अनुतप्त हृदय

भोलिपल्ट मोहन होस्टेलको कोठामा बसेर एउटा पत्र लेख्न लागिरहेथ्यो । पत्र तुलसी बाजेलाई थियो ।

हिन्दू यूनिभर्सिटी,
बनारस
१४-९-

प्रिय शर्माजी,

एउटा विशेष आवश्यक कुरो छ । तपाईंले मलाई शेखरका सम्बन्धमा एउटा घटना सुनाउनुभएथ्यो । अस्ति दैवक्रमले मसित एउटा वृद्ध नेपाली र तिनकी कन्याको यहाँ भेट भयो । छोरीको नाउँ माया देवी- बूढाले ‘माया’ भनी बोलाउँछन् । के यही सरल प्राण भएकी बालिका शिक्षित शेखरको कामना…”

हठात् शेखर ढोकामा आएर उभियो औ मोहन पत्र लेख्न छोडेर मेच त्याग गरेर उभियो । मोहन ठूलो विस्मयमा पर्यो औ एक छिन पक्क परेर शेखरलाई हेरिरह्यो ।

शेखर पनि केही नभनी अघि सरेर मोहनको खाटमा गएर बस्यो । मोहन अचल भएर शेखरलाई एकोहोरो हेरिरहेको छ ।

शेखरको सधैंको हँसिलो र प्रफुल्ल अनुहार सुकेको छ । शेखरका केश फुस्रा छन्- शरीरका बस्त्रमा धूलै धूलो छ । त्यसका आँखा कोटरभित्र गाडिएका छन् औ निधारमा चिन्ताको रेखा स्पष्ट अङ्कित भएका छन् ।

मोहनले मेचमा बस्तै धीर गम्भीर कण्ठले भन्यो, “शेखर, तिमी सुअवसरमा आइपुग्यौ । अस्तिदेखि मेरो मनमा एउटा जटिल प्रश्नले तुमुल आँधी मच्चाइरहेको थियो । एउटा प्रश्न सोध्ने एउटा कुरा जान्ने मलाई ठूलो इच्छा भइरहेथ्यो । तिमी स्वयं आइपुग्यौ- बढिया भो ।”

शेखरले तिक्त विरक्त स्वरले भन्यो, “मोहन, यो कस्तो अचम्मको कुरा । मित्रलाई सत्कार गर्न ता कता हो कता, कुशल मंगलको समाचार सोध्नु परै जावस्, भेट हुनेबित्तिकै यस्तो रहस्यपूर्ण स्वाँग किन रचेको ?”

मोहनले शेखरपट्टि नहेरी, लेख्तै गरेको पत्रपट्टि निर्देश गरेर भन्यो “शेखर, म एउटा प्रश्न गर्न लागिरहेथें । सम्भवतः यसको दुरुस्त उत्तर तिमी दिन सकौला ।”

शेखरले मोहनको रुक्ष भाव र गाम्भीर्यको वास्तै नगरी भन्यो, “मोहन, तिमीलाई कुनै प्रश्नको उत्तर दिन म कलकत्ताबाट बनारस दगुरेको होइन । सुन मोहन, एउटा उदेकको घटना म तिमीलाई सुनाउँछु, सुन । ज्वालामुखी पर्वत एकाएक फाटेर पर्वतका फेदीमा सैकडौं वर्षदेखि निस्फिक्री रहेको शहर निमिषमा लुप्त हुन्छ रे जहाँ क्षणभर अघि मानिसहरू प्रेम गर्थे, द्वेष र डाहले मर्थे, गवेषणा र आविष्कार गर्ने प्रयास गर्थे, जहाँ जनकोलाहल हुन्थ्यो, नाना रकमका वाणिज्य र व्यवसाय चल्थे, त्यहाँ पृथ्वी-गर्भबाट निक्लेको विगलित, धातुस्तूपबाहेक अरू केही देखिंदैन रे । जहाँ एक छिनअघि आशा थियो, उमङ्ग थियो औ जीवन थियो, जहाँ सभ्यता र संस्कृति थिए, समाज र संगठन थिए, त्यहाँ निर्जीवता र अन्धकारदेखि बाहेक अरू केही देख्न र सुन्न पाइन्न रे ।”

मोहन अधीर भई उठ्यो । मेचबाट उठेर शेखरका अघि त्यो असमाप्त पत्र पछारेर उसले भन्यो, “शेखर, यो पत्रमा लेखेका कुरा हेर ।”

शेखरले पत्रपट्टि किञ्चित् ध्यान नदिई त्यस्तै अन्यमनस्क भावले, त्यस्तै उदार स्वरले भन्न थाल्यो, “मेरो जीवनमा पनि आज त्यस्तै एउटा प्रलय घटेको छ । जहाँ अघि जीवन उपभोग गर्न-कला औ सौन्दर्यको चर्चा गर्न जीवनको आकांक्षा थियो, आज त्यहाँ शंका, नैराश्य र पश्चात्तापको अग्नि बल्दैछ । मैले अघि के के गरेँ- तिनका स्मृतिले आज मलाई उन्माद गराइरहेछ ।”

मोहनले धीरकण्ठले भन्यो, “शेखर, तिम्रो गत जीवनका लाजमर्दा कुराहरू तिमीले स्वयं गरेर मेरो भार हुलङ गरिदियौ । म पनि त्यही कुरा सोध्न लागिरहेथें । सुन, तिम्रो अनाचार, अत्याचार र कुकर्मको इतिहास तुलसी बाजेले मलाई दार्जिलिङमा सुनाउनुभएथ्यो । के त्यो साँचो हो ?”

शेखरले उदार भावले मोहनपट्टि हेरेर भन्यो, “मोहन, तुलसी बाजेले जे कुरा तिमीलाई सुनाए त्यो साँचो हो । मेरो विचार सिद्धान्त त्यति वेला अर्कै थियो औ त्यही अनुसार मैले काम गरेँ । समाजका बन्धन र प्रेमलाई म क्रीडाका वस्तु ठान्थेँ औ मैले तिनीसित क्रीडा र कौतुक गरेँ- मनोरञ्जन गरेँ ।”

मोहनका आँखा व्यङ्ग र घृणाले अङ्गार जस्ता काला भए- “औ शेखर ! तिमी रूपका खानि, विद्याका निधि औ ऐश्वर्यको धनी ! तिम्रो मनोरञ्जन औ क्रीडाको फलस्वरूप आज माया जस्ती नारीरत्नकी …”

बीचैमा कुरा काटेर शेखरले भन्यो, “माया ? – के मायासित तिम्रो भेट भयो ?” शेखरका आँखा सजल भए । शेखरले खाटबाट उठेर मोहनको दुवै हात समातेर भन्यो, “मोहन मैले विराम गरेँ । मिथ्या शान र यौवनको भ्रमजालमा परेर मैले आफ्नो औ माया दुवैको सर्वनाश गरेँ ।”

मोहनले शेखरका हातबाट आफ्ना हात तानेर शेखरलाई फेरि बसाएर भन्यो, “शेखर, तिम्रो अधपतनको कुरा सुनेथेँ, तर विश्वास भएको थिएन । आज तिम्रो मुखबाट सुनेँ । तिमी जस्तो नीच, पाखण्डी औ दुराचारीलाई मित्र मान्नु म सारै गर्हित कुरा ठान्छु । आज…”

शेखरले फेरि कुरा काटेर भन्यो, “मोहन, म तिम्रो बन्धुत्वको रस चाख्न अथवा तिम्रो क्रोध र घृणाको विष पान गर्न आएको होइन । तिम्रो रिस अहिले थन्क्याइराख-तिम्रो प्रसन्नता वा घृणाले मेरो केही लाभ वा हानि हुने सम्भावना छैन; न ता म त्यसको वास्तै राख्छु ! म मेरो सिद्धान्त, मत र विचारको अनुयायी थिएँ। मैले अघि जे गरेँ, राम्रै ठानेर गरेँ । त्यसपछि-एक दिन मेरो जीवनमा वीणा देखाहा परी । वीणाका आचार व्यवहारले, वीणाका चरित्रगुणले औ वीणाका प्रेमले मेरो सिद्धान्त, मत औ विचार सबैलाई एक पलमा परिवर्तन गरिदिए। जुन ‘प्रेमलाई’ अघि अवहेलना गर्थे आज त्यही ‘प्रेमले’ मेरो हृदय व्याप्त पारेर कर्तव्य र त्यागको सुमार्ग देखाइदियो ।”

मोहनले ताच्छिल्यपूर्वक भन्यो, “शेखर, काव्यधारा औ शब्दहरूको चमत्कारको खाँचो छैन । तिमी जस्ता स्वार्थीले पवित्र प्रेमको मर्म के बुझौला ?”

शेखरले भन्यो, “हुन्छ मोहन, तिम्रै कुरा साँचो । तर शब्दका जादूले तिमीलाई भुलाएर तिमीसित छलना गर्न म आएको होइन । कर्तव्यको कठोर आदेश औ त्यागको तत्त्व बुझेर, वीणाको स्वर्गीय प्रेम मैले प्रत्याख्यान गरे- औ हुन सकेछ भने म आज मेरो पूर्व कुकृत्यको पछितो गर्छु ।”

मोहन एकछिन् छक्क परेर शेखरका मुखमा हेरिरह्यो । शेखरको झोंक तथा विचित्र स्वभावसित उसको पूर्ण परिचय छ । झोंकमा शेखरद्वारा हुन केही कुरो पनि असम्भव छैन । तैपनि शेखरका चरित्रमा मोहनले फेरि एउटा सम्पूर्ण नयाँ कुरा देख्यो । शेखर जस्तो स्वेच्छाचारी थियो के त्यस्तै व्रतचारी पनि हुन सक्ला ? यही प्रश्न मोहनका हृदयमा बारम्बार उठ्न थाल्यो ।

अन्त्यमा मोहनले सोध्यो- “लौ ता, तिमी के भनेर यसरी एक्कासि अन्यत्र कतै नलागी बनारस दगुरेको नि ?”

शेखरले ईषत् हाँसेर उत्तर दियो- “त्यही ता म पनि आफैं दङ्ग परेर विचार गरिरहेछु । किन, मोहन् ? किनको उत्तर कसरी दिऊँ ? आज तिम्रो मन मेरा पूर्व कृत्य सम्झेर, थाह पाएर जलिरहेको छ । मदेखि घोर विमुख छ-स्वाभाविक हो । तर मोहन, मेरो मन ता तिम्रा विरुद्ध विद्रोही भएको छैन । म ता अघि जस्तै तिमीलाई मित्र औ सहायक ठान्छु, र मनमा घोर अशान्ति, शंका र संदेहको प्रबल लहरी उठ्ता म अरू कतै नगई तिमी कहाँ दगुरें ।”

मोहनले भन्यो, “उत्तम गर्यौ । दैवक्रमले माया र बस्नेतजी यहीँ छन् ।”

“शेखर, तिम्रा बुद्धि र विवकेले अझ पनि तिमीलाई छोडेका रहेनछन्, तिम्रो कर्तव्यज्ञान अझ पनि लुप्त भइसकेको छैन भने तिमी तुरुन्त माया र बस्नेतजीसँग क्षमा प्रार्थना गर । अघि गरेको अपराध स्वीकार गरेर तिनीहरूसँग माफी माग ।”

शेखरले एउटा पुस्तकका पत्र फर्काउँदै कण्ठले भन्यो- “त्यो ता साँचो हो, उचित हो । म दोष र अपराध स्वीकार गर्न राजी छु । तर एउटा कुराको मलाई ठूलो सन्देह लाग्छ । मोहन, मायाले कहिल्यै मेरो अपराध बिर्सनेछैन, कहिल्यै क्षमा गर्नेछैन । माया जस्ती हठी, माया जस्ती अभिमानिनी और माया जस्ती निर्भीक तरुणी हाम्रा समाजमा विरलै होलान् । मायासित बरु तरवार लिएर युद्ध गर्न गर्व छ, तर मायाका अघि लत्रनु कस्तो लाजमर्दो कुरा हो, यो म तिमीलाई स्पष्ट रीतिले बुझाउन सक्तिनँ ।”

मोहन असहिष्णु भएर फेरि मेच परित्याग गरेर उठ्यो । आफ्ना हातको पुस्तक टेवलमा राखेर मोहनले उच्च स्वरले भन्यो, “शेखर, नामर्द जस्तो दसवटा कुरा पारेर इतस्ततः गर्नुभन्दा आँटिलो भएर मायासँग भेट्नु म तिम्रो लागि योग्य ठान्छु । साहस छ भने तैयार हौ, म तिमीलाई तिनका बासस्थानमा पुऱ्याइदिन्छु ।”

शेखरले बाक्यं व्यय नगरी हात-मुख धोएर लुगा फेर्यो । पन्ध्र मिनटपछि शेखर र मोहन बस्नेतका घरका फाटकका अघि पुगेर उभिए । शेखरलाई त्यहीं छोडेर मोहन सिंढीमाथि चढ्यो ।

दुई मिनटपछि रामेले शेखरलाई माथिल्लो तलामा लिएर गयो । शेखरको गति धीर छ- मुखमा शान्त भाव छ । परशुराम बस्नेतका अघि उभिएर त्यसले प्रणाम गयो । बस्नेतले एउटा मेच औंलाले निर्देश गरे । शेखर त्यसैमा बस्यो ।

वृद्ध बस्नेतले अत्यन्त स्वाभाविक स्वरले भने, “इन्द्रशेखर बाबु, आज यतिका दिनपछि फेरि के सम्झेर तपाईंको शुभागमन भयो ?” व्यङ्ग्य र विरक्तिपूर्ण यो वाक्य बूढाले खूबै शान्त भावले भने ।

शेखर मौन रह्यो । के उत्तर दिने, केही विचार गर्न सकेन ।

मोहन शेखरको सहायक भयो । त्यसले छोटकरीमा शेखरको परिताप, ग्लानि र क्षोभको कथा सुनाएर शेखर क्षमायाचना गर्न आएको हो भन्ने कुरा वृद्धलाई बुझायो ।

वृद्धले फेरि त्यस्तै स्वरमा भने, “लौन त, यो ता असल कुरो हो । अपराध स्वीकार गर्नु स्वाभिमानी पुरुषको गुण हो । म के भन्छु र !” फेरि चर्को स्वरले भने- “रामे ! ए रामे ! ठूली मैयाँलाई बोला बोला ।”

एक छिनपछि सेतो सारी लाएकी, कालो केश नकोरी त्यसै पिठिउँमा छोडेकी, चञ्चल वनकन्या जस्ती माया दगुर्दै कोठामा आई औ शेखरलाई देखेर त्यो स्तम्भित भएर पछि सरी । त्यसका मृगिणीका जस्ता चटुल आँखा अश्रुपूर्ण भए । त्यसको अनुहारले विचित्र वर्ण धारण गर्यो, गोडा काम्न लागे । त्यसले ज्वलन्त आँखाले शेखरपट्टि एकचोटि हेरी औ त्यो भित्र कोठामा पसी !

शेखर अचल मूर्ति जस्तो बसिरह्यो । त्यसको सास पनि प्रायः चल्न छोडेको थियो । मोहन केही नभनेर नदीको दृश्य हेरिरहेको छ- बस्नेत कतै नहेरी तमाखु तान्नमा तल्लीन छन् ।

ढोकाको छेउमा फेरि माया देखाहा परी । आँखा त्यसका राता छन् । अनुहार उद्दीप्त छ- अभिमान र दर्पले । आत्मसम्मानकी मूर्ति भएर त्यो देखाहा परी ।

वृद्धले भने, “माया, मैले तँलाई पूर्ण स्वच्छन्दता र स्वाधीनता दिएको छु । शेखर बाबु अपराध स्वीकार गर्न र तँसँग दोष र त्रुटिको क्षमा माग्न आउनु भएको छ । तँ के भन्छेस् ?”

मायाले स्पष्ट स्वरले उत्तर दिई- “बा, यी भलादमीलाई केही भन्ने मेरो मन छैन । गएका कुरा लिएर फेरि कल्पना जल्पना गर्नु म व्यर्थ ठान्छु । मेरो अरू भन्ने केही छैन ।” यति भनेर माया द्रुत चञ्चल गतिले भित्र पसी ।

वृद्धका ओठमा क्लिष्ट हाँसोको क्षीण रेखा देखियो । तिनले तमाखु तान्दै भने, “इन्द्रशेखर बाबु, अझै केही भन्नु छ ?” फेरि जवाफको प्रतीक्षा नगरी धूवाँ उडाउँदै तिनले अलिक उच्च स्वरले भने, “तपाईंलाई थाहा छ, अघि मायासित तपाईंको कृत्रिम बन्धुत्वमा मैले केही बाधा दिइनँ । दस जनाले दस प्रकारका कुरा सुनाए- मैले ग्राहय गरिनँ । अहिले पनि मायालाई म पूर्णरूपले समर्थन गर्छु । कुनै शिक्षिता स्वाभिमानी नारीले तपाईंसित यस्तै व्यवहार गर्ने थिई ।”

शेखरको बल्ल मुख खुल्यो- “म यो कुरा स्वीकार गर्छु । तर…”

कुरा काटेर बीचैमा वृद्धले भने-“यसपछि तर, किन्तुको केही कुरा छैन, शेखर बाबु ! आउनुभयो, धन्य भएँ । तर भविष्यमा यो कृपादेखि हामीलाई वञ्चित गराउने काम गरी अनुगृहीत गर्नुहोला ।”

शेष वाक्य वृद्धले साह्रै ताच्छिल्यपूर्वक भने । लज्जा, ग्लानि, खेद र क्रोधले शेखर अभिभूत भयो । अपमानको तीव्र ताडनाले त्यो छटपटाउन थाल्यो । तर कर्तव्यको आदेश त्यसले छोडेन ।

रीस, राग औ क्रोध पचाई औ अपमानलाई बिर्सी शेखरले भन्यो, “बस्नेतजी ! तपाईंको व्यङ्गोक्ति, तपाईंको घृणा र तपाईंले गर्नुभएको अपमान सबै शिरोधार्य छ । दोष गरेँ-स्वीकार गर्न आएँ-क्षमा प्रार्थना गरेँ । भविष्यमा मौका पर्यो भने अनुतप्त हृदयले फेरि क्षमा प्रार्थना गर्ने छु । प्रणाम ।”

यति भनेर शेखर द्रुतपदले कोठादेखि बाहिर निस्क्यो । यतिञ्जेल मोहन शेखरको धैर्य र संयमको मनमनै तारीफ गरिरहेथ्यो औ माया औ बूढाले अपमान गरे तापनि शेखरको शान्ति र विनय देखेर मोहनको हृदयमा आजन्मका साथीपट्टि प्रेम, करुणा र सहानुभूति ढल्किसकेको थियो ।

शेखरले प्रस्थान गरेपछि मोहनले तीव्र स्वरले भन्यो- “बस्नेतजी, तपाईं म ज्ञानी औ उदार भनी श्रद्धा गर्थे । आजदेखि मेरो त्यो श्रद्धा हरायो । तपाईं पनि अरू मानिस जस्तै हृदयशून्य औ विचारहीन हुनुहुँदो रहेछ । आजदेखि हामी अज्ञात अपरिचित ।’

बस्नेतले अघि सरेर मोहनको हात समात्न खोजे तर मोहन अति द्रूत बेगले हानिएर बाहिर निस्क्यो । माया ढोकाको सँघारमा उभिएर यो दृश्य हेरिरहेकी थिई ।

० ० ० ०

ललितसिंहको क्रोध

तीन दिन बितिसके । शेखरको केही उत्तर आएन । पानी त्यत्तिकै एकोहोरो परिरहेको चारौं दिनमा छाता लिएर बिहानै वीणा मैना देवीको घरमा पुगी ।

ललितसिंहलाई पानी-भरी कुनै कुराले पनि आफ्ना कामदेखि छुट्याउन सक्तैन । ती नित्य नियमित समयमा बरसाती र छाता लिएर बाहिर निस्कन लागिरहेथे ।वीणालाई ढोकामा पसेको देखेर ठूलो स्वरले उनले भने, “लौ हेर, यो चञ्चल केटी । यस्तो पानी झरीमा के भनेर यसरी भिजिहिँडेकी ?”

वीणाले ललितसिंहलाई प्रमाण गरेर भनी, “तपाईं आफैँ नि ता कान्छा वा ? बूढेसकालमा इन्फ्लुएञ्जाले पक्र्यो भने ? एक दिन अफिसमा नगए के जम्मै व्यापार नाश हुन्छ ? ”

ललितसिंहले अति आदरले वीणाको केश सुमसुम्याउँदै भने “लौ, लौ, बाठी, भित्र गएर आगामा लुगा सेक् । म एक छिन यसो डुलेर आऊँ ।”

ललितसिंहलाई कामभन्दा प्यारो अरू थोक केही छैन । ती आफ्नो अफिसतिर लागे ।

वीणा सरासर भित्र पसी । मूल कोठामा आगो ताप्दै मैना देवी मोजा बुन्न लागिरहिथिन् । वीणालाई देखेर मुसुक्क हाँसेर भनिन्- “आज कसरी बाटो बिरायौ नि ?”

वीणाले हाँस्तै उत्तर दिई- “पानी हेर्नोस् न । एक मिनिट पनि दिन उघ्रँदैन । यस्तो भरीमा अन्त कसरी जाने ?”

मैना देवी- “हुन्छ, बस, बेलुका कतै उघ्रयो भने चौरस्तातिर डुल्न जाऔँला ।” वीणा सहमत भई ।

बाहिर पानी झन् बढ्ता दर्कन थाल्यो । अलि अलि जाडो पनि लाग्न लाग्यो । आगोको नजीकमा बसेर मैना देवी मोजा बुन्न लागिन् औ वीणा एउटा हिन्दीको उपन्यास पढेर तिनलाई सुनाउन लागी ।

गल्पपाठ शेष भएपछि मैना देवीले वीणालाई भनिन्- “वीणा, एउटा कुरा मलाई भन्न मन लागेको छ । तिमी नरिसाउने भए भन्छु ।”

वीणाले उदेक मानेर मैना देवीको मुखमा हेरी । त्यहाँ प्रेम, प्रीति, करुणा र कौतकु थियो ।

वीणाले मुसुक्क हाँसेर भनी, “कान्छी आमा, तपाईंले मलाई जेसुकै भने तापनि म किन रिसाउँथेँ ?’

मैना देवीले वीणालाई छेउमा तानेर, त्यसको मस्तक काखमा राखेर भनिन्, “वीणा तिमी मेरो छोरी हौ-साँचो हो । तिमीलाई बुहारी बनाएर घरको जम्मै भारा सुम्पिदिने हामी दुईको इच्छा छ । शेखर र तिम्रो बिहे गरिदिन पाए म कति सुखी हुने थिएँ ।”

यति भनेर मैना देवीले वीणाको मुख आफूपट्टि पर्काउने चेष्टा गरिन् । तर वीणा लाजले मरिहाली । त्यसका निधारमा पसीनाका थोपा देखिए । त्यसले मैना देवीका काखमा मुण्टो घुसारी । औ एकछिनपछि त्यसका दुवै आँखाबाट आँसुका धारा बग्न थाले ।

मैना देवीले उदेक मानेर सोधिन्- “वीणा, तिमी कस्ती अपारकी ? मैले के नचाहिंदो कुरा भनें र त्यसरी रोएकी ? खोई तिम्रो मुख !”

वीणाले विस्तारै मुण्टो उठाई । त्यसका आँखामा आनन्द र कृतज्ञताको ज्योति थियो त्यसका आँसु आनन्दका आँसु थिए । मैना देवीको छाती हलुङ भयो । तिनले वीणालाई अँगालो हालेर म्वाइँ खाइन् । औ त्यसका गाला मुसार्दै भनिन्, “आज मेरो भार विसियो । जेठाज्यूले परलोक हुने बेलामा तिमीलाई हाम्रा हातमा सुम्पी जानु भएथ्यो । तिमीलाई अब म जम्मै भार सुम्पन्छु ।”

वीणाले सजलनेत्रले मैना देवीलाई प्रेमका दृष्टिले हेरी । बेलुका साँच्चै नै आशानुकूल वृष्टि थामियो । पश्चिमका आकाशमा सूर्यका धमिला पहेंला किरण देखाहा परे । चराचुरुङ्गी च्याउँ च्याउँ गर्न लागे । चारैपट्टि बिहान भएको जस्तो दृश्य देखिन लाग्यो । मानिसहरूले छाता र वरसाती फालेर घाममा आङ तान्ने मौका पाए ।
मैनादेवी र वीणा पनि सन्ध्यभ्रमणमा निस्के ।

० ० ० ०

दस दिन भइसक्यो- अझै चिठ्ठी-पत्री केही छैन । वीणा साह्रै चिन्तित छ । शेखरको सम्झनामा त्यसको समस्त समय बित्दो छ । हिजो बिहान मैना देवी आइथिन् । तिनले पनि शेखरबाट केही खबर आज साता दिन भयो आएको छैन भन्थिन् । वीणालाई अज्ञात आशङ्का लागिरहेछ । विदेशमा केही अमङ्गल पो भयो कि- बिरामी पो भयो कि भन्ने अनेक प्रकारका दुश्चिन्तामा वीणा परेकी छ ।

वीणा आँगनमा रूखका सिंयालमा गलैँचा ओछ्याएर बसेकी छ । अघिल्तिर पुस्तकका थुप्रा छन् । तर ध्यान छ सुदूर कलकत्तामा । चिन्ता र व्याकुलता छन् त्यसका सहचर । वीणा यसरी उन्मत्ता भएर बसिरहेको, मैना देवी अनतिदूरमा आफूपट्टि आउँदै गरेकी देखेर त्यसको मलिन अनुहारमा आशा र आनन्दका रेखा देखिन्थे । झट्टै आसनबाट उठेर दगुर्दै गएर त्यसले मैना देवीको चरणमा मस्तक राखी ।

मैना देवीले अति आदरसित वीणालाई अँगालो हालेर घरभित्र लगिन् औ एउटा कौचमा बसाएर तिनले वीणालाई भनिन्, “वीणा, लौ यो पत्र पढी हेर । अहिलेको डाकबाट आएको ।”

खाममा शेखरको हस्ताक्षर देख्नेबित्तिकै, वीणाका आँखा अश्रुपूर्ण भए । त्यसका हात थरथर काम्न लागे, गला शुष्क भयो औ मुटु ढुक ढुक गर्न लाग्यो ।
त्यसले वाष्पनेत्रले कुनै तवरले पत्र पढी

“८७, कलेज स्ट्रीट,
कलकत्ता
२०-६-

पूजनीया आमै,

धेरै दिनपछि पत्र लेख्तैछु,-अपराध क्षमा गर्नुहोला । आमा, तपाईंलाई मायाको कुरा अवश्य सम्झना होला । तपाईंले मलाई कति सम्झाउनु भयो तर मैले केही कुरा पनि सुनिनँ, मानिनँ । विद्या र बुद्धिको मलाई ठूलो गर्व थियो औ समाजमा म जस्तो शिक्षित अरू कोही छैन भने जस्तो लाग्थ्यो ।

मैले समाजको अवहेला गरें, नारीको पवित्र प्रेमसित खेलें औ मायाको म सर्वनाशको कारण भएँ ।

तपाईंको धर्मपरायणता औ चरित्रगुणलाई पनि म अन्धविश्वास औ संस्कारदोष मात्रै ठान्थें । तपाईंजस्ती पुण्यमयी माता पाएर पनि म न्याय र धर्मको बाटो वर्जन गरी बौलाहा बटुवा जस्तो जता मन पर्यो उतै हिंडहिंडे ।

यसरी आँखा चिम्लेर हिंडिरहेथें; एक दिन वीणा विवेक र बुद्धिको प्रदीप लिएर मेरा अघि आई। वीणाका प्रेमले मेरो जीवन चञ्चल गराई दियो । प्रेम र त्यागको बाटो मैले पक्रें ।

अस्तिको साता म बनारस गएथें-मोहनलाई भेट्न । त्यहाँ माया र उसका पितासित साक्षात् भयो । मैले अपराध स्वीकार गरेँ औ दुःख र अनुताप प्रकाश गरेँ । मैले क्षमा मागें । माया मसित बोल्न अपमान बोध गरी औ उसका पिताले मलाई फेरि तिनीहरूका ढोकामा खुट्टा पनि नहाल्ने आदेश दिए ।

अपमान र क्षोभको भारी लिएर म बनारसबाट फर्कें । मैले अपराध गरेँ । समाजका बन्धन, हृदयका पवित्र भाव, प्रेम र प्रीतिका नाता-सबै म तुच्छ, अर्थहीन औ काम नलाग्ने ठान्थेँ । समाजमा धनीको छोरो भएर, विद्या र शिक्षा पाएर, मैले समाजको छातीमा कठोर पदाघात गरेँ ।

आमा, अब मेरो पछितो गर्ने बेला आयो । म वीणा जस्ती प्रेममयी पवित्रप्राणा नारीको योग्य कहिल्यै हुन सक्तिनँ औ मायाले मलाई अपमान र प्रत्याख्यान गरी- यो स्वाभाविक हो । समाजमा म जस्तालाई स्थान छैन- यो कुरा आज मैले पक्का बुझ ।

यसर्थ आमा म बिदा पाऊँ । तपाईं मेरा निम्ति शोक सुर्ता नगर्नुहोला । वीणालाई मेरो स्नेह र आशीर्वाद सुनाइदिनुहोला । बा अवश्य यो पत्र पढेर एक छिन आगो होइबक्सिनेछ तर बालाई आफ्नो कर्तव्य बाहेक अरू थोक केही चाहिँदैन ।

कलकत्तामा मेरो खोजी गर्नु व्यर्थ छ । कारण यो पत्र तपाईंका चरणमा पुग्दा नपुग्दा म कलकत्ता र नेपाली समाजदेखि धेरै टाढा हुनेछु ।

तपाईंलाई मेरो भक्तिपूर्वक दण्डवत् ।

तपाईंको पुत्र

इन्द्रशेखर ।”

वीणाको अनुहार पहेंलो भयो । कातर दृष्टिले पुलुक्क मैना देवीलाई हेरी ।

मैना देवीको मातृहृदय करुणा र वात्सल्यले उम्ली उठ्यो । शेखरको मायाले ती सारै व्याकुल थिइन् । फेरि वीणाको अवस्था देखेर तिनको हृदय झन् छियाछिया भयो । शोकाकुला मैना देवी वीणालाई अँगालो हालेर आँसु बगाउन थालिन् ।

वीणाले एक छिनपछि भनी, “कान्छी आमा, बनारसमा मोहन दाज्यूलाई तार गरे कसो होला ?”

बेलुका ललितसिंह कामबाट फर्के । गृहिणीले शेखरको पत्र पढी सुनाइन् । ललितसिंह राँकिए । क्रोध र घृणाले काम्दै तिनले गृहिणीका हातबाट शेखरको पत्र लुछेर च्यातच्युत पारेर फालिदिए ।

“पाजी पाखण्डी कुपुत्र, त्यस्ता छोराको मुख हेर्न पनि पाप लाग्छ । शिक्षा र विद्या पाएर के बहादुरी देखायो ? कुकर्मी कहाँको ! देश छोडेर गयो ? मरोस् । त्यस्ताले देश र समाजमा मुख कसरी देखाउने ।”

स्वामीका अघि मैना देवी कहिल्यै उच्च वाच्य गर्दिनन् । परम्पराको आदर्श मानेर, पतिलाई ती पुज्छिन्, भक्ति गर्छिन् । पतिले भनेका गरेका काममा बाधा दिन अथवा आपत्ति गर्न ती जान्दिनन् । अतएव ती गहभरि आँसु लिएर चूप लागिरहिन् ।

लाटासुधाको रिस एकोहोरो हुन्छ । ललितसिंह सरल प्रकृतिका निर्दोष, इमान्दार व्यक्ति थिए । ती आफू जस्तो निष्कलङ्क चरित्रका छन्, सबैलाई त्यस्तै हुनुपर्छ भन्दछन् । ती स्वयं संयमी औ सच्चरित्र छन् र छोराको यस्तो कलङ्कको कुरा सुनेर साह्रै मर्माहत र क्रुद्ध भए ।

वीणा पल्लो कोठामा छे । रिसका आवेगमा ललितसिंहले गर्जन तर्जन गरेको कोठामा स्पष्ट सुनिन्छ । दुश्चिन्ता र उद्वेगले वीणा विह्वल छे ।

क्रोधको मात्रा अलिक घटेपछि ललितसिंहले गृहिणीलाई भने- “खोइ, चिया ल्याऊ । सारा दिनको परिश्रमले शरीर थाकेको छ ।”

मुखेनीले चिया खाजा ल्याएर टेबलमा राखिदिइन् । ललितसिंहले चिया खाँदै सोधे- “वीणालाई यो कुरा भन्यौ ? ”

गृहिणीले भनिन्- “भनें, वीणा पनि त पल्लो कोठामा छे।”

ललितसिंहले वीणालाई आफ्ना कोठामा बोलाएर मृदु स्वरले भने- “हेर् वीणा, शेखरको दुष्कर्मको कथा तैंले जम्मै सुनिस् । तँ अब ठूली भइस् । तेरो ज्ञान पसेको छ । तँलाई शेखरसित बिहे गरिदिएर जीवनका शेष दिन तेरी कान्छी आमासित शान्तिपूर्वक तीर्थमा बिताउँला भन्ने ठूलो इच्छा थियो । तर नियतीले अर्कै विचार गरेको रहेछ । तँ मेरी पुत्री होस् । तेरा बा र म सहपाठी मात्रै होइनौं, दाज्यू भाइभन्दा पनि प्रिय थियौँ । मर्ने बेलामा तेरा बाले तँलाई मेरा हातमा दिएर गए । त्यस दिनदेखि न्याय र लोकका आँखामा तँ मेरी छोरी भइस्, आजदेखि शेखर मेरो निम्ति मरेकै तुल्य भयो। म तेरो हुँ। औ पिताका हकले म तँलाई शेखरको नाम पनि नलिने, शेखरलाई तेरो मदेखि दूर गर्ने आदेश गर्दैछु । तिमी दुवै स्त्रीहरूले आजदेखि शेखर मरेको छ कि बाँचेको छ, बिर्सिदेऊ ।”

सासै नफेरी यति भनेर ललितसिंहले प्यालाको चियापट्टि मनोयोग दिए । लाजले संकुचित भएकी वीणा, कुनामा निहुरेर ललितसिंहको मर्मभेदी उक्ति सुनिरही ।
एक छिनपछि ललितसिंह छाता च्यापेर फेरि घरबाट बाहिर निस्के औ मैना देवी र वीणाले आपस्तमा मुखामुख गरे ।

स्वामीले निषेध गरेको कुरा नगर्ने मैना देवीको स्वभाव भइसकेको थियो । तर माताको हृदय सन्तानको लागि छट्पटाउँछ । शेखरको स्वभाव छ एकोहोरो । कहाँ गयो, कसो गर्यो ? कुन देशतिर सड्क्यो । कि पल्टनमा पो गयो ! नाना प्रकारका दुश्चिन्ताले मैना देवीको अवस्था बडो शोचनीय भैरहेछ । के गरुन् ? जन्मभरिको संस्कार र स्वभाव पर सारेर तिनले स्वामीका आज्ञा विरुद्ध कार्य गरिन् ।

तिनले वीणालाई समातेर भनिन्, “वीणा, आमा भएर छोरीलाई पिताले भनेको कुरा नमान् भन्नु भएन । तर पिताले त्याग गरे तापनि आमाले सन्तानलाई कहिल्यै बिर्सन सक्तिनन् । मोहनलाई तार गरेर बुझाऊ ।”

वीणाले अश्रुसिक्त नेत्रले मैना देवीपट्टि हेरेर भनी, “कान्छी आमा, जीवनमा म पनि यही एउटा दोष गर्छु ।”

वीणाले एक्स्प्रेस तार गरी । मोहनले जवाफमा लेख्यो, “सम्पूर्ण हाल अवगत भयो । शेखर यहाँ फेरि आएन । म खोजी गर्न हिंडें। आमालाई शान्त गर्नु ।”

मैना देवीको छातीको गुरु भार अल्लि हुलङ भयो ।

ललितसिंहका अनुरोधले वीणा बूढी फुपू लिएर मैना देवीसित बास गर्न थाली । ललितसिंहको घरमा, तिनका समक्षमा शेखरको नामोच्चरण पनि कसैले गर्न पाउँदैन ।

क्रमशः