म प्रत्येक शनिबार नियमित ‘समाज परिवर्तन केन्द्र’ जान थालेँ । उनले ध्यान-कक्षमा चकटी मिलाइदिएको, पर्दा लगाएको र भोजनालयमा नास्ता खुवाएको ध्यान दिएर हेर्न थालेँ । उनी पनि बीचबीचमा पुलुक्क हेर्थिन् र मुसुक्क हाँस्थिन् ।
पछि उनी भन्थिन्, “मेरो हेराइमा त्यति बेला असीम भोक हुन्थ्यो रे । त्यो भोकमा वासनाको गन्ध भने रत्ति पनि हुँदैनथ्यो रे ।” मेरा पुराना राग-अनुराग धोइँदै थिए । अनि, चाहनाका नयाँ बीज टुसाउन थालेका थिए । वासन्तीको प्रेमले म परोपकारी समेत भएँ । र, आश्रमभित्र नयाँ उद्यान निर्माणका लागि मैले आर्थिक सहयोग पनि गरेँ ।
“छोटो समयमा सङ्गतिमा डुब्ने र त्यसको प्रभावले अन्तरमनबाट करूणा प्रस्फुटित हुने विरलै मानिसमध्येमा तपाइँ पर्नुहुन्छ, गजमेरजी ।”, केन्द्रका प्रमुख आचार्यश्रीले भन्नुभएको थियो, “यस्ता घटना विरलै हुनेगर्छन् ।”
आचार्यश्रीले सङ्गतिका कारण ममा परिवर्तन आएको घोषणा गर्दा म भने वासन्तीलाई हेरिरहेको थिएँ । वास्तवमा मेरो परिवर्तनमा सङ्गतिको होइन, वासन्तीको योगदान थियो, यो कुरा बुझाउनु आवश्यक त थिएन तर वासन्तीलाई चाहिँ थाहा होस् भन्ने चाहन्थेँ म ।
उनी खुला थिइन्, वसन्त ऋतुमा चलेको बतासजस्तै । उनी अरूसँग जसरी खुलेर कुरा गर्थिन्, सेवा गर्न हतारिन्थिन्, मसँग पनि उस्तै व्यवहार गर्थिन् । अरूलाई गरेको सेवा भने मलाई अपच भएजस्तो लाग्थ्यो । ममा ईर्ष्याको पारो चढ्थ्यो । शायद प्रेम भन्ने यस्तै हुन्छ, जहाँ मानिस अलिकति स्वार्थी, अलिकति मतलबी हुन्छ । अरूको भाग खोसेर आफ्नो बनाउन चाहन्छ । अरूप्रति भन्दा बढी आसत्ती र अरूबाट भन्दा बढी माग नै शायद प्रेम हो ।
त्यसो त केन्द्रमा पुग्न मलाई सधैँ हतार हुन्थ्यो । एक दिन सबैभन्दा छिटो पुगेछु ध्यान कक्षमा वासन्ती चकटी मिलाइरहेकी थिइन् । “वासन्ती कति छिटो उठेर काम सुरू गरिसकेकी ?”, मैले प्रश्न गरेँ । पहिलोपटक उनलाई माताजीको साटो सीधै वासन्ती भनेर बोलाउँदा उनले तर्सेर हेरेकी थिइन् । तर, बिस्तारै मैले जित्दै गएँ, उनी पनि नामले बोलाउँदा खुशी हुन थालिन् ।
“वासन्ती, तिमी किन यहाँ बस्छौ ? कुनै बाध्यता छ र ?”, धेरै महिनाको प्रयासपछि एक दिन उनलाई कोट्याएर मैले आफ्नो अवस्था जानकारी गराउने प्रयास गरेको थिएँ ।
“त्यस्तो केही छैन स्वामीजी, मलाई यहाँ सेवा गर्न रमाइलो लाग्छ ।”
“तर, करिअर पनि एउटा कुरा हो क्यारे ! सधैँ सेवा गरेरै बस्ने तिम्रो योजना हो र ?”
“होइन, बाहिर जाने योजना बुन्दै छु । एनक्लेक्स कक्षा लिँदै छु । यहाँ वातावरण शान्त छ, पढेको सजिलै दिमागमा पस्छ ।”
“वासन्ती तिमी माइन्ड गर्दिनौ भने एउटा प्रस्ताव राख्छु । तिमी शहरमै डेरा लिएर बस । उतै क्लास गर, प्राक्टिस गर । यहाँ धेरै भिड हुन थालेको छ । तिम्रो पढाइ बिग्रन सक्छ । रह्यो शनिबारको कुरा, गाडीमा सँगै आउँला, फर्कौँला ।”
“किन र ?”
के भन्ने ? मसँग उत्तर थिएन । म तिमीलाई प्रेम गर्छु भन्नु ? विवाह गर्न चाहन्छु भन्नु ? कसैसँग प्रेम हुनुअघि नै म विवाहको बन्धनमा परिसकेँ तर अहिले आएर तिमीसँग प्रेम भयो भन्नु ? निकै बेर उनलाई हेरिरहें । धेरै थोक भन्न चाहन्थेँ । मनमा गुम्सिबसेका पीडाका पोकाहरू बिसाउन चाहन्थेँ । तर, उनी र मबीच एउटा ठूलो तगारो थियो, विवाहको । विवाहले मानिसलाई प्रेम गर्न पनि बञ्चित गरिदिँदो रहेछ ।
“कुनै कुरा त त्यसै पनि बुझिन्छ होइन र वासन्ती !”, सत्य कुरा भन्न नसकेपछि घुमाउरो बाटो अपनाएँ, “ध्यानीहरूले त अर्काको मनको कुरा पनि बुझ्छन् रे होइन ?”
उनले कर्के आँखाले हेरिन् । ती आँखा अघिपछिका जस्ता प्रेमिल थिएनन् ।
घर फर्किएपछि आफ्नो कद घटेजस्तो लाग्यो । जसले सम्मानपूर्वक स्वामीजी भनेर सम्बोधन गर्थिन्, उनको अघि पुड्को अनुभव भयो । म आफैँसँग यति लजाएँ, एक सातासम्म वासन्तीलाई फोन गर्न सकिनँ । उनले पनि मलाई सम्झिनन् । त्यो शनिबार म आश्रम गइनँ । उनले सोधखोज गर्छिन् भन्ने लागेको थियो तर एक मिसकल पनि आएन । कल्पनामा पनि पहिरो गयो ।
कहिलेकाहीँ आफ्नो अवस्था बिर्सँदा यस्तै अवस्था भोग्नुपर्छ । बन्दुकबाट छुटेको गोलीले जे गर्नु थियो, गरिसकेको थियो । साताभरि मेरो मनमा यस्तै कुरा आइरहे । अर्को साता पनि त्यसैगरी बित्यो । एक मनले सोच्यो, अब आश्रम जान्नँ । वासन्तीबाट सधैँका लागि टाढिन्छु । तर, सकिनँ । रक्सी छुटिसकेको थियो, फेरि त्यही नर्कमा जान चाहन्नथेँ । साथीहरूलाई फोन गर्नेबित्तिकै अर्को जीवन सुरू भइहाल्थ्यो । के गर्ने ? शनिबार दिउँसोसम्म गाडी लिएर यता र उता हिँडेपछि बोध भयो, म रक्सीको नशाबाट छुटेर वासन्तीको नशामा परिसकेको रहेछु । एउटा नशा छाड्न अर्को नशा लिनुपर्ने रहेछ । कस्तो विडम्बना !
अन्जानमै गाडी आश्रमतिर मोडियो र आफूलाई त्यसो नगर् भन्न सकिनँ । मनभरि वासन्तीको अनुहार खोपेर लजाउँदै गोकर्णेश्वर पुगेँ । गाडीलाई अलि वरै पार्किङ गरेँ । मानौं, म टाढाको मान्छे हुँ, पाहुनाजस्तै । ध्यानमा पनि म सबैभन्दा कुनामा लुकेर बसें र वासन्तीको नजरबाट सकेसम्म आफूलाई छलिने प्रयास गरिरहें । वासन्ती सधैँझैँ खानाको लाइनमा उभिएका पाहुनालाई प्रसाद बाँडिरहेकी थिई । जब उसले म लाइनमा बसिनँ भन्ने बुझी, एक प्लेट खीर र आलुको तरकारी ल्याएर दिई । मैले खाउन्जेलसम्म मेरै अघि उभिइरही । मानौं, म घरको मूली हुँ र ऊ भान्छे । म प्रसाद खाने निहुँमा चुपचाप थिएँ । उसले मलाई नियालेर हेरिरहेकी थिई ।
“मेरा लागि डेरा खोज्नुभयो ?”, मेरो प्लेट उठाउँदै भनी, “शहरमा गएर पढ् भन्नुभएको होइन ?” सुन्दरीजल माथिको डाँडातिरबाट एउटा हावाको झोंक्काले मेरो आँत शीतल बनाइदियो ।
“खोजिसकेँ तर खाली हुन एक हप्ता लाग्छ ।” अचानक खै कताबाट हो यसो भन्न आयो ।
खाजापछिको प्रवचन सेसन हुन्थ्यो । वासन्तीले डेरा खोज्नुभयो भनेपछि म बत्तिएर बाहिर आएँ । गाडी लिएर गोकर्णेश्वरदेखि नै डेरा खोज्न थालेँ । मानिसलाई सोध्थेँ, “यताहुँदी कोठा खाली छ ? पैसाको कुरा होइन, जतिको भए पनि हुन्छ । एक जना बहिनी बस्ने हो । मुख्य कुरा पानी हो । घाम लाग्ने र पढ्ने वातावरण भएको हुनुपर्यो ।” खोज्दा नपाइने के छ र ?
अर्को साता गोकर्णेश्वरबाट फर्कँदा एउटा ब्याग पछाडिको सिटमा र अगाडि त्यो ब्यागकी मालिक्नी मसँगै थिइन् । उनी बाटोभरि मुस्कुराइरहेकी थिइन् । पक्कै पनि मेरो अनुहार अनौठो भएको थियो होला । कोठाभित्र पस्दा छक्क परिन् । उनको अध्ययनमा कुनै अप्ठ्यारो नआओस् भनेर मैले सक्दो सरसामानले कोठा सजाएको थिएँ । बैजनी रङले रङ्गिएको कोठा शायद उनलाई मन पर्यो । कोठाभित्र छिर्नासाथ उनको मुहारमा इन्द्रधनुषी केस्राहरू देखापरे । सेता तन्ना र उस्तै रङको सिरानीले छोपेको आकर्षक पलङ । एउटा टेबल । टेबल ल्याम्पको छेउमा ल्यापटप । अनि, कुनामा चिटिक्क परेको दराज । अर्को कोठामा आवश्यकता पूरा गर्ने सरसामलसहितको भान्सा । उनैलाई पर्खिरहेको थियो ।
उनले छक्क परेर सोधिन्, “यहाँ कोको बस्नुहुन्छ ?”
“तिमी र म ।”, हाँस्दै भनेँ ।
सुरूमा उनले पत्याइनन् । तर, नपत्याएर सुख ! खाना पकाउनुअघि साँझमा हामी गाडी लिएर यात्रामा निस्कियौं र फर्कँदा आवश्यक सबै सामग्री किन्यौं । सँगै खाना पकायौं । कुन सामान कहाँ राख्ने भनेर छलफल गर्यैं । मेरो तयारी र शैली देखेर अनौठो मानिरहेकी छन् भन्ने म ठानिरहेको थिएँ । यसरी सप्राइज दिन पाएकोमा म भित्रभित्रै गद्गद् थिएँ ।
खाना खाएपछि मैले आफ्नो ओछ्यान तल लगाएँ र उनका लागि खाट सुरक्षित पारिदिएँ । भुँइमा ओछ्यान लगाइरहँदा रिडिङ टेबलको कुर्सीमा बसेर उनले हेरिरहिन् । मैले ओछ्यान लगाएको, मिलाएको हेरिरहँदा उनी चिउँडोमा दुई हात राखेर मुसुमुसु हाँसिरहेकी थिइन् । कहिलेकाहीँ आश्रममा उनलाई प्रभाव पार्न म उनको काममा हात बढाउने गर्थें । त्यस्तो बेला छक्क परेर मुस्कुराउने उनको शैली यहाँ पनि दोहोरिएको थियो ।
ओछ्यान तयार भएपछि म त्यसैमा ढल्किएँ । उनलाई खाटमा सुत्न सङ्केत गरेँ । उनी जिस्किएझैँ ओठ लेप्राउँदै खाटमा ढल्किइन् । अनि, घोप्टो परेर मलाई हेर्न थालिन् । म भुइँको ओछ्यानमा उत्तानो परेर उनको आँखामा आँखा जुधाउँदै आफ्नो जीवनकथा सुनाउन थालेँ । मलाई लाग्यो, आज म उनीसामु पोखिन जरूरी छ । सधैंभरि उपयुक्त समयको प्रतीक्षा गर्दा समय नै
घर्किन पनि सक्छ । थाहा छैन, मैले हतार पो गरेँ कि ? जेहोस्, मैले उनलाई आफ्नो बाल्यकालदेखि विवाहसम्मको कथा सुनाउन भ्याइसकेको थिएँ । मेरो कथा टुङ्गिँदै गर्दा उनको कपाल मेरो ओछ्यान छुन आइपुग्यो । ती केशराशि खेलाउँदै मैले उनीप्रतिको आफ्नो उद्वेग पोखें, “वासन्ती, म दुई सन्तानको पिता हुँ । स्पष्ट भन्ने हो भने समाजले मानी आएको तथाकथित दलित पनि । तर, यी परिस्थितिका बीचमा पनि तिमीसँग प्रेम भयो । अब तिमी नै भन, म के गरूँ ?”
“तर, म तपाईंसँग प्रेम गर्दिनँ ।”, उनले सहजरूपमा झरेका केश मेरो हातबाट छुटाउँदै भनिन् । मैले उनले ठट्टा गरेको ठानेँ । आँखामा आँखा जुधाएर हेरेँ । उत्तर जे थियो, आँखा पनि उस्तै थिए ।
म मेरो प्रस्तावको जवाफ चाहन्थेँ, अहिल्यै । उनले इलाम बजारमा रहेका आफ्ना बा, आमा र दाजुको कुरा गरिन् । उनीहरूको चियाबगान र त्यसको आम्दानीले आफूहरूलाई बुवाले दुःखका साथ हुर्काएको कुरा गरिन् । नर्सिङ पढेको र चाँडै विदेश जाने कुरा पनि दोहोऱ्याइन् । आश्रमको सुन्दर वातावरण, गुरू शैलेन्द्र र उनका चेलाको हाँस उठ्दा व्यवहार सुनाइन् । उनी सकेसम्म मेरो प्रस्ताव पन्छाउन खोजिरहेकी थिइन् ।
“तिमीले मेरो कुरालाई अन्तै लगेर बिसाउन खोज्दै छौ वासन्ती । मेरो बारेमा, मेरो प्रेमका बारेमा तिम्रो धारणा सुन्न चाहन्छु । प्लिज केही भन न, प्लिज !”
“तपाईंले मेरा हरेक आवश्यकता बुझेर कोठा सजाउनुभएछ । म यहाँ आएर खुशी छु । प्रेमस्रेमका कुरा नगरौं । तपाईं विवाहित भएका कारण वा दलित भएका कारण प्रेम गर्दिनँ भनेकी होइन । मेरो मनमा तपाईंप्रति प्रेम जन्मेकै छैन । अनि, मेरो ब्वायफ्रेण्ड पनि छ ।”
एउटा तिखो कुनै वस्तु छातिमा रोपिएको अनुभव भयो । यो त हुनु नै थियो । एउटी युवतीसँग परिवार भएको व्यक्ति प्रेमका कुरा गरिरहेको थियो । यो कुराको ख्याल राखेकै रहेनछु । मैले यस्तो कुरा सुन्नुपर्छ भनेर तयारी गर्नुपर्ने थियो । पश्चाताप लाग्यो ।
“तर, तपाईंले मेरा लागि यति गर्नुभएको छ । तपाईंलाई निराश बनाउँदिनँ । भन्नुहोस्, मबाट तपाईं के चाहनुहुन्छ ?”, उनले आफ्नो हात मतिर बढाइन् ।
आश्रममा सात्विक सेवा गरेर लामो समय बिताएकी वासन्तीको यो वचन मेरा लागि अनपेक्षित नै थियो ।
“वासन्ती, किन त्यस्तो कुरा गर्यो ? मैले केही पाउन यति गरेको भन्ने ठानेकी ?”
“तपाईं कुनै बुद्ध पुरूष त पक्कै होइन । नढाँटी भन्नुहोस् त, तपाईंले अहिलेसम्म कति युवतीलाई यस्तो सहयोग गर्नुभयो ?”
बाटो हिँडिरहेको अल्लारे ठिटोले रूखको हाँगामा चुपचाप बसिरहेको ढुकुरलाई एकाएक प्वाक्क हिर्काएको ढुङ्गाले जस्तै लाग्यो, उनको कुराले मलाई ।
“कुनै केटीलाई पैसा खर्च गर्दै हिँड्ने धनाढ्य बाउको अल्लारे बेरोजगार ठिटो होइन म । पहिलोपटक कसैको प्रेममा कायल भएको छु । दाबीका साथ भन्छु, यो अन्तिम पनि हो ।”
“म नै किन ?”
“किनभने तिमीसँग प्रेम भयो । अब प्लिज नसोध कस्तो प्रेम ?
“प्रश्न यसैमा छ गजमेर सर । कस्तो प्रेम ? साथीलाई गर्ने प्रेम कि, बहिनीलाई गर्ने प्रेम कि, श्रीमतीलाई गर्ने प्रेम ? मसँग कस्तो प्रेमको अपेक्षा गर्नुभएको ?”
म खाटको छेउमा घुँडा टेकेर उभिएँ । उसको हात समाएँ । भावनाको चरम विन्दुमा पुगेपछि मलाई नै थाहा भएन, म के गर्दै छु ।
“मलाई प्रेमिकाको प्रेम देऊ वासन्ती । अनुहारकै कुरा गर्छौ भने शायद, मसँग तिमीभन्दा राम्री श्रीमती छिन् । साथीसँगीको कुरा गर्छौं भने एक फोनमा जम्मा हुने दर्जनौं साथीहरू छन् । सबै छन्, सबैसँगको प्रेम छ । केवल प्रेमिका छैनिन् । म तिमीबाट प्रेम चाहन्छु ।” मैले उनको हात चुमेँ ।
उनी ओछ्यानबाट जुरूक्क उठिन् र मेरो हात छुटाउँदै भनिन्, “प्रेमिकाको प्रेम पनि दुईथरी हुन्छ, सेक्सरहित र सेक्ससहित । तपाईं मलाई कस्ती प्रेमिका बनाउन चाहनुहुन्छ ?”
मैले उनको अनुहार हेरेँ । त्यहाँ सधैँ छाइरहने मुस्कान गायब थियो । अनुहार दृढ थियो । आफैँलाई हेरेँ र सोधें, “म कस्तो प्रेम गर्छु यी केटीलाई ? कसरी उब्जियो यो प्रेम ? केका लागि म यो सब गरिरहेको छु ? के उनको शरीरसँग प्रेम भएको हो ?”
“वासन्ती, मलाई आदर्श कुरा गर्यो नभन । म तिम्रो शरीरलाई होइन, तिमीलाई शुद्ध प्रेम गर्न चाहन्छु । म तिम्रो प्रेममा सेक्सको गन्ध पनि पर्न दिन्नँ ।”
“सोचेर भन्नुहोस् किनभने म आजै यो सम्बन्धका विषयमा क्लियर हुन चाहन्छु ।”
“म तिमीलाई मात्र होइन, आफैँलाई पनि क्लियर पार्न चाहन्छु वासन्ती । ता कि भोलि हाम्रो सम्बन्धमा कुनै समस्या नआओस् । म हृदय साक्षी राखेर भन्छु वासन्ती, अहिलेसम्म त्यस्तो कुनै भाव उत्पन्न भएको छैन । जुन दिन त्यस्तो भाव उत्पन्न होला, तिमीलाई भन्नेछु ।”
“र, त्यो दिन हाम्रो सम्बन्धको अन्त्य हुनेछ । त्यो बेला तपाईंले मैले यो केटीका लागि यसो गरेँ, उसो गरेँ भन्न पाउनु हुनेछैन । यो सहयोग मैले चाहेर होइन, तपाईंको इच्छाले भएको हो ।”
मैले ऊसँग हात मिलाएर स्वीकृतिको स्वरमा भनेँ, म तिम्रो भावनाको सम्मान गर्छु ।”
तपाईंलाई सधैं यही रूपमा देख्न चाहन्छु ।
मैले उनलाई अँगालो हालेँ ।
म तपाईंको प्रेमको सम्मान गर्छु । त्यही भएर पनि म तपाईंसँग सजिलै खुल्न सकेँ । मेरा केही शब्द रूखा थिए । ती कुराले बिझाएको भए माफ गर्नुहोला । म यतिखेर तपाईंसँग सजिलो महसुस गरिरहेकी छु । किन थाहा छ ? तपाईँका केही कुरा मेरो ब्यायफ्रेण्डका जस्ता छन् ।
म अँगालोमै उनको कपाल खेलाइरहेको थिएँ । उनका यी शब्दले रोकिएँ । उनलाई हेरेँ। उनको आँखामा उनको ब्वायफ्रेन्डको तस्वीर नाचेझैं लाग्यो । ऊ को थियो, जान्न खसखस लाग्यो । तर, त्यो मेरो अधिकार बाहिरको थियो । चुपचाप उठें । बत्ती निभाएर आफ्नो ओछ्यानमा फर्किएँ । मुस्कुराइरहेको उनको अनुहार हेर्ने प्रयास गरेँ । अँध्यारोमा सबै कुरा लुकेका थिए ।
त्यसपछिका दुई रात उसैगरी उनकै डेरामा बिताएँ । अफिस छुट्टी भएपछि गाडी निकाल्दै गर्दा मेरो मनले वासन्तीकै नाम लिइरहेको हुन्थ्यो । खबरै नगरी म उनकोमा पुग्थें । उनी उसैगरी मलाई स्वागत गर्थिन्, जसरी आश्रममा ध्यानीहरूलाई गर्थिन् । उसैगरी खाना पकाउँथिन्, खुवाउँथिन् । म उसैगरी खाटको तल उनको प्रेममा निमग्न भई निदाउँथे, एक्लै ।
वासन्तीले नर्सिङकी विद्यार्थी थिइन् । अन्तर्राष्ट्रिय नर्सिङ कोर्स (एनक्लेक्स) गरेर दिल्लीबाट परीक्षा दिएपछि बल्ल उनको विदेश जाने बाटो खुल्ने रहेछ । सुरूमा मलाई छेउ पर्न नदिन प्रेमी भएको बहाना गरेकी हुन् जस्तो लागेको थियो । केही दिनमै उनको प्रेमी रहेछ भन्ने थाहा भयो । उनको प्रेमी अमेरिकामा उनैलाई कुरेर बसेको छ भन्ने कुरा भाइबरमा दुई जनाबीच भएका कुराकानी देखेपछि विश्वास गर्न बाध्य भएँ । उनी सबै कुरा खुलस्त पारेर मलाई सहज बनाउन चाहन्थिन् । उनको प्रेमी विवाह गरेर उनलाई अमेरिका लैजान चाहन्थ्यो । उनी भने आफ्नै प्रयासले अमेरिका छिर्ने जिद्दी गरिरहेकी थिइन् । कहिलेकाहीँ उनीहरू दुईबीच यही सानो कुरामा डिस्कस हुन्थ्यो र उनी कहिलेकाहीँ मेरा अघि पुरुष सोचको आलोचना गर्थिन् । त्यो बेला म सकेसम्म आफूभित्रको पुरूष सोचलाई बुझ्ने प्रयास गर्थं ।
वासन्तीको स्वावलम्बी स्वभावबाट परिचित भएपछि मैले प्रत्यक्ष सहयोग रोकेँ । म उनको मनमा ठेस लाग्ने कुनै काम गर्न चाहन्नथेँ । टेलिफोनमा कुरा गर्दा म सकेसम्म उनको मर्यादा राखेर गफ गर्न थालेको थिएँ । उनको कोठामा लगातार धेरै रात बिताउने चाहनालाई सकेसम्म रोकेर राख्थेँ ।
एकपटक झण्डै महिना दिनपछि म उनको कोठामा पुग्दा भान्सामा केही समान थपिएका थिए । भुइँमा नयाँ कार्पेट मुस्कुराइरहेको थियो । टेबलल्याम्पको आडैमा उनको प्रेमीको तस्वीर मुस्कुराइरहेको थियो ।
त्यो बेला कोठामा मैले केही खाद्यान्न र भाँडाकुँडा लिएर गएको थिएँ । उनले पुनः आफ्नो पुरानो मान्छे आएझैँ हृदयपूर्वक स्वागत गरिन् । सोचें, दुइटा प्रेमीलाई यो केटीले कसरी मनमा राख्न सक्छे ? लगत्तै सोचें, मैले कसरी श्रीमतीलाई घरमा र वासन्तीलाई मनमा राखिरहेको छु ? शायद, यो दुनियाँका अधिकांश मानिस कसैलाई मनमा र कसैलाई घरमा राख्न अभिशप्त छन् । आफैँलाई सम्झेर मन तम्तम्याइलो भयो ।
“वासन्ती, यहाँ आउँदाआउँदै मेरो मनमा एउटा प्रश्न उठिरहेको थियो ।”, हातमा झुन्डाएको झोला अधिकारपूर्वक भान्सामा राख्दै मैले उनलाई साधेँ ।
उनले मुस्कुराउँदै हेरिन् ।
“गाडी पार्किङ गर्दा घरबेटीले मलाई प्रश्नसूचक दृष्टिले हेरेका थिए । यसले मेरो प्रश्न अझै गहिरो बनायो ।”
“कस्तो प्रश्न ?”, मलाई मनपर्ने ग्रीन टीमा थर्मसको पानी राखिदिँदै उनले हेरिन् ।
“हामी त प्रेमी-प्रेमिका । बाहिरी व्यक्तिको नजरमा हामी को नि ?”
“प्रेमी-प्रेमिका नै हौँ । अरू बन्नुपर्ने आवश्यकता किन पर्यो र ? मलाई पाखण्ड मन पर्दैन ।”, उनले सहज जवाफ दिइन् ।
“अरूले सोधे भने पनि यही जवाफ दिन्छौ ?”
“चासो राख्नेहरूले सोधिसके । जवाफ पनि दिइसकेँ ।” उनले प्रेमपूर्वक मेरो गाला मुसारिन् र ग्रीन टीको पटमा पानी थपिदिइन् ।
“अस्ति ओटमिल लिन अगाडिको पसलमा गएकी थिएँ । त्यहाँकी पसल्नीले यो डेरा मैले नै खोजिदिएको भनेर मसँग हिमचिम बढाउने प्रयास गरिन् । मसँग परिचय गरिन् ।”
“हो, तिनै महिलाले डेरा खोजिदिएकी हुन् । अनि, के भनिन् ?”
“तपाईंको बारेमा पनि सोधपुछ गरिन् । मैले उहाँ मेरो प्रेमी हो भनिदिएँ ।”
“त्यसपछि ?”
“उहाँलाई देख्दिनँ, कहाँ बस्नुहुन्छ भनेर सोधिन् ।”
अहो, मेरो मन ढुक्क फुल्यो । हाम्रो सम्बन्धका विषयमा घरबेटीलाई मात्र होइन, अरूलाई पनि चासो लाग्न थालेछ । मलाई उनको कुराले डर लाग्यो ।
“के भन्यौ त ?”
“उहाँ आफ्नो घरमा बस्नुहुन्छ । बच्चा र श्रीमती छन्, कहिलेकाहीँ आउनुहुन्छ भनिदिएँ ।”
“अनि ?”
“अनि के नि ! बोल्ती बन्द भयो । हिजो पसल जाँदा मलाई तलदेखि माथिसम्म हेरिन् । मैले मुसुक्क हाँसेर टारिदिएँ । बिचरी भन्ने लाग्यो ।”
“तिमीलाई डर लाग्दैन ?”
“कोसँग ?”
“यो समाजसँग, तिम्रो प्रेमीसँग ?”
“मैले के गरेकी छु र डराउनलाई ?”
म नजिक गएँ र उनलाई अँगाल्दै भनें, “वासन्ती, तिमीजस्ती प्रेमिका पाएर म गद्गद् छु ।”
उनी बच्चाजस्तै मेरो अँगालोमा खुम्चिइन् । अँगालोमा बेरिँदा उनी खुम्चिएर सानो हुने गर्छिन् ।
जब मानिस निडर भएर बाँच्छ, उसमा अनौठो सौन्दर्य प्रस्फुटित हुँदोरहेछ । उनमा नयाँ सौन्दर्य फक्रिएको पाएँ । उनका हातले पकाएको खानामा, उनले लगाइदिएको ओछ्यानमा, उनीसँगै बसेको ध्यानमा एकप्रकारको तृप्ति पाउँथेँ । प्रेममा केके हुनुपर्छ, मलाई कहिल्यै थाहा भएन । तर, उनीसँगको सामीप्य, स्नेह र व्यवहार गर्ने तरिकाबाट लाग्थ्यो, शायद प्रेम भनेको यही हो ।
हामी शनिबार सँगै समाज परिवर्तन केन्द्रमा जान थाल्यौं । आश्रमबाट फर्किएको रात म उनको कोठामा बिताउँथे । त्यो मेरा लागि सर्वाधिक प्रिय रात हुन्थ्यो । पहिलेपहिले प्रेमबिनाको समयमा, शुक्रबारको रात कुनै मदिरालयमा बित्थ्यो । शनिबार दिनभरि त्यसको ह्याङओभरमा । वासन्तीसँगको प्रेमपछि शुक्रबारको रात शनिबारको प्रतीक्षामा बित्न थालेको थियो । कहिलेकाहीँ फोन नगरीकनै अरू दिन पनि म उनको कोठामा पुगिदिन्थेँ । उनी मलाई सधैँ उसैगरी स्वागत गर्थिन् । उनको प्रेममा कहिल्यै पनि तलमाथि हुँदैनथ्यो ।
सधैंझैं उनी खाटमा घोप्टो परेर र म तल ओछ्यानमा उत्तानो परेर कुरा गर्दा उनको कपाल मलाई बारम्बार सप्को हान्न आउँथ्यो । त्यसबाट आएको बासनाले मेरो मनलाई घरीघरी उत्तेजित बनाउँथ्यो । बीचबीचमा खाटमाथि उक्लेर अँगालो हाल्ने मन हुन्थ्यो तर त्यसको परिणाम मलाई थाहा थियो । म उनलाई गुमाउन चाहन्नथेँ । आकर्षणको यो आवेग पनि बिस्तारै शान्त हुन थाल्यो । केवल, प्रेममात्र बाँकी रह्यो । केही साताभित्रै लाग्न थाल्यो, अँगालो मार्नुपर्ने, माया जताउनुपर्ने कुरा केही रहेनछ । चुपचाप एक अर्कालाई महसुस गरे पुग्ने रहेछ ।
यसरी कति समय बिते मैले हिसाब राख्न छोडें । तर, हाम्रो सम्बन्धलाई लिएर गाइँगुइँ सुरु भइसकेको थियो । अफिस, घर र समाज परिवर्तन केन्द्रमा मानिसहरू हाम्राबारे खासखुस गर्न थालिसकेका थिए । घरमा पुनः कलह हुन थालेको थियो । श्रीमतीले जेलमा सडाइदिने धम्की दिन थालेकी थिइन् । तैपनि, वासन्तीको सङ्गतका कारण मलाई पनि अरूका कुरालाई महत्त्व दिन मन लाग्न छाडेको थियो । म जस्तोसुकै धम्की पनि हाँसीहाँसी बेहोर्न सक्षम भइसकेको थिएँ । बल्ल थाहा पाएँ, महत्त्व नदिएपछि कुरा काट्नेहरू पनि चुपचाप हुँदा रहेछन् ।
वर्ष दिनपछि महिनाहरू दोहोरिन थाले । उनी भन्थिन्, “थाहा छ, पोहोर साल हामी यसरी नै यहाँ घुम्न आएका थियौँ ।” अनि पो महसुस हुन थाल्यो, प्रेमको घडी चाँडो कुद्दो रहेछ । हामीले यो वर्ष दिनमा काठमाडौँ वरपरका सबै पार्क घुमिसकेका रहेछौं । सबै थिएटर, धेरै रेस्टुराँ र सबैजसो मल्प्लिक्स हलमा पाइला राखिसकेका रहेछौं । हाम्रो प्रेममा कुनै आशक्ति थिएन, न थियो कुनै उन्माद । केवल भावना थियो र थियो समर्पण । अरूको नजरमा यो प्रेमको रङ कस्तो थियो हामीलाई मतलब भएन । कुरा काट्नेहरू काट्थे, थाक्थे र चुप लाग्थे ।
यसैबीचमा उनले दिल्लीबाट एनक्लेक्सको परीक्षा दिएर फर्किन् । रिजल्ट आउँदा उनको नम्बर अन्तर्राष्ट्रिय मापदण्डमा थियो । त्यसपछि उनको विदेश जाने तयारी सुरू भैहाल्यो । रिजल्ट आएको केही दिनपछि नै उनले भिसा अप्लाईको तयारी गर्न थालिहालिन् । उनले विदेशगमनको प्रक्रिया सुरू गरेपछि म झल्यास्स भएँ ।
वासन्तीबिनाको यो शहर मेरो निम्ति निर्जन हुनेथियो । उनको अनुपस्थितिको कल्पना मात्र पनि मलाई भयानक भङ्गालो लाग्न थाल्यो ।
“मलाई धोका भयो वासन्ती ! अब मेरो अवस्था के हुन्छ ? म के गर्छु ? कसरी बाँच्छु ? तिमीलाई मेरो चिन्ता लाग्दैन ?”, दमले च्यापेको मानिसले जस्तै कठिन सास फेर्दै सोधँ मैले ।
“धोका भयो ? कसरी ? मैले धोका दिएँ र ?”, ढुक्कले भनिन् । धोका दियौ भनेर उनलाई आरोप लगाउने ठाउँ थिएन । तर, मैले आफूभित्रको ‘म’लाई उनको पोल्टोमा पोखिसकेको थिएँ । म रित्तिइसकेको थिएँ ।
“तिमीले चाह्यौ भने यहीं बस्न सक्छौ । राम्रो हस्पिटलमा काम खोजौंला, किन जान्छौ ?”, शायद यत्ति धेरै अनुनयको आवाज योभन्दा पहिले कहिल्यै मेरो मुखबाट निस्केको थिएन ।
“किन ? यो पनि कुनै प्रश्न हो र ?”, उनले विस्मय र मुस्कान एकैपटक ओठमा पोतेर भनिन्, “किनभने मेरो भविष्य उतै छ । प्रेमी उतै छ ।”
“म तिम्रो प्रेमी होइन ?”
“शायद उसले भन्दा बढी नै माया गर्नुहुन्छ । तर, ऊसँग म जीवनभर सँगै बस्न सक्छु । विवाह गर्न सक्छु, तपाइँसँग सक्तिनँ । यति फरक छ ।”
“वासन्ती, म आज तिम्रा लागि प्रयोग भएँ भन्ने महसुस गरिरहेको छु ।”
“तपाईंसँग एउटै ओछ्यानमा रात बिताएको भए मलाई आफू प्रयोग भएँ भन्ने लाग्थ्यो ।”
“मैले कुरा बुझिनँ वासन्ती ?”
“तपाईंले मेरो कुरा होइन, प्रेमलाई बुझ्नुभएन स्वामीजी !”
“म तिमीलाई गुमाउन चाहन्नँ ।”
“सँगै नबस्नेबित्तिकै प्रेम गुमेको भन्न मिल्दैन स्वामीजी !”
“जब तिमी ठूला कुरा गर्छौं, बीच-बीचमा यो स्वामीजी भनेको पनि मन पर्दैन ।”
“बिस्तारै तपाईंलाई मेरो नाम पनि मन पर्ने छैन ।”
“तिमीले निहुँ खोजेको हो ?”
“होइन, मैले आफैँसँग निहुँ खोजेकी हुँ ।”
म झगडा गर्न चाहन्नथेँ । मेरा लागि उनी अब केही दिनकी पाहुना हुन्, यो समयलाई म प्रेममय बनाउन चाहन्थेँ । तर, किनकिन मन खाली थियो । म चुपचाप अर्कोतिर कोल्टिएँ र मुख लुकाएँ । यति विवश र लाचार मैले आफूलाई कहिल्यै महसुस गरेको थिइनँ । रून मन लागेर आयो । तर, यो लाचारी उनलाई देखाउन चाहन्नथेँ । चुपचाप मेरो सिरानी भिजिरह्यो ।
म भन्दिनँ, सधैँ हामी प्रेमका मात्रै कुरा गर्दथ्यौं । कहिलेकाहीँ कुनै विषयमा हाम्रो मतमतान्तर पनि हुन्थ्यो । कहिलेकाहीँ हामी थोरै समयका लागि झगडा पनि गर्दथ्यौँ । तर, यसमा कसैको चित्त दुख्दैनथ्यो । त्यो बेला केवल एकअर्कालाई कसरी सताउने र आनन्द लिने भन्नेमा मात्र हाम्रो मत-मतान्तर सीमित रहन्थ्यो । यस्ता छोटामोटा कुरा केही समयमै हराउँथे । म ठुस्किँदा उनी ओछ्यानबाट मलाई हेरिरहेकी हुन्थिन् । र, कुन बेला मैले सरी भन्ला भनेर पर्खिरहेकी हुन्थिन् । आज म त्यो मुडमा थिइनँ । उनी खाटबाट मलाई हेरिरहेकी छन् भन्ने थाहा भइरहेको थियो ।
केही समयपछि उनी तल झरिन् । मेरो सिरानीको खाली ठाउँमा टाउको राखेर उत्तानो परिन् । बिस्तारै मेरो गर्धन मुनिबाट हात घुसाइन् । मलाई आफूतिर फर्काइन् । अर्को हातले मेरा आँखा पुछिदिइन् । र, भनिन्, “म आज तपाइँसँगै सुत्छु ।”
मैले तर्सेर उनलाई हेरेँ ।
“तर, यसको अर्थ अरू नलगाउनुहोला । बस्, तपाईंको यो शरीरको गन्ध लिन चाहन्छु । यो गन्धलाई जिन्दगीभर आफैँसँग राख्न चाहन्छु ।” उनले आफ्नो टाउको अलिकति सारेर मेरो छातिनेर पुऱ्याइन् र नाक खुम्च्याइन् ।
“छ्या गन्धे मान्छे ।”, जिस्क्याएको अनुहार लगाएर उनी बच्चाजस्तै टाँसिइन् ।
मैले लामो सास तानें र यो समयलाई महसुस गरेँ । तृप्तिको सन्देश बोकेर एउटा लहर शरीरभरि दौडियो ।
“याद छ, एक दिन तपाईंले बहिनीको प्रेम र तिम्रो प्रेममा के फरक छ भनेर सोध्नुभएको थियो । आज म त्यसको जवाफ दिन्छु ।”
उनको कुरा सुनेर खङ्ग्रङ्ग भएँ । एक दिन होइन, मेरो मनमा पटकपटक यो प्रश्न आइरहन्थ्यो । त्यो दिन सहन नसकेर सोधेको थिएँ, जवाफको अपेक्षा नगरीकन ।
“एउटी जवान बहिनी आफ्नो दाजुसँग यसरी अँगालो मारेर, यसरी टाँसिएर सुत्न सक्तिन । एउटी प्रेमिका सुत्न सक्छे । यसरी आफ्ना गोप्य अङ्ग टाँसिँदा पनि रमाइलो मान्छे ।”
उनले कति दिन सोचेर हो, आज जवाफ दिएकी थिइन् । तर, उसको कुरा सुनेर मलाई थोरै रिस उठिहाल्यो ।
“अनि, श्रीमती र प्रेमिकाको प्रेममा चाहिँ के फरक छ, त्यो पनि जवाफ छ कि तिमीसँग ? मेरो सास उनको निधारमा ठोक्किएर मेरो परेला हल्लाइरहेको थियो ।
“यही अँगालोसम्म एउटी युवती प्रेमिका हुन्छे । जब यसभन्दा कुरा अघि बढ्छ, ऊ श्रीमती हुन पुग्छे । श्रीमती हुन विवाह नै गर्नुपर्छ भन्ने छैन ।
“वासन्ती, म तिमीलाई श्रीमती बनाउन चाहन्छु । प्लिज, मेरो अवस्था बुझ । तिमीलाई थाहा छ ? हाम्रो प्रेम बेनामी भएको छ । आऊ, यसलाई नयाँ नाम दिऊँ ।”
“प्लिज, पछुताउने कुरा नगर्नुस् । तपाईं हेर्दै गर्नुहोला, कुनै दिन यो दृश्य सम्झेर तपाईंलाई गौरव लाग्नेछ । हामी अठार महिना प्रेममा पर्दा र कयौं रात एउटै कोठामा सुत्दा पनि हाम्रो प्रेम बिटुलो भएन भनेर गौरव गर्नेछौं ।”, उनको अँगालो अझै कसिलो भयो ।
“बिटुलो ? के वाहियात कुरा गर्या ? प्रेममा अशुद्ध भन्ने कुरा पनि हुन्छ ? प्लिज वासन्ती, म तिमीमा समाहित हुन चाहन्छु । मलाई तिमीभित्र प्रवेश देऊ । मलाई पूर्णरूपमा तिम्रो बनाऊ ।”
“म यत्तिकैमा तृप्त छु स्वामीजी ! यहाँभन्दा अघि बढ्न चाहन्नँ ।”
“तिमी मलाई साँच्चै प्रेम गर्छौं ?”
“गर्छु ।”
“के प्रमाण छ ?”
“प्रेम कुनै अपराध हो र, पुष्टिका लागि प्रमाण चाहिने ?”
“यस्तो मोडमा प्रमाण चाहिँदो रहेछ वासन्ती !”
“साँच्चै, प्रमाण चाहियो ?”
“हो, चाहियो ।”
“सोचेर भन्नुहोस् ।”
“हो वासन्ती, आज म सम्पूर्ण तिम्रो हुन चाहन्छु । प्लिज कुनै पनि तर्कले, आदर्शको मोहले वा पवित्रताको चाहनाले मलाई नरोक, नछेक । तिमी हिजो पनि पवित्र थियौ, आज पनि पवित्र छ्यौ र भोलि पनि पवित्र नै रहनेछौ । प्रेम त नदी हो वासन्ती, जो बग्दै जाँदा किनारका फाँटहरूलाई मात्र होइन, आफूलाई पनि तृप्त बनाउँछ र पनि पवित्र नै हुन्छ ।”, थाहा छैन, कुन आवेशमा बोलेँ म । झ्वाट्ट तानें । उनका ओठमा मेरा ओठ टाँसिइसकेका थिए । स्वात्त उनले मलाई हुत्याइन् । र, चम्केको खरायोजस्तो फुत्त खाटमा उक्लिइन् । ओछ्यानसँगै मन रित्तो भयो ।
“के भयो ?”, सपनाबाट अचानक ब्युँझेजस्तै बोलेँ म ।
“तपाइँसँग प्रेम गर्दा मेरो एउटा सपना थियो । त्यसलाई विपना हुन दिनुभएन । म युएस जानुअघि नै तपाईंलाई मेरो प्रेमको प्रमाण दिनेछु । ढुक्क हुनुहोस्, मैले तपाईंलाई प्रेम गरेकी हुँ भन्ने तपाईंले विश्वास गर्नुहुनेछ ।”
उनको आवाज मलाई रहस्यमयी लाग्यो । त्यो रात मौन-मौन खाटमाथि र मुनि कोल्टे फेरिरह्यौं । निद्राले हामीलाई बेचैनी उपहार दिएर गएको थियो ।
* * *
अर्को दिन अफिसमा काम गरिरहेको बेला एउटा अपरिचित तर अनौठो नम्बरबाट फोन आयो, शायद विदेशतिरबाट हुनुपर्छ । “नमस्ते, म अनिल गजमेर ।”, मैले फोन उठाएँ ।
“नमस्ते, म मञ्जुल बोलेको, युएसबाट ।”, स्वर केही टर्रो थियो ।
यो नाम मेरो मनबाट कसरी विस्मृत हुन्छ र ? वासन्तीको टेबुलपछाडि मुस्कुराइरहेको युवाको तस्वीर मेरो आँखामा टाँसियो । त्यतिमात्र होइन, भाइबरमा मञ्जुल नाममा हँसमुख देखिने अनुहार पनि मेरो मनमा प्रतिविम्बित भयो ।
“तपाईं वासीलाई चिन्नुहुन्छ ?”, उसले सोध्यो ।
“को वासी ?”
“वासन्ती रेग्मी ।”
“चिन्छु, किन र ?”
“तपाईंकी को पर्छिन् ?
“ए ! उनी मेरी साथी हुन् ।”, मैले लापरबाहीपूर्वक भनें ।
“साथी मात्रै ?”
भन्न त अरु पनि मन लागेको थियो तर चुप लागेँ ।
“ऊसँग विवाह गर्न चाहनुहुन्छ ?”
म तिल्मिलाएँ । अचानक आएको यो प्रस्ताव अनौठो थियो । वासन्तीले यही प्रश्न सोधेको भए जवाफ बन्न सक्थ्यो । अरु कसैले सोधेको यो प्रश्नको मूल्य के थियो र ? केही भनिनँ ।
‘मिस्टर गजमेर, तपाईं दुई छोराहरुको ड्याड हो भन्ने मलाई थाहा भइसक्यो । तपाईं उसलाई बिहे गर्नुहुन्न । तर, म उसँग विवाह गर्दै छु । तपाईंले जस्तो युज एन्ड थ्रोका लागि मैले उसलाई प्रेम गरेको होइन । आजदेखि होइन, छ वर्षदेखि फलो गरिरहेको छु । तपाईं चिन्तामुक्त हुनुहोस् । तपाईंहरूबीच जे भयो, त्यो अब मेरो म्याटर हो । तर, अब हाम्रो कुरामा तपाईंले हस्तक्षेप गर्न पाउनुहुन्न । आजदेखि उसलाई डिस्टर्ब नगर्नुहोला । नत्र म प्रहरीको सहयोग लिन बाध्य हुनेछु । मेरा पनि काठमाडौँमा मान्छे छन् ।”
मेसिनगनबाट गोली बर्सिएझैँ लगातार उसले कुरा बर्साएर कुनै जवाफ नपर्खी फोन कट गयो । एकछिनसम्म म कहाँ छु, के गर्दै छु सबै बिर्सिएँ । बुझ्न सकिनँ, मञ्जुलले भनेको के हो ? शून्य मनले कुर्सीमा ढल्केर माथि हेरेँ। एसीको चिसो हावा सीधै मेरो मुखमा पयो । बल्ल होस आएजस्तो भयो । हतारिएर वासन्तीलाई फोन गरेँ । उसको फोन बिजी थियो ।
कम्प्युटर अफ गरेँ । इमेरजेन्सी बिदा लिएँ र तल झरें । पार्किङतिर झर्दै गर्दा वासन्तीको फोन आयो ।
“कहाँ हुनुहुन्छ ?”
“तिम्रै बासस्थानतिर आउँदै छु । हुन त तिम्रो प्रेमीले तिमीसँग नभेट्नु भनेको छ । तर, एकपल्ट भेट्न मन लाग्यो ।”
“के भन्यो र ?”, उनी हाँसिरहेकी थिइन् ।
उनको हाँसोले मेरो रिसको मात्रा अझै बढ्यो, “के भन्नु नि, जथाभावी गाली गरिरहेको थियो । फोन राखिदेऊ, त्यहीँ आएर कुरा गरौंला ।”
कोठा पुग्दा उनी उही चिरपरिचित मुस्कानमै थिइन् । उसैगरी ग्रीन टी र ओटमिल बनाइन् । मैले चिया पिएर दूधमा ओटमिल घोल्दै गर्दा उनी पछाडिबाट मेरो कुम सुम्सुम्याउँदै आफ्नो चिउँडो मेरो टाउकोमा दलिरहेकी थिइन् । खाउन्जेल मेरो कपाल सुम्सुम्याइरहिन् । म उनीसँगको स्पर्शमा पहिलेजस्तो प्रेमिल बन्न सकिनँ । उनलाई आफ्नो पछाडिबाट तानेर अघि बसाएँ । आजसम्म उनको कुरामा अनावश्यक हस्तक्षेप गरेको पनि थिइनँ र चासो पनि राखेको थिइनँ । तर, आज असह्य भयो ।
“त्यो मञ्जुलले मलाई किन गाली गरेको ? तिमीसँग केही कुरा भएको थियो, मेरोबारे ?”, मेरो रिसको मात्रा बढ्दै थियो ।
वासन्ती केही बेर चुप लागिन् । एकोहोरो मेरो आँखामा आँखा जुधाइन् । मेरा दुवै कुममा जोडले थिच्दै भनिन्, “तपाईंले मेरो प्रेमको प्रमाण मागेको होइन ? मैले भनेकी थिएँ त, युएस जानुभन्दा पहिला तपाईंलाई मेरो प्रेमको प्रमाण दिनेछु ।”
“अनि, हाम्रो प्रेमको बीचमा मिस्टर मञ्जुलको आगमन कसरी भयो ?”, शायद मेरो आवाज आवश्यकताभन्दा बढी रूखो भयो ।
“कसरी भने, मैले तपाईंको प्रेमको प्रमाण दिनु थियो । तपाईंलाई मेरो प्रेममा शङ्का छ नि, होइन ? हो, त्यही शङ्काको निवारण गर्न खोजेकी हुँ ।”, उसको कुरा झन् रहस्यमयी भइदियो ।
“मेरो शङ्काको निवारणमा मिस्टर मञ्जुल कसरी आयो ?”, म अझ कर्कश भएँ ।
“कसरी भने मैले उसलाई भनिदिएँ, काठमाडौँमा मेरो प्रेमी छ, मैले उसको पेट बोकेकी छु ।”
“यो केटी पागल भई !”, उसको उत्तर सुनेपछि मनमा आएको पहिलो प्रतिक्रिया यही थियो ।
“स्वामीजी, तपाईंले आफ्नी श्रीमतीलाई आजसम्म म वासन्तीलाई प्रेम गर्छु भन्नुभएको छ ? मैले मेरो प्रेमीलाई भनेँ । थाहा छ, तपाईं मलाई माया गर्नुहुन्छ, मलाई अप्ठ्यारो पर्दा विवाह पनि गर्नुहोला । तर, अहिले जुन गौरवका साथ म बाँचिरहेकी छु, त्यो कायम रहला ? हाम्रो प्रेममा जुन आकर्षण र शुद्धता छ, त्यो कायम रहला ? यो प्रेमलाई जीवन्त बनाइरहन कति कठिन छ, सोच्नुभएको छ ?”
जवाफ त थियो । तर, उनी बोलिरहेका बेला हस्तक्षेप गर्न चाहिनँ । “स्वामीजी, म तपाईंलाई प्रेम गर्छु । यसको प्रमाण दिन अब हामी केही दिन सँगै बस्छौं । केही दिन अचानक बाहिर जानुपर्यो भनेर घरमा खबर गरिदिनुहोला । लौ, मेमलाई फोन लगाउनुस् ।”
“म फोन गर्दिनँ ।”
“त्यसो भए म्यासेज लेखिदिनुस् । ठीकै छ, म आफैँ लेखिदिन्छु ।” उनले मेरी श्रीमतीको नम्बर खोजेर एसएमएस गरिन् ।
“तपाईंको हाकिमलाई पनि फोन गर्नुहोला । नत्र, जागीर जाला !” यसो भन्दै उनले मेरो फोन अफ गरिदिइन् । मलाई देखाएरै आफ्नो पनि फोन अफ गरिन् । त्यसपछि उनले मलाई कोठाबाहिर निस्कन दिइनन् । संसार साँघुरिएर कोठामा सीमित भयो ।
खाना खाइसकेपछि उनले मेरा लागि भिन्दै ओछ्याउने गरेको डसनालाई खाटकै ओछ्यानमा खापिन् । “आजदेखि हाम्रो शरीर पनि एक भएको सङ्केत हो यो, बुझ्नुभयो ?”, अघिदेखि उनको स्वरमा कतै मादकता, कतै घुर्की त कतै रिस मिसिएको अनुभव भइरहेको थियो ।
म पनि के कम ? घुर्क्याएर तलै सुत्ने अड्डी गरेँ । मानिनन् । सानोतिनो झगडा नै भयो । सतीको जिद्धीको अगाडि यमराजले केही नलागेर सत्यवान् जीवित बनाएका थिए । म बबुरो मानुष । मेरो केही जोर चलेन ।
मन त जोडिइसकेको थियो । एउटै कोठामा रात बिताउन थालेको करिब दुई वर्षमा हामीले शरीर पनि जोड्यौं । प्रेमको प्रमाण दिन वासन्तीले आफूलाई ममा पोखी । म पनि त प्रेम नै गर्थें, छचल्किएँ, पोखिएँ । एकअर्कोमा पोखिएर हामी थप प्रेमले भरियौं । अलिकति अन्यौल भने थियो मनमा । बुझिरहेको थिइनँ मैले, प्रेमको कस्तो प्रमाण हो यो !
अर्को दिनको गोधूलि साँझमा हामी घर बाहिर निस्कियौँ । गाडी रोडमा ल्याएपछि बल्ल उनले लङ ड्राइभमा लैजान अनुरोध गरिन् । ओशो तपोवन हुँदै माथि उक्लिँदै गर्दा उनले भनिन्, “आज यतै कतै बसौं । मसँग थोरै दिन छ । तपाईंसँग खुला र सुन्दर ठाउँमा अझै केही दिन बिताउन मन छ । त्यस्तै ठाउँमा लैजानुस् ।”
मैले गाडीको स्पिड बढाएँ । माथि ककनी रिसोर्ट पुग्दा आठ बजिसकेको थियो । यहाँ पनि हामी छचल्कियौं, पोखियौं ।
रिसोर्टको त्यो गगनचुम्बी डाँडो । डाँडाबाट देखिने आकाशका ताराहरू । झ्यालको पर्दा छेउबाट सुटुक्क चिहाइरहेको जूनको दुधिलो प्रकाश । त्यो गुलाबी रातमा झनै आकर्षक देखिएको वासन्तीको काया । जूनको प्रकाशमा टल्किरहेका प्रस्वेद बूँद । र, प्रेमको लहरमा लहरीरहेका उनका उन्मुक्त वक्षोज । मेरा आँखा निर्निमेष टोलाइरहे । धर्तीमात्रै होइन, स्वर्गकै अनुपम सौन्दर्यपान गरिरहेँ मैले । थाहा छैन, कति शताब्दी, कति युग ?
“मैले केही बुझ्न सकेको छैन । किन, के कारणले तिमी यसरी ममा पोखियो । मलाई पोखायौ ।”, उनलाई आफूतिर तान्दै भनेँ मैले, “तर, अहिले म जीवनमै कहिल्यै नपाएको तृप्ति पाइरहेछु । ममा तिमीप्रति झन् असीम, गाढा प्रेम जागेको छ । समय यहाँनेर रोकिए कति जाती हुन्थ्यो । कति सुख र खुशी हुन्थ्यो ।”
“स्वामीजी, तर दुखद् कुरा पनि छ, तपाईं मसँग प्रेम गरेकोमा जीवनभरि पछुताउनुहुनेछ ।” बल्ल आज थाहा पाएँ, जूनमा किन दाग हुन्छ !
“तिमीसँग प्रेम नभएको भएचाहिँ म पछुताउँथेँ ।”
“अहिले मजाक गर्दै हुनुहुन्छ, पछि पश्चाताप गर्नुहुनेछ ।”
“कदापि !”
“हेर्दै गर्नुहोला, यिनै रातहरूले तपाईँको निदहराम गर्नेछन् ।”
“त्यस्तो होइन वासन्ती, यी रातहरू जीवनभर मलाई सम्झनाका कोसेली बन्नेछन् । र, तिमीले पनि हेर्दै गर, यी रातले तिमीलाई सधैं चिमोटिरहनेछन् ।”
“स्वामीजी, यिनै रातहरूले तपाईंलाई बारम्बार लखेट्नेछन् । तपाईंलाई प्रेमको अर्थ खोज्न बाध्य बनाउनेछन् ।”
“प्लिज वासन्ती, मलाई यी स्वर्णिम रातहरूको आनन्द लिन देऊ । यो क्षण म प्रेमको गीत गुन्गुनाउन चाहन्छु, पीडाको गीत होइन ।”
“प्रेमको वास्तविक गीत हामीले अठार महिनासम्म गायौं स्वामीजी, अब त पीडाका गीत सुरू भए ।”
“किन त्यसो भनेको वासन्ती ?”
“अहिले नै सुनेर किन पीडित हुने ? विरहका गीत गाउन धेरैभोलिहरू बाँकी नै छन् ।”
ककनीमा दुई रात जूनसँग लुकामारी खेलेपछि बिहानै हामी काठमाडौं फर्कियौं । फर्कँदा उनले गाडीलाई पशुपतिनाथतिर लैजान आग्रह गरिन् । त्यहाँ पुगेपछि उनले मलाई माथि श्लेषमान्तक जंगलमा पुऱ्याइन् । मलाई थाहै थिएन, त्यहाँ शिवपुरी बाबाको समाधिस्थल रहेछ । त्यो समाधिमा हामीले केही बेर ध्यान गर्यौँ । समाधि स्थलबाट हिँड्ने बेलामा उनी निकै बेर घोरिइन् । भावुकताबाट बाहिर ल्याउन मैले उनको ढाड थपथपाएँ । रोएकी रहिछन् । आँसु पुछिदिएँ । समाधिस्थलमा घुँडा टेकेर भनिन्, “हे परम्गुरू ! म एउटा बच्चालाई यो दुःखी संसारमा ल्याउँदै छु । यो हाम्रो गहिरो प्रेमको प्रमाण हो । हाम्रो प्रेम र उसको अस्तित्वको रक्षा गर ।”
उनको बोली सुनेर म झसङ्ग भएँ । उनी समाधिस्थलमा फेरि घोप्टिइन् र नराम्ररी रोइन् ।
शिवपुरी बाबाको समाधिस्थलबाट बाहिरिँदा उनी चुपचाप थिइन् । पशुपतिनाथमा पुगेर पनि उनले लामो समयसम्म शिवलिङ्गलाई एकटक हेरिरहिन् । मानौं, उनी त्यो मौन पञ्चमुखी मूर्तिसँग मौन संवाद गरिरहेकी छन् । उनको क्रियाकलापबाट मैले बुझैँ, उनी मेरो बच्चा जन्माउन चाहन्छिन् ।
त्यस रात कोठामा मैले उनलाई सम्झाउने निकै प्रयास गरेँ । मेरो कारण उनलाई कुनै पनि दुःख नहोस् भन्ने चाहन्थेँ म ।
“बच्चा जन्माउने विषयमा किन सोच्छौ ?”
“किनभने, त्यो हाम्रो प्रेमको प्रमाण हो ।”
“बच्चा नजन्माए प्रमाण हुँदैन ?”
“तपाईंले नै प्रमाण खोज्नुभएको होइन ?”
“प्रमाण खोजेको थिएँ होला ? बच्चा त होइन नि !”
“के यौन मात्रै प्रेमको प्रमाण हो ? प्रेमको प्रमाण समागममा होइन, स्वामीजी सृष्टिमा हुन्छ ।”
उनले मलाई जहाँ हिर्काउनुपर्ने थियो, त्यहाँ हिर्काइन् । तैपनि सम्झाउने प्रयास गरिरहें ।
“तिमी मेरो बच्चा लिएर अरूसँग विवाह गर्छौ ?”
“हो । किनभने, अब मेरो जीवनको यो नियति बन्न पुग्यो । अब त मञ्जुलको झन् धेरै माया लाग्यो । उसले यत्रो वर्षमा कहिल्यै प्रेमको प्रमाण मागेन ।”
“अब मलाई माया गर्दिनौ ?”
“गर्छु तर तपाईंलाई होइन, प्रेमको प्रमाणलाई । मैले जन्माउने बच्चामा तपाईंको माया ट्रान्सफर गर्नेछु ।”
“तिमी आफैँलाई खाल्डोमा हाल्ने तयारी गर्दै छौ । होसमा आऊ वासन्ती, एकपटक फेरि सोच ।”
“स्वामीजी, आफू कसरी सुरक्षित बाँच्नुपर्छ भनेर सिकिसकेकी छु । तपाईं मेरो चिन्ता नगर्नुहोला । रह्यो बच्चाको कुरा, हाम्रा प्रत्येक सम्भोग प्रेमिल थिए । मलाई विश्वास छ, पक्कै विशेष आत्मा मेरो गर्भमा आउनेछ । तपाईं ढुक्क हुनुहोस्, जन्मिएको आत्माले इतिहास रच्नेछ । उसका लागि म जस्तोसुकै दुःख उठाउन तयार छु ।”
* * *
करिब दुई महिनापछि उनी अमेरिका उडिन् । उनी उड्ने अघिल्लो रात आफू गर्भवती भएको डाक्टरी प्रमाण मेरो टेबलमा छाडिदिएकी थिइन् । उनीबिनाको संसार अब त झन् कल्पना बाहिरको थियो । तर, विछोड निश्चित थियो । यो बच्चाले उनी र मेरो टुट्न लागेको प्रेम जोड्ने सम्भावना थियो । यसकारण बच्चा जन्माउने उनको निर्णयमा खुशी नै थिएँ । तैपनि, मेरो स्वार्थका लागि उनलाई दुःखमा पार्ने इच्छा भने छँदै थिएन ।
उनी उड्नुअघि मैले पटकपटक यतै बस्न आग्रह गरेँ । श्रीमतीसँगको जीवन उति राम्रो नभएकाले उनीसँगै विवाह गर्ने प्रतिबद्धता जनाएँ । उनले मान्दै मानिनन् । भनिन्, “तपाईं मेरो प्रेमी हो, श्रीमान् होइन । तपाईंको प्रेमको निस्सा सँगै लिएर जाँदै छु । प्रेम सधैँ एउटै रूपमा आउँदैन, यसले बेला बेलामा आफ्नो रूप परिवर्तन गर्छ ।”
* * *
ल्यापटपमा पिडिएफ बनाइरहेको स्क्रिन सट थियो । बच्चीको फोटो सहितको टेक्स्टमा लेखिएको थियो :
स्मृतिभित्रको मेरो प्रियतम्, यतिखेर हाम्रो प्रेमको नासो मज्जाले निदाइरहेकी छिन् । उनलाई मञ्जुलले साह्रै प्रेमले किनिदिएको चौदीजडित कोक्रोमा सुताएर यो सानो सन्देश लेखिरहेकी छु । जसरी प्रेम निराकार छ, त्यसैगरी यो बच्चीको वास्तविक परिचय पनि अब निराकार नै रहनेछ । हरेक नेपाली बुवाहरू आफूबाट जन्मिएको सन्तानले आफ्नो थर झुन्ड्याएको हेर्न चाहन्छन् । त्यसमा गर्व गर्छन् । तपाईं त्यो अभागी पिताजी पर्नुभयो, जसको छोरीका पछाडि गजमेर जोडिने छैन । त्यति मात्र होइन, जीवनभरि उसले आफ्नो वास्तविक बुवालाई चिन्नेछैन । तपाईंका लागि उनको यो तस्वीरबाहेक केही दिन सक्तिनँ ।
प्रियतम्, तपाईंका हरेक शब्द, स्पर्श, सुगन्ध र दृश्य मेरो मुटुभरि खोपेकी छु । यी प्रेमका चिह्न शायद मेरो मृत्युपछि पनि आत्मासँगै टाँसिएर रहनेछन् । तैपनि, म तपाईंलाई कहिल्यै खोज्नेछैन । त्यही दिन तपाईंले आफ्नो प्रेमको हत्या गर्नुभयो, जुन दिन प्रेमको प्रमाण खोज्नुभयो । जुन बच्चाको जन्म केवल प्रमाणका लागि भयो, त्योभन्दा बढी खोज्ने अधिकार तपाईंलाई छैन । जब मानिसले प्रेमको प्रमाण माग्न थाल्छ, त्यो प्रेम त्यसै बेलादेखि मर्न थाल्छ । अब बिर्सिएर पनि मेरो अघिल्तिर पर्ने प्रयास नगर्नुहोला । यो छोरीको भविष्यका लागि पनि… प्लिज !
हरेक क्षण एउटा कालखण्डपछि इतिहास बन्छ । इतिहास भइसकेको क्षणमा कोही पनि बाँच्दैन, केवल त्यसको सम्झनामा स्मृति दिवस मात्र मनाइन्छ । जवानीमै पति गुमाएकी एउटी युवतीले प्रत्येक वर्ष पतिको स्मृतिमा श्राद्ध गरेझैं यो छोरीको जन्मदिनमा म हाम्रो प्रेमको स्मृति दिवस मनाउन बाध्य छु ।
वासन्ती
(अश्विनी कोइरालाकाे बेस्ट सेलर उपन्यास ‘प्रेमालय’ भित्रको गजमेर–वासन्ती कथा)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।