पात्रहरू:
१) मुकुले कान्छा (गाउँको गुलेली केटो)
२) महादेव (विद्यार्थी)
३) सृष्टि (विद्यार्थी)
४) हरी सर (शिक्षक)
५) शकुन्तला दिदी (मूकुले कान्छाको आमा)
६) युवराज दाइ (मुकुले कान्छाको बुबा)
७) वसुन्धरा आमा( बृद्ध महिला)
८) श्यामे र बिस्ने (मुकुले कान्छाका साथी)
(“सफलताको सूत्र पुस्तकमा होइन, निरन्तरको मेहनतमा हुन्छ।”अब्राहम लिंकनको भनाइलाई उद्धृत गर्दै नाटक गुलेली मास्टर सुरु हुन्छ। सामान्य गाउँले परिवेशमा हुर्केको मुकुले कान्छा अध्ययनको लागि हालसम्म कुनै पनि विद्यालयमा भर्ना भएको छैन। उसको दैनिकी भनेको बिहान सबेरै उठेर हातमा गुलेली लिएर गाउँ चहार्ने हो । कसैको घरमा पाकेका फलफूल छन् भने चोर्ने र केही न केही साँझसम्म सिकार गरेर कोसेली लिएर घर फर्कने, यो उसको दैनिकी हो ।
आमाले; ‘धारामा गएर पानी लिएर आइज’ भन्दा ‘टाढा’ भनेर नमान्ने मुकुले कान्छा कतै काक्रो चोर्नु छ भने तीन गाउँ परसम्म पुग्न पनि नजिकै सम्झन्छ ।
गुलेली कान्छा जसलाई समाजले जन्माएको, हुर्काएको, शिक्षा दिक्षा र बाँच्न प्रेरित गरिरहेको प्रतिनिधि पात्र हो । गुलेली कान्छालाई सुधार्ने जिम्मा कसले लिन्छ ? तपाईंले ? कि आफैँ ?)
दृश्य -१
(शकुन्तला दिदी घर बाहिर उभिरहेकी हुन्छिन् भने मुकुले कान्छा ओछ्यानमा सुतिरहेको हुन्छ ।)
शकुन्तला दिदी: ए मुकुले ! मुकुले ! डाँडामाथि घाम लागिसक्यो, कति सुत्न सकेको ? उठ बाबु ?
मुकुले कान्छा: हजूर..!आमै पनि! सुत्नै नदिने!
शकुन्तला दिदी: अरूका छोराछोरी बिहान बिहानै पढ्न जान्छन् । हाम्रा भने उठ्ने पनि अत्तोपत्तो छैन। छोरालाई स्कुल पढाउन भन्दा बाउले खर्च हुन्छ भन्छन्। ज्याला गरेर भए पनि सन्तानको भविष्य सुधार्ने सोच अधुरो रह्यो।
मुकुले कान्छा: बिहान बिहानै भाषण !
(ओछ्यानबाट जुरुक्क उठेर हत्तपत्त बाहिर निस्कन्छ मुकुले कान्छा। पिँढीको एक डिलमा राखेको भरी लोटा लिएर कानमा जनै राखेर डाँडामा शौचालय जान्छ ।)
शकुन्तला दिदी: खाने र फाल्नेभन्दा केही काम छैन, यिनका !
(यतिकैमा मुकुले कान्छाको बुबा युवराज दाइको प्रवेश हुन्छ।)
युवराज दाइ : छोरालाई नकराऊ भो!
शकुन्तला दिदी: पुल्पुल्याउने हजुर त हो नि ?
युवराज दाइ : मलाई पनि पढाउने इच्छा नभएको कहाँ हो र। मुकुलेलाई पढाऊँ भने, बिहान साँझ के खाने भन्ने समस्या।
शकुन्तला दिदी: माइतमा मलाई पढाउनुभन्दा बिहे गरेर जाने जात भने, यौटो कक्षा पढ्न पाइनँ, सानैमा बिहे गरिदिए। अरूको के आश गर्नु ?
(शौचालयबाट फर्केर मुकुले कान्छा पिँढीमा लोटा घोप्ट्याउँदै बाबु आमाको कुरा सुन्छ ।)
(सृष्टि र महादेव झोला बोकेर पल्तिरबाट स्कुल जान मुकुलेको घरको बाटो आइरहेका हुन्छन् ।)
मुकुले कान्छा: आमै स्कुल जाने बेला भएछ, (दलिनमाथि सिउरेर राखेको गुलेली लिएर गाउँ चहार्ने यात्रामा निस्कन्छ।)
(सृष्टि र महादेवको मुकुले कान्छासँग भेट हुन्छ ।)
सृष्टि: मुकुले पढ्न जाने हो ? (जिस्क्याउँदै )
मुकुले कान्छा: लैजान्छेस् !(मुस्कुराउँदै) सृष्टिले लाने भए जाने ? सहदेवलाई लैजानु पर्ने होला ?(जिस्क्याउँदै)
सृष्टि: जे गरे गर । बाटो छोड् ! (रिसाउँदै।)
सहदेव: निहुँ मात्रै खोज्नु पर्ने यसलाई। (झोक्किँदै )
(सृष्टि र महादेव स्कुल बाटो लाग्छन्। यता मुकुले कान्छा भने गाउँनिर निस्किन्छ।)
…
दृश्य २
(श्यामे र बिस्ने लागुऔषध प्रयोगकर्ता हुन् । उनीहरु निकै लामो समयदेखि लागु औषधबाट छुटकारा पाउन चाहन्छन् तर के गर्नु चाहेर मात्रै हुँदैन ! पहिले रहरमा लागु औषध प्रयोग गरेका भए पनि अहिले बाध्यताजस्तै बनेको छ । अहिले मुकुले कान्छा पनि तिनै साथीको संगतले लागु औषधमा बिस्तारै फस्दैछन्।)
(… यत्तिकैमा मुकुले कान्छाको प्रवेश हुन्छ ।)
मुकुले कान्छा: भर केटा हो ! एक लगाउनु पर्यो। (हतारिँदै!)
श्यामे : जहिले हामीले किनेर दिनुपर्ने । कहिलेकाहीँ त किने हुन्छ नि तैंले ? हामी मात्रै खर्च गर्ने भन् त बिस्ने ?
बिस्ने: त्यो त हो । यसका बा’ले हजार रुपैयाँ बुझेको मैले देखेको ।
मुकुले कान्छा: सुड्डोले कहाँ लुकाउँछन् थाहै हुँदैन यार ! भेटेँ भने भोलि ल्याउँछु ल !
श्यामे: ल्याइस् तैंले ! (खिसि गर्दै ।)
बिस्ने : पैसा नल्याए पनि चरा भने खुवाउँछ है , हात त साह्रै सिदा । आज पनि शिकार खेल्नु पर्छ है !
मुकुले कान्छा: हुन्छ नि बिस्ने !
( केही बेर चुरोट तान्न थाल्छन् ।)
मुकुले कान्छा: सुन् न केटा हो, सृष्टिले पढ्न जाम भनी यार । मैले लैजान्छस् भने जान्छु भने ! हा..!हा..!
बिस्ने: तँलाई सृष्टिले साह्रै मन पराउँछे यार। महादेवले खोसेर लैजाला विचार गर ।
मुकुले कान्छा: हो..र ! मलाई पनि कस्तो राम्रो लाग्छ । खाली पढेन भन्छे, रिस उठ्छ ।
बिस्ने: पढ न त पढ । तैँ पनि केही हुन्छ कि ?
मुकुले कान्छा: बाउले पैसा दिए पढ्न हुन्थ्यो, दिँदैनन् । तिनलाई रक्सी खाँदै ठिक्क छ।
(निन्याउरो मुख लगाउँदै तलतिर टोलाएर बस्छ, मुकुले कान्छा ।)
(यतिकैमा श्यामेले आफ्नो कुरा राख्छ ।)
श्यामे: छोड पढाइका कुरा, पढेर के हुन्छ ? बरु, आज वसुन्धरा आमाको घरमा काक्रो चोर्न जानुपर्छ है । पर्खालबाट देखेको कति ठूलो थियो हिजो !
बिस्ने: जाम न यार। मैले नि देखेको ?
(बसेको स्थानबाट तीनैजना उठ्छन् र वसुन्धरा आमाको घरतर्फ अगाडि बढ्छन् ।)
…
दृश्य:३
(वसुन्धरा आमाको घरको आँगनमा तिनै जना मुकुले कान्छा,श्यामे र बिस्ने पुग्छन् । आँखाको ईशारा गर्दै मुकुले कान्छालाई वसुन्धरा आमासँग गफ गर्न लगाउँछन् ।)
श्यामे र बिस्ने: एकै स्वरमा हामी गयौँ है !
(उनीहरु घरबाट बाहिर जान्छन् ।)
मुकुले कान्छा: आमा के छ खबर ? दादा कहिले आउने विदेशबाट ?
वसुन्धरा आमा: खै मुकुले नानी ! खबरसम्म पनि पठा छैनन् । (पोल्टामा रहेको मिश्रीको डल्लो मुकुले कान्छालाई दिँदै, बाबु आज रुखको घाँस काट्देऊ न है। साह्रै गाह्राे भो)
मुकुले कान्छा: हस् आमा । (टाउको हल्लाउँदै)
वसुन्धरा आमा: श्यामे र बिस्ने गाउँमा निकै आवारा छन् भन्छन्,धेरै संगत नगर है नानी।
मुकुले कान्छा: भइहाल्छ नि ! आमा।
वसुन्धरा आमा:बस्दै गर नानी, म खुर्पा ल्याउँछु।
(यतिकैमा वसुन्धरा आमा खुर्पा लिन भित्र पसिन् ,यता श्यामे र बिस्नेले काक्रो चोरेर निस्किसकेका थिए ।)
वसुन्धरा आमा: (घर बाहिर निस्कँदा उनको नजर काक्रोमा पर्यो,) लौन कसले चोर्यो काक्रो ? अघिसम्म थियो ।कतै श्यामे र बिस्नेको काम त होइन ? छोरीलाई पठाउने कोसेली ? हे_र हे_र..! (कराउन थालिन्)
(मुकुले कान्छा झसङ्ग भयो, कतै पिट्ने त होइनन् ।)
मुकुले कान्छा: होइन होला !
वसुन्धरा आमा:(पुर्पुरोमा हात राख्दै) यो गाउँमा विश्वास गर्ने मान्छे भेटिनै छोड्यो।
(मुकुले कान्छा डराई डराई रुख चढेर घाँस काटेर ल्याउँछ र टौवामुनि राख्छ।)
मुकुले कान्छा: आमा म जान्छु है । केही परे भन्नु ?
वसुन्धरा आमा: धन्यवाद नानी । मैले जे भने पनि गर्छौ तिमीलाई केही गर्नुपर्ने छ कि ?
मुकुले कान्छा: “ढुंगा खोज्दा देउता मिलेजस्तो भयो” पढुँ भनेको आमाबाबाले पढ्न पठाउँदैनन् । पैसा छैन रे !
वसुन्धरा आमा: पढ्न मन छ भने, म पढाउँछु नानी, के कति खर्च लाग्छ म दिन्छु ।
मैले पढाएका छोराछोरी मसँग छैन । तिम्रो चाहना छ भने म पढाउँछु नानी ! दादाको कपडा पनि छ राम्रै, किताब पनि छ । के भो र । लैजाऊ पर्ख ।
(कपडा र किताब हातमा राखिदिन्छिन् । स्कुलमा भर्ना शुल्क आमाले दिने वचन दिनुभएको भन्देऊ है नानी म भोलि स्कुल जान्छु ।)
मुकुले कान्छा: (मुस्कुराउँदै) हुन्छ आमा। म भोलि आउँछु। हजुरले भनेको काम पनि गर्छु । पढ्न पनि जान्छु।
(मुकुले कान्छा आफ्नो घरको बाटो लाग्छ।)
…
दृष्य: ४
(सबेरै उठेर नुहाइधुवाइ गरी खाना खाई विद्यालय जाने तयारीमा लाग्छ मुकुले कान्छा )
(घरमा सबैजना अचम्म परेर उसलाई मात्रै हेरिरहेका हुन्छन् । मुकुले कान्छाले वसुन्धरा आमाले पढाइदिने कुरा कसैलाई पनि भनेको छैन ।)
(महादेव र सृष्टि; मुकुले कान्छाको घरको बाटो आइरहेका हुन्छन् । मुकुले कान्छा झोला बोकेर विद्यालयको पोसाकमा देखेर दङ्ग पर्छन् ।)
सृष्टि: आज हाम्रो स्कुल जाने हो ? मुकुले । गुलेली खै ?
मुकुले कान्छा: आजदेखि मेरो स्कुल हो त्यो ?(जिस्किँदै)
(तीनै जना सँगै स्कुल जान्छन्। बाटोमा वसुन्धरा आमाले पढाइदिने सबै कुरा सृष्टिलाई बताएपछि, सृष्टिले प्रशासनमा गएर भर्ना प्रक्रिया अगाडि बढाउन भन्छिन् ।)
(मुकुले कान्छाको पढाइप्रतिको लगाव र अथक मेहनतपछि विद्यालयले पूर्ण छात्रवृत्तिमा पढाउने निर्णय गर्छन् ।)
(विद्यालय शिक्षा हुँदै उच्च शिक्षाको लागि गाउँबाट बाहिर सहरमा पढाउन वसुन्धरा आमाले पहल गरिन् । लगानी गरिन् ।)
(२० वर्ष पछि…!मुकुले कान्छा अध्यापन अनुमति पत्र र लोकसेवा आयोग मार्फत अब्बल श्रेणीमा पास गरी गाउँको विद्यालयमा अध्यापनको लागि आउने पक्का हुन्छ ।
उसले सोचेको र बुझेको जस्तो गाउँ धेरै परिवर्तन भएको महसुस गर्दै आफूले जानेबुझेका ज्ञान सबैमा पुर्याउन भूमिका खेल्ने अठोटका साथ विद्यालयमा अध्यापनको यात्रा अगाडि बढाउँछ; मुकुले कान्छा ।)
(घर पुगेको भोलिपल्ट मिल्ने साथीहरु श्यामे र बिस्ने मुकुले कान्छालाई भेट्न घर आइपुग्छन् ।)
श्यामे: मुकुले सर ! कता हुनुहन्छ ? (आमा देखिनुहुन्छ) आमा नमस्कार !
शकुन्तला दिदी: पानी लिन गयो,तिमीहरूको साथी ।
श्यामे: पानी पनि लिन जाने भो त्यो ? धेरै भो भेट नभएको ।
शकुन्तला दिदी: ब_स बाबु हो ।(पिँढीमा रहेको गुन्द्रीतर्फ देखाउँदै ।)
श्यामे: हस् आमा।
(दुवै जना पिँढीमा बस्छन्)
(यतिकैमा युवराज दाइ; मुकुले कान्छाको बुबाको प्रवेश हुन्छ ।)
युवराज दाइ: के छ, ठिटाहरू ?
बिस्ने: ठिक छ बुबा । मुकुले भेट्न आ’को ! बिर्स्यौ कि सम्झेको छ होला।
युवराज दाइ: हिजो साँझ तिमीहरूलाई आउने बित्तिकै सोधेको थियो । बसुन्धरा आमालाई हिजो भेटेर आयो । आज तिमीहरूसँग भेट्ने भन्दै थियो तिमीहरू आयौ । ठिकै भो ।
बिस्ने: हजुर आजभोलि कस्तो राम्रो देखिनु भएको बुबा ।
युवराज दाइ: मास्टरको बाबुले रक्सी खान्छन् भन्दा राम्रो सुनिँदैन भनेर छोडे नि !
बिस्ने: ठीक गर्नु भो बुबा, चायो भने के हुन्न र!
युवराज दाइ: तिमीहरू पनि सुध्रेका छौ । पहिले कस्ता थियौ थाहा छ ?
बिस्ने: (हाँस्दै) कसरी बिर्सन सकिन्छ र ! ती दिन। (श्यामेलाई हेर्दै मुस्कुराउँछ बिस्ने ।)
श्यामे: (सोच्दै) गुलेली खेल्न छोडेर मास्टर बन्यो मुकुले । हामी कहिल्यै केही गर्ने सोच आएन ।(दुःखिद मुद्रामा) समय पनि कति छिटो बित्ने रहेछ, गुलेली मास्टर बन्यो हाम्रो साथी ! गर्व लाग्छ।
(मुकुले कान्छाको प्रवेश हुन्छ।)
मुकुले कान्छा: साथीहरु घरमा !
श्यामे: गुलेली मास्टर भेट्न घर आउनु पर्यो नि ?
मुकुले कान्छा: तिमीहरू अझै उस्तै रहेछौ । परिवर्तन भएका रहेनछौ । फेरि मेरो नाम राखिसक्यौ। “गुलेली मास्टर!”
श्यामे: हाम्रो याद आएन तँलाई ?
मुकुले कान्छा: धेरै सम्झेको हुन्थे तिमीहरूलाई।
श्यामे: सृष्टिलाई त बिर्सिइस् होला है । (जिस्क्याउँदै)
मुकुले कान्छा: (हा..हा..!)सम्झेको छु नि ? (मुस्कुराउँदै) बिहे भएको छ कि छैन होला ? त्यो पनि थाहा छैन ?
श्यामे: (सोच्दै!) जे भए नि के भो र!
मुकुले कान्छा: त्यसो नभन न!(श्यामेलाई सुम्सुम्याउँदै)
(आज मुकुले कान्छा स्कुल अध्यापन गराउन जाने पहिलो दिन सुकिलो कपडा लगाई श्यामे र बिस्नेलाई लिएर विद्यालय जान्छ ।)
…
दृश्य:५
(विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको मुकुले कान्छाको स्वागतको लागि विद्यालयमा अबिर खाँदा लिएर बसेका हुन्छन्। यसअघि बसेको बैठकले मुकुले कान्छालाई प्रधानाध्यापक बनाउने निर्णय गरेका छन्।)
हरि सर: स्वागत छ सर। हजुरको उपस्थिति यो गाउँको लागि उदाहरणीय बन्नेछ।
मुकुले कान्छा: नमस्कार सर। हजुरले मेहनत गरेर पढाउनुभएको नतिजा हो यो।
हरि सर: मेहनत गर्ने मान्छेले कहिल्यै पछाडि फर्कनु पर्दैन।
मुकुले कान्छा: हजुरहरुको माझमा एउटा प्रस्ताव राख्न चाहन्छु । मन्जुर दिनुहुन्छ भने श्यामे र बिस्नेलाई सहयोगी कर्मचारीको रुपमा भर्ना गरी यस विद्यालयको भौतिक सुधारमा केही गर्ने सोच राखेको छु । अब यो गाउँमा पढ्नबाट कोही वञ्चित हुनेछैन।
हरि सर: स्वीकार्य छ। (उपस्थित सबैले ताली बजाउँछन् ।)
(यतिकैमा मुकुले कान्छाको सृष्टि मिससँग आँखा टक्क रोकिन्छ।)
सृष्टि: सर नमस्कार!
मुकुले कान्छा: नमस्कार, तिमी पनि ? मलाई त थाहा नै थिएन।
सृष्टि: हामीलाई त कहाँ सम्झनु हुन्छ र ?
मुकुले कान्छा: खुसी लाग्यो।
(एकैछिन रोकिएपछि)
सृष्टि: पहिले हामीले कल्पना गरेको विद्यालय बनाउनु जरुरी छ। नमुना विद्यालयको रूपमा यस विद्यालय स्थापित गर्नु पर्नेछ।
मुकुले कान्छा: धन्यवाद सम्पूर्णमा यो भव्य स्वागतको लागि, यो जिम्मेवारी मैले पूरा गर्नेछु। गुणस्तरीय शिक्षा पाउने हकबाट अब कोही वञ्चित हुनु पर्दैन। हिजो शैक्षिक जग बलियो थिएन, अब मजबुत भएको छ।
(केही दिनपछि सृष्टि र मुकुले कान्छाको प्रेम सम्बन्ध विवाहमा परिणत भयो। )
(अहिले त्यस गाउँको विद्यालयमा शत प्रतिशत विद्यार्थीहरु उत्तीर्ण हुन्छन्। भौतिक सुधारसँगै योग्य शिक्षक, प्रविधिको विकासले विद्यालय ज्ञानको मन्दिर बनेको छ।)
दिवाकर भट्टराई
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।