बाइस

आफ्नो खेतको काममा अलमलिँदा पनि शिवनारानले नानीथकुं र डाक्टर गोदत्तप्रसादमाथि उठेको रिस बिर्सिन सकेका थिएनन् । काम गर्दा पनि मनमा फनक्क रिस उठ्थ्यो। त्यस कारण आज शिवनारान पाँच बज्दानबज्दै घर फर्केका थिए । आज पनि आफ्नै घरबाट गोदत्तप्रसाद फर्कंदै गरेको देख्ता डाक्टर गोदत्तप्रसादलाई समातेर निमोठिहानूँजस्तो उनलाई भयो । डाक्टर गोदत्तप्रसादलाई पनि एकाएक शिवनारान भेट हुँदा हुनसम्मको अप्ठ्यारो भएको थियो, सहसा सङ्कोच भावले छोपेको थियो, के गरूँ, के गरूँ भएर एकदम अतासिइसकेका थिए । तर उनले तुरुन्तै केही नभएको जस्तो भाव गरी शिवनारानसँग भने- “किन हँ, निकै चाँडै फर्क्यौ नि शिवनारान ? तिम्रो खेतमा रोपाईं सिद्धियो ?”

डाक्टर गोदत्तप्रसादले पनि बोलिदिँदा त शिवनारान झन् रिसले भुतुक्क भए । जबाफ दिने सभ्यताको पनि उनलाई केही ख्याल भएन । खालि क्वारक्वारती हेरेर केही पनि जबाफ नदिईकन सरासर घरभित्र पसे । भेट्ता ‘नमस्ते’ सम्म पनि गरेका थिएनन् ।

उनी सरासर तानकोठामा गए । झन् नानीथकुंलाई नदेख्ता उनको रिसको मात्रा अझ बढ्यो । कोठामा पाइला टेक्नासाथ शिवनारानले क्रुद्ध भावमा भने- “नानीथकुं खोइ नि ?”

“कपाल दुखेर कोठामा पल्टिरहेकी छ ।” स्वाभाविक स्वरमा लतमायाले भनिन् ।

“तपाईं छोरीको रखवारी भइरहनुभएको हो कि कुटुनी ? घरमा गुन्डा नाचेर गइसक्यो, तपाईं छोरीलाई कपाल दुखिरहेको छ भनी यहाँ सुतिरहनोस् !

दिनहुँ डाक्टर आएर कोठामा ख्यालठट्टा, नाचगान गरेर जान्छ, तपाईं छोरीलाई कपाल दुखेको निको होस् भनी यहाँ बसीबसी द्यौता भाकल गरिरहनोस् । हिजो पनि यहाँबाट ओर्लिरहेको देखें, आज आउँदा पनि फर्किरहेको भेट्टाएँ । कस्तो चाला हो यो ? म त बाँकी राख्तिनँ । आज म त जात्रा नदेखाईकन छोड्दिनँ ।” अग्नि शर्मा भएर शिवनारानले भने ।

सधैं रात परेपछि आउने छोरो आज यसरी सबेरै आएर एकाएक यस्तरी रिसाउन थालेकाले लतमाया जिल्ल परी मुख बिगारेर तान पनि नचलाईकन त्यसै बसेको बस्यै गरिरहिन् । उनी केही पनि बोलिनन् ।

लतमायालाई तानमा त्यसै बसिरहेको देखेर झन् रिसाएर शिवनारानले भने- “छोरीले पट्ठा खेलाइरहेको कुरा तपाईंलाई मिठो लाग्छ कि क्या हो ? पट्ठा भए पनि एउटा कुरा, पट्ठासित पट्ठी खेली भनेर सन्तोष पनि गर्न सकिएला, तीनतीन छोराछोरीका बाबु, अर्काका पोइसित त्यसरी खेलिरहन लाज छैन रे त्यसलाई ? सरम छैन ? बोलाउनोस् त्यस नकचरीलाई, आज पूजा नगरी छाड्दिनँ ! बाबु मरेको छ महिना भएको छैन, उसको यो लीला !”

“भैगो, नकरा बाबू ! अरूले सुन्लान् । म उसलाई राम्ररी सम्झाएर ठीक गर्नेछु ।” सान्त्वनापूर्ण भावमा लतमायाले भनिन् ।

“अरूले सुन्ला ? अरूले सुन्ला, थाहा पाउला र नराम्रो होला भन्ने डर मान्ने भए यस्तो नकाम गरिएला ? अझसम्म अरूले थाहा पाएको छैन भनी ढुक्क भइरहनुभएको तपाईं ? अरूले सुन्ला र थाहा पाउला भन्ने तपाईंलाई डर ? अरूबाट नै मैले थाहा पाएको हुँ अब फेरि अरूले सुन्ला, थाहा पाउला भन्ठान्नुभएको ?” रिसको आवेशमा शिवनारानले भने ।

‘योसित अहिले नबोल्नु बेस’ भन्ने विचार गरी लतमाया चुप लागिन् । शिवनारान रिसमा वेद पढी नै रहेका थिए। रिसाउँदारिसाउँदै ‘आज म छ्यास्नसम्म नछ्यासी छोड्दिनँ’ भन्ने विचार गरी नानीथकुंलाई शिवनारानले नै बोलाए । दुई-तीन बोलावटसम्मलाई नानीथकुंले वास्तै नगरीकन सुन्यानसुन्यै गरेकी थिइन् तर लगातार बोलाइरहेपछि केही सिप नलागेर नानीथकुं डराईडराईकन कपाल दुखेको स्वाङ गर्दै माथि आइन् । नानीथकुं तानकोठामा पुग्नासाथै शिवनारानले एटम बम छोडिहाले- “क्या हो, क्या हो यो ? डाक्टर गोदत्तप्रसाद दिनदिनै किन आइरहेको, किन आउँछ, त्यो दिनदिनै ?”

“म के थाहा पाऊँ ?” बडो साहस गरेर नानीथकुंले भनिन् ।

“म के थाहा पाऊँ होइन, दिनदिनै तिमीकहाँ आउने, तिमीसित ख्यालठट्टा गरेर जाने भएर पनि तिमीलाई थाहा छैन भने अरू कसलाई थाहा होला ? भन, किन दिनहुँ यहाँ त्यो आउँछ ? तिम्रो कुन रोगको दिनहुँ इलाज गर्न आउँछ ?”

नानीथकुं एक शब्द बोलिनन् । शिवनारानले बोलेका कुरा भित्ताको मयूरले झैं केवल सुनिरहिन् । लतमायाले पनि केही बोलिनन् । यत्तिकैमा पुननारान, हर्षनारान, हाकुमाया सब दैनन्दिन काम सकेर घरभित्र पस्न थाले । उनीहरू आउँदा पनि शिवनारान कराइ नै रहेका थिए । एकछिन जिल्ल परेर पुननारानले भने- “किन दाइ ! मामिला के छ ?”

“उही हिजोको कुरा । आज पनि अलि सबेर आएको थिएँ, दसी प्रमाण फेला पर्यो । हिजो त्यस्तरी जात्रा गरेको थिएँ पर्बाह गरिनन् ।” शिवनारानले रन्केर भने ।

“यो त ज्यादै अचाक्ली भयो, ज्यादै मनपरी ! यसरी गराइराख्न त हुँदैन । यो त म पनि सहन्नँ ।” पुननारानले भने ।

“तिमी चाहन्छौ भने हामी उहीसँग बिहे गराइदिन सक्छौं तर यसरी लुकीचोरीकन ख्यालठट्टा गरेर भाँडिनु म राम्रो ठान्दिनँ ।” हर्षनारानले भने ।

कान्छो दाजु हर्षनारानको कुरा सुनेर नानीथकुंलाई आश्वासन भयो । तर उनले शिवनारानको यो कटु वाक्य सुनेर फेरि निराशाको अनुहारमै भौँतारिनुपर्यो- “के भनेर बदमास डाक्टरसँग बिहे गराउन दिन्छु म ! त्यो डाक्टरलाई पाएँ भने म खुट्टा भाँचेर पठाइदिन्छु ।”

“तैपनि उनको पसन्दलाई हामीले हेर्नैपर्ला । स्वतन्त्रताको कदर गर्ने जमाना आइसकेको छ ।” हर्षनारानले फेरि भने ।

“तिमीले उसैको अगाडि यस्तो वाहियात कुरा गरेर बदमासीलाई प्रोत्साहन दिँदै गरे झन् ठीक हुन्छ ?” हर्षनारानदेखि पनि अलि रिसाएर शिवनारानले भने ।

“युगको गति हेरेर मैले भनिरहेको हुँ ।’

“मलाई पनि थाहा छ युगको गति, स्वतन्त्रताको महत्त्व र मानवइच्छाको कुरा । तर म स्वतन्त्रताको नाउँमा जसले जोसँग जस्तो पनि प्रेम गरेर हिँडेको हेर्न चाहन्नँ । प्रेमको पनि महत्त्व हुन्छ, उसका निम्ति पनि फुक्का र बन्धनको लेखाजोखा, मापदण्ड हुन्छ, सीमारेखा हुन्छ, विधान हुन्छ, सुपात्र र कुपात्र हुन्छ । यी सब कुरालाई, बाटोलाई, तबरलाई नाघेर मानिस हिँड्न सक्तैन, पाउँदैन । त्यसैले जीवनमा अभिभावकहरू हुनु बेसै छ, यो सौभाग्यको कुरा हो र अभिभावकहरूले यस कुराको ख्याल विचार राम्ररी पुऱ्याउनुपर्छ ।” शिवनारानले बडो गम्भीर भएर भने ।

“दाइले ठीक भन्नुभयो, म पनि दाइको यो विचारको स्वागत र समर्थन गर्दछु ।” पुननारानले हर्ष प्रकट गर्दै भने । शिवनारानले फेरि हर्षनारानलाई ताकेर भने- “अहिले तिमीले कसैकी स्वास्नी नबनेकी, प्रेमिका नबनेकी र बुढी तथा बच्ची भएर बेजोडा नभएकी जोकोही स्वास्नीमान्छेसित प्रेम गर्न सक्तछौ, ल्याउन सक्तछौ, यसमा म कत्ति बिघ्नबाधा नगरीकन तिमीलाई पूरा स्वतन्त्रता दिन सक्तछु; तर त्यसो नभईकन तिमीले कसैकी स्वास्नी, आमा, प्रेमिकालाई फकाएर वा उडाएर ल्यायौ भने त्यसलाई म प्रेम वा स्वतन्त्रता कहिल्यै भन्दिनँ । त्यो सरासर बदमासी हो, चोरी हो, डकैती हो ।”

दाजुभाइका कुरामा अबेर भएको देखेर आखिरमा लतमायाले यो प्रसङ्ग नै मेटाउन खोजेर भनिन्- “अहो ! हुनसम्मको अबेर भइसक्यो, कुन बेला भात पकाउने र खाने ? दिनभरि काम गरेर सबै भोकाएका होलान् । भैगो, अब गन्थन बन्द गर । भोलि हाम्रो रोपाइँको दिन पनि हो, भोलिदेखि नानीथकुंलाई पनि दिनभरि खेतैमा लगी काम गराइराख्ने गर । म एक्लै घरमा बसी तान चलाइरहन्छु, मलाई केही डर छैन । म बुढी मानिसलाई कसले के गर्ला ? अनि डाक्टरसाक्टरको कुरै मेटिएर जान्छ, ‘न रहे बाँस न बजे बाँसुरी ।’

पुननारान, हर्षनारान दुवैले एकै स्वरमा भने- “ठीक छ, आमाले ठीक भन्नुभयो । त्यसै गर्नुपर्ला अनि आफैँ समस्या हल हुन्छ ।”

शिवनारानले रिसाएर चुरचुर भइरहेको आफ्नो चेहरामा मुस्कानको भाव नचाएर यस कुरालाई अभिवादन गरे ।

अनि सबै आआफ्नो काम र ठाउँमा गए ।

तर नानीथकुं हृदयमा वेदना बोकेर तानकोठामा त्यसै उभिरहिन् । त्यहाँ उनी एक्लै थिइन् । साँझ बितेर बेलुकी भइसक्यो, नानीथकुं त्यही अँध्यारो कोठामा बसी आफूमाथि गुज्रिरहेको सबै कुरा मनमनै गुनिरहेकी थिइन् ।

० ० ० ०

तेइस

आज शिवनारानको खेतमा रोपाइँ भइरहेको छ । रोपाइँको दिन हुनाले पुननारान र हर्षनारान पनि अर्काको काममा नगई खेतमा रोपाइँ गर्न जुटिरहेका छन् । लतमाया र नानीथकुं पनि रोपाइँमा लागिरहेका छन् । काम सघाउन आएकाहरू पनि सबै खुसी, दङ्ग भई नाचेर रोपाइँ गरिरहेछन् । नानीथकुंउपर हिजो बेलुकी त्यत्रो आपत्ति खनिएको थियो, आज पनि उनको मनमा अन्तर्द्वन्द्व चली नै रहेको छ; उनको जीवनमा समस्या अल्झिरहेको छ, तर पनि आज आफ्ना परिवारका अरू खुसी सदस्यहरूसरह नै नानीथकुं पनि खुसी छिन्, दङ्ग छिन्, आनन्दमा मस्त छिन् । उनी पनि अरूसरह नाच्तै-गाउँदै मस्तानामा कुदिरहेकी छिन् किनभने नानीथकुंलाई राम्ररी थाहा छ, उनका बाबु अष्टनारानलाई रोपाइँको दिनमा जस्तो सुख, आनन्द, मजा र खुसी कुनै दिनमा पनि हुँदैनथ्यो । अनि उनलाई त्यति हर्ष बाली काटेको दिनमा पनि हुँदैनथ्यो र विवाहको दिनमा पनि । रोपाइँको दिनलाई उनी जीवनको प्रतिष्ठा आत्मआह्वान गरेको दिन सम्झन्थे । यसकारण आफ्नो जीवनमा जस्तै पीडा, व्यथा, दुःख, दर्द र जलन भए तापनि ‘आज रोपाइँको दिन खुसीयाली प्रकट नगर्नु आफ्ना पिताज्यूको आत्मालाई आघात पुऱ्याउनु हो’ भन्ने सम्झेर नानीथकुं दुःखमा पनि सुखको अनुभव, अनुभूति गरी हर्ष मनाइरहेकी हुन् ।

अत्यन्त मसिनो पानी परिरहेको छ । सब रोपाहारहरू रसले रङ्गिएर रसिला भइरहेका छन् । हाहा र हुहु गरी रोपाहारहरूले गाएको गीत मधुरताको स्वरध्वनिमा सुरिलो आलाप लिँदै आकाश गुन्जिरहेको छ । धरतीका रतिकहरूले गाएको गीतको गुञ्जनरूपी प्रवाहको बदला आकाशका बादलले वृष्टिदान गरी आदानप्रदानको सभ्य व्यवहार गरी रसिक बन्ने लोभ गरिरहेको देखिन्छ ।

आज शिवनारानको खेतमा धुमधाम रमाइलोसँग रोपाइँ भएको हेर्न दर्शकहरूको पनि ताँती लागेको छ । रोपाहारहरू जति मस्त भएर रोपाइँ गरिरहेका छन्, दर्शकहरू पनि उत्तिकै मस्त भएर हेरिरहेका छन् । शिवनारानको खेत खोलासँगै भएकाले आकाशको भर नपरीकन पनि पानी पुगेको र विशेषतः आफ्नो पनि मिहिनेत पुगेको हुनाले खेतमा रोपाइँ हुँदा त्यस फाँटमा अरू कसैको खेतमा पनि रोपाइँ सुरु भएको छैन । यहाँसम्म कि नेपालमा यसपालि सर्वप्रथम रोपाइँ नै शिवनारानको खेतमा हो भने पनि अत्युक्ति नहोला ।

रोपाइँमा ज्यादै आनन्द लागेको र जाँडरक्सीको सुरले गर्दा एकछिन त नानीथकुंको मनमा वज्रलेप भएर टाँसिरहेको पिर पनि उप्केर गएको भान भयो । बस, यसै बखत रोपाहारहरूलाई पानसुपारी खुवाउने निहुँमा घनिष्ठता बढाउने आशा गरी डाक्टर गोदत्तप्रसाद पनि टुप्लुक्क आइपुगे । लागछाडको रूपमा कहिलेकाहीँ अलिअलि पानी परिरहेको हुनाले गोदत्तप्रसाद छाता ओढेर आएका थिए ।

मस्तसित जाँडरक्सी खाई, नाचगान गरी रोपाइँ गर्दै आफ्नो व्यथा बिर्साई, दु:ख बिर्साउँदै अलमस्त भइरहेको बेला एकाएक पानसुपारी खुवाउन आएका डाक्टर गोदत्तप्रसादलाई देखेर नानीथकुंको निदाउन खोजिसकेको व्यथा एक चोटि फेरि जागेर आयो ।

डाक्टर गोदत्तप्रसादलाई देख्नासाथ शिवनारानलाई रोपाइँको मस्तीमा पनि झसङ्ग रिस उठिसकेको थियो, तर तत्क्षणै उनलाई सभ्यताको पनि याद भएर आयो र केही वास्ता गरेनन् ।

डाक्टर गोदत्तप्रसाद पानसुपारी खुवाउन आएको देखेर अरू खेतालाहरूको हर्षको सीमै भएन । त्यत्रा डाक्टरले पानसुपारी खुवाउन आउनु उनीहरूका निम्ति सानो कुरा पनि त थिएन । डाक्टर आइपुग्नाका साथसाथै उनीहरूले नाच्तैगाउँदै उनको खुब स्वागत गरे ।

डाक्टर गोदत्तप्रसाद आइपुग्दा रोपाइँ सिद्धिनै लागेको थियो । चलाख मानिस न ठहरिए, एक नम्बरका धूर्त ! उनी आउनासाथै रोपाइँ गरिरहेकाहरूलाई आफ्नो प्रसन्न चेहराले स्वागत गर्दै बडो गहिरो शुभेच्छा भाव देखाएर पानसुपारी बाँड्न थाले । पानसुपारी भनेर केवल यी दुई थोक मात्र थिएनन्, अनेक जातका खाने मसलाहरू सकेसम्म सफासुग्घर गरेर ल्याइएका थिए । पान पनि पातमा बेरिएका होइनन्; आठ-आठ पैसा जाने खुला बिरा; पानमा मगमग बास्ना आउने मसला पनि हाल्न लगाइएको थियो ।

डाक्टर गोदत्तप्रसादले सबभन्दा पहिले शिवनारानलाई नै पान अर्पण गरे । सत्कारको भावमा मुसुक्क हाँसेर शिवनारानले पानसुपारी अँजुलीमा थापेर लिए । यस क्रियाले डाक्टर गोदत्तप्रसादलाई बडो सन्तोष र आनन्द भयो । अनि उनले शिवनारानको परिवारका अरू सदस्यलाई पनि यस्तै भावनामा पानसुपारी बाँड्न थाले । उमेरको क्रमानुसार वितरण गरिएको हुनाले नानीथकुंको हात थाप्ने समय झन्डै बीचक्रममा परेको थियो । सबै परिवारलाई बाँडिसकेपछि डाक्टर गोदत्तप्रसादले खेतालाहरूलाई पनि त्यत्तिकै श्रद्धा र स्नेहमा पानसुपारी बाँडेका थिए ।

रोपाइँको काम अन्तिम समयमा पुगिसकेको हुनाले त्यसबाट रोपाहारहरू भित्र भरिएर आएको रसानुभूति पनि पराकाष्ठामा पुगिरहेको थियो । यस कारण रोपाइँमा हुने क्रियाको उतारचढाउ, आरोहअवरोह अर्थात् नाचगान, कुदाइ, उफ्राइ, ख्यालठट्टा मात्र द्रुत गतिमा बढिरहेको थियो । यही चरमसीमामा पुगेको आवेशमा रोपाहारहरू हिलेपानी आकाशमा छरछर गर्दै वर्षाको अभिनय गर्न थाले । नानीथकु‌ंले पनि हिलेपानी आकाशमा छराछर गरी वर्षाको अभिनय गर्दै डाक्टर गोदत्तप्रसाद उभिइरहेको ठाउँमा हिलेपानी छर्न सुरु गरिन् । हाँस्तै यताउति छल्न खोज्दाखोज्दै डाक्टर गोदत्तप्रसाद हिलेपानीले टाटेपाटेको रूपमा रङ्गिहाले । अनि त रसरङ्ग र जाँडरक्सीले त्यसै हाहा र हुहु गर्दै उफ्रँदै रोपाहारहरूले पनि डाक्टर गोदत्तप्रसाद उभिरहेको आकाशमाथि हिलेपानीको वृष्टि गराउन थाले । डाक्टर गोदत्तप्रसाद यताउति भाग्दै थिए । मस्त भएर नानीथकुं उनलाई हात समाएर तानी खेतमा खसाल्न पुगिन् । यो देखेर खेतालाहरू झन् मस्त भएर हाँस्न थाले ।

नानीथकुंको यो काम रोपाइँको मस्तीमा मस्त भएर पनि शिवनारानलाई खट्कन थाल्यो । अनि नानीथकुंमाथि आँखा तरेर अलि रिसाएको भावमा शिवनारानले भने- “नानीथकुं ! यो बढ्ता भयो, धेरै वाहियाती नबन ।”

डाक्टर गोदत्तप्रसाद रोपाइँ राम्रै सिद्ध्याएर मात्र घर फर्के । उनी फर्कंदा खेतालाहरूले बडो सत्कारसाथ अभिवादन गरेका थिए । नानीथकुंका अरू दाजुहरूले पनि डाक्टरलाई सत्कारसाथ अभिवादन गरे । त्यस दिन शिवनारान पनि उनलाई अभिवादन नगरिरहन सकेनन् ।

० ० ० ०

चौबिस

हिजोको रोपाइँको थकाइ मेट्न आज शिवनारानहरू कोही पनि खेतमा गएनन् । अब दुई-चार दिनपछि त गाई, साँढेहरूले बाली खाइदिने डर मानेर खेतमा सुत्नसमेत पनि जानुपर्ने हुन्छ । यसले पनि आज एक दिन आरामै लिऔं भनी उनीहरू खेतमा नगएका हुन् । त्यसैले आज पुननारान र हर्षनारान दुई जना मात्र थिएनन् । परिवारका अरू सदस्यहरू घरमै थिए ।

आज शिवनारान घरमा बसेको मौका र नानीथकुंको डाक्टरसँगको नराम्रो सम्बन्ध जुट्न लागेको देखिएको हुनाले लतमायाले शिवनारानसँग नानीथकुंको विवाहको कुरा चलाइन् । उनले शिवनारानलाई भनिन्- “नानीथकुंलाई अब यसै राखिछोड्न भएन, शिवनारान ! लक्का जवान भइसकी, झट्टै बिहे गरिदिनुपर्यो, नराम्रो कुरा सुनिन थालिसक्यो । योभन्दा पनि नराम्रो कुरा सुन्नुपर्ला भनेर बिघ्नै डर भइसक्यो, मलाई त । जे गरेर, जे सहेर पनि यो एउटीको बिहे गरिदिऔं, हर्षनारानको बरु पछि गर्दै गरुँला, त्यस्तो कुनै हतारो छैन ।”

“मैले पनि यही सोचिरहेको छु, आमा ! बदमास डाक्टर गोदत्तप्रसादको बिघ्नै डर भइसक्या छ, मलाई ।” शिवनारानले अलि गम्भीर भावमा भने ।

“मलाई पनि डर भइरहेको छ त्यसको, त्यसैले म भन्छु सोचेर मात्र भएन, झटपट गरिहाल्नुपर्यो ।” लतमायाले भनिन् ।

“खै, कसैले भन्न आउँदैन । हामी अलि प्रगतिशील भएकाले समाज हामीदेखि टाढा रहन खोज्छ, समाजमा अलि अगाडि बढ्न खोजे पनि नहुने, अरू साधारण मानिसहरूजस्तै रूढि र परम्पराभक्त भइरहन भने हाम्रो मन मान्दैन । अलि जान्नेबुऊनेलाई फसादै हुँदो रहेछ । फोने’ गरेर कसैलाई दिन जाऔँ, भन्न जाऔँ भने हलुकै मात्र हुने देख्छु । नानीथकुं आफैँले आफूलाई चाहिने साथी रोजेर जाओस् भन्ने विचार गरिरहेको थिएँ, उनले भने अर्काको पोइ, बाबु भएर बुढा भइसकेका, साँच्चै भनूँ भने उसका निम्ति एकदम सिल्पट दुलाहा खोज्न आँटिरहिछ । त्यो डाक्टरसित गएपछि जुलुम हुँदैन ? हुनसम्मको दुःख नपाउली, उसले ? बाको पनि ‘आफैँले छानेर जाओस्’ भन्ने विचार थियो । स्वतन्त्रता दिऔँ भने यस्तो बडो फसादको समस्या आइरहेको देखेँ मैले आमा !” शिवनारानले अलि दिक्क मानेर भने ।

“रामबहादुरको कुरालाई नै सुनौं कि ? उनी धेरै चोटि आइ पनि सके ।’ “उसको के कुरा ?”

“उही सुरमान सुब्बाको कुरा । नानीथकुंका निम्ति सुरमान सुब्बाले ज्यान थापिरहेका छन् रे ! उनैलाई दिए के होला ? मैले हेर्दा पनि नानीथकुं भाग्यमानी होली ।”

“ज्यान थापेर अर्काकी छोरीबेटी पाइन्छ, तरुनी स्वास्नी पाइन्छ भने म पनि ज्यान थापूँला । सुरमान सुब्बा तपाईंलाई हुन्छ भने नानीथकुं आफैँले पनि मन पराएर रोजेको डाक्टर गोदत्तप्रसाद कति कुराले चित्त बुझेन त ? मैले हेर्दा त डाक्टर गोदत्तप्रसाद सुरमानभन्दा सय गुना बेस छन् । त्यही धनदौलत, मानमर्यादाको आँच, चहकमहक, रबाफरौनक देखेर भन्नुभएको होला, त्यस्ता बुढासुढा, कसैका पोइ, बाबु र वासनाका निम्ति बिहे गर्न खोज्ने बेबकुफलाई दिने कुरा मसँग गर्दै नगर्नोस् आमा ! म त्यस्तो अवैधानिक विवाहको समर्थन कहिल्यै गर्दिनँ ।”

“नानीथकुंको चिना उनलाई साह्रै मिल्छ रे, सरदार नभई छोड्दैनन् रे, त्यसैले दिऔं कि भन्ने विचारसम्म पोखेकी ।” सरल भावमा लतमायाले भनिन् ।

“राजै हुनेछन् भने पनि दिन्नौं । उनकी छोरी मलाई दिए भने म काजी हुन्छ रे, देलान् ?… यी सबै भुलभुलैयामा हाल्ने बदमासी कुरा हुन् आमा ! यस्तो कुरामा कहिल्यै फस्न नखोज्नुहोला ।” सम्झाएको भावमा शिवनारानले भने ।

“उनलाई दिए नानीथकुं र हामीले पनि अलि सुख पाउन सकौँला भन्ने आशाले भनेकी हुँ । तिमीलाई मन नपरे नदिऔँला ।” लतमायाले भनिन् ।

“यस्तो पाप कहिल्यै पनि नचिताउनुहोला आमा । हामीले अलिकति सुख पाउने आशामा उसलाई बेच्ने ? यस्तो कुरा भुलेर पनि नसोच्नुहोला हामी जीवनभर दु:खैमा फसेर, अल्झेर, रगडिएर मरौं तर हाम्रो सुखको बदलामा हामीले आफ्नी बहिनी वा छोरीभतिजीलाई उनीहरूको जिन्दगीलाई दु:ख सङ्कटमा नफालौँ, तपाईं मेरो यो कुरामा सधैँ ध्यान दिनोस् ।” सम्झाएकै भावमा नम्रतासाथ शिवनारानले भने ।

“ऊ तल्सिङ, हामी मोही ! पोहोर सालको बाली तिर्न बाँकी नै छ, सास्ती गर्ला भन्ने पनि मलाई डर लाग्छ बाबू !”

“यही कुरा त मैले भनिरहेको, हाम्रो अलिकति सुखसुविधाका निम्ति नानीथकुंको जिन्दगी होम्ने ? कस्तो खराब चिताउनुभएको आमा ! तपाईंले ?” शिवनारानले भने ।

“के भन्ने त त्यसो भए रामबहादुर आउँदा ? ‘हुन्न’ भन्ने जबाफ दिइपठाऊँ त ?” लतमायाले सोधिन् ।

“यस्तो कुरै नगर्नोस् भनी सिधा जबाफ दिइपठाउनोस् । मिठोमसिनो कुरा गरेर आशामा किन अर्कालाई व्यर्थ भुलाइरहने ?” शिवनारानले भने- “मैले तपाईंलाई भनिहालेको थिएँ नि, देशी तानको मद्दत नलिनोस्, बिनामागी एकाएक सहयोग पाउनु खतरनाक कुरा छ । सुरमान सुब्बा कुनै महात्मा होइनन्, जोकसैको दु:खपिरमा सहसा रुन्छन्, जहाँसम्म मेरो अनुभव छ, उनी एउटा धूर्त, बदमास, बेबकुफ हुन्, उनले बालाई मर्न लाग्दासम्म पनि रुवाएका छन् । आखिर त्यस्तै सिद्ध भयो कि भएन ?”

एकछिन चुप भएर लतमाया बोलिन् – “त्यसो भए के गर्ने त ? भन्न आउने, भन्न पठाउने कोही छैन, आएका हामीलाई चित्त बुझ्दैन । पूरा तरुनी भइसकी । फेरि डाक्टर गोदत्तप्रसादसितको नराम्रो कुरा दिन दुगुना, रात चौगुना बढ्दै छ ।”

लतमायाका यी कुरा सुनेर शिवनारानले अलि गौर गरेर भने- “हामीजस्तै प्रगतिशील मानिसहरूलाई आह्वान गर्नुपर्ला, बरु फोने गरेर पनि लायक व्यक्तिलाई दिनुपर्छ । म त भन्छु, भरसक अऊ नानीथकुं आफैँ नै त्यस्ता कुनै लायक मानिसको चुनाउ गरोस् ।”

लतमाया चुप भइन् । यत्तिकैमा सुरमान सुब्बाका मानिस रामबहादुर टुप्लुक्क आइपुगे । आउँदाआउँदै रामबहादुर बोल्दै आए- “अहो, शिवनारान ! आज निस्कँदा सगुन देखेकाले तिमीसित भेट्न पाउँला कि भन्ने आशा मात्र गर्दै आएको थिएँ, तिमीलाई पाइहालेँ । आज मेरो भाग्यले गर्दा तिमी खेत नगईकन घरै बसिराखेका रहेछौ ।”

शिवनारान सभ्यताको मर्यादा राख्न खुब जान्दथे । आफ्नो घरमा आउने बस्ने मानिसलाई स्वागतसत्कार गर्ने बानी पनि भएको हुनाले शिवनारानले रामबहादुरलाई खुब सत्कार गरे । रामबहादुरलाई बसाइसकेपछि शिवनारानले उनीसित आउनाको कारण बडो नम्रताका साथ सोधे । रामबहादुर पहिलो दर्जाका धूर्त मानिस थिए । उनले आफू आउनाको खास कारण नबताई अर्कै कारण बताउने चलाखी गर्दै भने- “रोपाइँको बेला भएको हुनाले सुब्बासाहेबले पठाउनुभएको । उहाँलाई किसानहरूको मर्का खुब थाहा छ, रोपाइँको बेला रुपियाँ-पैसा नभएर वा नपुगेर किसानहरूलाई हाहा पर्ने अवस्था उहाँलाई जाहेर छ । त्यसैले ‘एक चोटि हेरेर आऊ’ भनी उहाँले मलाई पठाउनुभएको । भन, कदाचित् तिमीलाई कुनै कुराको मद्दत चाहिएमा उहाँ दिन तयार हुनुहुन्छ ।”

“उहाँको दिललाई मेरो धन्यवाद छ । उहाँको दयालाई म पनि सराहना गर्छु । किसानहरूको मर्का थाहा पाउने उहाँको भावना सधैँ ताजा रहोस् । तर रामबहादुरजी ! हिजो मात्रै रोपाइँ सकियो । आशा छ, यसपालि त सुब्बासाहेबको पोहोरको बाँकी तिरोसमेत तिर्न सकुँला, सुब्बासाहेबको अनुग्रह देखेर साह्रै खुसी भयो भनी सुनाइदिनुहोला ।” शिवनारानले हाँसेर सोमतसाथ भने ।

“बडो खुसी लाग्यो, म ईश्वरसँग पुकारा गर्दछु, तिम्रो खेतमा यसपालि राम्रो बाली फलोस् । अरू कामलाई पनि यदि तिमीलाई मद्दतको खाँचो छ भने भन शिवनारान । सुब्बासाहेबसित म बिन्ती गरिदिनेछु ।” स्नेहपूर्ण भावमा रामबहादुरले भने ।

“धन्यवाद छ तपाईंको यो कृपालाई पनि रामबहादुरजी । अहिले मलाई केही खाँचो छैन, कुनै कुराको जरुरत परेमा तपाईंहरू भइहाल्नुहुन्छ नि भन्ने याद गरी म भरोसा गर्नेछु ।” खुसी मान्दै शिवनारानले भने ।

“कति चाँडो तिम्रो खेतमा रोपाइँ सिद्धिएको शिवनारान ? सायद सबभन्दा पहिले रोपाइँ भएको यसपालि तिम्रै खेतमा हो कि ?” रामबहादुरले भने । “सबभन्दा पहिले मेरै खेतमा रोपाइँ भएकै होला भन्न त म सक्तिनँ तर यसपालि मेरो रोपाईं चाँडै नै सिद्धियो भन्नुपर्छ ।” हाँस्तै शिवनारानले भने ।

“त्यसो भए अहिलेलाई केही मद्दत चाहिँदैन होइन ? सुब्बासाहेबलाई त्यही बिन्ती चढाइदिऊँ है त ? हाम्रा सुब्बासाहेबको दिल ज्यादै फराकिलो छ हगि शिवनारान ? हिजोआज त्यस्ता देउता कहाँ पाउन सकिन्छ ? कत्रो विवेक हेर उहाँको ! भन त शिवनारान ! तिमीलाई कस्तो लाग्छ सुब्बासाहेब ?” रामबहादुरले सुब्बा सुरमानको तारिफ गर्दै भने ।

“अँ, त्यसै भन्नुपर्छ, त्यस्ता मानिस कहाँ पाउनु !”

“त्यसैले मैले पनि जोर गरेको शिवनारान ! तिमी सधैँ खेतमा हुने हुनाले तिम्री आमालाई जम्मै कुरा भनेर गएको थिएँ । ‘आज पक्का जबाफ दिन्छु’ भनी तिम्री आमाले भनेकीले त्यस कुराका निम्ति म आज यहाँ आएको हुँ । मेरो भाग्यले झन् आज तिमीलाई नै भेट्न पाएँ ।” सिलसिला मिलाउँदै रामबहादुरले मौका छोपेर भने ।

“ए रामबहादुरजी ! तपाईं नरिसाउनुहोला ।” विनम्र भावमा शिवनारानले भने- “तपाईंले गर्नुभएको कुरा नहुने भयो, तपाईंलाई बिनसित्ति फुलाएर आशा देखाइराख्नु मनासिब छैन, मेरो त्यस्तो बानी पनि छैन । सफा भनिदिन म राम्रो ठान्दछु । कुराको मजबुन यही हो कि तपाईंले गर्नुभएको कुरा हामीलाई बिलकुल मन्जुर भएन ।”

“किन ?” दिक्क लागेको भावमा रामबहादुरले सोधे ।

“किन ? प्रश्नको फेरि के उत्तर दिऊँ ? हामीलाई मन्जुर भएन, बस, तपाईं यत्ति कुराबाटै सन्तुष्ट हुनुहोला ।” शिवनारानले गम्भीर जबाफ दिए ।

“तैपनि केकति कुरामा तिमीहरूलाई चित्त बुझेन, भन न ।” रामबहादुरले कोट्टयाएर सोधे ।

“कुन कुरा चित्त नबुझेको बताऊँ रामबहादुरजी ! प्रस्ट थाहा पाउन चाहनुहुन्छ भने चित्त बुझेको कुरै कुनै छैन, यसरी भने अझै प्रस्ट होला- एउटा पनि कुरा हामीलाई चित्त बुझ्दैन ।” शिवनारानले प्रस्ट भनिदिए ।

“तिमीले सुब्बासाहेबको साह्रै अपमान गरिरहेछौ शिवनारान !”

“तपाईं जे सम्झनोस् ।”

“तैपनि तिमीले समालिएर बोल्नुपर्ने । यसरी बेसोमत प्रकट गर्नु मनासिब छैन ।”

“निधो जबाफ माग्नुभएको हुनाले चित्त नबुझेको कुरा बताएकोलाई नै तपाईं अपमान, बेसोमत इत्यादि सम्झनुहुन्छ भने अफसोसको कुरा छ रामबहादुरजी ! यसको फेरि म कुन शब्दले जबाफ दिइरहूँ !”

“तैपनि तिमीले होसियार भएर जबाफ दिनुपर्ने । उहाँ र आफ्नो अवस्था पनि त तिमीले हेर्नुपर्छ ! ‘सानो मुख ठुलो कुरा’ नहुनुपर्ने !” अलि रिसाएर रामबहादुरले भने ।

“अलि मुख समालेर बोल्न सिक्नोस्, रामबहादुरजी ! धेरै सहनु भनेको जल्लाई पनि गाह्रो हुन्छ, तपाईं यसको पनि विचार गर्नुहोला ।” शिवनारानले पनि अलि रिसाएर जबाफ दिए ।

“त्यसो भए त सुब्बासाहेबसित तिम्रो जोरी खोज्ने नै विचार छ त ? अलि ठन्डा मगजले सोच्ने काम गर शिवनारान ! पछुताउनु नपरोस् ।” धम्क्याएर रामबहादुरले भने ।

“के त ? यसको माने यही हो, किसानका छोरा केही होइनन् ? किसान केही होइन ? त्यसमा मनुष्यत्व केही छैन ?” शिवनारानले पनि अलि दह्रो भएर जबाफ दिए ।

“किसान राजा हुन्, सम्राट् हुन्, देउता हुन्, परमात्मा हुन् ।” व्यङ्ग्य भावमा रामबहादुरले भने ।

“किसानमाथि व्यङ्ग्य हानेर तपाईं यसरी उपेक्षा नगर्नुहोला रामबहादुरजी ! तपाईंलाई म यो पनि बताइदिन चाहन्छु- एक चोटिलाई मैले क्षमा गरेको छु । किसान अरू थोक केही नभए तापनि तपाईंको अन्नदाता हो, आफ्नो पसिना बगाएर समाज र देशलाई पाल्ने र रगत दिएर संसारलाई जिन्दगी दिइरहने एउटा त्यागी र तपस्वी जाति हो । अझ योभन्दा पनि बढ्ता तपाईं थाहा पाउन चाहनुहुन्छ भने पसिनाको परिश्रम र बलिदानको नातामा संसारमा सबभन्दा ठुलो किसान हो, जसलाई तपाईं ईश्वर भन्न चाहनुहुन्छ कि परमेश्वर अथवा जे भन्नोस् ।” बडो गर्वसाथ शिवनारानले भने ।

“साह्रै बढ्ता भयो, शिवनारान ! झट्टै तिमी समालिएनौ भने म तिमीलाई साफ भनिदिन्छु, मलाई अब सहन गाह्रो हुन्छ ।” खुब रिसाएर रामबहादुरले भने ।

“धम्की देखाउने बानी हटाउनोस्, रामबहादुरजी ! किसानका छोरामा जागृति आइसकेको छ । जमाना पहिचान्ने बुद्धिमानी गर्नोस् । तपाईंसित म प्रार्थना गर्छु, यो तपाईंलाई मेरो सल्लाह हो ।” गर्वसाथ शिवनारानले भने ।

“के त ? तिमी आफ्नी बहिनी सुब्बासाहेबलाई दिँदै नदिने भयौ ?” अलि नरमजस्तो भएर रामबहादुरले भने ।

“म फेरि पनि एक चोटि क्षमा गर्छु, रामबहादुरजी ! कदापि फेरि यस्तो लबज ननिकाल्नुहोला; म यसलाई गाली सम्झन्छु । म यो पनि भनिदिन्छु- फेरि यस्तो बकबक गर्नुभयो भने नतिजा यति नराम्रो हुन जान्छ कि मैले काबुमा ल्याउन नसक्ने हुन जान्छ ।” निकै रिसाएर ठुलो स्वरमा शिवनारानले भने ।

ठाकठुक आवाज सुनेर लतमाया, हाकुमाया, नानीथकुं सबै उनीहरू कुरा गरिरहेको ठाउँमा आइपुगे । शिवनारानका घरमा भएका मानिस जम्मा भएको देखेर रामबहादुरलाई अलि सरम भयो । उनले नरम भावमा भने- “तिम्रो बा अष्टनारानले दिने वचन दिइसकेको छ, शिवनारान ! मरिसकेका आफ्ना इमानदार बाबुको वचन राख्ने काम गर, तिम्री आमा लतमायाको पनि मन्जुरी छ । सोध, तिम्री आमा त मौजुद छिन् ।”

“मेरो पिताज्यूले यस्तो अनुचित मन्जुरी कहिले पनि दिनुभएन, यो बिलकुल फुट कुरा हो । कदाचित् भुलले उहाँले वचन दिनुभएको साँच्ची हो र आमाको पनि मन्जुरी छ नै भने पनि म यस्तो कुरा कदापि समर्थन गर्दिनँ । यस्तो अनुचित कुरामा आमाबाबु कसैको पनि कुरा सुन्ने र मान्ने कमजोरी कदापि गर्दिनँ । अरूको त के साक्षात् नानीथकुंले मन्जुर गरेकी भए पनि म विरोध गरेर बिथोलिदिन्छु । त्यसैले रामबहादुरजी । तपाईंले कसैको पनि दुहाई गर्नु फजुल छ ।” शिवनारानले प्रस्ट भनिदिए ।

“शिवनारान । म तिमीलाई समय दिन्छु, राति सुत्ता अलि ठन्डा मगजले एक चोटि विचार गर र आफ्नो परिवारसँग पनि एक चोटि सल्लाह गर । अहिले मात्र होइन, तिम्रो भविष्य र तिमीहरूका सन्तानहरूको पनि सुख पाउने कुरा तिम्रो हातमा आइरहेको छ ।” केही सम्झाएर भनेको भावमा रामबहादुरले भने ।

रामबहादुरले यति भन्नासाथ शिवनारान रिसले आगो भई जुरुक्क उठेर उसको गर्दन समाउन पुगे । दुवै हातले बेसरी रामबहादुरको गर्दन ङयाँच्च समाउँदै शिवनारानले भने- “भन् साले ! अब के चाहन्छस् तँ ?”

लतमाया, हाकुमाया, नानीथकुं सब छुट्टयाउन दगुरे । उनीहरूले शिवनारानलाई तानिरहे, रामबहादुर डरले थरथरी भएर ‘ऐय्या !’ भनी कराउँदै मुस्किलसित गर्दन चलाउँदै शिवनारानको मुखतर्फ हेरेर भने- “छोड् !”

रामबहादुरको गर्दन छोड्दै शिवनारानले भने- “साले ! यस पटकलाई पनि तँलाई दया भयो, माफ भयो, जा ।”

“के त पोहोर सालको बाँकी बाली पनि आफ्नो यही पशुबलको भरमा पचाउन हिम्मत गरेको ?” दुखेको गर्दन यताउता चलाउँदै रामबहादुरले भने- “तानमा परेको तीन सय रुपियाँ के गर्छौ नि ? सुब्बासाहेबले अहिल्यै लिएर आइज भन्नुभएको छ ।”

“कसले भनेर ल्याइस् तान ! हामीले ‘ल्याइदे’ भनेर हात जोडेका थिएनौँ । लैजा तानको तानै खाँचो परेको छैन त्यसको पैसा तिरिरहन ।” शिवनारानले कड्केर भने ।

रामबहादुरसँग यति बोलिसकेपछि शिवनारानले लतमायातिर हेरेर भने- “दिएर पठाइदिनोस् उसको तान ।”

शिवनारानले फेरि रामबहादुरतिर हेरेर भने- “लैजा तेरो तानको तानै, तँ पाजीहरूको तानको खाँचो परेको छैन हामीलाई !”

रामबहादुरको बेबकुफी देखेर हाकुमायालाई पनि साह्रै झोंक चल्यो, मारिहालूँजस्तो उनलाई भयो । त्यसैले शिवनारानले उसको तान दिइपठाउने कुरा गरेपछि हाकुमायाले भनिन्- “के खाँचो त्यस बदमासलाई तान बोकाएर पठाइरहन ! त्यस बदमासलाई, बेबकुफलाई, के उसको बेबकुफीको पुरस्कार- स्वरूप तान दिने मूर्खता हामीले गर्ने ? दियो लियौं, फेरि फर्काइरहने मूर्खता किन ?” रामबहादुरतिर हेरेर हाकुमायाले भनिन्- “जा, पच भयो तेरो तान ! कागज भएको होइन, ‘जस्तालाई त्यस्तै ढिँडोलाई निस्तै । तँ बदमाससित हामीले किन भलादमी हुनुपरेको छ ! यही तँलाई दण्ड भयो । जा, पच भयो तेरो तान, नालिस गर्न जा ।”

हाकुमायाको कुरा सुनेर नानीथकुं खिस्स हाँसिन् । लतमाया केही बोल्न सकिनन् । शिवनारान पछाडितिर हेरेर आफ्नी स्वास्नीको साहस देखी हाँसिरहे । रामबहादुर एक शब्द बोल्न सकेनन्, ढुङ्गाको मूर्ति उभिएर त्यसै जिल्ल परिरहे । एकछिन वाल्ल परेर ‘देखा जाएगा’ भनी रिसले चुर भएर गए । “देखा जाएगा भने देखा जाएगा ! लौ जा, के गर्लास् तैंले ?” हाकुमायाले जबाफ दिइन् ।

० ० ० ०

पच्चिस

शिवनारान आज साबिक समयमा खेतमा गए । आजदेखि उनले नानीथकुंलाई पनि खेतमा लैजान सुरु गरे । रोपाइँ सकिएकाले खेतको सुरक्षाका लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात् रातदिन खेतैमा बस्ने बन्दोबस्त पनि शिवनारानले गरे । खास गरेर शिवनारानको कोठाको एक परिवार खेतैमा बस्न थाल्यो । नानीथकुं र पुननारानकी स्वास्नी, अनि उनका दुई केटाकेटीसहित दिनभरि खेतमा काम गरी साँझमा फर्किन्थे ।

शिवनारानकी स्वास्नी हाकुमायाको नीद अलि चर्को छ । सुत्नासाथै उनी घुर्रघुर्र घुरेर सिङ्गै रात खान सक्थिन् । उनी सुतेको ठाउँमा आएर कसैले चाहे बाजा नै बजाओस्, सितिमिति उनी चाल पाउँदैनथिन् ।

आज पनि हाकुमाया निदाउन निदाउन खोजिरहेकी थिइन्, शिवनारानले ठट्टा गर्दै भने- “छि: कति सुत्नुपर्ने मानिस ! एकछिन ठट्टा त गर, तरुनी नै होइन जस्तो ! बत्ती निभाएर अँध्यारो भइरहेको यो कोठामा आफ्नो दाँत देखाएर उज्यालो त पार । सुतेको हेरेर बस्नुपयो भने मलाई शुक्ल पक्षका चन्द्रमालाई कालो कपडाले छोपिराखेको जस्तो लाग्छ ।”

“छि: बुढो भएर पनि कति ठट्टा गर्नुपर्ने !” हाकुमाया मुसुक्क हाँसिन् ।

“तिम्रो यौवनमा खेलिरहेका तिम्रा ती दुवै हाँस्ता आँखा र हिसी परेका परेलाका ती दुवै प्वालहरूले उत्तिकै तान्दै छन्, कहाँ तिमी मलाई बुढो भन्छ्यौ ?” शिवनारानले पनि हाँसेर भने ।

“गालामा चाउरी गन्यो भने यता सात, उता सात गरी थोरैमा चौध होलान्, अझ आफूलाई तरुनो भनाउन मन छ ? बुढो मानिसले ठट्टा गरेको देख्ता मलाई काउकुती लागेर आउँछ ।” ठट्टाको भावमा हाकुमायाले भनिन् ।

“म बुढो लागे अझै अर्को तरुनोसित ठट्टा गरे पनि ‘हा !’ भन्ने छैन के म ।” ठट्टाकै भावमा शिवनारानले भने ।

“छिः चुप लागेर सुत्नोस्, बाह्र बजिसक्यो होला, अर्कालाई नीद आइसक्यो ।” अलि नखराउँदै हाकुमायाले भनिन्

“नीद आएको देखेर त ‘नसुत, ठट्टा गर’ भनेको, नीद नआएको भए ठट्टा पनि त मिठो हुने थिएन ।” शिवनारानले मुस्कुराउँदै भने

“छिः सुत्नोस् झट्टै, तपाईंलाई नीद नआए म त सुत्छु, मलाई त आइसक्यो ज्यादै ।” मुस्कुराउँदै हाकुमायाले भनिन् ।

“एकछिन ख्यालठट्टा गरेर त रमाऊ ! खेत कुर्न आएकी रे, घर होइन त सुतेर बिताउनलाई मेरी हाकु रानी !” ठट्टाको भावमा शिवनारानले भने । “ज्यापूकी छोरी ज्यापुनीलाई केको ‘रानी’ भन्नुपर्छ !”

“त्यसो भए मलाई भन त ‘राजा’; मलाई त मन पर्छ ।

“तपाईं झन् ज्यापूको छोरा, त्यस्तै खेत कुरेर, खर्पन बोकेर, कसरी ‘राजा’ हुन सक्नुहोला ? हुनै नसक्ने कुरा । बरु कुनै राजाकी स्वास्नी हुन जान सके म ‘रानी’ हुन सक्छु ।” ठट्टाको भावमा हाकुमायाले भनिन् ।

यत्तिकैमा खेतमा बस्तुभाउ चरेको आवाज सुनेर शिवनारान हातमा लौरो लिएर कुद्दै गए । रातको बेला हुनाले हाकुमाया पनि शिवनारानको पछिपछि दौडँदै गएकी थिइन् । आफ्नो रगत पसिना दिएर कमाएको खेतमा यसरी गाई चर्न आएको देखेर शिवनारान धुमचक्र रिसाएका थिए । रिसको झोँकमा उनले गाईलाई साह्रै नै पिटे ।”

“भैगो, भोलि गाईलाई थानामा बुझाइदिनुहोला । लिलाम भैहाल्छ, यसका धनीलाई पनि सजाय भैहाल्छ । यो बिचरा पशुलाई के थाहा, उसको त हरियो बिरुवापात खोजीखोजीकन खाने स्वभावै हुन्छ । अव्यवस्थासाथ यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनुपर्छ ।” हाकुमायाले सम्झाउँदै भनिन् ।

बल्ल शिवनारानको रिस मर्यो । ओसारमा पसेर पल्टँदै उनले हाँस्तै ठट्टाको भावमा हाकुमायालाई भने- “आज तिमीसँग ठट्टा गर्न नपाएको भए सायद म पनि निदाइसक्थेँ, बदमास गाईले आज हामीले रगत पसिना बगाएको खेर पठाइदिने थियो । भाग्यै भयो, आज तिमीसँग ठट्टा गरिरहेको !”

भोलिपल्ट उठ्नासाथ शिवनारानले गाई थानामा बुझाइदिए ।

बाँकी अर्को साता …