(हरेक गमनले आगमनलाई स्वागत गरिरहेको हुन्छ । नयाँ वर्ष नेपाली संस्कृतिमा केवल पात्रो फेरिने मात्र होइन प्रकृतिलाई नियाल्दा समेत वसन्त ऋतुमा वृक्ष र लहराहरूमा पलाएका नवपल्लवित पालुवा र फूलहरूको सुवास, सिरसिरे बतास, अनि कोइलीको मीठो कुहूकुहू तथा चराहरूको चिरबिर आवाजको संयोजनले विक्रम संवतको नयाँ वर्ष २०८२ लाई विशेष उत्साह, आशा र विश्वासका साथमा स्वागत गरिरहेको छ ।

हरेक नयाँ वर्ष नयाँ उत्साह, आशा र परिवर्तनको अपेक्षासहित आउँछ । नयाँ वर्ष शुरू हुनु अगाडि नै हरेक मानिसको मनमा अनेकौं रहर र नयाँ सङ्कल्पहरू चुलिंदै जान्छन् । धेरैलाई लाग्छ अब केही नयाँ हुनेछ, जीवनमा नयाँ मोड आउनेछ । तर, व्यवहारमा त्यो उत्साह दिगो हुँदैन । मैले बाल्यकालमा बुझिनँ नयाँ वर्ष त एक हप्तामा नै पुरानो हुन्छ भनेर । अहिले भने बुझ्दैछु आवरण नयाँ होइन, खोजेको त आचरण नयाँ रहेछ । पात्रो त युगौंदेखि फेरिंदै आएको छ, तर मानिसको मिहिनेत, सोच, व्यवहार, र मूल्य, मान्यतामा परिवर्तन विना कुनै पनि नयाँ वर्ष साँचो अर्थमा नयाँ बन्न सक्दैन । शायद सन्देश पात्रो फेर्नुभन्दा पनि पात्र फेर्ने हो । समयले अहिले यस्तो पात्र खोजिरहेको छ, जो हिजोभन्दा असल, जिम्मेवार र नैतिक होस् ।

नयाँ वर्षको स्वागतमा शहर बेहुलीझैं सिँगारिएको थियो । २०८१ लुसुक्क बिदा हुँदै थियो । दुवै मञ्चमा जम्का भेट भए । दुवैको बीचमा केही क्षण साङ्केतिक रूपमा रोचक संवाद भयो । उक्त संवादलाई नाटक र कथाको माध्यमबाट शब्दमा उतारेर विज्ञ पाठकहरू समक्ष पस्केको छु ।)

पात्रहरूः

पुरानो वर्ष – थकित, अनुभवले भरिएको, थोरै निराश

नयाँ वर्ष – उत्साहित, सकारात्मक, परिवर्तनको आशा बोकेक)

नेपाली जनता – दर्शक

० ० ० ०

दृश्य १

एउटा प्रतिकात्मक मञ्चमा रातको समय, बत्ती झिमिकझिमिक गरेर बल्दैछ । पुरानो वर्ष वृद्धको भेषमा एक हातमा लाठी, अर्को हातमा अखबार, थोत्रो डायरी, झोलामा केही सामान र टाउकोमा रुमाल बाँधेर बिस्तारै हिंड्दै बिदा हुँदैछ…!

पुरानो वर्ष : (गहिरो सास फेर्दै) अहो ! फेरि एउटा चक्र पूरा भयो । समयको यात्रामा म फेरि एकपटक बिदा हुने बेला आएको छ । म धेरै थाकें, धेरै कुरा देखें, धेरै सहें । धेरै परिवर्तन गर्न खोजें तर सकिनँ । अब म जान लागें । मैले सँगै बोकेका यी राजनीतिक विवादका पानाहरू, महँगीको रिपोर्ट, अनि जनताको अधुरा सपनाहरू आदिले भरिएको गह्रुङ्गो झोला कसलाई हस्तान्तरण गरूँ…।

(ठीक त्यसै वेला छेउबाट नयाँ वर्ष धक्का मार्दै प्रवेश गर्छ । साथमा डिजिटल डायरी, एयरपड, घडी र स्मार्टफोन आदि बोकेको हेर्दै आकर्षक देखिन्छ नयाँ वर्ष ।)

नयाँ वर्ष : (आत्मविश्वासका साथ हँसिलो अनुहारमा) नमस्कार, पुरानो वर्ष दाइ ! अब तपाईंको विश्रामको समय भयो । मलाई सबैले भव्य स्वागत गर्दै छन् । अब म केही नयाँ सपना, योजना र जोश लिएर आउँदैछु । यसपालि म पक्का बदलिन्छु । तपाईंको कार्यकाल त टिकटकको भिडियो जस्तो देखियो सर्ट भाइरल बट पेनफुल स्टोरी । जाने बेलामा त्यो गह्रुङ्गो झोला मलाई दिनुहोस् । तपाईंको अनुभव र मेरो नयाँ सोचले अवश्य राम्रो गर्नेछु ।

पुरानो वर्ष : (मलिन अनुहार लगाउँदै) मलाई पनि गतसाल तिमीलाई झैं सिँगारेका थिए । कस्ता मीठामीठा शब्दले शुभकामना दिदैं पुकारेका थिए । मन नै आनन्द भएको थियो । तर, अब तिमी पर्ख न एक वर्ष, त्यसपछि थाहा पाउने छौ । मलाई झैं तिमीलाई पनि मान्छेले कुरूप भन्नेछन् ।

नयाँ वर्ष : (डराए झैं) यस्तो किन हुन्छ हँ ? (नयाँ वर्षले डराएरै जिज्ञासा राख्यो ।)

पुरानो वर्ष : (नम्र हुँदै) मान्छे आफू निकम्मा भएपछि दोष अरूलाई दिन्छ । वर्षलाई र समयलाई दोष दिन्छ । (पुरानो वर्षले असन्तुष्टि पोख्यो ।)

नयाँ वर्ष : (आत्तिदैं) अनि मान्छे किन त्यस्तो भएको होला हँ ?

पुरानो वर्ष : (तत्त्व थाहा पाए झैं) हेर भगवानले मानिसलाई अनौठो किसिमले बनाउनु भएको छ । समस्या र आलोचना नभएको मानिस न हिजो थियो, न आज छ, न भोलि हुनेछ । प्रायः सबै मानिस त्यसैको भुमरीमा फस्न पुग्छन् । त्यसैले वर्ष बदलिएर केही हुँदैन । मानिस स्वयम् आफै सक्षम भएर बदलिनुपर्छ । तिमिलाई के यो थाहा छैन ?

नयाँ वर्ष (समालिंदै) : त्यो त थाहा छ । तर म अहिले मानिसहरूको बीचमा ठूलो आशा, भरोसा, उत्साह, उमङ्ग, विश्वास, योजना र शुभकामना लिएर आएको छु । मलाई मानिसहरूले भव्य तरिकाबाट स्वागत गरिरहेका छन् । पुरानो वर्ष दाइ, कृपया तिमीले मलाई अहिले नकारात्मक तरिकाबाट हतोत्साही नगर !

पुरानो वर्ष : (हाँसो सहित) जोश त सबैसँग हुन्छ, योजना पनि सबैले बनाउँछन् । तर तिमीले के गर्‍यौ त्यो महत्त्वपूर्ण छ । सपना त म पनि लिएर आएको थिएँ । कुनै पूरा भए, कुनै अधुरा रहे । आज खुशी, पीडा, हाँसो, आँसु सबैसँगै लिएर जान लागें । समाज र आधुनिक पुस्ता अहिले फेसबूक, रील, इन्टाग्राम, टिकटक र युट्युबमा लुगा फेर्दै स्मार्ट देखिने नाटक गर्छ । सामाजिक सञ्जालमा पीडा र आक्रोश ओकल्छ । अरूलाई अर्ति-उपदेश दिन्छ । आइफोन र स्मार्टफोन बोक्छ । तर काम कहिल्यै स्मार्ट गर्दैन । तिमी पनि त्यस्तै त होला नि !

नयाँ वर्ष : (गम्भीर हुँदै) हेर, पुरानो वर्ष दाइ, तिमी मेरो आगमन र उत्साहमा चिसो पानी खन्याउने चेष्टा नगर । म केही फरक गरेर देखाउनेछु ।

० ० ० ०

दृश्य २

पुरानो वर्ष : हेर, मेरो समयमा सामाजिक पाटो पनि सजिलो रहेन । धेरै मानिसले आत्मबल गुमाए । युवाहरू निराश भए । धेरै विदेश गए । मैले त धेरै गर्न खोजेको थिएँ तर साधन स्रोतको अभाव, प्राकृतिक विपत्ति, आन्दोलन । समस्या पनि कति हो कति । कसरी वर्णन गरूँ ।

नयाँ वर्ष : सुन, पुरानो वर्ष दाइ, तिमीले मलाई समस्याको भारी बोकाएर बिदा हुँदै छौ । तर म थाक्ने छैन । त्यसैले म शिक्षा र सीप विकासमा जोड दिन चाहन्छु । सबैलाई समेट्ने समाज बनाउने प्रयास गर्नेछु । जहाँ महिला, युवा, वृद्ध, अल्पसंख्यक सबैले राम्रो महसूस गर्न सकुन् । यो देशप्रति गौरव हुनेगरी जनताको साथ लिएर पारदर्शी ढङ्गले नवीन काम गर्नेछु । मलाई स्वागत गर्ने नेपाली जनतामा रहेको निराशाको कालो बादललाई चिर्नेछु ।

पुरानो वर्ष : तिमीले अर्थतन्त्रको हालत देख्यौ ? उद्योग तथा व्यापारमा आर्थिक मन्दी छ । सटर, महल, फ्ल्याट, अपार्टमेन्टमा जताततै टुलेटका बोर्ड टाँसिएका छन् । युवाहरू रोजगारीको खोजीमा देशबाट ठूलो संख्यामा बाहिरिएका छन् । अर्थतन्त्रको हालत हेर ठूलाबडाका ढुकुटी भरिएका छन् । राष्ट्रको ढुकुटी खोक्रो छ । व्यापार घाटा चुलिएको छ । निर्यातको अवस्था निराशाजनक छ । बाटोघाटोको निर्माण कार्य लथालिङ्ग छ । प्रदूषणले विश्वरेकर्ड राखिसक्यो । शिक्षा, स्वास्थ्य र यातायात, बैंक वित्तीय क्षेत्र, सहकारी, राजनीति जता हेर्‍यो समस्या नै समस्या । अब मेरो जाने बेला भयो । म अन्तिममा सत्य नबोलेर के गरूँ ?

नयाँ वर्ष : (गम्भीर हुँदै) सत्य हो दाइ ! तपाईं समयको आरोह–अवरोह भोगिसक्नु भएको अनुभवी हुनुहुन्छ । म त अहिले पनि यात्राको शुरूवातमै छु । न धेरै अनुभव छ, न त थकान । तपाईंले छोडेर जानुभएको बाटो मेरो लागि मार्गदर्शक बन्नेछ । अब म परिवर्तनको सङ्कल्प लिएर अघि बढ्दै छु । डिजिटल स्टार्टअप, उद्यमशीलता, कृषि आधुनिकीकरण जस्ता योजनामार्फत युवाशक्तिलाई स्वदेशमै अवसर दिन चाहन्छु । अब म हरेक क्षेत्रमा क्यूआरकोड राख्न लगाउनेछु । जसले अनियमितता र भ्रष्टाचारको मार्ग अवरुद्ध गर्नेछ । आधुनिक प्रविधिलाई सक्दो उपयोग गर्ने प्रेरित गर्नेछु । इमानदार काम गरेर मात्र पैसा कमाउन सकिने सिस्टम बनाउनेछु । तर यो यात्रा मेरो एकल प्रयासले मात्र सम्भव छैन । यसमा जनताको साथ, खबरदारी र सक्रिय सहभागिता आवश्यक छ । अब समय आएको छ, ढलेका संरचनाहरू उठाउने, बिग्रेका प्रणालीहरू सुधार गर्ने । परिवर्तन सामाजिक सञ्जालको स्ट्याटस अपडेटमा मात्र होइन, मानसिकता अपडेटमा हुनुपर्छ । मेरो जिम्मेवारी धेरै छ । यसका लागि म निडर भएर यो मुलुकमा सकारात्मक परिवर्तन ल्याउने सङ्कल्पका साथ अगाडि बढ्नेछु ।

नेपाली जनता : (नयाँ वर्षको उत्साहित कुरा सुनेपछि दर्शक दीर्घाबाट तालीको गडगडाहट हुन्छ ।)

पुरानो वर्ष : सामाजिक विसङ्गतिहरू अझै हट्न सकेनन् । गरीबी, लैंगिक विभेद, जातीय सोच । मैले यसलाई हटाउन धेरै प्रयास गरें । तर यसका केही अवशेषहरू बाँकी छन् । मैले मानिसहरूलाई धैर्य गर्न धेरै सिकाएँ । तिमीले अब यी सबै बाँकी काम अगाडि बढाउनुपर्छ ।

नयाँ वर्ष : अवश्य, हामी आधुनिक समाज र प्रविधिको जमानामा छौं । अब शिक्षामा सुधार, समुदायमूलक सोच, र सहकार्यमा आधारित अभियान लागू गरेर हामीले यस्ता समस्याहरू हटाउनेछौं ।

० ० ० ०

दृश्य ३  

मञ्चमा कालो÷सेतो रङका कुर्सी, केही नेताहरू कुर्सी तानातान गर्दैछन् । केही समय हल्लाखल्ला हुन्छ ।

पुरानो वर्ष : (थकित मुद्रामा) राजनीतिक पाटो त झनै भद्रगोल । स्थायित्वको हल्ला थियो, तर फेरि कुर्सीको खेलमै बित्यो । जनताहरू हेरेको हेरै भए । नेताहरूले जनताहरूसँग गरेको वाचा बिर्से ।

नयाँ वर्ष : (गम्भीर अनुहारमा) यो वर्ष राजनीतिमा जबाफदेही नेतृत्व र दीर्घकालीन सोचको माग उठाउनेछु । म जनता माझ चेतना ल्याउन चाहन्छु । अब हाम्रो हैन राम्रो छान्नुपर्ने बेला आएको छ ।

पुरानो वर्ष : (लज्जित मुद्रामा) राजनीतिक अस्थिरता त मेरो समयमा ठूलो समस्या बन्यो । गठबन्धन फेरबदल, विकास रोकिने अनि जनताको आवाज हराउने । माग पूरा गराउन आन्दोलन गर्नुपर्ने । नेताहरू कुर्सीको लागि म्युजिकल चेयर खेल्ने । नेताले त कुर्सीलाई साँचो माया गर्दा रहेछन् । पाँच वर्ष जनतालाई सम्झँदैनन् । कुर्सी हट्ने बेला बल्ल जनताको कुरा गर्छन् ।

नयाँ वर्ष : (दर्शकतर्फ ध्यान केन्द्रित गर्दै) अब राजनीतिक नेतृत्वसँग जबाफदेहिता माग्नेछु । सामाजिक सञ्जाल जागरूक बनाउनेछु । जनतालाई सचेत गराउनेछु कि उनीहरूको मत, मतलबीहरूले होइन, जिम्मेवारहरूले प्रयोग गर्न पाउनुपर्छ । अब जनताले पनि रिमोट कन्ट्रोल प्रयोग गर्नुपर्छ । नेताका अनावश्यक कुरा र फोस्रा आश्वासनलाई म्युट गर्ने । स्किप गर्ने । अनि कहिलेकाहीं डिलिट पनि गर्ने हो भने नेतृत्व पनि ठीक ठाउँमा आउँछन् । अबको वर्ष टिकटक ट्रेन्ड होइन,  रियल चेन्ज बनाउँछु । के जनता मलाई साथ दिन तयार हुनुहुन्छ ?

नेपाली जनता : हो हामी तयार छौं । नयाँ वर्ष तपाईं इमानदार भएर अगाडी बढ्नुहोस् दर्शक दीर्घाबाट तालि, सिठी र हुटिङ हुन्छ । नयाँ वर्षको शुभकामना ! हामी परिवर्तन चाहन्छौं । नयाँ वर्षको शुभकामना ! हामी परिवर्तन चाहन्छौं !

दृश्य ४

पुरानो वर्ष : (अस्ताउँदै) म अब म जान्छु । (झोला बोक्छ, तर केही बिर्सिएको जस्तो गर्छ ।) थाहा छ नयाँ वर्ष, मेरो झोला भारी छ । लथालिङ्ग अर्थतन्त्र, महँगी, बेरोजगारी, व्यापार घाटा, युवाहरू अत्यधिक विदेश पलायन आदि थुप्रै विषय मैले सम्हाल्न सकिनँ । यो भारी तिमीलाई नै छोडेर बिदा हुँदैछु ।

नयाँ वर्ष : (थप अडान लिँदै) दाइ तपाईं आफ्नो गह्रुङ्गो झोला र गुनासोको डायरी त छाड्नुभयो । म इमानदार र निडर भएर काम गर्नेछु । मलाई विश्वास छ जनताले मलाई साथ दिनुहुनेछ । परिवर्तन एकै रातमा हुँदैन, तर एउटा रातबाट नै शुरू हुन्छ । तिमीले बाँकी राखेको झोला हेरें, सजिलो छैन । तर आशा भने मसँग छ । म नयाँ नीति, लगानी र उत्पादनमा वृद्धिका लागि योजना लिएर आएको छु ।

पुरानो वर्ष : त्यो गुनासोको डायरी तिमीले नै राख । कहिलेकाहीं पढ्नू, अनि सोच्नू – कसरी सुधार्न सकिन्छ भनेर । म त अब स्मृतिमा सीमित हुने भएँ । तिमी चाहिं आशा मात्र नभएर काम गरेर देखाऊ । जनताको मुहारमा हाँसो ल्याउन सके, तब मात्र तिमी साँच्चिकै नयाँ वर्ष ठहरिनेछौ । ठीक छ, अब म जान्छु भन्दै पुरानो वर्ष ओझेलमा पर्छ ।

नयाँ वर्ष : तिमीलाई सम्झँदै, म अघि बढ्नेछु । धन्यवाद, पुरानो वर्ष ! शुभ बिदाइ ! अलबिदा !

(ठीक त्यही समयमा मञ्चमा नेपाली जनताबाट दीप प्रज्वलन, पुष्प वर्षा र आकाशबाजी सहित नयाँ वर्षको भव्य स्वागत हुन्छ ।)

 

नयाँ वर्ष (दर्शकतिर फर्किंदै) : (सामूहिक रूपमा हात समाएर माथि खडा गर्दै, सामूहिक स्वरमा दर्शकहरू सँगै)

फूल फुलिरहोस् जीवनको बाटोमा

खुशी चम्किरहोस् तपाईंको मुहारमा

आँखामा सजिएका सबै सपनाहरू

मुटुमा लुकेर बसेका सबै आशाहरू

यो नयाँ वर्ष सत्यमा परिणत होस्

हर कदममा मिलोस् खुशीको बहार

नयाँ वर्षको तपाईंलाई दिन्छौं यही उपहार ।

(मञ्चमा पुनः खुशीयाली, संगीतमय र शुभकामना आदानप्रदान भई नै रह्यो…।)