पात्रहरू: कथा वाचक हरिबहादुर, श्रोता गण, दृश्य १,२,३,४ र ५ का पात्रहरू ।

परिवेश: ग्रामीण परिवेश ।


पृष्ठभूमि: ग्रामीण परिवेशमा निवृत्त जीवन बिताइरहेका हरिबहादुर कथा सुनाउन माहिर मानिन्छन्। जीवनको उत्तरार्धमा भएकाले उनको दैनिकी मध्याह्न पछि प्राय: घर नजिकको चौतारीमा जाने, वरपीपलको छहारी मुनि आराम गर्ने, चौतारीमा भेला भएका मानिससँग भलाकुसारी गर्ने र आफ्ना अनुभव तथा अध्ययनका आधारमा जानेबुझेका कुरा कथाका माध्यमबाट रोचक ढङ्गले गाउँलेहरूलाई कहनुहुन्छ।

कथा वाचक हरिबहादुरको सबै कथाहरूमा एउटै साझा विशेषता गाउँघर, समाज र देशको यथार्थ परिवेशले ओतप्रोत रहनु हो। उनका कथाका मुख्य मात्र नभई कथा वाचक स्वयंम्‌समेतमा समृद्ध समाज निर्माण गर्ने हुटहुटी हुन्छ।त्यसमा अर्को रमाइलो पक्ष के छ भने कथा विषय-वस्तुसँग मेल खाने गरी हरिबहादुरको कथा वाचनशैली बेजोडको छ।जसका कारण उनका कथा सुन्न जुनसुकै उमेर समूहका मानिसहरू उत्सुक हुन्छन्‌ र सधैँजसो कोही न कोही उनका वरिपरि झुम्मिएकै देखिन्छन्। आज पनि उनको कथा सुन्न सबै उमेर समूहका मानिसहरू चौतारीमा भेला भएका छन् ।

दृष्य:-१(मतलबपुर गाउँको कथासँग सम्बन्धित, मध्याह्नपछिको समय, गाउँको चौतारी, कथा वाचक हरिबहादुर (हातमा टेक्ने लौरो सहित) र उनको अघिल्तिर बसेका श्रोतागण)

(हरिबहादुरले गाउँको चौतारीमा भेला भएका श्रोतागणलाई कथा भन्ने सन्दर्भमा मतलबपुर गाउँको कथा सुनाउन तम्सिन्छन्।)

हरिबहादुर: (चौतारीको फलेकबाट लाैराेको सहाराले उठ्‌दै एकछिन अडिएर भावुक मुद्रामा कथा भन्न शुरू गर्छन्।)

आजको कथा मैले भन्ने गरेका अन्य कथाहरूजस्तै मेल खाने प्रकृतिको भए पनि यो अरूभन्दा अलि विशेष महत्वको किन छ भने यसले हाम्रो परिवेशको जीवन र जगतको यथार्थलाई चित्रण गर्दछ।त्यसैले म यो कथालाई केवल कथा मात्र नभनेर हाम्रो कथा भन्न रुचाउँछु ।

किंवदन्ती जस्तो लाग्ने यो हाम्रो कथा तपाईं हामीले नसुनेको, नदेखेको कुनै बिरानो मुलुकको कथा नभएर हाम्रै समीपमा रहेको ऊ परका ती दुई गाउँहरूको हो (आफूले टेकेको लौरोले टाढाका गाउँतर्फ देखाउँदै एकछिन अडिएर) त्यो पर डाँडापारि, सुन्दा अनौठो र अलिअलि हाँसो लाग्ने, केमतलबमतलबपुर गाउँहरू थिए।अहिले पनि मतलबपुर गाउँ त्यही नामले प्रसिद्ध छ भने केमतलब गाउँको नाम चाहिँ फेरेका छन् भन्ने सुनेको छु मैले। यद्यपि केमतलब गाउँ नै आजसम्म जनजिब्रोमा झुण्डिएको छ।

ती नामहरू किन यस्तो रहन गयो भन्ने रहस्य नै यस हाम्रो कथा भनौँ या यो कथाको सारतत्त्व हो।कथा हाम्रो परिवेशकै छ र शिक्षाप्रद पनि छ त्यसैले सबैले ध्यान दिएर सुन्नु होला।(अनुरोधको शैलीमा भन्छन्) । अनि कथा भन्दै गर्दा ठाउँ ठाउँमा म भावुक हुन सक्छु, मेरा आँखा रसाउन सक्छन्, कथा वाचनकै बीचमा पनि म कुनै कुनै बेला रोकिन पनि सक्छु, तपाईंहरूमध्ये कसै कसैलाई पनि त्यस्तै होला, त्यसका लागि म शुरूमै माफी चाहन्छु (याचनाको भावमा) । किनकी सत्य तितो मात्र होइन, कारूणिक पनि हुँदोरहेछ!)

जसो उनी कथा भन्न शुरु गर्छन् के मतलब गाउँको दृश्य प्रदर्शित हुन्छ।

 

(दृश्य-२ विद्यालयको विषयसँग सम्बन्धित, बिहानी पख, चोकको चियापसल, गाउँले मानिस चिया पिउँदै गफ गर्दै)

हर्के: (गाउँको चिया पसलमा केही मानिसहरु बसेर चिया पिउँदै बसेको देखेपछि बाहिरबाट चियापसल प्रवेश गर्दै हर्के) ल… साथीहरू त यता पो हुनुहुँदो रहेछ। संजोगले सबैसँग एकै चोटि भेट भयो क्या काइदा ! अनि एउटा कुरा नि, आज हाम्रो गाउँको सरस्वती माध्यामिक विद्यालयको व्यवस्थापन समिति र अभिभावकहरूको संयुक्त बैठक बस्दैछ। तिमीहरूलाई थाहा छ, छैन कुन्नि ! हामी सबै जाऔँ है ।

बिजय (पसलमा बसेका मानिसहरूमध्येको एक): आज त हामी वनभोज जाने हो। बरू तिमी पनि हामीसँग जाने हो भने हिँड ।

हर्के: विद्यार्थीको भविष्यसँग जोडिएको आजको विषय अलि संवेदनशील नै छ। तिम्रा हाम्रा सबैका कोही न कोही भाइ बहिना, छोरा छोरी त्यो विद्यालयमा पढ्छन्। एकछिन भएपनि आफ्नो कुरा राखेर वनभोज गए भै गयो नि ?

विश्व (पसलमा बसेका मानिसहरूमध्येको एक): हामी त नजाने ! काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झैं कलेज पढ्‌ने हामीलाई विद्यालयको विषय के मतलब ! (अलि ठूलो स्वरमा व्यङ्ग्यात्मक शैलीको हाउभाउ सहित)

हर्के: तिमी भन्छ्यौ नि ! शिक्षकहरू स्कूलमा पढाउन छाडेर व्यक्तिगत काममा मात्र हिँड्‌न थालेका छन्, अझ् पढाइभन्दा कोही कोही त नेतागिरी तिर पो लागेका छन्‌। जसले गर्दा विद्यार्थी भाइबहिनाहरूको पढाइ बिचल्ली छ, विद्यालयमा शिक्षकहरूले पढाउन छोडेपछि किताबको विषय बुझाइदिने कोही नभएर होला विद्यार्थीहरू पनि लत्तो छाडेर बरालिन थालेका छन्‌, विकृतितिर उन्मुख हुँदै छन्।

पसलमा बसेका मानिसहरूको समूह: (विश्वको स्वरमा हाँ मा हाँ मिलाउँदै सामूहिकरूपमा): कलेज पढ्‌ने हामीलाई विद्यालयको कुरा के मतलब !

हर्के: के मतलब अरे। यो तिमी हामी सबैको मतलबको विषय हो।अहिले के मतलब भनेर पन्छिन खोज्दा भाइ बहिनीहरू बरालिएर हिँडे, बदमास भए, दुर्व्यसनमा लागे भने भोग्ने छौं, अनि यसको मतलब बुझ्नेछौँ ।

 

(दृश्य-३ स्थानीय तह अन्तर्गत गाउँको योजनासँग सम्बन्धित, एउटै परिवारका सदस्यहरू खेतमा काम गर्दै गरेको अवस्था)

माहिला : (खेतमा काम गर्दै गरेका गाउँलेहरू भएतिर जाँदै) सबैलाई नमस्कार है ।

खेतमा काम गर्ने मानिसहरूको समूह: नमस्कार माहिला, किन हतारिँदै आयाै त खेतैमा ?

माहिला: सबै व्यस्त हुनुहुन्छ, तैपनि अलि जरूरी विषय भएकाले काम गरेकै ठाउँमा सबैलाई सुनाऊँ भनी खेतमै आएको।कुरा चाहिं के हो भने हाम्रो गाउँबाट स्वास्थ्य चौकी जोड्‌ने बाटो स्थानीय तहको बजेटमा ठेक्का लागी निर्माणको कार्य शुरू भएको छ। तर ठेकेदार, कर्मचारी को को मिलेर पैसा झ्वाम पार्न बाटो सम्झाैताभन्दा कम गुणस्तरको बनाउँदै छन् अरे। युगौँ पछि बल्लतल्ल बजेट परेको छ त्यस बाटोमा, फेरि फेरि बजेट आउँदैन त्यसका लागि। हामी सबैले बाटो बनाएको हेर्नुपर्यो, ठेकदार भेट्नु पर्यो, प्राविधिकहरूलाई अनुगमनका लागि बोलाउनु पर्यो ।

भोला (खेतमा काम गर्ने मानिसहरूमध्ये एक): हामीलाई हाम्रै कामको चटारो छ। सार्वजनिक काममा जान फुर्सद कहाँ हुनु र।हामीलाई गुणस्तर थाहा हुने कुरा पनि भएन।फेरि कसले खायो… भनी सोधपुछ गरेर कसैसँग ननिको हुन हामीलाई के मतलब !

माहिला: सुन भोला भाइ ! (सम्बोधन गर्दै) यो बाटो हामीले प्रयोग गर्ने हो। कसैको निजी नभए पनि हामी सबैको हो । सबैको हुनु भनेको हाम्रो पनि हो। बाटो बनाउने ठेकदार, कर्मचारीले यो बाटो कहिल्यै प्रयोग गर्नु पर्दैन, त्यसो हुँदा उनीहरूलाई यो बाटोको गुणस्तरबारे कुनै चिन्ता हुँदैन।“सुतेको कुकुरलाई सुत्न दिनु पर्छ” भन्ने उखान झैं बाटो प्रयोगकर्ता हामीले चासो नराखे ठेकदार, कर्मचारीहरूले लापरबाही, बदमासी र भ्रष्टाचार गर्न पनि सक्छन्।

मन बहादुर (खेतमा काम गर्ने मानिसहरूमध्ये एक): भ्रष्टाचार गरे अख्तियार छैन र ! त्यसको के काम ? तिमी पढेलेखेका छौं, गएर सोधखोज गरे भै हाल्यो नि ! हामी खेती किसानी गर्नेलाई के मतलब !

माहिला: एकले थुकी सुकी सयले थुकी नदी भन्छन्‌, काका ! (सम्बाेधन गर्दै) म एक्लै गए कसले पो कुरा सुन्ला र ! अनि अख्तियारलाई पनि त भ्रष्टाचारीलाई कारबाही गर्न हाम्रो साथ-सहयोग चाहिन्छ।देख्ने बुझ्ने साक्षी प्रमाण चाहियो। अदालतले पनि साक्षी प्रमाणकै आधारमा फैसला गर्ने हो। साक्षी प्रमाणको अभावमा कतिपय साँच्चैका भ्रष्टाचारीले पनि मुद्दा जितेका हामीले सुनेकै, देखेकै छौँ क्यारे। भ्रष्टाचारको मुद्दाको अनुसन्धान त निकै जटिल पो छ त काका ! त्यसैले भ्रष्टाचार हुन दिनुभन्दा हुन नदिनका लागि सबै लागौँ भनेको।

मनमाया (खेतमा काम गर्ने मानिसहरूमध्ये एक): (भुइँतिर हेरेर काम गर्दै अलि रिसाएको स्वरमा फतफताउँदै) हाम्रो बाउबाजे बाटो बिना पनि बसेकै थिए यस गाउँमा, ती झन् हाँसीखुशी बाँचेकै थिए जस्तो लाग्छ। बाटो नभए पनि हुन्छ हामीलाई त।बाटो साटो भनेर व्यर्थै अलमल्याउने नगर। जरूरी नै भए अरूहरूलाई नै लिएर गए भै गयो नि, हामीलाई के मतलब !

माहिला: हाम्रो गाउँको बाटो हो, त्यसैले हामी सबैलाई मतलब त हुनै पर्छ नि काकी ! (सम्बाेधन गर्दै) के मतलब भनी वेवास्ता गर्दा बाटो बजेट अनुसारको गुणस्तरीय नबनाउन सक्छन्‌। बाटो राम्रो नहुँदा दैनिक आवत-जावतमा कठिनाइ त भै हाल्छ । खासगरी आपतकालीन अवस्थामा एम्बुलेन्स, दमकल आउन नसक्दा बल्ल यसको मतलब बुझ्नु हुनेछ।

 

(दृश्य-४ आम निर्वाचनसँग सम्बन्धित)

जीवन: (साथी मनोज बाइकमा जाँदै गर्दा जीवनले देखेर रोकेपछि दुवै बीच वार्तालाप) के छ तिम्रो खबर, कहाँ जादैं छौ ?

मनोज: चुनाव प्रचार भनेर साथीहरूले बोलाएका छन्‌ अनि ।

जीवन: अँ साच्चैँ ! स्थानीय तहको निर्वाचन आउन पनि केही दिन मात्र बाँकी छ है। यस पालि चाहिँ सदाचारी उम्मेदवारलाई सबै मिलेर जिताउनु पर्छ; प्रचार प्रसारमा गएर, घरदैलो गरेर, मतदान गरेर। हेर न, त्यो भ्रष्टाचारी फेरि पनि उठेको छ लाजै नमानी ! (निरास हुँदै) त्यसले यसपटक पनि जित्यो भने त फेरि हाम्रो थप ५ वर्ष खेर जान्छ। तिमीले बुझ्यौ ? सदाचारी हाम्रा लागि उठेका छन् भने त्यो भ्रष्टाचारी आफ्ना लागि उठेको छ, कति फरक छ दुबैको नियतमा। वास्तवमा, यस पालिको निर्वाचन सदाचारी र भ्रष्टाचारीबीचको निर्वाचन हो हाम्रा लागि।

मनोज: सदाचारी भनेर के गर्ने? (प्रश्न गर्दै) प्रचार प्रसारमा जाँदा बाइकमा १ थोपा तेल त हाल्दैन, खाजा र पकेट खर्च त परै जावोस्‌ अनि त्यसको पछि को लाग्ने ? बरू तिमीले भ्रष्टाचारी भनेको उम्मेदवारले बाइकमा तेल हाल्ने, पकेट खर्च सबै दिने गर्छ।

जीवन: कुरा त्यस्तो होइन मनोज ! सदाचारीले निर्वाचनमा खर्च नगर्दा निर्वाचित भै सकेपछि सार्वजनिक सम्पत्तिको दुरुपयोग पनि गर्दैन। त्यसैले दुईचार हजार खर्चमा हामी कसैले आफ्नो विवेकलाई बन्धक बनाउनु हुँदैन। निर्वाचन त झन्‌ आफ्नो विवेक प्रयोग गर्ने सबैभन्दा उत्तम अवसर हो।

मनोज: कति साथीले त्यो तिमीले भ्रष्टाचारी भनेको उम्मेदवारबाट नयाँ बाइक नै पाइसके । तिमी चाहिँ आफ्नै खर्चमा निर्वाचनमा उम्मेदवारलाई सघाउने पुङमाङे कुरा गर्छौ यार ! अरूले सुन्यो भने पनि कति मूर्ख भन्छन् है तिमीलाई।

जीवन: हेर मनोज ! भ्रष्टाचारीले भिकारी दरिद्रलाई जस्तो २/४ हजार दिन्छ तिमी हामीलाई । त्यसको लोभमा परेर हामी भोट बेच्छौं, अनि हामी सबैलाई पाँच बर्ष लुट्नु लुट्छ। हामी भोट बेच्ने भिखारी अनि ऊ चाहिं लुटेरा ! अनि को चाहिँ मुर्ख भन त ! “सदाचारीलाई भोट, भ्रष्टाचारीलाई चोट” लागू गर्ने यही Golden Chance हो, बुझ्न ढिला नगर है ।

मनोज: यताउति गर्यो, तिमी फेरि नगदको जमानामा उधारोतिरै कुरा मोड्छौ, But this time is, time of cash. त्यसले मौकामा हिरा फोड्नु पर्छ साथी ! अरू कुरा त सब वाहियात हो। अनि तिमी कुन सपनामा छौ भन त ! यो गाउँमा को बस्छ भविष्यमा? म…? आफ्नो भविष्य त यूरोप अमेरिका (सपनामा डुबुल्की मार्दै हल्का मुस्कुराएर प्लेन उडेको हातले संकेत गर्दै) तिमी स्वार्थी रहेछ भन्छौ भने भन मलाई । तर मेरो आफ्नो मात्र मतलब छ मलाई, भगवान कसम !(रुद्रघण्टीमा दाहिने हातले छुँदै) गाउँमा बस्ने अरूको भविष्यसँग मलाई के मतलब !

जीवन: आफू जन्मे हुर्केको ठाउँको हामीलाई किन मतलब हुँदैन? आफ्नो गाउँको विकास र समृद्धिको विषयमा मतलब नराख्ने अनि भगोडा जस्तो भएर विदेश पलायन हुने ! संसारको जुनसुकै ठाउँमा बसे पनि आफू जन्मेको ठाउँ जहिले पनि खास हुन्छ, मतलबको विषय हुन्छ। जब जन्मथलोको यादले सताउँछ अनि बल्ल तिमीले थाहा पाउँछौँ यसको मतलब।

(यत्तिकैमा वार्तालाप सकिन्छ, मनोज बाइकमा हुइकिँदै नेपथ्यमा हराउँछ।)

 

(दृश्य-५ राष्ट्रसेवक कर्मचारीले आचरण विपरित काम गरी गैरकानूनी आर्जन गरेको विषयसँग सम्बन्धित)

अन्तरे : (आफ्नो नातेदार अगुवाको घरमा गएको अवस्थामा नाता अनुसारको सम्बोधन गर्दै) ठूलाबा ढोग गरें।

ठूलाबा: भाग्यमानी भएस्‌, अनि के कामले आइस त अन्तरे?

अन्तरे: हाम्रो कान्छा भाइको छोरा रबि राष्ट्रसेवक भयो भनेर खुसी लागेको त थियो तर उसले जागिर खाएको १-२ बर्षमै गाउँघरमा सबैले उसलाई भ्रष्टाचारी भन्न थाले। हुन पनि यति छिट्टै यत्रो ठूलो घर कसरी बनायो ? आफ्नै गाडि चढेर हिँड्ने पैसा कहाँबाट ल्यायो? गाउँलेहरू सबैले भ्रष्टाचारीको सन्तान भन्न थालिसके हामीलाई पनि, कुलकै बेइज्जत गरिसक्यो त्यसले ।आज पनि पसलमा बसेका बेखमानले व्यङ्ग्यात्मक शैलीमा उसकै कुरा सोध्दै थिए मलाई। मैले त लाजले रातोपिरो भै जवाफ नै फर्काउन सकिनँ। त्यसैले औडाहा भएर हान्निदै तपाईलाई भन्न आको। आरोप सत्य हो कि होइन पत्ता लगाउनु पर्यो ।

ठूलाबा: आ… अन्तरे, बेला बेलामा मलाई त उपहार ल्याइदिएकै छ। चाहिएको बेलामा गर्जो पनि टारेकै छ। गाउँकै सबैभन्दा ठूलो घर उसैको नै छ क्यारे।कसको खानदानको हो भन्दा हाम्रो पनि नाम जोडिन्छ त्यसमा । यस्तो सानको कुरामा व्यर्थैमा टाउको दुखाउनु के मतलब !

अन्तरे:‍ के को सान नि ! यस्ता कुरामा ठूलाबा? हामी दुखजिलो गरेर दिनचर्या बिताउनेलाई त भ्रष्टाचारीको सन्तान भन्छन्‌। त्यो भनेको सान हो कि अपमान हो ? गमक्क पर्ने विषय होइन याे । भ्रष्टाचारको सम्पत्तिले घर ठूलो बनाउनु भनेको त आफ्नै लागि बनाएको ठूलो झ्यालखाना जस्तै हो। यसरी तासको महल बनाउनुभन्दा बाँसको झुपडीमा बस्नु इज्जत हुन्छ। पापको धनसम्पत्ति भन्दा इज्जत कता हो कता ठूलो हुन्छ। पापको धनले साखा सन्तानसम्म पिरोल्छ। हाम्रा कुलको अगुवा तपाईं नै हो, तपाईंकै पहलमा यसलाई बेलैमा सच्याउनै पर्छ।नत्र कुलको इज्जत जान्छ, सत्यनास हुन्छ ।

ठूलाबा: इज्जत रे ? कुन इज्जतको कुरा गर्छ यो अन्तरे ? इज्जत भनेको नै धन सम्पत्ति हो अहिलेको जमानामा। यो भौतिक दुनियाँमा धन सम्पत्तिभन्दा ठूलो केही पनि छैन । तेरा खोक्रो नैतिक कुराको कुनै अर्थ छैन यो युगमा । त्यसैले अर्थबिनाको कुरामा मलाई के मतलब !

अन्तरे: ठूलाबा, यो हाम्रो कुलसँग जोडिएको विषय हो, त्यसैले हामी सबैलाई मतलब छ र हुनु पनि पर्छ।यसै गरी केटाकेटीले ललिपप पाउँदा रमाए झैँ रमाएर बसे “एउटाले बिरायो, साखा पिरायो” हुन्छ। हाम्रा अग्रजले ढिडो पिठो खाएर स्वाभिमानीपूर्वक आर्जेको मान सम्मान ऊ एउटाको कारणले धुलीसात हुन्छ।अनि यसको मतलब बुझ्नुहुन्छ।

 

दृश्य छ (केमतलब भन्ने गाउँ तर बदलिएको परिवेश) केमतलब गाउँको निर्वाचनमा भ्रष्टाचारीले फेरि जित्छ। ऊ विजय भएको केही समय पश्चात नै गाउँको विद्यालय भत्किँदा मर्मत सम्भार नगरेको, कक्षाकोठामा ताला लागेको,  ठेकदार र कर्मचारीले पैसा कुम्ल्याएर स्वास्थ्य चौकी बन्दाबन्दै निर्माण अधूरो छोडी भागेको, सेवाग्राहीसँग कर्मचारीले घूस मागेको लगायत बेथिति, पराकाष्ठाको दृश्यहरू देखिन्छन् त्यो केमतलब गाउँमा। बेथिति र विकृतिको उपजको रुपमा हत्या, हिंसा पनि बढिरहेको हुन्छ त्यस गाउँमा। बचेकुचेका युवाहरू गाउँको बेथितिबाट आजित भएर रोजगारीको खोजीमा मुङ्गलान झरिरहेको लर्को देखिन्छ। केमतलब गाउँ भ्रष्टाचारको दलदलमा फस्न जाँदा मरुभूमि झैँ उजाड देखिन्छ।

भ्रष्टाचारीले चुनाव जितैसँग बदलाको भाव राखी उनीहरूले आफ्ना प्रतिस्पर्धी सदाचारी उम्मेदवार, हर्के, माहिला, जीवन, अन्तरे लगायतलाई “मतलबीको समूह को बिल्ला भिराउँदै दिनुसम्म दु:ख दिन थाल्छन्। केमतलब, केमतलब भनी सामाजिक काम, विकास निर्माण एवं सुशासनका विषयहरूमा छरछिमेकले गरेको बेवास्ता र भ्रष्टाचारी नेताको ज्यादती बढ्दै गएपछि खप्न नसकेर हर्के, जन्तरे, माहिला, जीवन, सदाचारी नेता र उसका परिवार सबै जना एकसाँझ चौतारीमा आकस्मिक रूपमा भेला हुन्छन्‌।आ-आफूले भोगेका पीडा, कठिनाइ संवेदनशील भएर सघन रूपमा छलफल गर्छन्।यसरी हेपिएर पेलिएर बस्नुभन्दा सन्ततिको भविष्यका लागि पनि बसाइँ सर्ने र सबै मिलेर दिनरात नभनी खटेर समृद्ध मतलबपुर गाउँ निर्माण गर्ने संकल्प गर्छन् । सोही योजनामुताबिक अरू गाउँलेलाई सुईको समेत नहुने गरी एक मध्यरातको समयमा जन्मेको थातथलो (उनीहरूको दिएको नाम केमतलब गाउँ) छाड्छन्, छातीभरी पीडा बोक्दै भक्कानिँदै, रुँदै ।

===

 

(केही बर्ष पछि मतलबपुर गाउँको दृश्यहरू)

पहिलो दृश्य: (सजिसजाउ समृद्ध मतलबपुर गाउँको प्रवेशद्वार) प्रवेशद्वारको शिरमा “समृद्ध मतलबपुर गाउँमा हार्दिक स्वागत गर्दछौँ”  लेखिएको हुन्छ।

गेटको दायाँ बायाँ पिलरमा “सदाचारीलाई फूलमालाले अभिषेक, भ्रष्टाचारीलाई प्रवेश निषेध” लेखिएको हुन्छ।

 

दोस्रो दृश्य: मतलबपुर श्रमदान बैंक (यो बैंकले एकातर्फ श्रमदान याचना गर्ने व्यक्ति वा संस्थाको विवरण, श्रम दान चाहिने स्थान, कामको विवरण र आवश्यक जनशक्तिको विवरण राख्ने  भने अर्कोतर्फ श्रमदान गर्न इच्छुक व्यक्ति वा संस्था तथा तिनीहरूको योग्यता, दक्षता एवं श्रमदानका शर्तहरूसहितको विवरण राख्ने गर्दछ खासमा यो बैंकले श्रमदानको याचना गर्ने र श्रमदान गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूलाई एकआपसमा आवश्यक समन्वय गराइदिन्छ।)  परिसर श्रमदाता र श्रमदानबाट निर्मित पूर्वाधारहरूका तस्वीरहरूबाट सजिएका हुन्छन्‌। विभिन्न कथन तथा अनुरोधहरू लेखिएका भित्ते लेखनले परिसरका भित्ताहरू रंगिएका हुन्छन्‌ जसमध्ये “श्रमदान महादान, यसले गर्छ समाजको उत्थान” लेखिएको भित्ते लेखन एउटा भित्तामा र “तपाईंसँग भएको श्रमशक्तिलाई खेर नफालौं, श्रमदान गरी विकास र सुशासनमा योगदान पुर्याऔं, देशलाई समृद्ध र वैभवशाली बनाऔं ।“ भन्ने अनुरोध लेखिएको भित्ते लेखनको भित्ता विशेष लाग्दछ।

 

तेस्रो दृश्य: (विकास निर्माणको काम भइरहेको परिवेश) विकास निर्माणका काममा आम नागरिकले चासो राखेको देखिन्छ। तीमध्ये केहीले “भ्रष्टाचार छैन हामीलाई स्वीकार, सुशासन हो हाम्रो सरोकार” र “भ्रष्टाचार विरूद्धको सहकार्य, शुन्य सहनशीलता अनिवार्य” भन्ने नारा लेखिएका टिसर्ट, क्याप आदि लगाएका हुन्छन्‌ ।

 

चौथो दृश्य: सदाचारी उम्मेदवारले निर्वाचनमा विजय हासिल गरेपछि विजय जुलुस निकालिएको हुन्छ । जुलुसमा सहभागी नागरिकले “निर्वाचनमा हाम्रो भोट, सुनिश्चित भविष्यको अठोट”, “सदाचारीको जीत, सुशासन सुनिश्चित” र “भ्रष्टाचारीलाई नाइँ भनौँ, सदाचारीको बढाइ गरौँ” नारा लगाई राखेका हुन्छन् । जुलुस भने निकै सभ्य र मर्यादित हुन्छ।

 

पाचौं दृश्य:  (सरकारी कर्मचारीको घरको वैठक कोठा परिवेश) +२ पढ्‌ने छोरी आभाले (अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विद्यार्थीलाई वितरित अग्रभागमा “Say no to corruption।” लेखिएको T-shirt लगाएकी हुन्छिन्‌) सरकारी जागिरे आफ्नै बुबाले सेवाग्राहीबाट सरकारी कामको विषयमा रकम लेनदेन गरेको देख्छिन्।(उनको मानसपटलमा आफूसँगैको एकजना साथीको बुबाले भ्रष्टाचार गरेको खबर बाहिर आएपछि उसले कलेजमा भोग्नु परेको अपमान, गाउँघर र आफन्तबाट गरेको हेलाहोचो आदि चलचित्र झैं दौडन पुग्छ) त्यसपश्चात निजले मोबाईल फोनमार्फत अख्तियारलाई खबर गरिदिन्छिन्। खबर प्राप्त हुनासाथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रहरीसहितको अनुसन्धान टोली घटनास्थलमा पुगी रकम राखेको व्याग सहित शंकित दुबैजना व्यक्तिलाई पक्राउ गरी नियन्त्रणमा लिई अनुसन्धान अघि बढाउँछ।

भा: (बाबा र अर्को व्यक्तिलाई अख्तियार टोलीले हतकडी लगाएर लैजाँदै गर्दाको परिवेश) “भ्रष्टाचार आफ्नोले गरोस्‌ या अरूले, स्वीकार गरिन्न कहिल्यै” छोरीले बाबासँग प्रहरीलाई खबर गरेकोमा Sorry feel भाको छ तर सुधार त आफैबाट गर्ने हो भन्छिन्।

===

 

अन्तिम दृश्य: (कथा वाचनको पहिलो दृश्यमा पुनरागमन भएको अवस्था) कथा वाचक हरिबहादुर र श्रोतागण, गाउँको चौतारी)

हरिबहादुर(कथा वाचक): आज तपाईंहरूले केमतलब गाउँमतलबपुर गाउँको अवस्था, केमतलब गाउँ किन भ्रष्टाचारको दलदलमा फसेर बन्जर अवस्थामा रह्यो र मतलबपुर गाउँ सुन्दर र समृद्ध भयो र त्यो कसरी र के कारणले हुन गयो ? भन्ने छर्लङ्ग बुझ्नु भयो जस्तो लाग्छ मलाई । यति भन्दै कथा त मैले टुङ्गयाएँ तर यस कथाको सन्देशका बारेमा मेरो केही भनाइहरू तपाईंहरूसँग राख्ने यत्न गर्छु, यदि तपाईंहरुको सहमति छ भने (सहमति माग्दै) ।

श्रोतागण: सबैले सहमति दिँदै शिर हल्लाउँछन् ।

हरिबहादुर: भ्रष्टाचार दुनियाँ कै सबैभन्दा जटिल सामाजिक रोग हो। यो आफैमा एउटा जटिल रोग त हुदैँ हो, यसले मानिसहरूलाई लोभी पापी बनाई पैसाको पछि लाग्ने एक किसिमको मानसिक रोगी बनाउँछ जसले गर्दा पैसालाई सबथोक मान्ने र सदाचारीको अवमूल्यन हुने उदेकलाग्दो विकृत भाष्य समाजमा स्थापित हुन जान्छ।

यतिमात्र कहाँ हो र ! पैसालाई धेरै महत्त्व दिने प्रवृत्तिले भ्रष्टाचारसँगै चोरी, ठगी, लुटपाट, हत्या, आत्महत्या, सम्बन्धविच्छेद जस्ता अपराध एवं हिंसाका घटनाहरू पनि समाजमा वृद्धि  हुन्छन्। अर्कोतर्फ मेहनत, परिश्रम गर्ने कर्तव्यपरायण राष्ट्रसेवक ओझेलमा पर्न थाल्छन्, तिनीहरूलाई बदमासहरूले निरूत्साहित पार्छन, दु:ख कष्ट दिन थाल्छन् जसले गर्दा कति पलायन त कति गलत बाटोमा लाग्न बाध्य हुन्छन्। परिणामतः मेहनत गर्ने, परिश्रम गर्ने र अनुशासनमा रहने सभ्य मानिसहरूको असल संस्कारमा ह्रास आउँछ, अकर्मण्यता र बेइमानी जस्ता विकृति झांगिएर जान्छन् अन्ततोगोत्वा समाजका मूल्य, मान्यता, कला, संस्कृति, सम्पदा र पहिचान मासिएर सिङ्‌गो राष्ट्र नै संकटमा पर्न जान्छ।

(श्रोतागणतर्फ इङ्गित गर्दै) सुन्दा नमिठो लाग्न सक्छ तपाईंहरूलाई, तर यथार्थ के हो भने कर्मचारी एक्लैले भ्रष्टाचार गर्न सम्भव हुँदैन, यसमा हामी नागरिकहरू पनि कही न कही, कुनै न कुनै रूपमा मतियार हुन्छौँ। भ्रष्टाचार राष्ट्रको कंलक हो।त्यसैले यसलाई रोक्नु प्रत्येक नागरिकको कर्तव्य हो भन्ने जान्दाजान्दै हामी नागरिक किन किंकर्तव्यविमूढ छौँ, यो आफैमा यक्ष प्रश्न भएर हामी सामु तेर्सिएको छ।

वास्तवमा भ्रष्टाचार कानूनीरूपमा दण्डनीय अपराध मात्र नभएर यो नैतिकरूपमा समेत पाप र तुच्छ कर्म हो भने यसलाई रोक्ने कार्य पूण्य र महान कार्य हो। तसर्थ, भ्रष्टाचारको रोकथाम तथा नियन्त्रण यस युगको सबैभन्दा ठूलो माग हो। यस महान कार्यमा जुट्न म सबैलाई हार्दिक अनुरोध गर्दै मेरो भनाइ यही बिट मार्न चाहन्छु ।

सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, यो कथाको सन्देश अवलम्बन गरेमा सुशासन आईजाला, अस्तु ! (सबैलाई नमस्कार गर्दै हरिबहादुर ओझेलमा पर्छन्।)

तालीको गडगडाहटसँगै श्रोतागण सबैको कथाप्रति ऐक्यवद्धता भाव झल्कन्छ।यसैबीच श्रोतागण मध्येकै राधा जुरूक्क उठेर अगाडि बढ्दै श्रोतागणका तर्फबाट हरिबहादुरलाई धन्यवाद दिन्छिन् र नारा लगाउन थाल्छिन्‌ “भ्रष्टाचारको उन्मूलन, समृद्धिको अवतरण,” “भ्रष्टाचार देशकै ठूलो कलंक, सबै मिली गरौँ यसको अन्त,” उनको आवाज पछ्याउँदै अरू श्रोतागणले नारा दोहोर्याउँदै गाउँतिर अघि बढ्‌छन्, केही समयमै हरिबहादुर र श्रोतागण नेपथ्यमा हराउँछन्। नेपथ्यमा सुशासनसँग सम्बन्धित धुन बज्न थाल्छ।