महाकाल बाबाको थानमा मिरीरी घाम झुल्किसक्दा पनि पश्चिमपट्टि फर्केको दार्जिलिङको चोक बजारमा अझ घामै झुल्केको थिएन । बिहानीपख, टाढामा देखिने पूर्वतिरका ती नीला पहाडहरूबाट लहरै लहर माला जस्ता भएर झरेका उपत्यकाहरूमा पनि सूर्यका लामा लामा किरणको छाप अहिलेसम्म परेकै थिएन । केवल प्रातः कालदेखि देखिने उत्तरपट्टिको पर्वतराज हिमालयका ती चुच्चे टाकुराहरूमा भने सुनौला तर गुलाफी किसिमको टलक रमाइलो गरी धेरै बेरदेखि खेलिरहेको थियो । तर जति जति सूर्य मास्तिर आकाशमा उक्लँदै जान्थे उति उति त्यो टलक पनि फिका हुँदै हराउँदै त्यस ठाउँ चाँदीको जलपको रूपमा विस्तार विस्तार परिवर्तन हुँदै जान्थ्यो ।

महाकाल बाबाको थान वरिपरि रातभरी शीत र चिसो हावाले काम्न लागेका रूखका पातहरूमा बल्ल सूर्यका पहेँला किरण पर्दा चारैतिर प्रकृति एक्कासि सुनको जलप लाएर हाँसे जस्तो देखियो । धेरै शीतका थोपाहरू रूखका पातमा काम्दै झुण्डिरहेका थिए, ती पनि अहिले त सुन जस्तै भएर चम्किरहेका थिए । गुराँसको बोटका हाँगाहरूमा भर्खर भर्खर गुलाफी र गहिरो रातो रङ्गमा फक्रन लागेका फूलहरू थिए तिनलाई पनि सूर्यको उष्ण किरणले अहिले नै म्वाइँ खाला खाला जस्तो देखिन्थ्यो ।

सधैं अग्लो डाँडामा रहेको महाकाल बाबाको थानमा पहिले घाम लाग्थ्यो । अनि पछि पूर्वपट्टि फर्केर बसेको भोटे बस्तीतिर घाम ओर्लंदै झर्थ्यो । पछिल्तिर रहेको चोक बजारतिर भने हत्तपत्त घामै नलाग्ने हुनाले त्यतापट्टि अहिलेसम्म पनि शून्य जस्तो नं थियो । त्यहाँ शीतको अझै ठूलो साम्राज्य थियो ।

माघ फागुनको उत्कट जाडो । त्यसैले पश्चिमतिर फर्केर बसेको सारा दार्जिलिङ शहर जाडाले कक्रिरहेको थियो । वारिपारि देखिने घर, कोठी र तिनका राता राता छाना तथा बाटा-घाटा, रेलिङ, पार्क, हावाघर ती सब अहिलेसम्म जाडाले कठांग्रिरहेकै जस्ता देखिन्थे । अग्ला अग्ला धूपीका रूखहरू समेत बिहानको जाडा र शीतको प्रहार सहन गर्दै चुपचाप ठिङ्ग उभिरहेका जस्ता देखिन्थे ।

आज दिन त राम्रै उघ्रेको थियो तापनि जाडाले भने मुटु छेड्थ्यो । यस्तै जाडाको बिहान एक दुई मानिसहरू छातीमा मुन्टो घुसारेर दुवै हात पाकेटमा हाली शून्य भावले यत्रतत्र हिँडिरहेका देखिन्थे । चोक बजारको पानका पसलहरू विस्तार विस्तार उम्रन लागेका थिए । चोकमन्तिर रक्सी बेच्ने गड्डीखानको एउटा साँगुरो गल्लीबाट भने रक्सी र जाँडको तीव्र दुर्गन्ध लिएर बिहानको हावा अझ बगिरहेकै थियो ।

चोक बजारको फाँटबाट झरेको लामा सिमेन्टको सिँढी तलतिर गड्डीखानको ओह्रालो जाने छिंडीमा जताततै मैला र हिलो थियो। सडकको छेउतिर आलु र प्याजका बोक्राहरू, कुखुराको फुलका खोस्टाहरू यत्रतत्र देखिन्थे – नालीमा मैला कसिंगर थुप्रेर कुहेका साग सब्जीको सानो पहाड जस्तो जमेको थियो । गड्डीखानको छिंडीबाट जाँदा निकै तलतिर भित्तापट्टि टोनले बारेको एउटा थोत्रे घर जस्तो खाली ठाउँ थियो । त्यस- लाई घर नभनेर झुत्रो नै भने हुन्छ- किनभने त्यसको छानु पुरानो मट्टितेलको टिनलाई सोझ्याएर बनाएको थियो तथा हावाले उडाउला भनी त्यसलाई ढुंगाले थिचिराखेको थियो ।

त्यो एउटा उराठलाग्दो झुप्रो थियो-भित्ताको सहारामा एक दुई काठ गाडी टीनले बारेर एउटा मानिस सुत्नसम्म हुने सानो ठाउँ बनाएको थियो । त्यहाँ न बलियो ढोका थियो, न भित्ता, न त बिजुली । ढोकाको नाउँमा दुई चारवटा मर्किसकेका काठ जोरेर आग्लो लाउनेसम्म बनाएको थियो । त्यहाँ आधुनिक ‘फर्निचर’ को नाउँमा केवल फुको धूलोसरीको भुइँमा दुई–चारवटा पुराना फल्याक मात्र ओछ्याइएका थिए ।

त्यही ठाउँमा एउटा कुकुर गुँडुलिएर कुनापट्टि सुतिरहेको थियो । अनि त्यसैको छेउमा एक जना मानिस पनि आफ्नो बोरा थाङ्नामा गुटुमुटु भएर एक डल्लो परी निर्विकार अवस्थामा सुतिरहेको थियो ।

दिन चढ्दै गयो । चोक बजारका अग्ला अग्ला बिल्डिङ र सेता घरहरूमा अब न्यानो घामको किरणले स्पर्श गर्दै लग्यो ! तैपनि त्यस झुप्रोमा सुत्ने त्यो मानिस र कुकुर सुती नै रहे… मानो कुकुर र त्यो मानिसमा सुत्नको निम्ति होड भै राखेको छ ।

बिहानको चिसो हावाको प्रबल आघात खाएपछि बल्ल त्यो मानिसको निद्रा टुट्यो र निद्राबाट जुर्मुरिंदै उठ्यो । एकातिर दुःस्वप्नबाट झस्केर ब्युँझे जस्तो गरी उठेर ऊ टुक्रुक्क बस्यो ।

जाडाले कक्रिएकोले ऊ एक डल्लो परिरहेको थियो । निकै बेरसम्म ऊ त्यत्तिकै भावशून्य अवस्थामा निश्चेष्ट बसिरह्यो । वहाँपछि उसले आफ्नो सिरानमनिबाट दियासलाई र बिडी झिकेर सल्कायो ।

कुकुर भने अझे अचल भएर सुतिरहेको थियो । त्यो मानिस केही बेरसम्म बिडी फुक्दै शून्य भावले त्यस कुकुरतिर हेरिरह्यो ।

कुकुर आनन्दले मग्न सुतिरहेको देखेर त्यस मानिसको मनमा अलिकति हिंसा भयो । तैपनि त्यसले एकनाससित कुकुरलाई हेरी नै रह्यो ।

एक छिनपछि त्यसका मनमा के विचार आयो- त्यसले मुख भरो बिडीको धुवाँ तानेर कुकुरको नाकमा फू गरेर फुकिदियो । त्यति गरेपछि बल्ल त्यो कुकुर पनि कान फटफटाउँदै उठ्यो । मन नपरी नपरी आङ तन्कायो अनि लामो जिभ्रो निकालेर हाई काढ्दै त्यस मानिसको मुखमा पुलुक्क हेर्यो । कुकुरलाई हेरेर त्यो मानिस मुसुक्क हाँस्यो, फेरि आफ्ना दुवै घुँडाको माझमा मुन्टो त्यसले घुसार्यो र बिडी तान्न थाल्यो ।

यसरी केह बेरसम्म गम्भीर चिन्तामा डुबेपछि त्यो मानिस कतै जान तयार भयो । उसले कुनामा राखेको आफ्नो झोली देब्रे काँधमा भिर्यो -आफ्नो कालो चिल्लो लौरो दाहिने काखीमा च्याप्यो अनि दुवै हत्केलामा काठको टेक्ने समातेर त्यसैको सहाराले त्यो झुप्रोबाट निस्क्यो र ऊ गड्डीखानको उकालो लाग्यो….कुकुर पनि उसको पछिपछि हिंडिरहेको थियो

= = = =

मानिसहरूले उसलाई लङ्गडा भनी उसका बिग्रेका अङ्गहरू देखाएर ठट्टा गर्थे – जिस्क्याउँथे । कोही मानिस सुकिलो लुगा लाएको हेर्दा भलादमी जस्तो भए लङ्गडा केही प्रतिवाद गर्दैनथ्यो केवल आफ्नो उपहास गर्नेको मुखमा निःसहाय भएर केही नभनी टुलुटुलु मात्र हेरिरहन्थ्यो । तर लङ्गडाको त्यो हेराइमा एउटा भयानक घृणा तथा प्रतिहिंसाको ज्वाला अंकित भएको हुन्थ्यो तर केटाहरू तथा बालक बालिकाहरूले उसलाई खिज्याए भने ऊआगो हुन्थ्यो ।

शहरका बदमाश केटाकेटीहरूको एक दल थियो-तिनीहरू उसलाई ‘भुइँ भालु’ भनी खिज्याउँथे । ऊ रिसले भुतुक्क भएर आफ्नो लौरो टिपी झटारो हान्न खोज्थ्यो । त्यति बेला कसरी उसका दुवै हातमा अपूर्व बल आउँथ्यो ! सुकेर खुम्चिएका दुवै खुट्टालाई घसार्दै, लङ्गडाले दुवै हातको काठ छिटो छिटो सार्दै आफूलाई जिस्क्याउने केटाहरूलाई लखेट्थ्यो । स्कूल जान लागेका केटाहरूसमेत त्यहाँ सामेल हुन्थे र धेरै बेरसम्म यसरी लङ्गडालाई विरक्त पार्थे । लङ्गडा पनि असिना पसिना हुँदै ती शत्रुहरूलाई खेद्न छाड्दैनथ्यो । केटाकेटीहरूको भीड जम्थ्यो ।

कति वर्षदेखि यस्तै जीवन उसले यापन गरिरहेको थियो । त्यसैले कुनै केटाकेटी आफ्नो अघिल्तिरबाट गइरहेको छ भने उसले शत्रु नै सम्झन्थ्यो र भयातुर दृष्टिले त्यसलाई हेर्दथ्यो । केटाकेटी देख्नेबित्तिकै उसले यस्तो शंकित हृदयले हेर्थ्यो- जस्तो टोक्ने बानी भएको कुकुरले हिंडिरहेको मानिसलाई फर्केर हेर्दछ !

आफूलाई जे भनोस् – आफ्ना बिग्रेका अङ्गहरूको जति नै उपहास गरोस् ऊ सहन गर्न सक्थ्यो । परन्तु आफूलाई ‘भुइँभालु’ भनी खिज्याएको लङ्गडाले पटक्कै सहन सक्तैनथ्यो । दिउँसो आफूलाई यसरी विरक्त पार्ने शत्रुहरूमाथि बदला लिन नपाउँदा उसको साह्रै नै चित्त दुख्थ्यो र राती जब उ सुत्थ्यो त्यति बेला ती कुराहरू मनमा सबै सम्झिरहन्थ्यो । चारंतिर चकमन्न हुन्थ्यो ! चारैतिर शून्य हुन्थ्यो । आफूलाई विरक्त पार्ने शत्रुहरूलाई सम्झेर उसलाई कहिले साह्रै दुःख लाग्थ्यो, कहिले रिस उठ्थ्यो र ती एक एक शत्रुलाई गाली गर्दथ्यो-मध्य रातमा धेरै बेरसम्म उ एक्लै गुनगुनाइरहन्थ्यो ।

ती दुष्ट केटाहरू बाहेक संसारमा उसको अरू कुनै शत्रु थिएन । कुनै विरोधी थिएन । उसलाई डर र घृणा थियो भने

शहरका तिनै केटाहरूको । स्कूल जान लागेको केटाहरूका दल देख्यो भने उ बिस्तारै पसलको आडमा लुक्थ्यो वा नदेखे जस्तो गरी ऊ टोलिन्थ्यो । आफ्नो अघिल्तिरबाट ती केटाहरू गइसकेपछि मात्र लङ्गडाले मुन्टो फर्काउँथ्यो र पछिल्तिरबाट राता राता आँखा पारेर छड्के नजरले हेरिरहन्थ्यो– उसका आँखामा त्यस बखत क्रोध, विभिषिका र असहनीय घृणा नाचिरहन्थे ।

 केटाहरूलाई देख्नासाथ उसको अनुहार एकाएक गम्भीर र आतंकपूर्ण हुन्थ्यो । ती केटाहरू अदृश्य भएपछि मात्र उसले अरूतिर नजर घुमाउँथ्यो र सन्तोषको लामो सास फेर्दथ्यो । उसका आँखामा वेदनाले भरिएको हाँसोको क्षीण आभास झल्कन्थ्यो- ठूलो विपदबाट निष्कृति पाए जस्तो गरी ऊ हाँस्न हाँस्न खोज्थ्यो ।

लङ्गडालाई बिहान र बेलुकीभन्दा पनि दिउँसो जब स्कूलका केटाहरूको टिफिनको छुट्टी हुन्थ्यो उस बेला जीउ जोगाउन धौ-धौ पर्थ्यो । लङ्गडा बजारतिर बसेर मागिरहेको हुन्थ्यो- टिफिनको छुट्टीमा केटाहरू दलका दल मिलेर आउँथे अनि लङ्गडालाई सडकमा देख्नासाथ ‘भुइँ भालु, भुइँ भालु’ भनी जिस्क्याउँथे । लङ्गडा नसुनेको जस्तै गरी आफ्नो लौरो टिपेर दुइटा काठका सहाराले छिटो छिटो हात खुट्टाले घस्रँदै कुनै पसलको कुनामा गएर आड लिन्थ्यो र भित्तापट्टि फर्केर बिडी सल्काउने निहुँ गरी धेरै बेर टोली रहन्थ्यो । तर ती दुष्ट केटाहरू लङ्गडाको नजिकै आएर उसैलाई चारै पट्टिबाट घेरी ‘भुइँ भालु’ भनेर जिस्क्याउँथे- चिच्याउँथे – अझ कसैले ता लङ्गडाको अघि भालु हिँडेको विकृत चाल नकल गरी लङ्गडालाई खिज्याउँथ्यो पनि । लङ्गडाले यतिञ्जेल सहन गरिरहेको रिस एक्कासि सोडा पानीको गेस जस्तो हुस्स भएर आउँथ्यो । फनक्क फर्को लौरो टिपेर केटाहरूलाई झटारो हान्थ्यो र गाली वर्षाउन लाग्थ्यो । केटाहरू निमेषमा यत्रतत्र भाग्थे

यसैले लङ्गडा दिउँसो चोकबजारको मिठाई पसलको अघिल्तिर अथवा अरू पसलेहरूकहाँ केही मागिरहेको छ भने अनायास उसको दृष्टि माथिको अग्लो टाउन हलको घडीमाथि पर्दथ्यो । टिफिन हुने बेला भयो भने लङ्गडा बिस्तारै   त्यहाँबाट उठेर साँगुरो गल्लीमा जान्थ्यो र वहाँ धेरै बेर  बसिरहन्थ्यो । नत्र जितेन – झोडामाथि हावा घरमा माग्नेहरूको बस्ने अड्डा जस्तै छ – त्यहीं गएर ऊ पनि बसिरहन्थ्यो ।

अरू बेला दिनभरि बजारमा गएर माग्थ्यो । सडकको छेउमा बसेर बाटा हिँड्नेलाई भन्थ्यो- ‘हजुर, एक दुई पैसा दया होस् न’ । कहिलेकाहीं कवित्व भाषामा माग्ने गर्थ्यो– ‘हजुर, गरीब गुरबालाई कहिले त दया होस् न…धर्म हुन्छ हजुर धर्म !’ अनि हात पसार्थ्यो । एकन्नी दुवन्नी हातमा पर्दा ऊ मुसुक्क हाँस्थ्यो !

दिनभरि मागेको पैसाले उसलाई सधैं खान पुग्दैनथ्यो र होटेलको अघिल्तिर वा चिया वा पूरी मिठाईको पसल अघिल्तिर गएर टुक्रुक्क बसिरहन्थ्यो । केही खानेकुरा नपाएसम्म ऊ त्यहाँबाट जाँदैनथ्यो । यसरी घण्टौं त्यहाँ बसेपछि कहिले उसले रोटीको टुक्रा वा मिठाई पाउँथ्यो कि ता उब्रेको भात मासु र बासी तर्कारी पाउँथ्यो ।

खानेकुरा पाएपछि लङ्गडा बडो प्रसन्न भएर दुवै हातले थापीकन कृतज्ञताको स्वरले भन्थ्यो – “लो हजुर….गरीब गुरबालाई दया गर्नुभो !” पोल्टाबाट फाटेको रुमाल झिकेर खानेकुरा पोको पारी कतै लगेर खान्थ्यो । बजारको एउटा भतुवा कुकुर पनि सधैं त्यसका पछि पछि जान्थ्यो – त्यो पनि लङ्गडालाई पच्छ्याउँथ्यो र उसले खाएको हेरिरहन्थ्यो । पहिले पहिले ता लङ्गडाले त्यसलाई हेर्नै सक्तैनथ्यो र धपाउने कोशिश गर्थ्यो तर त्यो कुकुर भने जान मान्दैनथ्यो । दुई चार कदम पछि हटेर फेरि लङ्गडाको नगिचै आई दयनीय आँखाले उसले खाएको हेरिरहन्थ्यो । त्यो देखेर लङ्गडाको हृदयमा गम्भीर मानवी प्रश्नहरू आउँथे-उसले मनमनै विचार गर्थ्यो ।

‘यो कुकुरलाई यसरी धपाउँदा पनि जाँदैन । मेरो पछिपछि लागिरहन्छ । तर भोक तिर्खा भनेको सबैको उही हो- के हामी मानिस-के पशु ! बरा, यो पनि त म जस्तै होला । यो पनि त अर्काको दया र भिक्षाले संसारमा बाँचिरहेको होला । गरीबले गरीबकै कष्ट बुझ्दछ । धनीहरू जो मोटरमा हावा खाइहिंड्छन्, जो होटेलतिर मीठो-मीठो खाने थोक खाइहिँड्छन्, जोसित आज हजारौं लाखौं रुपियाँ छ, के कुनै दिन उनीहरूले यो बिचरा माग्नेले भर पेट खाएको होवैन भनी सम्झेर एकदिन यसो ख्वाएको छ ? ओहो ! माग्नेलाई हेरेर गरीबहरूलाई देखेर कुनै दिन मनमा दया जागेको छ ? दुनियाँमा स्वाङ गर्न पाए मोराहरू खुशी हुन्छन् । बरु गरीबक मनमा गरीबमाथि दया जाग्दछ । एउटा भिखारीले अर्को भिखारीको कष्ट जान्दछ । यो कुकुर पनि संसारमा म जस्तै मागी खाने एउटा प्राणी होला ।’

ती कुराहरू विचार गर्दा गर्दै दया र गम्भीर सहानुभूतिले उसको हृदय आर्द्र हुन्थ्यो । कुकुरलाई अँगालेर आफ्नो छातीमा टाँसी जीवनको एउटा साथी बनाउने इच्छा हुन्थ्यो । कुकुरलाई उसले छेउमा बोलाएर खानेकुरा दिन्थ्यो र एक छिन मुसार्दथ्यो । कुकुर पनि अत्यन्त आनन्दले पुच्छर हल्लाउँदै लङ्गडाको मुखमा हेरिरहन्थ्यो । त्यो कुकुर पनि दिनभरि अब लङ्गडासितै बसिरहन्थ्यो- त्यो यताउता कतै नगई लङ्गडाकै पछिपछि जान्थ्यो ।

यसो हुँदा कुकुर र लङ्गडाको बीचमा एउटा यस्तो घनिष्ठता बढ्दै गयो दुवैको हृदयमा यस्तो सहानुभूति सञ्चार हुँदै गयो, कुनै दिन लङ्गडाले कुकुरलाई देखेन भने ऊ छटपटाउन लाग्थ्यो । कुकुरलाई एक दिन देखेन भने लामो यात्रामा आफूसित हिँड्न लागेको साथीलाई एक्कासि हराए जस्तो उसलाई लाग्थ्यो । अनि कुकुर पनि यता उता डुलेर आएपछि फेरि लङ्गडाकै साथमा घनिष्ठ आत्मीय जस्तो भएर बसिरहन्थ्यो । कहिलेकाहीं लङ्गडा कतै गएको छ भने तथा लङ्गडालाई बजारमा देखेन भने त्यो कुकुर सडक र गल्लीहरू सुँध्दै लङ्गडा भए ठाउँमा लुखुर-लुखुर घुम्दै आइपुग्थ्यो; कुकुरलाई देखेर लङ्गडाको अनुहार प्रसन्नताले दीप्त हुन्थ्यो अनि ऊ कुकुरलाई धेरै बेरसम्म मुसारिरहन्थ्यो । कुकुर पनि खुशीले पुच्छर हल्लाउँदै लङ्गडाको अनुहार चाट्ला चाट्ला जस्तो गर्थ्यो ।

केही दिनपछि त्यो कुकुर लङ्गडासितै बस्न थाल्यो । दिनभरि लङ्गडालाई नछोड्ने भयो । लङ्गडाले पनि आफूले खाएको आधा रोटीको टुक्रासमेत कुकुरलाई दिन्थ्यो । भात मासु खान पाएको दिन कुकुरलाई पनि केही मासु भात मुछेर आफ्नो छेउमा खान दिन्थ्यो । तर कहिलेकाहीं कुकुरले थपक्क मुख गाडेर लङ्गडाले खान लागेको मासुको टुक्रा झिकिहाल्थ्यो । लङ्गडा रिसले भुतुक्क हुन्थ्यो- लौरो टिपेर कुकुरलाई झटारो हान्दै भन्थ्यो, “काठा ! टिठ्याएर खान दिएकोले नहुने !”

तर लङ्गडाको रिस एकै छिनपछि हराउँथ्यो । रिस मरेपछि आफूले अलिकति उबारेर कुकुरलाई फेरि खान दिन्थ्यो । लङ्गडाको संसारमा आफ्नो भन्नु कोही थिएनन् स्त्री, न छोरा- छोरी, न भाइ, न बहिनी । उसको सँगीहीन बन्धुहीन एकान्त जीवनमा दुःख सुखको साथी भने पनि, आत्मीय भने पनि त्यही एउटा कुकुर थियो ।

यसरी हिउँदको मुटु छेड्ने याममा पनि तथा दार्जिलिङको वर्षाको मुसलधारे पानी झरीमा पनि यी दुवैसँगै हुन्थे ।

पहिले पहिले त लङ्गडा स्टेशनको बाटा छेउमा बसेर माग्ने गर्थ्यो । दिनभरि कुइरो र बादलले डम्म छोपिएको पृथ्वीको एकान्त कुनामा बसेर मागिरहन्थ्यो । बेलुकी भएपछि केही खानेकुरा जोगार गरी स्टेशनको वरतिर बाटामुनि हावा घरमा बसेर खान्थ्यो । रात पर्न थालेपछि त्यही हावा घरको छेउमा सडकको मन्तिर भित्तापट्टि सिमेण्टका खम्बाहरू थिए, त्यहाँ गुफा जस्तो ओत लाग्ने ठाउँ पनि थियो । लङ्गडा त्यहीं गएर अरू माग्नेहरूसित सुत्थ्यो ।

कति हिउँद, कति वर्षा उसले काटिसकेको थियो । अब उसको संसार नै बेग्लै भइसकेको थियो । मागेर खानु जन्म सिद्ध अधिकार जस्तै उसले ठान्थ्यो । जन्मँदा आफू माग्ने नै भएर जन्मेको भनी ऊ सम्झन्थ्यो । आफ्नो पूर्वजन्मको पापले मानिसलाई विधाताले लङ्गडा बनाई, अन्धा बनाई, कुंजे बनाई, शक्तिहीन बनाई संसारको यातना र कष्ट भोग्न पठाएका होलान् भनी उ विचार गर्थ्यो । वर्षौं यही एकनासले जीवन यापन गरिरहेकोले मागी मागी पेट भर्नु अब उसले आफ्नो धर्म ठान्न थालेको थियो । सभ्य र परिष्कृत समाजदेखि धेरै पर गृहहीन भएर उसले संसारमा आफ्नो एकान्त जीवन बिताइरहेको थियो ।

सारा संसारले उसलाई अवहेलना गरे पनि, निर्दयतापूर्वक अमानुषिक व्यवहार गरे पनि ऊ मूक भएर नै सबै सहन गरिरहन्थ्यो । सधैँ भगवान्लाई सम्झन्थ्यो र उसको न्याय र अन्यायको विषयमा विचार गरिरहन्थ्यो । भगवान् उपर उसको अलिकति पनि अविश्वास र शङ्का थिएन । सृष्टिकर्ताले बनाएको यो पृथ्वी सबै राम्रो छ-त्यहाँ त नराम्रा कुरा केही छैनन्; मरुन्ज्याल् मानिसले आफ्नो आफ्नो कर्तव्य गरिरहनुपर्छ भन्ने उसलाई लाग्थ्यो ।

तर कहिलेकाहीं असल अङ्ग हुने राम्रो मानिसहरूले आफ्ना विकृत अङ्गहरू हेरेर हिस्सी उडाउँदा भने उसलाई अन्यस्थलसम्म आघात लाग्थ्यो । उसले आफ्ना अङ्गहरूतिर हेर्दथ्यो । आफ्नो अघिल्तिरबाट गइरहेको असल मानिसलाई पनि हेर्दथ्यो ।

अनि एउटा गम्भीर प्रश्न उसका हृदय कोटरमा आउँथ्यो….। उसले आकाशतिर उँभो टाउको उठाएर एकछिन हेर्दथ्यो । उसको हृदय उदास हुन्थ्यो । लङ्गडाको आत्मा दुःखित हुन्थ्यो, उसको आँखामा आँसु छल्कन लाग्थ्यो– त्यसबेला भने सृष्टिकर्ताको न्याय हो वा अन्याय, उसले बुझ्ने चेष्टा गर्थ्यो ।

बाहिर उत्तिकै घनघोर वर्षा भइरहेको हुन्थ्यो । ऊ कतै ओत लागेर उदासमय प्रकृति हेरिरहन्थ्यो । दार्जिलिङ शहरमा बाक्लो धुवाँ जस्तै चारैतिर हुस्सु लागेको हुन्थ्यो, कि ता सिमसिमे पानी परिरहेको हुन्थ्यो । लङ्गडा थोत्रे छाता ओढी सडकको एक किनारमा नबोली घण्टौं बसिरहन्थ्यो । त्यहाँ हुस्सुले डम्म ढाकेको पृथ्वी हेर्नु उसलाई साह्रै मन पर्थ्यो त्यो हेर्दा उसले एउटा रहस्यमय आनन्द अनुभव गर्थ्यो । आफ्नो छेउबाट हिलोदेखि जोगिँदै सुकिलो लुगा लाउने स्त्री पुरुष एकोहोरो हिंडिरहेका हुन्थे । गोरु-गाडाहरू गइरहेका हुन्थे । पीच लाएको कालो सडक भिजेर टल्किरहेको हुन्थ्यो अनि त्यहाँ रङ्ग बिरङ्गका मोटरहरू हावा जस्तो बेगले दगुरेर हुस्सुभित्र बेपत्ता हुन्थे ।

त्यो, आफूले यथार्थमा अनुभव नगरेको, त्यो-कल्पित संसार हेर्दा उसलाई बडो रहस्यमय लाग्थ्यो । अनेक गम्भीर प्रश्न उसका मनमा आउँथे । उसको हृदय गम्भीर प्रश्नले भारी हुन्थ्यो । यसरी घण्टौं आफ्नै विचारमा, आफ्नै कल्पनामा, आफ्नै संसारमा ऊ डुबिरहन्थ्यो । पानी दिनभरि परिरहन्थ्यो । अनि झरी थामिएपछि जब दिन सफा हुँदै जान्थ्यो- जब रमाइलो घाम लाग्थ्यो उसले लामो निःश्वास लिएर आफ्नो चारैतिर हेर्दथ्यो उसको अनुहारमा प्रसन्नताको क्षीण झलक देखिन्थ्यो । अनि कुनै गम्भीर प्रश्नको समाधान भए जस्तो आनन्दले ऊ मुसुमुसु हाँस्थ्यो । उदासमय प्रकृतिले उदास पारेको उसको हृदय फेरि एकाएक प्रफुल्लित हुन्थ्यो अनि बडो फुर्तीसाथ त्यहाँबाट उठेर अस्वाभाविक चालले घस्रँदै अन्यत्र जान्थ्यो ।

कहिले लोयडस् रोडको छेउमा जुत्ताको पसल अघिल्तिर बसेर मागिरहन्थ्यो । दिनभरि टन्टलापुर घाम लागिरहेको हुन्थ्यो । एक्कासि कालो बादल आई आकाश ढाक्थ्यो र पानी पर्न लाग्थ्यो । हेर्दाहेर्दै घनघोर वर्षा हुन्थ्यो । लङ्गडाले आधा बिँड भाँचिएको धेरै ठाउँ टालेको थोत्रो छाता उघारेर पसलको आडमा ओत लाग्थ्यो । तर दर्के पानीको बाछिटाले भने उसको जीउ जम्म भिज्थ्यो । झन् हावा चल्न लागेपछि त उसको साह्रै दयनीय दशा हुन्थ्यो । उ जति छाताभित्र एक डल्लो परेर वर्षाको पानीदेखि बाँच्न खोज्थ्यो हावाले झन् उसको छाता पल्टाउन खोज्थ्यो । दुवै हातले छाता समातेर जोगिँदा जोगिँदै पनि हावाले उसको छाता ह्वार्लाङ्ग उँभो फर्काइदिन्थ्यो । लङ्गडा दर्के पानीमा भिज्दै बडो कठिनले छातालाई सोझो पार्न खोज्दथ्यो अनि त्यहाँदेखि अर्को ठाउँ सर्ने बल गर्थ्यो-लङ्गडाको त्यो अवस्था देखेर नजिकैको घडी पसलमा ओत लाग्ने मानिसहरू हाँस्थे !

रेस्तुराँको झ्यालबाट हेर्ने मानिसहरू पनि लङ्गडालाई हेरेर हाँस्थे । तर लङ्गडा त्यसको वास्तै नगरी पानीमा भिज्दै भिज्दै अर्कै ठाउँमा जाने कोशिश गर्थ्यो । भरे राती पानी थामिएपछि भिजेकै लुगा लाएर ऊ सुत्थ्यो ।

कहिले बिहानदेखि बेलुकीसम्म सिमसिम पानी परिरहन्थ्यो । सडक, गल्ली, छिंडी, घर, दलान, पानीले भिजेर सबै हिलै हिलो भएर दिक्क लाग्दो दृश्य हुन्थ्यो । यस्तो झरी बादलका दिनमा उसलाई गल्ली-गल्ली घस्रिरहनु साह्रै सिकसिको लाग्थ्यो र घण्टौं एकै ठाउँमा बसिरहन्थ्यो । पान खान आउने युवकहरूलाई उसले राम्ररी हेर्दथ्यो – तिनीहरूको सुकिलो लुगा हेर्दथ्यो । उ छाता ओढेर भुइँमा टुक्रुक्क बसिरहेको हुन्थ्यो । भिजेको पृथ्वीदेखि एक किसिमको गन्ध उसको नाकमा आउँ थ्यो । उसको मनमा त्यस वेला कस्तो-कस्तो भावना र कल्पना आउँथे । उसले कसैको अनुहारमा हेरिरहेको कुनै अर्कै मानिसले देख्यो भने लङ्गडा ईषत् लाज मान्थ्यो र आँखा अर्कैतिर घुमाउँथ्यो । तर उसले धेरै बेरसम्म छड्के नजरले घरी-घरी फेरि उतैतिर हेरिरहन्थ्यो ।

पानी त्यतिकै परिरहेको हुन्थ्यो । कुकुरको जीउ पनि आधा भिजिसकेको हुन्थ्यो र त्यसको जीउ पनि गन्हाउँथ्यो । त्यो पनि लङ्गडाको पिठ्यूँपट्टि छातामा आश्रय लिएर बसिरहन्थ्यो ।

यसरी पानको पसलमा बस्दा बस्दै रात पर्दै जान्थ्यो । हुस्सु लागेर ६ बजेतिर नै अँध्यारो हुँदै जान्थ्यो । पानको पसलमा अब पान र चुरोट किन्न आउने जाने धेरै मानिस हुँदैनथे । कुइरो र हुस्सुले सारा सहर न छोपिसकेको हुन्थ्यो । एक त त्यसरी पानी दिनभरि परेर जताततै हिलो भएर दिक्क लाग्दो हुन्थ्यो । उसमाथि हुस्सु छाएर झन् साँझको अन्धकार छाउँदै आउँदा चारैतिर एक प्रकारको उच्चाट लाग्ने वातावरण छाउँथ्यो ।

लङ्गडा काठको सहाराले घस्रिँदै पसलतिर खानेकुरो मागेर खान्थ्यो र अबेर गरेर आफ्नो झुप्रोमा फर्कन्थ्यो । झुप्राभित्र पस्नासाथ त्यहाँ एक किसिमको गन्ध आउँथ्यो जसको लङ्गडालाई बानी परिसकेको थियो । पानी परेको बखत उसको झुप्रोमा धेरै ठाउँ पानी चुहिरहन्थ्यो । देब्रेपट्टि अलिकति ओबानो ठाउँ थियो त्यहीं सुत्ने गर्थ्यो । धेरै बेर उसलाई निद्रा लाग्दैनथ्यो । बाहिरको झरीको एकनाससित आइरहेको आवाज बाहेक अरू केही सुनिंदैनथ्यो ।

झरी परिरहेको बेला आधा राततिर उसलाई कहिलेकाहीं बेसुरो गीत गाउन पनि मन लाग्थ्यो र लाहुर गीतको भाका हालेर गुनगुनाइरहन्थ्यो । त्यस वेला उसलाई अव्यक्त आनन्द लाग्थ्यो । बाहिरको झरीको आवाज सुन्दा उसलाई ठूलो जङ्गलको माझमा पानीमा रुझ्दै एक्लै उभिरहेको जस्तो लाग्थ्यो त्यस बेला उसले आफूलाई बिर्सन्थ्यो-आफ्नो माग्ने जीवन, वा कुँजे जीवनको उसलाई सम्झना नै हुँदैनथ्यो । दिनभरि आफूले घस्री-घस्री मागेको सबै उसले बिर्सन्थ्यो । त्यस बेला आफू कुजे छु लङ्गडो छु भन्ने उसलाई यादै हुन्न थ्यो ।

राती कहिले मेघ गर्जेर कति बज्र गिरे जस्तो आवाज हुन्थ्यो- ‘लङ्गडा डरले जुरुक्क उठेर अन्धकारमा टुक्रुक्क बसिरहन्थ्यो । यो मेघको आवाजले उसलाई सानैदेखि असाध्यै डर लाग्थ्यो ! मेघको आवाजले उसका मनका सुन्दर सुन्दर भावनाहरूलाई टुक्रा -टुक्रा पारिदिन्थ्यो-उसका कल्पनाहरू छिन्न-भिन्न हुन्थे । ऊ एक्कासि भावशून्य हुन्थ्यो र कातर भावले प्वालबाट बाहिर- तिर नियालेर हेर्न खोज्थ्यो ।

बाहिर चुक जस्तो अन्धकार बाहेक केही देखिँदैनथ्यो— केवल बेला बेलामा आकाशको यो छेउदेखि उ छेउसम्म झिलिक्क-झिलिक्क गरेको उज्यालो मात्र देखिन्थ्यो । प्रकृतिको यो उद्वेग एकान्त संसारमा बसेको त्यो प्राणीलाई कस्तो उजाड र नीरस लाग्थ्यो भने त्यो उसैले मात्र जान्दथ्यो । त्यस वेला भने उसलाई संसारमा एक्लै छु जस्तो लाग्थ्यो । आफ्नो कोही आत्मीय छैन जस्तो लाग्थ्यो । सारा सहरवासीहरू घोर निद्रामा हुन्थे- लङ्गडा चाहिँ जागा रहेर  वर्षाकालमा चारैतिर पृथ्वीबाट खोला नालाहरू बढेर ‘स्वाँ’  गरेको आवाज सुनिरहन्थ्यो ।

मिरमिरे उज्यालो भएसम्म यसरी बसिरहन्थ्यो । उज्यालो हुँदै जाँदा थामिन लागेको झरीको आवाज पनि मधुरो तर एकोहोरो भएर आइरहन्थ्यो । लङ्गडा त्यहाँ धेरै बस्न सक्तैनथ्यो- त्यो वातावरण, त्यो उदासीन प्रकृति र रुझिरहेको पृथ्वीको मर्मर ध्वनि समेत उसको निम्ति असहनीय हुन्थ्यो र उज्यालो हुनासाथ चाँड चाँडै उठेर त्यहाँबाट घस्रँदै ऊ बजारतिर आउँथ्यो.‍..।