साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नियात्रा : ओसाका यात्रामा भानुभक्तहरू

प्रकाश पौडेल ‘माइला’

आफ्नो देशबाट पाँच हजार दुईसय किलोमिटर टाढा भए पनि हामीसँग आफ्नो भाषा थियो । यही भाषालाई सबै नेपालीको साझा बनाउने भानुभक्तको तस्विर थियो । यही तस्विरलाई गाडीमा राखेर हामी नेपाली भाषामा गीत गाउँदै र नाच्दै यिनै भानुभक्तको जन्मोत्सव मनाउन जापानको राजधानी टोक्योबाट अर्को ठूलो सहर ओसाका जाँदै थियौँ ।

रिजर्भ गरिएको गाडीभरि वर्षौंदेखि जापानमा आफ्नो भाग्य आजमाइरहेका देशभरिका नेपालीहरू थियौँ । नेपालमा पो तपाईंको कुन जिल्ला, तपाईंको कुन गाउँ, तपाईं कुन दलसँग सम्बन्धित हुनुहुन्छ भन्ने प्रश्न उठ्छ, यहाँ ती सबैभन्दा माथि हामी केवल नेपाली मात्र थियौँ ।

bahulako diary small and inside post

हरेक नेपालीलाई देशप्रतिको प्रगाढ माया र स्नेह रहन्छ । स्वदेशमा रहुन्जेल यस कुराको मापन र अनुमान गर्न सकिएन, अझ भनौँ, देशप्रेमको भेउ पाउन सकिएन । परदेशमा आएपछि बल्ल राष्ट्र र राष्ट्रियताको महत्त्व नजिकबाट बुझ्न र अनुभव गर्न पाइयो । आफ्नो भाषा, साहित्य, कला र संस्कृतिको सम्बर्द्धन विदेशबाटै केही न केही भूमिका निभाउन पाउँदाको सन्तुष्टि बेग्लै किसिमको हुनेरहेछ । २१ औँ शताब्दीमा संसार निकै साँघुरिँदै गएको भान हुन्छ । कुनाकुनासम्म नेपालीहरू छरिएर आफ्नो पौरख गरिरहेका छन् । यसरी छरिएका सबै नेपालीलाई एउटै सूत्रमा बाँध्ने काम भाषा र साहित्यले नै गरेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) प्रवासमा रहेका नेपाली साहित्य पारखीहरूका निम्ति साझा चौतारी हो । सन् १९९१ मा अमेरिकाबाट सुरु भएको यस संस्था सन् २००३ मा जापानमा स्थापना भएको थियो । स्थापनाकालदेखि नै आफ्ना गतिविधिलाई निरन्तरता दिइरहेको अनेसास, जापान च्याप्टरले पछिल्लो वर्षहरूमा साँच्चै उत्कृष्ट कार्यक्रमहरू गर्दै आइरहेको छ । कहिले साकुराको फेदमुनि त कहिले यात्रा गरेर कार्यक्रमलाई नयाँ–नयाँ शैलीमा प्रस्तुत गर्दै आइरहेको सन्दर्भमा यसपटक निकै लामो दूरीको साहित्यिक यात्राको योजना बनेको थियो । टोक्योबाट झण्डै ६०० कि.मी. टाढाको सहरसम्म साहित्यिक यात्रा गर्नु सहज पक्कै नहोला तर पनि यसको नेतृत्व र सबै साथीहरूको आँटप्रति आभार प्रकट गर्नै पर्दछ ।

खुसीहरू स–साना कुराहरूमा मिल्छन्, मात्र आफूले महसुस गर्न सक्नुपर्छ, जान्नुपर्छ ।’

‘यहाँ पनि नेपाली पारा देखाउनु पर्छ ?’ ड्राइभर नजिकै बसेका एकजनाले केही ठूलो स्वरमा कराएपछि बसभित्र भएका सबैको ध्यान आकृष्ट भयो । कसैले भन्दैथियो, ‘अघि नै सक्नुपर्ने काम अहिलेसम्म किन ढिला गरेको ?’ हामीले चासो देखायौँ । सबै जम्मा भएर गाडी हिँड्ने बेलामा केही साथीहरू उत्रिएर सामान किन्न लाग्नुभएको रहेछ । एकजना साथी आफ्नो गाडी त्यहीँ कतै पार्क गरेर बस चढ्नका निम्ति सस्तो पार्किङ खोज्दै अल्लि परै पुग्नु भएछ । सिन्जुकु जस्तो ठाउँमा सस्तो पार्किङ खोज्ने साथीलाई के भन्ने खै ? थप केही साथीहरूमा असन्तुष्टि देखियो । जमघट र हल्लाखल्लाको बीच निर्धारित समयभन्दा २० मिनेट ढिलो गरी गाडी अगाडि बढ्यो । हाइ–वे प्रवेशसँगै बस राम्रै गतिमा हुइँकियो ।

एउटा सिङ्गो बस भाडामा लिएर हामी टोक्योबाट बीचमा योकोहामा, एबिना, सिजुओका, माचुयामा, टोयोटा जस्ता ठूला सहरहरू छिचोल्दै जापानको अर्को ठूलो सहर नागोयाको नजिकतिर पुगिसकेका थियौँ । गन्तव्य थियो ओसाका । तीन दर्जनभन्दा धेरै स्रष्टाहरूको भीड । त्यसमा साना बालबालिकाको सङ्ख्या पनि थियो । गन्तव्य धेरै टाढा थियो तर समस्या बनिरहेको थियो ‘नेपाली पारा’ ।

लेखक

जापान बसेर पनि कुनै नेपालीले जापानी शैली पछ्याएन भने एकअर्कालाई जिस्क्याउने, गाली गर्ने वा सचेत गराउनुपर्यो भने ‘नेपाली पारा नगर्नू’ भन्ने गरिन्छ । उसलाई जापानी रहनसहनमा घुलमिल हुन नसकेको भनेर जिस्क्याउने वा गाली गर्ने पनि गरिन्छ । हरेकले जापानी शैली नै पछ्याउने प्रयास गर्छन् तर नानीदेखि लागेको बानी कहिलेकाहीँ बिग्रिहाल्ने । अथवा नचाहँदा–नचाहँदै पनि कहिलेकाहीँ चिप्लिहाल्ने !

रबिनले सर्भिस एरियामा रोकिराखेको बसको ढोकाबाट टाउको निकालेर अल्लि झर्केको स्वरमा ‘नेपाली पारा देखाइहाल्नु पर्छ ?’ भनिसकेपछि बाहिरतिर लागिसकेका साथीहरू हतारिँदै फर्किए । आधा चुरोट पनि ननिखारेका साथीले मन खिन्न गर्दै हाइजारामा चुरोट ठोसेर दौडिए । बेलु थापाजी ग्रिन–टीको बोतल हातमा समाउँदै भित्र छिर्नुभयो । हिजो रातभरिको कामको कारणले हुनुपर्छ — अरुण भाइको हातमा भिटामिन टोनिक थियो ।

मानिसलाई ठीक लगाउने यो तरिका रबिनलाई ठिकै लाग्यो होला । मलाई भने कोही साथीहरू रिसाइदेलान् कि भन्ने पीर लागिहाल्यो । रबिनको बोली र व्यवहार जति मिठासपूर्ण छ चित्त नबुझेको कुरामा झर्किन पनि उत्तिकै खप्पिस रहेछन् मैले पहिलो पटक अनुभव गरेँ । धन्य, उनीहरू बस चढ्दा अनुहारमा त्यस्तो कुनै छनक देखिएन ।

गएको वर्ष सेप्टेम्बरमा टोक्योमा अन्तर्राष्ट्रिय नेपाली हाइकु महोत्सव २०१८ भएको थियो । उक्त कार्यक्रममा भाग लिन एहिमे, क्योटो र ओसाकाबाट पनि केही साथीहरू आउनुभएको थियो । हामी पनि ओसाका हुँदै हिरोसिमासम्म पुगेका थियौँ त्यतिबेला पनि ओसाकाको छोटो भेटमा एउटा बृहत् कार्यक्रम अवधारणा बनेको थियो ।

जापानमा हुने सबैजसो साहित्यिक कार्यक्रमहरू टोक्योमै केन्द्रित हुनु स्वाभाविक नै हो तर यो कुराको चपेटामा टोक्यो बाहिर रहनुहुने केही राम्रा सर्जकहरू पर्नुभएको अनुभूति हामीले गरिसकेका थियौँ ।

सबै साहित्यिक कार्यक्रम टोक्यो वरपर मात्र हुँदा टाढाका साथीहरूले भनेजस्तो गरी सहभागी हुन नपाउनु भएको कुरा मैले पनि गहिरोसँग अनुभव गरिरहेको थिएँ । अनौपचारिक भेट वा कुराकानीको क्रममा केही साथीहरूले मुखै फोरेर गुनासो पोख्नुहुन्थ्यो । यसलाई हटाउन जरुरी पनि थियो । हुन त अनेसास, जापान च्याप्टरको दुईवर्षे कार्यकालमा कम्तिमा एउटा कार्यक्रम टोक्यो बाहिर गर्ने योजना नभएको होइन । तर यो कार्य याकोहामादेखि नायोगासम्म मात्र सीमित थियो । एकैदिन गएर कार्यक्रम सम्पन्न गरेर फर्किन ओसाकाको हकमा सम्भव थिएन । त्यसैले पनि साहित्यिक यात्रासहित ओसाका जाने कार्यक्रम अहिलेसम्म जुरेको थिएन । ओसाकाबाट नरेन्द्रजी, रमेशजी र कृष्णजीहरूको अनुरोधसहितको नजानिँदो दबाब गत सालदेखि बाक्लिदै थियो ।

लामो सल्लाह र छलफलपश्चात् ओसाकामा अनेसास जापानको ५१ औँ साहित्यिक कार्यक्रम गर्ने निधो भएको थियो । कार्यक्रमलाई सकेसम्म असार २९ गते भानुभक्त जन्मोत्सवकै दिन गर्ने योजना थियो तर नेपाल सरकारले समेत बिदा कटौती गरेको असार २९ मा विदेशमा बसिरहेका नेपालीहरूलाई त्यही दिन कार्यक्रम गर्न सहज थिएन । हामीले जुलाई २० र २१ तारिकका दिन कार्यक्रम गर्ने निधो गरेको धेरै अगाडि नै हो । बस समयमै छुट्ने र कसैलाई नपर्खिने उर्दी दीपजीले पटक–पटक गु्रप म्यासेजमार्फत् लगाएकाले टोक्यो सहित चिवा, साइतामा, कानागावा क्षेत्रका साथीहरू समेत समेट्दै बस अगाडि बढ्न सोचेजस्तो अप्ठेरो भएन ।

बस तीव्र गतिमा कुद्दै थियो । नेपालदेखि जापान भ्रमणमा रहनुभएका २ जना गायिकाहरू मनु रोकामगर र शान्ति परियारलाई साथ लिएर तिलक मल्ल सरले बसको अघिल्लो भेगमा साङ्गीतिक मोर्चाको तयारी गर्नुभएको थियो । यात्राको माहोल रमाइलो बनाउन गायक–गायिका लैजानुपर्ने तर्क उहाँले केही दिन अगाडिदेखि नै जोडतोडले राख्दै आउनुभएको थियो ।

गाडीमा व्यवस्था गरिएको माइक समातेर परिचय कार्यक्रम सकिनेबित्तिकै दोहोरीले थप सर्गर्मी तताइहाल्यो । त्यही माइकमार्फत् दोहोरी गीत चलिरहँदा हामी जापानमा होइन, कुनै घरको पिँढीमा बसेर गीत गाइरहेका छौँ भन्ने भान हुन थाल्यो ।

चिल्लो सडक र कन्डिसनयुक्त बसका कारण पनि हामीले टाढाको यात्रा गरिरहेका छौँ भन्ने भान भइरहेको थिएन । बसमा केही साथीहरू निदाउने र घुर्ने हुन् कि भन्ने मेरो पूर्वानुमानले फेल खाइसकेको थियो । बसको मध्य भागमा बसेर हरि रेग्मी र सङ्गीता शर्मा रेग्मीले मन्त्रमुग्ध भएर झ्यालबाट बाहिर हेर्दै हुनुहुन्थ्यो ।

सायद सौन्दर्यमा रमाउनु जापानी विशेषता हो । दूर दराजका पहाड र जङ्गललाई पनि साह्रै मिहिनेत गरेर सजाइएको देखिन्थ्यो । जापानमा दुईतिहाईभन्दा बढी भू–भाग पहाडले ढाकेको छ । यति धेरै भू–भाग भएको पहाडी क्षेत्रको प्रकृति नबिगारीकन कतै सुरुङ खनेर सडक निर्माण गरिएको छ भने कतै खोँचका बीचमा आकर्षक पुल बनाएर सडकलाई निरन्तरता दिइएको छ । बीच–बीचमा प्रशस्त जङ्गल देखिन्छ । कतैकतै जापानी चियाबारी देखिन्छ र लामबद्ध तरकारीको खेतबारी पनि । मानवनिर्मित जस्तै लाग्ने एकनाशको जङ्गलले मन लोभ्याउँछ । जापानका पहाडी भेगमा एकत्रित बस्तीलाई बढावा दिइएको हुन्छ । नेपालको जस्तो डाँडाकाँडामा १–२ ओटा मात्र घर देख्न सकिँदैन यहाँ ।

बसभित्रका आधाआधीका निम्ति यति लामो बस यात्रा सम्भवतः पहिलोपटक नै थियो । राजु लक्षितजीलाई थकानको महसुस कत्ति पनि थिएन । गणेश रायमाझीजीले घरी अगाडि त घरी पछाडि हेर्दै रमाइलोको माहोल छोप्ने प्रयास गर्नुभएको थियो ।

गीत गाउँदा–गाउँदा रबिन र गिरिजाजीको स्वर बसिसकेको थियो । गम्भीर मुद्रामा आनन्द अधिकारी, प्रतिबिम्ब सुमन र गङ्गा गगनले गायनलाई दरिलो साथ दिइरहेका थिए । महिला दिदीबहिनीहरू पनि रबिनसँग जुहारी खेल्दाखेल्दै थाकेकाजस्ता देखिन्थे । दोहोरी केही सुस्ताएको महसुस हुँदा दीपा घिमिरेले गजल घन्काउँदा ज्वाला, अमृता, इन्दु र सङ्गीता बहिनीले साथ दिएर माहोल बेग्लै बनाउँथे । कामबाट फुक्का भएका साथीहरूको यो रौनक बाटाभरि नै देखियो ।

दीप पाठक कवितामा जस्तै दोहोरीमा पनि पोख्त भएको कुरा पहिलो पटक थाहा पाइयो । यात्रा आलश्यता कुनै पनि बेला जाग्न पाएन, यद्यपि के खाउँ के खाउँ लागिरहेको बेला जीवनसङ्गिनी भूमिका र कामना भाउजुले बनाएर ल्याएको पकौडा र जेरीले राम्रै काम गर्यो र प्रशंसा पनि बटुल्यो । राजेशविक्रमले निकै भद्र मुद्रामा तात्ततो कफी पिउँदै अघिल्तिर रहेका पानी र आलुचिप्स पछाडि पास गर्नुभयो । निथ्रिन लागेको बोतल सिवाय केही आइपुगेन पछिल्तिर ।

टोक्योबाट गाडी चड्नु अगाडि नै पेय पदार्थ किन्न बिर्सिएको तनाव केही साथीहरूको अनुहारमा प्रस्ट देखिन्थ्यो । हरेक २–२ घण्टामा हुने ब्रेकटाइममा मदिराजन्य पेय पदार्थ पाउने ठाउँको खोजी गरेको देखिन्थ्यो । हाइवेमा किन्न नपाइने प्रस्ट कुरा पुष्करबाट आएपछि साथीहरूले बल्ल मन बाँध्नुभयो । धैर्यतालाई कसिलो बनाउनुभयो ।

त्यतिकैमा हालै बर्मा पुगेर आउनुभएका श्रवण सत्यालले पछाडिको सिटमा बसेर एनआरएनएको गफ सुरु गरे । सबै त्यतै झुम्मिइयो । जापानको विगत र सम्भावित भावी नेतृत्वबारे छोटो बहस भयो र लगत्तै नेताजीहरूको क्यारिकेचरतर्फ वातावरण मोडियो । सनोद पौडेल र रमेश लामिछानेको ध्यान बल्ल यता खिचियो !

हामी नाच्न र गाउन नजान्नेहरू भने बीच–बीचमा नेपाली राजनीति र सञ्चारमाध्यमका विषयमा कुरा उठाउँथ्यौँ र असन्तुष्टि पोख्दथ्यौँ ! नेपाल एयरलायन्सको जहाज एक वर्षदेखि ओसाका आउँछ र धेरै जापानबासी नेपालीहरू त्यसैमा नेपाल फर्कने योजना बनाउँदैथ्यौँ । तर मजस्ता धेरैजना जहाज जापान आउँछ भन्ने सुने पनि विदेशी जहाज चढेर नेपाल पुगेका थियौँ । यद्यपि अबचाहिँ ओसाकापछि नारिताबाट पनि उडान सुरु गर्ने हल्ला छ । यसपटक जाँदा मेलम्चीको पानी खाने भनेर हामीले कुरा गरेको बर्सौं भयो तर बोतलको पानीले धेरैपटक तिर्खा मेटाएका थियौँ । यी कुराहरूलाई सञ्चार माध्यमले पनि उपयुक्त किसिमले फलोअप गरेको देखिँदैन । बरु तत्काल चर्चा हुने कुरामा मात्र पत्रपत्रिकाको ध्यान थियो ।

हामीले जापानका सञ्चारमाध्यमका विषयमा पनि कुरा गर्यौँ । जापानमा विभिन्न किसिमका घटना नहुने होइनन्, हुने गर्छन् तर यहाँका सञ्चार माध्याममा चोरी, हिंसा, हत्या, सामान्य दुर्घटना, वादविवाद र देशविरुद्धका समाचारहरू कहिल्यै प्राथमिकतामा आउँदैन तर नेपालमा त्यस्ता समाचार नराखी समाचार नै बन्दैन । यस्ता कुरामा जापानले जस्तो सभ्य र जिम्मेवार पत्रकारिता सुरुवात नेपालले कहिले गर्ने होला भनेर हामी निकैबेर चिन्तित भइरह्यौँ । यो बारेमा तिलक सरको तर्फबाट धेरै मननयोग्य कुराहरू आए ।

०००

हाम्रो गाडी ओसाकाको निर्धारित स्थल पुग्नु आधा घन्टाअघि नै थाहा भयो, हामी भब्य सहरमा प्रवेश गर्दैछौँ । यात्राभर ट्राफिकजाम कत्ति पनि नहुँदा चालक दलका सदस्य खुसी देखिन्थे । ओसाका सातौँ शताब्दीदेखि नै व्यापारिक एवम् आर्थिक हबको रूपमा चिनिदै आएको छ । ओसाकामा जापानका धेरैजसो ठूला कम्पनी छन्, त्यसमध्ये पानासोनिकले मात्र लाखौँलाई रोजगारी दिएको विश्वास गरिन्छ । सार्प, सान्यो जस्तो विश्व प्रसिद्ध कम्पनीकै कारण यो जापानको ठूलो औद्योगिक सहर बनेको रहेछ । वैदेशिक पर्यटकको आकर्षक गन्तव्य पनि हो ओसाका सहर । यहाँको सार्वजनिक यातायात सेवा निकै भरपर्दो र विश्वसनीय मानिन्छ । उत्तर–दक्षिण भएर कुद्ने हरेक बुलेट ट्रेन सिन–ओसाका स्टेसनमा रोकिन्छन् ।

हिरोसिमा र टोक्योको बीचमा पर्ने भएका कारण पनि यो सहरमा आएर पर्यटकहरू आफ्ना योजना बनाउँदा रहेछन् । नजिकै रहेको कान्साई विमानस्थल आफैमा ऐतिहासिक छ । प्राचीन कालदेखिको संस्कृतिले ओसाकालाई अझै बलियो बनाएको छ । हामी भने टोक्यो र त्यस वरपरबाट आएका कारण यसको खासै महत्त्व नबुझेको पो हो कि जस्तो पनि लाग्यो ।

मध्य सहरमा प्रवेश गर्दागर्दै टिकेपी गेट टावर बिल्डिङ देखियो । यो यस्तो भवन हो, जसलाई छेडेर हाइवे बनाइको छ । सन् १९९२ मा निर्माण सम्पन्न भएको यस भब्य बिल्डिङको दुई तल्ला छेडेर त्यसलाई बिल्डिङमा नछुवाइकन रोड निकाल्नु आफैमा अनौठो इन्जिनियरिङ कला हो । मैले यो १६ तल्ले भवन हाइवे यात्रामा धेरैपटक देखे पनि यसभित्र छिर्न पाएको छैन । धेरैका लागि यो भवन छेडिएको हाइवे हेर्नु पहिलो अनुभव थियो । यस विषयमा कुरा गर्दागर्दै गन्तव्य स्थान आइहाल्यो ।

०००

अपरान्ह चार बजे कार्यक्रम सुरु हुने कुरा थियो । हामी निर्धारित समयभन्दा २ घन्टा अगावै ओसाका पुगेका थियौँ । कार्यक्रमस्थल नजिक जिग्री रेस्टुरेन्टको अगाडि गएर गाडी रोकियो । हामी पुगेलगत्तै विष्णु घिमिरे र धीषण निरौला नागोयाबाट आइपुग्नु भयो । नागोयाबाट ओसाकाको दूरी १८० किलोमिटर रहेको छ । शरद क्योटोबाट मिसिए र गफ गर्दागर्दै स्थानीय साथीहरूको आगमन हुनथाल्यो । भोकको सिमा नाघेका साथीहरू लन्चमा केन्द्रित हुनुभयो । लगत्तै मूल आयोजक समितिका साथीहरूले हल र स्टेज रेडी गर्न कस्सिनुभयो ।

कार्यक्रमले साँच्चै नै निकै राम्रो माहोल सिर्जना गर्यो । ओसाकाका व्यवसायी, विद्यार्थी तथा गन्यमान्य व्यक्तित्वहरूको उल्लेख्य उपस्थितिले हल भरिभराउ थियो । ओसाकामा यति ठूलो साहित्यिक कार्यक्रम भएकोमा सबै ओसाकावासीको मन गद्गद् भएको कुरा उहाँहरूको मुहारमा प्रस्टिँदै थियो । व्यवसायीहरू आत्मराम गैरे, राजु शर्मा गैरे मात्र हैन हर्क थापा, जगत थापा, टीकाराम कँडेल, मनोज थापा लगायतका अनुहारहरूले कार्यक्रमलाई शोभा दिइरहेको थियो ।

मूल समितिका संयोजक नरेन्द्र बस्नेतको स्वागत मन्तव्य र कृष्ण सुवेदीको विषयप्रवेशपश्चात् हामी रचना वाचनमै सिधै प्रवेश गर्यौँ । कविता, गीत, गजल, मुक्तक, हाइकु लगायतका रचना दुई दर्जनभन्दा बढी सुनियो । कार्यक्रममा नेपाल सरकार प्रदेश ३ का सांसद प्रकाश दवाडी विशेष अतिथिको रूपमा हुनुहुन्थ्यो । धेरै रचनाको प्रहार नेपालको राजनीति र राजनीतिकर्मीतर्फ केन्द्रित हुँदा उहाँ कुनै–कुनै बेला रातोपिरो देखिनुहुन्थ्यो । उहाँ विगतमा एकदशकभन्दा बढी ओसाकामै बसेर राजनीति गर्न नेपाल फर्किनुभएको रहेछ भन्ने पनि थाहा भयो ।

भानु जयन्तीमा भानुभक्तिय टोपीमा सजिएका आलोक चालिसेले भानुको बारेमा निकै खोजमूलक प्रस्तुति दिनुभएको थियो । पुरुषोत्तम सुवेदीले मीठो शैलीमा कार्यक्रम सञ्चालन गर्दा सबैको ध्यान सुरुदेखि अन्तसम्म स्टेजतर्फ नै टक्क अडिएको थियो । महेश कटुवालजीको व्यवस्थापन प्रशंसा गर्न लायक थियो । कार्यक्रमको अन्तमा मूल आयोजक समितिका पाँचैजनालाई सम्मान–पत्र अर्पण गरिएको थियो । बेलुजीको बर्थ डे परेकाले गर्दा कार्यक्रम समापनपश्चात्को डिनरमा केही रमाइलो माहोल बनेको थियो । नाचगान पनि चल्यो केहीबेर ।

अबको गन्तव्य थियो, बहुप्रतिक्षित गोल्डेन टेम्पल ! जसलाई जापानीमा किन्काकुजी भनेर चिनिन्छ । उत्तरी क्योटोमा अवस्थित सुनले जलप लगाएको यो मन्दिर पोखरीको बीचमा अवस्थित छ । सन् १३९७ मा विलासी आवासगृहको रूपमा बनाइएको उक्त संरचनालाई सैनिक शासकको मृत्युपश्चात् सुनले लेपन गरी अहिलेको रूप दिइएको थियो । चारैतिर हरियालीले ढपक्कै ढाकेको यो मन्दिर विश्व सम्पदासूचीमा सूचीकृत छ ।

भोलिपल्ट बिहानै होटेल अगाडि बस आइसकेको थियो । तोकिएको समयभन्दा केही ढिलो गरी सबै जम्मा भएपछि बस छुट्यो । हाम्रो पूर्वनिर्धारित योजनाअनुसार नै बस कियोमिजु टेम्पलतर्फ अगाडि बढ्यो । दक्षिणी क्योटोमा अवस्थित १,२०० वर्ष पुरानो यो मन्दिर हेर्दा नै निकै आकर्षक र स्थानीय तथा वैदेशिक पर्यटकको निकै भीड थियो । केही फोटो खिचेर हामी फुसिमी इनारी ताइस्या तर्फ लाग्यौँ । केही मिनेटको बस यात्रामै त्यहाँ पुग्यौँ । सन् ७११ मा निर्मित यो मन्दिरले २०११ मा १३०० औँ वर्षगाँठ भव्य रूपमा मनाएको कुरा छेवैमा टाँसिएका भित्तेफोटाहरूबाट प्रस्ट भयो । मन्दिरहरू जाँदा दायाँबायाँ लहरै पसलहरू थिए । नेपालको कुनै मेला लागेको ठाउँको झल्को दिन्थ्यो । अत्याधिक गर्मीले केही साथीहरू चिसो पानी किन्न थाल्नुभयो । तर समय पर्याप्त थिएन ।

समय निकै बचत गर्नु थियो । टोक्योभन्दा क्योटोमा निकै गर्मी महसुस गर्यौँ र हतारहतार बसमै छिर्न हतारियौँ । अबको गन्तव्य थियो, बहुप्रतिक्षित गोल्डेन टेम्पल ! जसलाई जापानीमा किन्काकुजी भनेर चिनिन्छ । उत्तरी क्योटोमा अवस्थित सुनले जलप लगाएको यो मन्दिर पोखरीको बीचमा अवस्थित छ । सन् १३९७ मा विलासी आवासगृहको रूपमा बनाइएको उक्त संरचनालाई सैनिक शासकको मृत्युपश्चात् सुनले लेपन गरी अहिलेको रूप दिइएको थियो । चारैतिर हरियालीले ढपक्कै ढाकेको यो मन्दिर विश्व सम्पदासूचीमा सूचीकृत छ ।

बसभित्र हसी मजाक र प्रेम प्रसङ्गका कुराहरू निस्किए । गहिरो प्रेम सम्बन्धपछि बिहे गरेको केही जोडी बसभित्र नै थिए । प्रेमको सुरुवातदेखि अवरोध र बिहे अघिपछिका रोमान्सका कुराहरू पनि थपिए । सबैको ध्यान बसको पछाडिपट्टि खिचियो । अघिल्तिरका केही साथीहरू सुस्ताउनुभयो । यो माहोललाई आलोक चालिसेले निकै रोमान्चक रूपमा ह्यान्डिल गर्नुभयो । चाहेर पनि यात्रामा सहभागी हुन नपाउनु भएका साथीहरूले फेसबुक लाइभ हेरेर प्रतिक्रिया जनाइरहनु भएको थियो । हामी भने पूर्व अध्यक्षहरू डा. कुमार बस्नेत, स्व. वेद पौडेल र दिनेशराज ज्ञवालीलाई स्मरण ग¥यौँ । उहाँहरूको अभाव खड्किरहेको महसुस भयो ।

यही व्यवस्थाका बीच पनि पुष्करको फेसबुक पोस्ट आयो ‘प्रकृतिसँगै साहित्यिक यात्राको यो मज्जा कता खोजेर पाउनु ।’ खुसीहरू स–साना कुराहरूमा मिल्छन्, मात्र आफूले महसुस गर्न सक्नुपर्छ, जान्नुपर्छ ।’

(लेखक अनेसास केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ)

प्रतिक्रिया
Loading...