द्वितीय खण्ड
१
बनारसका घाटमा माया
बनारसका घाटमा अनेक यात्रीहरूको घुइँचो छ । आज चन्द्रग्रहणको उपलक्ष्यमा अनेक हिन्दु नरनारी गंगा नुहाउन आएका छन् । असंख्य मानिसहरूको माझमा मोहनविक्रम पनि घाटमा बसिरहेको छ ।
निर्मला रजनी । गङ्गाजीका वक्षमा तारकाखचित नभको प्रतिबिम्बले कस्तो नयनरञ्जन दृश्य अङ्कित गरेको छ ।
मानिसहरूको संख्या क्रमशः बढ्न लाग्यो । स्त्री, पुरुष, केटा-केटीहरू चारैपट्टिबाट घाटमा जम्मा हुन लागे । मोहनविक्रम हिन्दु युनिभर्सिटीका कति छात्रहरू लिएर स्वयंसेवकको भार लिएर चारैपट्टि डुली घुइँचोको सुप्रबन्ध र सुबिस्ता हेरी हिंड्न लाग्यो ।
ग्रहण लाग्यो । शंख घण्टाका ध्वनिले शहर मुखरित भई उठ्यो ।
त्यसपछि स्नान । औ स्नान गरेपछि मानिसहरू आफ्ना आफ्ना डेरातिर फर्कन लागे ।
हूलमूलमा कतिका छोरा-छोरी हराए, कतिका सनी छुटे औ कति दुब्ला बूढाहरू बीच परे । झन् नौला यात्रीहरूको चेतै हरायो ।
स्वयंसेवकहरू खूबै मुस्तैदीसित यस्ता व्यक्तिहरूलाई सहायता गरी हिंड्दैछन् । कति अलपत्र परेका बूढा-बूढीलाई सहारा दिँदैछन् । कति अलमलिएका केटाकेटीहरूलाई डोऱ्याउँदैछन् । मोहनविक्रम सेवकहरूको नेता । यहाँ तिनीहरूलाई अह्राउँदैछ-उता भीडको सुप्रबन्ध गर्दैछ । अहिले यहाँ छ-एक छिनमा पल्लो घाटमा छ । ठूलो उत्साह र निःस्वार्थ भावले त्यो आफ्नो काममा लागिरहेको छ ।
एउटा बूढो मानिस, गौर वर्णका, हातमा लाठो लिएका बडे संत्रस्त भावले यता उति दगुर्दैछन् । ती अत्यन्त आकुल छन् । सारै अत्तालिएका छन् ।
मोहनले तिनको चाल लक्ष्य गरेर सोध्यो- “तपाईं के यहाँ नौलो हुनुहुन्छ ?” प्रश्न हिन्दीमा थियो ।
बूढा मानिसले उत्तर दिए- “ दार्जिलिङ निवासी नेपाली हुँ । मेरी कन्या मसित आएकी छ । अहिले यहाँ घुइँचोमा कता हराई- म ता ठूलो विपदमा परें ।”
मोहनले वृद्धलाई नमस्कार गरेर भन्यो, “म पनि नेपाली नै हुँ । लौ मसँग आउनुहोस्, म खोज्छु ।”
विदेशमा, त्यही माथि यस्तो विपदकालमा स्वजातिलाई भेट्दा बूढा आनन्दले अधीर भए ।
त्यो अपार जनताको माझमा अघि अघि मोहन औ पछि पछि वृद्ध नेपाली, बुढाकी छोरीको सन्धानमा अग्रसर भए । एउटा घाटदेखि अर्को घाट, एउटा गल्लीदेखि अर्का गल्लीमा धुइँधुइँती खोजी गरी हिंड्नथाले ।
जहाँ-जहाँ स्वयंसेवकहरूको अड्डा थियो, त्यहाँ अडिएर हराएकी युवतीको तिनीहरू खोजी गर्न लागे । कति हराएका युवती, वृद्धा, बालिकाहरू थिए- तर बूढाकी छोरीको भने पत्तो छैन ।
जति जति समय बित्दो छ, वृद्धको आकुलता पनि उति उति बढ्दो छ ।
अन्तमा चौकनेर आएर मोहन र बूढा चारैपट्टि दृष्टि घुमाउन थाले । यो बेलासम्म घुइँचो धेरै घटिसकेको थियो ।
सहसा वृद्धका मुखबाट आनन्दध्वनि निस्क्यो । एउटी तरुणी रातो रेशमको सारी लगाएकी, भर्खर धोएको केशराशि घिच्रामा छरपुष्ट भएको, दगुर्दै बूढाका छेउमा आएर हात समातेर आनन्द र कौतुकले खित्खित् हाँस्न थाली ।
बूढाले आदरपूर्वक त्यसको टाउको सुमसुम्याउँदै गद्गद् कण्ठले भने- “हाँस्छेस्, बौलाही ! मेरो ता सुद्धी हराइसकेको थियो । कसरी चञ्चला भएर दगुरिहिंडेकी त्यस्तो हूलमूलमा ।’
यतिञ्जेल मोहन खुबै चाख मानेर यिनको मिलन दृश्य हेरिरहेको थियो । सहसा तरुणीले पिताका छेवैमा एउटा अपरिचित पुरुषलाई आफूपट्टि मुसुक्क हाँसिरहेको देखी औ विस्मयले अवाक् भई ।
मोहनविक्रम पनि युवतीले आफूलाई अवाक् भएर हेरेको देख्ता पो झल्याँस्स भयो ।
हतारहतार बूढालाई नमस्कार गरेर मोहनले भन्यो, “तपाईंकी हराएकी कन्या यिनै हुन् ? जाती भयो, म बडो आनन्दित भएँ । लौ ता म हिंडें । ”
हराएकी छोरीलाई यति छिट्टै पाउँदा बूढालाई यति हर्ष लागिरहेथ्यो, उनले अरू कुरा त जम्मै बिर्सेका थिए । मोहनको कुरा सुनेर अघिको घटनालाई फेरि स्मरण भयो औ साथै मोहनलाई धन्यवाद भन्न पनि बिर्सेको सम्झेर बूढा ग्लानि र लाजले राता भए ।
तिनले झट्टै मोहनको हात समातेर भने, “हेर बाबू, म बूढालाई दोष नलाए । बूढेसकालमा स्मरण शक्तिको सबैभन्दा अघि ह्रास हुन्छ । आनन्दका आवेगमा मैले तिमीले गरेको गुण ता झण्डै बिर्सेछु ।”
यति भनेर बूढाले छोरीलाई निर्देश गरेर भने, “मेरी बौलाही माया, मेरो बूढेसकालको लठ्ठी यही हो ।’
माया फेरि खित्का छोडेर हाँस्न लागी । वृद्धले मोहनले गरेको सहाय्यको वर्णन गर्दै भने, “आज बूढेसकालमा यस्तो विपद आइलागेका बेलामा धन्य भाग्यले आफ्नो स्वजातिसित भेट भयो । माया, यिनलाई नमस्कार गर् ।”
मोहनलाई बूढाका प्रशंसा र खातिरले संकोचमा पार्यो । त्यसले हतार हतार उत्तर दियो, “हेर्नोस् हामी, स्वयं सेवक भएर आज यही काम गर्न भनी निस्केका । तपाईंलाई मैले अलिकति पनि सहाय गर्न सकेको भए म आफूलाई धन्य ठान्छु । बिदा पाऊँ- म हिंडें ।”
तर बूढाले विदेशमा पाएको सहारा किन छोड्थे र सहजमा । मोहनको नाउँ, निवास स्थान सोधेर भोलि तिनको डेरामा आउने मोहनसित प्रतिज्ञा गराएर मात्रै उसलाई विदा दिए ।
० ० ० ०
भोलिपल्ट बेलुका मोहन बूढाको डेरामा पुग्यो ।
नदीको तीरमा एउटा पुरानो तीन तले घर । बाहिरबाट हेर्दा ता जराजीर्ण मैलो घरको साधारण परिचय मात्रै पाइन्छ । एउटा फाटक छ । फाटकदेखि तीन हात उता संगमर्मरको एउटा सिंढी । यही सिंढी चढेर सरासर माथि जाँदा दुई तलामा एउटा सानो वरण्डा भेटिन्छ । त्यहाँदेखि फेरि अर्को सिंढी औ अर्कै संसारको प्रारम्भ हुन्छ ।
यो जीर्ण महल कुनै एउटा शौकिन राजाले पन्ध्रौं शताब्दीमा बनाएका थिए । माथिल्लो तलामा साँझ परेपछि महलका रानी र केटीहरूसित बसेर ती नदीको सन्ध्याकालीन दृश्य उपयोग गर्थे रे ।
हुन पनि पाँच सय वर्षपछि अहिले पनि दुई तला छोडेर तीन तलामा पुग्दा ती विलासप्रिय राजाको विलासिताको परिचय स्पष्ट पाइन्छ ।
तीन तलामा तीनैवटा कोठा मात्रै छन् । दुईवटा चाहिं साना औ शहरपट्टि फर्केका । अर्कोचाहिँ नदीपट्टि फर्केको औ विशाल । यो कोठाका जम्मै भित्ता आकाशी रंगका संगमर्मरले बनेका छन् । भूइँचाहिँ जम्मै राता संगमर्मरको ।
कति सय वर्षअघि बनेको कोठा अझै पनि कस्तो नयनाभिराम, कति स्वच्छ, कति मनोहर । कोठामा पस्नासाथ एउटा भिन्दै संसारमा पसे झैं लाग्छ । शहरको धूलो, फोहोर, सबै विस्मृत हुन्छन् । मन प्रफुल्ल हुन्छ- श्रान्ति आफैँ दूर हुन्छ ।
समयको फेरले गर्दा आज यो विलासी राजाको सुरम्य प्रसाद भाडाको घर भएको छ । आज न ता ती राजा नै छन् न ता तिनका वंशधर । कुनै मारवाडीको पूर्व पुरुषले यो प्रसाद लिलाममा किनेथ्यो । आज त्यसैका सन्तानहरू यो जीर्ण प्रसादको तल्लो तलामा बसेर माथिल्लो सुरम्य तलाचाहिँ भाडामा लाएका छन् ।
हाम्रा परशुरामसिंह बस्नेत छोरीलाई लिएर हावा पानी फेर्न पश्चिम लागेका समयदेखि हरिद्वार, प्रयाग, नैनीताल, अमृतसर कति ठाउँ डुली अहिले प्रायः दस दिन भएथ्यो । काशीमा आएर उक्त घरमा बसेका थिए। मायालाई अल्लि दिन पश्चिमका शहरहरूमा डुलाएर अलिक स्वस्थ भएपछि तिनले नैनीतालमा एउटा अंग्रेजहरूको स्कूलमा भर्ती गरिदिएथे ।
प्रायः चार वर्ष त्यहाँ पढेर माया संगीत र गार्हस्थ विज्ञानमा खूबै कृतिसित उत्तीर्ण भएर निस्की । हालमा वृद्ध पिताकी निरन्तर सङ्गिनी भएर पितासित डुलिहिंड्छे । इच्छा छ अलिक दिनपछि कलकत्ता मेडिकल कलेजमा डाक्टरी पढ्ने ।
मोहनलाई देखेर बूढा आनन्दित भए । एउटा मेचमा बसाएर बूढाले हपारे “राम ! ए राम ! चाँडो ठूली मैयाँलाई बोला ।”
घरका चाकरहरू मायालाई आदर गरेर ठूली मैयाँ भन्दछन् । रामे ठूली मैयाँको खोजमा हिंड्यो ।
बूढा खूबै रसिक मानिस छन् । आसामका जङ्गलतिर सानैमा पसेका परशुरामसिंह बस्नेतले आफ्नै उद्योग र परिश्रमले प्रौढावस्थामा प्रचुर धन उपार्जन गरे । तेजपुर खण्डमा ‘बस्नेत क्षेत्री’ लाई नचिन्ने कोही छैनन् । त्यस अञ्चलमा तिनको जस्तो रवाफ कसैको छैन ।
नेपाल छोडेर प्रतिवर्ष अनेक सोझा नेपालीहरू मुग्लान लाग्छन् । आर्थिक अवस्था सपार्ने अभिलाषा नै धेरैजसोको मुख्य प्रोत्साहन हुन्छ । मुगलानमा ता चियाका वोटमा पनि पैसा फल्छन् रे भन्ने रूपकथा सुनेर अर्काका लहैमा लागेर पहाडखण्डका हली-कोदाले नेपालीहरू हजारौका संख्यामा मुगलान पस्छन् ।
भारतवर्षका कुनै शहरमा हेरौं, यस्ता नेपालीहरू यत्रतत्र छरिएर कुनै प्रकार जीविका गुजरान गरिरहेका देखिन्छन् । मुगलान पसेपछि मात्रै बबुराहरूका आँखा उम्रन्छन् औ जीवन संग्रामका भँवरीमा परेर ती अत्यन्त शोचनीय परिस्थितिमा दिन बिताउँछन् ।
हाम्रा परशुराम बस्नेत पनि यिनैमध्ये एकजना हुन् । तर जहाँ अरूहरू अलपत्र परेर, हतबुद्धि भएर, नयाँ मुलुकका नयाँ परिस्थितिका कमारा भएर बस्छन् त्यहाँ परशुराम बस्नेतले कठिन परिश्रम र एकान्त अध्यवसायले केही धन कमाए । त्यस बेला बस्नेत भर्खर सत्र वर्ष पुगेका जवान थिए। बनारसमा एउटा चीनीको व्यापारीको चाकरी गरेर दुई पैसा कमाएथे । शहरमा बसेर अवकाश पाएका समय त्यसै रङ्गालिई नहिंडेर पढ्नपट्टि पनि अलि ध्यान दिएथे । अंग्रेजी र हिन्दीको एक प्रकारको साधारण ज्ञान तिनलाई भएथ्यो ।
एक दिन ती अरू कति नेपालीहरूसित आसामका जगङ्गलतिर लागे । साथको अल्प पूँजी र आफूमाथि भरोसाबाहेक तिनको अरू केही थिएन । आसाममा कहाँ जाने हो, कसो गर्ने हो- केही ठीक थिएन । थियो केवल अदम्य उत्साह और अतुल आत्मनिर्भरता । औ उत्साह र उद्योगलाई अघि लाएर ती बनारस छोडेर कुन सुदूर अज्ञात देशाभिमुख हिंडेथे ।
त्यसपछि, आसामको सघन वन । रूख ढाल, जङ्गल फाँड, बस्ती बसाऊ, गाई-गोठ तयार गर । जङ्गलको पशुको डर, औले जरो, कालाजार औ बेला बेलामा हैजा । फेरि जङ्गली नागाहरूको उस्तै डर । ती लूटपीट पनि गर्छन् औ मान्छे पनि खान्छन् रे भन्ने हल्ला प्रत्येक नेपालीले सुनेको थियो । रातभरि गाई गोठको रक्षामा जागा बस्नुपर्छ । गोठ र गाउँका चारैपट्टि ठूला ठूला मूढाहरू बालिराख्नुपर्छ ।
साथीहरू कति औले जरो र फियो लिएर फर्के, कति हार मानेर शिलाङ्गतिर नोकरी खोज्न भागे औ कति कालका मुखमा परे । तर परशुराम विचलित भएनन् । तिनलाई दुर्दैवको प्रकोपले निराश पार्न सकेन। तिनको उत्साह र उद्यमको अन्त छैन ।
दुई वर्षपछि धेरै कुराको सुप्रबन्ध भयो। तिनको गाई-गोठ सय दूध दहीको बेचबिखन हुनलाग्यो । परशुरामलाई बल्ल सास फेर्ने अवकाश छ ।
तर एक दिन प्रकृतिको प्रकोप मानिसका अपरिमित परिश्रमले गरेको प्रयासलाई तुच्छ पार्दै आविर्भाव भयो । पानी, पानी, पानी- चारैपट्टि सारा आसाम पानीका वर्षाले प्लावित भयो ।
बाढी-आसामको जङ्गल प्रायः डुबिसक्न लाग्यो । मानिस, जीवजन्तु, काठपात सबै बगे-डुबे । आसाममा प्रलयकालीन दृश्य जताततै देखियो ।
बस्नेतको पनि गोठ, घर सम्पत्ति सबै स्वाहा भयो । सर्वसंहारी बाढीले केही छोडेन बस्नेतको कति दिन मरेको बाँचेको केही पत्तो भएन ।
अनेक दिन बितिसके । त्यो सर्वसंहारी प्रलयको कुरा आसामका धेरजसो बासिन्दाहरूले प्रायः बिर्सिसकेका छन् । मानिसहरू फेरि आफ्ना आफ्ना काममा लागिरहेका छन् । औ परशुरामसिंह बस्नेत तेजपुरको अञ्चलमा विख्यात नेपाली व्यापारी भएर बसेका छन् उद्योग र अध्यवसायलाई तिनले कहिल्यै त्याग गरेनन् । कस्तै विपदले पनि तिनलाई पार्न सकेन ।
परशुरामको जीवन सुखमय थियो । परिवारमा शान्ति थियो । तिनकी स्त्री अशिक्षिता भए पनि गुणवती थिइन् । सन्तानका नाउँमा एउटा कन्या थिई । तै पनि परशुराम सुखी थिए, सन्तुष्ट थिए ।
तर यो शान्तिका राज्यमा मृत्युले एक दिन एक्कासि बज्रपात गयो । परशुरामको मुखेनी एक दिन बिहानै नुहाई धुवाई शयनकक्षमा पसेकी मात्रै थिइन् हठात् मुटु चल्न छोडेर मरिन् ।
धन, जन, मान, सबै साथमा रह्यो तर जीवन सङ्गिनी एक्कासि परलोकगामिनी भई । परशुरामको जीवन असह्य भई उठ्यो । घरका एक एक कुरा, बगैंचाको प्रत्येक जिनिस, गोठका गाई बाछा सबैसित मुखेनीको मधुर-स्मृति गाँसिएको छ । प्रत्येक सानो पदार्थले गृहिणीकै सम्झना गराउँछ । बालिका-मायाको मुख हेर्छन्, मुखेनीकै स्मरण हुन्छ ।
परशुरामले घरसम्पत्ति, गाईगोठ, खेतीपाती सबै बेचिदिए औ वारह वर्षकी कन्या मायालाई लिएर कलकत्तातिर लागे । त्यहाँ माया एउटा कन्या पाठशालामा पढ्न लागी औ परशुरामचाहिँ जीवनका बाँकी दिन पुस्तक पाठ गरेर बिताउन लागे ।
माया र इन्द्रशेखरको प्रथम भेट भएथ्यो बालीघाटको एउटा घरमा । परशुराम बस्नेतकहाँ कलकत्ता बस्ने नेपालीहरूको खूबै यातायात हुन्थ्यो । बस्नेतका उदार व्यवहार र सरलचित्तसित सबै मुग्ध थिए । त्यसै अवसरमा माया र इन्द्रशेखरको त्यो प्रलयकारी परिचय र प्रेमको प्रथम सूत्रपात भएथ्यो ।
त्यसपछि दुई वर्ष कलकत्तावासले बूढालाई वाक्कै पार्यो । जङ्गलका निर्जनतामा जीवनको अधिकांश समय बिताएका बूढा नेपालीलाई शहरको कोलाहलले दिक्कै पार्यो । वृद्धावस्थाकी एकमात्र आदरकी पुतलीलाई लिएर परशुराम दार्जिलिङमा ती खूबै आरामसित जीवन बिताइरहेका थिए- हठात् शेखर तिनका दुर्दैवको लाठो भएर देखाहा पर्यो ।
दुःखी बस्नेतले एकमात्र आदरकी सामग्री छोरी मायालाई लिएर फेरि विदेश लाग्नुपर्यो ।
० ० ० ०
२
मोहन र माया
साँझ पर्यो । गङ्गाका वक्षमा अनेक थरीक नाउ र डुंगाहरू चलिरिहका छन् । सन्ध्याकालीन समीर चलिरहेको छ । घर घरै सान्ध्यप्रदीप बले ।
मोहन बूढा त्यो सुरम्य कोठामा बसेर नाना विषयमा वार्तालाप गरिरहेका छन् । माया पिताका छेउमा बसेर एउटा हिन्दीको पत्रिका पढिरहेकी छ ।
कुरा नेपालीहरूको आर्थिक अवस्था, तिनीहरूको दुःख-सुख लिएर चलिरहेको छ । वृद्ध बस्नेत अर्थशास्त्रका अध्यापक नभए तापनि, तिनको बुद्धि तीखो छ औ विचार उदार । आजन्मका अभिज्ञताले तिनलाई व्यावहारिक तत्त्वमा चतुर पारेको छ ।
“भारतमा बसेका हाम्रा नेपालीहरूको यस्तो दुःखलाग्दो औ लाजमर्दो अवस्था प्रथमतः तिनको आफ्नै उद्योगविहीन जीवनको फल हो । अर्काले सहाय गरिदेलान्- अरूका भर परे केही होला भन्ने कुसंस्कार जबसम्म यिनका मनदेखि लुप्त हुँदैन, जबसम्म यी आफ्नै खुट्टामा दरिला भएर उभिन सक्तैनन्, तबसम्म यी कहिल्यै अरू कौम र जातिका दाँजामा पुग्ने छैनन् ।”
यति भनेर वृद्धले छोरीपट्टि फर्केर भने, “लौ माया, मेरो ता बानी यस्तै छ । एकचोटी गफ गर्न लागेपछि अरू कुनै कुराको थाहा सुद्धी रहँदैन । मोहनविक्रम बाबुलाई केही खाजा नदिने ?”
“मोहन बाबुको आपत्ति ता केही छैन ?” -यो प्रश्नचाहिँ मोहनपट्टि हेरेर तिनले सोधे ।
मोहनले हाँस्तै उत्तर दियो, “स्कूल, कलजेका छात्रहरू पनि कैले खाने बेलामा नाहिँ नास्ति गर्छन् ?”
“म चट्टै लिएर आउँछु”- भनेर माया पत्रिका टेबलमा राखेर अर्को कोठातिर लागी । मायाका आँखामा पनि कौतुक, विस्मय र हाँसो स्पष्ट देखिन्थे ।
मोहनले वृद्धलाई सोध्यो- “बस्नेतजी, धृष्टता क्षमा गर्नुहोला, तपाईंले दार्जीलिङ गएर वास गरेको कुरा मात्रै मलाई सुनाउनुभयो त्यसपछि हठात् तपाईं दार्जीलिङ त्याग गरेर यी चार पाँच वर्ष किन विदेश भ्रमण गरिरहनुभएको छ ? दार्जीलिङ म स्वयं नगएको प्रायः पाँच वर्ष भएथ्यो, अस्ति ग्रीष्म ऋतुका बिदामा पुगेर आएँ ।
मोहन नदीका अथाह जलमाथि धीर मन्थर गतिले चलरिहेका डुङ्गाहरू हेरेर कुरा गरिरहेथ्यो । बूढाका मुखको भाव फेरिएको त्यसले लक्ष्य गरेको थिएन । सहसा वृद्धको क्लिष्ट अनुहार औ सजल नेत्र देखेर त्यो सारै विस्मित भयो ।
वृद्धका मनमा कुनै ठूलो आघात परेको रहेछ भन्ने कुरा मोहनले अनुमान गयो । औ साथै बूढाकी अति आदरणीय कन्या माया यस घटनामा जडित छ भन्ने शंका पनि मोहनका मनमा उठ्यो ।
बूढाले केही बोल्न आँटेका थिए, माया रिकाबीमा फलफूल, मिठाई इत्यादि लिएर आएको देखेर वृद्ध विरत भए औ साथै मोहनपट्टि फर्केर औंलाका इशाराले चूप लग्ने संकेत गरे ।
एउटा सानो पत्थरको टेबलमा खानेकुरा राखेर मायाले भनी, “मोहन बाबु, तपाईं चियाको भोगी हुनुहोला । दार्जीलिङका नेपालीहरूलाई चिया नभई हुँदैन । तपाईं कलेजमा के गर्नुहुन्छ नि ?”
मोहनले भन्यो, “चियाको म अनन्य भोगी ता छैन, तर साँझ बिहान दुइचोटि नभई पनि हुँदैन । होस्टेलमा लुकाएर स्टोभमा चिया पकाउँछौं ।”
“अर्थात्, चिया तपाईंलाई नभई नहुने”- भनेर सबैलाई हँसाउँदै, आफैँ पनि हाँस्दै माया भित्र कोठामा पसी ।
मोहनले भन्यो, “मेरो अघिको प्रश्न बिर्सनुहोस् । तपाईंलाई व्यर्थको प्रश्न-गरेर कष्ट दिएँ, क्षमा गर्नुहोला !”
वृद्धले दीर्घ निःश्वास त्याग गरे- केही उत्तर दिएनन् ।
एक छिन दुवै मौन- दुवै निस्तब्ध रहे। नदीका पानीमा माझीले नाउ ख्याउँदा छलछल गरेको आवाज दुवैका कानभित्र पस्तैछ ! दुवै आफ्ना आफ्ना विचारमा मस्त छन् ।
अल्पकालमा माया केतलीमा चिया लिएर फर्की । पछि पछि रामे छ । तर मैयाँको आग्रह आफैँ पाहुनाको सेवा गर्नेछ। रामेलाई केही छुन पनि दिन्न ।
चिया खाँदै मोहनले मायालाई सोध्यो, “दार्जीलिङ निश्चय तपाईंलाई मन पर्दो हो । आसामका जङ्गलमा जस्तो मुक्त जीवन यापन गर्न सकिन्छ- सुरम्य पर्वतमालाका काखमा सुतेको दार्जीलिङका वन जङ्गलमा त्यस्तै सरल जीवन व्यतीत गर्नु सम्भव छ !”
मायाको हँसिलो मुखमा विषादको क्षीण रेखा दगु । तर मायाले खूबै सहज भावले भनी- “निश्चय ! दार्जीलिङको दृश्य म कहिल्यै बिर्सन सक्तिनँ।” फेरि पितापट्टि करुण दृष्टिपात गरेर भनी, दार्जीलिङ हामीलाई अत्यन्त प्रिय छ- होइन वा ? मेरो पढाई शेष भएपछि हामी फेरि दार्जीलिङ गएर बस्छौं । तपाईंको यही इच्छा छैन बा
वृद्धले छोरीलाई अति आदर र प्रेमसित हेरेर भने, “हो नानी ।”
“दार्जिलिङको कुरा झिक्नेवित्तिकै फेरि बूढाका मुखको भाव फेरिएको देखेर मोहन अलिक अप्रतिभ र लज्जित भयो । कुराको प्रसङ्ग अर्कोतिर लगेर मोहनले सोध्यो, “तपाईंहरू कलकत्ता कैले जानु हुन्छ ?”
मायाले भनी, “यही पाँच सात दिनभित्रै कलकत्ता गएर लेडी डाक्टरहरूसित परिचय गर्ने मेरो इच्छा छ ।”
चियाको प्याला टेबलमा राखेर मोहनले सोध्यो, “तपाईंको डाक्टरी पढ्ने अभिरुचि उत्तम हो । दार्जिलिङमा हाम्रा नेपाली समाजका आइमाई र केटाकेटीहरूलाई हेर्ने महिला डाक्टरको ठूलो आवश्यकता छ । फेरि सामाजिक कुसंस्कार र दोषपूर्ण अभ्यास दूर गर्ने मौका पनि यो वृत्तिका साथसाथै हुने । हाम्रा अज्ञानमा डुबेका औ भूतप्रेतमा पत्यार गर्ने साधारण स्त्री-पुरुषलाई स्वाथ्यपूर्वक जीवन बिताउने बाटो महिलाहरूले मात्र सहजसित देखाउन सक्छन् ।”
माया निकै उत्साहित भई । “मेरो पनि त्यस्तै मत छ । डाक्टरी वृत्ति गर्नुभन्दा पनि बढ्ता समाजका गरीब दाजु-भाइ, दिदी-बहिनीका माझमा पसेर तिनलाई शुद्ध हावापानीको महत्त्व, सफा बस्नाले लाभ, बालक र गर्भिणीको सिहार आदि स्वास्थ्य-विज्ञानका स्थूल कुराहरू बुझाउने, तिनलाई स्वास्थ्यको सोझो बाटामा हिंडाउने यत्न गर्नु नै मेरो मुख्य अभिलाषा छ ।”
वृद्ध यतिञ्जेल यी दुई जनाका कुरा सुनिरहेका थिए । चाँदीका हुक्काको गुडगुड र नलीबाट कुण्डलाकृति भएर निस्केको सुरभियुक्त, धुम्रजालले यिनका अघि एउटा अर्कै मोहजाल सिर्जना गरेको थियो ।
मायाको मन्तव्य सुनेर वृद्धको गौर अनुहार आनन्द र गर्वले दीप्त भयो । तिनले तमाखुको धूवाँ उडाउँदै भने, “एउटा कुरा म तिमीहरू पढेका ठिटाठिटीहरूका पक्ष लिएर भन्नसक्छु– समाज भन्ने कुरा तिमीहरूलाई खुबै प्यारो छ । औ कामले ता कुन्नि, मुखले भने सर्वदा तिमीहरू समाज सुधारैमा तल्लीन रहन्छौ ।”
वृद्धको व्यङ्गोक्ति सुनेर फेरि माया र मोहन हाँसे । जहाँ शिक्षा, औदार्य, सहृदयता औ निष्कपट व्यवहार छ, त्यहाँ कपटपूर्ण संकोचको गन्ध पनि रहँदैन । वृद्ध सरल छन्, शिक्षित छन् । माया आधुनिक शिक्षा, संस्कृति र सभ्यातामा बढेकी तरुणी । साथै त्यसको स्वभाव छ सारै सरल- केटाकेटीको जस्तो । फेरि त्यसको चाला छ अचम्मको । समाजमा स्त्रीहरूमा जो स्वाभाविक संकोच र गम्भीर्य हुन्छ मायाको स्वभावमा त्यो किंचित् पनि पाइँदैन । माया छे बिजुली जस्ती चञ्चला, वर्षाजस्ती निर्मला औ सानो बालिका जस्ती संकोचविहीना ।
माया र वीणा एकै वृत्तका कली हुन् । दुवै शिक्षिता छन् । रूप दुवैको छ औ हृदय छ दुवैको विशाल, उदार । तर जहाँ वीणाको स्वभावमा चाहिंदो गाम्भीर्य र स्त्रीसुलभ लज्जा छ । मायाको स्वभावमा मृगिणीको चाञ्चल्य औ वनकन्याको निर्भयता । वीणाको रूपमा अचल शान्ति छ, मायाको रूपमा छ उत्ताल तरङ्ग, वीणा सरल भए पनि चतुरी छ, माया छ आवेश र उमङ्गमा काम गर्ने । माया प्रकृतिकी उत्ताउली कन्या, वीणा प्रकृतिकी संयता कन्या ।
मायाको सरलता र चाञ्चल्य औ मायाको आवेशमय स्वभावको अनुचित उपयोग गरेर शेखरले पवित्र प्रेमको नाउँमा मायाको फक्रँदै गरेको यौवनलाई उजाड पारिदियो । शेखरको विश्वासघात, शेखरको निष्ठुर व्यवहार औ शेखरको अन्याय र अत्याचारले त्यसको सरल हृदयमा गहिरो चोट पारेका थिए-तर चाञ्चल्य र औदार्य्य त्यसको जन्मसंगत संस्कार थिए । माया शेखरका प्रतारणाले सारै मर्माहत भई, तर जीवनदेखि विरक्त भइन । मायाको पुरुषहरूमाथि जो प्रेम र श्रद्धा थियो, त्यो हरायो तर जीवनयात्रामा त्यो उत्तिकै आवेश, उत्तिकै उमंगसहित अग्रसर हुँदैछे । यौवनको अदम्य उत्साह त्यसको कत्ति पनि घटेको छैन ।
औ माहनेविक्रम छ शान्त, सुधीर औ समाजसेवी । शिक्षा वाहेक चरित्र र सद्गुण त्यसका आभूषण छन् । मोहन खूबै ढाँचा पारेर बस्त्र लाउँछ औ खेल्न, ‘बाइस्कोप थिएटर हेर्न सबै रुचाउँछन् । तर वासना र विलासितादेखि त्यो कोसौं टाढा रहन्छ । राम्रा लुगा लाउँछ तर ढर्रा पादैन, शौकिन छ तर ऐयाशी छैन । त्यसको स्वभाव छ अमायिक औ व्यवहार छ निष्कपट ।
प्रवासमा सुदूर काशीमा एउटा सुरम्य प्रासादमा भग्नावशेषमा बसेर यी तीन प्राणी कति दिनदेखि परिचित आत्मीयहरू जस्तै आपस्तमा वार्तालाप गरिरहेका छन् । कहिँ कतै सोच र आडम्बरको नाउँगोत छैन, तीनैजना एकछिन एकै घरको जहान जस्ता भएका छन् ।
मोहनले वृद्धका कुराको टुङ्गो समातेर भन्यो, “बस्नेतजी, यो पनि ता एउटा ठूलो परिवर्तन औ खूबै आशाजनक चिनो मान्नुपर्दछ । ‘नेपाली समाज’ र ‘नेपाली जाति’ को अस्तित्व अनुभव गर्ने नेपाली तरुण-तरुणीले समाजमा जन्म ग्रहण गरे भने त्यो समाज र जातिलाई यथार्थ प्रेम औ भक्ति गर्ने युवक-युवती पनि ता जन्मलान् ।”
वृद्ध बस्नेतले सजल नेत्रले मोहनपट्टि हेरेर भने, “निश्चय । जुन समाजले तिमीहरू जस्ता गुणी औ अर्काको दर्द बुझ्ने सन्तान पैदा गर्छ, त्यो समाजको भविष्य म उज्ज्वल देख्छु ।”
मायापट्टि फर्केर वृद्धले गर्वित कण्ठले भने- “औ माया, समाजसेवा औ समाज सुधारमा स्त्रीहरूको भार पुरुषहरूको भन्दा थोरै छैन-बढ्ता छ, स्त्रीले माता, पत्नी औ भगिनी भएर समाजको मंगल हुने काममा पुरुषलाई उत्साह र सहायता दिनुपर्छ ।”
प्रायः आठ बजे राती मोहन त्यहाँबाट विदा भएर विश्वविद्यालय फर्क्यो । बाटाभरि मायाकै सम्झना भइरह्यो । मायाको स्वच्छन्द हावभाव, मायाको प्राञ्जलता औं मायाको समाज प्रेम । माया खूबै फरासिली खूबै मिष्टभाषिणी छ- तर तैपनि त्यसका दृष्टिमा एउटा तर्सेको भाव, त्यसको स्मित अनुहारमा वेदनाको फिका छाप मोहनले लक्ष्य गर्यो ।
फेरि तुलसी वाजेले दार्जिलिङमा भनेका कुराको सम्झना भयो । इन्द्रशेखर र कुनै नेपाली तरुणीको एउटा घटना-औ त्यसपछिका सबै वृत्तान्त । मोहनको मनमा शंका र सन्देह हिजोदेखि नै भइरहेथ्यो । माया नै शेखरका विषय वासनाको शिकार रहिछ भन्ने विचार अहिले मोहनको मनमा प्रायः पक्का भइसकेको छ ।
इन्द्रशेखर यस्तो निष्ठुर यस्तो कुकर्मी औ लम्पट; मोहनको हृदय दुःख, क्षोभ र घृणाले परिपूर्ण भयो । शेखरसित एकचोटि भेट गरेर सम्पूर्ण इतिवृत्त त्यसैका मुखबाट सुन्ने औ जान्ने मोहनलाई उत्कट इच्छा भयो । विद्या, बुद्धि औ रूपको गर्वमा फुलेको शेखरको सरल प्राणा मायामाथि यस्तो अन्याय र अत्याचार ! मोहनको उदार हृदय सहानुभूति र अनुकम्पाले पूर्ण भयो । मायाप्रति त्यसलाई दया लाग्यो- मायाको संतप्त व्यथित मनलाई सान्त्वना दिने त्यसलाई प्रबल इच्छा भयो ।
मोहनलाई त्यस राती धेरै बेरसम्म निद्राले परित्याग गर्यो । मोहन ठूलो भावनामा पर्यो । त्यसका सम्मुख एउटा जटिल समस्या उपस्थित भयो । इन्द्रशेखर मोहनको चिर साथी । उही शेखरले आज समाजकी एउटी अल्पबुद्धि भएकी बालिकामाथि यस्तो अविचार र अन्याय गरेको साँचो हो भने मोहनको कर्तव्य के हो ? यही चिन्तामा यस्तै तर्कमा मोहन आधारातसम्म जागिबस्यो ।
० ० ० ०
मोहन बिदा भएर गएपछि वृद्ध बस्नेत र माया त्यही कोठामा बसेर धेरै बेर कुरा गरिरहे ।
परशुराम बस्नेत छोरीलाई मित्रवत् व्यवहार गर्छन् । कति मानिसले यो कुराका निम्ति तिनलाई आक्षेप गरे, खिसी गरे औ कति प्रकारका कुरा सुनाए । तर तिनले त्यसपट्टि ध्यान दिएनन् । कसैका कुरा अथवा मतले तिनलाई आफ्ना विचार र सिद्धान्तदेखि विचलित गराउन सक्तैन । स्त्रीहरूलाई शिक्षा र स्वच्छन्दता दिने कुराका ती पक्षपाती छन् । तर तिनलाई छाडा छोड्ने अथवा स्वाधीनताको नाममा तिनलाई स्वेच्छाचारिणी हुन दिने कुराको घोर विरोध गर्छन् । शिक्षा दिएर तिनलाई स्वाधीन र संयमी बनाउने, अशिक्षित मूर्ख नराखेर तिनलाई सुशिक्षता औ गुणवती गृहिणी बनाउने तिनको मत छ । समाजको आधा अंग अविद्या र अज्ञानका अन्धकारमा डुबाइराखेर समाजले उन्नतिका पथमा अघि बढ्नु दुष्कर छ भन्ने यिनको दृढ विश्वास छ ।
अघि इन्द्रशेखर र मायामा ठूलो मैत्री हुँदा दस जनाले आपत्ति गरेथे । जनैक विशिष्ट नेपाली सज्जनले ता स्पष्ट भनिदिएथे, “बस्नेतजी, यो तन्नेरी र तरुणीको मैत्री हुने कुरा ता कुइरेहरूको समाजमा मात्रै सुहाउँछ । हामी नेपालीहरूमा ता यस्तो मित्रताको एउटै अर्थ मात्र हुन्छ ।” बस्नेतले यसको उत्तर छोटकरीमा दिएथे, “खंडका मुखिया ! सुन्दर, सत्य औ पवित्र कुरा जहाँ पनि पाइन्छन् । यिनी दुवै शिक्षित छन् औ दुवैको ज्ञान आएको छ । यिनले आफ्नो शिक्षा र स्वाधीनताको दुरूपयोग गर्ने स्थिर गरे भने कसैलाई यिनले रोक्न सक्तैन ।”
पछि इन्द्रशेखरको प्रतारणाले मायाको जीवननौका झण्डै अकाल मृत्युको अथाह जलनिधिमा डुबाइदियो। परशुराम बस्नेत स्तम्भित भए, विमूढ भए- तिनका हृदयमा मर्मान्तक आघात पर्यो । तर तिनले आफ्ना विचार र सिद्धान्त त्याग गरेनन् ।
तमाखुको धूवाँ उडाउँदै वृद्धले छोरीलाई त्यति बेला पनि भनेथे, “माया ! तेरो चरित्र, गुण औ सुविचारमाथि अझ पनि मेरो अटूट विश्वास छ । जीवनदेखि हताश कहिल्यै नहुनू निराश भएर कुमार्गपट्टि पनि कहिल्यै पाइलो नसार्नू ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।