हिउँदमा भने दिन काट्न उसलाई बडो मुश्किल पर्थ्यो । उसको जीउमा प्रशस्त लुगा हुँदैनथ्यो- ओढ्ने ओछ्याउने लुगा पनि धेरै हुँदैनथे । घाम नलागेको बेला त दिनभरि जाडाले थुरथुर कामी नै रहन्थ्यो । उसका ओंठ नीला हुन्थे । हात खुट्टा कक्रिएर हिउँ जस्ता चिसा हुन्थे । उसले आफ्ना सुकिसकेका दुवै पाँसुलामाथि माथिसम्म पुग्ने गरी फाटिसकेको पट्टी बेहेर राख्दथ्यो । खुट्टामा फाटिसकेको क्यानभसको जुत्ता लाउँथ्यो । कहिले काहीं माग्नेहरूले आगो बालेर हात सेकाइरहेको देख्यो भने लङ्गडा पनि उहीं घस्रँदै गएर आगोको छेउमा बसिरहन्थ्यो । मैला गन्हाउने च्याथ्रा-च्याथ्रा भइसकेका वस्त्र लाउने अरू माग्नेहरू त्यहाँ झुरूम्म भएर अनेक कुरा गरिरहन्थे तर लङ्गडा भने केही बोल्दैनथ्यो । ऊ चुप लागेर तिनीहरूका कुरा सुनिरहन्थ्यो । आफूलाई तिनीहरूभन्दा धेरै बाठो र धेरै अनुभवी ठान्थ्यो ।

बादल हटेर सरक्क घाम लागेपछि मात्र लङ्गडा त्यहाँबाट उठेर बजारतिर जान्थ्यो । तर रात पर्न लागेपछि स्टेशनको नगिच त्यही ओत लाग्ने ठाउँमा आएर कुनापट्टि सुत्ने गर्थ्यो । हिउँदमा दिनले छिटै बिदा लिएर रात आउने हुनाले रातको राज्य लामो हुन्थ्यो । सिरेटोले हानेर त्यो वस्त्रहीन प्राणीको मुटु पनि छेड्थ्यो । हावा ज्यादै चलेको रात त उसलाई निद्रा नै लाग्दैनथ्यो । रातभरी ऊ सुत्दैनथ्यो । टहटह जून लागिरहेको हुन्थ्यो । चारैतिर शून्य हुन्थ्यो । जुनेली रातमा प्रकृतिको रूप ज्यादै उदासमय हुन्थ्यो । चारैतिर शून्य रातमा रूखपातहरू पनि शीतमा नुहाइरहेका जस्ता हुन्थे । शीतमा ल्याफल्याफति भिजेका रूखका पातहरू जूनको टकमा टल्कन्थे । ठूल ठूला घर, कोठी, स्कूल, होटेल, पसल र बिल्डिङहरू पनि रातको चकमन्न वातावरणमा चुपचाप उभिरहेका जस्ता देखिन्थे मानौं उनीहरू पनि कसैको मृत्युमा शोकमग्न छन् ।

जून नभएको रातमा त झन् असंख्य तारै ताराहरूले आकाश ढाक्तथे । लङ्गडाले ती चम्किरहेका ताराहरू एकोहोरो हेरिरहन्थ्यो — कोही ताराहरू केही बेर चम्केर फेरि एक छिन हराउँथे । फेरि एक छिनपछि उज्यालो भएर एक्कासि चम्कन लाग्थे । त्यो देखेर लङ्गडाको मनमा बालक अवस्थामा कसैले आफूलाई ती नक्षत्रका बारेमा सुनाएका अद्भुत कथाहरूको स्मरण हुन्थ्यो । उसको मनमा के के कल्पनाहरू आउन लाग्थे !

जति रात बढ्दै जान्थ्यो त्यहाँ उति शून्यता र गम्भीरता पनि बढ्दै जान्थ्यो । चकमन्न रातमा चिसो हावा बगेर सारा पृथ्वी कक्रिएको भान हुन्थ्यो । प्रकृति पनि मौन बसिरहेको जस्तो लाग्थ्यो । सडकमा बिजुलीहरू धीमा प्रकाशले बलिरहेका हुन्थे । स्टेशन वरपरको वातावरण ज्यादै शून्य र निस्तब्ध हुन्थ्यो । केवल रातको निस्तब्धतामा कताकता कुकुर भुकेको सुनिन्थ्यो ।

आफू बसेको ठाउँदेखि आधा रातमा उँधोतिर हेर्दा तल जुबिली सेनिटोरियमका एक-दुई झ्यालहरूमा अझै बत्तीको प्रकाश देखिन्थ्यो । लङ्गडाले चुपचाप ती झ्यालहरूलाई एकोहोरो हेरिरहन्थ्यो । त्यहाँ बस्न आउने धनी मानिसहरूको ऊ कल्पना गर्न लाग्थ्यो । तिनीहरूको आराम र ऐश्वर्य्य बुझ्ने ऊ चेष्टा गर्थ्यो । उसलाई अझ पनि सम्झना छँदै थियो एक पल्ट तल जुबिली सेनिटोरियममा बस्न आउने एक जना बङ्गाली परिवार सधैं रिक्सामा चढेर चौरस्तातिर जान्थ्यो । त्यो परिवारमा एउटी सुन्दरी युवती पनि थिइन् । तिनले लङ्गडालाई भेटेको बखत सधैं बेगबाट एक रुपियाँ झिकेर दिन्थिन् । ती युवती कस्ती सुन्दरी थिइन् !

जुबिली सेनिटोरियमतिर हेर्दा लङ्गडाको मनमा अहिले पनि त्यस कुराको सम्झना हुन्थ्यो । ती युवतीको सुन्दर अनुहारको बारम्बार हृदयमा स्मरण हुन्थ्यो ! यसो हुँदा हुँदै रात सकिंदै जान्थ्यो र ताराहरू पनि बिस्तार-बिस्तार हराउँदै जान्थे । पृथ्वीमा उषाकालीन वायु बग्नुभन्दा अघि दार्जिलिङ सहर झिसमिसे अन्धकारभित्र नै छोपिएको हुन्थ्यो । तर हिमालको टाकुराहरूमा भने सूर्य्यको प्रथम किरण पर्नासाथ पर्वतराजले त्यहाँ रमाइलो सुनको मुकुट लाए जस्तो देखिन्थ्यो ! बाटा-घाटामा पनि एका बिहानै हिंड्ने दुधवालाहरू काँधमा दूधको ढुंग्रो लिएर घर-घरमा गइरहेका हुन्थे । धीरधाम मन्दिरमा पूजाको आरम्भ भएपछि त बिहानको नीरवता राम्रै भंग हुन्थ्यो अनि पूजाको घण्टा धेरै बेरसम्म बजिरहन्थ्यो…।

त्यो एक नाससित आइरहेको मन्दिरको घण्टाको स्वरले बिहानको वातावरण साह्रै रमाइलो, साह्रै पवित्र पार्थ्यो । लङ्गडा मिरमिर उज्यालो हुन थालेपछि उठेर एक्लै डल्लो परी बिहानको घाम नपाएसम्म पर्खिरहन्थ्यो । मानिसहरू हिंड्न थालेपछि लङ्गडा पनि त्यहाँबाट घस्रँदै निस्केर मास्तिर गाडी हिँड्ने ठूलो सडकमा आउँथ्यो र फेरि पसलमा रोटी र चिया मागेर खान्थ्यो ।

कहिले काहीं तीन-चार दिन घामै लाग्दैनथ्यो । जाडो चम्कन्थ्यो । दिन ढुस्स परेको हुन्थ्यो । हिउँ पर्ला पर्ला जस्तो हुन्थ्यो । हिउँ पर्न थालेपछि त हिउँले बाटा-घाटा सडक एकदम सेताम्मे हुन्थे । सहरका बदमाश केटाहरू आएर हिउँको डल्लाले लङ्गडालाई खूब हान्थे – हिउँको डल्लाले उसको कुममा, आङ्मा, टाउकामा लाग्थ्यो । लङ्गडा कराएर तिनीहरूपट्टि फर्केर गाली गर्थ्यो । यो कर क्रीडाले धेरैलाई आनन्द दिए पनि कोही-कोही भावुक मानिस त्यहाँबाट हिंडिरहेका छन् भने लङ्गडाको त्यो दयनीय अवस्थामा टिठ्याएर ती केटाहरूलाई हप्काउँथे ।

संसारमा ऊ त एउटा विकृत अंग भएको निर्बल प्राणी न थियो । यसैले मानव संसारभित्र भए पनि ऊ समाजहीन थियो । लङ्गडाको अवस्थामाथि न कसैले दया गर्थ्यो, न कसैले त्यति गम्भीर विचार गर्थ्यो । सबैले लङ्गडालाई दिनहुँ देख्थे – मानिसहरू सब आफ्नो-आफ्नो चिन्तामा, स्वार्थमा डुबेर हिंडिरहन्थे । उनीहरूलाई आफ्नो संसार बाहेक, आफ्नो दुःखसुख बाहेक अरूको चिन्ता अथवा वास्ता नै हुँदैनथ्यो । स्कूलका विद्यार्थीहरू, अड्डामा जाने किरानीहरू, बजारका पसलेहरू सबै लङ्गडालाई रोजे यता र उता घस्रिरहेको वा सडकको छेउमा बसेर मागिरहेको देख्दथे ।

तर कसैलाई त्यस लङ्गडाको वास्तविक अवस्थामाथि विचार गर्ने अवकाश नै थिएन । कहिले काहीं भावुक भएर लङ्गडाले यी कुराहरू विचार गरिरहन्थ्यो । उसको निम्ति दिनहुँ नै त । सूर्य्य उदाउँथे । बेलुकी हिमाल र फालेलुंग डाँडापारि सूर्य्य अस्त हुन्थे – अनि साँझ पर्दै गएपछि फेरि आकाशभरि ताराहरू चम्किरहन्थे । यसरी रात शेष भएपछि भोलि फेरि सूर्योदय हुन्थ्यो अनि फेरि रात आउँथ्यो । अनि रात सकिएपछि फेरि दिन आउँथ्यो । यस्ता कैयौं दिन र रातहरू एक-एक गरी लङ्गडाले काटिरहेको थियो । प्रतिदिन पेटको निम्ति माग्नु परे तापनि, दैनिक जीवनको एकनासपनले उसलाई दिक्क लागे पनि संसार एकोहोरो चलिरहेको देख्ता उसलाई कहिले त सपना जस्तो पनि लाग्थ्यो । उसको स्नेहहीन, सहानुभूतिहीन नीरस जीवन यसरी बितिरहेको थियो । न त्यो कहिले थामिन्थ्यो न कहिले त्यसको शेष हुन्थ्यो ।

लङ्गडाले वर्षौंदेखि त्यहाँ यसरी जीवन काटिरहेथ्यो । ऊ कहाँबाट आएको थियो त्यो कसैलाई थाहा थिएन । वर्षौंदेखि मानिसहरूले उसलाई सधैं त्यतिकै देख्थे । कहिले काहीं कसैले उसको विषयमा सोध्यो भने उसले एउटा कुरा भन्थ्यो, कसैलाई अर्को कुरा भन्थ्यो । साह्रै खोजी गर्ने मानिस भेट्यो भने ऊ बिस्तारै त्यहाँबाट टोलिएर भाग्ने चेष्टा गर्थ्यो कि ता दिक्क मानेर छोटकरीमा उत्तर दिन्थ्यो,  “हजुर, बरबटे कमान मेरो घर हो — जन्मै लङ्गडा भएर जन्मेको… पछि दुवै घुँडा राम्ररी सोझो पार्न नसक्ने भएँ… कुँजे भएपछि के गर्नु… हजुर परमेसुरले त्यस्तै लेखिदिएछ । मागीमागी पेट भर्छु…” यति भनेर ऊ त्यहाँ धेरै नबसी कतै जान्थ्यो ।

कसैकसैलाई भने उसले अर्कै कुरा भन्थ्यो । आफूलाई मन परेको बेला सोध्ने मानिसलाई जीवन कहानी सुनाउँथ्यो । उसले भन्थ्यो, “घर नेपाल हो, हजुर …नेपाल तीन लम्बरमा जग्गा छ, जमीन छ, खान लाउनु राम्रो पुगे नेपाल छोडेर किन मुगलान पस्नु पर्थ्यो ? आफू सोह्र वर्षको हुँदा दोरलिंग पसेको । तर दिन दशाले गर्दा पहाड फर्कन सकिनँ यस्तै हालत भएर आज मागिमागी पेट भर्दैछु.. डुली हिँड्छु एक मुठी सास छउन्जेल अब हजुरहरूके आछापीछामा छु के गर्नु हजुर !…”

तर आफू कसरी लङ्गडा भयो, आफ्ना अंगहरू कसरी विकृत भए त्यो भने कसैलाई खुलस्त भन्दैनथ्यो । कसैले त्यसका विषयमा सोध्यो भने वा बलजफ्ती भन्न लायो भने लाज माने जस्तो गर्थ्यो, उसको मुख एकाएक गम्भीर हुन्थ्यो । कालो हुन्थ्यो । अप्रस्तुत भएर भुइँतिर ऊ एकोहोरो हेरिरहन्थ्यो र धेरै बेरपछि टाउको उठाएर झिनो स्वरमा भन्थ्यो, “एक जना मान्छेको घरमा गोठालो भएर बसेको थिएँ… घाँस काट्थेँ । एक दिन पानीझरीको दिनमा ठुलो पहरानेर एउटा रूखमा चढी पात काट्न लाग्दा भननन रिंगटा लागेर खसें । मन्तिर खोलामा पुगेछु ! के गर्नु, मरिहालेको भए त बेसै हुन्थ्यो हजुर नत्र यो पाप दुनियाँलाई देखाउनुपर्ने थिएन ।” यति भनेर ऊ त्यहाँबाट घस्रँदै अर्कै ठाउँ जान्थ्यो ।

घामले डढेर उसको अनुहारमा चाँया पनि परिसकेको थियो । उसको हिसि परेको अनुहार बिस्तार बिस्तार उमेर ढल्कँदै जाँदा चाउरी पर्दै गएको देखिन्थ्यो । उसको निधारमा धेरै रेखाहरू देखिन्थे । तिनै रेखाहरूबाट बाँच्नको निम्ति उसले जीवनमा गरेको संघर्षको परिचय पाइन्थ्यो । यसरी धेरै वर्षदेखि मागेर खाने उसको अभ्यास भइसकेको थियो । दार्जिलिङ बजारको यो छेउदेखि उ छेउसम्म घस्रँदै हिंड्थ्यो । पहिले-पहिले ता उसले लामो लौरोमा पाखुराको बलले झुण्डी एक खुट्टाले टेकेर हुर्रिंदै हिड्ने गर्थ्यो । अर्को खुट्टाचाहिँ खुम्चिएर झुण्डिरहन्थ्यो । तर पछिपछि उसको अर्को खुट्टा पनि नचल्ने भयो र दुवै घुँडा खुम्च्याएर हातमा काठ समाती त्यसका बलले घस्रिने गर्दथ्यो ।

दाहिने देब्रे दुवै हातले एक-एकपट्टि काठ समाती त्यसका बलले घस्रँदै हिंड्दा पछिल्तिरबाट ऊ पिङ खेल्दै हिंडिरहेको जस्तो पनि देखिन्थ्यो । यसरी घस्रँदै कहिले स्टेशनसम्म पुग्थ्यो, कहिले तल मोटर बस उभिने ठाउँमा आएर अघिल्तिर बसिरहन्थ्यो, कहिले सब्जी बेच्ने बारिक र कहिले मासुको पसलतिर गएर बसिरहन्थ्यो । कहिले घस्रँदै माथि चौरस्तासम्म पनि ऊ पुग्थ्यो । कहिले क्यापिटल सिनेमाको फाटकको अघिल्तिर भितापट्टि बोरा ओछ्याएर माग्न बस्थ्यो । पेटभरी खान पाएको दिन भने ऊ बेपर्वाही भएर यत्रतत्र डुलिहिंड्थ्यो । रात परेपछि कसैको दलानतिर गएर वा पसलको एक कुनामा ओत लागेर वा म्यूनिसिपल बिल्डिंगमन्तिर गएर सुत्ने गर्थ्यो ।

यसरी डुलिहिँड्दा एक दिन उसले बजारमन्तिर गड्डीखानको छेउमा एउटा थोत्रे झोपडी जस्तो देख्यो । पहिले-पहिले ता सबैको दृष्टिबाट आफूलाई बचाएर राति-राति त्यहाँ आएर सुत्ने गर्थ्यो । बिहान सबेरै उठेर कसैले नदेख्ने गरी त्यहाँबाट हिंडिहाल्थ्यो । कसैले केही आपत्ति नगर्दा पछिपछि ऊ त्यहीं निर्विघ्न सुत्न थाल्यो ।

कहिले भने लङ्गडाले पेटभरी खान पाउँदैनथ्यो । उसलाई जरो आइरहेको हुन्थ्यो । भोकै तीन चार दिनसम्म लडिरहन्थ्यो । आफू यसरी भोकै बसेको बेला कुकुरले उसलाई छोडेर जान्थ्यो र गल्लीको नालीतिर मुख गाडी जुठो मैलाहरू टिपेर खान्थ्यो अनि लङ्गडाको छेउमा मुख चाट्दै आउँथ्यो । लङ्गडालाई त्यस बेला रिस उठ्थ्यो – डाह पनि हुन्थ्यो । भोको पेटको झोंकमा लौरो टिपेर कुकुरलाई हान्न खोजे जस्तो गरेर भन्थ्यो,  “काठा ! मैले खान दिइनँ भने त लपलप् गरिहिंड्छस् ?”

कुकुर पनि आफ्नो दोष स्वीकार गरे जस्तै गरी काँतर भावले पुच्छर हल्लाउँदै लङ्गडाको छेउमा आएर गुँडुलिन्थ्यो ।

लङ्गडा कुकुरको अनुहार एकहोरो जिज्ञासु भावले हेरिरहन्थ्यो । कुकुर आफ्ना दुवै आँखा झिमझिम गर्दै थुतुनो भुइँमा तेर्स्याएर लङ्गडाको अनुहारमा यसरी हेरिरहन्थ्यो – मानो कुकुरले अव्यक्त भावले भनिरहेको हुन्थ्यो ‘तिमी त मान्छे भयो साथी ! म कुकुर भएँ । मैले नालीमा मुख गाडेर खानेकुरो खाए पनि तिमीले ता त्यसो गर्न सक्तैनौ । हामी दुवैको संसारमा एउटै स्तर भए पनि तिमी मान्छे नै भयो अनि म त कुकुर नै ठहरिएँ !’

‍====

त्यस दिन बिहानै उठेर लङ्गडा घस्रँदै गड्डीखानको गल्ली उकालो गइरहेथ्यो । कुकुर पनि उसको पछि सुस्त सुस्त हिंडिरहेथ्यो ।

चौकको मैदानमा आइपुगेपछि लङ्गडाले लामो निःश्वास लियो र फेरि उकाले हिंड्न थाल्यो । चौरस्ता आएपछि उसले त्यहाँ केही बेरसम्म बसेर थकाइ मार्यो । उसको शरीर पसिनाले भिजेको थियो । त्यसपछि फेरि ऊ महाकाल बाबाको थानतिर बिस्तार बिस्तार घस्रँदै उकालो जान लाग्यो ।

महाकालको थानतिर जाने सडकमा धेरै माग्नेहरू पहिले नै आएर सडकको छेउ छेउमा जाडाले काम्दै बसिरहेका रहेछन् ।

सबै माग्नेहरूभन्दा माथि गएर लङ्गडाले सडकको छेउमा बोरा ओछ्यायो र त्यहीं बस्यो । आफ्नो कुम्लो र लौरो पनि उसले देब्रेपट्टि राख्यो अनि अघिल्तिर उसले सानो रूमाल फिंजायो ।

महाकाल बाबाको दर्शन गर्न जाने मानिसहरू आइरहेका थिए ।

बिहानको चिसो हावा बगिरहेको थियो । रूख, पात, झार, जंगलमा तुषारो परेको थियो । किन्चिङ्गा हिमाल परिष्कार चाँदी जस्तो आज टल्किरहेको थियो ।

लङ्गडाको जीउको पसिना सुकेपछि उसलाई जाडो लाग्न थाल्यो । हिंड्ने मानिसहरू लङ्गडाले ओछ्याएको रूमालमा एक दुई पैसा हालेर जान्थे । लङ्गडा केही नभनी उनीहरूका मुखमा टिठ लाग्दो आँखाले टुलुटुलु मात्र हेरिरहन्थ्यो । लङ्गडाले यसरी हेर्दा पैसा नदिई जाने मानिसहरूका मनमा पनि एक प्रकारको दया आउँथ्यो र फर्केर एक दुई पैसा दिएर जान्थे ।

आधा दिनसम्म लङ्गडा यहीं बसिरह्यो । अब महाकाल बाबाको दर्शन गर्न आउने मानिसहरू पनि थोरै हुँदै गए ।

लङ्गडा एक दुई सातादेखि दुई चार पैसा गर्दै जम्मा गर्न लागेको थियो— आज उसले रूमालको पोको झिक्यो र ऊ पैसा गन्न थाल्यो । आफूलाई एक पेट मोजले खाने पैसा जम्मा भएको देखेर ऊ खुशी भयो । त्यो पैसा उसले त्यही फाटेको रूमालमा राम्ररी बाँध्यो- सन्तोषको लामो सास तान्यो र प्रसन्न चित्तले चारैतिर हेर्यो । उसको जीउमा एक प्रकारको स्फूर्ति र आनन्द सञ्चार भइरहेथ्यो ।

उसले आफ्नो छेउमा घाम ताप्दै सुतिरहेको कुकुरलाई लौरोले त्यसको थुतुना हल्लाएर उठायो । लङ्गडा उठेर जान तर्खर गरेको देखेर कुकुर पनि उठ्यो र अन्यमनस्क भावले हाई गर्दै लङ्गडाको अनुहारमा हेरिरह्यो । लङ्गडाको चित्त भने बडो प्रसन्न थियो । उसको जीउमा स्फूर्ति आइरहेको थियो । उसले मनमनै विचार गर्न थाल्यो – ‘आज त पुरी मिठाईको पसलमा गएर मोजले पुरी, तर्कारी खान्छु, रसगोला, पेंडा खान्छु, सन्देश, जलेबी पनि खान्छु । घिउको पुरी, मिठाई र सेल खाने कति दिनदेखि इच्छा थियो ! ओहो ! सधैँ ता मिठाईको पसलमा घिउ र पुरीको गन्ध मात्र सुँघ्दै डुलिहिँड्थें ! आज त मनले खोजेका कुरा पेटभरी खान पाउँछु ।’

विधातालाई सम्झेर लङ्गडाले एकचोटी पुलुक्क शून्य आकाशतिर हेर्यो ।

लङ्गडाले कुकुरलाई पनि सम्झ्यो । त्यस कुकुरतिर पनि फर्केर अलि दबेको स्वरमा निहुरिएर भन्यो – “हेर काले ! (उसले कुकुरको नाउँ काले राखेको थियो) तँ पनि सधैँ त गल्लीको नालीतिर गएर जुठो कुराहरू खाई हिँड्थिस् । हेर, आज म पनि पेटभरी खानेछु – तँलाई पनि मनग्गे खुवाउने छु । तँलाई पुरी मिठाई मन पर्दैन भने दही, मासु र भातै किनेर पेटभरी दिउँला । काले ! कुकुरको जुनि लिए पनि तँ त बडो भाग्यमानी रहेछस्- म जस्तो लङ्गडा साथीलाई पाएर एक बारको जुनीमा मोज लुटिस् ! लौ हिंड् काले अब … ।

कुकुरले पनि लङ्गडाको भाषा बुझे जस्तो गरी उसको मुखमा हेर्दै पुच्छर हल्लायो ! लङ्गडाले त्यसलाई एकछिन सुम्सुम्यायो र हाँस्तै-हाँस्तै आफ्नो कुम्लो पिठ्यूँमा बाँधेर ओह्रालो घस्रँदै हिंड्यो । बजारमा आइपुगेपछि एउटा होटेलको अघि गयो र मासुभात किनेर टपरीमा पोको पारी रूमालमा बाँध्यो । त्यसपछि लङ्गडा पुरी मिठाईको पसलतिर लाग्यो । मिठाईको पसल अघिल्तिर पुगेर लङ्गडाले आफ्नो कुम्लो राख्यो र भुइँमा कुकुरलाई एक टपरी मासुभात खान दियो । आफूले चाहिँ पुरी, तरकारी, जलेबी, निम्की, पेंडा, सन्देश आफूलाई जे-जे खान मन लागेको थियो किनेर खान थाल्यो ।

कहिले हलुवा मागेर खान्थ्यो, कहिले बुनिया । कहिले पुरी मागेर खान्थ्यो, कहिले सन्देश । खान मन लागेका सबै थोक आज लङ्गडाले किनी किनी खान थाल्यो । आज जीवनमा उसले पहिलो पटक यसरी उपभोग गरिरहेथ्यो – जीवनमा आजै आफूले पैसा दिएर बडो गर्वका साथ खाइरहेथ्यो । सधैँ ता निन्याउरो अनुहार लाएर घण्टौं कुरिरहँदा पनि कसैले उसलाई एउटा रोटीको टुक्रासम्म दिदैँनथ्यो । सधैँ पसलको अघिल्तिर बसेर घण्टौं मागिरहँदा एउटा पुरीसम्म ऊ पाउँदैनथ्यो तर आज लङ्गडाले कससित भिक्षाको निम्ति मुख बाएन – कसैलाई हात पसारेर, सलाम गरेर- ‘मालिक’, ‘प्रभु’, ‘हजुर’ भनेर दाँत ङिच्याउनु परेन । आज स्वतन्त्र भएर ऊ आनन्दले खाइरहेथ्यो । उसका आँखामा आज असीम आनन्दका रेखाहरू झल्किरहेका थिए । प्रसन्नताले उसको अनुहार आज धपक्क बलिरहेको थियो ।

पसलमा आउने जाने धेरै मानिस थिए । आज लङ्गडाले यसरी आफ्नै पैसा निकालेर खाइरहेको देखेर धेरै मानिसले कौतुकका दृष्टिले पनि लङ्गडातिर हेर्दथे । यो बुझेर लङ्गडाले अझ बाहिरबाट सबै मानिसले सुन्ने गरी दुई-चारवटा रसगोला र पन्तुवा माग्थ्यो र आफ्नो रूमालबाट पैसा झिकेर फ्याँकिदिन्थ्यो । आफूले किनेर स्वतन्त्रतापूर्वक खानमा कति आनन्द रहेछ आजै जीवनमा प्रथमो- प्रथम लङ्गडाले अनुभव गर्यो !

कुकुर टपरीको मासु र भात खाइसकेपछि मुख चाट्दै लङ्गडाको अनुहारमा हेर्न थाल्यो । लङ्गडाले एउटा सेल टिपेर कुकुरको अघिल्तिर फालिदिएर भन्यो, ‘खा ! अरू के खान्छस् काले ?…. मेरो जीउ छउन्जेल मोज गर..!”

सधैँ घण्टौं पसलको अघिल्तिर सलाम गर्दै मागी मागी खाने लङ्गडाको आज यस्तो रवाफ र फुर्ती देखेर मानिसहरूको मनमा आश्चर्य लागिरहेथ्यो ।

आज लङ्गडालाई आफ्ना बिग्रेका अंगहरूको वास्ता छैन ! मानिसहरूले आफ्नो अवस्थामाथि उपहास गर्लान् भन्ने उसलाई सम्झना पनि छैन किनभने कसैको अगाडि आज लङ्गडाले ‘हजुर, एक पैसा’ भनेर टीठ लाग्दो आँखाले हेर्दै दाताको अघि हात पसारेको थिएन । आफ्नै संसारमा लङ्गडा स्वतन्त्र थियो ।

लङ्गडाले यसरी पेटभरि खाइसकेपछि मुख पुछ्दै आफ्नो पोको काँधमा भिर्यो । ऊसित अझ एक-दुई रुपियाँ जति उब्रेको थियो त्यसलाई चाहिँ रुमालमा बाँधी पोल्टाभित्र घुसार्यो । यति गरेपछि ऊ दुवै काठको भरमा बडो फूर्तिसाथ घस्रँदै त्यहाँबाट हिंड्यो ।

लङ्गडा खुशीले घस्रँदै चोकको फाँटमा यता र उता डुलिहिंड्यो । आज ऊ कतै माग्न गएन । आज उसको मन बडो हलुंगो थियो । आज उसको चित्ताकाशमा कुनै प्रकारको चिन्ता, भय, शंका वा निराशा थिएन । आज असल अंग हुने संसारका अरू सर्व-साधारण मानिस जस्तै आफूलाई पनि ऊ ठानिरहेको थियो ।

दिनभरि रमाइलो घाम लागिरह्यो ! लङ्गडा बेलुकी जितेन झोड़ामाथि बस्ने हावा घरनिर बसिरह्यो । त्यहाँ सिमेन्टका खाँबाहरू थिए, त्यहाँ खयर र पानको चुना पुछेको दाग, पान खाएर थुकेको दाग, कोइलाले यत्रतत्र कोरिराखेका अश्लील चित्रहरूका रेखाङ्कन पनि थिए; त्यहीं अढेस लागेर टाढातिर ऊ हेर्न लागेको थियो । कुकुर पनि उसैको छेउमा गुँडुलिएर निर्विघ्न सुतिरह्यो ।

दिन ढल्किसकेको थियो । बिहानको रमाइलो सूर्य्यका किरण अहिले फेरि अस्त हुन लागेको हिमालका टाकुराहरूमा देखिए । ती सुनौला किरणले हिमालका टुप्पाहरू स्पर्श गर्दा त्यहाँ साह्रै राम्रो चित्रमय दृश्य देखिन्थ्यो । चारैतिर अन्धकार छाएर आइसकेको थियो – बेलुकीको हावा बग्न लागेको थियो । चाँदमारीका घरहरू अस्पष्ट देखिन लागे ।

आज प्रकृतिको सुन्दर तर उदासमय दृश्य हेर्दै लङ्गडा भावुक भएर साँझसम्म त्यहीं बसिरह्यो । आज उसको मनमा अतीतका धेरै घटनाहरू स्मरण भए । आज आफ्नो बाल्यकालको सुमधुर स्मृतिले उसलाई बडो उदास र भावुक बनायो । उसलाई आफ्नो बाल्यकालको जीवन झल्याँस्स स्मरण भयो । त्यो बेलाको जीवन सम्झँदा र अहिलेको जीवन सम्झँदा उसलाई सपना जस्तै लाग्यो । उसले सुन्दर ठानेको संसारमा रहेर पनि आज ऊ समाजदेखि धेरै पर माग्ने भिखारीको एकान्त संसारमा आफूलाई एक्लै बसिरहेको पायो ।

रात परेपछि लङ्गडा त्यहाँबाट उठ्यो । माथि चोकमा आइपुग्दा चारैतिर बिजुली बलिसकेको थियो । लङ्गडा निकै बेरसम्म एउटा बिजुली बत्तिको छायामनि बसिरह्यो । आज उसलाई आफ्नो झुप्रोमा जाने इच्छा पनि भएन । रात निकै बित्न लागेपछि म्युनिसिपल बिल्डिङ्गको सिंढी उकालो घस्रँदै चढ्न लाग्यो । माथि आएर एउटा कुनामा बोरा ओछ्यायो । कुम्लो सिरानी बनायो । फेरि डल्लो परेर त्यहीं सुत्यो । फाटिसकेको मैला पाखी थियो त्यसैले मुख पनि ढाक्यो । उसैको गोडानेर कुकुर पनि गुँडिलिएर सुत्यो ।

लङ्गडा चाँडै निदायो । उसले सपनामा आफ्नो कुकुरलाई देख्यो – कुकुर त एउटा मैला ढ्वाङ्गनिर सुतिरहेको रहेछ । लङ्गडा चाहिँ वर सडकको एक कुनामा मन्दिरको भित्तापट्टि सियाँलमा बसिरहेको थियो । देख्ता देख्तै एउटा गिद्ध आकाशबाट ओर्लेर आयो र गिद्धले कुकुरको मासु लुछ्न लाग्यो, कुकुर करायो । गिद्ध उडेर गयो । कुकुर मरेन-बाँच्यो । फेरि अर्को गिद्ध झम्टेर आई लङ्गडाको जीउमा बस्यो र उसको निधारमा ठुंग्न लाग्यो । लङ्गडा करायो । अरू धेरै गिद्धहरू पनि आए अनि लङ्गडाको मासु लुछालुछ गर्न लागे । लङ्गडाले हेर्दा हेर्दै उसको जीउको मासु गिद्धले खाइसकेको देख्यो- तैपनि लङ्गडा उठ्ने कोशिश गरिरहेथ्यो । एक छिनमा कुकुर आयो । गिद्धहरू भागे । गिद्धले लुछिसकेको आफ्नो हाड मात्र भएको शरीरलाई मन्दिरको नालीमा लडिरहेको लङ्गडाले देख्यो- कुकुर चाहिँ त्यसैको छेउमा अझ बसिरहेको थियो !

लङ्गडा सपनाबाट झस्केर ब्युँझ्यो ।

उसले कस्तो सपना देख्यो ! उसलाई आश्चर्य लाग्यो- उसले विचार गर्यो । तन्द्राबाट बिस्तारै उठेर ऊ टुक्रुक्क बस्यो । आफ्नो जीउ छाम्यो । कुकुरलाई पनि उसले छाम्यो । शीतले उसको जीउको लुगा भिजिसकेको रहेछ । चारैतिर शून्य थियो । टाढामा गिर्जाको घण्टाले दुई हानेको सुनियो ।

रातको निस्तब्ध प्रहारमा घण्टाको यो सानो ध्वनी समेत लम्मिएर कति टाढा पुग्दछ ! अनि सुन्नेको मनमा पनि अहिले त्यो गिर्जाको त्यो “ट्वाङ्ग ट्वाङ्ग” ध्वनि रातको शून्य वातावरणमा झन् झन् स्पष्ट भएर बजिरहेको सुनिन्छ तर छिट्टै रातको पातलो हावामा मिसिएर त्यो ध्वनि लहरिंदै उतै फेरि गए जस्तो पनि लाग्दछ …।

लङ्गडालाई पनि अहिले त्यस्तै लाग्यो ।

धेरै बेरपछि लङ्गडा अलि परतिर सरेर फेरि सुत्यो ।