उसले एक चोटि मतिर पुलक्क हेरी । अँध्यारोले होला, मलाई लाग्यो, ऊ टाढाबाट मतिर हेरिरहेकी छ, तर उसको स्नेहवाणीले आश्वस्त भएर उसले भनेको मैले सुनें- “नानी, हडाहा एउटा विशेष किसिमको पोखरी हो ।”
मैले सोधें- “कस्तो ?”
उसले भनी- “यो बडो प्राचीन पोखरी हो महाभारतको पालाको, जब कि यो ठाउँ आटव्य जङ्गल थियो, जसको बीचमा एउटा सानो पोखरी ।”
“अनि !”
“पछिपछि जङ्गल मासिँदै गयो । गाउँ र मानिसहरूले जङ्गललाई पेल्दै हिँडे र कालान्तरमा यो ठाउँमा बस्ती नै बस्यो र पछि दरभङ्गाको अहिलेको महाराजको पुरुखाले आफ्नो जमिनदारीभित्र पारे ।”
मोदिआइनले एकसुरे बोलीमा भनिरही । म बेसरी थाकेको थिएँ र उसको बोलीको एकसुरले म तन्द्रामा परेको जस्तो भएँ । ऊ भन्दै गई- “….यै तलाउको किनारामा त्यस बखत यो तलाउ एउटा सानो वापी थियो । झारैझारले घेरिएको – बसेर एउटी मछुवारिन माछा बेच्थी । मछुवारिन अल्गी थी, हिस्सी परेकी र मोटी जस्तो कि चलन छ, उसको शरीरभरि चाँदीका गहनाहरू रहन्थे । उसको घर कहाँ थियो, ऊ कहाँ माछा मार्थी, यी सब कुरा कसैलाई थाहा थिएन, तर उसका माछा असल हुन्थे, त्यसो हुनाले ऊ आफ्नो ठाउँमा बस्दानबस्दै उसका माछाको बिक्री भैसक्थ्यो ।”
म चुप्प लागेर लट्ठिएको देखेर उसले कथालाई भन्दाभन्दै थामी र सोधी- “सुनिरहेछौ, नानी ?”
मैले भनें- “अनि नि, मोदिआइन ?”
“एक दिन ऊ सधैंको जस्तो माछा लिएर तलाउको किनारामा आफ्नो कुनामा आएर बसी । त्यस दिन एउटा ठूलो रोहु माछा थियो उसको डालामा । त्यसै बखतमा दरभङ्गा राजाको एउटा नामी तान्त्रिक तलाउमा न्वहाएर दुर्गाकवच पाठ गर्दै आइरहेको थियो । उसले रातो धोती, रातो भोटो र रातो कानेटोपी लगाएको थियो । मछुवारिनको डालोको त्यो राम्रो रोहुलाई देखेर त्यसलाई किन्यो । मछुवारिन त्यत्रो ठूलो माछा एउटा ग्राहकले किनेकोले खुसी भई र हाँसेर पण्डितलाई भनी- ‘पण्डितज्यू, तपाईंको घरभरिलाई यसले मनग्गे पुग्ला ।’
उसले हाँस्दा देखिएका उसका मिलेका दाँतको चमकले मछुवारिनको अनुहार टलक्क भएर टल्कियो र उसका ओठ रसाएका जस्ता चिल्ला भए । तान्त्रिकले त्यो सुन्दर नारीलाई मक्ख परेर हेरिरह्यो कि त्यसै बखतमा एउटा चीलले झम्टेर तान्त्रिकका हातको माछो टपक्क टिपेर उड्यो, तर माछा यति भारी थियो कि चीलले टाढा लैजान सकेन, पचास डेगजति पर लगेर झारिदियो । मछुवारिन एक चोटि फेरि हाँसी । तान्त्रिकले बडो गौरसँग मछुवारिनलाई हेर्यो । उसलाई लाग्यो कि हाँसोपछिको चेहरा कुनै प्राचीन नारीको छ, जसमा मुख्य भाग वेदनाको मात्र छ । हाँसो मात्र ताजा र अहिलेको ।
उसले बुझेको जस्तो गरी सोध्यो- ‘मछुवारिन, तिमी किन हाँस्यौ ? को हौ तिमी ?’
मछुवारिनले भनी- ‘म को हुँ तिमीलाई के चासो ? हाँसेको किनभने कलियुगमा मानिस मात्र खिइएनन् कि पशुपक्षी पनि खिइसके । हेर न, त्यो रोहुलाई चीलले उडाएर लैजान सकेन । पहिलेपहिले मानिसहरू पराक्रमी र हात्तीजस्ता शक्ति राख्ने हुन्थे र पशुपक्षी पनि त्यस्तै बलिया, महाभारतको पालामा कुरुक्षेत्रबाट एउटा योद्धाको शरीरलाई टिपेर उडेको चीलले यही वापीमा आएर त्यस शवलाई फ्याँकेको थियो । कहाँ कुरुक्षेत्र र कहाँ दरभङ्गा । त्यत्रो दूरी । र योद्धाको भारी शरीरलाई बोकेर उड्नु यति टाढा ! कत्रा चील हुँदा हुन्, कति शक्तिशाली, तिन ताका ।’
तान्त्रिकले फेरि सोध्यो- ‘तिमी को हौ बताऊ, यो कुरा तिमीले कसरी थाहा पायौ ?’
मछुवारिनको मुखबाट मुस्कान हठात् उडेर गयो, विषादले त्यो भरियो । उसले आफ्नो डालो टिप्दै भनी- ‘म को हुँ, त्यसको तिमीलाई के प्रयोजन !’
तान्त्रिक किञ्चित् अधिकारको स्वरमा केही भन्दै थियो कि डालो बोकेकी मछुवारिन सुनेको नसुन्यै गरेर हिँडी । तान्त्रिकले बाटो छेकेर रहस्य उद्घाटन गर्ने उद्देश्यले कड्केर भन्यो- ‘मछुवारिन, थाम । तिमी को हौ मलाई नबताएर जान पाउँदिनौ ।’
तर तबसम्म मछुवारिन लोप भइसकेकी थी । न त्यहाँ मछुवारिन नै थी, न उसको डालो । केवल तान्त्रिकले कड्केको ध्वनि केहीबेरसम्म बिहानको वायुमण्डलमा गुञ्जिरह्यो र केही दूर भुइँमा खसेको रोहु माछा बेहानको घाममा टल्किरह्यो ।”
मैले बडो व्यग्र भएर सोधें- “अनि के भो, मोदिआइन ?”
“अनि के भयो र तान्त्रिक सोझै राजदरबारमा गयो र राजालाई सबै वृत्तान्त सुनायो । अनि तान्त्रिककै सल्लाहले वापीलाई खन्ने निर्णय भयो महाभारतको योद्धाको शरीरको हाड केही फेला पर्छ कि भनेर । पाँच हजार ज्यामीले छ महिना रात-दिन गरेर यसलाई खने । धेरै हाडखोड पाइयो । तिनलाई गङ्गाजीमा लगेर अनुष्ठानपूर्वक सेलाए । त्यहाँको यो सानो वापी खनिएर यत्रो ठूलो पोखरी भयो र यहाँबाट हाड पाइया हुनाले यसलाई हडाहा पोखरी भन्छन् ।”
मैले बडो उत्कण्ठाले सुकेको स्वरमा सोधें- “अनि ?”
मोदिआइनले भनी- “त्यति हो कथा यस तलावको । अब तिमी खाईवरी सुत । थाकेका हौला ।”
थाकेको म निश्चय नै थिएँ । दिनभरिको सहरको प्रदक्षिणाले गर्दा शरीर अत्यन्त क्लान्त भएको थियो । आँखा पनि बीचबीचमा थकानले भारी भएर त्यसै चिम्लिन खोज्थे, तर साथै, मछुवारिनको कथाले उत्तेजित पनि हुन्थे । त्यसै बखतमा सन्ध्या सिद्ध्याएर मिसिरजी पसलभित्र पसे । उनले भने- “मोदिआइन, बाबूलाई राम्ररी ख्वाईवरी सुताउनू । म बाहिरै खान्छु । धेरै राति भएपछि फर्कुंला, दुई स्टेसनअगाडि जानु छ । गाडी पनि आउने बखत भयो; म हिँडें ।”
म हतारिएर उनीनेर पुगेँ र ढिपी गर्न थालेँ- “म पनि जान्छु ।”
मिसिरजी यस पालि त केही गर्दा पनि मानेनन् । मोदिआइनले पनि भनी- “कहाँ जान्छौ थाकेको शरीरलाई लिएर यो रातमा । मिसिरजी आइहाल्छन् नि फर्केर चार-पाँच घण्टामा । ल हिँड, खाएर सुत । म भन्टाको तरकारी भुटिदिन्छु, दूध र भुजा खानू ।”
मिसिरजी स्टेसनतर्फ लागे । मोदिआइन चुलोमा बसेर भन्टा तार्न थाली । भित्रको कोठामा मोदी खोक्दै बसिरहेको थियो । म एकछिन एक्लै चौकीमा बसेर अँध्यारोले ढाकेको दरभङ्गा सहरलाई हेर्न थालेँ । बीचबीचमा झल्याँस्स भएर मछुवारिनको सम्झना हुन्थ्यो, सम्झिन्थेँ । अहिले जुन पोखरी रात्रिको निस्पट्ट अन्धकारमा विलीन भएको छ त्यसैको किनारामा त्यो बस्थी, यही पसलको थलोनेर कतै…। म चौकीमा धेरैबेरसम्म बस्न सकिनँ । चुलोनेर पुगेँ ।
मोदिआइनले भनी- “भोक लाग्यो नानी ? बस, एकछिनमा सबै थोक तयार पारिदिन्छु ।”
मैले भनें- “मोदिआइन, महाभारतको कालका मानिसहरू त्यति पछिसम्म बाँच्छन् र ? मछुवारिन थी र साँच्चै ?”
उसले भनी- “किन बाँच्दैनन् ? प्रेतात्मा भएर जुगजुगान्तरसम्म बाँचिराख्छन् । आफ्ना प्रियजनहरूको नजिकै भइरहन खोज्छन् । कुनै न कुनै वाञ्छाले, कुनै न कुनै पूर्ति नभएको कामनाले, उनीहरूलाई अमर पारेर मृत्युलोकमा दृश्य-अदृश्य आकार रूपमा घुमाइरहन्छ ।”
मैले पक्क परेर सोधें- “ऐले पनि होली त्यो स्वास्नीमानिस ? ”
मोदिआइनले तरकारीलाई आगोबाट झिकी र भनी- “होली नि । ल, बस खान ।”
उठेर गएर पिर्का लिएर आई र मलाई बस्न भनेर उसले मनेर राखिदी ।
यो नौलो ठाउँमा एउटी नौली आइमाईले दिएको दूध, भुजा, गुड र भन्टाको तरुवा खाँदा मलाई बडो बिरानो र एक्लो भएको अनुभव भयो । घरमा आमालाई सम्झें, बालाई सम्झें, सम्झें, भाइबैनीहरू अघि नै खाएर सुतिसके होलान् । मिसिरजी कहिले फर्कने हुन् । आएनन् भने ? मेरो मन आत्तियो । मलाई सुत्न भनेर चौकीमा एउटा काम्लोमाथि नीलो च्यादर बिछ्याइदिएकी थिई मोदिआइनले । एउटा मैलो तकिया सिरानीपट्टि राख्दै उसले चौकीबाटै मलाई हेरी र भनी- “किन नखाएको नानी ? चाँडै खाऊ र पेटभरि खाऊ। ई हेर बिछ्यौना लाइदिसकेँ तिमीलाई सुत्न ।”
म छिटै खाएर उठें र हात धोएर बिछ्यौनामा आएर पल्टें । मोदिआइनले भाँडाकुँडा मलेर अगेनानेर ठाडो पारेर राखी । अनि एउटा ढिब्री लिएर आई र त्यसलाई चुलोमाथि राखिदी; तारमा झुन्ड्याएको लालटिनलाई निभाइदी । अब केवल चुलोमाथिको मुस्लो धुवाँ फ्याँकिरहने ढिब्रीको रातो राँकोले त्यहाँ क्षीण प्रकाश दिन थाल्यो । बाहिर निर्जन रात्रिको असङ्ख्य कीराहरूको मसिनो आवाज मात्र थियो । मोदिआइनले एक चोटि कोठाको चारैतिर हेरेर सबै कुरो ठीक पाएर मलाई हेर्दै भनी- “ल, अब सुत । डराउन त डराउँदैनौ नानी ?”
मैले बडो बलपूर्वक साहस देखाउँदै मुन्टो हल्लाएर भनें- “डराउँदिनँ ।”
जाँदाजाँदै उसले भनी- “म त्यहीँ भित्रको कोठामा हुन्छु । चाहिए मलाई बोलाउनू ‘मोदिआइन’ भनेर, है !”
ऊ जानेबित्तिकै रात्रि निस्पट्ट एकान्त भयो । डिबियाको रातो शिखा कहिले हल्लिन्थ्यो र त्यसैका साथ कोठामा तमाम छायाहरू पनि हल्लिन थाल्थे । भित्ताका छायाहरू, ढक्कीको, गुन्टाको, लट्ठीको, बोराको छाया कहिलेकहिले दायाँबायाँ गरेर हल्लिन्थे पिङ खेलेको जस्तो र कहिले मच्चिन छाडेर एक्कै ठाउँमा थर्किन थाल्थे । डिबियाको बत्ती कहिलेकहिले चटचट गरेर चर्किन्थ्यो र बत्तीको मुखमा गाँठगाँठा बन्दै जान्थे । केवल धुवाँको मुस्लो एकनाससँग छानापट्टि गइरहेको थियो ।
मलाई बिस्तारबिस्तार डरको सञ्चार हुन थाल्यो । यसरी एक्लै म कहिले पनि सुतेको थिइनँ । मछुवारिनको कथा पनि झलझल सम्झन थालेँ । मेरो मुटु डरले काँप्न थाल्यो र शरीरमा काँडैकाँडा उम्रियो । लाग्यो, बाहिर निस्तब्धतालाई भङ्ग गर्दै पानीमा कसैले छप्प गयो । म एकदम भयभीत भएर कराएँ- “मिसिरजी !”
“मोदिआइनले भित्रैबाट सोधी- “के भो नानी ?”
मैले भनें- “हडाहा पोखरीको पानीमा छप्प भो ।”
उसले भनी- “सुत, सुत । माछा उफ्रेको हो पानीमा ।”
मोदीले प्राण दिउँला जस्तो गरेर लहरे खोकी खोक्न थाल्यो मोदिआइनले कुन्नि के भन्दै उसको छातीमा मालिस घस्न थाली ।
मोदीले भने कफ झरेको गलाले भन्यो- “ओह ! मर्न पाए पनि हुन्थ्यो ।”
मोदिआइनले भनी- “के राति अमङ्गल कुरा भनेको, मोदी ! मालिसले अब तिमीलाई ठीक हुन्छ । सुत्ने कोसिस गर ।”
एकछिनपछि भित्र कोठाको हलचल शान्त भयो । सायद, तिनीहरू सुते । मोदीले भारी आवाजले एकनाससँग सास फेरेको बाहिर सुनिन थाल्यो । फेरि रात्रिको भयावह निस्तब्धता, दियोको प्रकाशको सानो घेराभन्दा बाहिरको निविड अन्धकार र रात्रिको निशाचरी कीराहरूको मसिनो तीखो गुञ्जन र कोठाको भित्तामा हल्लिरहने, मच्चिने, थर्किने छायाहरू । फेरि म भयभीत हुन थालेँ र बारबार मछुवारिनको प्रेतात्माको सम्झनाले म निसासिया जस्तो हुन थालें । दिनभरिको हिँडाइले शरीर थाकेर लथपथ थियो र आँखामा लट्ठिएर निद्रा आउन खोज्थ्यो, तर डरले गर्दा भुसुक्क निदाउन सकिनँ । कसो आँखा लाग्नेबित्तिकै सपना देखेको जस्तो लाग्थ्यो र त्यसै डरले फेरि बिउँझिहाल्थें । सपना र बिपना दुवैमा एकनासको डरका तस्बिर मात्र खिचिन्थे । एक चोटि त्यसै आत्तिएर फेरि चिच्च्याएँ- “मिसिरजी !”
मोदिआइन ‘के भो के भो’ भन्दै आई, मोदीले फेरि खोकेको सुनें ।
मोदिआइनले भनी- “तिमीलाई डर लागेछ बिचरा ! म यहीँ तिमीनेर बसिरहन्छु ।”
मलाई निर्धक्क भयो र लाग्यो म निद्राको लट्ठयाइमा पर्न थालेँ ।
मोदिआइनले भनी- “तिमीलाई कथा मन पर्छ ? सुनाऊँ ?”
मैले बडो आश्वस्त मानेर भनें- “सुनाऊ, मोदिआइन !”
मोदिआइन कथा भन्न थाली, उसको एकनासको सुरमा जस्तो कि उसको बानी थियो । टाढाबाट सुनिएको जस्तो वाणीमा उसको स्वर मेरो कानमा परिरहेको थियो । निर्धक्क भएकोले भित्ताको छायाको हल्लाइ अब एउटा कौतुक खेलाजस्तो मात्र लाग्यो । दिनभरिको परिश्रमले शरीरको रगरगमा निद्राको सञ्चार गरिरहेको थियो । हडाहामा बीचबीचमा छपछपको ध्वनि हुन्थ्यो टाढाबाट सुनिएको कुनै ध्वनिजस्तो । बिहान स्टेसनको कोलाहल र हूलमूलको दृश्य, लालदरबार, हात्तीसार र सहरका अरू दृश्यहरू मेरो थाकेको मस्तिष्कमा धोइएको रङ्गजस्तो फीका हुँदै गइरहेका थिए । लाग्यो, म बीचबीचमा झपक्क निदाउँथेँ पनि र सपनाका तस्बिर एकपछि एक गरेर हेर्न थाल्थेँ । यी सबका बीचमा मोदिआइनको झन् लट्ठ पार्ने एकसुरे कोमल बोली लगातार कानमा परिरहेको थियो हुरी, वर्षा सिद्धिएपछि बाहिर छानाबाट बिस्तारै तपतप गरेर पानीका थोपा खसेको जस्तो ।
ऊ भन्दै थिई- “एकादेशमा… धेरै धेरै धे…रै पहिले भारतवर्षमा हस्तिनापुर भन्ने एउटा ठूलो राज्यको राजधानी थियो । त्यहाँका राजा धृतराष्ट्र भन्ने बूढा अन्धा थिए । अन्धा भएकाले गद्दीमा बस्न पाएनन् । राजा हुनका लागि उनका छोरा र भतिजाहरूमा कलह हुन थाल्यो । धृतराष्ट्रकी रानी गान्धारी बडो पतिव्रता थिइन्, त्यसो हुनाले पतिले आफ्नो आँखाले विश्वको सुन्दर रचना हेर्न पाउँदैनन् भने मैले पनि आँखाको भोग गर्नु हुन्न भनेर आँखामा सधैँ पट्टी बाँधेर बस्थिन् । उनीहरूका एक सय छोराहरू थिए । जेठाको दुर्योधन नाउँ थियो । धृतराष्ट्रको खलकलाई कौरव भन्थे । धृतराष्ट्रका पाँच जना भतिजा थिए । तिनमध्ये जेठा थिए युधिष्ठिर । यी पाँच जना भाइलाई पाण्डव भन्थे । छोरा र भतिजाहरूमा कलह बढेको हुनाले धृतराष्ट्रले बूढाहरूको सल्लाह लिएर भतिजाहरूका लागि राज्य छुट्टयाएर अर्को राजधानी बनाइदिए, इन्द्रप्रस्थ ।
जमुनापारि हस्तिनापुरको उत्तर-पूर्वपट्टिको ठूलो खाण्डवप्रस्थ जङ्गललाई फाँडेर इन्द्रप्रस्थको स्थापना भएको थियो । खाण्डवप्रस्थमा पहिले जङ्गलमा निवास गर्ने धेरै जातिहरूका बस्तीहरू थिए र त्यहीँ ठाउँठाउँमा जङ्गल फाँडेर धेरै आर्य परिवारहरू पनि बस्ती बनाएर बस्थे । इन्द्रप्रस्थको स्थापनामा यी सबै बस्तीहरू मासिए । जङ्गलमा बस्ने आदिजातिहरू उत्तरतिर बाक्ला जङ्गलभित्र पस्दै गए, तर खेतीबारी गरेर बसेका परिवारहरूको बडो बिचल्ली भयो । उनीहरूको घरद्वार निर्मूल भयो । त्यसै बेघर हुन गएका परिवारहरूमध्ये एउटा क्षत्रिय परिवार थियो, जसमा एउटी सानी बालिका थी, जसको नाउँ… जसको नाउँ… जसको नाउँ… ल सम्झेँ नारी थियो । नानी, नारी भनेको थाहा छ तिमीलाई ?”
“किन थाहा हुँदैन मलाई ? नारी भनेको स्वास्नीमानिस !”
मोदिआइनले भनी- “हो, मजस्तै स्वास्नीमानिस । तिमीलाई धेरै कुरा आउँदो रहेछ, नानी ।’
यो प्रशंसाले मलाई बडो सन्तोष भएको अनुभव भयो । आँखामा निद्रा धेरै चढिसकेको थियो । घरमा पनि आमाहरू सुत्ने बखतमा यस्तै कथा सुनाउनुहुन्थ्यो र सुन्दासुन्दै म भुसुक्क निदाउँथेँ । अहिले पनि घरैको जस्तो रमाइलो भइरहेको थियो; कथा पनि घरैमा सुनेको जस्तो । साँच्चै यो कथा पनि आमाले कहिले भनेको जस्तो लाग्यो मलाई । मेरो शरीर लट्ठिंदै गयो, एउटा अवर्णनीय आनन्दमा पस्दै गएजस्तो । सबै कुरो, मानौं बिर्सिइयो; केवल मोदिआइनको कोमल कण्ठको आवाज र त्यस आवाजले चित्रित गरिरहेको कथाको तस्बिर मात्र बाँकी रह्यो मेरो चेतनामा ।
“नारी त्यस समय एउटी सानी नग्निका बालिका थी । इन्द्रप्रस्थको राजधानी बनाउँदा असङ्ख्य मानिसहरूको भीड त्यहाँ लाग्न थाल्यो । रातदिन गरेर बिस्तारबिस्तार ठूलाठूला महलहरू खडा हुन थाले । बगैंचा- वाटिका लगाइए, कारिगरहरूले सुन्दरसुन्दर मूर्तिहरू गाढेर ठाउँठाउँमा उभ्याएर राखिदिए । इन्द्रप्रस्थको शोभाले इन्द्रपुरीलाई पनि मात गर्न थाल्यो । तयार भएको त्यस नयाँ नगरमा नौला किसिमका नौलानौला पोसाक- पहिरन भिरेका मानिसहरू आएर बस्न थाले । गाना-बाजाले बजार रमाइलो भयो ।
हात्ती आए, घोडा आए, आए रथ ठूलाठूला, सिँगारिएका; अस्त्रशस्त्रले सुसज्जित वीर रक्षकीहरू आए । बालिका नारी बडो विस्मयसँग आँखा फारेर यो विराट् परिणति हेर्थी । सडकमा नाङ्गै कुद्दै, आफूजस्तै बालकबालिकाहरूको हूलमा, एक ठाउँबाट अर्को ठाउँमा नयाँनयाँ चमत्कारका कुरा हेर्दै हिँड्थी, तर आमाबाबुहरूलाई भने बडो पीर परेको थियो । घरबारी हरण भइसकेको थियो । सहर स्थापना हुँदा ज्यामी भएर धेरैले काम पाए, धेरै सहरकाले अरू किसिमका पेसा पनि अङ्गीकार गरे । कति आइमाईले गणिका वृत्ति लिए । पेट त येनकेन प्रकारेण पालिन्थ्यो, तर आफ्नो स्वतन्त्र खेती वृत्ति भएकाले त्यहाँका पूर्वनिवासीहरू बडा दुःखी भएका थिए, तर केही उपाय थिएन ।
एक दिन बडो सजधज र आयोजनाका साथ पाण्डवहरूले आफ्नो सहरमा प्रवेश गरे । त्यत्रो हूल थियो त्यहाँ त्यस दिन जुन दिन उनीहरू गृहप्रवेश गरिरहेका थिए । ठूलो यज्ञ भयो, ब्राह्मण र पुरोहितहरूले उच्च कण्ठले वेद पाठ गरे; शस्त्रअस्त्रको प्रदर्शन भयो र भेला भएका सैनिक र नागरिकहरूले ठूलो स्वरमा पाण्डवहरूको जयजयकार गरे । यज्ञधूमले व्याप्त आकाश धेरैबेरसम्म जयध्वनिले प्रकम्पित भइरह्यो । बालिका नारीले यो सारा आयोजना र प्रदर्शन बडो कौतुकमयताका साथ हेरी । उसले देखी पाण्डवहरू बडा सुन्दर युवक रहेछन् र उनकी स्त्री द्रौपदीको सुन्दरताको कसले वर्णन गर्न सक्थ्यो । घरघरमा सबै पहिलेदेखि नै उसको चर्चा गर्थे । सानी भएर पनि नारी बालिकाले यो बुझी कि द्रौपदी पाँच प्रतापी युद्धकुशल पुरुषरत्नहरूकी सम्मिलित प्रेमपात्र भएकीले उसका नाक, भृकुटी र ग्रीवा गर्वले चढेका थिए ।
पाण्डवहरू इन्द्रप्रस्थबाट आफ्नो दिनप्रतिदिन बढ्दै गएको राज्यको शासन गर्न थाले । इन्द्रप्रस्थले एउटा राजधानीको साधारण गतिमा प्रवेश गर्यो, त्यहाँका नागरिकहरू आफ्नाआफ्ना वृत्ति र रोजगारमा लागे । सहरको नूतनता बिस्तारबिस्तार समाप्त हुँदै गयो । विस्थापित परिवारहरू पनि एकएक गरेर नगरका स्थायी नागरिक परिवारमा परिणत हुँदै गए र उनीहरूले क्रमश: पूर्ण रूपले नागरिकतालाई ग्रहण गर्न थाले । नारी बालिकाबाट अलि ठूलो हुँदै गई । कम्मरमा कन्दनीको सहाराले सानो वस्त्रखण्ड बेर्न थाली ।
तर, हस्तिनापुरको दुर्योधनको दरबारमा र इन्द्रप्रस्थको युधिष्ठिरको दरबारमा भित्री प्रतिस्पर्धा बढ्दै गयो नित्यप्रति । दुर्योधनलाई पाण्डवहरूको बढती भएको असह्य हुन थाल्यो; उता पाण्डवहरू पनि प्रतिरक्षाको तयारीमा लाग्न थाले । दुवैमा युद्ध त भएन तर सामरिक तयारी हुन थाल्यो, एक प्रकारको शीतयुद्धको वातावरण बन्न गयो हस्तिनापुर र इन्द्रप्रस्थका बीच । बाहिर देखाउन भने औपचारिक सम्बन्ध राम्रो नै राखेका थिए । परिवारहरूले गर्नुपर्ने सामाजिक अथवा धार्मिक अनुष्ठानहरू दुवै परिवार सम्मिलित भएर गर्थे, तर भित्रभित्र वैरको भाव पनि बढ्दै गएको थियो । दुवैतर्फका धेरै बूढापाकाहरूले यसलाई शान्त गराउने प्रयत्न पनि गरे ।
एक दिन दुर्योधनले ठूलो जुवाको आयोजना गरेर युधिष्ठिरालई निम्ता पठाए । तिन ताका द्यूत क्षात्रधर्म अधीनको मर्यादापूर्ण मनोरञ्जन मानिन्थ्यो । युधिष्ठिर लावालस्कर लिएर हस्तिनापुर आए । दुर्योधनले ढोकासम्म आएर उनको स्वागत-सत्कार गरे ।
भन्छन्, दुर्योधनको मामा शकुनिले जाल गरेर प्रत्येक बाजीमा युधिष्ठिरलाई हराउँदै गए रे । जुवाको नशा चढेका युधिष्ठिर किन मान्थे; एकएक गरेर उनले दाउमा मुद्रा राखे, फेरि मणिमाणिक्यादिहरू, अनि यावत् चल सम्पत्ति । पछि जुवा रन्किँदै जाँदा राजपाट राख्दै हार्दै गए । अन्तमा पागल भएर आफ्नी पत्नी द्रौपदीलाई पनि दाउमा राखे । ‘भारा’ भन्ने तुमुल स्वरले द्यूतस्थल कम्पित गर्दै कौरवहरूले द्रौपदीलाई जितेका थिए र भन्छन्, आफ्नो इबी साधन रजस्वला भएकी द्रौपदीलाई सारा सभासभाको मध्यमा निर्वस्त्र पारे रे दुःशासनले, जो दुर्योधनका एउटा दुस्साहसी भाइ थिए ।”
निर्जन निकुञ्जमा प्रवाहित भइरहने कुन निर्झरिणीको अजस्र ध्वनिजस्तो मोदिआइनको बोली नथामिएर, मानौं बगिरहेको थियो । मेरो थाकेको र निद्राले भरिपूर्ण भएको मस्तिष्कको कुनै भित्री तहमा त्यो एकनाससँग बज्रिरहेको थियो । कहिलेकहिले लाग्थ्यो, म निदाइसकेको छु र सपनाका तस्बिर मेरो निद्रित चेतनाका उपर कथाको धारावाहिक क्रममा, एकएक गरेर परिरहेका थिए । कुन्नि कहिले हो- त्यो पनि सम्झना छैन- एकनासको स्वरमा कथाको वर्णन गर्दागर्दै मोदिआइन मेरो अर्धचेतनामा इन्द्रप्रस्थकी एउटी नारीसँग मिसिन पुगी ।
लाग्थ्यो, एकदम सपनाका कुरा हुन् यी सबै, केवल ध्वनि मात्र बाहिरबाट परिरहेको थियो मेरो कानभित्र र त्यो ध्वनि थियो मोदिआइनको कण्ठको, एकनासको । सायद यो पनि हुन सक्छ, मेरो कथा सुन्ने उत्सुकताको जोरले गर्दा कान त खुला रहे, तर मेरो बालकको कलिलो शरीर थाकेर निदाइसकेको थियो ।
कुन्नि कहिलेदेखि हो, मोदिआइनले आफ्नै जीवनको वृत्तान्तजस्तो गरेर भन्न थाली- “मेरा आमाबाबुहरूले भने- द्रौपदीको चीरहरण एउटी नारीको अपमान मात्र होइन कि ठूलो अनिष्टको अपरिहार्य सूचक हो । घरघरमा यसको चर्चा भयो र सबै अनिष्टको आशङ्काले त्रस्त भए । लगत्तै फेरि पाण्डवहरूले वन जानुपर्यो बाह्र वर्षका लागि । इन्द्रप्रस्थ विरान भयो । त्यहाँका ठूलाठूला दरबार खाली भए; मानिसहरूको रोजगार खोसियो; त्यहाँका नागरिकहरू एकएक गरेर हस्तिनापुर लागे । इन्द्रप्रस्थ एकदम शून्य भयो ।
हाम्रो परिवार क्षत्रिय भएकोले मेरो बा इन्द्रप्रस्थको पाण्डव- दरबारमा रक्षकदलको तल्लो कक्षाको एउटा पदाधिकारी हुनुभएको थियो । हाम्रो । खेतबारी नष्ट भएपछि बाले सानो पद भए पनि जागिर खानुपरेको थियो र जसबाट हामी नयाँ जीवन बिताइरहेका थियौं, एक प्रकारले निर्धक्क भएर । त्यो पनि फेरि खोसियो, पाण्डवहरू वन गएपछि इन्द्रप्रस्थमा दुर्योधनको कब्जा भयो र त्यहाँका रक्षकहरू सेवामुक्त गरिए, किनभने रे, पाण्डवपक्षी भएकाले कौरवदलमा यिनीहरूलाई सामेल गर्दा सुरक्षा हुँदैन भनेर । हाम्रो परिवार फेरि बिचल्लीमा पर्यो । हामीहरूजस्तै बिचल्लीमा पर्ने असङ्ख्य परिवारहरू थिए र उनीहरूकै सरह हामी पनि ताँती लाग्दै पश्चिमतिरको ठूलो राजधानी हस्तिनापुर पुग्यौं ।
म त्यस बखतमा आठ-नौ वर्षकी हुँदी हुँ । आमा-बा, म र मेरो सानो चार वर्षको भाइ शरणार्थी भएर हस्तिनापुर आयौं । तर, त्यहाँ हामी क्षत्रियहरूको सम्मानअनुकूल काम पाउँथ्यौं र ? पाण्डवपक्षीय भएकाले कौरवको सेना हाम्रो लागि वर्जित थियो । बा पनि आफू पाण्डवपक्षीय भएको कुरा चारैतिर सगर्व भनिहिँड्नुहुन्थ्यो । धेरै दिनपछि दरदर ठोकर खाँदा, गल्लीगल्ली भट्किएर कामको खोजीमा एक ठाउँबाट अर्को ठाउँ गर्दागर्दा पनि केही सीप नलागेर, जमुनाको तटनेर कौरवहरूको दुर्गको बाहिरी पर्खालभन्दा पनि बाहिर जहाँ बकाइनो र बबूलका सानासाना रूखका झ्याङैझ्याङ थिए र जहाँ पर्खाल बनाउँदा फ्याँकिएका साना-ठूला ढुङ्गाहरू जताजतै लडिरहेका थिए, हामी एउटा छाप्रो बनाएर बस्न थाल्यौँ । त्यो ठाउँ सहरभन्दा बाहिर जङ्गलको किनारामा थियो । बा दिनभरि नगरमा गएर काम गर्नहुन्थ्यो र दैनिक आर्जनले जेजति हुन्थ्यो त्यसैले हाम्रो गुज्रान भइरहेको थियो ।
यसरी हुर्किंदै गएँ, वयस चढ्दै गयो । किशोरी भएँ र यौवनको प्रथम खुड्किलोमा उभिन पुगेँ । आमा भन्नुहुन्थ्यो- नारी, तैंले रानी हुने जीउ पाएकी छस्, लायककी छस् तँ ।
म मक्ख पर्थे र एकान्तमा गएर एउटा ठूलो ढुङ्गापछिल्तिर बसेर त्यहाँका जङ्गली झ्याउ, पात र फूलहरूले आफूलाई सिँगार्थे र आफ्नो अनुहारलाई धेरै बेरसम्म झुकेर हेरिरहन्थेँ । म अल्गी थिएँ, र कसिएर टम्म परेको स्थूलता, बानगीका साथ, मेरो सारा शरीरमा फैलिएको थियो । तिन ताका केही काम नपाएर म जङ्गलमा चहारि-चहारी हिँड्थें । त्यसै आनन्दले शरीरलाई फुरुक्क पार्दै हरिणीको चालमा हस्तिनापुरबाट मृगयाका लागि कहिलेकाहीं राजकुमारहरू त्यतै आउँथे । आमा आत्तिएर मलाई छाप्रोभित्र हुल्नुहुन्थ्यो । भन्नुहुन्थ्यो- ‘तँलाई देखेर हरेर लैजालान् दरबारमा नर्तकी बनाउन तँलाई । कहिले पनि नबिर्सिएस्, तँ क्षत्रिय कुमारी होस् ।’
म छाप्रोको प्वालबाट सिकारमा हिँडेका राजकुमारहरूलाई हेर्थे र उनीहरूका साथै आएका उनीहरूका जस्तै तेजिला घोडामा चढेका उनका सिकारी सैनिकहरूलाई पनि । लाग्थ्यो, कस्ता राम्रा पुरुष छन् ती सबै ।
एक दिन म त्यसै भौतारिंदै हिँडिरहेकी थिएँ जङ्गलभित्र । चैतको महिना थियो । सुगन्धीले भरिएको वायुमा जङ्गलका पात-लहराहरू बराबर सिहरँदै काँप्दथे । रूखहरूमा बसेर चराचुरुङ्गी चिरिबिरी गरिरहेका थिए । कहिलेकहिले कोयलीको तीखो कूजनले वन घन्किन्थ्यो । मैले आफ्नो शरीरलाई थरीथरीका फूलले सिँगारेकी थिएँ- राता, सेता, पहेँला फूलहरूले ।
त्यसै बखतमा आफ्नो दलबाट छुट्टिएको एउटा अश्वारोही युवक देखा पर्यो । सूर्यको रश्मि उसको मुखमा सोझै परिरहेको थियो । जसले उसको किञ्चित् रक्तिम वर्ण भएको अनुहारमा पसिनाले गर्दा टाढाबाट मलाई ज्योति टल्केको जस्तो लाग्यो । उसका काला कपाल तट परेर गर्दनमा, घोडाको चालका साथ उफ्रिरहेका थिए । हठात् मलाई लाग्यो कि म एक्ली छु यो विराट् जङ्गलभित्र एउटा अति सुन्दर सैनिक वेशधारी युवकको अगाडि । मलाई त्यसै लाजले छोप्यो । आफूलाई लुकाउन म एउटा मौलश्रीको रूखको फेदपछिल्तिर उभिएँ । त्यहाँबाट बिस्तारै टाउको झिकेर युवकको सुन्दरतालाई हेरिरहें । अश्वारोही युवकले मलाई देखेछ । ऊ घोडालाई मनेर उभ्याएर ओर्लियो र मेरो एक कदम समीप आयो । हाम्रा चार आँखा भए । म लाजले गाडिएँ ।
उसले भन्यो- ‘हे सुन्दरी, तिमी को हौ ? अप्सरा, किन्नरी, गन्धर्व को हौ ? मनुष्य नारी त होइनौ निश्चय नै; यस्तो सुन्दरता पृथ्वीमा कहाँ उपलब्ध हुन्छ र ?’
मलाई लाग्यो, मेरो कानमा अमृत चुहिरहेको छ । मैले बडो यत्नसँग यति मात्र भनें- ‘हे सुन्दर युवक, म एउटी मानवनारी हुँ, क्षत्रिय कुमारी ।’
अनि उसलाई हेर्न नसकेर आँखा भैँमा गाडें । हाम्रो प्रेम त्यसरी अकस्मात् प्रारम्भ भयो एक दृष्टिमै ।
तिन ताकाको चलनअनुसार जङ्गलमै हाम्रो स्वयंवर भयो । अनि मैले उसलाई आमासँग भेटाउन हाम्रो छाप्रोमा लगें । उसले भन्यो- ‘माता, एउटा कौरवपक्षीय क्षत्रिय सैनिक हुँ । आज तपाईंकी सुन्दरी छोरीको पति हुन पाउँदा म बडो भाग्यमानी भएको छु ।’
साँझपख बा पनि आउनुभयो । मेरो पुरुषलाई देखेर उहाँ पनि बडो प्रसन्न हुनुभयो- हामी पाण्डवपक्षीय परिवार हौं, तर आज त्यसको चर्चा किन ? छोरीले एउटा योग्य क्षत्रिय कुमारलाई आफ्नो पति बनाउन पाई, त्यही नै हाम्रो लागि महान् सन्तोकको कुरा छ ।
उसले त्यही रात मलाई आफूसँगै घोडामा चढाएर आफ्नो घर लिएर आयो । आमाले रोएर, बाले आशीर्वादका साथ र भाइले म पछिपछि आउँला तिमीलाई भेट्न भनेर बिदा दिए । एउटा पुरुषको न्यानो स्पर्शको अनुभव गर्दै, हृदयमा आमा-बा, भाइलाई मायाका साथ सम्झिँदै म पत्नी भएर आफ्नो श्वशुरगृहका लागि हिँडें ।
हाम्रो गाउँ हस्तिनापुरभन्दा उत्तर-पश्चिमतिर स्थित थियो । मध्यरात हुँदो हो हामी घर पुग्यौं । पति पहिले घोडाबाट बुर्लुक्क हामफालेर ओर्ले र अनि मलाई सहारा दिँदै झारे । उनले अन्धकारमा आमालाई घरको ढोका उघार्न भन्दै भने- ‘आमा, हेर त आज कस्तो कोसेली ल्याएको छु । हेर त छिटै ।’
अनि उनले मलाई हेरे । म मायाले गद्गद भएर ऊसँग टाँसिँदै गएँ । सासूले ढोका उघार्नुभयो र दियो उचालेर मेरो मुखलाई गौरसँग हेर्नुभयो । अनि बडो स्नेहको स्वरमा भन्नुभयो- ‘बहू, आऊ आफ्नो घरभित्र ।’
त्यसपछि उहाँले आफ्नो छोरोलाई भन्नुभयो- ‘साक्षत् लक्ष्मीलाई आफ्नो घरभित्र हुल्न थालेको छस् । यिनको बडो कदर गर्नू, लक्ष्मीस्वरूप बहू हुन् यिनी मेरी ।’
हाम्रो घर सानो थियो, चार जनाको- सासू, देवर र हामी दम्पती, तर पारस्परिक माया र हाम्रो पतिपत्नीको प्रणयले मलाई लाग्यो कि स्वर्गमा पनि योभन्दा सुख प्राप्त हुन्न ।
जङ्गलैको छेउमा हाम्रो गाउँ थियो- क्षत्रियहरूको एउटा सानो गाउँ । सबै परिवारहरूको मुख्य पेसा खेती थियो, तर घरमा दाजुभाइ छन् भने सैनिक सेवामा जागिर खान भनेर धेरै हस्तिनापुर जान्थे । हाम्रो घरको खेतीको आयस्ता सानो थियो, त्यसो हुनाले मेरो दुलहाले पल्टनमा जागिर खानुपरेको थियो र उनले आफ्नो योग्यताले सेनामा राम्रो पदोन्नति गर्दै आएका थिए । उनी दिनभरि हस्तिनापुरैमा रहन्थे र रात परेपछि घोडा दौडाउँदै घर आइपुग्थे । सासू हाँसो पनि गर्नुहुन्थ्यो- आजकाल मेरो जेठो छोरोलाई घरको माया खुब बढेको जस्तो छ ।
बडा रमाइला दिन थिए मेरा तिन ताका । मेरै बयसका धेरै केटीहरूसँग मेरो मित्रता भयो र हामीहरू डफ्फा बनाएर दिनभरि खेतीमा डुलिहिँड्थ्यौँ । जङ्गलमा गएर गाईबस्तु र घरका लागि घाँसपात र दाउरा काटेर ल्याउँथ्यौँ । हाम्रो गाउँको समीप एउटा कुण्ड थियो, किनारैमा एउटा विशाल सूर्यमन्दिर भएको । त्यसैले कुण्डलाई सूर्यकुण्ड भन्थे । पर्वपर्वमा त्यहाँ मेला लाग्थ्यो र ग्रहण भएको समयमा त त्यहाँ झन् ठूलो मेला हुन्थ्यो, खुब घुइँचो । अरू बेला त्यहाँ शान्ति हुन्थ्यो; हाम्रा गाउँका आइमाईहरूको डफ्फा त्यहाँ जान्थ्यो र त्यसै घाटको बज्रमा बसेर नाना थरीका कुरा गरेर जिस्किंदै हामी समय काट्थ्यौँ । या त्यसै लहडमा लुगा फुकाएर नुहाउन थाल्थ्यौं । खुब रमाइलो गर्थ्यौँ । मेरो शरीरलाई देखेर साथीहरू भन्थे- ‘नारी, बडा ईर्ष्या लाग्छ तँलाई देख्दा । यस्ती राम्री पनि हुने हो हामी गृहस्थ आइमाईले ?’
मलाई लाग्यो, जीवन एउटा कहिले पनि समाप्त नहुने वसन्त हो । तिन ताका देशभरि अमनचैन थियो । दुर्योधनको प्रतापले चारैतिर शान्ति थियो । उनका सबै शत्रु पराजित थिए । पाण्डवहरूको कुरा सबैले बिर्सिसकेका थिए र म कहिले पनि नअघाउने प्रेममा परेर बेलुकीपख – घरको सँघारमा बसेर पतिका लागि पर्खिरहन्थें । क्या रमाइला रात थिए तिन ताका, प्रेमका आनन्दले टलपल गर्दै बित्ने रात !
कहिलेकहिले उनी नगरको दरबारको चर्चा गर्थे र भन्थे- ‘पाण्डवहरूको वनवासको बाह्र वर्ष पुग्यो नि । गुप्तवास सिद्धिन अब कति दिन छ र ?’
म भन्थेँ- ‘अब पाण्डव आउँदैनन् यत्रो शान्तिलाई खलबलाउन ।’
बाँकी अर्को साता…



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२९ मंसिर २०८२, सोमबार 









