नामको के महत्त्व छ, महत्त्व कामको छ । हिमाल चढ्नु उसको काम हो । सातादिन नाम्चेमा बिताई, अर्को सातादिन थ्याङबोचेमा बिताई र अर्को सातादिन फेरिचे र लोबुजेमा बिताई । ऊ पृथ्वीको सबभन्दा अग्लो हिमाल सगरमाथाको आधारशिविरमा आइपुगेको छ । साथमा छन् उसका भारी बोक्ने भरियाहरू । तर गाइड छैन । अनि छैनन् सहआरोहीहरू । ऊ एक्लै सगरमाथा चढ्न चाहन्छ । उसको विश्वास, मान्छे समाजमा बस्नुपर्छ तर हिमाल चढ्दा एक्लै चढ्नुपर्छ ।

‘हिमाल चढ्नु भनेको बाँच्नु हो । हिमाल नचढी म बाँच्न सक्दिनँ ।’ सानो थकाइ मार्दै ऊ सोच्छ पनि । उसका भरिया साथीहरू तम्बू गाड्ने काममा व्यस्त हुन्छन् । एउटा आफूहरूका लागि । एउटा उसका लागि । त्यसमा सघाउनुभन्दा पहिले ऊ थ्याङबोचे – सुन्दर गुराँसघाँटीका सुन्दर गुराँसहरूको बास्ना सुँघ्छ मनमनै ।

‘बेसक्याम्पमा त मेलै रहेछ । कति धेरै मान्छे, कति धेरै तम्बू अनि कति धेरै… ।’ ऊ सर्वत्र आँखा घुमाई लप्साङ (पूजास्थल) मा टिकाउँछ अनि रङ्गीबिरङ्गी ध्वजापताका-जुताहरूमा टिकाउँछ, जुन चिसो हावामा बेतोडले फरफराइरहेका हुन्छन् ।

“हाम्रो गाउँको बर्खे मेलामा त यति धेरै मुन्छे हुन्नन्, गाँठे !” एक जना भरिया साथीले गाँठी कुरा झिक्छ । अरू हाँस्छन् ।

“माथि जाँदा हजुर कहिलेकाहीँ भीड भएर बाटै पाइन्न ।” अर्को एक जना भरिया साथीले अर्कै गाँठी कुरा गर्छ । ऊ धेरै अभियानमा धेरैपल्ट साउथ कोल- दक्षिण घाँटीसम्म पुगिआएको मान्छे । देखेकै कुरा भनेको होला । तर एक जना नयाँ भरियाले नयै कुरा गर्न मन पराउँछ ।

“ह्याँ त यति जाडो छ, माथि क्यारी जान्छ मुन्छे ?”

नयाँ भरियाले जाडो पनि नयाँ मान्छ । सबै हलल्ल हाँस्छन् । एक जना भरिया साथीले त माप्पाको जबाफ फर्काइदिन्छ- “माथि स्वर्गमा जाडो हुन्न हो ।”

नयाँ भरिया साथी सबैका हलल्लबीच रल्ल पर्छ । ऊ उसलाई ठट्टै हो भनी धाप दिन्छ । नयाँ भरिया कुरा नबुझे पनि हाँस्ने कोसिस गर्छ । हो, भरियाहरूलाई ऊ साथी सम्झन्छ । ऊ कहिले पनि भन्न सक्दैन जुन कुनै बेला कसैले भनेको थियो- “हाम्रो अभियानमा मान्छेको कुनै क्षति भएन मात्र केही भरियाहरू मरे ।”

५३०० मिटरको उचाइ । यो सगरमाथाको मात्रै आधारशिविर होइन ल्होत्से र नुप्सेको पनि साझा आधारशिविर हो । माथि खुम्बु आइसफल छ । ह्याङ्गिङ ग्लेसियर । हिउँखाल्डाहरू छन् ।

कसैले भनेको थियो, आधारशिविरमा रात कटाउन गाह्रो हुन्छ । छेउछाउका पर्वतीय ढलानहरूमा हिउँका गडगडाहट सुनिन्छन् । र ग्लेसियर (हिमनदी) फैलँदा र साघुरिँदा हिउँ चड्केका आवाज सुनिन्छन् । साह्रै भयानक । तर अहिले दिन छ मौसम सफा छ । घाम अस्ताइसकेको छैन ।

अपेक्षाकृत छोटो समयमा तम्बू ठडिन्छन् । भरिया साथीहरू रसद र अन्य सामानहरू मिलाउने काममा लाग्छन् । ऊ टिसर्टमाथि हावा छेल्ने पातलो ज्याकेट लाएर तम्बूबाट बाहिर निस्कन्छ । नयाँ भरिया साथीले झैं ऊ पनि अब जाडो नयाँ मान्छ । तर गाह्रो भने पटक्कै मान्दैन । आधारशिविरको यही जाडोमा उसलाई सातादिन बिताउनु छ, अभ्यस्त हुन । अनुकूलता प्राप्त गर्न । नत्र कसरी सगरमाथा चढ्न सकिन्छ ? मनले मात्रै सगरमाथा चढ्न सकिँदैन ।

ऊ आधारशिविरको फन्को मार्छ । अमेरिकी अभियान दल । जापानी अभियान दल । इटालियन अभियान दल । बेलायती अभियान दल । भारतीय अभियान दल । अस्ट्रेलियन अभियान दल । र अरू पनि अभियान दलहरू सबै ठूलाठूला ।

ऊ छक्क पर्छ, मान्छेहरू हिमाल चढ्न जाँदा पनि किन पूरै समाज बोकेर हिँड्छन् ।

“के तपाईं एक्लै सगरमाथा चढ्नुहुन्छ ?” ठूला अभियान दलका ठूला मान्छेहरू उसलाई यसरी सोध्छन् मानौं ऊ हिमाल चढ्न गइरहेको छैन, आत्महत्या गर्न गइरहेको छ । उसलाई खुसी लाग्छ, उसले भन्दा नभन्दै आधारशिविरको चिसो हावामा उसको गन्ध फैलिसकेछ । निश्चय पनि अरूको भन्दा बेग्लै ।

“मैले जीवनका सबै हिमाल एक्लै चढेको छु, त्यसैले यो सर्वोच्च हिमाल पनि म एक्लै चढ्नेछु । चुलीको यात्रा भनेको जहिले पनि एक्लो यात्रा हो ।” ऊ सबैसित मुस्कुराइदिन्छ जहाँ फूल फुल्दैन त्यहाँ आत्मविश्वासको फूल फुलाएर ।

“तर यो जोखिमपूर्ण हुँदैन र ?” ठूला अभियान दलका ठूला मान्छेहरू उसलाई फेरि यसरी सोध्छन् मानौं मानवताको नाताले अलिकति दया गर्न चाहिरहेछन् ।

“हिमालमा जोखिमहरू हुन्छन्, जीवनमा हिमालहरू हुन्छन् । जीवन भनेको जोखिमहरूको एक सुन्दर कविता हो । जोखिमहरूदेखि तर्सनेहरू सधैँ कुरूप कविता रचना गर्छन् ।” र ऊ फेरि सबैसित मुस्कुराइदिन्छ सुरूपतापूर्वक । प्रभावित हुनेहरू प्रभावित भइछोड्छन् ।

दिन केही ढल्किन्छ । हावाको वेग बढ्छ । ऊ विभिन्न अभियान दलका भरियाहरू र गाइडहरूसित घुलमिल गर्न मन पराउँछ ।

“तपाईंको अभियान सफल होस् । हामी चोमोलोङ्माको दयालु देवीसित प्रार्थना गर्छौं।” भरियाहरू र गाइडहरू निश्छल शुभकामना व्यक्त गरिदिन्छन्, उसलाई झन् बढी खुसी लाग्छ । ठूला अभियान दलका ठूला मान्छेहरू त शुभकामना दिने काममा भन्दा लिने काममा बढी रुचि राख्छन् ।

भरियाहरू र गाइडहरू उसलाई चिया ख्वाउँछन् । आधारशिविरको उचाइमा भोटेचियाको बास्ना उसलाई अचाक्ली मीठो लाग्छ । तर भरिया र गाइडका जीवनव्यथाहरू मीठो लाग्न सक्दैनन् । एक जना भरिया भन्छ- “दुई-चार पैसो कमाम्ला र घरगृहस्थीका गर्जो टारम्ला भनी भारी बोकेर आको दुई मैना नाघिसक्यो, कुइरेहरू माथि जाने नामै लिँदैनन् । स्वास्नी छोर्छोरीलाई दुई मैनाभित्रै घर आइपुग्छु भनी हिँडेको… सुर्तेले मर्ने भए ती । क्यार्नु त्यत्तिकै भाग्नु पनि भ’न… ।”

अर्को एक जना भरिया भन्छ- “आफ्नो त बाउ सिकिस्तै छ । आमालाई बेसक्याम्पाँ पुगी आइहाल्छु अनि कमाइको रुप्पियेपैसाले बाउको ओखतीमूलो गरम्ला भनी आ’को … ।”

फेरि अर्को एक जना भरिया भन्छ- “आफ्नो त गाँठे छोर्छोरी पढौने धोको छ । आफूले पढ्न भनेसि पाउँदै पाइएन । भरियाकै जुनी बित्यो । अब छोर्छोरीलाई यो जुनीबाट अल्लि माथि उठाम् भनेर ला’को, सक्किएला जस्तो छैन । यसपालि जाडाले ह्यैं मरिन्छ कि क्या !”

दुखेसो पोख्ने भरियाहरूले दाँत पनि देखाउँछन् तर ती दाँतहरूमा फूलहरू फुल्दैनन् । मान्छेका निरीहताहरू, मान्छेका विवशताहरू, मान्छेका दरिद्रताहरू र मान्छेका अभिशप्तताहरूलाई जीवनका फूलहरू भन्न मिल्दैन । सायद तिनलाई जीवनका काँडाहरू पनि भन्न मिल्दैन । काँडाहरूले अरूलाई घोच्छन् आफैलाई घोच्दैनन् ।

अब दुखेसो पोख्ने पालो गाइडहरूको ।

एक जना गाइड भन्छ- “मैले पाँचपल्ट समिट बिड गरिसक्यो । आङरिता, आप्पा, बाबुछिरीहरूले त मैलेभन्दा धेरैपल्ट समिट बिड गरिसके । तर हामीले जतिपल्ट समिट बिड गरे पनि कुइरेहरूको जति हाम्रो नाम हुँदैन ।”

अर्को एक जना गाइड भन्छ- “हो, हो । कुरा ठीक हो । कुइरेहरूलाई बाटो देखाउँदै, तान्दै माथि लानुपर्छ । कत्तिलाई त समिटबाट बोकेर झार्नुपर्छ । नाम धेरै उनीहरूको छ ।”

फेरि अर्को एक जना गाइड भन्छ- “लास्ट सिजनमा मलाई के भयो सुन्छौ ? साउथ कोलबाट माथि हिँडिसकेथ्यो, एक जना कुइरिनीको पेट बिग्रेछ । म माथि जान सक्दैन, फ्रोस्ट बाइट पनि भएजस्तो छ । खुट्टाका औंलाहरू चिसोचिसो छ भन्यो । अनि रोयो बेस्सरी, बच्चाजस्तो । त्यहाँसम्म पुगेपछि समिट बिड गर्ने मन सबैलाई हुन्छ तर म कुइरिनीलाई बोकेर थर्ड क्याम्पाँ फर्क्यौं ।’

“त्यसो भए साथीलाई मज्जा आयो होला ।” अरू गाइडहरूले हाँसो गर्छन् ।

“अँ, मज्जा आयो । अब अहिले पनि समिट बिड गर्न छाडी हिलारी- स्टेपबाट एक जना कुइरिनीलाई बोकी झर्ने मन छ बेसक्याम्पसम्म नै…।” दुखेसो पोख्ने गाइड पनि कम्ताको निस्कँदैन । ऊ जस्तालाई तस्तै दर्जाको जबाफ फर्काई ‘होहोहोहोहो… !’ गरी हाँस्छ ।

पीडा यसरी पनि व्यक्तिन्छ । व्यक्तियो । पछि अर्को एक जना सरदार गाइडले अर्कै एउटा कुरा भन्छ जुन भयानक रूपले विचारणीय हुन्छ ।

“कुरा बुझेछ कि त… हाम्रो देशको लियाजन अफिसर नाम्चेमा बसी छ्याङ खान्छ, यता समिट बिड नगरेको कुइरेले पनि समिट बिड गर्यो भन्छ ।”

“हो, हो, हो ! कुरा साँचो हो ।” अरूहरूले पनि सही थाप्छन् । त्यसपछि हाँस्छन् ‘हाहाहाहा ! होहोहोहोहो !…’ गर्दै । चिसो हावामा सासको बाफ उडाउँदै ।

भोटेचियाको प्याला रित्तिन्छ । भरियाहरू र गाइडहरूको ध्यान ऊमाथि तानिन्छ ।

“सिई ! हामी त हाम्रै कुरामा भुल्यौं। तपाईंलाई हाम्रो कुरा राम्रो लागेन होला । हो कि ?” सबैको प्रतिनिधिजस्तो भई पाँचपल्ट सगरमाथा चढिसकेको गाइडले उसलाई सोध्छ ।

“होइन, त्यस्तो केही लागेन । तर कुराहरू नरमाइला छन् । म तपाईंहरूसँग छु ।” उसले भन्छ हार्दिकतापूर्वक । हिमालयमा सबै कुरा जम्छ तर हृदय जम्दैन ।

“चिया थप्ने ?” एक जना भरियाले सोध्छ ।

“हुन्छ ।” उसले भन्छ ।
त्यसपछि ऊसँगसँगै भरियाहरू र गाइडहरूले पनि चिया खान्छन् । कुरैकुरामा उसले बुझ्छ, विभिन्न अभियान दलका भरियाहरू र गाइडहरूले मिलेर यो साझा मेस बनाएका हुन् । यहाँ उनीहरू आलोपालो गरी अभियान दलहरूबाट फुर्सद निकालेर जम्मा हुन्छन् । अनि चिया खाँदै सुख-दुःखका कुरा गर्छन् । चिनापर्ची गर्छन् ।

‘सायद यो हिमालको चियाउत्सव हो ।’ ऊ सोच्छ अनि प्रसन्न हुन्छ ।

“कहिलेकाहीँ सानो मान्छेलाई पनि ठूलो झोक चल्छ । हाम्रो कुरा त्यस्तै हो ।” पाँचपल्ट सगरमाथा चढिसकेको गाइडले अचानक अर्कै कुरा गर्छ । हाँसो पनि अर्कै हाँस्छ । त्यसको असर अरू भरियाहरू र गाइडहरूमा पनि पर्छ । आधारशिविरको वातावरणसँगै चियाउत्सवको वातावरण पनि चिसिएझैँ हुन्छ । कसैले भनेका थिए जिन्दगीको अर्को नाम विवशता हो, तर विवशताको अर्को नाम जिन्दगी होइन । त्यसैले भोटेचियाको बास्नादार ताप र मिठासमा अरू नचिसिएर ऊ सोध्छ- “तपाईंले पाँच-पाँचपल्ट सगरमाथा चढ्दा कस्तो अनुभव गर्नुभयो ? मलाई तपाईंको अनुभव सुन्ने साह्रै मन छ ।”

“सगरमाथा चढ्नु हाम्रो पेसा हो के भन्ने… !” पाँचपल्ट सगरमाथा चढिसकेको गाइडले आफ्नो अनुभव भन्छ । उसले बुझ्नुपर्ने कुरा बुझ्छ- हिमाल चढ्नुको अनुभव मान्छेपिच्छे फरकफरक हुन्छ । कसैका लागि हिमाल चढ्नु पेसा बन्छ भने कसैका लागि उद्देश्य ।

घाम अस्ताएपछि जाडो बढ्छ । हावाको वेग पनि बढ्छ । ऊ सहृदयी भरियाहरू र गाइडहरूसित बिदा मागी आफ्नो तम्बूतिर लाग्छ । उसका साथी भरियाहरू छेवैको हिउँखोल्सीबाट पानी ल्याउने, ग्याँस-चुलो बाल्ने, रासन निकाल्ने काममा लागेका हुन्छन् । ऊ फटाफट केही न्याना लुगा लाएर साथी भरियाहरूलाई सघाउन थाल्छ । आधारशिविर परका खोचहरूबाट बेतोडले उड्दै र छरिँदै आएका कुहिरोका दलहरूले साँझ लुकाइदिन्छ । जाडो अरू बढाइदिन्छ । अधिकांश तम्बूहरूमा बत्ती बल्छन् । उसलाई ती बत्तीहरू हिमालका जूनकीरीझैं लाग्छन् ।

राति खाने बेलामा एक जना भरिया साथीले उसलाई सोध्छ- “हजुर अघि त्याँ अरू साथीहरूले के कुरा गरेथे कुन्नि ?”

“ए त्यहाँ मेसमा भरिया गाइड साथीहरूले धेरै कुरा गरे । मेरो मन छोयो । हामी सबै त्यहाँ जानुपर्छ ।” भरिया साथीहरूसरह चामलको भात, कुखुराको मासु र सागसब्जीहरू पकापक खाँदै ऊ भन्छ ।

“के गर्नु हजुर, हामी भरियाको जीवन दुःखमै बित्छ ।” अर्को एक जना भरिया साथीले खाँदाखाँदै सुस्केरा काढ्दै भन्छ ।

“हो, जीवनमा दु:ख छ, तर जीवन दु:ख होइन ।” ऊ भन्छ । उसको कुरा सुनी भरियाहरूले के बुझ्छन् ऊ बुझ्दैन । तर अन्तमा सबैले गोलभेंडाको तात्तातो सुप पिउँछन् ।

सुत्ने बेला स्लिपिङ ब्यागमा घुस्रँदै ऊ सोच्छ- ‘हिमालमा सबभन्दा झ्याउलाग्दो कुरा धेरै समय स्लिपिङ ब्यागमा घुस्रिरहनु हुन्छ । मौसम बिग्रियो भने कम्तीमा पनि दिनको १२-१५ घण्टा स्लिपिङ ब्यागमा घुस्रिरहनुपर्ने हुन्छ ।’ तर ऊ आश्वस्त हुन्छ- ‘हिमालको मौसम र मान्छेको भाग्य एउटै कुरा होइन । हिमाल कर्मले चढिन्छ भाग्यले चढिँदैन । यदि भाग्य मान्ने हो भने मान्छेले आफ्नो भाग्य आफैँ बनाउनुपर्छ ।’

ऊ हिउँका गडगडाहट र ग्लेसियरका चट्कनका आवाजहरू सुन्न पहिलेदेखि नै तयार हुन्छ, त्यसैले उसको आवश्यक निद्रा उति साह्रो भाँचिँदैन । ऊ राम्ररी सुत्छ । बिहानीपख उसका आँखा एक अनपेक्षित आवाजले खुल्छ । ऊ तम्बूबाट बाहिर निस्कन्छ ।

पर ढुङ्गाको लह्प्साङमुन्तिर बसी एउटा अजङको भोटे कुकुर जोडजोडले भुकिरहेको हुन्छ ।

“ए, यो कुकुर यहाँ कहाँबाट आइपुग्यो, हैं ?” ऊ छक्क परी भरियाहरूको तम्बूबाहिर निस्की आङ तन्काइरहेको भरिया साथीलाई सोध्छ ।

“तल नाम्चे-थ्याङ्वोचेतिरबाट आयो होला, अभियान दलका मान्छेहरूको पछि लागेर । हाम्रो जातमा कुकुर पछि लागेर आयो भने राम्रो हुन्छ भन्छ ।” आङ तन्काइरहेको भरिया साथीले आङ तन्काउन छोडेर भन्छ । ऊ अरूको जातको सम्मानमा मुसुक्क मुस्कुराइदिन्छ । भोटे कुकुरको ध्यान उनीहरूतिर तानिन्छ । ऊ एक हात उचाली चिसो हावामा लहराउँछ । भोटे कुकुर भुक्त छोडी उठ्छ। उसलाई चुपचाप मुक भाषामा हेर्छ । त्यसपछि दगुर्दै ऊ भएतिर आउँछ । केही सुँध्दै र फुँफुँ गरी थुतुनोबाट तातो बाफ छोड्दै उसलाई फनफनती घुम्छ ।

भरियाहरूको तम्बूबाट अरू भरियाहरू निस्कन्छन् र त्यो दृश्यलाई गिजासम्म दाँत देखाएर हेरिबस्छन् ।

“साइत पर्यो ।” कसैले भन्छ । तर ऊ सुन्दैन । कुकुरसित खेल्नमै व्यस्त हुन्छ ।

हिमाली क्षेत्रका कागहरू यताउति कराइरहेका हुन्छन् । सबैलाई थाहा हुन्छ- यी कागहरू अटेरी किसिमका र खानेकुराका बट्टाहरूसमेत फोरी खाना चोर्न सक्ने खालका हुन्छन् । प्रायः आधारशिविरका भान्सेहरू यी कागका प्रत्याशित-अप्रत्याशित आक्रमणबाट सतर्क भई बस्छन् ।

भरियाहरू काममा लाग्छन् । ऊ तम्बूहरूवरिपरि भोटे कुकुरसित दगुरिरहन्छ । निकै थाकेपछि अडिँदै स्वाँ–फ्वाँ गर्दै ऊ भरियाहरूलाई सुनाउँछ- “हिमालमा हामीले एउटा साथी पायौं हगि ?”

“हो ! हो !…” काममा लागेका भरियाहरू हाँस्छन् ।

मौसम बिग्रेन भने हिमालको बिहानी साँच्चै नै रमाइलो हुन्छ । उसलाई त्यस्तै लाग्छ । सर्वत्र खुलेको परिदृश्य, चिसो तर स्फूर्तिदायक हावापानी, धेरै मान्छेका उपस्थितिमा पनि शान्ति र नीरवताको अनुभूति ऊ गर्छ । आधारशिविरबाट ल्होत्से, नुप्चे, चाङटे, खुम्बट्से, पुमोरी चुलीहरू देखिन्छन् । तर सगरमाथा चुली देखिँदैन । हिमालहरूको बगर आधारशिविर क्षेत्रका ठूला-साना ढुङ्गाहरू र गेगरहरूमा जमेका हिउँतुषाराहरू पावनताका प्रतीकझैँ लाग्छन् । टाढिँदै गएका खोचहरू रहस्यका प्रतीकझैँ लाग्छन् । यहाँ ऊ साथीसित खेलेर थाकी बस्न आएको पक्कै पनि होइन । ऊसामु उसको उद्देश्य छ । उद्देश्यहीन जीवन मृत्यु हो । मृत्यु कुनै उद्देश्य होइन

भोटे कुकुर उसको ध्यान आकृष्ट गर्न तम्बूवरिपरि दगुरिरहन्छ । ऊ मैत्रीपूर्वक टाउको हल्लाउँदै पदयात्राको तयारीमा लाग्छ । ब्रेकफास्ट लिने बेला भोटे कुकुर उसको छेउ आई बस्छ । ऊ त्यसलाई मैत्रीपूर्वक थपथपाउँछ । त्यसपछि अरूहरूले झैं तातो चियाबाहेक सब थोक खान्छ ।

“अब म हिँड्नुपर्छ ।” ऊ भरियाहरूलाई भन्छ अनि फुर्तीसाथ रुकस्याक भिर्छ ।

“हजुर कहाँसम्म पुग्नुहुन्छ ?” भरियाहरू उसलाई सोध्छन् ।

“म खुम्बु आइसफलमा पुग्छु ।” भन्दाभन्दै ऊ हिँडिहाल्छ पनि । भोटे कुकुर भुक्क भुक्दै उसको पछि लाग्छ । केही परसम्म उसलाई पछ्याउँछ अनि फर्कन्छ । सायद त्यसलाई ज्ञान हुन्छ हिमाल चढ्ने काम मान्छेको हो, कुनै कुकुरको होइन ।

ऊ न ढिलो न छिटो एकनासको आदर्श गतिमा हिँड्छ । यो पदयात्रा एक अभ्यस्तताको यात्रा हुन्छ, त्यसैले ऊ कम उचाइ र धेरै उचाइका आवश्यकताहरूद्वारा पूरै लैस हुन्छ । जर्सी, गर्मपैन्ट, एप्रोचमार्च सु, बिड चिटर, आइस एक्स, क्लाइम्बिङ बुट, फेडर सुट, डोरी, पिटन्स, कारोबिनर, क्रेम्पोन, स्लिपिङ ब्याग, एअर मेट्रेस, गेर्टस, सिलिङ, लेडर, गर्म मोजा, पन्जा, पुली, हिम-चस्मा, दूरबीन, तम्बू, रासन, पानी र अरू जरुरी सामानहरू । साथमा मार्गयोजना । अनि मुलायम हिउँ (स्नो) र कठोर हिउँ याने बरफ (आइस) मा हिँड्ने तकनिक एवम् दुर्घटनाहरूप्रति सजगता ।

आधारशिविरबाट खुम्बु आइसफल त्यति टाढा हुँदैन । यो सगरमाथाको पश्चिमी काँध र नुप्से श्रेणीबीचको अस्थिर भाग, जुन पश्चिमी कुमबाट मुन्तिर पूरा २,००० फिटसम्म सामान्य रूपले भिरालिएको छ । ल्हो ला घाँटी अलि परै पर्छ । ऊ एक-डेढ घण्टाको समयावधिभित्रै त्यहाँ पुग्छ । ऊ सोच्छ- ‘वास्तविक अर्थमै यो क्रेम्पान प्वाइन्ट हो । सगरमाथा चढ्न जाने बाटोको पहिलो ठूलो कठिनाइ ।’ यो आइसफलले बेलाबेला आफ्नो बाटो बदलिरहन्छ किनभने हिउँका ठूलाठूला ‘सेरिक्स’ अथवा चट्टानजस्ता टुक्राहरू यहाँ खसिरहन्छन् । हिउँका खाल्टाहरू याने हिउँफाटाहरू आधा मिटरदेखि छ-सात मिटरसम्म चौडा हुन्छन् । गहिरा कति छन् भन्न सकिन्न । ऊ भरियाहरूको एउटा ठट्टा सम्झन्छ- ‘खुम्बु आइसफलबाट खस्यो भने कहाँ पुगिन्छ ? सीधै अमेरिका पुगिन्छ ।’

ऊ एउटा हिउँको चट्टानमाथि बसी केहीबेर थकाइ मार्छ । पानी पिउँछ । अनि मज्जाले लागेको घामलाई जाडो नमानी हेर्छ । याम मनसुनपछिको भए पनि हिमालमा हिउँ त्यति परिसकेको हुँदैन । ऊ सोच्छ, आकस्मिक हिमपात भइदिएको भए यति चाँडै र सजिलैसित यहाँ आइपुग्न सकिने थिएन । अब आइसफल पार गर्ने अभ्यास गर्नुपर्छ । उसलाई तिब्बती मोहडातर्फको जर्ज म्यालोरीवाला रङबुक ग्लेसियरको सम्झना आउँछ जहाँबाट नर्थ कोल चढ्न सकिन्छ । तर खुम्बु ग्लेसियरको प्रकृति रङबुक ग्लेसियरको भन्दा धेरै भिन्न हुन्छ । सर्वत्र हिउँफाटाहरू जहाँ एकपल्ट गल्ती गरियो भने फेरि अर्कोपल्ट गल्ती गर्न सकिँदैन । जीवन सक्न एउटै दुर्घटना पर्याप्त हुन्छ ।

हिमालमा कहिल्यै पनि एक्लै नजानु भनिन्छ । प्रत्येक क्षण प्रत्येक पाइला- हिमालमा दुर्घटना हुन सक्छ । खुम्बु आइसफल पार गर्ने तयारी गर्दा ऊ सम्झन्छ अनि मुसुक्क हाँस्छ- ‘दुर्घटनाहरूसित लुकामारी खेल्नुको नाम नै हो जीवन ।’

क्रमशः