चलाउनुपरेकाले अझ पर्सि नै बिहे गर्ने शिवनारानले राय दिए । रामखेलावन राउत मात्र किन पछि हट्थे, त्यो पनि यस्तो मिठो कुरामा ! मन्जुर गरिहाले ।

* * * * * *

अस्ति मात्र ‘पर्सि’ भनेर तीन दिन बाँकी भएको तिथि अहिले ‘आज’ भएर अगाडि आइरहेको छ । आज नानीथकुंको विवाहको दिन, सबै खुसी भएर विवाह सम्पन्न गर्नामा तत्पर छन्, व्यस्त छन् । नानीथकुं त झन् यति खुसी छन् कि भन्न लाज मानेर मात्रै उडेर भए पनि चाँडै पुगूँ जस्तो उनलाई लागिरहेको छ । आफ्नो जातीय नयाँ पोसाक पहिरँदा नानीथकुंको सौन्दर्य झन् चम्केको देखियो । क्रमैसित बेलुका पनि हुँदै आयो । नानीथकुंलाई पठाउने सुरसार पनि गरिन लाग्यो । बिदाइ हुन लाग्दा नानीथकुंलाई आमा, दाजु, भाउजूहरूले आशिष् दिए । अत्यधिक मायाममताका कारण बिदाइको बेलामा लतमायाले रोक्न खोज्दा पनि आँसु नचुहाईकन बस्न सकिनन्, भाउजूहरू सबैका आँखामा गहभरि आँसु थियो । दाजुहरूका दिलमा पनि नानीथकुंको मायाममताले चिमोटेको थियो ।

करिब आठ बजेतिर एक जना मानिसका साथ नानीथकुंलाई बिदाइ गरी पुऱ्याउन पठाइयो । उनलाई दाइजोको रूपमा समेत विशेष दिन सकेनन्, खालि – एक जोर चर्खा, हँसिया, हथौडा, कुटो, कोदालो, कोदाली, डल्लेठो आदि । बस, यत्तिकै दाइजोका साथ जुवाइँलाई उपहार भनी एक जोर खर्पन, एउटा डोको, एउटा डालो, नेपाली कुटो, कोदालो, एउटा खुकुरी, एउटा भादगाउँले टोपी र एउटा नेपालको नक्सा पनि दिई पठाएका थिए ।

ढोगभेट र बिदाइसँगै नानीथकुं घरका सबै मानिसबाट पाएका आशिष् शुभेच्छा शिरोपर गरेर एउटा साथीको साथमा सरासर गइन् । रामखेलावन राउत पुतलीसडकमा बसिरहेका थिए । बल्ल उनको प्रतीक्षा पूर्ण भयो । नानीथकुंलाई उनले आफ्नै कोठामा पुऱ्याउन आएका मानिस एकछिन बसी फर्के । रामखेलावन राउतका डेरामा अब आफू र आफ्नी जीवनसँगिनी नानीथकुंबाहेक अरू कोही छैन ।

यी दुईको भाषा मिल्दैन र एकले अर्काको कुरा त्यति बुझ्दैनन् पनि तर यिनीहरू आपसमा कुरा गर्न चाहन्छन्, ठट्टा गर्न चाहन्छन् र दुवै जना एकअर्काको दिलमा प्रेम पोख्न आतुर भइरहेका छन् ।

०० ०० ०० ००

तिस

भाइबहिनीहरूको व्यवहार सिद्धिई हलौं भएको साथसाथै असार पनि यस पालि राम्रो भएको हुनाले शिवनारान अत्यधिक खुसी छन् । रोपाइँ सिद्धिएदेखि शिवनारान अहर्निश खेतैमा रहेका थिए । खेतमा मिहिनेत र धावा गरेअनुसार सफलताका चिह्नहरू पनि देखा पर्न थालिसकेका छन् । धानका बिरुवाहरू निकै सप्रिएका छन्, यहाँसम्म कि बिरुवाहरूमा धानका बालाहरू मुजुराउन पनि थालिसकेका हुन् कि जस्तो लक्षण देखा परिसकेको छ ।

शिवनारान निथ्रुक्क पानीमा रुजेर पनि खेतमा काम गरिरहन्थे । किसानकी छोरी भए पनि उनकी स्वास्नी हाकुमाया अलि अल्छी प्रकृतिकी छिन् । शिवनारान हाकुमायालाई बराबर आफूले जस्तै खेतमा तपस्या नै गरिरहन आह्वान गरिरहन्थे । उनी हाकुमायालाई भन्थे- “हाकुमाया ! तिमी अलि अल्छी छ्यौ । किसानका सन्तानले आराम गर्नु पाप हो, शरीरमा एक थोपा मात्र रगत बाँकी भए पनि पसिनाको रूपमा निकालेर खेतलाई चढाउनुपर्छ किनभने किसानको परिश्रम र पसिना नै जगत्‌को जीवन हो र जिन्दगीको ज्योति हो ।”

“तपाईं त मलाई सधैं सुतेर खाइरहेकी छ जस्तो कुरा गर्नुहुन्छ, के त्यस्तो आराम लिइरहेकी छु मैले ?” एक दिन हाकुमायाले फर्केर भनिन् । “लौन त आराम लिएकी छैनौ भने जाऔं न काम गर्न ।” अलि ठट्टाको भावमा शिवनारानले भने ।

“के काम गर्नु छ र अहिले ?” हाकुमायाले भनिन् ।

“खेतमा धानको शत्रु फार केलाउनु छ । एउटाएउटा फार खोजीखोजीकन उखेल्नुपर्छ हाकुमाया । फार, घाँसले बिरुवालाई साह्रै हानि गर्छ, उसले प्रथमतः विरुवाको स्वास्थ्यलाई खान्छ, फार बढ्‌नाले बिरुवाको स्वास्थ्य नष्ट भई धानका बालामा भुस, दमराहरू बढ्ता हुन्छन्, फलिरहेको धानमा पनि रस कम हुन्छ, गेडामा पुष्टता हुँदैन अर्थात् मोटामोटी भनूँ भने धान एकदम कम हुन्छ ।” शिवनारानले भने ।

“भो भो ! धान बढ्ता फलाउन सकेर मात्र हामीले कुन सुख पाउन सकेका छौं ? कुन किसानले दरबार बनाउन सकेको छ ? ‘खेत’ भनी सधैं यसरी मरिरहेका छौं । खाने बेलामा भने कहिल्यै पेट भर्न पाउँदैनौँ, अझ वर्षामा कति दिन बिनाएकादशी पनि उपवास र निराहार उत्तिकै बस्नुपर्छ ।” मुसुक्क हाँस्तै हाकुमायाले भनिन् ।

“खान त पाएनौँ हामीले, लौ हो भनौं, तर संसारलाई ख्वाउन त पाएका छौँ- यो हाम्रो सानो अहोभाग्यको कुरा हो ?” शिवनारानले पनि हाँस्तै भने ।

“लौं हिँड्नोस्, तपाईंसित को कुरा गरिरहन सक्छ ?”

हाकुमाया र शिवनारान दुवै मिलेर खोजीखोजीकन खेतमा झार, घाँस उखेल्न थाले । उनका केटाकेटीहरू पनि नाङ्गै भएर फार उखेल्ने काममा लागिरहेका थिए, जसलाई दुःख होइन, शिवनारानले तालिम सम्झेका थिए । खेतमा घाँस उखेल्दै शिवनारानले आफ्ना छोराछोरीहरूसित कुरा गरिरहेका थिए- “यसपालि त असार ज्यादै राम्रो भएको हुनाले हाम्रो मिहिनेतअनुसार खेतमा पूरै बाली फल्नेछ । घर पनि हामी यसपालि काइदासाथ मर्मत गर्नेछौं । हर्षनारान र नानीथकुंको बिहेको भोज पनि ख्वाउन बाँकी छ । बाली काटिसकेपछि अलिकति धान बेचेर भए पनि यसपालि त एक चोटि सिनेमा पनि नहेरिछोड्दिनँ ।”

“बा ! हामी पनि सिनेमा हेर्छौं ।” लाडे भावमा केटाकेटीले भने ।

“हुन्छ, हुन्छ, घरभरिका जहान सबैलाई यसपालि म बाइस्कोप देखाउन लैजान्छु ।” शिवनारानले भने ।

“साँच्ची, एक चोटि मात्र भए पनि सिनेमा हेर्न नङ्के’ गर्नैपर्छ । नेपालमा सिनेमा आएको यतिका वर्ष भइसक्यो, आजसम्म हेर्न पाएको छैन ।” हाकुमायाले भनिन् ।

“हाम्रो घरमा कसैले पनि आजसम्म सिनेमा हेर्न पाएको छैन ।” अलि अफसोसको भावमा शिवनारानले भने ।

“बा ! यसपालि धान काटेपछि हामीले सधैं दुई छाक भात खान पाउने छौं ? मलाई त कोदो, गहुँ, मकैको रोटी, उसिनेको आलु त खान मनै लागेन बा ! दाल तर्कारी हालेर सुरुसुरु भात मात्तै खान मन लागिरहेछ !” छोराचाहिँले भन्यो ।

“लौ, लौ, तिमीलाई म भात ख्वाउँछु, त्यसैले त घाँस उखेल्ने काम गर भनेको !” सुस्केरा हाल्दै शिवनारानले भने ।

“म पनि सधैं भात खान्छु बा ! ई मैले पनि त घाँसै उखेलिरहेकी छु ।” छोरीले भनी ।

“लौ, लौ, तिमीलाई पनि भातै ख्वाउँछु ।” गहका आँसु पुछ्‌तै हाकुमायाले भनिन् ।

“तपाईंहरू पनि भातै खानोस् ।” छोरीले फेरि भनी ।

घाँस उखेल्ने काम रोकी कम्मरमा हात अड्याई उभिएर सुस्केराउँदै शिवनारानले एक चोटि आफ्ना छोराछोरीहरूको मुख हेरे । पानी परिरहेको थियो, उनीहरू पनि काम गरिरहेका थिए । बढ्ता तोडमा पानी परेको बेला छाप्रोमा गई ओत लाग्थे र पानी कम हुनासाथै फेरि खेतमा काम गर्न जुट्थे ।

०० ०० ०० ००

एकतिस

पानी अझै पनि परिरहेको छ । खेतमा काम गर्दागर्दै साँझ पर्यो । हाकुमाया भात पकाउन गइन् । केटाकेटीहरू दिनभरि काम गरेकाले थाकेर भोक लागी भान्छामा भात पर्खिरहे। शिवनारान छाप्रोको ओसारामा बसी कहिले खेत, कहिले आकाश हेर्दै, सुखका अनेक कल्पना गर्दै मनको लड्डु घिउसित खाइरहेका थिए । भात पाक्यो । भात खाइसकेपछि पनि पानी परिरह्यो, राति पनि परिरह्यो । बीचबीचमा बिउँझेर शिवनारान खेतको हेरचाह गरिरहन्थे । भोलिपल्ट पनि पानी परि नै रह्यो । बढ्ता पानी परेकाले खेतमा पानी पनि बढ्ता भयो । खेतका निम्ति बढ्ता पानी पनि हितकर छैन तर पानी परिरह्यो, परिरह्यो, पर्सि पनि परिरह्यो, परिरह्यो ।

* * * * * *

यसरी तीन दिनदेखि अनवरत पानी परि नै रह्यो । क्रमशः उत्तरतिरको साह्रो जमिन नै पानी भएर दौडदै आयो, वेग बढ्दै आयो, बिस्तारै बाढी हुँदै आएको पनि देखिन लाग्यो । बाढीमा असङ्ख्य धानका बिरुवाहरू बग्दै आएका देखिए, धेरै नै रूखहरू पनि देखिए, यहाँसम्म कि जमिनका ढिस्काका ढिस्का नै बगेर आएका हुनाले रूखसमेत खडिखडाउ भएर बग्दै आइरहेको पनि देखियो । आफ्नै खेत पनि जलमग्न भइसकेको थियो, आफ्नै घरमुनि पनि समुद्र आइसकेको थियो । आफ्नो छाप्रो पनि छोप्लाछोप्ला जस्तो हुन थाल्यो । कैय्यन् घर, छाप्रो बग्दै आएका, कति घरका काठपात, कति बाख्रा, गाई, भैंसी पनि बग्दै आएका देखिन थाले ।

बग्दाबग्दा मानिसै पनि बगेर आएका देखिए । बढ्दै आएको बाढीले आफ्नो छाप्रो पनि घेरिसक्यो । डर, त्रास, भयको कुरा गरी साध्य भएन । शिवनारान, हाकुमाया र दुई छोराछोरी समेत चारै प्राणी ओसारामा उभिई बाढी बगिरहेको भयङ्कर दृश्य हेरीहेरीकन कोलाहल मच्चाउन थाले । आकाशबाट पानी परि नै रहेको थियो । घर्रघर्र घरहरू भत्केको आवाज पनि सुनिन थाल्यो । समुच्चा खेत जलमग्न, विष्णुमती र खेतको कुनै हद छुट्टिएको थिएन । भागेर पनि कहाँ जाने ? तपतप आँसु चुहिरहेको आँखाले एक बाजि आफ्नो खेतको चारैतिर हेरेर त्रस्त भावमा शिवनारान सोचिरहेका थिए- ‘पोहोरको समेत कुत तिर्नुपर्छ । अब तल्सिङले के गर्ने हो । उसलाई कसरी रिझाउने ?”

बाढीले असङ्ख्य माल, वस्तु, खेत, घर बगाउँदै ल्याएको देख्तादेख्तै, हेर्दाहेर्दै बाढीले आफ्नो खेत मात्र होइन, आफूहरू बसिरहेको छाप्रो समेत बगाउन थाल्यो । दुई छोराछोरी समेत शिवनारान र हाकुमायाहरू एकै डल्ला भई बाढीको भय‌ङ्करता देखी चीत्कार गरिरहेकै थिए । कराउँदाकराउँदै गरर्र छाप्रो भत्किन थाल्यो र भँगालोको अँगालोमा बाढीले शिवनारानहरूलाई छाप्रोसमेत हरर्र बगाएर लग्यो ।

बाढीमा बग्दै मृत्युको सास फेर्दाफेर्दै शिवनारानले चिन्ता लिइरहेका थिए- ‘घरमा रहेका मेरा भाइहरूलाई यस पालिको कुतसमेतको बोझ लादिने भयो ।’

एकैछिनमा अँगालोमा बाँधिइरहेका चार प्राणी शिवनारान, हाकुमाया र दुई सन्तान लास भएर बग्दै बेपत्ता भए ।

अब तिनीहरूले तिरो तिर्न पनि ताप मान्नु पर्दैन, अनि तल्सिङले तिनीहरूलाई समात्न पनि सक्तैनन्

* * * * * *

अष्टनारान ज्यापूको परिवार अब यस दुनियाँमा छैन । उनीहरूको नामसम्म पनि यहाँ रहँदैन । यहाँसम्म कि एघार सालको भयङ्कर बाढीको इतिहासको पानामा समेत पनि उनीहरूको नाम रहँदैन किनभने उनीहरू गरीब थिए, किसान थिए ।

* * * * * *

भोलिपल्ट शिवनारानहरूका लास बग्दै क्वेनामा जम्मा भइरहे । त्यहाँ अरू पनि धेरै मानिसका लास जम्मा भइरहेका छन् । मानिसका लासहरूका साथसाथै गाई, गोरु, भैंसी, बाख्रा आदिका लास पनि सँगसँगै छन् । हिजो बाढीले बगाएका र हराएका मानिसहरूका हकवालाहरू आई क्वेनामा लासको थुप्रो छानिरहेका छन् । चिनिएका जति लास अलगअलग राखी कति मानिसहरू छाती पिटीपिटीकन रोइरहेका छन् ।

परन्तु शिवनारान, हाकुमाया र दुई बालबालिका यी चार लासको हकवाला कोही निस्केन, यी चारै लासहरू बेवारिस छन् ।

भोलिपल्ट उनीहरूको घरको भग्नावशेषबाट पुननारान, हर्षनारान, पुतली र लतमायाका लासहरू पनि निकालिए । उनीहरूको यस्तो हृदय- विदारक मृत्यु देखेर सारा मानिसहरू शोक प्रकट गर्दै थिए । सबैको घर बनाउने सिकर्मी र बिचरा ज्यामीहरू घर मर्मत गर्न नपाई आज आफ्नै घरले थिचिएर एक चिहान भए !