अठार
बिहान भयो । चराहरू चिरबिराउन थाले । निद्रा भाग्यो । शिवनारान बिउँझे । उनको परिवारका सबै जागा भए । दिनहुँ आज पनि सबेरै भात पाक्यो र झटपट भात खाएर आफ्नो दैनिक कामधन्दामा जान सबै तत्पर भइरहेका थिए तर ‘कपाल दुखेको छ’ भनी नानीथकुं भात खान गइनन् । ‘अलिकति भए पनि खाऊ’ भनी लतमायाले कति जिद्दी गर्दा पनि नानीथकुंले भात खाइनन् । कपाल दुखेर होइन, हिजोको कुराले भात नखाएकी हो भन्ने सबैलाई लागेको थियो । तर खुवाउन बल भने लतमायाबाहेक अरू कसैले गरेनन् ।
बिहानको पेट समस्या हल गरेर सबै आआफ्ना कामधन्दामा गए । दिनहुँ लतमाया र नानीथकुं केवल दुई जना घरकुरुवा भइरहे । दिनहुँ लतमायाले तानको आसनमा पुगी काम गर्न सुरु पनि गरिन् । तर नानीथकुं आज तानकोठामा आउनसम्म पनि आइनन् ।
डाक्टर गोदत्तप्रसादको प्रेम नानीथकुंको यौवनमस्त हृदयमा ज्यादै गहिरोसँग अङ्कित भइसकेको थियो । उनको प्रेम र कुराकानीले नानीथकुं यति प्रभावित भइसकेकी थिइन् कि डाक्टर गोदत्तप्रसादबाट प्रेमप्लावित हुँदाहुँदै उनीप्रति नानीथकुंको श्रद्धा, भक्ति, विश्वास एकोहोरिइसकेको थियो । डाक्टर गोदत्तप्रसादलाई कसैले किञ्चित् मात्र केही भने पनि नानीथकुंको दिलमा घाउ गराउँथ्यो ।
त्यसै रोइरहनाले र भात नखाइरहनाले अनि सहिरहनाले र बसिरहनाले आफ्नो समस्या हल हुने नानीथकुंले देखिनन् । अनि उनी एक्कासि जुरुक्क उठिन् र डाक्टर गोदत्तप्रसादकहाँ सरासर गइन् ।
डाक्टर गोदत्तप्रसादको आफूकहाँ आउने बिरामीहरूको निःशुल्क परीक्षा गर्ने बेला थियो । नानीथकुं पुग्दा डाक्टर गोदत्तप्रसाद बिरामी हेर्ने कोठामा बसी अखबार हेरिरहेका थिए । बिरामी एक जना पनि थिएनन् । नानीथकुंलाई यसरी एकाएक पाएर डाक्टर गोदत्तप्रसाद हर्षले पुलकित भए । उनको आत्मा आनन्दले नाच्न थाल्यो । अनि स्वागतको भावमा डाक्टर गोदत्तप्रसादले भने- “अहो नानीथकुं ! आज कत्रो निगाह !”
नानीथकुंले केही पनि जबाफ दिइनन्, केवल मुस्कुराइरहिन् । अनि झटपट उनी फेरि बोले- “नानीथकुं ! तिम्रो कृपाका निम्ति हृदयदेखि धन्यवाद है, म साह्रै कृतज्ञ भएँ । भन, म तिम्रो योग्य के सेवा गरूँ ?”
रोक्न चेष्टा गर्दा पनि नानीथकुंको आँखामा आँसुको छाया पर्न आइहाल्यो ।
नानीथकुंको यो दृश्य देखेर डाक्टर गोदत्तप्रसाद एकछिन जिल्ल परे ।
उनले सोधे- “किन नानीथकुं ! तिम्रो चेहरामा दुःख हाँसेको देख्तछु ?”
“अब मेरो अनुहारमा सुखले हाँस्न पाउने आशा त देख्तिनँ डाक्टरसाहेब !” अलि सुस्केरा भरेको आवाजमा नानीथकुंले भनिन् ।
“जबसम्म म तिम्रो कृपा कटाक्ष पाइरहन्छु, तबसम्म जीवनमा कहिल्यै पनि तिम्रो अनुहारमा दुःख देखा पर्नसम्म पनि दिन्नँ भन्ने मलाई घमन्ड छ नानीथकुं !” डाक्टर गोदत्तप्रसादले पूरा आश्वासन दिएर भने ।
“यही आशाले मर्न मन भएर पनि बाँच्ने कोसिस गरिरहेकी छु, डाक्टरसाहेब !”
“नानीथकुं ! केही कुरा छ भने झट्ट स्पष्ट भन, तिम्रो आजको सहसा आगमनमा केही कुरा कारण भएर बसिरहेको छ जस्तो मलाई लाग्यो ।” डाक्टर गोदत्तप्रसादले बडो मायालु भावनामा भने ।
“अब मैले तपाईंलाई पाउन नसक्ने भएँ ।” रुँदै नानीथकुंले भनिन् ।
“कुरा के पर्यो नानीथकुं ! प्रस्ट बुझ्न पाऊँ ?”
“अब तपाईं मकहाँ आउन नपाउने हुनुभयो ।”
“किन ?”
“जेठा दाइ तपाईंदेखि साह्रै रिसाउनुभएको छ । अब तपाईंलाई हामीकहाँ आउन नदिने रे !”
“किन ?”
“उहाँलाई सब थाहा भएछ ।”
“के थाहा भएछ ?”
“हामीहरूको प्रेम भएको सबै थाहा भएछ !”
“कसरी, कसले भन्यो रे ?”
“हामी दिनदिनै ख्यालठट्टा गरिरहन्छौं रे, तपाईं पनि दिनहुँ आउनुहुन्छ रे इत्यादि कुरा छिमेकीहरूले पोल लगाएका रहेछन् ।” नानीथकुंले वृत्तान्त भनिदिइन् ।
“अनि तिमीले के भन्यौ नि ?”
“रिसले भुतुक्क भएर पहिले त मैले पनि अलिअलि बोलेकी थिएँ तर झन् रडाको मच्चिन गई नराम्रो रूप लिन जाला भन्ने डरले बोल्नु ठीक पनि लागेन ।” नानीथकुंले भनिन् ।
“म तिमीकहाँ आइहालेँ भने तिम्रा दाजुले मलाई के गर्ने रे ?” अलि खिन्न भावमा डाक्टर गोदत्तप्रसादले भने ।
“बिन्ती छ, तपाईं नआउनुहोस् ।” डराएको भावमा नानीथकुंले भनिन् ।
“त्यसो भए के त अब तिमीले मलाई छोडि नै दिने त ? एकदमै छोडिहाल्ने त ?”
“किन छोड्छु ? ज्यान गए पनि तपाईंलाई म छोड्न सक्तिनँ, तपाईंले मलाई छोडि नै दिनुभए पनि म तपाईंलाई छोड्ने छैन । यो शरीरमा प्राण मात्र होइन, सास भएसम्म पनि तपाईंलाई छोड्दिनँ ।” ममतापूर्ण भावमा नानीथकुंले भनिन् ।
“के गर्ने त ? म तिमीकहाँ आउन सक्तिनँ रे, कसरी मैले मन बुझाइरहने त ?” मायालु भावमै डाक्टर गोदत्तप्रसादले भने ।
“तपाईं मकहाँ नआउने भए म नै तपाईंकहाँ आइरहुँला । कि म पनि तपाईंकहाँ आउन सक्तिनँ ?”
“किन सक्तिनौ ? खुसीसाथ आउन सक्छ्यौ । तर म नै यदि तिम्रा दाजुहरूलाई मन पर्दिनँ भने मकहाँ आइरहने स्वतन्त्रता तिमीले पाइरहन सकौली ?”
“सोधेर र थाहा दिएर मैले किन आइरहनुपर्छ र ?”
“अवश्यमेव चाँडै नै थाहा हुन जान्छ नानीथकुं !”
“थाहा भए के त ।”
“आउन रोकिदेलान् ।”
“म पशु त होइन, बाँधिराख्न सक्लान् ?”
“मनाही गरिदिए भने तिमी के गछर्यौ ?”
“म मान्दिनँ ।”
“नमानेर के गछर्यौ ?”
“के तपाईंको मलाई शरण दिने विचार छैन त ?” अलि निराशापूर्ण भावमा नानीथकुंले भनिन् ।
“त्यसो भनेको होइन नानीथकुं ! शरण त के तिम्रा लागि म ज्यान दिन पनि तयार छु ।” आश्वस्त भावमा डाक्टर गोदत्तप्रसादले भने ।
“बस, अनि मलाई के दुःख ? कसैको भनाइले मलाई के छेक्न, थुन्न सक्ला ? फगत मलाई तपाईंको प्रेमको चाहना छ । त्यही मैले पाएँ भने मलाई छेक्ने को ? संसारको कुनै शक्तिले पनि मलाई छुन सक्ने छैन ।”
नानीथकुंले यति भनेपछि डाक्टर गोदत्तप्रसाद एकछिन घुर्न थाले ।
अनि बाहिर घाम हेरेर नानीथकुंले भनिन्- “तपाईंलाई अबेर भयो कि ?”
“भर्खर ८:३० बज्यो, मलाई केही अबेर भएको छैन नानीथकुं !” भित्तामा घडी हेरी हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।
“अझै एक घण्टा त तपाईंलाई फुर्सतै छ क्यारे !”
“एक घण्टा मात्र के, तिमी चौबिसै घण्टा बस न नानीथकुं । फुर्सत कुन कुरा हो र ? बनाए छ, नबनाए छैन ।”
“अस्पताल जान अबेर हुन जाला भनेर भनेको । अस्पताल त जानैपर्छ होला !”
“क्याजुयल बिदा छँदै छ नि, वर्षदिनमा पाइने पन्ध्र क्याजुयल बिदामा एक क्याजुयल पनि लिएको छैन । यही फुर्सतले आज म तिमीलाई मनभरि पूजा गरुँला ।” हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।
डाक्टर गोदत्तप्रसादको यो अन्तिम वाक्यले झन् प्रभावित भएर नानीथकुंले भनिन्- “मलाई त घर जानै मन लागेन डाक्टरसाहेब !”
“तिमी मदेखि साह्रै खुसी भएको सुअवसरमा तिमीसित आज म एक थोक माग्ने बिन्ती बिसाऊँ है त नानीथकुं ?” प्रेमपूर्ण भावमा डाक्टर गोदत्तप्रसादले भने ।
“नाइँ, यसरी तपाईंले मलाई सम्मान गर्नुभयो भने प्रेम गरिरहनुभएको छ भन्ने मलाई विश्वास हुन गाह्रो हुन्छ । प्रेमको दुनियाँमा बिन्तीसिन्तीको अदबले ठाउँ नपाओस् डाक्टरसाहेब !” मुस्काउँदै नानीथकुंले भनिन् ।
“बातपिच्छे ‘डाक्टरसाहेब, डाक्टरसाहेब’ को धुवाँ र अदबले उल्टो तिमी नै उपाध्याय भएर अझ मलाई उपदेश दिन्छ्यौ ?” व्यङ्ग्यमय भावमा डाक्टर गोदत्तप्रसादले भने ।
आफ्नो छेडले आफैँ लडी नानीथकुं सर्मिन्दा भइन् । लाजले उनी केवल मुसुक्क हाँसिन् अनि ओठ टोकेर फर्किन् ।
“किन उता फर्केकी नानीथकुं ! हारेको कबुल गर्छ्यौ भने हर्जाना तिर र जित्न चाहन्छ्यौ भने बोल, फेरि के भन्न चाहन्छयौ ?” डाक्टर गोदत्तप्रसादले व्यङ्ग्य हानेर भने ।
“हारेको हर्जाना के तिर्ने नि ?” मन्द मुस्कानमा नानीथकुंले भनिन् ।
“हारेकोमा हर्जाना ?”
“अँ ।”
“मैले भनेजस्तो एक चोटि हाँस न त ।”
“छि: भैगो डाक्टरसाहेब ! धेरै नजिस्क्याउनुहोस् ।” अलि नखराएको भावमा नानीथकुंले भनिन् ।
ल, फेरि ‘डाक्टरसाहेब ?’ कति ‘डाक्टरसाहेब’, ‘डाक्टरसाहेब ?’ ठट्यौलो अनुहारमा डाक्टर गोदत्तप्रसादले भने ।
“के भन्ने त ?” ठट्यौलो अनुहारले नानीथकुंले पनि सोधिन् ।
“बस गोदत्त ।”
“खालि गोदत्त ?”
“के त अब सिङ पुच्छर पनि जोड्नुपयो ?”
“तैपनि ठाडै ‘गोदत्त’ मात्र कसरी भन्ने ? नाइँ म त ‘गोदत्तसोदत्त’ केही पनि भन्दिनँ, ‘डाक्टरसाहेब’ नै भन्छु, त्यही सम्बोधन मलाई मिठो लाग्छ ।” मुसुक्क हाँसेर नानीथकुंले भनिन् ।
नानीथकुंको यो अन्तिम वाक्य सुनेर डाक्टर गोदत्तप्रसाद अनौठोसँग प्रभावित भए ।
डाक्टर गोदत्तप्रसादकी स्वास्नी रञ्जनादेवी सशङ्क भएर यिनीहरू दुई जना कुरा गरिरहेकोमा बराबर चेवा गरिरहेकी थिइन् । यिनीहरूलाई यसरी अब धेरै बेर कुरा गर्ने मौका पनि दिन भएन भन्ने पनि रञ्जनादेवीले विचार गरिन् । त्यसैले उनी वार्ता भङ्ग गराई नानीथकुंलाई चाँडै धपाई पठाउने अभिप्राय गरी सरासर डाक्टर गोदत्तप्रसादले बिरामी हेर्ने कोठामा आइन् ।
रञ्जनादेवी बिरामी हेर्ने कोठामा एक्कासि आएको देखेर डाक्टर गोदत्तप्रसाद र नानीथकुं दुवै जना झस्के । सहसा रञ्जनादेवीले यसरी आएर रङ्ग भङ्ग गरिदिएकीमा झोंक चले पनि गोदत्तप्रसादले केही भन्न सकेनन् । नम्र भावमा उनले रञ्जनादेवीसँग खालि यति मात्र भने- “किन रञ्जना ! भात पाकिसक्यो कि ?”
“भातले छोराछोरीसमेत पाइसक्यो, किन यस बेलासम्म पनि आज बिरामीकोठामा अल्झिरहनुभएको भनी बुझ्न आएकी ।” रञ्जनादेवीले भनिन् ।
“हिँड, जाँदै गर रञ्जना । म आउँछु।” डाक्टर गोदत्तप्रसादले भने ।
“आइहाल्नोस् त, आज झट्टै भान्छाको काम सकेर मलाई पनि एकछिन बाहिर जानु छ ।” रञ्जनादेवी गइन् ।
० ० ० ०
उन्नाइस
डाक्टर गोदत्तप्रसादले भात खाइरहेको बेलामा कोही नभएको मौका छोपी रञ्जनादेवीले भनिन्- “होइन, तपाईंको कस्तो बानी यो, के खुड्किलैपिच्छे तपाईंलाई स्वास्नी चाहिन्छ कि ? यत्रो बडादमी भएर कस्तो चाला यो ? कसैले थाहा पाए के भन्ने होला ? यस्तो पनि बानी ! धेरै आँखा चिम्लिसकेँ, अब पनि आँखा चिम्लिरहनु त फसाद मोल्नु सम्झेर आज त भनिहालेकी – होस गर्नोस् है, टाउको फोरेर कमाइराखेको इज्जत पानी भएर नपोखियोस् ।”
“के ?” अलि आश्चर्य मानेर दबेको स्वरमा डाक्टर गोदत्तप्रसादले भने ।
“मलाई थाहा छैन ? तपाईंका एकएक कुरा मलाई थाहा छ ।”
“थाहा भए भन न त, भुलचुक गरेको छ भने अर्ती दिएर सुधार ।” मुसुक्क हाँसेर गोदत्तप्रसादले भने ।
“नरिसाईकन मुसुमुसु हाँस्ने मानिस डरलाग्दा हुँदा रहेछन्, त्यस्ता मुसुमन्डलीले मानिसको ज्यान पनि लिन बेर छैन ।” अलि रिसाएको भावमा रञ्जनादेवीले भनिन् ।
“हाँस्ने बानी तिमीलाई मन पर्दैन भने के त बहुला कुकुर रिसाए रिसाएको तिमीलाई राम्रो लाग्छ त ? तिमी यस्तै नराम्रो बानी सिकाउँछयौ भने मलाई तिमीले सुखमय जीवन बिताउन दिने सौभाग्य दिन्नौ रञ्जना !” हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।
“चुप लाग्नोस्, धेरै चिप्लो कुरा नगर्नोस्, मुख मिठो भएर के गर्ने, करनीले अर्काको कलेजा कटकट काटिसकेको छ । यसरी मिठो कुरा गरेर ढिलो मार्नुभन्दा बस, खुकुरीले एक चोटि छिनालिदिनु धेरै जाती देख्छु ।” अलि अफसोसको भावमा रञ्जनादेवीले भनिन् ।
“होइन, मैले तिमीउपर के अपराध गरेको छु र एकाएक आज ममाथि यत्रो प्रहार ?”
“केही गर्नुभएको छैन, फूल बिछ्याएर आनन्दसित सुत्न दिइराख्नुभएको छ । योभन्दा सुख अरू के होला ।”
“के दुःख दिएको छु त भन न, होस नभईकन केही दुःख पुऱ्याएको रहेछु भने समालुँला ।”
“किन दुःख दिनुहुन्थ्यो । तपाईंले पनि मलाई दुःख दिनुहोला ? दिनदिनै दूधभात ख्वाइराख्नुभएको छ- राम्रो, मसिनो, लत्ताकपडा लगाउन दिइराख्नुभएको छ, अनेक सुख सामग्री जुटाइराख्नुभएको छ । सारा भौतिक सुखले मलाई छोपिराख्नुभएको छ । तर तपाईंलाई थाहा छ ? यी सब भौतिक सुखलाई तुच्छ सम्झेर, तृणबराबर मानेर अर्कै एक विशेष सुख वा भोगलाई मात्रै स्वास्नीमान्छेहरू खास सुख सम्झन्छन् र मान्छन् । उनीहरू आफूमाथि प्रेम गर्नेलाई एकलौटी गर्न चाहन्छन् । आफ्नो हृदयका व्यक्तिलाई कसैले हेरेकोसम्म पनि देख्न चाहँदैनन् । तर अफसोस ! लोग्नेमानिसहरूले यसमा कृतज्ञता प्रकट नगरीकन उल्टो यसलाई आफ्नो अधिकार सम्झने भुल गरिरहेका छन् ।” बडो गम्भीर भएर आवेशपूर्ण भावमा रञ्जनादेवीले भनिन् ।
रञ्जनादेवीले त्यति लामो कुरा छेड्दा पनि डाक्टर गोदत्तप्रसादले चुइँक्क एक शब्द पनि बोलेनन् । सुनेकोनसुन्यै गरी खुरुखुरु भात खाइरहे । मानौं भातका साथसाथै रञ्जनादेवीले बोलेका कुराहरू पनि निलिरहेका छन् ।
डाक्टर गोदत्तप्रसादको थालमा भात पनि सकिनै लागिसकेको थियो, ‘आज यिनलाई कायल नगरी छाड्न हुन्न’ भन्ने विचार गरी रञ्जनादेवी फेरि बोल्न सुरिइन् ।
उनलाई यो पनि प्रतीत भएर आयो कि ‘गेडा नफुटेका मिठातिता लवजले मात्रै उनीबाट कुरा उकेलाउन सकिन्न, प्रस्टै सिधा कुराको डोरीले उनको बदमासीलाई बाँध्न सके मात्र उनले भएको कुरा बक्लान् ।’
यस्ता अनेक सम्भावना सोच्तै रञ्जनादेवीले भात खाइसक्नै लागेका डाक्टर गोदत्तप्रसादमाथि ठाडै हमला गरिन्- “बिरामी हेरी मानिसहरूको सेवा गर्नाका निम्ति तपाईं बिरामीकोठा खोलेर बसिरहनुभएको हो कि गालामा गुलाफ फुलेका तरुनीहरू फसाउन जाल थापिरहनुभएको हो ?”
रञ्जनादेवीको तीरसमान यो तिखो वाक्य सुनेर डाक्टर गोदत्तप्रसाद छटपटाउन थाले । भित्र पूरा बल सञ्चारित भएर पनि उनको आँखाले तोरीको फूल देख्न थाल्यो । सहसा अकमकिएर उनी बिनाप्यासमा पनि पानी पिएर बोल्न लागे- “के ?”
“के पनि कुनै प्रश्नको उत्तर हो ? मैले सोधिसकेकी छु कि तपाईं बिरामीकोठामा किन बसिरहनुभएको ?” अलि फर्केको भावमा रञ्जनादेवीले भनिन् ।
“बिरामी हेर्न ।” सरल भावमा डाक्टर गोदत्तप्रसादले भने ।
“खुब हेर्नुभयो बिरामी !” रोषपूर्ण भावमा रञ्जनादेवीले फेरि भनिन्- “मलाई थाहा छैन ? एकएक देखेकी छु मैले, तपाईंको साधु भेषमा कृष्णलीला ! अगि आउने ‘नानीथकुं’ भन्ने किसान बालासित के गरिरहनुभएको ? कि उसमा अटाइनअटाई बगिरहेको उसको वर्षाकालीन यौवन यमुनादेखि मस्त भएर आफू एउटा बिरामी हेर्न बसिरहेको डाक्टर हुँ भन्ने नै बिर्सनुभयो ?”
रञ्जनादेवीको झम्टाइ सुनेर डाक्टर गोदत्तप्रसादले मुसुमुसु हाँसेर उनको मुख एक चोटि हेरे तर केही बोलेनन् ।
“अझ खिस्सखिस्स हाँसिरहन तपाईंलाई लाज छैन ? मानिसको शोभा र सभ्यताको रक्षा गर्ने कुरा लाज हो । मानिसमा लाजै छैन भने त्यस नाङ्गो मानिससित कसको के लाग्छ ? बरु ज्यानमारादेखि डर छैन, साहुमारादेखि बच्न सकिन्छ, तर मुसुमुसु हाँसीकन बिताउने हँसमारादेखि बच्न गाह्रो छ । यस्तो पनि भलादमी मानिसको ताल हो ?” रञ्जनादेवीले भनिन् ।
“के…?” त्यसै टारेर पठाउने भावमा डाक्टर गोदत्तप्रसादले भने ।
“के के… के… भनिरहनुभको ? लाज छैन, सरम छैन, तीन तीन जना छोराछोरीको बाबु भैसकेर पनि, उसमाथि डाक्टरजस्तो भएर सितिमिति आजकल जवान मानिसले पनि नगर्ने गुन्ड्याइँ काम गरिरहने ?”
“तिमीजस्ती पढेलेखेकी स्वास्नीमान्छेले पनि अझ चेवाचर्चा गर्ने निर्घिनी काम गर्न सुहाउँछ ? चेवाचर्चा गर्ने बानी छउन्जेल जतिसुकै विद्याको उन्नति गरे पनि हामीले सुखशान्ति पाउन सक्तैनौं रञ्जना ! यस कुराको तिमीले खुब विचार गर विचार गर ।” अलि गम्भीर मुद्रामा डाक्टर गोदत्तप्रसादले भने ।
“वा ! ‘उल्टा चोर कोतवालको डाँटे !’ आफू बदमासी गर्ने, उल्टो अर्काको दोष खोज्ने ? छिः, यस्तरी पनि मानिस निर्लज्ज हुनु हुन्छ ?” अलि घृणाको भावमा रञ्जनादेवीले भनिन् ।
रञ्जनादेवीको ओठेजबाफले डाक्टर गोदत्तप्रसाद अवाक् भए । उनको मुख थुन्ने शक्ति डाक्टर गोदत्तप्रसादले आफूमा देखेनन् । अनि उनले आत्मसमर्पणको दाउ खेल्न सुरु गर्न थाले । ख्याल गर्दाको भावमा मुसुमुसु हाँस्तै डाक्टर गोदत्तप्रसादले भने- “उनले ठट्टा गर्न कुतकुत्याएपछि कसरी मैले लाछी भएर मुर्दा बनिरहने नि ?”
“त्यसो भए कसैले मसँग ठट्टा गर्न कुतकुत्याएमा बहादुर भएर मैले पनि अगाडि बढ्ने त ? त्यसरी म जिउँदो भएर निस्केमा भन्नुहोस् त तपाईंलाई मन पर्छ ?” बाघ झम्टाइमा रञ्जनादेवीले भनिन् ।
“बोल्नोस्, तपाईंकी स्वास्नीलाई कसैले ठट्टा गर्न कुतकुत्याएकोमा चाख मानेर जिस्किन तपाईंलाई एकदम मन पर्दैन भने कुनै नवयुवती ठिटीले ठट्टा गर्न कुतकुत्याएकोमा मेरो लोग्ने कुखुरी काँ गरेर दौडन पुगेको मलाई मन्जुर होला ?” चेहरा मुस्कुराउँदै रञ्जनादेवीले भनिन् ।
“मेरो कुरालाई त्यसै लऱ्याकलुरुक पारी हाँसोमा उडाएर जान पाइन्न, सफा जबाफ दिनोस् तपाईंको के विचार छ ?” चुठेर भाग्न लागेका डाक्टर गोदत्तप्रसादलाई राम्ररी सुनाएर रञ्जनादेवीले भनिन् ।
० ० ० ०
बिस
डाक्टर गोदत्तप्रसाद अस्पताल गइसकेपछि झटपट भात खाई रञ्जनादेवीले नानीथकुंलाई बोलाउन पठाइन् । उनले सोचिन्- ‘नहुनुपर्ने कुरा भइरहेछ, रिसाएर अब त्यो मेटिन्न, केवल रिसै मात्र आफूसित भइरहला, सुख अर्काको पोल्टामा पर्ला । त्यसैले अक्किल लडाउन नसके अझै पनि यस्तो डढेलोमा सुकेका पात सल्केर गएझैं जान सक्छ ।’ यही सोचविचारको निष्कर्षमा आएर उनले अक्किल जमाई नानीथकुंलाई बोलाउन पठाएकी हुन् ।
डाक्टर गोदत्तप्रसादको घरको कुकुर पनि नानीथकुंलाई देवतासिद्ध भइरहेको थियो ! त्यसैले ‘आउनू’ भन्ने सन्देश पाउनासाथ फाल हालेर नानीथकुं डाक्टर गोंदत्तप्रसादको घर पुगिन् ।
तुरुन्तै आइदिँदा बडो खुसी भएर रञ्जनादेवीले नानीथकुंलाई आफ्नो घरको सबभन्दा गुप्त कोठामा लगिन् । नानीथकुंको मनमा अनेक तर्क-वितर्क उठ्न थाल्यो । तर बाहिरबाहिर खुब समालेर उनी रञ्जनादेवीसँगै हाँस्तै आफूलाई लगेको कोठामा गइन् ।
रञ्जनादेवीले भनिन्- “नानीथकुं ! तिमी त सिधासाधा किसानकी सिधीसोझी छोरी रहिछ्यौ, तिमीलाई देखेर मलाई बडो माया लाग्यो ।”
रञ्जनादेवीको यो कुराले साँच्चीकै सिधीसोफी नानीथकुं जिल्ल परिन् । के भनेकी हुन् भनी उनी अलमल्ल परेर टोलाइन् ।
रञ्जनादेवीले फेरि भनिन्- “किसानको जीवन वास्तवमा दुःखी भएर पनि सुखी छ । हेर्दा सुखी देखिएर पनि हाम्रो जीवन सधैं तितोपनमा डुबिरहेको हुन्छ, ठीक त्यसको उल्टो तिमीहरूको किसानी जीवनचाहिँ हेर्दा दुःखी देखिन्छ तापनि सधैँ सुखशान्तिको इन्द्रेनी दौडिरहेको हुन्छ ।”
बिचरी किसान बालिका नानीथकुंले बनारस विश्वविद्यालयमा आई. ए. सेकेन्ड इयरसम्म पढेकी रञ्जनादेवीको कवितामय कुरो के बुझ्न सक्थिन् ? खालि पक्क परेर सुनिरहिन् ।
रञ्जनादेवीले सोधिन्- “तिमी बिरामी भएर जँचाउन आएकी मानिस अगि किन डाक्टरसाहेबसँग ख्यालठट्टा गरिरहेकी ? परपुरुषसित स्वास्नीमान्छेले त्यसरी ख्यालठट्टा गर्नु ठीक छ ? स्वास्नीमान्छेको इज्जत स्वास्नीमान्छेले नै राख्न जान्नुपर्छ । यसरी सस्तो र खैराँती हुनु हुन्न, नानीथकुं !”
रञ्जनादेवीले फेरि भनिन्- “त्यस्ता तीनवटा छोराछोरीका बाबु, कपालमा जौतिल पाकिसकेका बुढासित पनि तिमीजस्ती भरभराउँदी तरुनीले प्रेम गर्ने ? ‘जात फ्याँक्नु गहतको झोलमा’ भनेको यही हो ।”
रञ्जनादेवीका एक एक शब्द नानीथकुंले खुब ध्यान दिएर सुनिरहिन्, तर एक शब्दको पनि जबाफ दिइनन् । अनि रञ्जनादेवीले अर्कै किसिमबाट भन्न थालिन् । आफ्नो भनाइमा उनी भएभरको शक्ति र बुद्धि खन्याउन लागिन्- “हामी स्वास्नीमान्छेले आफ्नो जीवन भोगका निम्ति अर्पनु हुँदैन; हामी कुनै लोग्नेमानिसको भोगका निम्ति जन्मेका वा सिर्जेका जीव होइनौं । हाम्रो उमेरमा यौवन छ, हाम्रो गालामा रगत छ, हाम्रो ओठमा पानी छ, हाम्रो शरीरमा सौन्दर्य छ, हाम्रो चेहरामा मुस्कान छ, हाम्रो वाणीमा माधुरी छ, हाम्रो हेराइमा लालित्य छ, हाम्रा प्रत्येक अङ्गप्रत्यङ्गमा हिसी छ । के लोग्नेमान्छेलाई भोगाउनका लागि ती सबै गुण हामीले पाएका हौं ? कदापि होइन, ती सबै गुण हामीले हाम्रै निम्ति पाएका हौं ।”
रञ्जनादेवीले बोलेका यी सब कुरा सुनेर नानीथकुं निहुरिरहेकी थिइन् । उनले फेरि भनिन्- “किन नानीथकुं ! एक शब्द पनि तिमीले बोलिनौ ? मैले भनेको कुरा तिमीलाई ठीक लागेन ? तिमीलाई मन परेन ? भन, मेरो भनाइ तिमीलाई कस्तो लाग्यो ? ठीक लाग्यो कि बेठीक ?”
नानीथकुं केवल एक चोटि मुसुक्क हाँसिन्, तर एक शब्द पनि बोलिनन् ।
“भन न, आफूलाई लागेको कुरा बोल्नुपर्छ, नत्र आफैँलाई धोका हुन्छ । आफ्नो विचार र रायले मानिसको अस्तित्वको रक्षा गर्छ नत्र उसले आफ्नो अस्तित्व मात्र मरेको पाउँछ ।” अलि मुसुक्क हाँसेर रञ्जनादेवीले भनिन् ।
नानीथकुंले केही पनि भनिनन् खालि गम्भीर भावमा मुसुमुसु हाँसिरहिन् अनि अझ बढ्ता हित कामनाको भावमा गम्भीर भएर रञ्जनादेवीले भनिन्- “तिमी मेरो आफ्नो जातिकी मानिस हुनाले मेरो नातेदार हौ । हरेक स्वास्नीमान्छेले दुनियाँभरका प्राणी अथवा मानिस मात्रको हित गर्न नसके पनि कमसेकम स्वास्नीमान्छेको इज्जत र गौरवको मात्र ख्याल राख्न सके पनि दुनियाँमा दुःखको मात्रा यति घट्छ कि मानिसको बस्तीभित्र मात्र होइन, बाटोबाटोमा सुख हाँसिरहेको हामी पाउनेछौं । तसर्थ नानीथकुं ! तिमी नारी भएर नारीको मूल्य पहिचान गर, नारीको महत्त्व बढाउन कोसिस गर । समाजको मर्यादा र गौरव नारीको मूल्यमा निर्भर छ । भौतिक उन्नति र सुविधाले मानिसलाई बाहिरी सुख मात्र प्राप्त हुन सक्छ, तर नारीको चरित्र पाउनाले मानिसको जीवनमा अलौकिक आनन्द आउँछ । त्यसैले सभ्यताको मापदण्ड भौतिक उन्नति वा विज्ञानमा मात्र हुँदैन, चरित्रको उन्नति नै उसको चरम सीमा हो । नारीको चरित्र हाँस्न पाएको ठाउँमा पुरुषको आत्माले नाच्न पाउँछ, त्यस्ता ठाउँमा नै हौसला फुल्न आइरहन्छ, फुर्ती मुस्कुराइरहन्छ र अभिमान बाँचिरहन्छ ।”
रञ्जनादेवीले यति कुरा छाँटिसकेपछि बल्ल मुन्टो उठाएर नानीथकुं बोलिन्- “तपाईंको कुरा ज्यादै राम्रो छ, जति सुने पनि पेट नभर्ने, अझ सुनिरहूँ जस्तो लाग्छ । तर मलाई यो पनि गजब लागिरहेको छ कि तपाईंले मलाई बोलाउन पठाएर किन यो सब कुरा गरिरहनुभएको हो ?”
“तिमी बिग्रन आँटेको देखेर।” बडो मायालु भावमा गम्भीर भएर रञ्जनादेवीले भनिन् ।
“म किन बिग्रन्छु ? मैले के बिग्रने काम गरेकी छु ?” नानीथकुंले विनम्र भावमा भनिन् ।
हाँस्तै नानीथकुंको चिउँडो समातेर रञ्जनादेवीले फेरि भनिन्- “लाटी ! मलाई थाहा छैन भन्ठानेकी ? त्यसै काम नपाएर तिमीलाई बोलाई मैले पनि लामो कुरा गरिरहेकी हुँ र ?”
नानीथकुं फेरि मौन हुन लागेकी देखेर रञ्जनादेवी फेरि बोलिन्- “डाक्टरसाहेबसित तिमी फस्नाले मलाई वास्तवमा केही पनि नोक्सान छैन नानीथकुं ! फस्छ्यौ त तिमी नै फस्छ्यौ, तिम्रो जिन्दगी फस्छ, अनेक सुख पाउन सक्ने तिम्रो भविष्य फस्छ ।”
नानीथकुं फेरि अगिजस्तै सालिक हुन थालिन् । अन्तमा रञ्जनादेवीले भनिन्- “जाऊ, मैले तिम्रो धेरै समय लिइदिएँ । मैले भनेको कुरा कत्तिको ठीक-बेठीक छ, एक चोटि ठन्डा मगजले विचार गर्नू । भरे सुत्ता पनि खुब गुनेर हेर्नू । ठीक लागे तिमीलाई नै सुख हुन्छ, बेठीक लागे तिम्रो दशा बिग्रेको म सकुँला । तर नानीथकुं ! म फेरि एक चोटि भन्छु खुब होस गर्नू है नारीको मूल्य सम्झेर, लौ जाऊ । खुब गहिरिएर सोच ।”
नानीथकुं रातो मुख लाएर सरासर गइन् ।
० ० ० ०
एक्काइस
नानीथकुंलाई रञ्जनादेवीको कुराले साह्रै छोयो, उनको भित्री मन खलबल पारिदियो । डाक्टर गोदत्तप्रसादकहाँबाट आएर उनी सरासर आफ्नो सुत्ने कोठामा गइन् र पल्टिन् । तर उनी पल्टन सकिनन्, उनलाई बिछ्यौना बिझेको भान भयो । अनि जुरुक्क उठेर बसिन्, बस्न पनि सकिनन्, आसन पोलेको जस्तो उनलाई लाग्यो । झ्यालमा उभिएर बाहिर हेरिन्, सारा दृश्यले आफूलाई गिज्याइरहेको उनले देखिन् । अनि झ्यालबाट आएर फेरि बिछ्यौनामा पल्टिन्, तकिया ढुङ्गाजस्तो साह्रो उनलाई मालुम भयो । फेरि जुरुक्क उठेर बसिन्, कोठाका चारै भित्ताहरूले आफूलाई थिच्न आउन खोजेजस्तो उनलाई भान भयो । माथि हेरिन्, दलिनहरू भत्केर खस्न लागेजस्तो लाग्यो ।
केही नलागेर नानीथकुं माथि गइन् । लतमाया तानकोठामा बसी तान चलाइरहेकी थिइन् । एउटा त निहुँ थाप्नै पर्यो । “आज मलाई बिघ्नै कपाल दुख्यो, हिजोभन्दा पनि दुख्यो । त्यसैले सुतिरहेकी थिएँ ।” नानीथकुंले भनिन् । सोझी लतमायालाई डाक्टर गोदत्तप्रसादकहाँ गएको बिलकुल थाहा भएन, उनी पत्याइरहेकी थिइन् ।
चिन्ताले सितिमिति मानिसलाई किन छोड्थ्यो ? तान चलाएर नानीथकुंले चिन्ता बिर्साउन खोजेकी थिइन् तर किन छाड्थ्यो ? तान चलाउँदाचलाउँदै नानीथकुंलाई घरी डाक्टर गोदत्तप्रसादउपरको प्रेम नै वियोगमा रुन मन लाग्ने, घरी रञ्जनादेवीले भनेको कुरा ‘हो’ प्रतीत भएर पछुताउ लागेर आउने, घरी शिवनारानको डर लागेर आउने; यस्तै अनेक अन्तर्द्वन्द्व नानीथकुँको मनभित्र चल्न थाल्यो । प्रेमले उनलाई तुरुन्तै डाक्टर गोदत्तप्रसादकहाँ दौडाउन खोज्ने, सामाजिक परम्पराले समाजका सम्पूर्ण चित्र आँखाअगाडि नचाइदिने जस्ता अन्तर्द्वन्द्वको अगाडि बिचरी नानीथकुंको केही लागेन । तानमा मन नडुबेको हुनाले बुन्नुको सट्टा धागो अल्झेर बिग्रने मात्र भइरह्यो अनि त्यहाँबाट पनि जुरुक्क उठेर नानीथकुं जान खोजिन् । नानीथकुंको यो अभूतपूर्व परिस्थिति देखेर लतमायाले भनिन्- “के भयो, नानीथकुं ! आज तिमीलाई कपाल दुखेको मात्र होइन, अलि दिक्दार पनि देखिन्छयौ ?”
“केही भएको छैन अरू थोक त, तर अगिभन्दा पनि अहिले झन् कपाल दुखेर आयो आमा ! जान्छु म पल्टन एकछिन फेरि ।” नानीथकुं फेरि कोठामा सरासर गइन् र बिछ्यौनामा पल्टिन् ।
उता डाक्टर गोदत्तप्रसादको पनि उही हालत । नानीथकुंलाई एक बजेको समय दिएको भए तापनि कुनै जरुरी विशेष काम आइपर्दा उनले दुई घण्टा बढी अस्पतालमा अलमलिनुपरेको थियो । एक बजेको ठाउँमा तीन बजिसक्यो, छटपटाएर उनी कुद्दै घर आए । घर आउँछन् त नानीथकुं नदारत । रञ्जनादेवीसँग त सोध्नै भएन । नसोधेजस्तो गरी उनले घरमा नोकरचाकरहरूबाट नानीथकुं आएर घण्टौं बसेर गएको खबर पत्ता लगाए । अनि त झन् उनको मनमा बेमज्जा बढ्यो । किताब, अखबार पढेर दिक्दारी बिर्साउन खोजे तर पढ्नमा ज्यान गए पनि मनै गएन ।
यत्तिकैमा रञ्जनादेवीले दिउँसोको खानेकुरा ल्याएर डाक्टर गोदत्तप्रसादको अगाडि राखिदिइन् । खान पनि डाक्टर गोदत्तप्रसादलाई बिलकुलै मन लागेको थिएन तर रञ्जनादेवीको डरले, उनले केही भन्लिन् भन्ने सम्झेर मन नलागे तापनि कोचीकोचीकन उनले खानेकुरा खाए । खाना उनलाई ज्यादै नमिठो लागेको थियो ।
खानपिन गरी जेसुकै होस् भन्ने मनमा राखी डाक्टर गोदत्तप्रसाद सरासर नानीथकुंको घरमा लम्कँदै गए ।
डाक्टर गोदत्तप्रसाद नानीथकुंको घरमा पुगे । नानीथकुंले उनको हिँडाइको आवाजसमेत राम्रै पहिचानि राखेकी थिइन् । यस कारण भर्याङ उक्लनासाथ डाक्टर गोदत्तप्रसाद आएको नानीथकुंले चाल पाइन् अनि दौडेर गई नानीथकुंले उनलाई भऱ्याङमै भेटिन् । डाक्टर गोदत्तप्रसादलाई उनले कोठामा लगिन् र बिस्तारै भनिन्- “किन आउनुभएको ? तपाईं यहाँ नआउनोस् भनेको होइन ?”
“आज एक बजे घर आउँछु भनेको, कहाँकहाँबाट एउटा अत्यन्त जरुरी काम आइलागेर आउन पाइनँ । बडो अफसोस लाग्यो नानीथकुं ! जरुर क्षमा गर है !” डाक्टर गोदत्तप्रसादले पनि बिस्तारै भने ।
“हो, म दुई घण्टाभन्दा बढ्ता तपाईंकहाँ बसेर आइसकेँ ।” नानीथकुंले बिस्तारै भनिन् ।
“मैले थाहा पाइसकेँ, त्यसैले म तिमीले ‘नआइज’ भने पनि फालहालेर आएको ।” डाक्टर गोदत्तप्रसादले भने ।
“अर्कालाई कति नमज्जा लाग्यो, न जाऊँ न बसिरहूँ भयो !” अलि नखराएको अनुहारमा नानीथकुंले भनिन् ।
“त्यसैले दौडदौडीकन क्षमा माग्न आइपुगेको ।”
“खुब आउनुभएको होला क्षमा माग्न ! ‘तिमीप्रति मेरो कत्ति प्रेम छ’ भनी धक्कु त छोड्न आउनुभएको होला !” नखराकै भावमा नानीथकुंले भनिन् ।
“लौ लौ, तिमीले नै जित्यौ, त्यसै हो !”
“अर्कालाई ख्याल कपाल दुखेको थियो ! बल्ल अहिले निको भयो !”
“डाक्टर आइपुगेर होला । डाक्टरको अगाडि कपाल दुखाइको के लाग्छ ?”
“त्यसैले त सेखी बढेको तपाईंको । ‘एक बजे आउँछु’ भन्ने मानिस तीन बजेसम्म पनि नआएर अर्कालाई कपाल दुख्न लगाएको यही चटक देखाउनलाई होला । तक्मा दिनुपर्ने डाक्टर हुनुहुँदो रहेछ तपाईं !” आनन्दमा मस्त भएर नानीथकुंले भनिन् ।
“ओ ! माफ गर नानीथकुं ! होसै भएनछ ।”
“माफसाफको चिप्लो कुरा छोडेर जानोस् यहाँबाट कट्टै, नत्र मफतमा नचाहिँदो आपत् ओढ्नुपर्ला ! म पनि आजदेखि तपाईंमाथिको प्रेम वापस लिन्छु ।” अलि गम्भीर बन्न खोज्दै नानीथकुंले भनिन् ।
“प्रेम वापस लिने ? म तिमीले भने पनि पत्याउन सक्तिनँ, प्रेम वापस लिइन्न, न लिन सकिने नै कुरा हो, कुनै चुनाउमा उम्मेदवार हुनु त होइन कि मन नलागेपछि नाम वापस लिइन्छ । प्रेम ठट्टाको कुरा त होइन, गरेपछि छोड्न सकिन्छ ? तिमीले भन्दैमा म त्यसै पत्याउन सक्छु नानीथकुँ ?” मन्दमन्द मुस्कुराउँदै डाक्टर गोदत्तप्रसादले भने- “त्यसरी नतर्साऊ न हत्तेरी !”
“भैगो, ठीक पार्नु पर्दैन । खुब नाटक गर्न जान्दछन् तपाईंजस्ता लोग्नेमान्छेहरू । यता मसित प्रेम, उता नोकरनीसित प्रेम, फेरि उता अर्कैसित, झन् उता फेरि अर्कैसित, यस्तरी पनि भाउ नराखेर हिँड्नु ? मैले एकएक सुनिसकेँ तपाईंको यमुनातटमा बज्ने वंशीको धुन ?” मुसुक्क हाँस्तै खुब व्यङ्ग्य भावमा नानीथकुंले भनिन् ।
“ओहो ! पाठ त खुब पढाएर पठाएको रहेछ । मलाई शङ्का मात्र लागेको थियो । त्यत्तिका बेर मौका पाएको किन छोड्थी । तर नानीथकुं ! तिमी कसैका कुरामा नलाग, मलाई विश्वास गर, कहिल्यै धोका खानुपर्ने छैन ।” आश्वासनको भावमा डाक्टर गोदत्तप्रसादले भने ।
“भो, मलाई धोका नदिनुहोला तर मलाई एकतर्फी भएर गर्नुभएको निगाह, अनुग्रह, कृपा, दया, माया तपाईंको चाकरनीका निम्ति त धोकै हुन जाला । उसलाई पनि त तपाईंले यस्तै विश्वास गराउनुभएको होला ! उसले पनि त तपाईंको विश्वासमा एकोहोरिएर प्रेम गरिरहेकी होली !”
“हत्तेरी ! तिमी अर्काको कुरा जे पनि यसरी पत्याइरहन्छ्यौ भने मेरो के लाग्छ !” अलि खेद प्रकट गरेर डाक्टर गोदत्तप्रसादले भने ।
“बतास नआईकन पात हल्लन्छ त ? कहाँबाट आयो यो कुरा ?” नानीथकुंले भनिन् ।
“यही त अफसोसको कुरा छ । हो, बतास नआईकन पात हल्लन सक्तैन, यो म पनि मान्दछु, तर कोही बलियो मानिसले फेदमा बसेर रूख हल्लाइ पनि दिन सक्छ, त्यसलाई बतास आएको मान्ने त ?” अलि हाँसेको भावमा डाक्टर गोदत्तप्रसादले भने ।
जबाफ नदिईकन नानीथकुं चुप लागिरहिन् । एकैछिन उनको मनस्थिति हेरेर डाक्टर गोदत्तप्रसादले भने- “किन नबोलीकन चुप लागिरहेकी नानीथकं ?”
“मैले नकाम गरिरहिछु डाक्टरसाहेब !” अलि दिक्दारी भावमा नानीथकुंले भनिन् ।
“किन नानीथकुं । मैले केही बुझिनँ तिम्रो कुरा ?” मायालु भावमा डाक्टर गोदत्तप्रसादले भने ।
“मैले प्रेम नगरीकन पाप गरिरहिछु, यस कारण तपाईंलाई चाहेर पनि मैले छोड्न बल गरिरहेकी छु, यस्तै तपाईंले पनि मलाई छोड्न बल गर्नुहोला, यद्यपि तपाईं मलाई ज्यादै चाहनुहुन्छ ।” अलि अफसोसको भावमा नानीथकुंले भनिन् ।
एकछिन पुलुक्क डाक्टर गोदत्तप्रसादको अनुहारमा हेरी नानीथकुं मनमा केही गौर गर्दै चुप लागिन् र तुरुन्तै भनिन्- “भात पकाउने बेला भइसक्यो, तपाईं जानोस् डाक्टरसाहेब ! कदाचित् आमा आउनुहोला ।”
डाक्टर गोदत्तप्रसाद एकछिन अलमल्ल परेजस्ता भए । अनि फेरि नानीथकुंले भनिन्- “आज जानोस्, भोलि भेटुँला नि फेरि ।”
क्रमशः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।