
ऊ राम्रोसँग बसिसकेको पनि थिएन । बुर्लुक्क उफ्रिएर एउटा पिशाच उसको अगाडि आयो । त्यो रूखबाट हाम फालेर उसको अगाडि आएको थियो । त्यो पिशाच निक्कै फोहोरी र दिगमिगलाग्दो थियो । हेर्दा निक्कै ख्याउटे, त्यसको भुँडी भने खोक्रो देखिन्थ्यो । त्यसका बल्ढ्याङ्ग्रे आँखाहरू भने पिर्लिक पिर्लिक पल्टिँदै थिए ।
त्यसले टाउकोमा चम्किला पत्थरहरू जडिएको अति नै मूल्यवान् देखिने मुकुट लगाएको थियो । जमिनमा झर्नासाथ त्यसले उसको मुकुट मिलाएको थियो ।
तेजमणि बसेको ठाउँबाट उठ्यो । त्यो पिशाचले घुमेर उसलाई सुँघेझैँ गर्यो । उसको लामो जिब्रोले तेजमणिको अनुहार चाटौँला कि, भनेझैँ गर्यो । त्यसको जिब्रो पनि उस्तै फोहोर र काई लागेको थियो । त्यसलाई देखेर तेजमणिलाई डरभन्दा बढी घिन लाग्दै थियो । त्यस पिशाचको शरीरबाट सहनै गाह्रो पर्ला जस्तो दुर्गन्ध आउँदै थियो ।
तेजमणि अलि पछाडि सर्यो । ऊ पछाडि सरेको देखेर पिशाच मख्ख परेर हाँस्यो हि…हि…हि…। उसलाई लाग्यो होला, यो मान्छे डरायो । आफूसँग डराउँदा पिशाचहरू यस्तै मख्ख परेर हाँस्छन् तर तेजमणि डराएको थिएन । यस्ता अनेक किसिमका प्राणीहरू देख्दा देख्दा उसले डराउन त लगभग छोडी नै सकेको थियो ।
पिशाचले हाँस्दै भन्यो, “के भो डर लाग्यो ?” यति भन्दै गर्दा त्यसले आफ्ना लामा लामा नङ्ग्रा भएका औँलाहरू तेजमणिको घाँटीमा घुमायो । उसका नङ्ग्राहरू निक्कै धारिला देखिन्थे ।
तेजमणि चुपचाप उभिइरह्यो ।
पिशाच एक पटक रनवन थर्किने गरी हाँस्यो । हि…हि…हि…। कतैबाट दुईतीनवटी महिला बोलेको गुनगुन आवाज पनि आउँदै थियो । तेजमणिले वरिपरि हेर्यो, त्यहाँ ऊ र पिशाचबाहेक अरू कोही थिएन ।
तेजमणिले वरिपरि हेरेको देखेर होला पिशाच मुसुक्क हाँस्यो अनि फेरि सोध्यो, “कसलाई खोजिस् मनुवा ?”
“कसैलाई नि होइन”, तेजमणिले भन्यो । उसको आवाज अलि झर्केझैँ भएको थियो । हुन पनि उसले बाटो बिराएको थियो । यतिको परिश्रम गरेर पनि गन्तव्य फेला नपर्दाको रहानामा थियो ऊ । त्यहीँ माथि बिनापत्तामा त्यो पिशाच आइलागेको थियो ।
महिलाहरूको आवाज गुनगुनबाट झगडा गरेझैँ चर्को हुँदै थियो । त्यो आवाज झगडा गर्दाको आवाज हो भनेर प्रष्ट छुट्टिन्थ्यो तर कुरा भने तेजमणिले केही बुझ्न सकेको थिएन ।
हे…हे…हे…हे…पिशाच हाँस्यो ।
“छल गर्नु र ढाँट्नु त तिमेरु मनुवाहरूको गुण नै हो नि ।”, पिशाचले तेजमणिलाई उल्याउँदै भन्यो ।
“तर सुन, मलाई थाहा छ तँ यहाँ किन आएको होस् ।”, पिशाच बोल्यो ।
“थाहा भए लौ भन न त ”, तेजमणिले पनि नेपारिएको स्वरमा भन्यो ।
पिशाच फेरि एक पटक उस्तै गरी हाँस्यो ।
हे…हे…हे…हे…।
अनि भन्यो, “तँ सत्मुखको खोजीमा आ’ हैनस् ?”
तेजमणिलाई अचम्म लाग्यो । मनमनै भने ऊ खुसी भएको थियो । पक्कै यो पिशाचलाई सत्मुखको ठेगाना थाहा होला ।
“के…तिमीलाई सत्मुखको बारेमा थाहा छ त ?”
पिशाच केही बोलेन ऊ हाँस्यो मात्र ।
हे…हे…हे…हे…
“तिमीलाई म यहाँ सत्मुखको खोजीमा आएको कसरी थाहा भयो ?”
फेरि पिशाच उसरी नै हाँस्यो अनि भन्यो, “यहाँ जो पनि मनुवा आउँछन् सत्मुखको खोजीमा नै त आउँछन् । तँभन्दा अघि पनि कयौँ आए, अझै कयौँ आउलान् । आफ्नो फाइदाको लागि धाउन त अरूहरूले तिमी मनुवाबाट सिकुन् । मतलबी प्राणीहरू ।”
“उ तँभन्दा अघि आएका मनुवाहरू ।”, पिशाचले रूखपछाडि औँल्याउँदै थप्यो ।
अहिले भने तेजमणिको सातोपुत्लो उड्यो । रूखपछाडि त नरकंकालको चाङ लागेको रहेछ । उसको ओठतालु सुकेको देखेर पिशाच झनै रमाइलो मानेर हाँस्यो । हाँस्दाहाँस्दै एकाएक उसको मुखबाट एउटा दाँत उछिट्टियो । उसले झटपट दाँत टिप्यो र मुखमा हाल्यो ।
“अँ…अनि यिनीहरूलाई चाहिँ के भएछ नि ?” तेजमणिले डराउँदै सोध्यो ।
“अरू के हुनु यी सबैलाई हामी बुढाबुढीले खाएर सिध्याका हौँ, यिनीहरूसँग मलाई दिन तिनको शरीरको स्वादिलो मासुबाहेक के नै थियो र ?”, पिशाचले दाँत मिलाउँदै जवाफ दियो ।
तेजमणिले पिशाचलाई नियालेर हेर्यो ।
“हेर्दा यस्तो बेढङ्गको प्राणी पनि कस्तो खतरनाक ।”, उसले मनमनै भन्यो ।
“लौ हेर् ऊ त्यो अलि ताजा कङ्काल छ नि त्यो हामीले भर्खरै खाको हो ।”, पिशाचले टाउको पर्लक्क पछाडि घुमाउँदै भन्यो । उसको जिउअगाडि अनि अनुहारपछाडि भएको थियो ।
ऊ गफिन थाल्यो, “बुझिस् मनुवा, त्यो अलि जीर्ण भइसकेको बुढो थियो । चाम्रो मासुको थुप्रो । त्यसैको मासु खाएदेखि त हो मेरो दाँत दुखेको ।”
पिशाच भुईँमा नटेकी जमिनमाथि थोरै उचाइमा उडेर तेजमणितिर आयो । ऊ तेजमणिको नजिकै आयो अनि भन्यो, “तर तँ नडरा ! तँलाई म खान्न ।” उसले त्यतिखेर घाँटी तन्काएर तेजमणिको नजिक टाउको लगेको थियो । तर उसका आँखाहरू तेजमणिको गलातिर सोझिएका थिए ।
एकपटक खुसीले फन्का लगाउँदै नाच्यो । हे…हे…हे गरेर हाँस्यो अनि भन्यो, “तँसँग मलाई दिनलाई तेरो शरीरको मासुभन्दा बहुमूल्य कुरा अरू पनि छन् । त्यसैले हेर म तँलाई नखाउँला । अझ…तँलाई सत्मुखको ठेकान पनि भनिदिउँला । अब यसै सित्तैमा त म पनि तेरो काम किन गरुँला । त्यहीँ नि बिनादस्तुर कसैलाई केही सहयोग नगर्ने गुण तिमी मनुवाबाटै सिक्या त हो मैले ।
धेरै पहिले एक तान्त्रिकले मन्त्रले बाँधेर कमारो बनाइराखेको थियो मलाई । अझ दुई शक्तिशाली वामनहरू पनि थिए त्यहाँ । ती बबुरा पनि कमारो बनाइएका थिए । कसो कसो त्यस तान्त्रिकको कैदबाट हामी उम्कियौँ ।”
महिलाहरूको झगडा झनै बढेछ क्यारे । पछिल्लो समय त मारमुङ्ग्री नै गरेको आवाज आउँदै थियो । पिशाचलाई पनि त्यो हल्लाखल्लाले दिक्क लागेछ ।
ऊ रिसले टाउको झट्कार्दै करायो, “चुप…चुप…चुप ।”
त्यतिखेरै भुईँमा कालो–सेतो रङ्गको गुच्चाझैँ केही ट्वाक्क आवाजसहित गुड्यो । रिसाएर टाउको झट्कार्दा पिशाचको देब्रेचाहिँ आँखो खसेछ ।
“भैगो छोड्दे पुराना कुरा । लौ के भन्छस् ?”, उसले खसेको आँखो हातैमा लिएर भन्यो ।
तेजमणिले थाहा पाइसकेको थियो । त्यो पिशाचको नजर उसको गलामा भएका चम्किला पत्थरहरूमा छ । उसले गलाबाट एउटा पत्थर झिकेर पिशाचलाई दियो । पिशाचले तेजमणिको हातबाट ट्याप्प पत्थर लियो, अनि हाँस्यो…हे…हे…हे…।
फेरि ऊ छिनमै गम्भीर भयो । हातको पत्थरलाई मुर्सादै भन्यो, “हेर् यो त मेरी जेठी बुढीलाई मात्र भो ।”
तेजमणिले अर्को पत्थर दियो । पिशाच फेरि उसरी नै पत्थर ट्याप्प हातमा लिएर हाँस्यो । फेरि छिनमै गम्भीर हुँदै भन्यो, “यो त मेरी माइलीलाई मात्र भयो ।”
तेजमणिको गलामा तेस्रो पत्थर मात्र बाँकी थियो । उसले पूरै सिक्री नै निकालेर पिशाचलाई दियो । पिशाच हाँस्यो अनि हाँस्दै हाँस्दै सिक्रीबाट पत्थर थुतेर सिक्री चाहिँ बेवास्ताले भुईँमा फ्याल्दै भन्यो, “छि यस्ता सुनका डोरी !”
त्यसपछि उसले रमाउँदै पत्थर खेलायो, “यो जेठीलाई, यो माइलीलाई, यो कान्छीलाई ।” ऊ औधी खुसी भएको थियो ।
कतैबाट महिलाहरू रमाएर हाँसेको स्वर आउँदै थियो तर यसपटक पनि त्यो आवाज कहाँबाट आयो सो भने तेजमणिले थाहा पाउन सकेन ।
पिशाचले तेजमणितिर हेर्दै भन्यो, “लौ मनुवा, म तँबाट निक्कै खुसी छु पछि केही खान नपाएर भोकै पर्लास् मेरो मेजमान नि खाएर जा ।”
तेजमणिले केही भन्नुअगाडि नै पिशाचले हावामा हात हल्लायो । हेर्दाहेर्दै भुईँमा सुनको एउटा भाँडो देखापर्यो । भाँडोमा खिचडी थियो । फेरि हात हल्लाउँदा सुनको थाल आइपुग्यो ।
पिशाचले उसका घिनलाग्दा हातले भाँडाबाट खिचडी थालमा पस्कियो अनि तेजमणितिर तेर्साउँदै भन्यो, “लौ यो खा । यो खाइनस् र यत्तिकै गइस् भने, तीन कदम पूरा नहुँदै रगत छादेर मर्लास् ।”
तेजमणिलाई आपत् पर्यो । उसले दिगमिग मान्दै खिचडी खायो । हुन त उसलाई उलुक्क बान्ता आउलाझैँ भएको थियो तर कसो कसो थाम्यो ।
“लौ हेर उ त्यो लाल पहाडको पछाडि हो सत्मुखको ठेकान”, पिशाचले उत्तरतर्फ औँल्याउँदै भन्यो ।
तेजमणि पिशाचले देखाएतिर फर्कियो । अघिसम्म कतै नदेखिएको लाल पहाड केही पर टल्किएको थियो । पिशाच उडेर लाल दहको छेउमा गयो, “लौ हेर नौकुने लाल दह ।” तेजमणि दौडेर लालदहको छेउमा गयो । उसले देख्यो लालदहमा नौ कुना नै छ । उसले फेरि एक पटक लालदहका कुनाहरू गन्यो, “एक…दुई…तीन…” त्यहाँ नौ कुना नै थिए ।
तेजमणिलाई औधी खुसी लाग्यो । ऊ पिशाचसँग बिदा भएर लालपहाडतिर हिँड्यो । ऊ हिँड्नै लाग्दा पिशाचले भन्यो, “हिउँमा पुरिएको सत्मुख अहिलेसम्म के बाँच्या होला र ।” यति भनेर ऊ हे…हे…हे..हाँस्दै रूखमा गएर तुर्लुङ्ग झुन्डियो ।
तेजमणिले पिशाचको कुरा खासै वास्ता गरेन । उसलाई पिशाचले दिएको खिचडी पेटमा नगई खानानलीमै अल्झिएझैँ लाग्दै थियो । बेला बेला खिचडी सम्झिँदा बान्ता होलाझैँ पेट बटार्थ्यो तर पनि जसो त्यसो ऊ अगाडि बढ्दै गयो ।
अलि अगाडि मात्र पुगेको थियो । उसले अनौठो कल्याङमल्याङ सुन्यो । त्यहाँ त सयौँको संख्यामा पिशाचहरू थिए । त्यहाँ थिए, बच्चा पिशाचदेखि बुढा पिशाचसम्म । ती कयौँ दिनदेखि केही खान नपाएका भोका देखिन्थे । ती एकअर्कासँग चर्को स्वरमा झगडा गर्दै थिए । कोही एक्लै बसेर रुँदै थिए ।
तेजमणि चुपचाप कति पनि आवाज ननिकाली अगाडि बढ्न थाल्यो । कसो कसो एउटा बच्चो पिशाचले तेजमणिलाई देखेछ । त्यसले तेजमणिलाई ठम्याउन खोज्यो । उसलाई नियालेर हेर्यो, अनि ऊतिर औँल्याउँदै चर्को आवाजमा करायो, “मनुवा… ।”
झगडा गर्दै गरेका पिशाचहरू शान्त भए । ती सबै बच्चोले देखाएको तिर हेर्दै थिए । जब अलि पर हिँड्दै गरेको तेजमणिलाई तिनले देखे, ती उस्तै कोलाहल गर्दै उसको पछि लागे । तेजमणि केही उपाय नदेखेर दौडियो । पिशाचहरू कोकोहोलो आवाज निकाल्दै उसलाई लखेट्न थाले । कोही दौड्दै थिए । कोही उड्दै थिए ।
दौड्दा दौड्दैको तेजमणि रोक्कियो । एउटा धेरै नै बुढो पिशाच उसको अगाडि आएर ठिङ्ग उभिएको थियो । त्यसको एउटा आँखो थिएन । नाकको डाँडी पनि खसेर प्वाल मात्र देखिन्थ्यो । त्यसको शरीरबाट सहनै नसकिने सिनोझैँ दुर्गन्ध आउँदै थियो । त्यसको विद्रुप रूप देखेर तेजमणिलाई छातीमा रोकिएको खिचडी थामिराख्न गाह्रो भएछ । उसले ह्वालाला बान्ता गर्यो ।
बुढो पिशाच औधी खुसी भएर तेजमणिले बान्ता गरेको खिचडीतिर झुक्यो । तेजमणि भाग्यो । पछाडिबाट पिशाचका हुल आउँदै थिए । ऊ दौडिँदै गयो तर तिनले उसलाई लखेट्न छोडिसकेका थिए । ती पिशाचहरू त एकअर्कासँग झगडा र ठेलाम्ठेल गर्दै खिचडीमा झुत्तिएका थिए । मौका पाएर तेजमणि उम्कियो ।
पिशाचहरू भने एकअर्कासँग भिड्दै थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

