दृश्य : कुनै एक निर्जन स्थान ।
समय : जुनै पनि ।
सङ्गीत : तनावपूर्ण ।
{शाहजहाँ भित्रिन्छ हातमा तरबार लिएर अनि}
शाहजहाँ : (क्रोधित स्वरमा) एइ इतिहास ! भन् तँ कहाँ छस् ? कहाँ लुकिस् एइ इतिहास ? मेरो अघि आइज । किन लुक्छस् ? आइज, आइज मेरो अघि । तँलाई धेरै कुरा सोध्नु छ । आइज ।
इतिहास : (नेपथ्यबाटै) हे शाहजहाँ ! तिमी यति क्रोधित किन ?
शाहजहाँ : तँ को होस् ?
इतिहास : म इतिहास हुँ ।
शाहजहाँ : कहाँ लुकेको छस् ? मेरो अगाडि आइज । आज म छिनाफाना गर्छु । आइज ।
इतिहास : तिमी मसित किन रिसाएको ? मेरो के दोष छ ?
शाहजहाँ : रिसाउँछु म तँसित । कारण तेरो दोष धेरै छ । तँ यहाँ आइज । म तँसित कुरा गर्न चाहन्छु ।
इतिहास : क्रोध र हिंसालाई थन्क्याऊ पहिला । अन्त्यमा म आउँछु ।
शाहजहाँ : किन ?
इतिहास : कारण क्रोध र हिंसापूर्ण वातावरणमा वार्तालापले निष्कर्ष छुन सक्दैन । यसर्थ शान्त बन । तिम्रो हातको तरबारलाई म्यानमा राख।
शाहजहाँ : तँलाई मदेखि डर लाग्छ ?
इतिहास : मूर्खतादेखि डराउनु नै पर्छ ।
शाहजहाँ : केको मूर्खता ?
इतिहास : बातचितबाट ठोस निर्णय ननिकाली त्यसै क्रोधित र हिंसक हुनु मूर्खता नै हो ।
शाहजहाँ : म यो कुरा मान्दिनँ ।
इतिहास : नमान । तर एकदिन मान्नुपर्छ । किनभने क्रोध र हिंसाबाट निर्णय निस्किँदैन । शान्त वातावरणमा ठण्डा दिमाग लगाएर बातचित गरियो भने मात्र ठोस निर्णय निस्कन सक्छ । यसर्थ शान्त बन ।
शाहजहाँ : तँ पहिला चुपचाप यहाँ आइज। (म्यानमा तरबार हाल्छ) लु, मैले तरबार राखेँ । अब आइज। आइज एइ इतिहास ! तँ म अघि आइज । (सङ्गीत तीव्र हुन्छ अनि त्यसपछि कसैको पदचाप सुनिन्छ नेपथ्यमा) आइज, इतिहास ! एइ इतिहास ! तँ कहाँ छस् ?
इतिहास: (भित्रँदै) म यहाँ छु शाहजहाँ ।
शाहजहाँ: ओह ! तँ नै इतिहास होस् ?
इतिहास: हो । अब भन तिमी मसित किन रिसाएका छौ र के कुरा गर्न चाहन्छौ ?
शाहजहाँ: तँलाई कसले मेरा व्यक्तिगत कुरा लेख्नु भन्यो? तँलाई कसले मेरो व्यक्तित्वलाई जनताअघि राख्नु भन्यो ? कसले ममाथि आरोप लगाउनु भन्यो ? कसले ?
इतिहास : फेरि रिसाउँदै छौ ? न रिसाऊ । पहिला मेरो कुरा सुन। म इतिहास हुँ । मैले व्यक्तिको राम्रो काममात्र लेख्नु हुँदैन। नराम्रो काम पनि लेख्नुपर्छ । मैले प्रशंसामात्र लेख्नु हुँदैन। समीक्षा पनि लेख्नुपर्छ अनि समीक्षामा प्रशंसामात्र हुँदैन । तिम्रो दोष पनि हुन्छ।
शाहजहाँ : चुप। तैले मेरो सुकर्ममात्रै लेख्नुपर्छ। मेरो प्रसंशामात्रै लेख्नुपर्छ।
इतिहास : गलत धारणा । इतिहास एकपक्षीय हुनु हुँदैन । इतिहासले उत्थान र पतन, जय र पराजय, कूटनीति र धर्मनीति, क्रूरता र उदारता, सभ्यता र निरङ्कुशता सबै लेख्नुपर्छ । यसैले मैले तिम्रो प्रसंशामात्र लेखेको छुइनँ । तिम्रो सुकर्म मात्र लेखेको छुइनँ ।
शाहजहाँ : तर इतिहास,मूल्याङ्कन केवल सुकर्मको हुनुपर्छ। कुकर्मको होइन।
इतिहास : शाहजहाँ, मेरो कुरा सुन । तिमीमा धेरै गुण थियो। तिमी एकजना कुशल शासक थियौ । तिमी वीर, न्यायप्रिय, वैभवप्रिय, परिवारप्रेमी, परिश्रमी र महत्त्वकाङ्क्षी सम्राट थियौ ।
शाहजहाँ : स्याबास !
इतिहास : तिम्रो शासनकालमा साहित्य र कलाको विकास भयो। तिमीले जनहितकारी काममा धेरै ध्यान दियौ । तिम्रो कालमा शिक्षा र व्यापारको उन्नति भयो। तिम्रो न्याय पक्षपाती थिएन। तिमीले विश्व प्रसिद्ध ताजमहल बनाएर प्रेमको महत्त्व बढायौ । तिम्रो शासनकाल स्वर्णकाल थियो ।
शाहजहाँ : स्याबास ! इतिहास यसलाई भनिन्छ ।
इतिहास : तर शाहजहाँ !
शाहजहाँ : तर के ?
इतिहास : तर तिमीमा अवगुण पनि धेरै थियो । तिमीले सिंहासनका निम्ति आफ्नै पिता जहागीरको विरुद्ध विद्रोह गर्यौ ।
शाहजहाँ : त्यो समयको माग थियो ।
इतिहास : तिमी अति निर्दयी शासक भयौ। तिमीमा धर्मान्धता थियो । तिमीले आफ्ना छोराहरूलाई समान माया गरेनौ। खालि जेठा छोरा दारालाई मात्र धेरै माया गर्यौ। यसैले तिम्रो अर्को छोरा औरङ्गजेबले आफ्ना दाजुहरूको हत्या गर्यो र तिमीलाई कैदी बनायो ।
शाहजहाँ : त्यसको कुरा नगर । त्यो पापी हो । त्यसले मेरो सिंहासनलाई कलङ्कित पार्यो ।
इतिहास : यसमा दोष तिम्रै छ। तिमीले उसलाई एकजना पिताले दिनुपर्ने माया दिएनौ । उसलाई आज्ञाकारी पुत्र बनाउन सकेनौ। पुत्र बिग्रनुमा पिताको पनि हात हुन्छ।
शाहजहाँ : मैले त्यसलाई बिगारिनँ । त्यो आफैँ भ्रष्ट भयो ।
इतिहास : तिम्रो दोष त्यति मात्र छैन शाहजहाँ । तिमीले चापलुसी गर्नेहरूका कुरा सुनेर काम गर्यौ । जनतालाई करको भारीले थिच्यौ। जनताको पसिनाको कमाइलाई ठूल्ठूला भवन र महल बनाएर खर्च गर्यौ । तिमी भोगविलासी भयौ । तिमीले कामेच्छा पूर्तिका निम्ति जाति, वर्ग, धर्म, जातको वास्ता गरेनौ अनि……
शाहजहाँ : (कुरा काटेर) चुपलाग् । मैले जे गरेँ समयसित हिँड्नलाई गरेँ। तँलाई चैँ यसमा किन चासो ?
इतिहास : म इतिहास हुँ। यसैले तिम्रो गुण र अवगुण दुवैमा चासो छ । शाहजहाँ,एउटा मान्छेमा गुण र अवगुण दुवै हुन्छ । उसले सुधार पनि गर्छ। भूल पनि गर्छ।
शाहजहाँ : तर मलाई सुधार चाहिन्छ । भूल होइन ।
इतिहास : सुधारका निम्ति भूल हुनु आवश्यक छ । भूलका निम्ति सुधार हुनु झन् आवश्यक छ । तिमी सुन तिम्रो भूल र बुझ।
शाहजहाँ : इतिहास,मलाई मेरो भूल नदेखा । मेरो व्यक्तिगत कुरामा दखल नदे । बुझिस् ? मेरा गुप्ती कुराहरू तेरो पृष्ठबाट मेटा ।
इतिहास : हेर शाहजहाँ, तिमी इतिहासमा चर्चित छौ। सबै चर्चित हुन सक्दैनन् । भाग्यमानीले मात्र चर्चित हुने मौका पाउँछ ।
शाहजहाँ : तर म मेरो गुणका लागि चर्चित हुनुपर्छ। अवगुणका लागि होइन। बुझिस् ? मलाई मेरो निरङ्कुशताको इतिहास चाहिँदैन। मेरो बारेमा जे सुकै लेख्ने तेरो अधिकार छैन। मेरा व्यक्तिगत कुराहरू,भित्री कुराहरू काट् तेरो पृष्ठबाट । नत्र म तँलाई यही तरबारले काट्छु । (तरबार झिक्छ अनि )यो तरबार देखिस् ? यसले धेरैको टाउको छिनाएको छ। तेरो पनि टाउको छिनिन सक्छ ।
इतिहास : हिंसाले समस्या समाधान हुँदैन । शाहजहाँ, म इतिहास हुँ। यसैले ती कुरा मेरो पृष्ठबाट काट्न असमर्थ छु ।
शाहजहाँ : (तरबारले प्रहार गर्न खोज्दै) त्यसो भए ला ।
इतिहास : (तरबारको प्रहारबाट बाँच्न खोज्दै ) होइन,तिमी मलाई मार्न सक्दैनौ। (भाग्दै प्रस्थान गर्छ )
शाहजहाँ : (खेद्दै) अरे इतिहास, तँ कहाँ भाग्छस् ? तर आज म तँलाई छोड्दिनँ । छोड्दिनँ । कहाँ भाग्छस् ? तर आज म तँलाई काट्छु काट्छु (इतिहासलाई खेद्दै प्रस्थान गर्छ)
{मञ्च खाली छ। यत्तिमा एक शिल्पकारको प्रवेश। उसको दाहिने हात काटिएको छ ।}
शिल्पकार: (हाँस्दै)हा…हा… सबै नाम खोज्नेहरू मात्र छन् । सबै दाम खोज्नेहरू मात्र छन्। राम्रो काम गर्नेहरू छैनन्। तर इतिहास नराम्रो काम गर्नेहरूकै लेखिएको छ। इतिहास अनुमानले भरिएको छ ।
इतिहास : (भित्रँदै) यो झुट हो । सरासर झुट हो । यो आरोप हो इतिहासमाथि ।
शिल्पकार: (विस्मित भावमा ) को हौ तिमी ?
इतिहास : म इतिहास हुँ ।
शिल्पकार: (हाँस्छ) हा… हा… हा…
इतिहास : तिमी किन हाँस्छौ ? हो, म इतिहास हुँ । तिमी मलाई आरोप नलगाऊ। सबै मलाई किन आरोप लगाउँछन् ?
शिल्पकार: कारण तिमी विवादग्रस्त छौ । धेरै ठाउँ तिमी केवल अनुमानमा बाँचेका छौ । प्रामाणिकता कम्ती छ धेरै ठाउँमा । यसैले तिमीमाथि आरोप छ । (रिसाएर)तिमी पक्षपाती छौ । पक्षपाती ।
इतिहास : (रिसाएर शिल्पकारलाई झकझकाउँदै) के अरे ? म पक्षपाती छु अरे ? होइन,म पक्षपाती छुइनँ । (इतिहासले शिल्पकारलाई धक्का दिन्छ । शिल्पकार भुइँमा लड्छ।)
शिल्पकार: तिमीले मलाई ठेलेर लडाएर आफू पक्षपाती हुनुको प्रमाण दियौ।
इतिहास : म कसरी पक्षपाती ? भन । म कसरी पक्षपाती ?
शिल्पकार: तिमीले मजस्तो गरीबलाई सधैँ यसरी नै लडाएका छौ । तिमीले केवल धनीलाई पृष्ठ दियौ।
इतिहास : धनी र गरीबको कुरा छैन । इतिहास सृजना गर्ने क्षमता र प्रतिभा हुनुपर्छ मान्छेमा । तब मात्रै उसले पृष्ठ पाउँछ इतिहासमा । तिमी को हौ र पृष्ठ खोज्छौ ?
शिल्पकार: म एकजना शिल्पकार हुँ। म गरीब प्रतिभाको प्रतीक हुँ । खोइ ? मेरो पृष्ठ कहाँ छ इतिहासमा ? कहाँ छ ?
इतिहास : तिमीले त्यस्तो के काम गरेका छौ र तिमी इतिहासमा आफ्नो पृष्ठ खोज्दै छौ ?
शिल्पकार: म पृष्ठ किन खोज्दै छु ? तिमी सुन्न चाहन्छौ ? सुन, म शिल्पकार हुँ । इतिहासमा मौर्य,गुप्त, बर्द्धन, पल्लव, दास, मुगल आदि वंशहरूको धेरै लेखाजोखा छ। इतिहासमा कतिपय वंशका कालहरूलाई स्वर्ण काल पनि भनियो । तर यिनीहरूका कालहरूको प्रसिद्धिमा मेरो पनि रगत र पसिना बगेको छ । तर खोइ मेरो रगत र पसिनाको मूल्याङ्कन ?
इतिहास : मूल्याङ्कन ?
शिल्पकार: हो, मूल्याङ्कन । इतिहासमा मजस्तो शिल्पकारको मूल्याङ्कन छैन । मूल्याङ्कन छ त नर संहार गर्ने योद्धाहरूको । मूल्याङ्कन छ त निरंकुश प्रशासक, सुल्तान र विलासी सम्राटहरूको । मूल्याङ्कन छ त अर्काको देशमाथि हमला गर्ने राजाहरूको । इतिहासमा पृष्ठ छ त अश्वमेध यज्ञ गर्नेहरूको । हो,इतिहासमा पृष्ठ छ त अर्काको जीवन सङ्गिनी भइसकेकी सुन्दरी रानीहरूको सौन्दर्य लुट्ने बादशाहहरूको तर मजस्तो शिल्पकारका निम्ति इतिहासमा पृष्ठ छैन ।
इतिहास : तिम्रो मूल्याङ्कन हुनुपर्छ भन्ने कुरालाई तिमी कसरी पुष्टि गर्छौ?
शिल्पकार: मैले धेरै सम्राट र सुल्तानहरूको कालमा धेरै सुन्दर र उत्कृष्ट स्तूप, स्तम्भ,शिलालेख,मन्दिर, दुर्ग, महलहरू बनाएको छु । महल र मन्दिरभित्र कलात्मक शृङ्गार गरेको छु ।
इतिहास: (हाँसेर) हा…हा…तिमीले ? तर तिमीले ती स्तूप,स्तम्भ,शिलालेख,मन्दिर,भवन,दुर्ग,महलहरू बनाएनौ। ती त बनाए महाराजाहरूले, सम्राटहरूले ।
शिल्पकार: यसै कारण त म भन्दै छु तिमी पक्षपाती छौ। ती उत्कृष्ट स्तूप,स्तम्भ,शिलालेख,मन्दिर, दुर्ग,भवन, महलहरू महाराजाहरूले, सम्राटहरूले बनाएनन्। तर शिपकारले बनायो । महाराजा र सम्राटहरूले त केवल धन लगाएर निर्माण गर्न अह्राए । बनायो त शिल्पकारले आफ्नो प्रतिभा लगाएर। तर इतिहासमा प्रतिभा लगाएर बनाउनेहरूको नाम आएन । नाम आयो त केवल धन लगाएर अह्राउनेहरूको । यसर्थ इतिहास पक्षपाती भयो ।
इतिहास : मलाई आरोप नलगाऊ ।
शिल्पकार: लगाउँछु। मैले राजा-महाराजाहरूका कालहरूमा आफ्नो प्रतिभाद्वारा वास्तुकला,चित्रकला, मूर्तिकलालाई विकसित पारेँ । नाम कमाए राजा- महाराजाहरूले। तर मैले के पाएँ ? तिरस्कार ? इतिहासले मेरो प्रतिभालाई काट्यो। मलाई यस्तो पार्यो।
(शिल्पकारको काटिएको दाहिने हातमाथि प्रकाशपुञ्ज केन्द्रित हुन्छ। उसको डुँडे हात प्रष्ट देखिन्छ।)
इतिहास : झुटो कुरा नगर ।
शिल्पकार: यी हातले मैले सौन्दर्य सृष्टि गरेँ । यी मेरा हातले मैले अलौकिक कला सृजना गरेँ दिनरात रगत र पसिना खर्चेर । मैले यी हातले एक-एक सङ्गमरमर कलात्मक ढङ्गमा काटेर महलमा लगाएँ । महलको तारिफ भयो। महलभित्रको शिल्पकारिताको प्रशंसा भयो । तर श्रेय शिल्पकारलाई दिइएन । सम्राटलाई दिइयो । यसरी इतिहास पक्षपाती भयो ।
इतिहास: म भन्दै छु म पक्षपाती छुइनँ ।
शिल्पकार: तिमी पक्षपाती छैनौ भने गरीब मान्छेको इतिहास किन छैन ? दलित, शोषित र शासित मान्छेको इतिहास खोइ ? किन नामै छैन काम गर्नेहरूको इतिहासमा ? किन दामै छैन काम गर्नेहरूको इतिहासमा ? सम्राटको सिंहासन बनाउने सिकर्मीहरूको इतिहास खोइ ? सुल्तानको महल बनाउने डकर्मीहरूको इतिहास खोइ ? मान्छे नमारी किन इतिहास बनिएन ? युद्ध नगरी किन इतिहास लेखिएन ? किन युद्ध र हिंसाका कुरालाई मान्यता दिन्छौ तिमी ? भन, भन । जवाफ देऊ ।
इतिहास : हेर शिल्पकार, यसमा मेरो गलती छैन। म त इतिहास हुँ। जस्तो लेखियो त्यस्तै छु ।
शिल्पकार: तर तिमी किन त्यस्तो लेखियौ ?
इतिहासल अनुसन्धानले जस्तो पायो त्यही आधारमा म लेखिएँ ।
शिल्पकार: तर अब अलिखित इतिहास पनि लेखिइनु पर्छ । नत्र तिमीलाई मजस्तो शिल्पकारको श्राप लाग्नेछ ।
इतिहास : श्राप ?
शिल्पकार: हो, श्राप लाग्नेछ । अलिखित इतिहास अझै लेखिएन भने तिमी विवादग्रस्त र पक्षपाती मात्र हुने छैनौ । अझ श्रापित पनि हुनेछौ ।
इतिहास : हेर शिल्पकार, म व्यर्थै आरोपित हुँदैछु । श्रापित हुन जाँदैछु । तर मेरो दोष केही छैन।
शिल्पकार: तिम्रो दोष छैन ?
इतिहास : हो,छैन। कारण म कलमद्वारा लेखिन्छु । कलमले जस्तो लेख्छ त्यस्तै हुन्छु म ।
शिल्पकार: त्यसो भए दोष कलमको हो ?
इतिहास : होइन । कारण कलमलाई लेख्न लगाउँछ इतिहासकारले ।
शिल्पकार: तब दोष इतिहासकारको हो ?
इतिहास : होइन। कारण उसलाई उसको विवेकले लेख्न लगाउँछ ।
शिल्पकार: तब दोष विवेकको हो ?
इतिहास : होइन । कारण विवेकले लेख्छ अनुसन्धानद्वारा प्राप्त स्तूप,स्तम्भ,ग्रन्थ,अभिलेख,शिलालेख, मुद्रा, सभ्यता आदिको आधारमा । यी सामग्रीमा अप्राप्त चीजहरू इतिहासमा पनि अलिखित हुन्छन् । यसरी अलिखित हुनुमा मेरो दोष छैन ।
शिल्पकार: तिमी जे नै भन तर म यो कुरो मान्दिनँ । किनभने प्राप्त चिजमा पनि पक्षपात भएको छ ।
इतिहास : कसरी ?
शिल्पकार: तिमी भन,कुतुबमिनारको एक-एक ढुङ्गा काटेर जोड्ने शिल्पकारको इतिहास खोइ ? ताजमहलको एक-एक सङ्गमरमर काटेर जोड्ने प्रतिभाशाली शिल्पकारको इतिहास खोइ ? उसको पसिनाको मूल्याङ्कन खोइ ? प्राप्त आधारहरूले सम्राट र सुल्तानहरूकै मात्र इतिहास किन भन्छन् ? किन खोपिँदैन शिल्पकारको नाम ती आधारहरूमा ?
इतिहास : त्यसो भए शिल्पकार,तिमी आफैँ भन अब के गर्नुपर्ने ?
शिल्पकार: जाऊ गएर लेख्न लगाऊ कलमलाई अलिखित इतिहास । जाऊ ।
इतिहास : ठीक छ । म गएँ ।
शिल्पकार: पर्ख, म पनि जान्छु तिमीसित । कारण मैले कलमलाई साक्षी दिनु छ।
(दुवै हिँड्न लाग्छन्। यत्तिमा कुदेर आएको शाहजहाँको प्रवेश)
शाहजहाँ : (तरबार उचालेर) इतिहास,तँ कहाँ जाँदैछस्? तँ जान पाउँदैनस् । मेरा व्यक्तिगत कुरा तेरो पृष्ठबाट नकाटेसम्म म तँलाई जान दिन्नँ ।
इतिहास : तिमी मेरो पिछा किन गर्छौ ? म भन्दै छु म असमर्थ छु ।
शाहजहाँ : तैले मेरो कुरा मान्नै पर्छ । नत्र ?
इतिहास : उफ ! अब म के गरूँ ?
शिल्पकार: ऊ को हो इतिहास ?
इतिहास : शाहजहाँ ! सम्राट शाहजहाँ !
शिल्पकार: ओह ! सम्राट शाहजहाँ ! जसको तिमीले धेरै तारिफ गरेका छौ ?
शाहाजहान: यसले मेरो तारिफ होइन,निन्दा गरेको छ । तिमी चैँ को हौ ?
शिल्पकार: मलाई बिर्सनुभयो महाराज ?
शाहजहाँ: को हौ तिमी ?
शिल्पकार: म तपाईँको शासनकाललाई आफ्नो प्रतिभाले स्वर्णकाल बनाउने शिल्पकार हुँ महाराज।
शाहजहाँ : शिल्पकार ? म चिन्दिनँ ।
शिल्पकार: इतिहासले बिर्सिएपछि मलाई कसैले चिन्दैन । तर महाराज, अब मेरो अलिखित इतिहास लेखिनु पर्छ । इतिहास, तिमी हिँड मसित ।
शाहजहाँ : खबरदार ! इतिहास, तँ जान पाउँदैनस्।
इतिहास : कस्तो अप्ठ्यारो स्थिति ? शाहजहाँ ! तिमी भन्छौ तिम्रो लिखित इतिहास मेटाउनु अनि शिल्पकार, तिमी भन्छौ तिम्रो अलिखित इतिहास लेख्नु । म धर्मसङ्कटमा परेँ । तर शाहजहाँ ! एउटा कुरो भन्छु । अलिखित इतिहास लेख्नु जति साह्रो छ त्योभन्दा गाह्रो लिखित इतिहास मेटाउनु छ ।
शाहजहाँ : मतलब तँ मेरा व्यक्तिगत कुरा मेटाउँदैनस् ? तर इतिहास,यदि तैले मेरा व्यक्तिगत कुरा मेटाइनस् भने तँ मेटिनेछस् मेरो हातबाट । बुझिस् ?
शिल्पकार: महाराज,इतिहासलाई जान दिनुहोस् । मेरो अलिखित इतिहासको प्रश्न छ ।
शाहजहाँ : म यसलाई जान दिन्नँ। (इतिहासलाई समात्छ । )
इतिहास : छोड मलाई छोड ।
शिल्पकार: महाराज,इतिहास धनी र सम्राटको मात्र पेवा होइन। (छुट्ट्याउन खोज्दै) छोड्नुहोस् उसलाई ।
शाहजहाँ : (तरबार उचालेर) खबरदार ! यो तरबार देखिस् ? तँ मेरो काममा बाधा नबन्। नत्र तेरो एउटा भएको हात पनि काटिदिन्छु । शिल्पकार, पछि हट् ।
शिल्पकार: म छोड्दिनँ उसलाई । मेरो इतिहास लेख्नका निम्ति बचाउँछु उसलाई ।
इतिहास : छोड मलाई। तिमीहरू किन मलाई विवादग्रस्त पार्छौ ? छोड ।
शाहजहाँ : (इतिहासलाई तान्दै) हिँड् तँ मसित ।
शिल्पकार: (इतिहासलाई आफूतिर तान्दै) होइन तिमी मसित हिँड।
शाहजहाँ : छोड् उसलाई छोड्।
इतिहास : छोड मलाई छोड ।
शाहजहाँ : इतिहास, मसित हिँड् भन्दैछु तँलाई ।
शिल्पकार: इतिहास, तिमी मसित हिँड ।
शाहजहाँ : होइन मसित ।
शिल्पकार: होइन मसित ।
इतिहास : (बन्धनबाट मुक्त हुन खोज्दै) छोड मलाई। छोड मलाई ।
शाहजहाँ : म छोड्दिनँ ।
शिल्पकार: म छोड्दिनँ ।
इतिहास : बचाऊ । मलाई यिनीहरूको बन्धनबाट छुटाऊ । मलाई बचाऊ। ब…चा…ऊ …
(शाहजहाँ हाँस्छ । इतिहासको अन्तिम ‘बचाऊ’ शब्द प्रतिध्वनित हुन्छ अनि शिल्पकार, शाहजहाँ र इतिहास आ-आफ्ना अभिनयमा स्तम्भित हुन्छन्।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।