मञ्च कालो छ । मध्य मञ्चमा उभिएकी छे सेतो वस्त्र धारण गरेकी एउटी पात्रा। केही अर्धसिल्ली जस्तै तर विद्वत् जमातकै अंश उनी । प्रकाशपुञ्ज उसको अनुहारमा पुग्छ ।उसको अनुहार नै छैन ।

पात्रा(स्वागत)  –  मलाई जेसुकै सम्झ । पगली सम्झ कि अर्धसिल्ली सम्झ कि राम साइली सम्झ कि              बाइफाली सम्झ । क्रोधित सम्झ कि अवहेलित सम्झ कि  सम्झ शोषित । तर सम्झिनु चैँ सम्झ । (हाँस्छे अनि  त्यसपछि ) सपना मात्र देखेर हुँदैन । सङ्घर्षरत नभइन्जेलसम्म उपलब्धि कहाँ पाइन्छ  र ? सपनाले सुरु गराएको सङ्घर्षले ल्याएको विपनाले कस्तो सन्चो पारेको छ मलाई ? थाहा छ के त ? थाहा भएर पनि नबोल्नेहरू,थाहा पाएर पनि नभन्नेहरू,थाहा पाएर  पनि थाहै नपाएको जस्तो अभिनय गर्नेहरूलाई म हेर्नु माग्दिनँ । तिमीहरू  जस्तो आन्दोलनको बाटोबाट म भाग्दिनँ । सबैभन्दा ठूलो कसम  रहेछ माटोको कसम ! त्यही कसम खाएर मैदानमा ओर्लिसकेका छन् मान्छेहरु । तर लड्नुपर्छ मान्छेहरूले एउटा अहिंसात्मक युद्ध ।

(यत्तिमा नेपथ्यबाट एउटा आवाज आउँछ)

 आवाज  –  अहिंसात्मक युद्ध ? युद्ध पनि कहिले अहिंसात्मक हुन्छ  ? युद्ध भनेकै त हिंसा टाँसिएको मृत्युको अर्को अनुहार हो ।

पात्रा  – अहिंसात्मक युद्ध भनेको बमगोला ,बन्दुक ,मिसाइल आदि आदिको सहायताले लडिने युद्ध होइन।  यो त वैचारिक युद्ध हो, जुन अहिंसात्मक हुन्छ अनि मान्छेले यही युद्ध लड्नुपर्छ ।

आवाज   –   तर किन ?

राजु प्रधान “हिमांशु” (खरसाङ)

पात्र           –      हिंसात्मक युद्ध लड्दा मान्छेहरूले धेरै काटमार गरेका छन् । सहासी र वीर त कहलाए उनीहरू । तर उद्देश्यहीन हिंसात्मक युद्धहरु लडेर । जुन युद्धको अभिप्राप्ति तकमाबाहेक केही भएन । युद्धग्रस्त विचारलाई शान्तियुक्त विचारले निमिट्यान्नै पार्न सकिएको भए त्यस बेला त्यति धेरै मानवसंहार हुने थिएन । त्यस्ता युद्धहरूमा घोप्टिएका निर्दोष रगतहरूले पिरोल्दैछन् आज । यसैले म अहिंसात्मक युद्धको बाटोमा हिँडाउन चाहन्छु मान्छेहरूलाई ।

आवाज(प्रवेशिन्दै) –      त्यसो गर्नु सक्छौ तिमी ?

पात्रा –           (आवाजलाई देखेर केही राउँदै) को ? को हौ तिमी ?

आवाज         –      म ? म युद्ध हुँ । जुन तिमी लड्न चाहन्छौ । चाहदैनौ पनि ।

पात्रा           –      मैले तिम्रो कुरा बुझिनँ ।

आवाज         –      अर्थात् म हिंसात्मक छु भने  तिमी लड्न चाहदैनौ । तर म अहिंसात्मक भएमा तिमी लड्न चाहन्छौ । तर एउटा कुरा याद गर । कुटाकुट र मारामार भएनन् भने युद्धको अर्थ रहँदैन ।

पात्रा           –      त्यसो भए अर्थ बचाउनुलाई मान्छेको हत्या गर्नु ? मान्छेको अर्थ पनि रहनुपर्छ । मान्छे मारेर मान्छेको अर्थ जीवित रहँदैन। मिसाइल्स खसाएर निर्दोष मसिना  नानीहरूको हत्या गर्ने युद्धको अर्थ बचाएर के लाभ हुन्छ  ?

आवाज         –      हा.. हा..हा.. मान्छेको सोचले ,विचारले त्यस्तो हुन्छ  । म त चुपचाप नै बस्नु चाहन्छु  । तर  मान्छेले स-साना कुरामा पनि मलाई चलाउने गर्छ । तिमी वैचारिक युद्धको कुरा गर्छौ,होइन ? तर मान्छेको विचारले युद्ध गराउँछ । मान्छेलाई अस्त्रशस्त्र उठाउन लगाउँछ । तब के मान्छहरूले वैचारिक गलती गरेका छैनन् ?

पात्रा           –      म त्यही वैचारिक गलतीलाई सुधार्नु चाहन्छु । गलत कुराको निम्ति कसैले आफ्नो शरीरको बलिदान दिनु पर्ने ? हँ ? हुँदैन अब । अब त शान्ति कायम गर्नुपर्छ हर क्षेत्रमा,चारैतिर ।

आवाज         –      युद्ध पनि त शान्तिकै निम्ति त लडिन्छ । युद्धको डर छ र शान्तिको बाटो खोजिन्छ । वास्तवमा युद्ध छ र नै शान्ति कायम छ ।

पात्रा           –      म मान्दिनँ । अशान्ति छ चारैतिर हिंसात्मक युद्धले गर्दा । युद्धले कहिले पनि शान्ति कायम गर्न सक्दैन ।

आवाज         –      त्यसो भए ग्रन्थहरुमा वर्णित युद्धको कुरा सबै बेकार छन् त ?

पात्रा           –      मैले बुझिनँ तिम्रो कुरा ।

आवाज         –      अर्थात् देउताहरूले युद्ध नगरेर राक्षसहरूको अघि शिर झुकाएर हार स्वीकार गरेका भए                 के शान्ति कायम रहन्थ्यो ?

पात्रा           –      (मौन रहन्छ)

आवाज         –      युद्धमा राक्षसहरूको संहार भएपछि नै शान्ति कायम भयो । देउता र राक्षसमाझ युद्ध                 नछेडिएको भए शान्ति कायम रहने थिएन । तब के युद्धले शान्ति कायम गरेन भन्छौ ?

पात्रा           –      पौराणिक कालको कुरो त्यो । ग्रन्थहरुमा वर्णित थोक त्यो । वर्तमान कालको कुरा गर्दैछु म ।

आवाज         –      इतिहासमा राजा-महाराजाहरूमाझ भएको हिंसात्मक युद्ध पनि वर्णित छ । त्यसबारे के                 भन्छौ  तिमी ?

पात्रा           –      इतिहासको कुरो हो त्यो । अतीतको थोक हो त्यो । म भन्दैछु । म वर्तमानको कुरो गर्दैछु ।

आवाज         –      कस्तो कुरो गर्छौ तिमी ? वर्तमान पनि त एक दिन अतीत हुन्छ । वर्तमान पनि त एक दिन इतिहासको गर्भमा पुग्छ ।

पात्रा           –      तर्कसङ्गत कुरा गर्छौ तिमी । तर तर्कको कुरामा नै सीमित भएको भए युद्ध त्यति भयानक हुने थिएन । अतीतलाई हेरेर ,इतिहासलाई पढेर ,पौराणिक कालका  थोकहरु बुझेर वर्तमानमा सुधारात्मक पहल गरिनुपर्छ भन्छु म। त्यसैको निम्ति मान्छे कर्मरत हुनुपर्छ ।

आवाज         –      तिमीसित बात मार्दैछु तिमीलाई नचिनिकनै । मैले तिमीलाई चिन्न सकिनँ । तिमी को हौ ?

पात्रा           –      अस्मिता ! म अस्मिता हुँ । तर म यहाँ युगौँदेखि असुरक्षित अनुभव गर्दैछु । मान्छेहरु मलाई सुरक्षित राख्न आन्दोलरत छन् । धेरै वर्ष अघि हिंसात्मक युद्धमा होमिएर  मलाई रक्ताम्मे पारे मान्छेहरूले । म झन असुरक्षित भएँ । त्यो हिंसात्मक युद्धले तोड्न सकेन म अघि खडा भएको प्रश्नको पर्खाल । फेरि अर्को युग आएको छ मेरो सुरक्षाको निम्ति । म भयभीत पनि  छु केही । कतै मेरो सुरक्षाको निम्ति फेरि घोषित त हुँदैन  हिंसात्मक युद्ध? र म चिन्तित पनि छु । तर म केही हदसम्म ढुक्क पनि छु अहिंसात्मक सोच पाल्नेहरुको जमात देखेर ।

आवाज         –      अहो ! अस्मिता ! तिम्रै निम्ति त युगौँदेखि म खट्नु परेको छ । देउताको अस्मिता, राक्षसको अस्मिता ,राजा–महाराजाका अस्मिता,देश-विदेशको अस्मिता,आदि आदि अस्मिताको सुरक्षाकै निम्ति मेरो खाँचो परेर म घोषित भएँ । शान्ति पनि कायम हुँदैछ वैचारिक आलोचनाको प्रक्रिया सुरु भएर । मान्छेहरू अहिले पनि मलाई                     पछ्याउँदैछन् सिमाना सुरक्षाको निम्ति । अस्मिताकै खातिर नारा गुन्जिँदैछ । विरोधाभास पोखिँदैछ तर तिमी भने यसरी असुरक्षित अनुभव गर्दै  डुलिरहेछौ । अचम्म !

पात्रा           –      अचम्म के मान्छौ ? मेरो खातिर तिम्रो अडेस लागेर हुन्छ ? अहिंसात्मक हुनुपर्छ विचारको निचोड । सकारात्मक सोच पालेर  अघि बड्नुपर्छ ।

आवाज         –      तर मान्छेले त्यस्तो गर्नु सकेको छैन । किनभने मान्छे स्वार्थी छ ।

(यत्तिमा तेस्रो चरित्रको प्रवेश )

चरित्र          –      तिमीले ठिकै भन्दैछौ । हो, मान्छे स्वार्थी छ र आफ्नो स्वार्थपूर्तिको निम्ति सधैँ मेरो उपयोग गर्छ ।

पात्रा           –      तिम्रो उपयोग ?तिमी ? तिमी को हौ फेरि ?

आवाज         –      को हौ तिमी ? तिम्रो उपयोग किन गर्नु प-यो मान्छेले।

चरित्र          –      हा-हा-हा- चिनेनौ मलाई ? वर्तमान समयमा म अति व्यस्त छु संसारभरि । मबिना मान्छेले केही गर्न सक्दैन । उसको शासनमा, उसको अर्थनीतिमा ,उसको विकासमा, उसको सभ्यतामा भनूँ नै  भने उसको हरेक योजना र सोचमा मेरो उपस्थिति रहेको हुन्छ । मबिना मान्छेले केही गर्न सक्दैन ।

पात्रा           –      को हौ तिमी ? आफ्नो प्रशंसा आफै किन गर्दै छौ ?

आवाज         –      हो ,हो तिमी को हौ ?

चरित्र          –      हा –हा- हा कस्तो नचिनेको ! हुन त हो मलाई सजिलै चिन्न सक्दैन मान्छेले । यसर्थ  म आरोपित भएर बदनाम पनि भएको छु । तिमीहरूले पनि मलाई चिन्न सकेनौ ।

पात्रा           –      हो चिनेनौ हामीले तिमीलाई । को हौ तिमी ?

आवाज         –      तिम्रो परिचय के हो ?

चरित्र          –      अब चिनेनौ भने तिमीहरूले मलाई मैले मेरो परिचय दिनैपर्छ । तर म आफ्नो परिचय दिन अघि तिमीहरूलाई चिन्न चाहन्छु ।(पात्रा छेउ गएर राम्ररी हेरेपछि) तिमी को हौ ?

पात्रा           –      पहिला तिमी भन न तिमी को हौ ?

चरित्र          –      किन ? डर लाग्छ तिमीलाई आफ्नो नाम भन्नु पनि ?

पात्रा           –      डर त तिमीलाई लागेको जस्तो छ । र त आफ्नो परिचय नदिएर कुरालाई बङ्ग्याउँदैछौ ।

चरित्र          –      कुरालाई बङ्ग्याएको होइन । मेरो स्वभाव नै यस्तै छ । अलिक नबुझिने हुन्छु ।

आवाज         –      भयो भयो । अब कि त तिम्रो नाम बताऊ कि  त तिमी यहाँबाट जाऊ ।

चरित्र          –      कसो अरे ! नाम बताउनु अरे ! नत्र यहाँबाट जानु अरे ! अचम्म ! मेरो मूल्य बुझेको छैनौ तिमीहरूले र यसो भनिरहेछौ । जेहोस् (पात्रालाई  इङ्गित गर्दै आवाजसित)  उसले आफ्नो नाम बताएन । त्यसो भए तिमी भन तिम्रो नाम के हो ?

आवाज         –      म युद्ध हुँ युद्ध । भयो अब ?

चरित्र(हाँस्छ)     –      हा हा हा युद्ध? हा हा युद्ध तिमी ? अहो ! मेरै उत्पति रहेछौ तिमी पनि ।

पात्रा           –      तिमी को हौ र त्यसो भन्दैछौ ?

चरित्र          –      पहिला तिम्रो नाम भन न त सुनूँ ।

पात्रा           –      अस्मिता ! अस्मिता हुँ म ।

चरित्र          –      कति सुन्दर नाम ! अस्मिता ! तिम्रो निम्ति मान्छेहरू कति चिन्तित छन् ! तर उनीहरु तिम्रो  सुरक्षाको निम्ति पनि मलाई नै पुकार्दैछन् । बुझ्यौ ?

पात्रा र आवाज (एक साथ)- को चैँ हौ तिमी ?

चरित्र          –      म ? म राजनीति हुँ । रा ज नी ति !

पात्रा           –      राजनीति ?

आवाज         –      राजनीति ?

चरित्र          –      हो । नीति-निर्धारक! शासन-परिचालक !शान्ति-व्यवस्थापक ! सुरक्षा-प्रतिपादक ! सबै सबै               नै त म नै हुँ ! रा  ज  नी  ति  ! नीतिहरूको राजा म ! शासन प्रणालीको सही सञ्चालक पनि म नै हुँ। सम्राट सम्झ  मलाई !

पात्रा           –      आत्मश्लाघाले मातिएको रहेछौ तिमी । आफ्नो अति प्रशंसाले खति गर्छ ।

चरित्र          –      खति ? होइन । कुनै पनि कुरोको सदुपयोगले खति गर्दैन । खति त त्यसको दुरुपयोगमा हुन्छ ।

आवाज         –      राजनीति ! तिम्रो किस्सा धेरै सुनेको छु । तिमीले गर्दा नै मैले दु:ख पाउँदैछु ।

चरित्र          –      दु:ख ? दु:ख होइन , युद्ध ! छिमेकी राष्ट्रले घरीघरी नियन्त्रण-रेखा पार गरेर मान्छेको देशमा अनुप्रवेश गर्दा नै सुरक्षाको निम्ति मैले तिम्रो प्रयोग गर्नुपर्छ । मान्छेले आह्राएपछि मैले  तिमीलाई प्रयोग गर्नैपर्छ । दु:ख त तिमीलाई भएको छैन । तर दु:ख त मान्छेलाई नै हुँदैछ । युद्धको विभीषिका, युद्धको डरलाग्दो रूप देखेर पनि मान्छे युद्ध गर्नु नै तम्सिन्छ । खालि जित्नु खोज्छ । हार्नु मान्दैन । जित्नुको निम्ति मलाई प्रयोग गर्छ ।

पात्रा           –      तर तिम्रो दुरुपयोग हुँदैछ हरेक क्षेत्रमा ।

चरित्र          –      मान्छेको गलती हो त्यो । मेरो होइन । सुव्यवस्था ,मित्रता ,सुशासन कायम राख्नु हरेक क्षेत्रमा मेरो सदुपयोग भयो भने दु:ख कसैलाई हुँदैन ।

आवाज         –      सदुपयोग हुनुपर्छ तिम्रो । मान्छेलाई बुझाउनुपर्छ ।

चरित्र          –      कसले बुझाउने ? तिमीले कि उसले ?

पात्रा           –      हाम्रो गन्थनले मान्छे कहाँ सुध्रिन्छ ?

आवाज –             त्यसो भए कसको गन्थनले  सुध्रिन्छ ऊ ?

(सबै मौन रहन्छन् )

पात्रा           –      हाम्रो मौनताको मतलब हामीसित उत्तर छैन ।

चरित्र          –      मैले भनिहालेँ मान्छे स्वार्थी छ । आफ्नो स्वार्थको निम्ति उसले सबै सीमा पार गर्न सक्छ  ।

आवाज         –      त्यसो भए मान्छेलाई सुधार्ने उपाय के हो ?

पात्रा           –      उपाय एउटै छ ।

चरित्र          –      के हो त्यो ?

आवाज         –      कस्तो उपाय ?

पात्रा(चरित्रलाई देखाएर)  उसको अनुपस्थिति मान्छेको स्वस्थ सोचमा हुनुपर्छ ।

आवाज         –      मतलब ?

पात्रा           –      मतलब ,राजनीति उपस्थित हुनु हुँदैन मान्छेको विचारमा । राजनीतिबिनाको स्वस्थ                  विचारले सत्यता बोकेको हुन्छ । सत्यता बोक्ने विचारले अर्को मान्छेलाई खति  गर्ने हुनाले मान्छेले राजनीतिलाई काखी चेपिहाल्छ र गलती हुनु जान्छ । तर राजनीति नै छैन भने गलती हुँदैन ।

आवाज         –      अर्थात् नरहे बाँस नबजे बाँसुरी ?

पात्रा           –      हो ।

चरित्र          –      तिमीहरू कस्तो उदेकलाग्दो कुरा गर्दैछौ ? मबिना मान्छेको सभ्यता चुचुराबाट तल झर्छ । मान्छेको विकास अपाहिज हुन्छ । त्यसो हुनै सक्दैन । असम्भव !

पात्रा           –      असम्भव छैन ।

आवाज         –      हो छैन ।

चरित्र          –      कसरी ?

पात्रा           –      हामी तिम्रो हत्या गरिदिन्छौँ ।

चरित्र          –      के अरे ?

आवाज         –      तिमीसित लड्छौँ हामी । तिमीलाई खत्तम गरदिन्छौँ ।

चरित्र          –      कसो अरे ?

पात्रा           –      तिमीलाई हामी मार्छौं भनेको । तिमी म-यौ भने तिम्रो प्रयोग नै हुँदैन ।

चरित्र          –      कस्तो नानीले जस्तो कुरा गरेको ? मलाई मारेर मेरो प्रयोग हुँदैन भन्दैछौ । तर म  मारिनुमा झन ठूलो राजनीति हुन्छ । डरलाग्दो राजनीति जन्मिन्छ अर्को । मतलब म मर्दिनँ । अमर हुन्छु ।

आवाज         –      त्यसो भए म आफै मर्छु ।

चरित्र          –      किन आत्महत्या गर्न खोज्छौ ? तिमी त मेरो माध्यम हौ । म रहुञ्जेलसम्म तिमी पनि बाँचिरहन्छौ ।

पात्रा           –      त्यसो भए म आत्महत्या गर्छु ।

चरित्र          –      अहो !अस्मिता !तिम्रो आत्महत्याले पनि काम गर्दैन ।

पात्रा           –      मेरो निम्ति मान्छेहरू आन्दोलित छन् । म नै छुइनँ भने केको आन्दोलन ? म मरिदिन्छु ।

चरित्र          –      होइन ,तिम्रो आत्महत्याले पनि सुध्रिने छैनन् मान्छेहरु !

आवाज         –      त्यसो भए के गर्ने त ?

चरित्र          –      मेरो सदुपयोग गर्नुपर्छ मान्छेले । यही एउटा उपाय छ । मेरो सदुपयोग भयो भने न युद्ध हुन्छ न अस्मिता असुरक्षित बन्छ । वास्तवमा मेरो दुरुपयोगले नहुनु पर्ने कुरा हुँदैछन् । मलाई स्वस्थ र अहिंसात्मक बनाएर उचित समयमा सही उपयोग गरेमा  सबै समस्याहरू समाधान भएर जान्छन् । तर सबैले आ –आफ्ना अस्मिता जोगाउन युद्ध छेडेर मेरो दुरुपयोग गर्नाले नै अशान्ति व्याप्त छ चारैतिर । उपाय एउटै छ। अब म नै सुध्रिनुपर्छ ।

पात्रा           –      हो, तिमीले ठिक भन्यौ ।

आवाज         –      कुरा त सही ग-यौ ।

पात्रा           –      तर राजनीतिमा सुधार तब आउँछ जब मान्छेमा सुधार आउँछ।

चरित्र          –      हो । मान्छेमा सुधार नआएसम्म कुनै सुधार हुँदैन ।

आवाज         –      त्यसो भए मान्छेलाई कसरी सुधार्नु ?

पात्रा           –      मान्छेको मगजमा हाम्रो विचारले वास पाउनुपर्छ । तब मात्र ऊ सुध्रिएला ।

आवाज         –      होइन, यदि त्यसो गर्नु सकिएन भने मान्छेले भनेको हामी नसुनौँ । मान्छेले अह्राएको राजनीतिले मानेन भने भइगयो त ।

पात्रा           –      त्यो पनि अर्को उयाय हुनुसक्छ ।

आवाज         –      मान्छेले गर्नु गरिसक्यो । अब केही त गर्न नै पर्छ ।

चरित्र          –      हामीले विद्रोह गर्नपर्ने समय आएको जस्तो छ । अटेरी गर्नुपर्छ अब ।

पात्रा           –      विद्रोह ? अटेरी ? तर कसरी ?

चरित्र          –      यी : यसरी ।

(विस्तारै मञ्च अँध्यारिन्छ। मञ्च उज्यालिँदा एकजना मान्छे चौकीमा बसेर मोबाइलमा कसैसित बात गर्दैछ ।चरित्र,पात्रा आवाज मञ्चमा छैनन्।)

मान्छे (मोबाइलमा कुरा गर्दै) – अ अ ठिक छ ,ठिक छ ,सबै ठिक हुन्छ । पैसा बाड्ने काम गर । दङ्गा फैलिहाल्छ । बम विष्फोट हुनुपर्छ । तिनीहरूमाझ युद्ध छेडियोस् । फाइदा हामीलाई हुन्छ । अरे ! अस्मिता जोगाउनुलाई राजनीतिको प्रयोग गरेर युद्ध छेड्नुपर्छ । युद्धको संत्रासबाट त्यसले शिक्षा पाओस् । डराओस् त्यो । तर हाम्रो अस्मिता खतरामा पर्नु हुँदैन । राजनीति खेल्ने सही समय यही हो । बुझ्यौ ? रुपियाँको प्रबन्ध मिलाऊ । ओके ? ओके बाई !

(यत्तिमा चरित्र ,पात्रा ,र आवाजको प्रवेश )

 चरित्र          –      तिमी राजनीतिको कुरा गर्छौ ?

मान्छे         –      को ?

पात्रा           –      तिमी अस्मिताको कुरा गर्छौ ?

मान्छे         –      को ? को ?

आवाज         –      तिमी युद्धको कुरा गर्छौ ?

मान्छे         –      को ? को ? को ? को हौ तिमीहरू ?

चरित्र          –      म तिम्रै राजनीति हुँ ।

पात्रा           –      म तिम्रै अस्मिता हुँ ।

आवाज         –      म तिम्रै युद्ध हुँ ।

मान्छे         –      राजनीति ? अस्मिता ? युद्ध ? तिमीहरू? यहाँ किन आयौ तिमीहरू ? के चाहन्छौ तिमीहरू ?

चरित्र          –      तिम्रो मृत्यु ।

मान्छे         –      हँ, तिमी मलाई मार्न चाहन्छौ  ?

चरित्र          –      हो । मार्छु तिमीलाई । मान्छे (भयभीत हुँदै)  होइन ,मलाई नमार ।

पात्रा           –      किन डर लाग्यो ?

आवाज         –      अरूलाई मार्ने सोच पाल्ने मान्छे ! अरूको हत्या गर्ने मान्छे ! अरूको घर जलाउने मान्छे ! आफ्नो अस्मिताको लागि राजनीतिको सहारा लिएर अरूमाझ युद्ध गराउने मान्छे ! तिमी मर्न किन डराउँछौ ?

मान्छे         –      मलाई नमार । भन कति रुपियाँ चाहिन्छ ?

चरित्र          –      के तिम्रो रुपियाँले तिमीले दङ्गामा मारेको निर्दोष बालकहरूलाई फेरि जिउँदो  बनाउन  सक्छ ?

पात्रा           –      के तिम्रो रुपियाँले बम -विष्फोटमा मारिएकाहरू फेरि जीवित भएर हिँड्न सक्छन् ?

आवाज             –       के तिम्रो रुपियाँले युद्धमा परेर मर्ने  निहत्थाहरू फेरि हाँस्न सक्छन् ?

चरित्र          –      यसैले तिमी पनि मारिनु पर्छ । तिमीले राजनीतिको दुरुपयोग गरेर संत्रास फैलाएका छौ चारैतिर । त्यो संत्रासको शिकार तिमी पनि हुनुपर्छ अब ।

मान्छे         –      होइन, होइन, मलाई माफ गर ।

पात्रा           –      माफ ? तिम्रो दिमागलाई पापको पाप्राले छोपेको छ । घाउ छ त्यहाँ र विषालु राजनीतिको पीप निस्किँदै छ त्यहाँबाट ।

चरित्र(मान्छेको गालामा एक थप्पड कसेर) – मेरो बदनाम किन गर्छौ तिमी ?

मान्छे         –      माफ गर मलाई माफ ।

पात्रा(मान्छेको अर्को गालामा थप्पड कसेर) – मेरो बहानामा राज गर्छौ तिमी अरूको अस्मितालाई असुरक्षित पारेर । तिम्रैमात्र अस्मिता सुरक्षित हुनुपर्ने ? अरूको अस्मितालाई परिचयहीन पार्ने घिनलाग्दो  राजनीति खेलेर मान्छेलाई आपस्तमा लडाएर आफूचाहिँ मोज-मजा गर्छौ ? तिमी पनि मर्नुपर्छ अब ।

मान्छे         –      होइन ,म मर्न चाहन्नँ । म बाँच्न चाहन्छु  ।

आवाज(मान्छेलाई एक लात कसेपछि) – चुप् ! चुप् ! डरलाग्दो राजनीतिको आडमा मलाई भक्कु खटाएर मान्छेको        हत्या गर्नु लगाउँछौ ? तर अब त्यस्तो  हुने छैन ।

पात्रा           –      हो, अब त्यस्तो हुने छैन । अब नर-संहार हुने छैन ।

चरित्र          –      मान्छेको कालो मगजको अन्त हुनैपर्छ ।

आवाज         –      मान्छेको कालो सोचको मृत्यु हुनैपर्छ ।

पात्रा           –      मान्छेको कालो नीतिको अवसान हुनैपर्छ ।

मान्छे         –      होइन, होइन, होइन ।

(चरित्र,आवाज,र पात्राले मान्छेलाई तीनतिरबाट घेर्छन्)

चरित्र          –      मान्छेले दुरुपयोग ग-यो मलाई ।

पात्रा           –      मान्छेले असुरक्षित पा-यो मलाई ।

आवाज         –      मान्छेले साह्रै उपयोग ग-यो मलाई ।

चरित्र+आवाज+पात्रा-      तर अब त्यस्तो हुने छैन फेरि ।

(यति भनी चरित्र ,पात्रा र आवाजले तीनतिरबाट  मान्छेलाई आक्रमण गर्छन्,मान्छेको गला दबाउँछन् । केही क्षण सबै त्यही अभिनयमा अचल हुन्छन् । त्यसपछि चरित्र ,आवाज र पात्राले मान्छेलाई छोड्छन् । मान्छे  निष्प्राण भएर सोझै भुइँमा ढल्छ  अनि त्यसपछि)

 चरित्र          –      मान्छेको कालो मगजको अन्त भयो । अब मेरो दुरुपयोग हुने छैन । (स्तम्भित हुन्छ)

आवाज         –      मान्छेको कालो सोचको मृत्यु भयो । अब मेरो उपयोग हुने छैन ।  (स्तम्भित हुन्छ)

पात्रा           –      मान्छेको कालो नीतिको अवसान भयो । अब म असुरक्षित बन्ने छैन। (स्तम्भित हुन्छ)

(पर्दा खस्छ)