प्रेमको प्रस्फुटन
वर्षा यामको पहिलो झरीले मेरो मनमा अचम्मको उमङ्ग ल्याउँथ्यो। त्यसै पनि वर्षाको पहिलो झरीसँगै उमङ्गमा नहुने को नै हुन्थ्यो होला र? मानो छरेर मुरी फलाउन पर्खेर बसेका किसानहरू, ग्रीष्मको प्रचण्ड गर्मीले सुक्ने तरखरमा लागेका वसन्तमा पलाएका पालुवाहरू, खडेरीले जर्जर पारेका खेत र बारी, तिर्खाएको काकाकुल अनि नव जीवन पर्खेर बसेका खहरेहरू सबैमा यसले उमङ्ग ल्याउँथ्यो। सुकेको धर्तीमा झरी पर्दा हल्का धूलो उड्दा निस्केको माटोको सुगन्धले मलाई लट्ठ पार्थ्यो। म लामो श्वास तानेर जति सक्यो धेरैबेर त्यो सुगन्धको मजा लिन चाहन्थेँ। सायद त्यही सुगन्धको कारणले होला, धर्तीमुनि उकुसमुकुस भएर महिनौँदेखि कष्ट प्रद जीवन बाँचिरहेका सर्प र बिच्छीहरू पनि नयाँ जीवन र नयाँ पिँढीको सुरुवात गर्न जमिनमा निस्कन्थे।
तर मेरो उमङ्गको कारण चाहिँ ती खहरे, ती वनस्पति र कीटपतङ्ग अनि किसानहरूको उमङ्गभन्दा भिन्न थियो, विशेष थियो। पहिलो कुरा त वर्षाको आगमनसँगै हाम्रो अर्ध वार्षिक परीक्षा पछिको डेढ महिनाभन्दा बढीको बर्खे बिदा सुरु हुन्थ्यो। दोस्रो कुरा चाहिँ मलाई वर्षामा फुटुकी टिप्न जान मन पर्थ्यो। धमिराको देवलको वरपर उम्रने देवले च्याउ र वनको ढुङ्गे माटोमा उम्रने फुटुकी मलाई निकै मन पर्थ्यो। असारको दोस्रो सातादेखि जब मनसुनी वर्षा सुरु हुन्थ्यो खजुरे दमारमा फुटुकी उम्रन सुरु गर्थे। त्यो जङ्गलको नाम किन खजुरे दमार भयो त्यो चाहिँ मलाई थाहा थिएन। अझैसम्म पनि थाहा छैन। त्यहाँ एउटा पनि खजूरका बोट थिएन। सबैजसो रुखहरू सालका मात्र थिए। पञ्चायत कालमा त्यो जङ्गलको वरिपरि वृक्षारोपण गरेर त्यसलाई झन् ठुलो बनाइएको थियो। अहिले त ठुलै जङ्गल भैसकेको छ। तर त्यो बेला पनि त्यो जङ्गललाई ‘दमार’ मात्र भन्दा त्यसको अपमान नै हुन्थ्यो। तर जे होस् हामीलाई नाम र आकारसँग केही लिनुदिनु थिएन, हामीलाई त फुटुकी भेटिए पुग्थ्यो।
बिहानै उठ्दा पानी परिरहेको रहेछ भने म खिया लागेको एउटा भुत्ते हँसिया र पुरानो पेरुङ्गो बोकेर नाङ्गै खुट्टा खजुरे दमारतिर दगुर्थेँ। सधैँ झैँ मलाई साथ दिन तयार हुन्थिन् मेरी दिदी सुशीला।
असारमा आकाश नीलो कालो र अँध्यारो भयो भने हाम्रो मन भने प्रफुल्ल र उज्यालो हुन्थ्यो। सुशीला र म कहिले रासायनिक मलको भित्रका प्लास्टिक निकालेर बनाएको बर्सादी ओढेर त कहिले पुरानो स्याउ (स्याखु) बोकेर खजूरे दमारतिर दौडिहाल्थ्यौँ।
त्यसो त हाम्रो घरमा छाता नभएको हैन, चाहिने भन्दा बढी छाताहरू थिए। तर काम लाग्ने छाता एउटा मात्र थियो र त्यो छाता बुवाको पेवा जस्तै थियो। त्यो छातामा हामीले हात त परै जाओस् आँखा पनि लगाउन पाउँदैनथ्यौँ। हाम्रो घरमा त्यति धेरै छाता हुनुमा पनि रमाइलो कहानी थियो। बुवा पूजाआजामा त्यति सरिक हुनुहुँदैनथ्यो। अत्यावश्यक बाहेक न त कुनै धार्मिक समारोहमा संलग्न हुनुहुन्थ्यो, न त टीका नै लगाउनुहुन्थ्यो। गाउँमा या कुनै आफन्तको अन्तिम संस्कारको तेह्र दिनको समारोहमा भने बुवा जानुहुन्थ्यो। जानुहुन्थ्यो भन्दा पनि दुख परेको बेला नगइदिँदा नराम्रो मान्लान् भनेर ‘गैदिनुहुन्थ्यो’ भन्दा ठिक होला। तेह्र दिनको दिन गएका ब्राह्मणहरूले केही न केही दान दक्षिणा पाउने नै भए।
संयोग नै भन्नुपर्छ बुवा गएका त्यस्ता अधिकांश घटनामा बुवाले ल्याउने भनेका दुई चीज मात्र हुन्थे- एउटा कमण्डलु, अर्को छाता। त्यसरी नै हाम्रो घरमा छाता थुप्रिएका थिए। तर दान दिने छाता कसले पो राम्रो किनोस्, ती ‘दाने’ छाताहरू नाम मात्रका छाता थिए। ती छाता खोलेर छाता भित्रबाट आकाशतिर हेर्दा छर्लङ्ग आकाश देखिन्थ्यो। बाँसको डन्डी र पातलो कपडाका ती छाताहरूले घाममा त अलिअलि काम गर्थे, पानीमा चाहिँ ओढे नओढेको एकै हुन्थ्यो। त्यसैले हामी बरु भिज्न तयार हुन्थ्यौँ ती छाता बोक्दैनथ्यौँ। ती छाताको एउटा मात्र उपयोग भनेको तिनका करङ निकालेर मासु पोल्ने झिर बनाउन काम लाग्थ्यो।
खजुरे दमार पुग्न हामीलाई बिस मिनेट जति लाग्थ्यो। ढुङ्गै ढुङ्गा र रातो माटोको डाँडोमा तिनै तीखा ढुङ्गा र बाख्रा पनि चिप्लने रातो माटोमा लडिने डरले खुट्टाका बुढी औँला खुम्च्याएर माटोमा अडिँदै हामी छिटो छिटो पाइला चाल्थ्यौँ ता कि हामीभन्दा पहिले अरू कसैले वनका फुटुकी सबै टिपी नसकेको होस्।
अघिपछि झरीमा रुझ्न डराउने हामी त्यो बेलामा चाहिँ जति ठुलो झरी लाग्थ्यो हामी त्यति बढी प्रफुल्ल हुन्थ्यौँ। सगर (आकाश) गड्किएपछि फुटुकीहरू त्यसको कम्पनले गर्दा बाहिर निस्कन्छन् भनेर आमाले भन्नु भएको थियो। त्यसैले त्यो घना जङ्गलमा हुँदा पनि हामी आकाश गडगडाओस् भनेर पुकार गर्थ्यौँ। त्यहाँ सालका रुखहरूका बिचमा चट्याङबाट जोगाउन हामीलाई जामुनोको रुख खोज्दै हिँड्नु पर्दैनथ्यो। उमेरले सानै भए पनि प्रकृतिको चक्र र सामान्य नियम हामीलाई थाहा थियो- वर्षाको आकाशले चट्याङ झार्दैन। त्यसैले हामी झरीमा रुझ्दै ढुक्कसँग एक एक ढुङ्गा पल्टाउँदै आकाशको गडगडाहटसँगै काला पत्थर मुनीबाट प्रस्फुटन भएका सेता फुटुकीहरू टिप्थ्यौँ।
एक दिन फुटुकी टिप्न गएको बेला ठुलै पानी पर्यो। सुशीला र म बिहानै उठेर पानीको झरी सुरु नहुँदै खजुरे वनमा पुगि सकेका थियौँ। आकाश पनि निकै गडगडाएको थियो तर खै किन हो त्यो दिन फुटुकीहरू धेरै भेटिएनन्। तीन चार दिनदेखि पानी नपरेको र फुटुकी टिप्न जाने मान्छेहरू धेरै भएकोले बाहिर निस्केका फुटुकी सबै सकिएका थिए र नयाँ फुटुकी उम्रन पाएका थिएनन् होला। त्यो दिन मैले मलको बोराको बर्सादी लगेको थिएँ, सुशीलाले स्याखु। हाम्रा बर्सादी र स्याखु पनि दाने छाता भन्दा गतिला चाहिँ थिएनन्, ती पनि देखाउनका लागि मात्र हुन्थे। पानी दर्कन थालेपछि ती दुवैले काम गरेनन्। हामी रुख मुनी ओत लागेर पानी छल्ने प्रयास गर्यौँ। तर सालको सुरिलो रुखले किन पानी रोक्न सक्थ्यो र? बरु पातमा जम्मा भएको पानी ठुलठुला थोपा गरेर लोटाबाट पानी खन्याए जस्तै गरेर खस्दै एकै पटक भिजाउन थाल्यो। लगभग आधा घण्टा जति मुसलधारे पानी पर्यो, हाम्रा बर्सादी र स्याउलाई निरीह बनाएर हामीलाई निथ्रुक्क पारेर बिदो भयो।
फुटुकी भेटिएका भए सायद हामीलाई जाडो लाग्ने थिएन तर फुटुकी पनि नभेटिएको अनि निथ्रुक्कै भिजेकोले असारको त्यो गर्मीमा पनि हामी जाडोले थुरथुर काँप्दै पेरुङ्गोको पिँधमा दुई चार वटा मात्र फुटुकी लिएर घरतिर फर्कन बाध्य भयौँ।
सुरुमा कति बेला घर पुगेर सुक्खा र न्यानो लुगा लगाउन पाइएका भनेर हामी छिटो छिटो पाइला चाल्दै चुपचाप अगाडि बढेका थियौँ। तर शरीरको न्यानोले गर्दा भिजेका लुगा अलि सुक्खा भए, जाडो लाग्न पनि कम भयो। धेरैबेसम्म आकाश खुलेको थिएन। फुटुकी नभेटेकोले आकाशमा मडारिएको कालो बादल जस्तै मेरो मन पनि डम्म थियो। बाटोभरि नै मेरो मन उज्यालो हुन सकेन। हामीले बाटो भरी केही कुरा गरेनौँ।
कृष्णपुरको डाँडोमा पुग्दा बल्ल आकाश अलि उज्यालो भयो।
भर्खर पानी थामिएकोले मखमली किरा र ढेंडीवाल (अरिमुठे) बाहिर निस्केका थिए। देख्दै माया लाग्ने मखमली किराहरूसँग खेल्न मलाई निकै रमाइलो लाग्थ्यो। देख्दा मात्र हैन उनीहरूलाई छुँदा पनि मखमल नै छोए जस्तै कमला हुन्थे। ती किराहरू पुरै राता हुन्थे। उनीहरूको रगत पनि अरू किराको जस्तो नभएर उनीहरूको शरीरकै जस्तो चम्किलो सिन्दूरे रङको रातो हुन्थ्यो। ती सुन्दर कीटहरू हाम्रा खेलौना मात्र थिएनन् हाम्रो अर्ध वार्षिक परीक्षाको नतिजाका भविष्यवक्ता पनि थिए। अर्ध वार्षिक परीक्षाको समाप्तिपछि त्यसको आधिकारिक नतिजा भदौमा स्कुल सुरु भएपछि मात्र आउँथ्यो। कुनै कुनै विषयको चाहिँ पहिले नै थाहा हुन्थ्यो।
अर्ध वार्षिक परीक्षामा उत्तीर्ण हुनु नहुनुले फरक पार्दैनथ्यो तर त्यसको अङ्क पनि वार्षिक परीक्षामा जोडिने हुनाले त्यसको महत्त्व ठुलै हुन्थ्यो। चालीस पूर्णाङ्कको अर्ध वार्षिक परीक्षामा पास हुन तेह्र या त्योभन्दा माथि अङ्क ल्याउनु पर्थ्यो। नतिजा थाहा नहुँदासम्म पास हुने या नहुने निर्णय चाहिँ तिनै मखमली किराको जिम्मामा हुन्थ्यो। परीक्षाको नतिजा जान्ने उपाय सजिलो थियो- मखमली किरालाई टिपेर हत्केलामा राख्ने अनि उसलाई स्वतन्त्रतापूर्वक हिँड्न दिने। हिँड्दै जाँदा उसले हातको कुहिनो पार गर्यो भने अर्ध वार्षिक परीक्षामा पास भइयो पार गरेन र औँलातिर गयो भने चाहिँ फेल।
डाँडामा मखमली किरा निस्केको देखेपछि हाम्रा पाइला रुकिहाले। हामीलाई पनि परीक्षाको नतिजा जान्न उत्सुकता जाग्यो।
सुशीला र म दुवैले एक एक किरा टिपेर आ-आफ्नो हत्केलामा राख्यौँ। मेरो हातको किरो औँलातिर लाग्न थाल्यो। फेल गराउँछ कि भनेर अलिअलि डर लाग्यो। मैले हात माथि उठाएर हुन्छ कि, हात बटारेर हुन्छ उसलाई कुहिनातिर हिँडाउन प्रयत्न गर्दै थिएँ। सुशीलालाई हेरेँ, उनको किरो पनि औँलातिरै जान जोड गरिरहेको थियो।
मैले उनलाई हेरेपछि उनले पनि आफ्नो किरालाई गाली गर्दै आफ्नो किरोबाट आँखा हटाएर मेरो के भैराखेको छ भनेर हेर्न मतिर पुलुक्क हेरिन्।
हामी दुवैले मखमली किरोलाई कुहिनो कटाउन निकै कोसिस गर्यौँ तर दुवै किराले मान्दै मानेनन्। फेल भइन्छ कि भनेर हामी दुवै डरायौँ।
तर हामीलाई जसरी पनि पास हुनु थियो। हामी दुवैले हातले नै किरो हिँड्ने बाटोमा अवरोध खडा गराएर जबरजस्ती त्यसलाई आ-आफ्ना कुहिना पार गरायौँ। बल्ल अलिकति मन शान्त भयो।
हामी पास भएपछि किराको काम सकियो। फेल गराउन खोज्ने किराप्रति रिस उठेको थियो। भुइँमा फालेर खुट्टाले मिच्यौँ। अघि भर्खरसम्म हाम्रो हत्केलामा खेलेको, हामीलाई परीक्षामा पास गराएको किरोले हाम्रो पाइतलामुनि एकैछिनमा प्राण त्याग गर्यो। उसको जिन्दगी सकियो- सधैँको लागि, कहिले नफर्कने गरी।
उसको मृत्युमा हामी रमायौँ।
नजिकै ढेंडीवाल हिँडिरहेको देखेपछि त्यसलाई पनि जिस्काउनै पर्यो। त्यो बिचरो पनि हामी जस्ता निर्दयीको अगाडी काल खोज्दै आएको रहेछ। मैले खुट्टाको बुढी औँलाले त्यसलाई छोएँ। ऊ गुटुमुटु परेर पैसा जस्तो भयो। हामीले गुटुमुटु परेको ढेँडीवाललाई तामाको पैसा जस्तै देख्थ्यौँ। गुटुमुटु परेपछि ढेंडीवालसँग डर लाग्दैनथ्यो। मैले उठाएर हत्केलामा राखेँ। ऊ चुपचाप थियो। केही चाल गरेन। अनि भुइँमा खसालेँ। तर पनि ऊ गुटुमुटु नै थियो। फेरि खुट्टाले चलाएँ। चाल गरेन। फुटुकी टिप्न लगेको हँसियाले छोएँ। अझै पनि चलेन।
तर मैले त्यत्तिकै छोड्नेवाला थिएन। काठको झिँजो खोजेर ऊ गुटुमुटु परेको बिचमा घोचेँ। त्यसपछि चाहिँ ऊ उफ्रन थाल्यो। मैले खोजेको त्यही थियो। ऊ उफ्रन थालेपछि मैले हँसियाको धारको पछाडितिरको भागले हानेर उसलाई दुई टुक्रा बनाएँ। टुक्रा परेका दुवै भाग छुट्टाछुट्टै उफ्रन थाले।
“छी! तँ त कस्तो फोरी छस् के। हिँड् अब, घर जाम्।”
हँसियाले ढेंडिवाल दुई टुक्रा पारेको देखेर सुशीलाले भनिन्।
तर मलाई केही फरक परेको थिएन। म टुसुक्क बसेर दुई टुक्रा परेर उफ्रिरहेका ढेंडीवाल हेरेर मजा लिइरहेको थिएँ। एक छिनपछि दुवै टुक्रा चल्न छोडे।
म उठेँ र छेउमा राखेको पिरुङ्गो उठाएँ। हामी घरतिर लाग्यौँ।
हामी माधब काकाको घरनेर पुग्यौँ। माधव काकाको घर हाम्रो घर जाने बाटोमा बाटोको पूर्वतिर थियो। अनायासै मेरा नजर उनको घरतिर पुगे। मेरो नजर पेटीमा उभिएर भर्खर रुकेको झरीले बलेन्द्रीमा जम्मा भएको पानी नियालिरहेकी एक जना बालिकामा गएर अडिए। त्यहाँ नयाँ केटी देखेर मलाई उत्सुकता जाग्यो। उनीहरूको घरमा त्यति साना बच्चाहरू थिएनन्।
मेरै उमेरकी जस्ती लाग्ने पातली, कैलो कपाल गरेकी, चुच्चो नाक, चम्किला आँखा, रातो रिबनले आफ्नो पातलो कपालमा दुई चुल्ठो बाँधेकी अनि रातो र पहेँलो बुट्टे फ्रक लगाएकी केटीसँग मेरो नजर जुध्यो। उनी मुसुक्क हाँसिन्। म पनि हाँस्न खोजेँ तर हाँस्नुभन्दा पनि म एकाएक लजाएँ। केही बेर अगाडिसम्म डम्म बादल लागेको जस्तो मेरो मन अचानक धक्क भयो भित्रभित्र कताकता डर पनि लाग्यो। तर उनको दर्शनले पनि मलाई मेरो मन भित्रको बादल फाटेर अचानक उज्यालो बनेको अनुभूति भैसकेको थियो। म मनमनै मुस्कुराएँ।
कहिले त्यसरी चञ्चल नबनेको मेरो मन अचानक चञ्चल बनेको मैले अनुभव गरेँ। तर मैले उनलाई हेरिरहन सकेन। मेरा नजर पनि झुके। उनी को थिइन मलाई थाहा थिएन। उनलाई मैले पहिले कहिले देखेको थिएन। सायद माधब काकाको कोही नातेदार होलिन् भन्ने अड्कल लगाएँ।
मलाई लाग्यो मेरो मुटु चल्न छोड्यो, सास रोकियो। म चाहन्थे समय पनि त्यहीँ रोकियोस्। तर न त समय रोकियो, न त मेरा पाइला। घरतर्फ लम्केका मेरा पाउ अगाडि बढ्न पटक्कै मानेका थिएनन् तर रोकिन सकेनन्। म पछि फर्केर तिनै अपरिचित बालिकालाई हेर्दै अगाडि बढेँ। सुशीलाले मैले के गर्दै छु भन्ने पत्तो पाइनन्। त्यही बेला अचानक आकाश गडगडायो। खजुरे वनका फुटुकीहरू पक्कै पनि जमिन फोडेर बाहिर निस्के होलान् तर मेरो मनले त्यतातिर सोचेन। मेरो मनभरि तिनै बालिका मात्र थिइन्। मलाई लाग्यो- मेरो मनको कुना फोडेर मेरो प्रेमको फुटुकी प्रस्फुटित भयो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।