नाटकका पात्रहरूः

१) शिवहरि (जेठा बा !)
२) सावित्री (आमा)
३) रस्मी ( छोरी)
४) सारिका (बुहारी)
५) धर्मानन्द (पण्डित )
६) पुर्खा (छोरा)

(यस नाटक मौलिक कथावस्तुमा आधारित रहेर धार्मिक मूल्य र मान्यताहरूलाई आधार बनाइ हिन्दू धर्ममा आस्था राख्ने नेपालको उत्तर पश्चिमको एक गाउँमा पुर्ख्यौंदेखि जिम्मेवारीपूर्वक अङ्गाल्दै आइरहेको एउटा विशुद्ध धार्मिक कर्म श्राद्ध तर्पण, जो दिवंगत पितृहरूको स्मरणमा मृत्युको तिथि पारेर पुण्य कमाउने उद्देश्यले पिण्ड दिने अथवा पितृहरूको मृत्यु भएको दिनमा सम्झना गर्दै श्रद्धापूर्वक गरिने कर्म श्राद्ध हो । सोही दिनमा आफ्ना आफन्त नाता कुटुम्बलाई घरमा बोलाएर श्रद्धा पूर्वक खुवाउन प्रयोग गरिने मासबाट बनेको परिकार हो – फुरौला ।)

…………

दृश्य :१

शिवहरि (जेठा बा !) : बिहान भइसक्यो उठ है सबै उठ! (झिसमिसे बिहानमा घरको ढोका खोल्दै थिए जेठा बा ! गोठमा भैंसीले केही खान खोजेको जस्तो हस्याङफस्याङ आवाज आउँछ ।)

सावित्री (आमा): सारिका .. सा ..सारिका ! उठ भैंसीलाई पराल देऊ । (फतारिंदै।) उठ्न भ्या छैन, खान खोज्छ डाम्ना ! (भैंसीतर्फ हेर्दै।)

सारिका: हस् आमा । एकछिन है ! दिइहालें ।

पुर्खा : एकाबिहानै के हल्लाखोर हो ? सुत्न पनि दिँदैनन् हाम्रा घरका ! ….(मौन.. (घुर्दै!))

शिवहरि (जेठा बा !): आगो सल्काऊँ भनेको खोपीमा सलाई पनि भेट्दिनँ , कहाँ राखेछस् हो पूर्खेकी आमा?

सावित्री (आमा ): खोपीमा होइन, दलिनमुनि सिउरेको छु, भेट्नु भो हजुर?

शिवहरि (जेठा बा !) : खोजेसी भेटिन्छ भो (ठट्यौली पारामा..!)

(जेठा बा ! गोठमा कुँडो पकाउन, आगो सल्काएर काधमा गम्छा बोकेर बाहिर निस्किए ।)

शिवहरि (जेठा बा !) : म निस्के है ! (जेठा बा ! स्नान गर्न नदीतर्फ लागे।)

सावित्री (आमा): रस्मी उठ्, आज काम धेरै छ ।भाउजू मात्रैले भ्याउँदिनन् ।

रस्मी: (आँखा मिच्दै।) जहिले त्यस्तै, यो आमाले मलाई नउठाई केही पनि गर्नुहुन्न ! (कुचो समाएर आँगन सफा गर्दै हुन्छे रस्मी)

सारिका: (पानीको डोको पिँढीमा बिसाउँदै ।) उफ्..! (लामो सास फेर्दै।)

रस्मी: भाउजू चिया पकाउनुन ? आज पण्डित बा ! पनि आउनु हुन्छ । उहाँलाई पनि है ।

सारिका: हस् नानी ! भइहाल्चनी !

सारिका: रस्मी नानी, आज फूल अलि धेरै चाहिन्छ, पारिजात फूल टिपेर ल्याउनू है ।

रस्मी: ढकिया निकाल्दिनु न भाउजू? दुबो,तुलसी पनि चाहिने होला नि? (जिज्ञासा राख्दै)

सारिका : हजुरलाई थाहा छ नि? (हाँस्दै)

………….

दिवाकर भट्टराई

दृश्य: २

(घरमा पण्डित धर्मानन्दको उपस्थिति हुन्छ।)

सावित्री (आमा) : नमस्कार पण्डित जी ।

पण्डित: नमस्कार हजुर ! (लामो सास फेर्दै) जेठा बा, नुहाएर आउनु भएको छैन? आज कर्म चाँडो सक्नु छ, माथिल्ला घरे विष्णुको घरमा पनि चाँडो आउनू भनेका छन् ।

सावित्री (आमा): सर्जाम जुटाउँदैछौँ । सकिन्छ ।उहाँ आएपछि सुरु भइहाल्छ ।(ठूलो स्वरमा )पुर्खा अब उठ,घरमा भए पनि नुहाउन पर्यो ? (सबैजना घरमा नुहाउने तयारी गर्छन्।)

पण्डित : कलश स्थापना गर्नु पर्यो । म मेरो काम गर्दै गर्छु ।
(जेठा बा! को प्रवेश हुन्छ । घरमा सबैले नुहाएर ,अब के गर्ने भन्ने विषयमा छलफल सुरु हुन्छ।)

सावित्री (आमा): सर्जाम तयारी छ है, पण्डित जी ! (सबै सामाग्री आँगनमा निकाल्दै, )रस्मी अब खाना पकाउनु पर्यो । भाउजूलाई पनि भन त! तरकारी काट्न पर्यो ?

सारिका: (सोच्दै)आज त फुरौला पनि बनाउनुपर्छ है ।

सावित्री (आमा): पर्छ नि । आज फुरौला सारिकाले बनाउँछिन् । डालोमा मास दलेर राखेको छ, खाटमुनि हेर त ।

सारिका : हुन्छ आमा! (आत्तिँदै)

(पण्डितले मन्त्र सुरु गर्दै श्राद्ध सुरु हुन्छ । पण्डितको अघिल्तिर जेठा बा धोतिपाटो फेरेर पलेटी कसेर बसेका छन्।)

………….

दृश्य : ३

सारिकाले फुरौला पकाउने जिम्मा पाएकी छन् ।तर उनलाई फुरौला कसरी पकाउने केही थाहा हुँदैन,कसैलाई सोधौँ भने; त्यति पनि नजान्ने ! भनेर परिवारले खिसिट्युरी गर्ने हो कि भन्ने चिन्ता छ ! आँगनको एक छेउमा आगो सल्काउन लागिन् ।

सारिका: रस्मी नानी ! यता आउनु न?

रस्मी: मेरो काम धेरै छ,भाउजू ! आउनै पर्छ?( प्रतिप्रश्न गरिन्)

सारिका : पर्दैन । ( अलमल पर्दै।)

सारिकाले अरूलाई सोधेर आफू उल्लू बन्नुभन्दा जस्तो हुन्छ, बनाउछु भन्ने सोचिन् र मासको पिठोमा नुन, पानी राखेर आरीमा पिठो मुस्न लागिन् । पिठो गिलो भएको कारणले गर्दा, असहजका बीच फुरौला तयार गरिन् । सबै आफ्नो काममा व्यस्त भएका कारण कसैले पनि उनको कामलाई मध्यनजर गर्न सकेको थिएन ।

सावित्री आमा: (सारिका तर्फ हेर्दै) तयार भयो सारिका ?

सारिका : (आगोको रापले रातो पिरो हुँदै ) पाक्यो आमा ।

सावित्री (आमा):( नजर फुरौला तर्फ हेर्दै।) गज्जब भएछ । हा..हा.. हाँस्दै..!

(यतिकैमा श्राद्ध समापन हुन्छ । पिण्ड बोकेर नदीमा सेलाउन पण्डित र जेठा बा जान्छन्।)

पुर्खा दाइ: कति बेला हो खै आउने? भोक लागि सक्यो?

(घाम निक्कै लागेकोले खल्तीबाट रुमाल झिकेर पसिना पुछ्न् थाल्दछन् ।)

………………

दृश्य: ४

शिवहरि (जेठा बा !): हामी आयौँ है । आज बा को तिथिको कर्म पनि सकियो । पण्डित जीलाई खाना खाने प्रपञ्च मिलाउ पूर्खेकी आमा ?

पण्डित: माथिल्ला घरे विष्णुकोमा पनि कर्म छ, छोटो गरौं है । (आत्तिँदै,पण्डित पिँढीको डिलको अंखराबाट पानी निकाल्दै हात पखाल्न लागे र भित्र खाना खान बसे।)

सावित्री (आमा):( खाना पस्कँदै) मिठो मसिनो के भो । मिठो मानेर खाइदिनु है पण्डित जी ?

पण्डित : हस् । ( उनको नजर फुरौलातर्फ जान्छ।) यस्तो फुरौला आजसम्म खाएको थिइनँ !( ठट्यौली तरिकाले।)

सावित्री (आमा): (मक्ख पर्दै।) देख्दा राम्रो नभए पनि खाँदा मिठो रहेछ है । हाँस्दै..!

(यतिकैमा जेठा बा र छोरा पुर्खा पनि खाना खान बस्छन्)

पण्डित : ल बस्नुस है । (पण्डित आफ्नो बाटो लागे।)

पुर्खा दाइ: (खान खाँदै) यो फुरौला कसले पकाएको ?

जेठा बा: खा न .! जसले पकाए पनि के भो र !

सावित्री (आमा): आज फुरौलाको प्रशंसा सबैले गरेका छन् । देख्दा राम्रो देखिँदैन तर पनि..!(मुख बिगार्दै)

(जेठा बा र पुर्खा मुसुमुसु हास्छन् ।)

समित्री आमा: रस्मी र सारिका पनि खाना खान आऊ है ।

रस्मी र सारिका दुवैले एकै स्वरमा :- “हुन्छ ।”

(खाना खान बस्छन्।)

रस्मी: खाना खाँदै।भाउजू तर्फ हेर्दै, हाँस्दै खाना खान लागिन् ।

सारिका :(अक्क न बक्क) आमा पानी दिनु न?

………….

दृश्य : ५

(सावित्री (आमा) बाहेक सबैले खाना खाइसकेका छन् अब अन्तिम चरणमा साबित्री आमा खाना खान बस्छिन्।)

सावित्री (आमा): सारिका भित्र आऊ त ?

सारिका : ( अब गाली खानु पर्ने होला। फुरौलामा नुन अति धेरै भएछ । माफी माग्नु पर्यो, भन्ने सोचेर भित्र गइन्।) आमा भन्नुहोस् न?

सावित्री (आमा) : ( हाँस्दै ) पानी ल्याउ।

सारिका: पानी दिँदै (गल्ति महसूसको भाव सारिकाको अनुहारमा प्रष्ट देखिन्थो।) म भाडा सफा गर्दै गर्छु है आमा?

सावित्री (आमा): कालो भाडा खरानीले माझ्नु पर्छ। हुन्छ।

सारिका: हस् आमा।

रस्मी: पानी ल्याउनु पर्छ भाउजू ? भन्नु है ?

सारिका: हुन्छ नानी !

पुर्खा: (भान्छामा पस्छन्।) आमा सकियो है श्राद्ध?

सावित्री (आमा): (बुहारीले नसुन्ने गरी।) मलाई खुब गाली गर्ने,दोष दिने बुहारीले नुन धेरै राख्दा कोही केही नबोल्ने ! आफ्नो बुढीले पकाएको भएर होला होइन !

पुर्खा: यस्तै छ यहाँको चलन।(हाँस्दै)

(जुठो भाँडा माझ्दै सारिकाले सोचिन् – आफूले नजानेकोभन्दा पनि किन सोधिन भन्ने पीर उनलाई भयो । आफ्नो ठूलो गल्तिीभएको महसूस गरिन् ।)

(त्यस दिनदेखि उनलाई फुरौला भन्ने शब्द सुनेपछि मन आतिन्छ।)

(तर पनि आजभोलि उनको परिवारमा फुरौला बनाउने जिम्मा सारिकाले लिएर निकै मिठो फुरौला बनाउन थालेकी छन् । “आखिर कोसिस गरे, सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश पाउन सकिन्छ l तथापि सीप सिक्न उत्प्रेरणा जगाउन भने आवश्यक हुन्छ ।)