दृश्य : पहिलो
स्थान : जङ्गलबिचको गुफा
समय : बेलुका
पात्रहरू : केजोङहाङमा र मेरीहाङमा ।
(चराचुरुङ्गीहरू चिरबिराइरहेका छन् । प्रकाश बिस्तारै रङ्गमञ्चमा प्रकट हुन्छ । हिमालयको पृष्ठभूमिमा घनाजङगल छ । त्यो जङ्गलको बिचमा गुफा छ । त्यो गुफामा सेतो झोमझोम लगाएको मेरीहाङमा एकोहोरो टाढा हेरिरहेको छ । त्यही बेला सेतो झोमझोम लगाएको केजोङहाङमाको प्रवेश हुन्छ ।)
केजोङहाङमा : (छेउमा गएर) मेरीहाङमा । (मेरीहाङमा बोल्दैन) मेरीहाङमा ! तिमीलाई के भो ? एक्लै हुँदा न्यास्रो लाग्यो हो ? (मेरीहाङमाले स्वीकारोक्तिमा टाउको हल्लाउँछ ।) लु भो, अब एक्लो नमान । म आइसकेको छु । (पोल्टोबाट तरुल निकालेर दिँदै) यी मैले तरुल ल्याइदिएको छु । भोक लाग्यो होला ? तरुल खाऊ ।
मेरीहाङमा : (बेवास्ता गर्दै) भो, खान्न ।
केजोङहाङमा : (आश्चर्य हुँदै) किन, खाँदैनौ ?
मेरीहाङमा : (बेवास्ता गर्दै) खानु मन छैन ।
केजोङहाङमा : (अचम्म हुँदै) खै, तिमीलाई पनि के हुन्छ के ? बुझ्नै सक्दिन ।
मेरीहाङमा : (भावुक भएर) आमा !
केजोङहाङमा : हैइ ?
मेरीहाङमा : (प्रतिप्रश्न गर्दै) साँच्चै मेरो सम्माबाहरू छैन हो ? कि जन्मिएर पनि नबाँचेको ?
केजोङहाङमा : (प्रतिप्रश्न गर्दै) किन चाहियो ?
मेरीहाङमा : (भावुक भएर) आमा, ऊ पल्लो घरको माङगेनालाई त उसको सम्माबाहरूले कति धेरै माया गर्छ । छिमेकीहरूले पनि माङगेनालाई कति सम्मान गर्छ । उनीहरू कति रमाइलोसँग बसेको छ । तर मलाई भने कसैले पनि वास्ता गर्दैन । तपाईँले पनि घरमा एक्लै छोडेर जानुहुन्छ । सधैँ एक्लै म कसरी बस्नु ?
केजोङहाङमा : (लामो सुस्केरा तान्दै) मेरीहाङमा, तिमी कति अभागी रैछौ, है ?
मेरीहाङमा : (प्रतिप्रश्न गर्दै) किन, आमा ?
केजोङहाङमा : तिमी पनि सम्माबाहरूसँगै भा’को भए कति खुसी हुन्थ्यौ होला है ?
मेरीहाङमा : (आश्चर्य हुँदै) मतलब, मेरो पनि सम्माबाहरू छ हो, आमा ?
केजोङहाङमा : (आँसु पुछेर) हो, थियो ।
मेरीहाङमा : (आश्चर्य मान्दै) अनि अहिले खोइ त ?
केजोङहाङमा : (लामो श्वास तान्दै) जङ्गलतिर गा’को छ ।
मेरीहाङमा : (उत्सुकता हुँदै) कहिले ?
केजोङहाङमा : तिमी नजन्मी नै ?
मेरोहाङमा : (उत्सुकता हुँदै) किन, आमा ?
केजोङहोङमा : आफ्नो ज्यान बचाउनु ।
मेरीहाङमा : (उत्सुक हुँदै) कसरी ?
केजोङहाङमा : (गाली गर्दै) किन चाहियो सबै कुरा ?
मेरीहाङमा : (तर्क दिँदै) आमा, आफ्नो परिवारको बारेमा जानकारी लिनु सबैको अधिकार हो । त्यसैले मेरो सम्माबाको बारेमा सोधेको हुँ । बरु नढाँटी भन्नु न आमा, मेरो सम्माबाहरू किन जङ्गलतिर गा’को ?
केजोङहाङमा : मेरीहाङमा, तिमी जन्मिनुभन्दा अगाडि तिम्रो आपाले छोरीको रहर गर्यो । म पनि गर्भवती भएँ । तर छोरी जन्मिएमा सबै छोराहरूलाई एउटै खाडलमा पुरेर मार्नुको लागि तिम्रो आपाले खाडल खन्नुथाल्यो । त्यो कुरा थाहा पाएर मैले तिम्रो सबै सम्माबाहरूलाई जङ्गलतिर भगाएँ । तर अहिले उनीहरू कहाँ छ ? के गर्दै छ ? के खाँदै छ ? केही थाहा छैन । उनीहरू पनि अहिलेसम्म घर फर्किएर आ’को छैन ।
मेरीहाङमा : (अचम्म मान्दै) आमा, के तपाईँले भन्नु भा’को घटना साँच्चो हो ?
केजोङहाङमा : (प्रतिप्रश्न गर्दै) किन ? विश्वास लागेन र ?
मेरीहाङमा : (दोधारिँदै) खै, विश्वास लाग्यो भनौँ भने, कसरी विश्वास गरूँ ? लागेन भनौँ भने, तपाईँ आफैँले भनेको कुरालाई कसरी विश्वास नगरूँ ? आफैँ दोधारमा परेँ ।
केजोङहाङमा : साँच्चो कुरा त्यही हो । अब विश्वास गर्ने, नगर्ने तिम्रो बिचार ।
मेरीहाङमा : आमा, तपाईँको कुरालाई उच्च सम्मान गर्छु । फेरि, सम्माबाबिना कुनै पनि माङगेनाको महत्त्व हुँदैन रहेछ । अनि माङगेनाबिना पनि कुनै सम्माबाको महत्त्व हुँदैन रहेछ । तसर्थ, अहिले नै म सम्माबाहरूलाई खोज्नु जान्छु ।
केजोहाङमा : (सम्झाउँदै) एक्लै कहाँ जान्छौ ?
मेरीहाङमा : (लुगा मिलाउँदै) आमा, म एक्लै कहाँ छु र ? म त तपाईंहरूसँगै छु नि ! प्रकृति र पुर्खाहरू पनि मसँगै छ । मलाई केही पनि हुँदैन । केही भइहालेमा मुन्धुम जपेर आत्मारक्षा गर्छु । मेरो बारेमा केही चिन्ता नलिनु होला । (जाँदै) अहिले म गएँ ।
केजोङहाङमा : (रोक्दै) मेरीहाङमा । (मेरीहाङमा गएतिर हेर्दै) यो मेरीहाङमा पनि कस्तो रै’छ । एक्लै गयो । कस्तो डर पनि नलागेको ? मेरीहाङमाले पनि किराती गुण देखाइहाल्यो । (प्रकाश बिस्तारै विलयन भएर केजोङहाङमाको अनुहारमा स्थिर हुन्छ । सबै आवाजहरू बिस्तारै रोकिन्छ ।)
० ० ० ०
दृश्य : दोस्रो
स्थान : घना जङ्गल
स्थान : दिउँसो
पात्रहरू : मेरीहाङमा र लेप्मुहाङ ।
(चराचुरुङगीहरू चिरबिराइरहेका छन् । प्रकाश बिस्तारै रङ्गमञ्चमा प्रकट हुन्छ । घना जङ्गल बीचको बाटोमा सेतो फेटा र झोमझोम लगाएको थोप्चो नाक भएको अत्यन्तै सुन्दर लेप्मुहाङ ध्यान गरिरहेको छ । त्यही बेला च्यातिएको झोमझोम, शरीरभरि रगतैरगत भएर पसिना पुछ्दै मेरीहाङमाको प्रवेश हुन्छ । लेप्मुहाङलाई देखेर मेरीहाङमा अचम्म हुन्छ ।)
लेप्मुहाङ : (आँखा खोलेर) मेरीहाङमा ! किन डराको ? डराउनु पर्दैन । म लेप्मुहाङ हुँ । तिमीले धेरै दुःख पाएको देखेर तिमीलाई सहयोग गर्नु सोघुङतेम्बेबाट आउँको हुँ ।
मेरीहाङमा : (नजिक आएर शिर झुकाउँदै) सेवारो माङ !
लेप्मुहाङ : (शिर झुकाउँदै) सेवारो, सेवारो । (पिरा दिँदै) ल यतै नजिक आएर पिरातिर बस ।
मेरीहाङमा : (थकित भएर पिरामा बस्दै) हुन्छ, माङ ।
लेप्मुहाङ : यत्रो घना जङ्गलमा एक्लै के खोजिहिडेको ?
मेरीहाङमा : मेरो सम्माबाहरूलाई ।
लेप्मुहाङ : (जङ्गलतिर देखाउँदै) यस्तो घना जङ्गलमा पनि सम्माबाहरूलाई खोजेर पाइन्छ त ?
मेरीहाङमा : (आत्मविश्वास सहित) होइन माङ । मेरो सम्माबाहरू यही जङ्गलमा पहिल्यै आइसकेको छ ।
लेप्मुहाङ : ल ठीक छ । त्यो कुरालाई मानेँ । तर जङ्गलमा एक्लै हिँड्दा डर लाग्दैन ?
मेरीहाङमा : (आत्मविश्वाससहित) मैले मेरो सम्माबालाई भेट्छु कि, भेटदिनँ, त्यो मात्र डर छ । अरू केहीसँग पनि डर छैन, माङ ।
लेप्मुहाङ : (खुसी हुँदै) स्याबास । सधैँभरि यसरी नै आत्माविश्वास सहित साहसी हुनु । तिम्रो साहस देखेर म धेरै खुशी छु । (झोलाबाट सुनको डल्ला निकालेर दिँदै) ल मेरीहाङमा, अब मुन्धुम५ फलाक्दै सोधुङमाङसँग बल मागेर यो सुनको डल्लालाई गुडाएर पच्छ्याउँदै जाऊ । यो सुनको डल्ला जहाँ रोकिन्छ, त्यही तिम्रो सम्माबाहरुलाई भेट्छौ ।
मेरीहाङमा : हुन्छ माङ । म हजुरले भनेझैँ अहिले नै गर्छु ।
लेप्मुहाङ : ल ल । तिमीले चिताएको काम पूरा होस् ।
मेरीहाङमा : हुन्छ माङ । हजुरको आशीर्वाद लागोस् । (आकाशतिर ढोग्दै) हे सोधुङमाङ ! मेरा सम्माबाहरूसँग चाँडै भेट होस् । (सुनको डल्ला लडाएर पच्छाउँदै जान्छ ।)
लेप्मुहाङ : (मेरीहाङमातिर एकोहोरो हेर्दै) विचरा ! सम्माबाहरू खोज्दा खोज्दै यो मेरीहाङले पनि धेरै दुःख पायो । त्यै पनि आफ्नो सम्माबाहरू खोज्ने अठोट कहिल्यै छोडेन । (च्याब्रुङको आवाज आइरहेको हुन्छ । प्रकाश बिस्तारै विलयन भएर लेप्मुहाङको अनुहारमा स्थिर हुन्छ । सबै आवाजहरू बिस्तारै रोकिन्छ ।)
० ० ० ०
दृश्य : तेस्रो
स्थान : घना जङ्गल बिचको गुफा
समय : बेलुका
पात्रहरू : मेरीहाङमा, सम्माबा– १, सम्माबा–२, सम्माबा–३, सम्माबा–४ ।
(चराचुरुङगीहरू चिरबिराइरहेका छन् । प्रकाश बिस्तारै रङ्गमञ्चमा प्रकट हुन्छ । घना जङगलको बिचमा गुफा छ । त्यो गुफाबाट आकाश थुरिने धुवाँ आइरहेको छ । त्यहाँ सम्माबाहरूले मासु पोलिरहेको छ ।)
सम्माबा– १ : (मासु पोल्दै) अब ता हामीले घर छोडेर हिँडेको पनि धेरै वर्ष भो । हाम्रो घर पनि पुरानो भइसक्यो होला । आमाआपा पनि बूढाबूढी भइसके होला । हाम्रो माङगेना ! पनि ठूलो भइसक्यो होला ।
सम्माबा– २ : होला ता नि ! तर के गर्नू ? त्यही बसेको भए माङगेना जन्मिएपछि आपाले एकै खाल्डामा पुरेर मार्थ्यो । अनि घर छोडेर नहिँडी के गर्नु त ?
सम्माबा– ३ : आ छोडिदेऊ यो कुरा । जे भो भो । भाग्यमा लेखेको मेटेर मेटिँदैन ।
सम्माबा– ४ : त्यै त । (सबैलाई हेरेर) सबै परिवार एकै ठाउँमा भा’को । र, यो मृगको मासु पोल्दै खाको भए कति मज्जा आउँथ्यो होला ।
सम्माबा– ३ : छोडिदेऊ यो कुरा । यहाँ कति मज्जा आइरहेको बेलामा के व्यर्थैमा घरको सुर्ता गरेको ? घरको सारै याद आयो भने जाँदा भो नि !
सम्माबा– १ : जानु ता परिहाल्छ नि ! सधैँ जङ्गलमै बसेर पनि त हुँदैन नि, हाउ ! तर आपा हुन्जेल चाँहि घर जाने काम नगरौँ होला । व्यर्थैमा मार्छ मात्रै ।
सम्माबा– २ : कसरी मार्छ ? मारेर धर पाइन्छ ?
सम्माबा– ४ : धर ता कहाँ पाइन्छ र ? पाइँदैन नि ! तर मारी नै हाल्यो भने त सकी नै हाल्यो नि ¤ बाँच्दै पो होस पुर्याउनु पर्छ त । (त्यही बेलामा सुनको गोलो डल्ला गुड्दै आएर रोकिएपछि अचम्म हुँदै) हँ ¤ यो के को डल्ला ?
सम्माबा– १ : त्यै त है ? अचानक यो के को डल्ला आयो ?
मेरीहाङमा : (अभिवादनसहित प्रवेश गर्दै) सेवारो ! सम्माबा ।
सम्माबा– २ : (अभिवादन फर्काउँदै) सेवारो ! सेवारो !!
सम्माबा– ३ : (अचम्म मान्दै) तर तिमीलाई चिन्नु सकिएन नि ?
सम्माबा– ४ : त्यै त भनेको ? तिमी को हौ ?
मेरीहाङमा : म मेरीहाङमा हुँ ।
सम्माबा– १ : (अचम्म मान्दै) मेरीहाङमा ?
मेरीहाङमा : हजुर । केजोहाङमा र केजोङहाङको छोरी मेरीहाङमा ।
सम्माबा– २ : (अचम्म हुँदै) हामी पनि उहाँहरूकै छोराहरू हौ त । त्यतिखेर त हाम्रो माङगेना कोही थिएन ।
मेरीहाङमा : (स्पष्टीकरण दिँदै) त्यै त । पहिला तिमीहरू मात्रै थियौ । तर म गर्भमा पाँच महिनाको भएपछि यदि छोरी जन्मिएमा सबै छोराहरूलाई एउटै खाल्डामा पुरेर मार्नुको लागि आपाले खाडल खनेछ । त्यो थाहा पाएपछि आमाको सल्लाह अनुसार तिमीहरूले जङ्गलमा लुकेर ज्यान जोगाएछौ ।
सम्माबाहरू : (अचम्म हुँदै) लौ तिमीले त हाम्रो कुरा ठ्याकै पो भन्यौ त । यो कुरा तिमीलाई कसले भन्यो ।
मेरीहाङमा : आमाले भनेको ।
सम्माबा– १ : (आश्चर्य मान्दै) लौ हाम्रै माङगेना पो रै’छौ त ?
सम्माबा– २ : (सही थाप्दै) त्यै त भनेको । ल यतै आऊँ, माङगेना । नजिकै बस ।
सम्माबा– ३ : (रमाउँदै) आहा ! अब कति रमाइलो हुने भो माङगेनासँग बस्दा ।
सम्माबा– ४ : ठिकै छ, माङगेना । तिमी हाम्रै माङगेना भए पनि चिनजान थिएन । त्यै पनि तिमीले हामीलाई खोज्दै आयौ । हाम्रो भेटघाट भयो । चिनापर्ची भयो । त्यसको लागि तिमीप्रति आभारी छौं ।
मेरीहाङमा : आभारी मात्रै होइन । अब घर पनि जानु पर्छ । म तिमीहरूलाई लिनु आ’को ।
सम्माबा– १ : लिनु ता आयौ । त्यसको लागि धन्यवाद । तर तिमीसँग घर जान सक्दैनौ । अहिले तिमी मात्रै घर जाऊ ।
मेरीहाङमा : (अस्वीकार गर्दै) अहँ ! म एक्लै त जान्न ।
सम्माबा– ४ : (सम्झाउँदै) त्यसो नभन माङगेना । अहिले तिमी मात्रै घर जाऊ । आपाको मृत्युपछि मात्रै हामी आउँँछौं ।
मेरीहाङमा : (अस्वीकार गर्दै) अहँ हुँदैन । यदि तिमीहरू घर जाँदैनौ भने म पनि जान्न । तिमीहरुसँगै बस्छु । मैले आमालाई सम्माबाहरू ल्याएर मात्रै आउँछु भनेर वचन दिएको छु । तिमीहरू नगएपछि म एक्लै आमाको अगाडि कुन मुख लिएर जाऊँ ?
सम्माबा– १ : ठिकै छ । हामीसँगै बस्छौ भने बस । तर तिमीलाई दुःख हुन्छ । त्यतिखेर मन नदुखाउनु नि !
मेरीहाङमा : किन दुखाउनु हाउ ? दुखाउँदिन नि ! तिमीहरूलाई नभेट्दा मात्रै मलाई दुःख थियो । अब मैले तिमीहरूलाई भेटिसकेको छु । मलाई दुःख हुँदैन । बरु म पनि तिमीहरूसँगै बस्छु । तिमीहरूले जे गर्छौ, त्यही गर्छु । जे खान्छौ, त्यही खान्छु । जहाँ जान्छौ, त्यही जान्छु । त्यसैमा म खुशी हुनेछु ।
सम्माबा– १ : ल ठिकै छ, त्यसो हो भने । त्यसमा हाम्रो भन्नु केही छैन । हामी ता खुशी नै छौ । (अराउँदै) ए भाइ हो…
सम्माबाहरू : हजुर ।
सम्माबा– १ : ल अब आजदेखि हाम्रो माङगेना पनि हामीसँगै बस्छ । त्यसैले माङगेनाको स्वागतको लागि केलाङ४ नाचेर रमाइलो गरौँ ।
सम्माबाहरू : हुन्छ, हुन्छ । (सबै जनाले गुफा भित्रबाट आ–आफ्नो केलाङ निकालेर बजाउँदै मेरीहाङमाको नेतृत्वमा गोलो भएर नाच्छ । प्रकाश बिस्तारै विलयन हुन्छ । आवाजहरू बिस्तारै रोकिन्छ ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ माघ २०८२, शुक्रबार 










