प्राक्कथन

कलकत्ता विश्वविद्यालयमा बी. एल. पढ्दा नेपाली भाषामा यौटा सामाजिक उपन्यास लेख्ने प्रवृत्ति भयो । चार वर्षअघिको कुरा । अदम्य उत्साह लिएर प्रस्तुत उपन्यास लेख्न अग्रसर भएँ ।

नाना कारणले गर्दा प्रस्तुत उपन्यास त्यस साल अपूर्ण रह्यो ।

एक दिन दार्जिलिङमा स्थानीय नेपाली साहित्य सम्मेलनका सुयोग्य मन्त्री श्रीयुक्त सूर्यविक्रम ज्ञवाली महोदयसित साहित्य-चर्चा गर्दा त्यो असम्पूर्ण लेखौटको स्मरण भयो ।

ज्ञवाली महोदयले लेखौट पढेर त्यसलाई सम्पूर्ण गर्ने अनुरोध मलाई गर्नुभयो । प्रस्तुत उपन्यास आज लेखियो- ज्ञवाली महोदयका उत्साह र आग्रहले ।’

पुस्तकको लेखौट आद्योपान्त पढी अनेक अमूल्य सल्लाह दिनुभयो जसका निम्ति म उहाँको ऋणी छ ।

लेखौट सारिदिएकामा सम्मेलनका सुयोग्य सहकारी मन्त्री श्रीमान् खड्गबहादुरसिंहलाई मेरो हार्दिक धन्यवाद छ ।

गंगा निवास

दार्जिलिङ ।

१९३६,

इत्यलम्

रूपनारायण सिंह

  • * * *

 

 

प्रथम खण्ड

अशुभ समाचार

रणवीरसिंह र ललितसिंह एकै दिन दार्जिलिङ हाई स्कूलमा भर्ती भएथे, दस वर्षपछि एकैचोटि तिनीहरू पास भएर निस्के । तिनताक दार्जिलिङको नेपाली समाजमा खुवै थोरै लेख्न पढ्न जान्ने मानिस थिए । अतएव रणवीरसिंह र ललितसिंहलाई सबैले धन्य-धन्य गरे । तिनको ख्याति चारैपट्टि फिजियो ।

दस वर्षअघि बाल्यावस्थामा बसेको मैत्री अहिले झन् गहिरो भएथ्यो । शिक्षा समाप्त गरेर दुवैले कर्मक्षेत्रमा खुट्टा हाले, जीवन संग्राममा दुवै कम्मर कसेर पसे ।

‍* * * *

कति वर्षपछि

एक दिन ललितसिंह बेलुका आफिसबाट फर्केर दिनभरिको परिश्रमले थाकेर कुर्सीमा आराम गरिरहेथे, पिउनले एउटा पहेंलो खामको तार ल्याएर अघिल्तिर राखिदियो । तार पढ्दा पढ्दै तिनको मुख सुक्यो-हात थरथर काम्न थाल्यो । मैना देवी नजिकैमा बसेर चिया बनाउन लागिरहिथिन् । स्वामीको मुखको भाव लक्ष्य गरेर छेउमा आई तिनले विस्तार सोधिन्, “तारमा केही अशुभ समाचार ता आएन ?”

तार खरसाङबाट आएको थियो । रणवीरसिंह खरसाङमा उच्चपदस्थ सरकारी कर्मचारी थिए । अहिले ती सिकिस्त बिरामी छन् भन्ने तार आएको थियो ।

घडी हेरेर ललितसिंहले स्त्रीलाई भने, “लौ, चाँडो तयार हौ । बेलुकाको रेल छुट्न अझै दस मिनट छ ।” गृहिणीलाई यति आदेश गरेर तिनले छोरो शेखरलाई हपारे ।

इन्द्रशेखर एकान्त मनले एउटा अंग्रेजी उपन्यास पढिरेहथ्यो । पिताको कण्ठश्वर सुनेर ऊ पुस्तक राखी “आउँदैछु बा” भन्दै भित्र गयो । एक छिनपछि पाँच बजे बेलुकाको रेलमा यी तीनै प्राणी खरसाङतिर लागे ।

रणवीरसिंहको अवस्था सङ्कटापन्न छ । ती, घोर ज्वरोले अचेत छन् । तिनकी छोरी वीणा सिहानीको छेउमा बसेर कातर दृष्टिले पिताको तप्तमुख हेरिरहेकी छे । कोठामा डाक्टर, वैद्य, केटी, नोकर, चाकर भरी छन् । ललितसिंह रेलबाट ओर्लेर स-परिवार सरासर त्यहाँ आई उपस्थित भए । तिनलाई प्रवेश गरेको देखेर वीणाका आँखाबाट यतिञ्जेल रोकिराखेका आँसु झरझर गर्दै बग्न थाले- अजस्र धारामा ।

ललितसिंहले अघि सरेर एउटा हातले आफ्ना चिर दिनका साथीको तप्त हात समाते अर्काले वीणालाई सुमसुम्याउँदै सजल आँखाले आकाशपट्टि हेरेर भने, “नरो बा ! ईश्वरलाई सम्झी ।”

प्रायः दुई घण्टा बितेपछि रणवीरसिंहले आँखा उघारे । तिनको मुख पहेंलो हुँदै आयो, जरोको वेग पनि एकाएक घट्यो । आँखा दुईवटा अंगार जस्तै काला भए । आँखामा उदेकलाग्दो टलक देखियो । तिनले एकचोटी चारैतिर नजर घुमाए औ शिशुकालका साथी, यौवनका मित्र औ आजन्मका सहायकलाई छेवैमा देखेर तिनको स्पर्श अनुभव गरे । तिनका रक्तहीन शुष्क ओठमा हाँसोको क्षीण रेखा देखा पर्यो । तिनका आँखाबाट दुई थोपा आँसु चुहेर ललितसिंहका हातमा परे ।

विस्तार विस्तार दाहिनेपट्टि फर्केर तिनले अति क्षीण अथच शान्त स्वरले भने, “वीणा ! म अब जाँदैछु । छिः बा ! नरो । आमा-बाबु के सधैं कसैका रहन्छन् ? ”

तिनको सास छिटो छिटो चल्न थाल्यो । निधारमा चटचटी पसीना आयो ।

एकछिन चूप लागेर तिनले फेरि वीणाको हात आफ्ना मुठीमा राखेर भने, “तँ तीन वर्षकी हुँदा आमाले मेरो जिम्मा तँलाई सुम्पेकी थिइन्… औ… आज… आज… तेरा कान्छा बालाई सुम्पेर जाँदैछु । ललित… म हिंडें । उ, हेर ! मेरी जीवन सङ्गिनी…से… तो… वस्त्र लाएकी… मलाई हातका इशारा… डाक्तैछिन्,… म…”

सब शेष भयो । छोरीको क्रन्दन, मित्रको विरह वेदना, इष्ट-मित्रको हाहाकार-केहीले तिनलाई राख्न सकेन ।

पिता मरेको महिना दिनपछि वीणा दार्जिलिङ आएर ललितसिंहका घरमा अलिक दिन बसी । संसारमा वीणाको आफ्नो भन्ने एउटी बूढी फुपू बाहेक अरू कोही छैन । यी बुढिया पनि टाढाको साइनोकी फुपू ।

विधिले वीणाको भाग्यविधान बडो विचित्र गरेका छन् । वीणा जन्मँदा पिता थिए एउटा दफ्तरमा कलम चलाएर जीवन निर्वाह गर्ने साधारण कारिन्दा । वीणा तीन वर्षकी हुँदा पिता भए कचहरीका एउटा साना हाकिम । गाउँ छिमेकीहरूले भने, “कस्ती भाग्यवती छोरी !”

तर त्यसको चार महिना बित्दा नबित्दै वीणाले हराई संसारको सबैभन्दा ठूलो जिनिस- स्नेहमयी आमा । तिनै छिमेकीहरूले फेरि भने, “अभागिनी अरू कसलाई भन्नू !”

तीन वर्षकी बालिकाले विधिको यो अपूर्व कौतुक उदेक मानेर हेरी- अनुभव गरी । आमाको शवलाई फूलै फूलले छोपेर मानिसहरूले काँधमा लगेको देखेर त्यसले पितालाई भनी, “बा ! म पनि त्यसमाथि चढ्छु नि ।”

त्यसपछि, वीणा बढ्न लागी- नयाँ जिनिस, नयाँ दृश्य तथा नयाँ अनुभवले त्यसको कमलो हृदयमा जरा हाले । पिताको गम्भीर प्रेम र स्याहार सम्भारमा त्यो बढी । आमाको अभाव पिताको प्रेम र यत्नले मेटाइदिए ।

त्यसदेखि स्कूलमा गई वीणा । नयाँ ठाउँमा, एउटा बेग्लै संसारमा आएर त्यसको जीवनको पुरानो बाटो छुट्यो । त्यसको जीवन धारा अर्कैपट्टि बग्न लाग्यो ।

विधिले जसरी वीणाको भाग्यमा विपदमाथि विपद् खन्याउन बाँकी राखेका थिएनन् त्यसरी नै फेरि वीणालाई रूप, सौन्दर्य, गुण र ज्ञान पनि दिन बिर्सेका थिएनन् । वीणाको रूप छ- भर्खर फक्रेको गुलाफ जस्तो । यो रूप छ गम्भीर-अथाह जलनिधि जस्तो । रूपले मनमा श्रद्धा उत्पन्न गराउँछ- उन्मत्त पार्दैन । यो रूपले मानिसका पवित्र भावहरूलाई जगाइदिन्छ-विह्वल गराउँदैन । यो रूपले लक्ष्मी सम्झना गराउँछ-शारदाको झलक यस रूपमा पाइन्छ ।

पिताको मरण हुँदा वीणाले भर्खर यौवनमा प्रवेश गरेकी थिई ।

स्वभावमा स्वाभाविक चञ्चलता थियो । अनुहारमा तृप्ति । नव-यौवनको उष्ण रगत त्यसमा नसा-नसामा बग्थ्यो । जीवन यात्रा त्यसका निमित्त एउटा सुमधुर सङ्गीत थियो- एउटा सुललित छन्द, मोहमय सपना ।

एक्कासि पिता परलोक भए । वीणाको सपना भङ्ग भयो- संसार अँध्यारो भयो । दुःख र विपदले सोह्र वर्षकी वीणालाई अकालैमा बूढी बनाए । चिन्ता र गम्भीरताले त्यसको मनमा आफ्ना छाप लाइदिए ।

वीणा त्यही साल म्याट्रिक परीक्षा दिने थिई तर पिताको मृत्युले सबै काम स्थगित रहे । दार्जिलिङ शहरको एउटा जनहीन एकान्त कुनामा बूढी फुपूका साथमा ललितसिंहको हेरचाहमा वीणा बस्न थाली ।

एकान्त स्थानमा बसेर वीणा खूबै शान्तिपूर्ण जीवन बिताउन थाली । त्यसको धेरजसो समय पुस्तक पढेर औ संगीत चर्चामा बित्छ । आउँदो वर्ष फेरि परीक्षा दिने निश्चय गरी त्यो दिनभरि पढिरहन्छे । बेलुका भएपछि, कि ता घरको एउटा कुनामा बसेर सितार बजाएर मन भुलाउँछे कि बूढी फुपूलाई साथ लिएर ललितसिंहका घरतिर डुल्न निस्कन्छे । ललितकी गृहिणी पनि वीणालाई छोरी जस्तै माया गर्छिन् । वीणा कहिलेकहीं रात त्यही बिताएर बिहान घर फर्कन्छे । मैना देवी र वीणाको उमेरमा ठूलो अन्तर भए तापनि मन दुवैको एकै छ- निःस्वार्थ मायाको सुनौला डोरीले दुवैलाई बाँधेको छ ।

आफ्ना परम प्रिय मित्रकी छोरीलाई आफ्नी मुखेनीले यस्तो प्रेम गरेको देखेर ललितसिंह आत्मप्रसादको दीर्घ निःश्वास तान्छन् ।

‍* * * *

मायाको मोहभंग

इन्द्रशेखर कलकत्तामा एम.ए. पढ्छ । रणवीरसिंह मरेको तीन दिनपछि इन्द्रशेखर कलकत्ता हिंड्यो । कलेजमा पुगेपछि आमाको पत्रबाट वीणा खरसाङ छोडेर दार्जिलिङमा बस्न थाली भन्ने थाहा पायो । त्यसपछि त्यो आफ्नै लेख-पढमा लीन भयो । वीणा अथवा घरका अरू कसैको खोजी गर्ने अवकाश त्यसलाई कहाँ !

यहाँ इन्द्रशेखरको परिचय दिनु आवश्यक छ । इन्द्रशेखर रूपवान् छ- निस्सन्देह । तर त्यसको रूपमा प्रलयाग्निको आभास पाइन्छ । त्यसका आँखामा व्याधाको हिंसा देखिन्छ । त्यसको अनुहारमा कहिल्यै तृप्त नहुने वासना झल्कन्छ । सरस्वतीको शेखरमाथि अशेष करुणा छ । गीत गाउनु, चित्र लेख्नु, कविता गर्नु, कुनै विषयमा पनि शेखर पछि सर्दैन । यस्ता सबै गुणले सम्पन्न भएको विद्यार्थी नेपाली समाजमा प्रायः देख्न पाइन्न ।

तर वैचित्र्य प्रकृतिको धर्म हो ।

शेखर ईश्वर मान्दैन । विवेकलाई केही पनि गन्दैन । समाजका विधानलाई शृङ्खला मान्छ । नीतिका कुरालाई शब्द आडम्बर ठान्छ । प्रेमलाई हृदयको दौर्बल्य भन्छ ।

संसार त्यसको मतअनुसार एउटा विशाल क्रीडास्थल । यहाँ जसलाई जस्तो इच्छा हुन्छ त्यसै गर । मन परेको जिनिस पाउन दस जनासँग लडाईं ग र। जीवन ता संग्राम न हो । अन्त्यमा जो बलिया छन्, जसको पौरुष छ, सामर्थ्य छ, तिनको जित हुन्छ । जीवनको लडाईमा निर्धाहरूको क्षय अवश्यम्भावी छ औ समाज ?

शेखर भन्छ, “अरे समाज ता एउटा विराट् कपट हो । समाजमा हुन्छ बलियाहरूको निर्धामाथि बलजफ्तीको थिचोमिचो । धर्मचाहिँ फेरि धूर्तहरूको लाटा सुधामाथि प्रतारण । बाहुनहरू दुर्बल छन्- कातर छन् तर बुद्धि छ तिनीहरूको तीखो चातुरीमा तिनीहरू अद्वितीय छन् । औ यही बुद्धिबलले आज तिनीहरू आफ्नो अधिकार जमाई बसेका छन् । प्रकृतिको नियमै यस्तो छ । बल र बुताले भ्याउँछ भने जे इच्छा हुन्छ, गर; पुग्दैन भनेदेखि चाहिँ चूप लागि बस् ।”

यस्तै छ इन्द्रशेखरको सिद्धान्त ।

पितासित शेखरको न ता मन मिल्छ न ता मत । पिता र पुत्र दुवैका विचार बेग्ला बेग्लै छन्- यी दुईका दृष्टिकोणमा आकाश र पातालको अन्तर छ । दुवै पृथक् पृथक् ग्रह आफ्ना-आफ्ना कक्षमा स्वेच्छापूर्वक घुम्छन् । पिता र पुत्रको प्राकृतिक आकर्षणले यी दुईलाई स्पर्श गर्छ- साँचो हो । तर यो आकर्षणमा स्वच्छन्दता कहाँ ? यो त प्रकृतिको एउटा अनिवार्य नियम हो- दृष्टान्त मात्र हो ।

ललितसिंह सानैदेखि पसिना चुहाएर परिश्रम गर्ने मानिस । म्याट्रिक पास गरेर तिनले बेपारतिर मन लाए । कठोर परिश्रम र अशेष धैर्यसित ती आफ्ना काममा लागिरहे । लक्ष्मी खुशी भइन्, ललितसिंह शहरका एउटा मुख्य बेपारी भए । तर धन र वैभवले तिनलाई कत्ति पनि विलासका बाटामा लैजान सकेनन् ।

अझै पनि ती पसिना काढेर दिनभरि काम गर्दछन्, जहानलाई सुखसित पाल्छन् औ सन्तोषका निद्रामा सुतेर बिहान उठी आफ्ना नित्य कर्ममा लाग्छन् । संसारका छक्का पन्जादेखि यी टाढै बस्छन् । दस जनाका कुरा लिएर टाउको दुखाउनु यी मूर्खता ठान्छन् ।

शेखर जब चार वर्षको भएथ्यो, तिनले घरैमा एउटा शिक्षक राखेर शेखरका शिक्षाको भार तिनलाई सुम्पिदिए । तिनका पिताले गर्नुपर्ने काम यहीं शेष भयो । फेरि ठूलो भएपछि, शेखरलाई आफूले पढेका स्कूलमा हालिदिए । शेखरले खुबै राम्ररी म्याट्रिक पास गयो । ललितसिंहको अर्को कर्तव्य पनि शेष भयो । औ त्यसपछि तिनले कलकत्ताको एउटा नामी कलेजमा शेखरलाई उच्च शिक्षा प्राप्त गर्न पठाइदिए । पिताले पत्रलाई यहाँदेखि बढ्ता के गरिदिने ? रहे नैतिक शिक्षा र धार्मिक दीक्षाका कुरा । अरे, यी ता उच्च शिक्षाले आफैं बोध गराउँछन्-बपुरा ललितसिंहले के गरुन् ?

फेरि शेखरको चारैपट्टि तारीफै मात्र सुनिन्छ । शेखर जस्तो तीखो बुद्धि भएको सुबोध छात्रको स्कूलमा जोडा पाउन गाह्रो छ- यो कुरा के गुरु, के शिष्य सबैले एक स्वरले प्रचार गर्छन् । कलेजमा पनि त्यही कुरा । तीन वर्षअघि शेखरको कलेजको कुनै अंग्रेज अध्यापक दार्जिलिङमा हावापानी फेर्न आएथे । तिनले शेखरको खुबै बढाइँ गरे । शेखरको साहित्य ज्ञान, शेखरको अंग्रेजी भाषा, शेखरको कविता गर्ने शक्ति- शेखरका सबै गुणको तिनले मुग्धकण्ठले प्रशंसा गरे । सुनेर को यस्तो पिता होला जो गर्वले नफुल्ला ? जसले आफूलाई धन्य नठान्ला ?

यसरी सानैदेखि आमा-बाबुका सहवासदेखि छुट्टिनुपरेको, टाढा टाढै बढेको शेखरका मनमा पिताका चरित्र, गुण अथवा शासन तथा माताका प्रेम र स्वभाव कुनै कुराको प्रभाव पर्न पाएन । शेखर बालककालदेखि संसारमा एकाकी हिंड्थ्यो- राम्रो नराम्रो विचार जति त्यसका मनमा उब्जन्थे ती सबै त्यसको हृदयकोटरमा थुनिई रहन्थे ।

शेखरकी माता छिन् गङ्गा जस्ती निर्मल मन भएकी । गुरु, बाहुन र ईश्वरमाथि यिनको भक्ति र श्रद्धाको अन्त छैन । पतिका सेवामा यिनले आफूलाई डुबाइराखेकी छिन् । शेखरले सानैदेखि मातासँग छुट्टिनुपरेको थियो- छात्रालयमा नै शेखरको धेरजसो दिन काटिए । आमाको पवित्र छायामा बढ्ने मौका पाएको भए अहिले शेखरका चरित्र र आदर्श के यस्तै हुने थिए ?

इन्द्रशेखर छ अद्भुत प्राणी ! समाज शेखर मान्दैन । तर फेरि समाजका माझमा बसेर अरू दस जनाका जीवनलाई भिन्न भिन्न प्रकारले प्रभाव पार्छ । दस जनाका विचारलाई उल्टोपुल्टो गराइदिन्छ । तर स्वयं छ, अचल-अगम । ऊ न ता कसैका मतमा ध्यान दिन्छ, न कसैका विचारको वास्तै राख्छ । न कसैको प्रेमले विचलित हुन्छ, न कसैको दुःखले दुःखी । समाजमा बसेर पनि ऊ समाजदेखि बाहिर रहन्छ ।

* * * *

एक दिन वसन्तको उत्ताल बतासले चारैपट्टि, जताततै जन-जीवन जगाएको छ । माया त्यस दिन थिई मोहमय सपनामा विभोर । त्यसको नारी हृदयमा प्रेमको उठेथ्यो प्रथम सुमधुर भङ्गार । साँझ पर्न अझै अल्लि बेर छ । हिमालयका टाकुरामा, अस्ताउन लागेका सूर्यका पहेंला किरणमा, बगैंचाका प्रत्येक फूलमा शेखरको स्मित अनुहार झल्कन्छ ।

“माया !”- झसङ्ग भएर मायाले ढोकापट्टि हेरी औ आनन्द र लाजले त्यसको मुख रातो भयो । शेखर ढोकामा उभिएर मायाको दशा देखेर हाँसिरहेको थियो ।

विस्तार-विस्तार अघि सरेर अति प्रेमसित मायाको कोमल हात समातेर शेखरले भन्यो, “माया ! पाहुनाको सत्कार गर्न के तिमीलाई आउँदैन ? कति आशा गरेर म भिखारी भेषमा तिम्रो ढोकामा आएको छु ।”

मायाले पुलुक्क शेखरका मुखमा एकचोटी हेरी । मायाको दृष्टिमा पवित्र प्रेम र सरल विश्वास छ । मायाले मुसुक्क हाँसेर भनी, “पाहुनाको सेवामा दासी हाजिर छे ।”

माया थिई उमा जस्ती सरला । पर्वतराज हिमालकी पुत्री उमाले बूढा शिवलाई जस्तो भक्तिभाव गर्थिन्, जस्तो अशेष प्रेम गर्थिन्, मायाले शेखरलाई त्यस्तै श्रद्धा, त्यस्तै प्रेम गर्थी । संसारलाई स्वर्ग ठान्थी औ मानिसलाई देवता । मानिसहरूमा फेरि शेखर थियो मायाको अराध्य देवता ।

यही सरल विश्वासले गर्दा शेखरलाई केही नाई नास्ति नगरी मायाले आफ्नो सर्वस्व अर्पण गरी । नन्दन वनको सबैभन्दा राम्रो, भर्खर कोपिलावाट फक्रेको पुष्पले आफूलाई आराध्य देवताको गोडामा चढायो ।

* * * *

त्यसपछि । त्यसपछि फेरि एक दिन । दशैं ताक । बेलुका पश्चिमतिर ढल्केका दिवाकर । मधुर मालश्री । आनन्दमयी आमाको आगमन ।

“माया, यो तिमीले के गरेकी ? बिहा ? बौलाही भयौ- बिहे पनि कोही अभागीले गर्छ ? लौ भो । बिग्रेको ता केही छैन । दुवै एकैसँग बसौं । हामीजस्ता छौं, उस्तै रहौं ।”

मायाले रुँदै रुँदै भनी, ‘तर समाजले हामीलाई के भन्ला ? आमा बाबुले यस्ता मनपरीका कुरामा कैले सम्मति देलान् । संसारका हामी हाँसो हुन्छौं ।’

शेखरले रिसाएर भन्यो, ‘फेरि त्यही कुरा- समाज ! आमा बाबु ! संसार । यतिका दिनपछि पनि तिमीले मेरो मन चिन्न सकिनौ माया ? मेरो मन बुझिनौ समाज र संसारले के मेरा माना भरिदिन्छन् ? ती पुङ् न पुच्छरका कुरा नगर । हामी परस्पर प्रेम गर्छौँ- माया गर्छौं । जति दिन हाम्रो यो प्रेम स्थायी रहन्छ, हामी छुट्टिन सक्तैनौं- हामीले छुट्टिनु सम्भव छैन । बिहेको पासोमा व्यर्थमा आफूलाई अल्झाएर के लाभ छ ?

मायाले विस्तारै भनी, “लौ शेखर, तिम्रै कुरा रहोस् । आजदेखि हामी वेग्ला वेग्लै बाटाका बटुवा । मान्छे र ईश्वरदेखि आज मेरो विश्वास हरायो, श्रद्धा गयो । प्रेम र प्रीतिको यस्तो फल.. !” यति भन्दा भन्दै त्यसको गला रुद्ध भयो, आँखाका सम्मुख अँध्यारो छायो, रिङटा लाग्न लाग्यो । मायाको जीवनतरी भुँवरीमा परेर डगमगाउन थाल्यो ।

त्यो राती मायालाई जरो आयो औ एक साता जरो एकहोरो आइरह्यो । माया सात-आठ दिनमै सुकेर सियो भई । पछि जरोले ता विस्तार विस्तार छोड्यो तर माया दिनदिनै दुब्लाउन थाली । डाक्टरले हावापानी फेर्न सल्लाह दिए ।

महिना दिनपछि बिरामी छोरीलाई लिएर मायाका बाबु विदेश लागे ।

चार वर्षअघिको कुरो । अहिले शेखरको मनमा यसको सम्झना छैन भने पनि हुन्छ ।

* * * *

शेखर विमुग्ध हुन्छ

चैतको महिना । कलेज बन्द भएथ्यो । इन्द्रशेखर विदामा घर आएको छ ।

एक दिन बिहानै घाममा बसेर त्यो खूबै मन लाएर एउटा चित्र लेखिरहेथ्यो । हठात् त्यसको ध्यान भङ्ग भयो । कसैका गलाको मीठो स्वर नजिकै सुनेर त्यसले पुलुक्कै त्यतापट्टि हेर्यो ।

इन्द्रशेखर छक्क परेर त्यो दृश्य हेर्न थाल्यो ।

एउटी तरुणी त्यसपट्टि पिठिउँ फर्काई उभिएकी थिई । सारा शरीरमा नीलो लुगा लाएकी- नीलै चोलो औ नीलै फरिया । कालो केशराशि सुन्दर एउटा कवरीमा बद्ध छ । कानमा साना इयरिङ् । टाउकाको सेतो मजेत्रो कुममा झरेको । सुगठित सेतो कण्ठमा सेतो माला ।

चित्र लेख्तै गरेको इन्द्रशेखर प्रकृतिको त्यो चारुचित्र, चित्रवत्, अचल भएर हेरिरह्यो ।

तरुणी शेखरकी आमासित केही कुरा गर्न लागिरहिथी, कुरा गर्दा गर्दै शेखरपट्टि मुख फर्काई ।

वीणा ! इन्द्रशेखले एउटा नयाँ जिनिस आविष्कार गर्यो- वीणाको त्यो अनुपम सौन्दर्य र अतुल रूपले शेखरलाई विमुग्ध गरायो । स्थान, काल, पात्र, संसार- सबै शून्यमा विलीन भए । छक्क परी शेखर वीणाको मुखमा एकपटक हेरिरह्यो ।

शेखरले आफूलाई एकोहोरो हेरिरहेको देख्ता वीणालाई किञ्चित लाज लाग्यो । त्यसको नजर भुइँमा पर्यो औ गालामा लाली देखियो ।

सङ्कोचले वीणा सानी भई । कतै केही नहेरी त्यो सरासर घरभित्र पसी ।

शेखरकी आमाले त्यसको मनोभाव बुझेर, वीणालाई कोठादेखि बाहिर ल्याएर भनिन्, “किन वीणा, शेखरसित किन लाज मानेकी ? तिमी दुई साइनोमा दाज्यू बैनी जस्ता हौ । सानामा तिमीहरूसँगै खेल्थ्यौ, खान्थ्यौ, बस्थ्यौ । दुष्ट शेखर उपद्रयाहा थियो । शेखरका उत्पीडनले तिमीलाई दिनमा दसचोटी चिच्याउनुपर्थ्यो ।”

यतिञ्जेल वीणाको त्यो लाज र सङ्कोचको भाव हराइसकेथ्यो । त्यसका मुखमण्डलले आफ्नो स्वाभाविक भाव धारण गरिसकेको छ । चञ्चलता र आडम्बरको त्यहाँ नाउँ पनि छैन । त्यो अनुहार छ स्मित, शान्त र मनोहर ।

शेखरले मुसुक्क हाँसेर सोध्यो- “शरीरमा आरामै छ ?”

उत्तरमा वीणाले शेखरलाई दुई हात उचालेर नमस्कार गर्दै, मुण्टो निहुराएर भनी, “ज्यू” ।

शेखरकी आमा ती दुईलाई आँगनमा छोडी भान्साघरतिर लागिन् ।

वीणालाई फेरि कस्तो अज्ञात लाजले छोप्यो । शेखर त्यसको अनुहारमा हेरिरहेको छ । शेखरको यो उदेकलाग्दो भाव देखेर वीणाका गाला राता भए । त्यहाँ एक्लै शेखरका साम्ने उभिरहन त्यसलाई कस्तो अप्ठ्यारो लाग्यो फेरि एक्कासि भित्र दगुर्न पनि गाह्रो लाग्यो ।

चतुर शेखरले वीणाको मनको अवस्था बुझेर सहज स्वरले भन्यो, “वीणा ! किन उभिरहेकी ? त्यो आसनमा बस ।”

त्यसपछि वीणा बसी कि बसिन केही वास्तै नगरी मग्न भएर फेरि चित्र लेख्न लाग्यो ।

केही उपाय नदेखी वीणा पनि नजिकैको आसनमा बसी ।

निकै बेर यसरी बितेपछि तस्बीरबाट टाउको उठाएर इन्द्रशेखर वीणापट्टि फर्केर मसुक्क हाँस्तै भन्यो, “म जस्तो लाज पचेको पुरुष संसारमा बिरलै होला । तिमी त्यहाँ बसेर यतिन्जेल मेरो तस्वीरको ढङ्ग हेरे खूबै हाँस्यौ होली, मन मनैमा । औ म भने लाटाले पापा पाएझैँ आफ्नै काममा दङ्ग छु । कहिलेकाहीँ म आफूसँग आफै छक्क पर्छु- कुनै जिनिसमा एकचोटि मन गाडियो भने मलाई अरू कुनै थोकको सम्झना हुँदैन ।” यति भनेर इन्द्रशेखर एकचोटी खित्खित् गर्दै हाँस्यो ।

त्यसको हाँस्ने रीति नै यस्तै छ । इन्द्रशेखरको हाँसोमा जीवन छ, प्राण भरिएको छ । यस हाँसोले फेरि जसले सुन्यो उसैलाई समात्छ हँसाउँछ ।

वीणाले पनि हाँसेर बिस्तारै भनी, “दुई मिनिट एउटा काममा ध्यान दिनलाई नै तपाईं संसारै बिर्सनु ठान्नुहुन्छ कि कसो ?”

वीणाले त्यो मधुरो व्यङ्ग उक्ति सुनेर शेखर फेरि हा-हा-गर्दै हाँस्न थाल्यो ।

यति कुरा कहानी भएपछि वीणाको त्यो कुण्ठित भाव हरायो । दुई जनाका माझमा जो बादल थियो त्यो हट्यो । केही दिनपछि भेट भएर दुई जना साथीहरू जस्तै ती गफ गर्न थाले । दुवै विद्यार्थी-अतएव कुरा कहानी तिनको स्कूल र कलेजपट्टि ढल्क्यो ।

शेखरले एक्कासि वीणालाई सोध्यो, “म्याट्रिक पास गरेर तिमी कुन कलेजमा जाने नि हैं ? कलकत्ताको स्काटिश चर्च कलेजमा ता आजकल छात्राहरूको संख्या दिनदिनै बढ्दैछ । बेथन कलेजमा भन्दा…”

वीणाले कुरा काटेर भनी, “पहिले परीक्षा ता दीहालौं । त्यसपछि अरू कुरा । और म स्वास्नीमानिसले कलेज पढेर पो के गर्ने ? लोग्ने मानिसलाई जस्तो मलाई नोकरीको खोजीमा ता दुगुरी हिँड्नु पर्दैन ।”

वीणाका आँखाका कुनामा कौतुक देखेर तथा त्यसको उदेकलाग्दो तर्क सुनेर शेखर अधीर भै उठ्यो । शेखरले अल्लि रिसाएर भन्यो, “भो, तिमीहरूको उही एउटा कुरा । पढेर के नोकरी मात्रै गर्ने- शिक्षाको अर्थ के अर्काको कमारो मात्र हुने ? हाम्रो समाजदेखि यो भूल नमेटिएसम्म हाम्रा मानिसहरू कहिले उँभो लाग्नेछैनन् । औ विशेषतः जबसम्म नेपाली समाजका स्वास्नीमानिसहरू लेखापढी सिकी, स्वाधीन भएर आफ्नो भर गरी उभिन नसिक्लान् तबसम्म हाम्रो समाजको दशा सुधिने आशा गर्नु दुराशा मात्रै हो ।”

शेखरकी आमा ढोकामा देखाहा परेर कराइन्- “भो शेखर ! भो, तेरो लेक्चर छोडिदे । लेक्चरले मात्रै वीणाको पेट भर्दैन, केही खाने कुरा पनि चाहिन्छ ।”

सानो कोठा-सफा सुरम्य । पूर्व कुनामा एउटा सानो टेबल र तीनवटा कुर्सी । उत्तरपट्टि ढोका, ढोकाका दुईपट्टि फूलका गमला । अरू दुई कुनामा एकापट्टि हार्मोनियम बाजा औ अर्कापट्टि दुई आलमारी पुस्तक । कोठामा प्रवेश गर्नासाथ गृह-स्वामीको सुरुचिको पत्ता पाइन्थ्यो ।

कोठाको माझमा भुइँमाथि गलैंचा ओछ्याइएको थियो । वीणा र शेखरकी आमा एउटा गलैंचामा बसे औ शेखर बस्यो अर्कामा । शेखर चिया खाँदै अशेष गफ गर्दैछ । कलेजको कुरा, आफ्नो कुरा, समाजका कुरा, संगीतको चर्चा- अरू अरू अनेक कुरा । त्यसको गफ गर्ने रीति छ यस्तो अनौठो, एकचोटी बोल्न लागेपछि त्यसको शब्द सबै सजीव भै उठ्छन्, त्यसको गफ गर्ने परिपाटीले मानिसलाई मुग्ध पार्छ ।

सम्मुख दुईवटी नारी चिया खाँदै स्तब्ध भएर यो गल्पलहरी सुन्नामा तन्मय छन् । शेखरका गफ पहाडबाट झरझर गर्दै झर्ने खोलाको तीव्र प्रवाह जस्तै अविराम बगेर जाँदै थियो, हठात् मोहनविक्रम ढोकामा देखाहा पर्नाले त्यहीं थामियो । मोहनविक्रम कोठामा सरासर पस्दै थियो, भित्र एउटी नचिन्हेकी रमणी देखेर हतार हतार बाहिर फर्क्यो ।

शेखरकी आमाले त्यो देखेर भनिन्, “मोहन ! किन त्यसरी मुखै नदेखाई भागेको ?” औ आमाका वाक्य शेष हुँदा नहुँदै शेखरले मोहनलाई समाएर भित्र ल्यायो ।

मोहनले शेखरकी आमालाई भक्ति भावले ढोगेर गलैंचामा एक छेउमा आसन ग्रहण गर्यो ।

शेखर मोहन सानैदेखिका स्कूलका साथीहरू । मोहनकी आमा मोहन बालक हुँदा परलोक भइथिन् । मैना देवीले आमा हराएको मोहनलाई सानैदेखि छोरोजस्तो प्यारो गर्थिन् । मोहन पनि शेखरकी आमालाई आमा भन्छ- शेखरको घरलाई आफ्नै घर ठान्छ । शेखरको यहाँजस्तो राज्य छ, मोहनको त्यो भन्दा कुनै अंशमा पनि घटी छैन ।

आज पाँच वर्षपछि मोहन दार्जिलिङ फर्केर आउँदैछ । यहाँका स्कूलबाट पास भएर मोहन गएथ्यो बनारस विश्वविद्यालयमा पढ्न, शेखर लागेथ्यो कलकत्ता । दुई जनामा पत्र मात्रै बराबर चल्थ्यो । आज यति दिनपछि फेरि एक्कासि भेट हुँदा दुवै मित्रको हर्षको ठेगान रहेन । शेखरकी आमा पनि मोहनलाई स्वस्थ, सबल देखेर साह्रै खुशी भइन् ।

“मोहन, आज एक्कासि कसैलाई खबरै नगरी तिमी झुल्क्यौ हँ ? हामीले ता ठानेका थियौं, अब ता तिमी उतै काशीवासी भएर विश्वेश्वर मन्दिरमा पण्डा भई बस्यौ होला- होइन ता आमा ?”

शेखरका कुरा सुनेर सबै हाँसे । शेखरकी आमाले वीणाका कानमा भनिन्, “वीणा, मोहनलाई सानामा चिन्थ्यौ नि, बिर्स्यौं कि क्या हो ?”

वीणा यतिञ्जेल चूप लागेर यी तीन जनालाई हेरिरहेकी थिई । शेखरकी आमाका कुरा कानमा पर्न जाँदा त्यो झसङ्ग भई । उता मोहन पनि मैना देवीले वीणालाई भनेको कुरा सुनेर अल्लि अप्रतिभ भयो ।

मोहन र वीणाका आँखा जुझे । वीणाले हत्तपत्त मोहनलाई नमस्कार गरी ।

* * * *

वीणाको विस्मय

एक छिनपछि कोठाबाट बाहिर निस्केर वीणा ठूलो विस्मयमा परी ।

घाम सधैंभरि ता लागिरहन्छ, तर खोइ, घामका ज्योतिमा यस्तो विपुल सौन्दर्य त्यसले कहिल्यै देखेकी थिइन । सम्मुखको त्यो अमल हिमाचल- सधैं यति उज्ज्वल, यस्तो नयनाभिराम देखिन्नथ्यो । सुरभि पुष्पसमूह-नित्य नाना रकमका फूल फुल्छन्, नाना जातिका, रंग विरंगका तर आजको जस्तो माधुर्य तथा सौरभ भएका फूल ता वीणाले कहिल्यै देखेकी थिइन ।

वीणा छक्कै परी । दार्जिलिङ शहरका बाटाघाटा, वन जङ्गल सबैले यो विशाल सौन्दर्यको आयोजन कहिले गरे ? वीणाको जीवनमा आज नयाँ उमङ्ग छ, गतिमा नयाँ भनी शरीरमा बिजुलीको प्रवाह ।

हावामा कस्तो कमलो स्पर्श । घाममा कति सुख । हिंड्नमा कति स्वस्ति । बाँच्नमा कति शान्ति । चराचुरुङ्गीका च्याउँच्याउँमा कस्तो मीठो रागिनी, भँवराका गुञ्जनमा कति मधुर सुर ।

वीणा सधैं नै यही बाटोबाट फर्कन्थी । तर उमङ्ग, यस्तो आवेश, यस्तो भाव त्यसका मनमा यो पथ हिंड्दा कहिल्यै उत्पन्न भएको थिएन । आज भने यो बाटोको पनि रूप फेरिएको देखिन्छ ।

यो जङ्गली बाटो- के साँच्चै यति सुरम्य थियो ? बाटाका दुईपट्टि उम्रेका उनिउँहरू- के सधैं यसरी नै टाउका हल्लाई हल्लाई त्यसलाई स्वागत गर्थे ? औ त्यो निर्मल पानीको छांगा- के सधैं त्यही सुरमा अविराम छर् छर गर्दै त्यसको आत्मकथा वीणालाई सुनाउँथ्यो ? वीणा उदेक मानेर चारैपट्टि, वरिपरि हेर्छे, सुन्छे ।

किन आज यस्तो भयो ? किन ?

कस्तो उदेक, कस्तो अचम्म ! शेखरको हँसिलो अनुहार कसरी प्रकृतिको एक एक वस्तुमा आधिपत्य गरेर बसिरहेको छ । वीणाको मनमा सहसा एउटा शङ्का उठ्यो ।

साँच्चै नै यही कारणले यो उमङ्ग, यो आवेश औ यो आशाको सञ्चार ? वीणाले आफ्नो मनोभावको एउटा उदेकको अर्थलाई औ आफै लाजले निहुरी । एकान्त पथमा रूखपात र चराचुरुङ्गी बाहेक केही थिएन । तैपनि वीणाले लाजले टाउको उठाउन सकिन ।

वीणा बिदा भएपछि मैनादेवी शेखर र मोहनलाई कोठामा छोडेर आफ्ना काममा लागिन् । ती दुई मित्र पनि एकान्त पाएर कति दिनदेखि मनैमा राखेका कुरा पोख्न लागे ।

मोहन आफ्नै कुरामा मस्त  छ। बनारस शहरका कुरा, घाट मन्दिरका कुरा, विदेशीहरूका चालचलनको कुरा- मोहनका कुराको टुङ्गै छैन ।

औ शेखर पनि कुरा ता सुन्दैछ, तर आफ्नै विचारधारामा मग्न छ । शेखर शून्यदृष्टिले कोठाका भित्तामा हेरिरहेको छ । बल्छीमा माछो पारेर पाखामा झिक्नबित्तिकै माछो फेरि उफ्रेर पोखरीभित्र पस्दा मानिसहरू जसरी मुख बाएर पानीमा अर्थशून्य दृष्टिले हेर्छन्, शेखरका दृष्टिमा पनि त्यही भाव छ ।

वीणालाई शेखरले अघि पनि देखेथ्यो । आजकी वीणा र सधैं देखिएकी वीणामा कत्रो ठूलो प्रभेद ! सधैँ वीणा त्यसका नजरमा पाँच जना अरू जस्ता देखिन्थे त्यस्तै देखिन्थी ! तर आज वीणाको त्यो अनुपम सौन्दर्य र आकृत्रिम माधुरी सम्झेर शेखर आफैं छक्क पर्यो ।

फेरि अर्को अचम्मको कुरो । शेखरको कति नारी हृदयसित परिचय छ । नारीहरूको अन्तर बाहिर सबै ऐना जस्तो पढ्न सक्छु भन्ने शेखरको ठूलो गर्व छ । तर यतिका दिनमा ता कतै यस्ती तरुणीसित ता शेखरको भेट भएको थिएन । अरू युवतीहरूले जस्तो शेखरसँग प्रथम परिचय हुँदा त्यसले नचाहिंदो स्वाँग ता पारिन; लाजको छल प्रकट गरिन । भुइँतिर हेर्ने निहुँले आँखा कुनाबाट ता त्यसलाई हेरिन । साना-साना कुरामा लाजको भान गर्दै दुई हातले ता मुख छोपिन ।

वीणाले प्रथम आफूलाई शेखरले एकटक लाएर हेरिरहेको देख्ता ईषत् लाज देखाई । तर त्यो लाज स्वाभाविक थियो, त्यस्तो लाज स्त्रीहरूको गहना हो । त्यस्तो लाज नभएकी स्त्री र इमान नभएका पुरुष एकै हुन् ।

त्यसपछि त्यो प्रथम लाज काटेपछि वीणाको व्यवहार अनि शान्त र स्वाभाविक थियो । त्यसका हँसाइमा प्राण थियो, तर प्रगल्भता थिएन । त्यसका कुरा कहानीमा विनय थियो, सुरुचि थियो, कृत्रिम परिपाटी थिएन ।

त के वीणा अरू दसजना समाजका नारीहरूभन्दा भिन्दै छे ? के वीणा प्रकृतिको नियमदेखि बाहिर छे ? सन्देहका प्रबल लहरमा शेखरको मानस-नौका डगमगाउन लाग्यो । तर महानिशा आशाले शेखरको शङ्का मेटाउन ठूलो सहाय्य गर्यो । आशा मानिसको हृदयकोटरमा चिरन्तन उम्रन्छ- सीममा पानी बाह्रै काल उम्रेजस्तो । शेखरका वासनाको भोगमा कति सुन्दरीहरूको बलिदान भैसक्यो । अझै एउटी नारी जगतको श्रेष्ठ रत्न ।

आशाले शेखरको सुन्दर अनुहार उद्दीप्त भै उठ्यो । कुनै हिंस्रक जन्तुले शिकार देख्दा त्यस पशुको अनुहार त्यसरी नै दीप्त हुँदो हो । त्यसका आँखा त्यसरी नै बल्दा हुन् । शरीरका रगत त्यसरी नै उम्लँदा हुन् । मानिस र पशुमा विशेष प्रभेद केही छैन । कुनै कुनै परिस्थितिमा मान्छे पशु हुन्छ औ पशु देवता ।

नुहाई धुवाई भोजन आहार गरेर मोहनले दिनभरि त्यहीं बितायो । दुई मित्रका बीचमा कति कल्पना जल्पना अनेक कुरा कहानी तथा अशेष गफ चलिरहे ।

मोहन छ उग्र कर्मयोगी । त्यसको बानी बेहोरा छ सरल औ पवित्र । त्यो आत्मनिग्रही छ- सदाचारी छ । औ ठीक त्यसको उल्टो छ शेखर । शेखर छ स्वेच्छाचारी । तर स्वभावमा यस्तो ठूलो अन्तर भए तापनि यिनको आपस्तको मैत्री भाव देखेर दुनियाँ दङ्ग पर्छन् ।

साँझ परेपछि मोहन घर फर्क्यो ।

चौक बजारका बीचमा पुगेर मोहन ठिङ्ग उभियो । त्यो अनुहार कहिले कता देखेजस्तो लागेर मोहनले राम्ररी ठिम्याउने चेष्टा गर्यो । तुलसी बाजे पनि सरासर मोहनैपट्टि आए । मोहनको मुखमण्डल प्रसन्न भै उठ्यो । धेरै दिनअघिका सँगै पढ्ने साथीहरूलाई भेट्दा एक प्रकारको अपूर्व आनन्द हुन्छ । बितेका कुराहरू एक एक गरी मनमा सम्झना हुन्छ ।

तुलसी बाजेका दुई पाखुरा समातेर हल्लाउँदै मोहनले भन्यो, “तुलसी बाजे ! प्रणाम, आज कति दिनपछि तपाईंसित भेट भो । हाल खबर ? बढियै छ त ?”

“अरे विक्रमजी के भनौं ? सहपाठीका हकले नमस्कार अथवा बाहुनचरीका हकले आशीर्वाद । खबर बाह्रै महिना यहीँ विताउने मानिसको हालखबर के बताउनुपर्छ र ? तपाईंको हालेखबर सुनाउनोस् न । मेरो दुःख पोख्न थालें भने ता तपाईं अहिले ठाडो पुच्छर लाउनु हुनेछ ।”

उही पुरानो, तुलसी बाजे सदाशिव । क्लासमा सहपाठीहरूले तिनलाई कति जिस्कोउँथे, ठट्टा गर्थे, कष्ट दिन्थे । तर ती कत्ति पनि क्षुब्ध हुँदैनथे तुलसी वाजे रिसाएको कसैले थाहा पाएन, देखेन । ती क्लासका बाँदरहरूको उपद्रव अपरिचित धैर्यसित सहन गर्थे औ रातदिन कविता गर्थे । अँ, कविता गर्न भने तुलसी बाजेलाई खूब आउँथ्यो । औ कवितामै तिनले उपद्रवी लडकाहरूको सातो लिन्थे ।

मोहनले तुलसी बाजेको हात समातेर भन्यो, “लौ ता कविजी, अब मेरो डेरामा एक छिन विश्राम गर्न जाऔं । तुलसी बाजे केही नाईं नास्ति नगरी हिंडे । घरमा पुगेर तुलसी बाजेको उचित सत्कार गरेपछि मोहनले सोध्यो, “कविवर ! हालमा गर्नहुन्छ के नि ?”

तुलसीले उत्तर दिए, “न सोध्नोस् मोहनजी, के भनौं अब । दार्जिलिङका नेपालीहरूको दुर्दशा के बताऊँ । हामी कि ता भारी बोकुवा कि आपिसमा तल्लो दर्जाका कलम कोर्ने ता छौं नि । बडो मुश्किलले जब बजारका कुनामा एउटा सानी दाल चामलको पसल खोलिरहेछु अच्छा, यो कुरा परै रहुन् । अहिले तपाईं कहाँबाट फिर्नुभएको ? शेखरका घरबाट ?”

शेखरको नाउँ लिनेबित्तिकै तुलसी बाजेका मुखमा घिन र दुःखको झलक देखिए । मोहन त्यो देखेर छक्क पर्यो । औ तुलसीका मुखदेखि आफ्नो नजर नहटाई मोहनले भन्यो, “तुलसी बाजे, हठात् यो कुरा किन सोध्नुभयो ?”

तुलसी बाजेले केही उत्तर दिएनन् । भित्तामा टाडेको एउटा तस्वीर ती ध्यानपूर्वक हेर्न लागे । मोहन पनि चूप लागिरह्यो । एक छिन कोठामा नीरवता छायो ।

अन्त्यमा तुलसी बाजेले नै बोले । “हेर्नुहोस् विक्रमजी, अर्काको निन्दा र चर्चा गर्ने बानी मेरो छैन; यो कुरा तपाईंलाई पूर्णतया थाहै छ । तर समाजमा बसेर समाजका छातीमा जब समाजको एउटा माननीय पुरुषले आघात गर्छ, त्यति बेला त्यसको विरोध गर्नु समाजका साना ठूला सबैको कर्तव्य हो । यो कुरा तपाईं मान्नुहुन्छ ता उत्तम । हाम्रो समाजमा पनि हाम्रा प्रतिष्ठित मित्र इन्द्रशेखरले त्यस्तै उत्पात मच्चाउनुहुँदैछ ।”

विस्तार विस्तार तुलसी बाजेले माया र शेखरसम्बन्धी करा मोहनलाई भनी सुनाए औ भने, ‘हाम्रा ज्ञान, सम्मान र रूपका गर्वमा भुलेका मित्र इन्द्रशेखर समाजको काल हुनुभएको छ। यस्तै हो भने, शेखरलाई कसैले विरत गरने भने, समाज जानेछ रसातलमा । माया मात्रै होइन, त्यस्ता अरू कति अज्ञान तरुणीहरू शेखरका कुवासनाका चक्रमा परी बिग्रे, नासिए औ अझै पनि नासिन लागिरहेछन् । समाज यी अज्ञान अबलाहरूको आर्तनादले कम्पायमान छ । विचार गर्नुहोस्, मोहनविक्रमजी अब तपाईंले गर्नुपर्ने काम । साथीलाई बचाउनुहोस्, औ समाजको पनि रक्षा गर्नुहोस् ।” यति भनेर तुलसी बाजे बिदा भए ।

मोहनको शरीरको जम्मै रगत सुक्यो ।

क्रमशः …