
आठ
अष्टनारानको मृत्युको समाचार सुनेर टोलमा सनसनी फैलियो । परिवार शोकविह्वल भएको बेला सम्झाउन आउने मानिस आफैँ शोकसन्तप्त भए । त्यसकै कारण अष्टनारानको परिवार, अझ विशेषतः लतमायालाई सम्झाउन आएका उनीहरूको घरमा धेरै बेर रुवाबासी चलिरह्यो
शोकसन्तप्त परिवारलाई सान्त्वना दिएर छिमेकी र टोलियाहरू आआफ्ना घर फर्के । दाहसंस्कारको कामका लागि गुठियारहरू पनि फाटफुट रूपमा आइसकेका थिए । तर शिवनारानलाई भने पिताको मृत्युले भएको वेदनाभन्दा पनि अर्कै तापले दु:ख दिन थाल्यो । ‘अब कसरी दाहसंस्कारको काम सिद्ध्याउने ?’ यस चिन्ताले शिवनारानलाई सर्पले डसेझैँ डस्न थाल्यो ।
शिवनारान जेठा छोरा भएका हुनाले धन्दा सुर्ता सबै उनैले नबोकी भएन । घरमा फुटेको पैसा थिएन । यहाँसम्म कि कात्रो किन्नलाई समेत पैसा थिएन । भएको दुई-चार रुपियाँ र एकाध मुरी अन्न पनि अष्टनारानको औषधी खर्चमा सिद्धिसकेको थियो । भण्डारमा अन्नको नाउँमा दुई-तीन पाथी चामल, पाँच-छ पाथी पिठो अनि बिस-पच्चिस धार्नी आलु बाँकी थियो । कसैसित सापट माग्न पनि उनलाई राम्रो लागेन । दुनियाँ हाँस्ला भन्ने सोचाइमै उनको सापट माग्ने विचार र ह्याउ मरेर गयो ।
यो कुराको ताप र चिन्ता शिवनारानलाई मात्र होइन, उनका अरू भाइहरू र आमा लतमायालाई पनि भइरहेको थियो । गुठियारहरूको ताकेताले उनीहरूलाई झन् पोल्न थाल्यो । चिन्ताको तापले उनीहरूले ‘अब के गर्नु ?’ भन्दै सल्लाह गर्न थाले । अरू थोक केही उपाय नदेखेर घरमा भएको त्यही अलिकति चामल, पिठो र आलु बेचेर भए पनि काम चलाउने सुझाव माहिला छोरा पुननारानले दिए ।
“कसरी बेच्न जाने ? कसलाई बेच्न पठाउने ? हामी बेच्न जान मिलेन ।” सुस्केरा लिंदै शिवनारानले भने ।
“हामी बेच्न जान नहुने किन ?” कान्छा हर्षनारानले भने ।
“बाबुको दाहसंस्कार नसिद्ध्याई कसरी हामी घरबाट बाहिर जाने ?” शिवनारानले भने ।
“के गर्ने त अब, यस्तै पर्न आयो ।” पुननारानले भने ।
“गुठियारहरू सबै जम्मा भइसके । उनीहरूले नदेख्ने गरी लैजान सक्ने चिज होइन खर्पन बोक्नुपर्ने कुरा ! साह्रै सर्म र बेइज्जत हुन जान्छ पुनचा ! के गर्ने ? हाहा नगर्लान् उनीहरूले ?” शिवनारानले भने ।
“के लाग्यो, सहनैपर्यो, अरू थोक उपाय नै के छ त ?” पुननारानले भने ।
“के गर्ने आमा ! यसै गरौं त ?” शिवनारानले लतमायासँग सोधे । लतमायाले केही पनि जबाफ दिइनन् । दुवै आँखाबाट बरबरी आँसु चुहाइरहिन् ।
बरबरती चुहिरहेको आँसु पुछ्तै नानीथकुंले भनिन्- “सबको अगाडिबाट चामल, पिठो र आलु कसरी बेच्न लैजाने दाजु ? यो त साह्रै नराम्रो लाग्यो मलाई । त्यसै पनि हामीलाई हाहा गर्न खोज्नेहरूले देखे भने के मात्र नभन्लान् ?”
“अरू के उपाय छ त भन न तिमी नै ?” शिवनारानले भने ।
“जुठो नफुकेसम्म केही काम गर्न जानु हुन्न, आफ्नै बाबु मरेर घरमा परेको जुठो मान्नैपर्छ । त्यतिन्जेल एकछाक मात्र भए पनि खाएर हामीले ज्यान बचाउनैपर्छ । अर्को कुरा भाइभताहाहरूलाई खुवाउनैपर्छ । घरमा भएको अन्नपात बेइज्जत सहँदै बेचेर फेरि किन्दा टुट्टा खानुपर्ने हुन्छ ।” वेदना सहँदै गम्भीरतापूर्वक नानीथकुंले भनिन् ।
“तिमीले भनेका सबै कुरा मनासिबै छन्, मलाई पनि त्यो गर्न कहाँ मन लाग्छ ? तर गर्ने के, तिमी नै सोच !” शिवनारानले अलि लामो सास फेरेर भने ।
“डाक्टर गोदत्तप्रसादले हामीमाथि सहानुभूति प्रकट गरिरहेको देखिन्छ । दिएको फिससमेत नलिईकन आफैं आई बालाई उनले त्यत्रो मिहिनेतसाथ औषधी गरिदिए, उनीसितै बिस-पच्चिस रुपियाँ सापट मागौँ कि ! मैले हेर्दा त अवश्य उनले मद्दत गर्नेछन् ।” नानीथकुंले भनिन् ।
नानीथकुंको यो सल्लाह सुनेर शिवनारान, पुननारान, हर्षनारान, लतमाया सबैले भुइँतिर निहुरेर एक चोटि गौर गरे । अनि लतमाया बोलिन् – “उनीसित सापट मागे नदेलान् जस्तो त छैन तर किन हो कुन्नि, तिम्रो बालाई उनको सहानुभूति अलि तितो लागेको थियो ।”
“मलाई पनि अलि कस्तोकस्तो नै लाग्यो !” शिवनारानले भने ।
“अगाडि नराम्रो मानिस पछि राम्रो भएर आएको बेस कुरा हो । देलान् जस्तो देखिए उनीसित सापट माग्नमा आपत्ति के छ त ? सित्तै खानु छैन, चाँडै तिरौंला । मैले हेर्दा पनि उनीसित सापट लिएर काम चलाउनु बढिया लाग्यो ।” पुननारानले भने ।
“हुन्छ, हुन्छ, सबभन्दा अहिलेलाई यही उपाय नै मलाई पनि राम्रो लाग्यो । ‘भरे भोलि’ भनी पर्खने बेला पनि त अहिले छैन । तैपनि यस्तो ढिलो भएर लाज मर्नु भइसक्यो ।” हर्षनारानले भने ।
एकछिन फेरि सब चुप लागे । अनि मनमन गौर गरिसकेपछि शिवनारानले भने- “के लाग्यो त, हुन्छ, डाक्टर गोदत्तप्रसादसँग सापट लिऔं । तर उनी अहिले घरमा हुँदैनन्, अस्पतालमा होलान् ।”
“अस्पतालमा भए उहीँ गएर सापट मागे के हुन्छ ?” नानीथकुंले भनिन् ।
“हुन्छ लौ, पच्चिस रुपियाँ उनीसित सापट लिऔं, कसलाई पठाउने ? हामीमध्येबाट कोही जानु बेस होला ।” शिवनारानले भने ।
“हर्ष दाइ र म जाऔँ, दुई जना गएपछि उनको दिल झन् पग्लला ।” नानीथकुंले भनिन् ।
“हुन्छ त, तिमीहरू जाओ । गइहाल त, अबेर गर्ने किन ! नदिए रोएर, बिन्तीभाउ गरेर पनि सापट लिएर आओ, अलि छिटोछिटो जाओ ।” शिवनारानले भने ।
शिवनारानको आज्ञा पाएर हर्षनारान र नानीथकुँ डाक्टर गोदत्तप्रसादकहाँ रुपियाँ सापट माग्न गए ।
० ० ० ०
मरेको चार घण्टा भइसक्यो, अझसम्म केही सुरसार नभएको देखेर एउटा गुठियारले अलि फर्केर भन्यो- “शिवनारान । साह्रै अबेर भयो, के गर्न लाग्नुभएको यो तपाईंहरूले ? कहिले मुर्दा लैजाने, कहिले दाहसंस्कारको काम सिद्ध्याउने ? हुन त यस्तो अवस्थामा केही बोल्न ठीक छैन तर साराको कामकाज बर्बाद हुन लागिसक्यो, त्यसैले नबोल्न सकिनँ ।”
“सब ठीक हुन लाग्यो, एकछिन पर्खिदिनोस्, मालसामान जोरिँदै छ । के लाग्छ, जिउँदो छँदै मर्ने सम्झेर जोरजाम गर्नु भएन ।” शिवनारानले वेदना भरेको आवाजमा भने ।
“मेरो भनाइ त्यस्तो होइन, तर मरेको पनि त धेरै समय बितिसक्यो । यसरी धेरै बेर मुर्दालाई पर्खाइराख्नु पनि ठीक छैन । यसैले पनि हामीले ताकिता गरेका हौँ ।”
“तपाईंले भन्नुभएको कुरा मनासिब हो । बन्दोबस्त हुँदै छ, एकछिन तपाईंहरू नरिसाइदिनुहोला ।”
” होइन, कोही पनि रिसाएको छैन । यस्तो बेलामा पनि रिसाउने कस्तो मूर्ख होला ? अबेर भएर ताकितासम्म गरेका हौं ।”
“बरु अरथी बनाउनलाई बाँससाँस दिनोस्, दाउरासाउरा पनि ठीक गर्दै गरौँ ।” अर्को एक जना गुठियारले भने ।
घरमा भएका बाँसहरू खोजेर दिँदै- “अरथी बनाउँदै गर्नुहोला, दाउरा किन्न गएका छन्, एकै चोटि सबै तयार हुनेछ ।”
गुठियारहरू बाँस काटकुट गरी अरथी बनाउन थाले ।
० ० ० ०
हर्षनारानका साथै नानीथकुं पनि सहसा अस्पतालमा आएको देखेर गोदत्तप्रसाद एकछिन जिल्ल परे । उनले तुरुन्तै सोधे- “बालाई कस्तो छ ?”
डाक्टरको यो प्रश्नले थामिरहेको आँसु नानीथकुंको आँखाबाट फेरि बग्न थाल्यो । उनी धुरुधुरु रुन थालिन् । हर्षनारानले तत्क्षणात् भने- “बा त गइसक्नुभयो ।”
“हँ ! राम ! राम !! कुन बेला ?” डाक्टर गोदत्तप्रसादले आश्चर्यचकित भएर शोकयुक्त स्वरमा सोधे ।
“अगि एघार बजेतिर ।”
“मैले त गर्नसम्म उपाय र कोसिस गरेको थिएँ । संसार यस्तै हो, मर्नु र जन्मनु संसारको गति हो । उमेर नपुगेको भन्नु पनि छैन ।” यहाँ किन आउनुभएको त तपाईंहरू ? मबाट अझै कुनै सेवा हुन सक्छ भने भन्नोस्, हाजिरै छु । दागबत्तीको काम सबै ठीकठाक भइसक्यो ?”
हर्षनारान र नानीथकं दुवै अनकनाएको देखेर डाक्टर गोदत्तप्रसादले फेरि भने- “भन्नुहोस्, केही भन्नु छ मसित ?”
हर्षनारानले बोल्न इसारा गरेपछि नानीथकुंले भन्ने साहस गरिन् तर बोल्न खोजेको कुरा सर्मले गर्दा घाँटीमै अड्कियो । उनको मुखमा सर्मको लालीपना छाउन थाल्यो । अनि डाक्टर गोदत्तप्रसादले आश्वासनको भावमा भने- “भन न नानी ! किन लजाएकी ? मलाई भन्नलाई पनि केको लाज ? मलाई आफन्तै सम्झे हुन्छ ।”
डाक्टरको यस्तो आश्वासन र सहानुभूतिपूर्ण कुरा सुनेर नानीथकुंले बोल्न साहस गरिन् तर यो पटक पनि लज्जाले घाँटी नै समाइदियो ।
अनि डाक्टर गोदत्तप्रसादले अझै आफन्तको भावमा भने- “किन लजाउनुपर्छ भन्या, मलाई परचक्री सम्झेकी ?”
हर्षनारान पनि लज्जाले मुन्टो निहुराएर उभिइरहेका थिए । यसपालि भने नानीथकुंले बल गरेर भनिहालिन्- “अलिकति रुपियाँ मागौं भनेर आएका हौं ।”
पूर्ण सहानुभूतिको भावमा डाक्टर गोदत्तप्रसाद तत्क्षणात् बोले- “कति रुपियाँ चाहियो नानी ?”
“पच्चिस रुपियाँ जति मात्र भए पुग्छ ।” लज्जापूर्ण भावमा नानीथकुंले भनिन् ।
मनिब्यागबाट रुपियाँ झिक्दै गोदत्तप्रसादले भने- “यति जाबो मद्दतका निम्ति पनि यस्तरी लजाउनुपर्छ ? मद्दत भनेको सबैसित सबैले लिनुपर्छ र लिइन्छ पनि; मद्दत दिनु मानिसको कर्तव्य मद्दत माग्नु पनि मानिसको हक हो । यसका निम्ति पनि त्यस्तरी लजाउनुपर्छ ? चाहिए अझ अरू पनि मद्दत गर्न म तयार छु ।” नानीथकुंको हातमा रुपियाँ अर्पंदै उनले भने- “चाहिएको मद्दत नमाग्ने भुल नगर्नू है !”
नानीथकुंले लज्जासित कृतज्ञतापूर्ण भावमा स्वीकृतिसूचक टाउको हल्लाइन् ।
हर्षनारान पनि लज्जा र कृतज्ञतापूर्ण भावमा मौन भएर उभिरहे । लज्जावश रुपियाँ पाइसकेर पनि नानीथकुं र हर्षनारान जान सकेनन् । दुवै त्यसै उभिरहे ।
अनि डाक्टर गोदत्तप्रसादले उनीहरूभित्र उब्जिरहेको भाव जानी भने- “जानुहोस्, झट्टै गएर दागबत्तीको काम नै सिद्ध्याउनुहोस् ।”
डाक्टर गोदत्तप्रसादले यति भनेपछि उनीहरू शोकमा पनि खुसी भएर डाक्टरप्रति कृतज्ञता जाहेर गर्दै त्यहाँबाट आए ।
० ० ० ०
नौ
चलनअनुसार भन्दा पनि बाबुको श्रद्धामा सबै छोराछोरीहरूले भोकले उथलपुथल मच्चाइरहे पनि भक्तिपूर्वक त्यस दिन छाक छोडेका थिए । लतमायाले त झन् पानीसम्म पनि मुखमा हालिनन् । तर नखानमा भक्ति मात्र होइन, खानमा इच्छा पनि कसैको थिएन ।
भोलिपल्ट बिहानैदेखि बिचाः आउने मानिसहरूको ताँती लाग्न थाल्यो । वास्तवमा आफू दुर्जन भएर पनि सितिमिति अर्काको नजरमा परी दुर्जन प्रमाणित गराउन कसैलाई पनि मन्जुर हुँदैन, यो मानिसहरूको स्वभाव हो । त्यसैले ‘सबै सबैलाई असल लाग्न सक्तैन’ भनेअनुसार अष्टनारान असल नलाग्ने टोलका एकाध मानिसहरूसमेत उनको निधनमा शोक र सहानुभूति प्रकट गर्न आएका थिए । लोग्नेमानिस नभएका र मानिसअनुकूल नमिलेका घरका स्वास्नीमानिसहरू पनि समवेदना प्रकट गर्न आएका थिए । समवेदना प्रकट गरी सान्त्वना दिन आउने मानिस पाएर अष्टनारानको परिवारलाई धैर्य गर्ने बल पनि मिल्यो ।
अष्टनारानको टोलमा सबभन्दा ठुला, भलादमी, पढेलेखेका र इज्जतदार मानिस डाक्टर गोदत्तप्रसाद हुन् । उनी पनि अष्टनारानको निधन भएको भोलिपल्ट बिहान साढे आठ बजेतिर समवेदना प्रकट गर्न आइपुगे । अरू सबैले मौन रूपमा हार्दिक समवेदना मात्र गरेर सान्त्वना दिए तर डाक्टर गोदत्तप्रसाद पढेलेखेका मानिस हुनाले हार्दिक सहानुभूतिका साथसाथै अनेक सान्त्वनाप्रद कुरा गर्नमा पनि सिपालु थिए, त्यसैले उनले अरूले भन्दा बढ्ता अष्टनारानको परिवारलाई धैर्य र सान्त्वना दिलाउन सके । गोदत्तप्रसाद पूरा एक घण्टा बसेर गए । उनले अष्टनारानकी धर्मपत्नी लतमायालाई पनि निकै सम्झाइबुझाइ गरी वेदना बिर्साइदिए ।
आफ्नो जाति र समाजमा भएको मर्दापर्दा दानदक्षिणा दिने र भोजभतेर खुवाउने इत्यादि करै लाग्ने चालचलनमाथि अष्टनारान घृणा र आलोचना मात्र गर्ने होइन, आक्रमण गरी उघाड नै खुवाई आइरहेका थिए। मर्दा नजिकका नाता, सम्बन्धीहरू रोएर बिचा: आउने प्रथालाई उनले बन्द गरिदिएका थिए । शिवनारान र उनका अरू भाइहरू पनि बाबुको क्रान्तिकारी विचारबाट प्रभावित थिए । यसैले उनीहरूले पनि बाबुको नाममा दानदक्षिणा दिने र भोजभतेर खुवाउने कुनै पनि काम गरेका थिएनन् । ‘बाबुप्रतिको हाम्रो परम श्रद्धा यही हो’ भन्ने उनीहरूको भनाइ थियो ।
पितृशोकको तेस्रो दिनदेखि शिवनारान आफ्नो खेतको कामधन्दामा हिँडे । ‘बाबुको सिद्धान्त पनि हमेसा आफ्नो कामकर्तव्यमा रुजु हाजिर भएर पूर्णत्व प्राप्त गर्नु हो, यसैले बाबुको मरण भनेर हामीले अकर्मण्य भएर बस्नु ठीक छैन’ भन्ने बोध गराई शिवनारानले भाइहरूलाई पनि आआफ्ना कामधन्दामा हाजिर गराउन पठाए ।
० ० ० ०
दश
अष्टनारानको मृत्युपछि घरको नेतृत्व लिएका शिवनारान खेतीको काममा झन् दिलचस्पी लिन थाले । एकाबिहानै दिनभरिलाई चाहिने सामान र सामलले भरेको खर्पन बोकी शिवनारान दिनहुँ खेतमा पुग्थे । लोग्नेको चिर वियोगले घायल भएकी लतमायालाई काममा लैजानु शिवनारानले अनुचित ठहर्याई आमालाई घरैमा आराम लिन लगाइराखेका थिए । उनले बहिनी नानीथकुंलाई पनि आमाको साथमा घरैमा राखेका थिए ।
आमाछोरी घर कुरेर बस्थे । अरू सबै परिवार खेतीको काममा संलग्न हुन्थे । घरमा भएका बच्चाबच्चीहरूलाई पनि खेलाइराख्थे । मानिसले कहिले पनि चुप लागेर बस्नु ठीक नसम्झी शिवनारानले लतमाया र नानीथकुंलाई पनि घरमा बसीबसी कपडा बुन्ने काम मिलाएका थिए । आफ्नो परिवारमध्ये एक थरी खेतीमा संलग्न, अर्को थरी सिकर्मी र ज्यामी काममा तत्पर र तेस्रो थरी घर कुरेर कपडा बुन्ने काममा ध्यानस्थ भएर शिवनारानको परिवार गरिबीसित मुकाबिला गरिरहेको थियो । यसरी नै उनीहरूको दिन आजपछि भोलि, भोलिपछि फेरि भोलि भएर गुज्रिरहेको थियो । तर अफसोस, यस्तरी काममा जोतिँदा पनि उनीहरूको जीवनमा तृप्ति थिएन ।
एक दिन लतमाया र नानीथकुं तानमा कपडा बुनिरहेका थिए । दिउँसो दुई बजेको थियो । रुमालले गालाका पसिना पुछ्तै सुब्बा सुरमानका मानिस रामबहादुर टुप्लुक्क आइपुगे । उनी सुब्बाको अड्डामा कारिन्दा थिए र सबभन्दा विश्वासी मानिस । सुरमानको घरमा परिआएका काम गर्ने पनि उनी नै हुन् । मोहीहरूकहाँ बाली उठाउन जाने काम पनि तल्सिङका तर्फबाट रामबहादुर नै गर्दथे । रामबहादुरलाई लतमाया पनि राम्ररी चिन्थिन् । हाँस्तै आई कोठाको ढोकाको सँघारमा थचक्क बसेर रामबहादुरले भने- “आजकल देशी तान आइरहेको छ, ज्यादै नयाँ किसिमको, कपडा बुन्न बिघ्नै सजिलो, दिनभरिमा कैय्यन् गज बुन्न सकिन्छ, त्यही किन न ।”
“कहाँ पाऊँ रुपियाँ ?” लतमायाले अलिकति हाँसेर भनिन् ।
“इच्छा भए रुपियाँ कुन ठुलो कुरो हो ! दलिनबाट पनि झर्न सक्छ ।” रामबहादुरले मुसुमुसु हाँस्तै भने ।
“त्यो पनि धनीहरूकै निम्ति हुन्छ, गरिबका लागि त घाउमाथि नुनचुक मात्र हो । धनीको जीवनमा इच्छाले सुखलाई निम्तो दिन्छ तर गरिबको जिन्दगीमा त्यही इच्छाले आँखामा आँसु बोलाउँछ । त्यसैले कुनै कुराको इच्छा पनि गर्न मैले छाडिसकेँ ।” अलि मलिन भावमा लतमायाले भनिन् ।
“भन, तिम्रो इच्छा भए भोलि नै म यहाँ पुऱ्याइदिन सक्तछु । सुब्बासाहेबसँग ऋण मागिदिउँला, त्यसैबाट कमाएर तिरिदेऊ ।”
“सुब्बासाहेबलाई पोहोर सालको बाली तिर्न नै बाँकी छ, त्यो त कहिले कसरी तिर्ने भइरहेछ, कुन मुखले फेरि रुपियाँ पैंचो माग्ने ?”
“म लिइदिउँला पैंचो, मेरो जिम्मा भयो; तिमी खालि इच्छा मात्र गर ।” रामबहादुरको आश्वासन लतमायालाई मिठो लाग्यो । त्यसबाट फाइदा उठाएर धन कमाउने र सुख भोग्ने सपना पनि देख्न थालिन् । तर ‘हुन्छ’ भनेर लतमायाले सर्म पचाउन सकिनन् किनभने उनी सुब्बा सुरमानकी पटके ऋणी थिइन् ।
सफलताको छाया देखेर रामबहादुरले भने- “म सुब्बासाहेबलाई आजै भन्नेछु र भोलि नै किन्न लगाई यहाँ पुऱ्याउन लगाइदिनेछु । बडो गजबको सजिलो तान छ, मेसिनजस्तै छिटो चल्छ र कपडा धेरै बुन्छ; चलाउन पनि बडो सजिलो, बल पनि कत्ति खर्च नहुने । क्या विज्ञानको चमत्कार ! क्या मान्छेको मगज !”
“तान मात्र भएर के गर्ने ? कसले सिकाइदिन्छ नि चलाउन, आफैं जानिन्न होला !” अलि खुसी भएको भावमा नानीथकुंले भनिन् ।
“केही पनि गाह्रो छैन चलाउन, नेपाली तानभन्दा पनि सजिलो छ, गुरु राख्नाको केही जरुरतै छैन, आफैं सिक्न सकिन्छ । जो पनि कुनै तान चलाइरहनेले आफैँ चलाउन सक्छ । भोलिदेखि हालौली ।” रामबहादुरले सोरत्र भाव झिकेर भने ।
“सुब्बासाहेब मात्र असल भएर पनि हुन्न, उहाँका छोराहरू अलि छुच्चाजस्ता देखिन्छन् । आफ्नो त सुक्खा परेको हुनाले गएको सालको बाली बाँकी हुँदा उहाँका कान्छा छोरा आएर भन्ने नभन्ने भने । सयकडा पच्चिस बढाएर कागज गरिदिएपछि बल्ल तिनले छोडेर गए। दुई पैसा फाइदाको लोभमा देशी तान त लिउँला फेरि उहाँका छोराहरूले ‘चौटा खान गएकी बुढी झोलैमा डुबेर मरी’ गरिदिए भने ?” लतमायाले अलि गम्भीर भावमा भनिन् ।
“त्यसको केही धन्दा मान्नु पर्दैन । तिम्रा लोग्नेलाई त्यसरी नचाहिँदो कागज लेखाई ल्याएको हुनाले सुब्बासाहेब छोरादेखि ख्याल रिसाउनुभएको थियो ? त्यो कागज पनि सुब्बासाहेबले उनकै अगाडि च्यातचुत पारिसक्नुभैसक्यो ।” रामबहादुरले भने ।
“कागज च्याते पनि हामीले तिर्नुपर्ने कुरा तिरिहाल्छौं ।” लतमायाले भनिन् । “तिमीहरू त्यस्तै धर्मभाव भएका मोहीहरू भएरै त सुब्बासाहेबले पनि छोरामाथि त्यस्तरी रिसाएर कागज च्यातिदिनुभएको !”
“त्यस्तै असल भएको हुनाले पनि त सुब्बासाहेबको दिनपरदिन जय भइरहेको !” लतमायाले खुसी मानेर भनिन् ।
“सुब्बासाहेबले बालीको नाम पनि लिनुभएको छैन, सुब्बासाहेब त्यस्तो मानिस पनि होइन । भन, सुब्बासाहेबलाई बिन्तीभाउ गरेर पोहोरको बाली म माफी गरिदिऊँ ? सुक्खा साल भएको हुनाले बिन्ती गरे माफी दिनुहुने म देख्तछु ।…” आश्वस्त भावमा रामबहादुरले भने ।
“तपाईंको जो दया ! सुक्खा परेको हुनाले माफी दिनै पनि पर्ने !” अलि विनीत भावमा लतमायाले भनिन् ।
“हुन्छ त लौ, म यो कुरा पनि बिन्ती गरिदिनेछु । लौ त है म जाऊँ पनि, भोलि तान बोकाएर आउनेछु ।”
“हवस्, साँच्ची के कुरालाई आउनुभएको हो कुन्नि ? कुरैकुरामा सोध्न पनि भुसुक्क बिर्सेछु !”
“केही खास कुरा थिएन । एक जना मानिस भेट्न आएको थिएँ, यहाँसम्म आइसकेको हुनाले त्यसै पसेको ।’
‘लौ बस है, तिमीहरूलाई ऋण ख्वाउन आएजस्तो पो भयो ।’ भन्दै रामबहादुर सरासर हिँडे ।
० ० ० ०
एघार
यता केही दिनदेखि शिवनारानको घरमा डाक्टर गोदत्तप्रसाद दिनदिनै पाँच बज्यो कि दाखिल हुन थाले । पाँच बज्नासाथै लतमाया कपडा बुन्ने काम छाडी भात पकाउने सुरसारमा माथि भान्छामा उक्लिहाल्थिन् । नानीथकुंचाहिँ भात खाने बेला नभएसम्म तानैमा बसी कपडा बुनिरहन्थिन् । आज पनि डाक्टर गोदत्तप्रसाद दिनहुँ पाँच बज्नासाथै टुप्लुक्क आइपुगे । नानीथकुं एक्लै तानमा कपडा बुनिरहेकी थिइन् । डाक्टर गोदत्तप्रसाद आउनासाथ नानीथकुंले स्वागतसत्कारको भाव जाहेर गरिन् । गोदत्तप्रसाद दिनहुँ आउने थाहा भएको हुनाले झ्यालको फलैँचामाथि परालको चकटी बिछाइराखिएको हुन्थ्यो । दिनहुँ डाक्टर गोदत्तप्रसादले आज पनि सोधे- “आमा खै नि ?”
“माथि भान्छामा ।” नानीथकुंले पनि दिनहुँ सरल उत्तर दिइन् ।
“दिनहुँ बुढी आमालाई भात पकाउन लाएर तरुनी छोरी तानमा खेलिरहने ? यो त पच्चिसै आना अन्याय भयो ।” अलिक ठट्टाको भावमा हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।
अलि लज्जाको भावमा नानीथकुंले मुसुक्क हाँस्तै भनिन्- “कपडा बुन्नुभन्दा भात पकाउन सजिलो भएर आमा जानुभएको ।”
“निकै बाठी रहिछ्यौ तिमी, तान चलाउने काममा खेलको रस भरिएको हुन्छ, त्यो आफूले रोजेर धुवाँमा आँसु चुहाउनुपर्ने, एकदमै नरमाइलो र बोझा काम आमालाई, अझ त्यही सजिलो भनेर बिचरी बुढियालाई फुरुङ्ङ पारिराखेको ? कत्रो बठ्याइँ !” ठट्टाकै भावमा डाक्टर गोदत्तप्रसादले भने ।
“मैले हो र, दाजुले नै भात पकाउन सजिलो भनेर आमालाई बाँड्नुभएको । तपाईंहरू जस्तो हुनेखाने भए पो बुढी भएको नातामा काम गर्न पर्दैनथ्यो, हामी गरिबको घरमा त बुढा र रोगी भएर पनि सुख छैन ।”
“वाह, वाह । तिमीहरूको हकमा, अझ विशेष गरेर तिम्रो दया तारिफ गर्नलायकको छ । अझ भोलिपर्सि तिमीले खेत कोरेर फूल रोप्नुभन्दा ढकी बोकेर फूल टिप्नु गाह्रो भन्नलाई पनि बेर छैन ।”
खित्त हाँसेर नानीथकुंले भनिन्- “भो, बाबा भो, आज एक दिनलाई माफ गर्नोस्, भोलिदेखि मै भात पकाउन जानेछु ।”
अलि सतर्क भावमा डाक्टर गोदत्तप्रसादले भने- “होइन ब्यारे, ठट्टा गरेकोसम्म हुँ, फेरि भोलिदेखि भात पकाउन गएर मलाई दर्शन नपाउने सजाय देउली नि !” अलि हाँसेर- “मेरो यो कुरा आफैँ पछुताउनुपर्ने मूर्ख कुरा हुन नजाओस् है, नानीथकुं !” लोलाएका आँखामा खिस्स हाँसेर “तिमीलाई ‘थकुं’ झिकेर म खालि ‘नानी’ मात्र भन्न सक्छु ?”
मुसुक्क मुस्कुराएर नानीथकुंले भनिन्- “किन ?”
”नानी’ मा भएको मिठास ‘थकुं’ ले अलि खल्लो पारेको छ ।” नानीथकुंले केही पनि जबाफ दिइनन् खालि सुन्दर कर्के आँखाले एक चोटि पुलुक्क मात्र हेरिन् ।
“रिसायौ कि ? तिमीलाई नमिठो लागे माफ गर, ‘नानीथकुं’ नै भन्ने गरुँला ।” खिस्स हाँसेर गोदत्तप्रसादले भने ।
यो पटकमा पनि नानीथकुंले जबाफ दिइनन्, केवल लजाएको आँखाले पुलुक्क मात्र हेरिन् ।
“मैले त तिमीलाई सम्मानको भावमा पो ‘नानी’ मात्र भनेको, ‘थकुं’ कट्टा गरेको तिमीलाई त्यति मन परेको रहेनछ !”
“अँ हो !” लज्जामिश्रित हाँस्तो अनुहारले नानीथकुं बोलिन् ।
“लौ लौ, तिम्रो प्राणझैँ मन परेको ‘थकुं’ लाई म खान्नँ, ‘नानीथकुं’ नै भन्ने गरुँला, अब त भो ?” आँखा नचाउँदै डाक्टर गोदत्तप्रसादले भने ।
“अँ हो !”
“अझ रिस मेटिएको छैन तिम्रो दिलमा ?” आँखा नचाएर डाक्टर गोदत्तप्रसादले भने ।
“अँ हो, रिसाएको ।”
“मुख हेर्दा भने रिसले छुन पनि सक्ला जस्तो छैन । सधैँ गुलाफको फूलझैं मुस्कुराएको देखिन्छ, रिसलाई त अगाडि पर्न पनि डर होला जस्तो, तर दिलमा कस्तरी रिस अड्किरहन सकेको नि !” मुस्कुराइरहेको नानीथकुंको अनुहार नियाल्दै डाक्टर गोदत्तप्रसादले भने ।
“अँ हो !”
“होइन भने ‘नानी’ मात्रै भनूँ है त, ‘थकुं’ नभनूँ ?”
“हुन्छ ।”
“साँच्चै हो त ? ”
“हो ।” अलि लजाएको भावमा हाँसो चोर्दै- “मलाई पनि ‘नानी’ नै भन्ने मिठो लाग्छ ।”
“साँच्चै ? नढाँटीकन भन नि !”
“साँच्चै हो !”
“हेर नि, रिसाउन पाउन्नौ, म आफूलाई मिठो लागेको ‘नानी’ सिवाय भन्दिनँ नि कहिल्यै !”
विनम्र भावमा मुस्कुराउँदै नानीथकुंले भनिन्- “अर्काको अगाडि त होइन नि !”
“बाठी !” प्रेमको छिटा परेको बोलीमा डाक्टर गोदत्तप्रसादले भने- “मलाई के भन्न मन लाग्छ नि तिमीलाई, ‘गोदत्त’ मात्र कि, सिङ्गै नाम ?”
“डाक्टरसाहेब !” खित्त हाँसेर नानीथकुंले भनिन् ।
“कोही नहुँदाखेरि नि, अर्थात् तिम्रै नजरको मात्र नजरबन्दीमा पर्दा ?”
“डाक्टरसाहेब नै ।”
“नाइँ, नाइँ !”
“के भन्ने त ? ”
“त्यही त, म भन्छु तिमीलाई के भन्न मन लाग्छ ? जस्तो कि तिमीलाई खालि ‘नानी’ मात्र भन्न मलाई मन लाग्छ ।”
“हो त ?”
“हो भनेको ।”
“रिसाउन पाइन्न नि !”
“रिसाएँ भने तिमीले जित्यौ, लौ भो अब ?”
“मैले जितेर के पाउँछु ?”.
“मलाई पाउँछ्यौ, अनि जे काम अराउन पनि नोकरलाई झैं ‘उठ् भने उठ्, बस् भने बस्’ भइदिन्छु ।”
“चाहन्नँ म कोही पनि ।”
“मलाई जित्न देऊ न त अनि त्यस जिताइमा तिमीलाई पाउने वाचा होस् अनि म हाँसुँला खुब खुसी भएर- चकोरले चन्द्रमा पाए, चातकले वृष्टि पाएझैं, कवि र कोइलीले वसन्त पाए अनि प्यासीले पानी पाएझैं आनन्दित हुँला ।”
“आफू हार्ने मूर्खता पनि कोही गर्ला ?” बसिरहेको ठाउँबाट उठी झ्यालबाट हेर्न जाँदै नानीथकुंले भनिन् ।
“म हार्छु भन्ने कबुल गर्दै छु, तिमी नै जित बाबा ! तिमी नै ।”
“जित्ने अभिमान पनि छैन ममा, तपाईंले जित्नुभयो भने के गराउने नि मलाई ? लडाइँमा हारेको कैदीलाई दुःख दिएझैँ दुःख दिने कि ?” झ्यालबाट फर्कंदै नानीथकुंले भनिन् ।
“मैले जितें भने, भनूँ त ?”
“भन्नुहोस् न लौ ।”
“तिम्रो मधुर कण्ठबाट एउटा मिठो गीत गाउन लाउने ।”
“अहो ! को गाइरहोस्, त्यसो भए मै जित्छु । मैले जितें भने त
तपाईंलाई गाउन लाउँदिनँ ।”
“के गराउने त ?”
“लाखेनाच नचाउँछु ।” खित्त हाँसेर नानीथकुंले भनिन् । “’लाखे’ हुँ र म ‘लाखेनाच’ नाच्नलाई ?”
“म चरी हुँ त गीत गाउनलाई ?”
“उ: क्या तिम्रो वाणी अर्थात् बोलीमा नै लय छ, मिठास छ, अनि पूरा सङ्गीतको प्रकार छ ।”
“तपाईंको अनुहारमा पनि झम्टिहाल्ला झैं लाखेको ‘पन’ छ, आँखा लाखेझैं उफ्रीउफ्री नाचिरहेको छ ।”
“तिमीले नै जित्यौ, लौ तिमीले नै, लौ त म लाखेनाच नाचूँ त ?”
“टुम्टुम् छयाँय् !” हातले लाखेनाचको बाजाको ताल मिलाउँदै खित्त हाँसेर नानीथकुंले बोलिन् ।
“अँ भन न लौ साँच्ची, तिमीले मलाई के भन्न चाहेको ? साँच्चै म रिसाउँदिनँ ।”
“के ?”
“’नानीथकुं’ को सट्टा मैले तिमीलाई ‘नानी’ भन्न चाहेझैं तिमीले मलाई के भन्न चाहेको ?”
“हो त ? रिसाउन पाइन्न नि ?”
“हो हो लौ, रिसाउँदिनँ ।”
“नाइँ, तपाईं रिसाउनुहुन्छ ।”
“रिसाउँदिनँ भन्या’ तिमी मारे हत्या ।”
“भैगो लौ, अरू कुरा गर्नोस् ।”
“नभने म मारे हत्या ।”
“भनिहालूँ त ? तपाईंलाई…?”
नानीथकुंले मुस्कुराउँदै अलि लजाएको भावमा डाक्टर गोदत्तप्रसादको मुख वाल्ल परेर हेरिरहिन् ।
“अँ मलाई ?” डाक्टर गोदत्तप्रसादले फेरि कोट्टयाए । “तपाईंलाई !” लज्जापूर्ण भावमा डाक्टर गोदत्तप्रसादको अनुहार पुलुक्क
हेरी अलि खिस्स हाँसेर – “तिमी भन्छु” नानीथकुंले भनिन् ।
“मोरी !” अँगाल्न हात बढाउँदै डाक्टर गोदत्तप्रसादले भने । “नकच्चरा !” फुत्केर पछि हट्तै मुसुक्क मुस्कुराएर नानीथकुं छुट्टिइन् । डाक्टर गोदत्तप्रसाद मस्त भएर नानीथकुंको अनुहार हेर्दै हाँसिरहे । यत्तिकैमा माथिबाट “नानीथकुं ! भात खान आऊ” भन्ने सम्बोधन सुनियो । “लौ जाऊ भात खान आजलाई, भोलि त बिदाको दिन छ दिउँसै आउँला है ?” नानीथकुंको हातको हर्थुङ्गामा चुम्बन गर्दै डाक्टर गोदत्तप्रसादले भने ।
“नबिर्सीकन !” अतृप्त आँखाले हेर्दै नानीथकुंले भनिन् ।
० ० ० ०
बाह्र
आज लतमाया र नानीथकुंले भात नखाँदै काममा गएका घरका सबै जहान एकै समयमा धमाधम घर आइपुगे । सबै आइपुगेका देखेर लतमाया र नानीथकुंले घरका सबै जहानलाई भात पस्कन थाले ।
सबैले भात खान लागेको बेलामा लतमायाले ‘सुब्बा सुरमानका मानिस आएका र उनले देशी तान किनेर मद्दत गर्नेबारे दिउँसो भएका सारा कुरा छोराहरूलाई बताइन् । पोहोर सालको बाली बाँकी भएको लेखाइराखेको तमसुक च्यातिदिइसकेको कुरा पनि भनिन् ।
ती कुरा सुनेर शिवनारानलाई अलि आश्चर्य लाग्यो । सुरमान सुब्बा अगि त्यस्तो उदार नभएको कुरा शिवनारानलाई राम्रै थाहा थियो । ‘पोहोर साल असार नराम्रो भएकाले बाली तिर्न नसक्ता कडिकडाउसाथ ताकिता गर्दै सयकड़ा पच्चिसको दरले बढाई तमसुक लेखाएर लिने दानव आज एकाएक कसरी देवता भएर निस्क्यो ?’ उनले अलि सोचिसकेपछि भने- “आमा ! तपाईंले मन्जुर नगर्नुपर्ने ।”
“हामी कति ठुला मानिस हौं र त्यत्रो ठुलो तल्सिङले यस्तो दया गरेकोमा तिरस्कार गर्न सक्छौं ? दिनेले दिन सक्छ भने लिनेले किन हटिरहने ?” लतमायाले भनिन् ।
शिवनारानले गम्भीरतापूर्वक ‘अँ अँ’ को रूपमा टाउको हल्लाए तर केही बोलेनन् ।
“पोहोर सालको बाली बाँकीको तमसुक पनि च्यातेर माफी दिनु मोहीमाथिको तल्सिङको सानो निगाहा होइन । आजको जुगमा यस्तो तल्सिङ पाउन गाह्रो छ ।” कृतज्ञताको भावमा लतमायाले भनिन् ।
“तमसुक बेइमानीको बल तोड्ने साधन मात्र हो, त्यसैले तमसुक च्यातिइसक्यो भनेर हामीले बेइमान हुनु हुँदैन । हामीले खास तिर्नु छ र तिर्ने कबुल पनि गरिसकेका छौं ।” शिवनारानले भने
“त्यसो भए उनले माफी दिए तापनि हामीले तिर्न जाने त ? यो कुरा चित्त बुझेन दाइ !” पुननारानले भात खाँदै भने
“यस्तो एकाएकको उदारता अवश्य खतरनाक छ, मलाई शङ्का लाग्छ, भाइ ! त्यही बालीका निम्ति अस्तिअस्तिसम्म दैत्य भइरहेको मानिस आज एकाएक कसरी देवता हुन सक्ला ? मलाई त असम्भव लाग्छ ।” गम्भीर मुद्रामा शिवनारानले भने ।
“त्यसो भए देशी तानको मद्दत पनि नलिने त ?” लतमायाले अलि चित्त नबुझ्दो भावमा बोलिन् ।
“मद्दत अवश्य राम्रो कुरा हो र लिनु नराम्रो पनि छैन, तर मद्दतगार मानिस त्यस्तो गुनी नदेखिएको हुनाले मलाई त तितो लाग्छ ।” शिवनारानले भने ।
“डाक्टर गोदत्तप्रसाद पनि त अगि असल मानिस थिएनन् तर उनले हामीलाई त्यस्तरी मद्दत दिए, हामीले उनको हरेक मद्दतलाई स्वीकार गर्यौं पनि ।” हर्षनारानले भने ।
“उनको मद्दत पनि मलाई मिठो लागेको थिएन । तर एउटाबाट थिचिसकियो भनेर अर्कोबाट थिचाउन लाउनु बुद्धिमानी पनि त होइन । डाक्टरको त्यस्तो सहानुभूतिलाई बाले पनि त सहसा मिठो मान्नुभएको थिएन ।” शिवनारानले चुठेको मुख पुछ्तै भने ।
‘डाक्टरको मद्दत मिठो नमानेको’ भनेको सुन्दा नानीथकुंलाई तितो लाग्यो । उनले अलि मुख बिगारेकी थिइन् तर कसैलाई होस भएन ।
० ० ० ०
तेह्र
शिवनारान आफैँले तमाखु भरेर मस्तसित खाइरहेका थिए । उनलाई आज तमाखु यति मिठो लाग्यो कि चिलिम सिद्धिन मात्र के आँटेको थियो, अर्को चिलिम फेरि भर्न थाले; हाकुमायालाई अगि नै दिक्क लागिसकेको थियो । ठट्टाको भावमा उनी बोलिन्- “छिः कति मात्र तमाखु खाइरहन सकेको ! मिठो चिज भए पनि एउटा कुरा !”
“तिमीलाई मिठो नलागे के त, मलाई मिठो लागेको छ । तिमी सुत न मजासित कुम्भकर्णै बनेर !” शिवनारानले पनि ठट्टाकै भावमा भने ।
भर्न आँटेको तमाखु नभरीकन शिवनारानले भने- “लौ, लौ आजलाई सन्तोष गरेँ, अर्काले तमाखु खाई आनन्द लिएको कति सहन नसकेकी ।”
जिस्क्याएको भावमा हाकुमायाले भनिन्- “खाइरहनुहोस् न रातभरि नै, मैले किन कपाल दुखाइरहनुपरेको छ !”
हाकुमायाले दिएको ठट्यौलो जबाफबाट शिवनारान नाजबाफ भए । तर आफ्नो नाजबाफीलाई उनले हाकुमायाको हाजिरजबाफलाई बधाई दिएको भावमा हाँसेर छोप्न खोजे ।
सुत्नलाई पल्टँदापल्टँदै हाकुमायाले वास्तविक घटनाको भावमा भनिन्- “होइन, बहिनीको बिहे गर्न किन हतारो नमान्नुभएको ?”
“हतारै के छ त ? पैसा पनि त हुनुपर्छ बिहे गर्नलाई !” साधारण भावमा शिवनारानले भने ।
“हो, उड्नलाई पखेटा नचलाइरहे त ।”
“किन ?”
“मैले त आज उनको नराम्रो कुरा सुनेँ ।”
“के सुन्यौ हँ ?” अलि झस्केको भावमा शिवनारानले भने । “आज साँझमा धारामा पानी लिन जाँदा पुन्वा दाजुकी स्वास्नीले भनेकी थिइन्- नानीथकुंको डाक्टरसित प्रेम छ रे !”
“को डाक्टर ?”
“अरू को होला ? उनै बालाई औषधी गर्न आउने आफ्नै टोलका गोदत्तप्रसाद !”
लाजले हो कि रिसले हो, शिवनारान त्यति सुन्नासाथ केही प्रश्न नगरीकन चुप लागे ।
हाकुमायाले फेरि भनिन्- “त्यो डाक्टर पाँच बजेतिर दिनहुँ आउँछ रे, घण्टौं ठट्टा गरेर जान्छ रे ! झन् आमाले भात पकाउने गर्नुभएकोमा त उनीहरूलाई सत्र पर्दो रहेछ । आज त डाक्टरले नानीथकुंलाई अँगालेको पनि देखे रे, नानीथकुँ हाँसी रे !”
“साँच्ची हो रे ?” शिवनारानले भने ।
“साँच्चै हो । एक-दुई चोटि मात्र ठट्टासम्म गरेको भए किन भनूँ भन्ठानेकी रे, आज त अचाक्ली नै देखेर नभनिरहन सकिनँ भन्थिन् ।”
“मलाई पनि अलिअलि शङ्का त अस्ति नै लागेको थियो ।”
“विचार गर्नु पर्दैन त ? झन् आमाको हेरचाहका निम्ति घरमा छोडिराखेको त उनीहरूलाई सोह्रमा तान्दा एक्का भयो ।”
“फिस नलिनु डरलाग्दो कुरा छ, ‘मलाई शङ्का लाग्छ, अब उनलाई नबोलाउनू’ भनी बाले त पहिल्यै भन्नुभएको थियो । बुढापाकाको कुरा सितिमिति फुट्टा हुँदैन, अनुभवको आधारमा बोलेका हुन्छन् ।”
“डाक्टरको के दोष ? झन् हुलदङ्गा हुन्छ, आफ्नै मात्र बेइज्जत होला । ‘आफ्नो थैलीको गाँठो बलियो पार्नू, साथीलाई दोष नलाउनू’ भनेझैं नानीथकुंलाई भोलिदेखि खेतैमा लगिराखे त कुरै मेटिन्छ- न रहे बाँस, न बजे बाँसुरी !” हाकुमायाले अलि गम्भीर भावमा भनिन् ।
“त्यो डाक्टर कस्तो बदमास ! पख न नानीथकुंलाई पनि म के गर्छु ?”
० ० ० ०
चौध
भोलिपल्ट शिवनारान शौच स्नान सिद्ध्याई भात खान गए । भात खाएर आई उनी सरासर आमा भएको ठाउँमा पुगे । “भरेदेखि नानीथकुंलाई भात पकाउन दिएर तपाईं कपडा बुन्ने काममा लाग्नुहोला ।” शिवनारानले एक्कासि आदेश जाहेर गरेजस्तो गरी आमालाई भने ।
लतमाया एकछिन टोलाइन् र भनिन्- “किन ?”
“दिनहुँ डाक्टर गोदत्तप्रसाद आएर नानीथकुंसित ख्यालठट्टा गरिरहन्छन् भन्ने मैले सुनेँ ।” एकाएक शिवनारानले दिक्दारी भावमा भने ।
“यता केही दिनदेखि डाक्टर गोदत्तप्रसाद त दिनहुँ आउँछन्, यो कुरा त अवश्य हो, तर ख्यालठट्टा गरिरहेको मैले देखेकी छैन ।” लतमायाले अलि रोमाञ्चक भावमा भनिन् ।
“तपाईं माथि भात पकाइरहनुहुन्छ, अनि ख्यालठट्टा गरेको के देख्नुहोला ?” शिवनारानले भने ।
लतमायाले केही पनि भनिनन्, केवल अलिकति मुख बिगारिन् । “आजदेखि त्यसै गर्नुहोस् ।” शिवनारानले भने ।
अहिले पनि लतमाया चुप नै लागिरहिन् । तर उनलाई नानीथकुंदेखि अलि घृणा र डाक्टर गोदत्तप्रसाददेखि रिस उठेर आयो । एकैछिनपछि लतमायाले सोधिन्- “तिमीलाई यो कुरा कसले भनेको शिवनारान ?”
“जसले भने पनि भैगो, तर होसियारी त हामीले गर्नैपर्छ ।”
“यो कुरा त ठीक हो, तर नसहेर र अर्काको बदनाम गर्न पनि दुर्जनहरूले नचाहिँदो बकबास गरिदिन सक्छन् ।”
“तर जे भए पनि केही नराम्रो कुरा सुनियो, सकेसम्म सतर्क त हुनै पन्यो । बरु सतर्क र सावधान भएर हो/होइन बिस्तारै बुज्दै गरौंला ।”
“हो, तिमीले भनेको कुरा मनासिब छ । तर मलाई भनेर के हुन्छ, को हो त्यसो भन्ने ?”
“पुन्चाकी स्वास्नीले भनेकी रे ।”
“उसले कसलाई भनेकी रहिछ ?”
“बाबुचाकी आमालाई ।’
“जेठी बुहारीलाई नै भनेकी रहिछ ?”
“अँ !”
“बाबु मरेको दुई महिना भएको छैन, हेर छोरीको चाल ! साँच्चै हो भने हरेराम ! कसरी मैले छिमेकीहरूलाई मुख देखाउने ?”
“डाक्टर गोदत्तप्रसादलाई ठाडै ‘अबदेखि नआउनू’ पनि कसरी भन्ने ? त्यसो भन्नु पनि राम्रो कुरा होइन । तर उनी सकेसम्म आउँदै नआऊन् अथवा बहुतै कम आऊन्, यही अक्कल हामीले गर्नुपयो । तपाईं घरमा बसिरहने, त्यसैले तपाईं नै यसको पनि इन्तजाम गर्नुहोस् ।” शिवनारानले गम्भीर मुद्रामा भने ।
अबेर भइसकेको हुनाले यति भनी शिवनारान सबलाई लिएर खेतमा गए । जानुभन्दा अगाडि उनले लतमायालाई यो पनि भनेका थिए- “सुरमान सुब्बाले दिन खोजेको विदेशी तानको मद्दतलाई पनि स्वीकार नगर्नुहोला किनभने डाक्टर गोदत्तप्रसाद सुब्बा सुरमान पनि अगाडि असल मानिस थिएनन् । चलाख मानिसको स्वार्थ र धुर्त्याइँ असल कुराभित्रै लुकेको हुन्छ ।”
क्रमशः



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

