दुर्घटना

कर्तव्यको कठोर आदेश एकापट्टि औ जुनिभरिका साथीको माया अर्कापट्टि । एकापट्टि विवेक औ अर्कापट्टि ममता । माझमा मोहन । कस्तो द्विविधा ? के उपायले यो उभय संकटदेखि बाँच्ने ?

मोहनको मनमा तुमुल द्वन्द्व चल्दो छ ।

कर्तव्य भन्छ, “मोहन, कर्तव्य पथदेखि कदापि पछि नसर । यतिका दिन गीता पाठ गरेर तैंले यही शिक्षा पाएको छस् । कर्तव्यका सम्मुख एउटा होइन, हजारौं शेखरको ममता तैंले त्याग गर्नुपर्छ ।”

ममता भन्छ, “मोहन ! निठुरी नहो । तँ काठको पुतली ता होइनस् । के संसारमा मान्छेले सधैँ बुद्धि र विवेकले मात्र काम गर्छन् ? ममता र मायाको तँमाथि केही दाबी छैन ? बपुरो शेखर ! ऊ सानोदेखि नै त्यस्तो छ-दुर्बल चित्त भएको । बालकको पियारो साथीलाई कर्तव्यको मुख हेर्दैमा छोडिदिने ? फेरि शेखरको दोष र गुण विचार गर्ने पो तँ को होस् र ?”

मोहनको मनमा एकचोटि शङ्का लाग्यो । तुलसी बाजेले ता कतै अर्काको कुरा सुनेर शेखरको निन्दा त गरेका होइनन् ? तर यस्तो कुरा ता हुनै सक्तैन । राम, राम ! तुलसी बाजे जस्ता निर्दोष प्राणीले अर्काको निन्दा कैले गरिहिंड्थे । बिचरा तुलसी बाजेका सम्बन्धमा यस्तो कुरा मनमा ल्याउनु नै पाप हो । हिजो बेलुका तुलसी बाजेको अनुहारमा कति ठूलो दुःखको झलक देखिन्थ्यो ।

यस्तै अनेक थरीका विचारमा आकाश पाताल एक गर्दै मोहन एउटा कुनामा आराम कुर्सीमा पल्टिरहेको छ ।

इन्द्रशेखर प्रभातको उज्यालो औ आफ्नो सुन्दर अनुहारको कान्ति कोठाभरि विकीर्ण गर्दै भित्र पस्यो । कति सुन्दर शेखरको शरीर-कति स्वस्थ र सबल । अनुहार केटाकेटीहरूको जस्तो सरल । काला काला आँखा कति हँसिला । शेखर भित्र पस्नासाथ कोठाको प्रत्येक जिनिसमा नयाँ जीवन जाग्यो । मोहन शेखरलाई देख्नासाथ मेचबाट उठ्यो । दुवै मित्रले ठूलो प्रेमले भेट गरे । हराए मोहनका चिन्ता शङ्का र अशान्ति । मायाका सामू कर्तव्यले शिर निहुराउनुपयो ।

एक छिनपछि दुवै मित्र बाहिर निस्के औ बर्चहिलपट्टि डुल्न भनी हिंडे । ग्रीष्म ऋतु भर्खर प्रारम्भ भएको छ । नील आकाशमा बादलको कतै नाउँ गोत छैन । बाटाका दुवैपट्टि अनेक थरीका फूल फुलेका छन् । नाना जातिका चराहरू जङ्गलमा प्रभाती गाइरहेछन् ।

‘बर्चहिल’ मा पुगेर जङ्गलको एउटा एकान्त कुनामा ती दुई मित्र भारमा लोटेर गफ गर्न लागे । कति घडी बितिसके । तिनको अरू कुराहरूपट्टि ध्यान छैन । मदेशका शहरहरूदेखि वाक्कै भएका दुवैको शुष्क प्राण पहाडको सुमधुर दृश्य र स्पर्शले फेरि पल्लवित भै उठ्यो। धूपीका रूखका शीतल छायामुनि पल्टनु, आहा कति शान्तिप्रद, कति आनन्ददायक ।

अनेक घडी त्यसरी बितेपछि, मोहनले हातको घडी हरेर भन्यो, “अरे राम ! कति बेर भै सकेछ । एक बज्न लौ पाँचै मिनट बाँकी रहेछ । कसो शेखर, अब ता घर पनि फर्कने कि यहीं जीवन बिताउने ?”

शेखर लुगाको धूलो झार्दै उठ्यो । बर्चहिलबाट तलतिर ओर्लेर ती दुइ दार्जीलिङको मूल सडक कार्ट रोडबाट शहरतिर फर्कन लागे ।

एकै नासका लुगा लाएका तीनवटी तरुणीहरू तिनीहरूभन्दा केही बीस पच्चीस कदम अघि जाँदैछन् । मोहनले त्यो लक्ष्य गरेर आफ्नो चाल अल्लि ढिलो गयो । शेखर भने असहिष्णु भएर दगुर्न खोज्छ । मोहनले शेखरको मनोभाव बुझ्यो औ बुझेर साह्रै दुःखित भयो । साथीको यस्तो कलुषित मन औ वासनाले पूर्ण भएको स्वभाव देखेर मोहनलाई ठूलो दुःख लाग्यो ।

एक्कासि अघिबाट एउटा मोटरकार धूलो उडाउँदै औ प्रचण्ड स्वरले पों पों गर्दै उडेर आयो । उनीहरूका अघि हिंडिरहका तरुणीहरू आपस्तमा गफ गर्दै, हाँस्तै धीर मन्थर गतिले हिंड्दै थिए । अघिल्तिर एक्कासि मोटर ठूलो वेगले उडेर आएको देख्दा तीन जना आत्तिएर जताततै दगुरे ।

तर अभाग्यवश ! एउटी युवतीलाई ता मोटरको अघिल्लो भागले भेट्टाइहाल्यो । युवती भुइँमा लडी औ साथै इन्द्रशेखर दगुरेर त्यहाँ पुग्यो । मोहनले दगुरेको ड्राइभरको हात समात्यो ।

गाडीभित्रको मानिस पनि सबै ओर्ले । अरू दुइटी युवतीहरू पनि आफ्नी सङ्गिनीका सिहारमा लागे । मोहनले मोटर-चालकलाई घटना स्थलमा ल्यायो ।

शेखरले यतिञ्जेल युवतीलाई भुइँदेखि उठाइरहेको थियो । युवतीको अनुहार चिनेर शेखर भीत कण्ठले करायो, “मोहन, लौ सर्वनाश भयो । यी ता वीणा पो रहिछन् ।”

“वीणा ! वीणालाई चोट लाग्यो” भन्दै मोहन शेखरका नजिकमा गयो । दुवै मित्रले मिलेर ठूलो यत्नसित वीणालाई मोटरमा लगेर राखे ।

राम्ररी हेर्दा त वीणालाई उति सारो चोट ता केही लागेनछ । गाडीको अघिल्तिरको भागले अलिकति छोएर वीणालाई लडाइदिएछ । वीणाका गालामा साधारण एउटा चोट र कुहिनामा अलि अलि चोट लागेछन् ।

मोहनले नजिकैको पानी-कलबाट पानी ल्याएर मुखमा छ्यापिदियो औ दीप्तिले आफ्नो सारी च्यातेर वीणाका घाउमा पट्टी बाँधिदिई । प्रभाले वीणाको टाउको आफ्ना काखमा राखेर रुमालले त्यसको मुख पुछिदिन लागी ।

एक छिनपछि वीणा बौरी औ चारैपट्टि मानिसहरूले आफूलाई घेरेको देखेर त्यसका गाला लाजले राता भए ।

अन्त्यमा त्यही मोटरमा वीणालाई मोहन, शेखर औ दुइ युवती मिलेर शेखरका घर लागे ।

मैना देवी वीणालाई त्यसरी ल्याएको देख्दा सारै आत्तिइन् । वीणालाई भित्र लगेर पलङमा सुताई । तिनले शेखरलाई डाक्टर बोलाउन पठाइन् ।

प्रभा र दीप्ति वीणाका शय्याको छेउमा गएर बसे । मोहन बाहिरको कोठामा डाक्टरको प्रतीक्षामा बस्यो ।

यो दुर्घटना भएको दुई दिन भयो । वीणा अझै शेखरको घरमा छे । पहिले हेर्दा ता वीणालाई केही उस्तो डरलाग्दो चोट नलागेको भए तापनि भित्र फोक्सो र मुटुमा निकै घच्चा लागेछ । हुन पनि साँच्चै नै वीणालाई त्यो मोटर-दुर्घटना भएको बेलुकादेखि जरो आयो औ साथै सास फेर्दा छातीमा कष्ट हुन लाग्यो । त्यसपछि दुई दिन भयो त्यसलाई छातीमा निकै कष्ट हुँदैछ ।

मैनादेवी, ललितसिंह, शेखर, वीणाकी फुपू, सबै ठूलो भावनामा परे । कर्मनिष्ठ ललितसिंह दुइ दिनदेखि कामकाज छोडेर वीणाका सिहारमा छन् । मैना देवीका आँखामा निद्रा छैन । शेखर कविता काव्य सबै छोडेर डाक्टर र औषधिमा लागिरहेको छ । ललितसिंहको शान्तिमय परिवार शोकाच्छन्न छ। प्रियजनहरूका सेवा र यत्नले वीणा निको भई । दस बाह्र दिनमा त्यो स्वस्थ भई । त्यसपछि कृतज्ञताको आँसु बगाउँदै एक दिन वीणा आफ्नी फुपूसित घर गई ।

वीणा जति दिन बिमारी भएर त्यही ओछ्यानमा लिडिरही, शेखरलाई अरू कुनै कुराको ध्यान रहेन । रातदिन त्यो कसरी वीणालाई निको तुल्याउने, वीणाको कष्ट कसरी घटाउने, के कुरा गर्नाले वीणालाई जाती हुन्छ- यिनै चिन्तामा रह्यो । समय कसरी बित्दैछ, बाहिर संसारमा के भै रहेछ, त्यसलाई केही थाह भएन ।

आज वीणा विदा भएर आफ्नो घरमा गई ।

शेखरका मन प्राण सबै शून्य भए । रातभरि सहनाई बजाई, श्लोक र भजनले यज्ञ गुञ्जयमान पारी, धूमधामले बिहे सम्पन्न गरी, बिहान दुलही बिदा गरेर दुलहीका मानिसहरू जस्ता प्रकारले शून्य यज्ञ हेर्छन् औ आँसु खसाल्छन्, शेखरको हाल पनि त्यस्तै छ ।

शेखरको मन विरक्त भयो । जीवन शेखरलाई एउटा अर्थहीन उपहार जस्तो लाग्यो ।

* * * * * *

सूर्योदय

वीणा कोठाको एउटा कुनामा बसेर सितार बजाइरहेकी छ । शुक्लपक्षको रात । जून आकाशमा हाँसिरहेको छ । पर्वतराजका धवल श्रेणीमा यत्रतत्र छरपुष्ट भएका बादलखण्ड जूनमा टल्कँदा कस्ता विचित्र रूप धारण गरिरहेछन् ।

यो अनुपम सौन्दर्यले वीणाको तरुण प्राणलाई मत्यायो ।

भावले खोज्छ भाषामा प्रकट हुन- औ भाषाको चरम उद्गार हुन्छ संगीत ।

गीत गाउने, प्राण भरेर गीत गाउने, वीणालाई उत्कट इच्छा भयो । सितार राखेर वीणाले हार्मोनियमका पर्दामा औंला दगुराई ।

चतुर औंलाका कोमल स्पर्शले प्राणहीन बाजा सजीव भै उठ्यो । वीणा गाउन थाली-

“सुनाई मीठो मुरली दुरैमा,

रुवाई वातास करुण सुरैमा ।

निस्तब्ध राती विरही वनैमा

डुल्दो छ एक्लै पियारो मनैमा,

हाँस्छन् शशी..

बाहिर बरण्डामा मैना देवी, शेखर र मोहन विमुग्ध भएर उभिरहेका थिए ।

वीणा आगन्तुकहरूलाई देखेर ईषत् लज्जित भएर निहुरी ।

शेखरको मुखबाट निस्क्यो- “कति सुन्दर स्वर ?”

ताल, लय, सुर, राग, रागिनी सबै विलीन भए-

मर्त्यलोक छोडेर कुन सुदूर तारालोकमा ती भासिए ।

यतिञ्जेल त्यो मधुर संगीतले वरिपरिको वायुमण्डलमा एउटा अपूर्ण मायाजाल सिर्जना गरिरहेको थियो ।

“कान्छी आमा यति राती कहाँबाट यसरी एक्कासि आइबक्सनु भयो ?” वीणाको स्मित अनुहार आनन्द र कौतुकले प्रकाशमान भयो ।

मैना देवीका हात समाएर तिनलाई गलैंचामा अति आदरले बसाएर वीणाले शेखर र मोहनलाई नमस्कार गरी ।

शेखरको आग्रहले वीणा फेरि गाउन थाली-

“हाँस्छन् शशी स्वच्छ नभै रसाई,

फुल्छन् कमल् पुष्पसरै हँसाई ।

बादलहरू पर्वतमा फिंजेका,

रुख् पात् हरिया शीतमा भिजेका ॥

देखेर सौन्दर्य-सुधा बहेको,

बढ्दो छ ताप् झन् नसकी सहेको

डुल्दो छ वन् वन् समझी प्रिया नै,

सुम्पेर तन्मन् विरही प्रियामै ।”

“धन्य वीणा ! तिम्रो संगीत-चर्चा सार्थक भएछ।” शेखर उच्छ्वसित कण्ठले वीणाको तारीफ गयो ।

“लौन ता, उस्तादजी ! अब तिमीले एकचोटी हाम्रा कानलाई धन्य गराइदेऊ ।” मोहनको उक्ति सुनेर सबै हाँसे ।

मैना देवीले हाँस्तै भनिन्- “भो, अब यो मजलिस समाप्त गर । वीणा, आज ‘टाइगर हिल’ मा सूर्योदय हेर्न जाने हामीले पक्का गर्यौं । मोहन भोलि दिउँसो बनारस जाने भो । भोलि बिहान घाम झुल्केको नहेरी नहुने रे । ”

वीणाकी फुपूले यो कुरा सुनेर भनिन्- “लौ, यो मुखेनीले पनि कस्तो कुरा गरेको नि ? रात बिरात डाँडा काँडामा केटाकेटी लिएर कहाँ घाम झुल्केको हेर्न जाने ? घाम झुल्केको ता हाम्रै आँगनबाट पनि ता देखिन्छ नि !”

बुढियाका लाटा सोझा कुरा सुनेर वीणाले भनी, “होइन फुपू, माथि टाइगर-हिलबाट ता अर्कै घाम झुल्केको पो देखिन्छ ता । कहाँ-कहाँ अमेरिका जस्तो विदेशबाट मानिसहरू त्यो हेर्न आउँछन् ।”

“टाइगर हिल, साइगर हिल म जान्दिनँ, बाबै ! रात-बिरात जङ्गलमा हिंड्दा केही लाग्यो भने, फेरि मेरै आधामासु” भनेर बुढिया गनगनाउन लागिन् ।

बुढिया यसरी रिसाएको देखेर शेखरले एउटा बठ्याईं गयो ।

“हेर्नोस् फुपू, सूर्य भगवान् उदाएको हेरेदेखि सबै पाप काटिन्छन् । त्यसैले ता सहस्र मानिसहरूको त्यहाँ दिनहुँ धुइरो लाग्छ । त्यहाँ गएर एक दिन आफैं हेर्नोस् न । पूर्व दिशामा पहिले नाना रकमका रंग देखिन्छन् । त्यसपछि सातवटा घोडाले तानेका रथमा चढेका सूर्य कस्तो मजासित एउटा माटाको हाँडीबाट निस्कन्छन् ।’

धर्मपरायणा सरला बुढिया मुख बाएर शेखरपट्टि हेरिरहिन् । अरू तीनजना मुख फर्काएर हाँस्न थाले । शेखरको अपूर्व वर्णनले विगलित भई बुढियाले भनिन्- “लौ ता, त्यस्तो उदेक देखिने हो भने जाऊ । रमिता पनि देखिने, पुन्ने पनि हुने । ”

स्टेशनदेखि मोटरमा चढेर ती जोरबंगला पुगे । त्यहाँ पुगेपछि ती पैदलै टाइगर- हिलको उकालो बाटो लागे ।

निर्मल रजनी ! जनहीन पथ । बाटाका दुवैपट्टि उच्चा वृक्षश्रेणी औ वन । साना-साना खोलाको स्वच्छ पानी-निरन्तर, झर्झर् गर्दै झरिरहेछ ।

मालिङ्गोको घारीमा असंख्य जूनकीरी-राजाको कालो पोशाकमा जडित मणिमाणिक्य जस्ता ।

औ नजिकै साह्रै नजिकै इन्द्रशेखर । वीणाको मनप्राण एउटा वर्णनातीत आनन्द र आवेगले प्लावित भयो ।

संसार !- कति सुरम्य, कति शान्तिप्रद !

शेखरका मुखबाट अजस्र वाक्यधारा प्रवाहित हुँदैछन् । कैले दार्जिलिङका विषयमा, कैले देशविदेशका विषयमा, कैले भूतप्रेतका विषयमा अनेक प्रकारका गफ र प्रसङ्गले साथका तीन प्राणीलाई कैले हँसाउँछ औ कैले दङ्ग पार्छ ।

दुई बजे रात यसरी हाँस्तै गफ गर्दै यी चारजना ‘टाइगर हिल’ पुगे ।

अनेक जातिका, नाना वर्णका, बूढाबूढी, तरुणातरुणी, केटाकेटी भेला भएका छन् । जाडो उत्कट छ। कोही काम्लो ओढेका छन्, कोही ओभरकोटमा मुण्टो घुसारेर उभिरहेका छन् । सबै बिहानका जाडाले थरथर काम्दैछन् ।

तर सबैका अनुहारमा प्रसन्नता छ- सबै उद्ग्रीव छन् । यतिका नरनारी यत्रो कष्ट सहेर यहाँ एकत्र भएका छन् किन ?

प्रकृतिदेवीको अतुल चित्रकारीको चमत्कार र शोभा हेर्न, पूर्वाकाशका भास्कर भगवान् उदयको त्यो अवर्णनीय छटा-उषादेवीको शुभ्र वसनमा नव सूर्यरश्मिको त्यो कोमल प्रथम-स्पर्शको दर्शन गर्न त्यहाँ नित्यप्रति नाना देशीय नरनारी भेला हुन्छन् ।

उषाको आगमन ! पूर्व दिशा व्याप्त गरेर अन्धकारका गर्भबाट क्षीण रक्तवर्णले जन्म ग्रहण गर्यो । अहो ! कस्तो विस्मयकर हृदय-कस्तो रङ्गलीला पूर्व दिशाको गाथमा । कहिले नीलो, कहिले गुलाफी, कहिले बैगनी, कहिले सुनौला-यस्तो रङ्गको परिवर्तन, कहाँ कुन शिल्पीले गर्न सक्छ ?

वरिपरिका वृक्षशाखामा चराचुरुङ्गीले पनि आरम्भ गरे सुमधुर प्रभाती । प्रातः कालको चिसो हावाले दिग्दिगन्तलाई सुसुप्त अवस्थादेखि जागा गरायो । नयाँ प्राण, नयाँ जीवन, यत्रतत्र सञ्चार भयो ।

सूर्योदय ! पहिले सानो गोलाकार रातो पदार्थ । त्यसपछि त्यो गोलाकार पदार्थको आकार परिवर्तन । अहिले गाग्रोजस्तो, फेरि कुभिण्डो जस्तो, फेरि गोलाकार । लौ हेर, त्यो पदार्थ जसलाई हामी सूर्य भन्छौं, कस्तो तीब्र गतिले घुम्न थाल्यो ।

बिस्तार बिस्तार सूर्यका रश्मिले चारैपट्टि आफ्ना सुनौला मायाजाल फिँजाए । अब सूर्यपट्टि हेर्न पनि दुष्कर भयो ।

वीणा शेखरको छेउमा उभिएर त्यो दृश्य हेरिरहेकी छ औ मैना देवी र मोहन एउटा उच्च स्थानमा उभिएका छन् ।

बिहान भयो ।

आजको प्रभात, कति आनन्दमय,- कति शान्तिप्रद !

वीणाको दृष्टि एक्कासि शेखरमाथि पर्यो । सूर्यका पहेंला आभामा वीणाको मुखकान्ति । कति मनोहर, कति पवित्र, कति निर्मल ।

इन्द्रशेखरको हात यन्त्रचालित जस्तो भएर वीणाको हात स्पर्श गर्न पुग्यो । वीणाका नरम हात त्यो प्रेममय स्पर्शले सहसा उष्ण भए- कम्पायमान भए । वीणाले विस्मय, प्रेम र श्रद्धाले विस्फारित भएका नेत्रले एकचोटि पुलुक्क शेखरलाई हेरी ।

वीणाको सर्वाङ्गमा एउटा अज्ञातपूर्व आनन्दको अनुभूति भयो । लाजले वीणाको दृष्टि नत भयो ।

वीणाका जीवनमा एउटा नयाँ अध्याय प्रारम्भ भयो । वीणाले मन प्राण सबै शेखरको प्रेममन्दिरमा कुसुमाञ्जलिस्वरूप चढाई । आफ्नो नवयौवन शेखरलाई उत्सर्ग गरी ।

* * * * * *

शेखरका आँखा उघ्रन्छन्

गर्मीको बिदा शेष भएपछि इन्द्रशेखर कलेज फर्थ्यो । कलकत्ता पुगेर शेखरले सर्वप्रथम वीणालाई एउटा पत्र लेख्यो ।

८७, कलेज स्ट्रीट,

कलकत्ता.

१-६-

वीणा,

जीवन मेरा निमित्त एउटा रित्तो सपना मात्रै थियो । त्यसको न ता थियो मोल, न उद्देश्य । कक्षदेखि खसेको ग्रह जस्तो जीवन यात्रा यापन गरिरहेथें-उन्माद भ्रान्त पथिक । म कहाँ जान लागिरहेको थिएँ जान्दिनथें । जान्ने कहिल्यै चेष्टा पनि गरिनँ ।

जीवन उपभोग गर्नु संसारका स्वादिला फल चाखी हिंड्नु, यही थियो जीवनको एकमात्र आकांक्षा ।

जीवनस्रोतमा म बगेर जाँदै थिएँ-जता स्रोतले बगायो उतै । एउटा विशाल जालमा म आफूलाई फँसेको देखेर निश्चल थिएँ ।

एक दिन अकस्मात्, तिमी मेरो नैराश्यले धुम्मिएको जीवन आकाशमा ध्रुव तारा झैँ देखा पर्यौ ।

वीणा, तिम्रो प्रथम दृष्टिले मलाई विमुग्ध पार्यो, विस्मित गरायो औ विमूढ तुल्यायो । त्यसपछि तिमीलाई जति जति देख्ने औ जान्ने मौका पयो, मेरा मनमा प्रेम र श्रद्धाले उति गहिरो जरो हाले ।

प्रेम !- म आफैं छक्क पर्छु । प्रेमलाई म मनको दौर्बल्य ठान्थें । तर आज यही प्रेमले मेरा आजन्मका सिद्धान्तलाई खलबल्याइरहेको छ ।

प्रेमको प्रथम कमलो स्पर्श ! टाइगर हिलमा त्यस दिन प्रभाव हुनाका साथै मेरो व्यर्थ जीवनमा नव प्रभातको आगमन भयो । तिम्रा दृष्टिमा पवित्र ज्योति थियो- प्रेम थियो, विश्वास थियो, श्रद्धा थियो ।

प्रेम, प्रीति, विश्वास, श्रद्धा- यी सबै म अर्थहीन अक्षर-समूह ठान्थे । तर त्यस चिरस्मरणीय मुहूर्तमा मेरा विचार, मेरा सिद्धान्तले पल्टा खाए ।

किन औ कसरी यस्तो घोर मत परिवर्तन भयो, म भन्न अक्षम छु ! औ किन कसरीका विषयमा तर्क-वितर्क गर्ने मेरो इच्छा पनि छैन ।

तिमी प्रेममयी छौ- औ तिमी छौ सरला । तिम्रो प्रेम, प्रीति औ श्रद्धा म जीवनको श्रेष्ठ आशीर्वाद ठान्छु । तिम्रो निःस्वार्थ प्रेम पाएर म आफूलाई धन्य मान्छु ।

तर वीणा, मेरो जीवनका गत परिच्छेद पल्टाई हेर्दा म नैराश्यका जलनिधिमा डुब्छु । वीणा, प्राणभन्दा पनि प्रिय वीणा-नारी जगत्की श्रेष्ठ मणि- म तिमीलाई आजन्म प्रेम गर्नेछु । तर तिमीले मलाई आजदेखि विस्मरण गर्नु ।

बिदा

तिम्रो-

‘शेखर’-

 

पत्र लेखिसकेर, इन्द्रशेखरले पत्रलाई दोब्याएर एउटा ठूलो नीलो खाममा हाल्यो । त्यसपछि एकचोटी लामो सास फेरेर बाहिरपट्टि हेयो ।

साँझ परिसकेको छ । बाहिर हरिसन रोडमा ट्राम, घोडागाडी, मोटर, रिक्साका स्वरले कोलाहल मच्चिरहेको छ । फेरि अघिल्तिर कलेज स्ट्रीटमा पनि त्यस्तै कोलाहल, त्यस्तै घुइँचो छ । हरिसन रोड र कलेज स्ट्रीटका दोबाटामा अनेक नरनारी उभिरहेका छन् । केही ट्रामका प्रतीक्षामा छन् ता कोही ‘ट्याक्सी’ बोलाउँदैछन् ।

कलेजका छात्र, अध्यापक, आपिसका किरानी, पुलीस कोर्टका वकील वडा बाजारका व्यापारी, पाकेटमार, गुण्डा, दरबान-समाजका प्रत्येक श्रेणीका मानिस छन् । सबै आफ्ना आफ्ना काममा छन् ।

अघिबाट एउटा दुइतले ‘बस’ प्रचण्ड वेगले आयो । उताबाट एउटा घोडागाडी ट्रामका अघि-अघि घड्घडाउँदै दुगुदै आउँदैछ । एउटा केटो यता कलेज स्ट्रीट नाघेर उता हरिसन रोडको ‘फुटपाथ’ पट्टि दगुर्यो । ‘बस’ त्यसका अघिल्तिर आइपुगेको थियो । पछि, दाहिनेपट्टि घोडागाडी और ट्राम । केटो ‘बस’ बाट जोगिनलाई पछि सरेको मात्रै थियो, घोडा गाडीमुनि चेप्टिन पुग्यो ।

प्रायः दश सेकेण्डमा यो सम्पूर्ण घटना बित्यो । एकछिन चारैपट्टि खलबल पयो । ट्राम, बस, मोटर सबै थामिए ।

एम्बुलेन्स कार आयो । घाइते केटोलाई लिएर मोटर अस्पतालतिर लाग्यो ।

घटनास्थलमा रगतको आहाल जम्यो । त्यसपछि फेरि ‘ट्राम’ र ‘बस’ हिंड्न लागे । मानिसहरू पनि आफ्ना आफ्ना काममा लागे । त्यो अभागी लडका को थियो- कहाँ जान लागिरहेथ्यो अथवा मन्यो कि चोट मात्रै लाग्यो; कसैलाई जान्ने, सोध्ने अवकाश छैन ।

शेखर कलेज स्ट्रीटको तलमाथि होस्टेलका कोठामा उभिएर यो दृश्य हेरिरहेको छ । कलकत्ताका गल्ली गल्लीमा यस्ता दुर्घटना नित्य होइरहन्छन् । यो असाधारण कुरो थिएन ।

तै पनि यो घटनाले शेखरको मनलाई साह्रै विचलित पार्यो । जीवन-निस्सार, छाया, अनिश्चित । क्षणभङ्गुर काया । यसका निमित्त यत्रो चिन्ता किन गर्ने ? यस्तै चिन्ता धारामा परेर शेखर धेरै बेरसम्म एकोहोरो घोरिरह्यो ।

दिनभरि पानीको अविरल धारा ओइरिहरेको छ । आकाशमा काला बादलको अखण्ड आधिपत्य छ । चारैपट्टि हिलो मैलो मात्र छ ।

वीणा यस्तो वारि-विद्युत-व्याकुल दिनमा एक्लै पढ्ने कोठामा बसेर पानीका अविराम झरझर सुनिरहेकी छ । बिजुलीका प्रत्येक चमकमा शेखरको हँसिलो अनुहार त्यसका आँखाका सम्मुख देखाहा पर्छ ।

शेखरलाई वीणाले प्रेमको उच्च आसनमा बसाएकी छ-औ उसको प्रेम सम्पूर्ण तनमनले स्वीकार गरेकी छ ।

नोकरले पत्रहरू ल्याएर टेबलमा राखिदियो । दुइवटा पत्र, एउटा मासिक पत्रिका औ तीनवटा सूचीपत्र थिए । वीणाका अघिल्तिर एउटा संस्कृतको पुस्तक थियो । तर पाठ्य- पुस्तकलाई टेबलमा सारेर वीणाको ध्यान कुन सुदूर लोकमा बिचरिरहेको छ ।

त्यहाँ न ता पानीको वर्षा छ-न हिलो मैलो । त्यहाँ संस्कृतको व्याकरण र अङ्कगणितको विकट समस्याको झिँजो छैन । घाम त्यहाँ सधैं लागिरहन्छ । फूल त्यहाँ कैले ओइलाउँदैन । सुख, शान्ति र शेखरको त्यहाँ अचल राज्य छ ।

बिजुली चम्क्यो । बादलले भीम गर्जन गयो ? वीणाले भ्याल थुनेर टेबलका पत्रहरूपट्टि मनोयोग दिई ।

नीलो खाममा शेखरका हातको अक्षर चिनेर वीणाको मुख आनन्द र आवेगले अतिशय रातो र उष्ण भयो । खाम च्यातेर त्यसले रुद्ध श्वासले चिठ्ठी पढी-

पत्र पढ्दा पढ्दै वीणाका आँखा सजल भइसकेका थिए । पढि सकेर त्यसले पुनः पत्रलाई खाममा हालेर पढ्दै गरेका पुस्तकका पत्रभित्र राखी ।

त्यसको अनुहार मलिन भयो । आनन्दका स्थानमा अशान्ति र नौराश्यको कालो छाप देखियो । त्यसको मधुर सपना एक्कासि अन्धकारमा विलुप्त भयो ।

प्रत्युत्तरमा वीणाले लेखी ।

‘रोज कटेज’

दार्जीलिङ ।

११-६-

पूज्यवर,

तपाईंको पत्र पाएँ ।

तपाईं मेरो आराध्य देवता हुनुहुन्छ । तपाईंलाई मैले मेरो जीवन उत्सर्ग गरिसकेकी छु । म तपाईंको प्रेम मात्रै यो संसारमा ग्रहण गर्न राजी छु ।

सीता, सावित्री तथा सतीका उपाख्यानहरू मैले सानैदेखि पढें । मेरा परम पूज्य पिता मेरा सहचर औ गुरु हुनुहुन्थ्यो । बाले बाल्यकालैदेखि मलाई सतीत्वको मर्म औ स्त्रीहरूका धर्ममा शिक्षा दिनु भएथ्यो ।

आज नवशिक्षित सम्प्रदायमा पुराना युगका कुराहरू झिक्नु मूर्खता र कुरुचिको परिचय दिनु मानिन्छ । सीता र सावित्री कथाका पात्रीहरू मात्रै हुन् ! लेखकका मस्तिष्क र कल्पनाबाट निस्केका छाया बाहेक केही होइनन् ।

आजसम्म संसारमा स्त्रीहरू पुरुषहरूका दाँजामा उभिन लागिरहेछन् । शिक्षित युवक युवतीमा प्रेम र समानताको नाता हुनुपर्छ । वहाँपछि मात्र तिनले बिहे गर्न सुहाउँछ । यस्ता आधुनिक र सिद्धान्तको आज शिक्षित समाजमा प्रचार छ ।

आधुनिक युग मलाई प्यारो छ । शिक्षा र प्रगतिको मलाई चाह छ। तर प्राचीन आदर्श अटूट राख्नु म आफ्नो कर्तव्य ठान्छु ।

यही प्राचीन र महान् आदर्शअघि शेखर मैले तपाईंलाई मेरो नारी जीवन सुम्पिसकेकी हुनाले, अब म तपाईंबाहेक अन्य पुरुषलाई प्रेमी र प्राणनाथका दृष्टिले हेर्न अक्षम छु ।

तपाईंका जीवनका विगत कुरा सुन्न म कत्ति पनि इच्छुक छैन । सुनेर केही लाभ हुन्छ भने जस्तो लाग्दैन ।

तपाईं मलाई प्रेम गर्नुहुन्छ यही मेरो लागि ठूलो सौभाग्यको विषय हो ।

तपाईंको अन्तिम आदेश पालन गर्न म असमर्थ छु । मेरो धृष्टता क्षमा गर्नुहुन्यैछ । म तपाईंलाई आजन्य प्रेम र श्रद्धा गर्न विरत हुँला ।

तपाईंकी – ‘वीणा’

 

त्यस दिन कलेजबाट होस्टेल फर्केपछि शेखरको दृष्टि पहिले वीणाका पत्रमाथि पर्यो । खाममा वीणाको हस्ताक्षर ध्यानपूर्वक परीक्षा गर्दै शेखर गम्भीर चिन्तामा पर्यो ।

वर्षाकालमा छाँगाबाट कलकल झरझर गर्दै दूत वेगले झरेको पानीको धारा जस्तै शेखरको मानस छाँगामा अतीतका घटनाहरू एक एक गरी ओइरिन लागे ।

माया ! “सरला तथा अभिमानिनी माया ! ओठ फुलाएर, आँखा भरि आँसु पारेर त्यसका सम्मुख उभिएकी छ । अरू पनि कति युवती कति. शेखरका सहसा उठेर कोठामा यता उता हिंड्न थाल्यो । त्यसको मस्तिष्कले काम गर्न छोड्यो । सहस्र प्रकारका विचार र सम्झनाले त्यो बौलाहा जस्तो भयो ।

वीणाको पत्र नपढी दराजमा हालेर, शेखर होस्टेलबाट बाहिर निस्क्यो औ ट्राम समातेर त्यो एस्प्लानेड्मा पुगेर ओर्यो । सामु मैदानमा गएर उ एउटा ठूलो रुखमुनि घाँसमा पल्टेर फेरि वीणाको ध्यान गर्न थाल्यो ।

प्रेम ? प्रेमको मर्म शेखरले भर्खर बुझ्न थाल्यो । तर हाय, समय बितिसकेपछि । मौका गइसकेपछि ।

शेखर त्यहाँबाट उठेर फेरि कलेज स्ट्रीटतिर लाग्यो । अलबर्ट हलका अघि मानिसको घुइँचो देखेर त्यो पनि भित्र पस्यो ।

स्वामी सदानन्दको तिनताक कलकत्तामा व्याख्यान हुँदै थियो । वेदान्तको शिक्षा प्रचारका निमित्त स्वामी सदानन्द भारतका प्रत्येक ठूला ठूला शहरमा गई व्याख्यान गर्थे ।

शेखर हलभित्र पसेर चारैपट्टि दृष्टि घुमाएर मनुष्यसमूह निरीक्षण गर्न लाग्यो । सभामा के हुन लागिरहेछ त्यसपट्टि ध्यान दिने योग्य अवस्थामा त्यसको विचारशक्ति संयत भएर आइपुगेको थिएन ।

सहसा ‘प्रेम’ भन्ने शब्द त्यसको कानमा पर्यो । त्यसको अन्यमनस्क भाव हट्यो । त्यसका चेतना जागे । मन लाएर एकाग्रपूर्वक त्यसले सभाका कार्यवलीपट्टि ध्यान दियो ।

शेखरले मञ्चमा एउटा सौम्य मूर्ति देख्यो । ओठमा हाँसोको क्षीण आभास थियो । आँखामा विश्वास र करुणाको ज्योति । शरीरमा गेरुवा ।

“प्रेम दुई थरीका हुन्छन् । एउटा प्रेमले ग्रहण गर्छ, अर्कोले दान गर्छ । प्रथम प्रेम आफूले अरूहरूका हृदयमा उमारेका भावनामा मत्त हुन्छ औ आफ्नो लागि अरूले गरेका त्यागमा उल्लसित हुन्छ । अर्को प्रेम आफूले अनुभव गरेका अनुभूतिमा आनन्द मान्छ औ आफूले अर्काका निमित्त गरेको त्यागमा सन्तुष्ट हुन्छ ।”

“पछिल्लो प्रेम नै यथार्थमा प्रेम हो ।”

शेखरका आँखा उघ्रे । शेखरले यथार्थ प्रेमको बाटो देख्यो । “अर्को प्रेमले अर्काका निमित्त गरेका त्यागमा सन्तोष मान्छ,” यही वाक्य वारम्बार शेखरका कानमा गुन गुन गर्न लाग्यो ।

होस्टेलमा फर्की शेखरले वीणाको पत्र पढ्‌दै नपढी त्यसलाई सयकडौं टुक्रामा छिन्न पारेर झ्यालबाट फालिदियो ।

‘वीणा ! म तिमीलाई संसारमा सबै भन्दा श्रेष्ठ ठान्छु । तिमीलाई भक्ति गर्छु, श्रद्धा गर्छु। तर प्रेम म गर्न सक्तिनँ । तिमीजस्ती निर्मला नारीको अतुल प्रेमको योग्य हुन सक्तिनँ । मेरा अतीतका दुष्कर्मको पछितो गर्नु मेरो सबैभन्दा प्रथम कर्तव्य हो । विदा वीणा, विदा ।’

शेखरका आँखाबाट दुई थोपा आँसु खसे ।

क्रमशः