दृश्य : पागलखाना साङ्केतिक छ ।
समय : दिउँसो ।
मञ्च : रिक्त ।
प्रवेश(१) : साहित्य क्रोधित भएर कराउँदै प्रवेशिन्छ।
साहित्य : रिसाउँछु, म रिसाउँछु। हराएको छु र रिसाउँछु ।धेरैलाई बिझाउँछु। बिझिएको छु र बिझाउँछु । (केही खोजेर) खोइ कहाँ छ ? कहाँ छ? हरायो? उफ्! कसरी हरायो? किन हरायो ? म छु भने तिमी किन हाराउँछौ ? खोइ कहाँ छौ तिमी? मदेखि किन टाढा छौ अचेल? नम्रता मेरो गहना हो तिमी हुँदा। क्रोध मेरो बहाना हो तिमी नहुँदा । रिसाउँछु । रिसाउँछु । एक रिसाउँछु । दुई रिसाउँछु । तीन रिसाउँछु । खोइ ? खोइ ? खोइ ?
(केही खोजेको अभिनयमा मञ्चको दाहिने कुनामा स्तम्भित हुन्छ)
प्रवेश(२) : विज्ञान हाँस्दै प्रवेशिन्छ।
विज्ञान : हा ….हा …हा..आविष्कार गर्छु । गर्छु म । रोक्नलाई आविष्कार गर्नु छ । (दर्शकवर्गतर्फ) तपाईंहरूलाई विश्वास भएन ? तर विश्वास गर्नुहोस्। म आविष्कार गर्छु । हो। पतनको आविष्कार गर्नसक्छु भने उत्थानको किन गर्न सक्दिनँ। किन?
(त्यही अभिनयमा मञ्चको देब्रे कुनामा स्तम्भित हुन्छ)
प्रवेश(३) : प्रतिभा ठुस्किएर प्रवेशिन्छ।
प्रतिभा : मन किन दुख्दैन ? दुख्नुकै लागि त छ मन । सायद दुखाउनेहरूका मनहरू हुँदैनन् र हुनेहरूका मनहरू दुखाउँछन्।मेरो पनि मन दुखेको छ र म ठुस्किएको छु। ठुस्किन्छु । केही भयो ? ठुस्किन्छु। किनभने पक्षपात देखेको छु । हो,पक्षपात ।
(त्यही अभिनयमा साहित्यअघि स्तम्भित हुन्छ)
प्रवेश(४) : शिक्षा चिन्तित भएर प्रवेशिन्छ।
शिक्षा : किन नसोच्नु ? किन चिन्तित नहुनु ? चिन्ता त हुन्छ नै । खोइ कहाँ छ ? कहाँ छ त्यो ? म खोजेको खोजेकै छु । तर पाएको छुइनँ र चिन्तित छु । किन हराउँदैछ ? किन घट्दैछ छ त्यो ? किन ?
(स्तम्भित हुन्छ विज्ञानअघि)
प्रवेश(५) : सरकार रुँदै आउँछ।
सरकार : हुँ…हुँ…हु…(स्वाँक्क) उफ् ! रुनु पर्दैछ आज। कारण मैले पाउन सकिनँ उसलाई। तर मलाई चाहिएको छ उसको उपस्थिति । हो चाहिएको छ। ऊबिना म उभिनु सक्दिनँ। उसको आवश्यकता छ मलाई । (साहित्यसित) भन ,तिमी मेरो पक्षमा छौ ?(साहित्य मौन रहन्छ) ए ! छैनौ ? (प्रतिभासित) सायद तिमीले त मलाई साथ दिन्छौ होला? (प्रतिभा मौन रहन्छ) तिमीले पनि नदिने? (विज्ञानसित) तिम्रो साथ चाहिएको छ। (विज्ञान मौन रहन्छ) ए ! तिमी पनि विरोधी हौ ?(शिक्षासित) तिमी त अवश्यै मेरो पक्षमा छौ । (शिक्षा मौन रहन्छ) तिमी पनि मेरो विरोधी ? उफ् ! अब म के गरूँ? (रुन्छ अनि रुँदारुँदै स्तम्भित हुन्छ)
(प्रकाशपुञ्ज रातिएर मधुरिन्छ। मञ्चमा साँझ डुब्न लागेको घामका राता किरणहरू छरिएझैँ हुन्छ । यत्तिमा प्रेक्षागृह भएर दुई व्यक्ति मञ्चतर्फ आउँछन् कुरा गर्दै । )
शोधार्थी : तर सर, तपाईँले अनुमति दिनुभयो भने मात्र त्यो सम्भव छ।
अधीक्षक : अनुमति त दिन्छु। तर बदनाम नहोस्।
शोधार्थी : यस्तो काममा बदनाम ? सर ,यो एउटा शोधकार्य हो। यो शोधकार्यमा तपाईँको साथ चाहिन्छ मलाई। तपाईँकै मद्दतबाट म यो कार्य पूरा गर्न सक्छु । यो कार्यको सफलतामा म तपाईँप्रति कृतज्ञ हुनेछु । यसको सफलतामा मेरो मात्र होइन तपाईँको पनि नाम हुनेछ सर।
अधीक्षक : ठीक छ ,ठीक छ । अनुमति छ। तपाईँ आफ्नो काम गर्नुहोस् । तर अति शीघ्र । कारण मसित समय कम्ति छ । आउनुहोस्। (केही अघि बढेपछि)यही हो पागलखाना अनि यिनीहरू(साहित्य,विज्ञान,शिक्षा,प्रतिभा,सरकारतर्फ इङ्गित गरेर) सबै पागल हुन्।
(अधीक्षक र शोधार्थी स्तम्भित हुन्छन्। मञ्चमा स्तम्भित पागलहरू चल्न थाल्छन्। आ-आफ्ना अभिनयमा रहेका पागलहरू एक अर्कासित ठोकिएपछि एक साथ कहालिन्छन् र मञ्चबाट भाग्छ्न्। मञ्च खाली भएपछि कुरा गर्दै अधीक्षक र शोधार्थी मञ्चमा चढ्छन्। )
अधीक्षक: म यही पागलखानाको अधीक्षक हुँ। तपाईँ एकजना शोधार्थी हुनुहुन्छ रे। पागलखानामाथि शोधकार्य गर्नु हुँदै रहेछ। तपाईँको विषय नै अप्ठ्यारो रहेछ । पागलहरूमाथि शोधकार्य ? अचम्म !
(साहित्यको प्रवेश केही हराएको खोज्दै)
शोधार्थी : हजुर ,म एकजना शोधार्थी हुँ। पागलहरुको बारेमा अनुसन्धान गर्दैछु । विषय निश्चय अनौठो लाग्ला,सर । तर म आवश्यक देख्छु । सर, तपाईँले मलाई अनुमति दिनुभयो। त्यसको निम्ति आभारी छु । त अब म काम सुरु गरूँ?
अधीक्षक: गर्नुहोस्। म आउँदै छु। (प्रस्थान)
शोधार्थी : (साहित्यतर्फ जाँदै) पहिला ऊबाट सुरु गर्छु।
(साहित्य भुईँमा केही खोजिरहेछ)
साहित्य : खोइ कहाँ छ? कहाँ छ?
शोधार्थी : तिमी को हौ?
साहित्य : (डराएर) तिमी को हौ?
शोधार्थी : म ? म एकजना शोधार्थी हुँ।
साहित्य : कस्तो शोधार्थी ?
शोधार्थी : खोजी गर्ने मान्छे ।
साहित्य : (हाँसेर) हा… हा…हा… तिमीले पनि खोज्दै छौ मैले जस्तो हराएर?
शोधार्थी : हो, म पनि खोजी गर्दै छु ।
साहित्य : तर कसको खोजी ?
साहित्य : तिम्रो खोजी।
शोधार्थी : मेरो खोजी ? किन?
शोधार्थी : म तिम्रो दु:ख-सुख,हाँसो-रोदन सबै बुझ्न चाहन्छु।
साहित्य : तिमी साँच्चै मलाई बुझ्न चाहन्छौ ?
शोधार्थी : हो,म तिमीलाई बुझ्न चाहन्छु। पढ्न चाहन्छु।
साहित्य : पक्का ?
शोधार्थी : पक्का।
साहित्य : (एक्कासि शोधार्थीलाई अँगालेर खुसी हुँदै ) पाएँ । पाएँ। पाएँ। मैले हराएको पाएँ। अब म तिमीलाई छोड्दिनँ । छोड्दिनँ। हो म छोड्दिनँ ।
शोधार्थी : अरे ! के गरेको ? छोड मलाई छोड।
साहित्य : छोड्दिनँ ।
(अधीक्षकको प्रवेश)
अधीक्षक: (हातको रोलले साहित्यलई हिर्काएर ) छोड उसलाई । छोड भन्दै छु । छोड।
साहित्य : ऐया ! किन हिर्काउँछौ मलाई ? म उसलाई छोड्दिनँ।
अधीक्षक: तिमीले खोजेको ऊ होइन ।
साहित्य: हँ ! मैले खोजेको ऊ होइन अरे ? मतलब मैले हराएको मान्छे ऊ होइन ?
अधीक्षक: हो। ऊ होइन।
(साहित्यले छोड्छ शोधार्थीलाई )
साहित्य : ए ! त्यसो भए कहाँ छ ऊ ?(खोज्न थाल्छ ) खोइ कहाँ हरायो ?
शोधार्थी : सुन,तिमी को हौ?
साहित्य : म ? किन चाहियो ?
शोधार्थी: म तिम्रो अध्ययन गर्न चाहन्छु।
साहित्य: तिमी साँच्चै मेरो अध्ययन गर्छौ ?
शोधार्थी : हो। भन तिम्रो नाम के हो ?
साहित्य : साहित्य ।
शोधार्थी : साहित्य ?
साहित्य : हो, म साहित्य हुँ।
शोधार्थी : तर तिमीले के खोजिरहेछौ ?
साहित्य : पाठक।
शोधार्थी : पाठक ?
साहित्य : हो पाठक। पाठक नपाएर म दु:खी छु। एक्लो छु । आफ्नो दु:ख र एक्लोपन हटाउन म पाठक खोज्दै छु।
शोधार्थी : पाठक खोज्दै छौ ?
साहित्य : (रिसाएर) हो, म पाठक खोज्दैछु। मलाई पाठक चाहिएको छ । पाठक।
शोधार्थी : साहित्य,तिमी किन रिसाउँछौ ? नरिसाऊ । तिम्रो पाठक धेरै छन् ।
साहित्य : झूट ! झूट ! झूट !
शोधार्थी : होइन साहित्य,म साँचो भन्दैछु ।
साहित्य : यो सान्त्वना हो। साँचो होइन । यो सिद्धान्त हो। व्यावहारिकता होइन।
शोधार्थी : होइन साहित्य, म साँचो भन्दै छु ।
साहित्य : साँचो हो भने मैले किन पुस्तक पसलमा पाठकलाई पर्खिनु पर्छ ? साँचो हो भने मलाई किन मुसाले टोक्छ ? मलाई किन माउले छेड पार्छ ? किन ? किन ? भन, मेरो अध्ययन किन साँघुरिँदै छ ? सीमित हुँदैछ ? (शोधार्थीलाई समातेर) किन ? भन। भन । भन ।
अधीक्षक: साहित्य,तिमी आवेशमा बोल्दै छौ । छोड उसलाई।
साहित्य : म आवेशमा होइन होसमा बोल्दै छु। (शोधार्थीलाई छोड़छ)
अधीक्षक: चुप् ! भित्र जाऊ तिमी । जाऊ।
शोधार्थी : तर सर,म अझै कुरा गर्न चाहन्छु ऊसित ।
अधीक्षक: जाऊ भन्दै छु। जाऊ तिमी।
साहित्य : (हाँसेर ) हा…हा…हा… नकारात्मक उत्तर ! हा…हा…(पुन: खोज्दै) खोइ ? कहाँ छ पाठक ? कहाँ छ ? कहाँ छ? कहाँ छ ? (प्रस्थान गर्छ)
शोधार्थी : तर सर ,मेरो कुरा पूरा भएन । म ऊसित अझ कुरा गर्न चाहन्छु ।
अधीक्षक: साहित्यलई धेरै दिक्क पार्नु हुँदैन। उसलाई आराम चाहिएको छ।
शोधार्थी : आराम होइन सर। पाठक । उसलाई पाठक चाहिएको छ । म अझै उसलाई बुझ्न चाहन्थेँ ।
अधीक्षक: शोधार्थी,तपाईँ किन यस्तो अप्ठ्यारो काम गर्नुहुन्छ ?
शोधार्थी : यो अप्ठ्यारो काम होइन तर चेतना जगाउने काम हो सर ।
अधीक्षक: चेतना जगाउने काम ? तर यो पागलखानामा चेतना जगाएर के लाभ ?
शोधार्थी : मैले पागलखानाको निम्ति होइन । तर मान्छेको निम्ति चेतना जगाउने काम गर्दैछु अनि चेतना जगाउने कामबाट हानि होइन लाभै हुन्छ ।
अधीक्षक: यो त तपाईँको सोचाइ हो । तर सबैले कहाँ मान्लान् र ?
(शिक्षाको प्रवेश चुपचाप )
शोधार्थी : मनाउने युग होइन यो । तर आफैले बुझ्नु पर्ने युग हो। बुझ्नेले बुझ्छन् । नबुझ्नेले विकासलाई मार्छन्। सर,अब म उसलाई(शिक्षालाई देखेर) केही सोध्न चाहन्छु ।
अधीक्षक: सोध्नुहोस्।
(शोधार्थी शिक्षाको छेउमा जान्छ। शिक्षा चल्नथाल्छ । केही खोज्नथाल्छ।)
शिक्षा : अरे ! घट्यो ! घट्यो ! फेरि घट्यो ! ला Ý Ý Ý Ý हरायो !!
शोधार्थी : के घट्यो ? के हरायो ?
शिक्षा : हँ ! उ: हेर त । घट्यो ! हरायो !
शोधार्थी : तर के ?
शिक्षा : तर के ? थाहा छैन तिमीलाई ?
शोधार्थी : अहँ ।
शिक्षा : तिमी को हौ ?
शोधार्थी : म एकजना अनुसन्धान गर्ने व्यक्ति !
शिक्षा : केको अनुसन्धान गर्छौ ?
शोधार्थी: यो पागलखानामा कस्ता प्राणीहरू छन् ? म उनीहरूकै विषयमा अनुसन्धान गर्दैछु।
शिक्षा : पागलखाना ? (हाँस्छ) हा…हा…हा…(एक्कासि)तिमीले ठिक भन्यौ।यो पागलखाना हो । पागलखाना!!! यो पागलखानामा केही खोज्ने पनि पागल हो । तिमी पनि पागल ! तिमी पागल !! हा…हा…हा…तिमी पागल हौ । हा…हा…हा….।
अधीक्षक: चुप् ! चुप् ! चुप् ! (शिक्षा हाँस्दा-हाँस्दै रोकिन्छ ) दाँत नदेखा ।
शोधार्थी : सर, हाँस्नु दिनुहोस् । हाँस्नु, हाँस्नु, फेरि हाँस्नु ।हाँस तिमी ।
शिक्षा : (हाँस्छ) हा…हा…(डरले रोकिन्छ) होस् हाँस्दिनँ। उसले कुट्छ ।
शोधार्थी : कुट्दैन ।
शिक्षा : होस् नाइँ !
शोधार्थी : तिम्रो नाम के हो ?
शिक्षा : होस् बताउँदिनँ ।
शोधार्थी : किन ?
शिक्षा : (अधीक्षकलाई देखाउँदै) उसले कुट्छ ।
अधीक्षक: के अरे ! मैले कुट्छु अरे ?
शिक्षा : अन्त के त ! अगि साहित्यलाई त कुट्यौ ।
शोधार्थी : होइन नडराऊ । उहाँले त तिमीलाई माया गर्नुहुन्छ । ल भन तिम्रो नाम के हो ?
शिक्षा : भन्नु ?
अधीक्षक: भन् ,भन् ।
शोधार्थी : नडराइकन भन । तिम्रो नाम के हो ?
शिक्षा : शिक्षा ! मेरो नाम शिक्षा हो ।
शोधार्थी : तिम्रो नाम शिक्षा हो ?(शिक्षा सकारात्मक शिर हल्लाउँछ) तर तिमीले अघि के खोजेको ?
शिक्षा : उसलाई खोजेको ?
शोधार्थी : कसलाई ?
शिक्षा : जो घट्यो उसैलाई ।
शोधार्थी : को घट्यो ?
शिक्षा : जो हरायो ।
शोधार्थी : को घट्यो ? को हरायो ?
शिक्षा : स्तर ! स्तर घटेको छ । स्तर हराएको छ । यसैले उसलाई खोज्दै छु ।
शोधार्थी : तिमीलाई स्तर चाहिएको छ ?
शिक्षा : हो । मलाई स्तर चाहिएको छ । स्तरबिना मेरो मूल्य छैन । यसर्थ म पागलखानामा बेमूल्य छु । स्तर मेरो शिरको मुकुट हो । तर त्यो खोसिएको छ ।
शोधार्थी : स्तर तिम्रो शिरको मुकुट हो ? खोसिएको छ ? कसले खोस्यो तिम्रो मुकुट ?
शिक्षा : (चिच्याएर) व्यवस्थाले Ý Ý Ý Ý ! (आवाज प्रतिध्वनित हुन्छ )
शोधार्थी : व्यवस्थाले ?
शिक्षा : हो व्यवस्थाले मेरो मुकुट खोस्यो । आज म मुकुटबिनाको राजा भएको छु यो पागलखानामा । मलाई मेरो मुकुट चाहिन्छ । मलाई मेरो मुकुट ल्याइदेऊ । मलाई मेरो स्तर ल्याइदेऊ । मलाई मेरो मुकुट ल्याइदेऊ (भनी शोधार्थीको खुट्टा समातेर रुन्छ)
शोधार्थी : अरे ! उठ । यो के गरेको ? छोड मेरो खुट्टा । छोड ।
शिक्षा : म छोडदिनँ । पहिला मलाई मेरो स्तर ल्याइदेऊ ।
अधीक्षक: एइ ! छोड् । छोड् । (हिर्काउँछ शिक्षालाई)
शिक्षा : ऐया ! ऐया !!
शोधार्थी : सर,नहिर्काउनुहोस् । मायाले जित्नुहोस् मनलाई । तर डरले होइन ।
(शिक्षालाई उठाउँछ)
अधीक्षक: मायाको जमाना छैन अहिले । यो पागलखानामा मायाको भाषा बुझ्दैनन् कसैले पनि । डर र प्रहारको भाषा बुझ्ने मात्र छन् यहाँ ।
शोधार्थी : गलत धारणा । प्रहारले प्रतिशोध जन्माउँछ । तर मायाले सभ्यता ।शिक्षा व्यवस्थाद्वारा दबिएको बुझिन्छ। त्यहीमाथि अझ उसलाई दबाउनु उचित छैन सर ।
अधीक्षक: तपाईँ यहाँ शोधकार्य गर्नु आउनुभएको हो कि मलाई उपदेश दिनु ?
शोधार्थी : माफ गर्नुहोला सर। म यहाँ शोधकार्य नै गर्नु आएको हुँ ।
अधीक्षक: त्यसो भए चुपचाप आफ्नो काम गरेर जानुहोस् छिटो।(शिक्षासित) तँ जा भित्र ।
जा । (शिक्षा जान्छ ।)
शोधार्थी : तर सर,उसलाई अझै धेरै कुरा सोध्नु छ ।
(प्रतिभाको प्रवेश)
अधीक्षक: अब जे सोध्नु छ यसलाई सोधिहाल्नुहोस् ।
(यत्तिमा नेपथ्यबाट “सर” भनेर बोलाएको आवाज आउँछ)
अधीक्षक: Excuse me, म आउँदै छु । (प्रस्थान गर्छ)
शोधार्थी : हुन्छ। (प्रतिभा भएकोमा जान्छ।)
प्रतिभा : कस्तो दुनियाँ ? जहाँ मेरो कोही हराएको छ । कारण पक्षपात छ ।
शोधार्थी : तिमी को हौ ?
प्रतिभा : तिमीलाई किन चाहियो ?
शोधार्थी : कारण मलाई तिम्रो बारेमा केही लेख्नु छ ।
प्रतिभा : तिमी लेखक हौ ?
शोधार्थी : म शोधार्थी हुँ । म तिम्रो बारेमा जान्न चाहन्छु। तिमीबाट केही सुनेर लेख्न चाहन्छु ।
प्रतिभा : तिमी मबाट के सुन्न चाहन्छौ ?
शोधार्थी : तिम्रो कथा ।
प्रतिभा : मसित कथा छैन। व्यथा छ । तिमी मेरो व्यथा सुन्न चाहन्छौ ?
शोधार्थी : तिम्रो व्यथा नै कथा हो भने सुनाऊ ।
प्रतिभा : म ठुस्किएको छु ।
शोधार्थी : किन ?
प्रतिभा : कारण मेरो मन दुखेको छ ।
शोधार्थी : तर तिम्रो मन किन दुख्यो ?
प्रतिभा : मन नहुनेहरूले दुखाए मेरो मन ।
शोधार्थी : तर किन ?
प्रतिभा : कारण पक्षपात भयो ।
शोधार्थी : कसरी ?
प्रतिभा : कारण ठिक मूल्याङ्कन भएन ।
शोधार्थी : मूल्याङ्कन ?
प्रतिभा : हो,मूल्याङ्कन भएन ।
शोधार्थी : तर किन ?
प्रतिभा : कारण मेरो क्षेत्रको हनन भयो । मेरो स्कोप खोसियो ।
शोधार्थी : कसरी ?
प्रतिभा : म गरिब छु यसैले ।
शोधार्थी : तर तिम्रो स्कोप कसले खोस्यो ?
प्रतिभा : रुपियाँले ।
शोधार्थी : तर तिमीले आफ्नो परिचय दिएनौ त ? तिमी को हौ ?
प्रतिभा : म प्रतिभा हुँ ।
शोधार्थी : तिमी प्रतिभा हौ ?
प्रतिभा : हो म प्रतिभा हुँ । तर मूल्यहीन छु । मेरो कलाको कदर छैन । कारण म रुपियाँहीन छु । मेरो सत्कार छैन । कारण म स्कोपहीन छु । मेरो यो पागलखानामा अवमूल्यन भएको छ । मैले मूल्याङ्कन हराएको छु । तिमी भन मेरो मूल्याङ्कन कहाँ छ ? देख्यौ उसलाई ?
शोधार्थी : हेर प्रतिभा,तिमी उदास नबन। तिमीमा लगनशीलता र आशावादिता सधैँ रहनुपर्छ अनि हुनुपर्छ तिमीबाट सङ्घर्ष । तब मात्रै पाइन्छ मूल्याङ्कन यो पागलखानामा ।
प्रतिभा : लगनशीलता छ । तर सहायता गर्ने छैन । आशावादिता छ । तर मेरो क्षेत्र खन्नेहरू छन् । धेरै सङ्घर्ष गरेँ । तर पक्षपात भयो ।
(अधीक्षकको प्रवेश)
शोधार्थी : निराशावादको पूजा गरेर मूल्याङ्कनको प्रसाद थाप्न सकिँदैन यहाँ । निराशाबाट पतन जन्मिन्छ । यसर्थ प्रतिभा,निराश नबन । तिम्रो मूल्याङ्कन हुनेछ अवश्यै ।
प्रतिभा : तर कहिले ? कहिले ? भन गरिब प्रतिभाको मूल्याङ्कन कहिले हुनेछ ? भन । भन।
(शोधार्थीको बाहु समातेर) जवाफ देऊ,जवाफ देऊ । मलाई मेरो मूल्याङ्कन देऊ । मलाई मेरो स्कोप देऊ। भन,भन,भन।
शोधार्थी : अरे ! पहिला मलाई छोड ।
अधीक्षक: एइ ! के गरेको ? छोड् । छोड् । (हिर्काउँछ प्रतिभालाई)
प्रतिभा : ऐया!(डरले छोड्छ शोधार्थीलाई) नहिर्काऊ । नहिर्काऊ ।
अधीक्षक: बात मार्नु जान्दैनस् ?
प्रतिभा : मूल्याङ्कन खोज्नु पनि पाउँदैन ?
अधीक्षक: चुप् ! मूल्याङ्कन खोज्छस् ?मूल्याङ्कन उसको गोजीमा छ र माग्छस् ? जा। भित्र जा ।
प्रतिभा : ठुस्किनु पनि पाउँदैन यो पागलखानामा ।
अधीक्षक: के अरे ?(प्रतिभा भाग्छ अनि शोधार्थीसित) देख्नुभयो तपाँको मायाको नतिजा ?
(विज्ञानको मौन प्रवेश)
शोधार्थी : यो मायाको नतिजा होइन । तर मायाको अभाव हो,सर ।
अधीक्षक: (विज्ञानतर्फ इसारा गर्दै)अब यसबाट पनि तपाईँको मायालाई जाँच गराउनुहोस् ।
(शोधार्थी चुपचाप विज्ञानछेउ जान्छ)
विज्ञान : (हाँसेर)हा…हा…हा… म गरेरै छोड्छु ।
शोधार्थी : के ?
(अधीक्षक भित्र जान्छ)
विज्ञान : (फर्केर हेर्छ) तिमी को हौ ?
शोधार्थी : म शोधार्थी । तिमी ?
विज्ञान : तिमीलाई मेरो परिचय किन चाहियो ?
शोधार्थी : म तिमीलाई बुझ्न चाहन्छु ।
विज्ञान : मलाई बुझेर दोष लगाउनु चाहन्छौ ?
शोधार्थी : दोष ? तिमीमाथि ? किन ?
विज्ञान : कारण ममाथि पतन गराउने दोष लागेको छ ।
शोधार्थी : पतन ?
विज्ञान : मैले पतन गराएको छु अरे ! मैले युद्धहरु गराएर ध्वंस गराएको छु अरे यो दुनियाँलाई ।
शोधार्थी : तिमी को हौ ?
विज्ञान : म विज्ञान हुँ ।
शोधार्थी : तिमी विज्ञान हौ ?
विज्ञान : हो, म विज्ञान हुँ । तर यो विश्वमा भएको पतन,अवनति,युद्ध,हिंसा,अशान्तिको दोष ममाथि छ ।
शोधार्थी : तिम्रो दोष अवश्यै छ ।
विज्ञान : तिमी पनि मलाई दोष लगाउँछौ ?
शोधार्थी : तिमीले बन्दुक,बम,बुलेट,ट्याङ्क,रकेटलञ्चर,मिजाइल्स आदि अनेकौँ अत्याधुनिक हतियारहरू बनाएर डर देखाएको छौ यो विश्वलाई ।आतङ्कित पारेको छौ यो
दुनियाँलाई ।
विज्ञान : तर मैले शान्तिको लागि त्यसो गरेको थिएँ । अशान्तिको लागि होइन ।
शोधार्थी : तर दोषी तिमी भयौ ।
विज्ञान : दोष मेरो होइन। मान्छेको हो ।
शोधार्थी : नाना थरीका टी॰ भी॰ , विडियो, सेटेलाइट च्यानल, कम्प्युटर आदि आविष्कार गरेर तिमीले मान्छेको सभ्यताको गति बढायौ। जसले मान्छेको फुर्सदको हत्या ग-यो । भक्ति भावलाई घटायो ।
विज्ञान : तर मैले मान्छेको मनोरञ्जन र सुबिधाको लागि त्यसो गरेको थिएँ ।
शोधार्थी : तिमीले ड्रग्स बनाएर आजको युवा जमातलाई नपुंसक बनायौ जवानीमै ।
विज्ञान : तर मैले मान्छेको बिमारी जाती पार्नुलाई त्यसो गरेको थिएँ । यसमा मेरो दोष
छैन । मैले आविष्कार गरेको चीजलाई मान्छेले दुरुपयोग गर्छ भने त्यसको दोष मलाई दिनु हुँदैन । तिमी जाऊ । मलाई बाधा नदेऊ ।
शोधार्थी : बाधा ?
विज्ञान : हो बाधा । तिमीले मेरो आविष्कार गर्ने काममा बाधा दिँदैछौ ।
(अधीक्षकको प्रवेश)
शोधार्थी : केको आविष्कार ?
विज्ञान : ममाथि अशान्ति निर्माण गरेको आरोप छ । यसर्थ म शान्तिलाई आविष्कार गरेर मेरो निधारबाट आरोप पखाल्नु चाहन्छु ।
शोधार्थी : झूट !
विज्ञान : केको झूट ? तिमी जाऊ । मलाई मेरो काम गर्नु देऊ ।
शोधार्थी : तर विज्ञान,तिमीलाई धेरै कुरा सोध्नु छ ।
विज्ञान : जा तँ। जा तँ ।
(विज्ञानले शोधार्थीलाई ठेल्न थाल्छ । यत्तिमा अधीक्षकले विज्ञानलाई समात्छ )
अधीक्षक: विज्ञान,तँ आवेशमा नआइज़ । भित्र जा । जा भित्र ।
शोधार्थी : तर सर,………
अधीक्षक: चुप लाग्नुहोस् तपाईँ । जा भन्दैछु ।
विज्ञान : यो पागलखानामा आविष्कार गर्न पनि पाउँदैन । अन्त कहाँ हुन्छ शान्ति ?
(प्रस्थान गर्छ)
शोधार्थी : तर सर मेरो कुरा पूरा भएन ।
(दुवै हातले मुख छोपेर सरकारको प्रवेश)
अधीक्षक: तपाईँको कुरा त्योसित (सरकारलाई देखाएर) पूरा गर्नुहोस् । (प्रस्थान)
(शोधार्थी चुपचाप गएर सरकारछेउ पुग्छ )
सरकार : (रुँदै) अब म के गरूँ ? पाइनँ मैले उसलाई । तर ऊबिना म उभिन सक्दिनँ । (रुन्छ)
शोधार्थी : तिमी किन रुँदैछौ ?
सरकार : अरे को हो ? को हौ तिमी ?
शोधार्थी : म एक शोधार्थी। तिमी को हौ ?
सरकार : म सरकार हुँ ।
शोधार्थी : सरकार ?
सरकार : हो म सरकार हुँ,जसले देश चलाउँछ ।
शोधार्थी : तर तिमी किन रुँदैछौ ?
सरकार : कारण आजसम्म मैले उसलाई पाउन सकिनँ ।
शोधार्थी : कसलाई ?
सरकार : बहुमतलाई ।
शोधार्थी : बहुमतलाई ?
सरकार : हो बहुमतलाई। कारण मतदानपछि गठन हुनुलाई मलाई बहुमत चाहिन्छ । तर मैले त्यो बहुमत पाइनँ ।
शोधार्थी : तर तिमी किन रुँदै थियौ ?
सरकार : कारण मलाई चिन्ता भयो अर्को चुनाउ हुने । एउटा चुनाउ सकिएपछि लगत्तै फेरि अर्को चुनाउ भयो भने मेरो देशको अर्थ व्यवस्थामा छेड पर्न सक्छ र रुपियाँ चुहुनु सक्छ त्यहाँबाट। रुपियाँ चुह्यो भने देश गरिब हुन्छ । देश गरिब भयो भने जनताले दु:ख पाउँछन् । जनताले दु:ख पाए भने देश कमजोर हुन्छ । देश कमजोर भयो भने अरूले हस्तक्षेप गर्न सक्छ। र म चिन्तित भएर रुँदैछु ।
शोधार्थी : रोएर समाधान निस्किन्छ र ?
सरकार : निस्किँदैन ।तर मेरो आँखाको आँसुलाई देखेर देशको स्थितिलाई बुझोस् देशवासीले । अब घरीघरी चुनाउ गरेर करोडौँ रुपियाँ बरबाद गर्न सक्दिनँ । घरीघरीको चुनाउमा म जनहत्या भएको हेर्न सक्दिनँ ।
शोधार्थी : तर सरकार,दोष तिम्रो पनि छ ।
सरकार : कसरी ?
शोधार्थी : कारण तिमीभित्र दुई वटा मात्र राजनैतिक दल छैनन् । तर अनगिन्ती राजनैतिक दलहरू छन् ।
सरकार : तर यसमा मेरो के दोष ?
शोधार्थी : धेरै राजनैतिक दलहरू हुनुको कारणले नै आज तिमी चिन्तित हुनु पर्दैछ ।
सरकार : कसरी ?
शोधार्थी : कारण तिम्रो बहुमत यी दलहरूमाझ बाँडिएको छ । यसर्थ गठित हुनु सकेको छैनौ । सिद्धान्त नै नमिल्ने दलहरूमाझ मेलमिलाप हुनु साह्रो छ । मेलमिलाप भए पनि त्यो स्थायी हुनसक्छ भन्ने सम्भावना छैन । स्थायी भएन भने तिमी फेरि विघटित
हुनेछौ । दुई वटा मात्र राजनैतिक दल भएका भए आज तिमीले यसरी बहुमत खोज्नु पर्ने थिएन । तिमी विघटित हुन सक्छौ बहुमत नपाएर ।
सरकार : त्यसैकारण त म चिन्तित छु । म देशको नागरिकको मतदानको अवमूल्यन भएको हेर्न सक्दिनँ । यसर्थ मलाई बहुमत चाहिन्छ । म बनिनु चाहन्छु । भत्किनु होइन । म मेरो अवधि पूरा गर्न चाहन्छु । मध्यावधि चुनाउ चाहँदिनँ । घरीघरीको चुनाउले अर्थ-व्यवस्थाको शरीर टुक्रिन्छ । म देशलाई बचाउनु चाहन्छु ।
शोधार्थी : त्यसो भए अब तिमी के गर्छौ ?
सरकार : म के गर्न सक्छु र ? मलाई त बहुमत चाहिन्छ । म त समस्त राजनैतिक दलहरूमाझ एकता भएको हेर्न चाहन्छु ।
शोधार्थी : तर पूर्व,पश्चिम,उत्तर,दक्षिण जोडिन सक्छन् र ?
सरकार : देशको निम्ति,देशवासीको निम्ति आवश्यकता परे जोडिनु जरुरी छ ।
दिशालाई हेरेर हुँदैन। देशलाई हेर्नुपर्छ । सिद्धान्तलाई हेरेर हुँदैन । देशवासीको सपनालाई हेर्नुपर्छ । देशको अर्थ-व्यवस्थालाई हेर्नुपर्छ । विकासलाई हेर्नुपर्छ ।
शोधार्थी : तर सबै दल आ-आफ्ना सिद्धान्तहरूभित्र बस्न चाहन्छन् भने कसरी गठित हुनु सक्छौ तिमी ?
सरकार : दलको सिद्धान्तभन्दा ठूलो देशको सुरक्षा र विकास हो । यसलाई बुझ्नुपर्छ सबैले ।
(यत्तिमा अधीक्षकको प्रवेश)
अधीक्षक: शोधार्थी,समय पूरा भयो। अब तपाईँ जानुहोस्। सरकार,तँ जा भित्र। जा।
सरकार : म चिन्तित छु। धेरै चिन्तित छु । (प्रस्थान)
शोधार्थी: सर,मेरो शोधकार्य पूरा भएको छैन । म फेरि आउन चाहन्छु । तपाईँको अनुमति चाहिन्छ फेरि ।
अधीक्षक: माफ गर्नुहोला । म घरीघरी अनुमति दिन सक्दिनँ ।
शोधार्थी : किन ?
अधीक्षक: कारण पागलखानाका पागलहरू झन पागल हुन सक्छन् ।
शोधार्थी : कसरी ?
अधीक्षक: तपाईँका उत्तेजित पार्ने कुरा सुनेर ।
शोधार्थी : तपाईँले मलाई दोष लगाउनु हुँदैछ ।
अधीक्षक: तपाईँको मायाले बिगार्ने रहेछ यहाँका पागलहरूलाई । अब तपाईँ जानुहोस् । मलाई अब आफ्नो काम गर्नु दिनुहोस्। जानुहोस्। म पनि गएँ ।
(प्रस्थान)
शोधार्थी: कस्तो पागलखाना ?कस्तो अधीक्षक ? त्रास देखाएर शासन गर्नु भन्छ मायाले जित्ने इलाकामा पनि ।
(शोधार्थी मञ्चबाट ओर्लिन्छ। मध्य प्रेक्षागृहमा आइपुग्दा अचानक नेपथ्यमा हाहाकार मच्चिन्छ। फर्किएर हेर्छ मञ्चतर्फ अनि त्यही अभिनयमा अचल हुन्छ । यत्तिमा विज्ञान रक्ताम्मे भएर भाग्दै मञ्चमा आइपुग्छ। भुईँमा लड्छ । त्यसपछि साहित्य,शिक्षा,र प्रतिभा हातमा छड लिएर आउँछन्। विज्ञानलाई प्रहार गर्न खोज्दा )
विज्ञान : मलाई नहिर्काऊ। म निर्दोष छु । म त विज्ञान हुँ । म त आविष्कार गर्छु । मलाई नहिर्काऊ ।
शिक्षा : चुप् ! तैँले गर्दा मेरो स्तर हरायो । कारण तैँले शिक्षार्थीहरूको समय बरबाद गरिस् । तैँले !
विज्ञान : होइन। यो भूल धारणा हो ।
साहित्य : चुप् ! तैँले मेरो पाठकलाई खोसिस् । मेरो पाठकलाई भुलाइस् । तैँले !
विज्ञान : होइन। यो भूल धारणा हो ।
प्रतिभा : चुप् ! तैँले मेरो स्कोप मारिस् । तैँले गर्दा मान्छेको स्वाद बिग्रियो र मेरो मूल्याङ्कन भएन । तैँले गर्दा !
विज्ञान: होइन। यो भूल धारणा हो । मेरो दोष छैन । दोष त मान्छेको छ । मान्छेको ।
शिक्षा+साहित्य+प्रतिभा:(एक साथ) चुप् ! (त्यसपछि विज्ञानलाई कुट्छन्)
विज्ञान: ऐया ! ऐया ! बचाऊ ÷÷÷ ! (कराउँछ)
(यत्तिबेला प्रेक्षागृहबाट शोधार्थी कराउँछ )
शोधार्थी : अरे ! अरे ! के गरेको ? नहिर्काऊ उसलाई । नहिर्काऊ । (भन्दै दौडेर मञ्चमा
जान्छ । मञ्चमा पुगेपछि) नहिर्काऊ भन्दैछु । रोक । रोक। यो गलत काम हो ।
(शिक्षा,साहित्य,र प्रतिभाले प्रहार गर्न बन्द गर्छन्)
साहित्य : यो दोषी छ ।
शोधार्थी: दोषी ऊ छैन । दोष मान्छेको छ । तिमी साहित्य हौ । मान्छेको सभ्यताको चिन्ह हौ। तिमी यसरी क्रोधित हुनु उचित छैन । साहित्य बिग्रिनु उचित छैन । तिमी बिग्रियौ भने मान्छेको सभ्यता मर्छ ।
साहित्य : तर मेरो पाठक खोइ ?
शिक्षा : दोष यसकै छ ।
शोधार्थी : होइन। दोष उसको छैन। यो तिम्रो भूल धारणा हो । तिमी त शिक्षा हौ । मान्छेको ज्ञान हौ तिमी ।तिमी यसरी बिग्रिनु हुँदैन । तिमी बिग्रियौ भने अन्धकार हुन्छ यो संसार ।
शिक्षा : तर मेरो स्तर खोइ ?
प्रतिभा : दोष यसकै छ।
शोधार्थी : होइन । तिमी पनि उसैलाई दोष दिन्छौ ? हेर,तिमी त प्रतिभा हौ । मान्छेको कला हौ तिमी । तिमी यसरी भ्रष्ट हुनु हुँदैन । तिमी बिग्रियौ भने कलाको हत्या हुन्छ ।
प्रतिभा : तर मेरो स्कोप खोइ ?
विज्ञान : तिमीहरू मलाई दोष नदेऊ । म त विज्ञान हुँ । म शान्तिको पक्षमा छु । तर
मान्छेले मेरो दुरुपयोग गर्छ भने यसमा मेरो के दोष ? बुझ्ने कोसिस गर।
(भुईँबाट उठ्छ विज्ञान । यत्तिमा अधीक्षकको प्रवेश)
अधीक्षक: के हुँदैछ ? अरे ! शोधार्थी,तपाईँ अझै जानुभएको छैन ? (साहित्य,शिक्षा,प्रतिभा र विज्ञानसित ) तँहरू विद्रोह गर्ने पनि भइस् ? तँहरू जा यहाँबाट। जा। यहाँ किन आइस् ? जा । नत्र ठिक हुने छैन । जा भित्र। (साहित्य,शिक्षा,प्रतिभा जान्छन्।
पछि-पछि घाइते विज्ञान पनि जान्छ अनि त्यसपछि) तपाईँ शोधार्थी हो कि आन्दोलनकारी ?
शोधार्थी : म शोधार्थी हुँ।
अधीक्षक: शोधार्थी हो भने यिनीहरूलाई किन चम्काउनु भयो ?
शोधार्थी : हेर्नुहोस्,यसमा मेरो दोष छैन। विज्ञानलाई प्रहार गरे उनीहरूले । मैले त छुट्याएर सम्झाउने कोसिस मात्र गरेँ ।
अधीक्षक: भयो भयो । अब तपाईँ जानुहोस । यहाँ फेरि आउने दुस्साहस नगर्नुहोस् ।
(शोधार्थी अधीक्षकलाई हेरेर दुई-चार पाइला हिँडेपछि अधीक्षक पनि जान्छ )
शोधार्थी : (मञ्चबाट ओर्लँदै) साँच्चै यो दुनियाँ, यो संसार एउटा पागलखाना रहेछ । यो पागलखानाका पागलहरू हौँ हामी । (दर्शकवर्गलाई) तपाईँहरू सबै पागल। म पनि पागल। हो,हामी सबै पागल। हामी पागल होइनौँ भने हाम्रो सभ्यता किन यस्तो छ ? हामी पागल हाइनौँ भने हाम्रो साहित्य किन यस्तो छ ? हामी पागल हाइनौँ भने हाम्रो शिक्षा किन यस्तो छ ? हामी पागल हाइनौँ भने हाम्रो प्रतिभा किन यस्तो छ ? हामी पागल हाइनौँ भने हाम्रो विज्ञान किन यस्तो छ ? हामी पागल हाइनौँ भने हाम्रो सरकार किन यस्तो छ ?यसैले यो दुनियाँ एउटा पगलखाना
हो । हामी हौँ पागल (हाँस्छ) हा…हा…हा.. .हामी पागल हौँ ..हो पागल…पागल
…हा…हा…हा… पा…ग…ल…..हा…हा….हा….।
(शोधार्थी हाँस्दै- हाँस्दै प्रेक्षागृहबाट बाहिरिन्छ ।)
समाप्त
डाउहिल,खरसाङ,भारत ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।