(हिमालयको पृष्ठभूमिमा एउटा घर छ । त्यो घरको आधामाथिको भागमा सेतो माटो र आधा तल्लो भागमा रातो माटोले पोतिएको छ । त्यो घरको सिकुवामा ढोल झुन्डिरहेको छ । त्यो घरको आँगनमा मकैको ठाङ्ग्रा छ । त्यो ठाङ्ग्रा मुनी खोङमा छ । त्यो खोङमाको अगाडि एउटा अधबैँसे महिलाले ढुङ्गामाथि बसेर एकोहोरो आकाशतिर जूनलाई हेरिरहेको छ ।)

बाखामा : (बिस्तारै आएर त्यो महिलाको काँधमा समाउँदा त्यो महिला बिस्तारै फर्किन्छ।) आमा, तपाईंलाई के भयो ?

आमा : (बिस्तारै टाउको हल्लाउँदै) केही पनि भाको छैन ।

बाखामा : (नियाल्दै) अनि किन आँगनमा एक्लै टोलाएर बसिरहनु भाको त आमा ?

आमा  : (आँसु पुछ्दै) त्यतिकै । बस्नु मन लागेर ।

बाखामा : (फकाउँदै) आमा ! नरुनुहोस्, नरुनुहोस् (बिस्तारै उठाउँदै) आमा, जे नहुनु थियो, त्यो भइसक्यो । अब सधैँ यसरी पापाको यादमा रोएर त हुँदैन नि ! बरु हिम्मतको साथ आत्मबल पो बलियो पार्नु पर्छ त !

आमा  : (आँसु पुछ्दै) त्यो त हो । तर, आफन्तको वियोगमा आँसु पिएर बाँच्नु पर्दा मन कहाँ थामिन्छ र ? जति मन थाम्यो, उति नै छातीमा भक्कानो छुटेर आउँछ ।

कमाण्डर : (भित्रबाट आएर) बाखामा, हामी यो गाउँमा छिरेको शत्रुहरूले सुइँकाे पाइसकेछ । तसर्थ, शत्रुहरूले  हामीलाई छ्यापछ्याप्ती खोजिरहेको छ। अहिले सदरमुकाममा शत्रुहरूको सङ्ख्या कम छ। यही मौकामा हामीले सदरमुकाम कब्जा गरेर शहीद कमरेड नामसामको रगतको मूल्य उठाउनै पर्छ । (भित्रतिर हेर्दै) कमरेड वाबुनिमा !

वाबुनिमा ; (पार्श्वमा) हजुर सा’प !

कमाण्डर : सबै कमरेडलाई होसियारीको साथ अगाडि बढाऊ ।

वाबुनिमा : (पार्श्वमा) हुन्छ सा’प !

कमाण्डर : बाखामा, तपाईं पनि होसियारीको साथ बस्नुहोला । अहिले हामी जान्छौँ । (चारैपट्टिबाट छापामारहरू लामबद्ध निस्किएर जान्छन् । त्यो छापामारहरूको बिचमा लागेर कमान्डर पनि जान्छ । उनीहरू गएतिर आमा–छोरीले एकोहोरो हेरिरहन्छ ।)

आमा  : (बाखामातिर हेर्दै) बाखामा, यो बन्दुकेहर किन सधैँ हाम्रै घरमा बास बसेर जान्छ ?

बाखामा : आमा, यिनीहरू आफ्नो मुक्तिको लागि लड्ने छापामारहरू हुन् । शान्तिपूर्ण तरिकाले आफ्नो अधिकार सरकारलाई माग्दा नपाएपछि सरकारकै विरुद्धमा यो छापामारहरूले हतियार उठाएको छ ।

आमा  : तर बाखामा, आफ्नै देशको दाजुभाइ–दाजुभाइ लडेर समस्याको समाधान हुन्छ त ?

बाखामा : त्यो त कहाँ हुनु आमा, हुँदैन नि ! बरु अझै गृहयुद्धको दलदलमा देश फसिन्छ । देशमा शान्ति सुरक्षा हुँदैन । देश असफल राष्ट्र बन्छ । विदेशी हस्तक्षेप बढ्छ । देशको राष्ट्रियतामाथि नै प्रश्न चिन्ह उठ्छ । त्यतिखेर त्यो देशै रहन्छ कि रहँदैन, केही थाहा हुँदैन ।

आमा  : बाखामा, हाम्रो देश जर्जर भएको छ । देशको अवस्था कहाली लाग्दो छ । तैपनि पनि किन हाम्रो देशको नेताहरू कुकुर–बिरालो जस्तो लाप्पा मात्रै खेलिरहेको छ ? अनि किन विद्रोही पक्षको मागप्रति राज्य पक्ष सधैँ मौन रहन्छ ?

बाखामा : मौन मात्रै कहाँ हो र, आमा ? विद्रोहीहरूलाई हतियारको भरमा दबाइरहनु खोज्छ । अचम्मको कुरा त यो हो कि, हतियारले दबाएर विचार मर्दैन भनेर यो नेताहरूको कहिल्यै बुद्धि फिरेन । यो नेताहरू सबै बाठै बाठा मात्रै भयो । एकले अर्कालाई दोहोलो काड्न मै बुद्धि–ज्ञान, समय, सम्पत्ति खर्च गर्यो । यहाँ सबै ठुटे नेतै नेता मात्रै भयो । कोही पनि राजनेता भएन । आफ्नो स्वार्थ पूर्ति गर्नु बाहेक राष्ट्र, राष्ट्रियता र नागरिकप्रति कहिल्यै  उत्तरदायी भएन ।

आमा  : बाखामा, हाम्रो नेताहरूको ताल सधैँ यस्तै रहने हो भने देश नरहनु पनि सक्छ । अनि देशै नरहे यो नेताहरूले कहाँ ढलिमुली गर्दो रहेछ त ?

बाखामा : आमा, देशको सङ्क्रमणकालीन अवस्थामा यस्तै हुन्छ ।

आमा  :  हो, हुन्छ । तर राजनेता भएपछि सही तरिकाले त्यसको व्यवस्थित गर्नु पनि जान्नु पर्छ नि ! बलियो छु भन्दैमा दुब्लोलाई मारिहाल्नु ता भएन नि ! आफ्नो अधिकार खोज्दा अरूको अधिकार हनन गर्नु ता भएन नि ! आफ्नो अधिकार पनि खोज्नु जान्नु पो पर्छ त !

बाखामा : आमा, तपाईंले सरकारको बचाउ गर्दै हुनुहुन्छ ।

आमा  : त्यो तिम्रो बुझाइको कुरा हो । तर, मैले कसैको बचाउ गरेको छुइन र गर्दिन पनि । म जे देख्छु, त्यही भन्छु । जे भन्छु, त्यही गर्छु । आखेरी, म पनि त राज्यबाटै हारेको बाखामामा त हुँ नि । तर यति  कुराचाहिँ सत्य हो कि, युद्धबाट समस्याको समाधान हुँदैन । यो मेरो वैचारिक मत हो । म गलत पनि हुन सक्छु ।

बाखामा : त्यो त तपाईंको वैचारिक कुरा हो । तर विचार र सिद्धान्तले मात्रै समस्याको समाधान हुँदैन, आमा । आवश्यकताअनुसार हतियार पनि उठाउनु पर्छ ।

आमा  : तिमीले युद्धलाई बढवा दिँदै छौ ।

बाखामा : (आक्रोशमा) तपाईंले मलाई आत्मा समर्पण गराउन खोज्दै हुनुहुन्छ । आत्मा समर्पण भन्ने कुरा युद्धमा नहोमिएको तपाईंलाई के थाहा ? तपाईंलाई थाहा छ ? हाम्रो पुर्ख्यौली राज्यहरूलाई हडपेर हामीलाई नै शरणार्थी बनाएको कुरा ? हाम्रो पुर्खाहरूलाई मुला काटेझैँ काटी मारेको कुरा ? हाम्रो पुर्खाहरूको घुँडाको पाङ्ग्रा काटेर दौडाएको कुरा ? तपाईंलाई थाहा छ, हाम्रो पुर्खाहरूलाई बलात्कार गरेर मारेको कुरा ? हाम्रो पुर्खाहरूको गुप्ताङ्गहरू काटेर मारेको कुरा ? हाम्रो पुर्खाहरूलाई सूलीमा चढाएर फाँसी दिएको कुरा ? हाम्रो पुर्खाहरूको छाला काटेर नुन खोर्सानी र चुक दलेर तड्पाइ तड्पाइ मारेको कुरा ? तपाईंलाई थाहा छ, हाम्रो पुर्खाहरूको लासलाई गिद्धहरूले खाँदा पनि हा..हा..हा..भन्दै धपाएको कुरा ? के यो सबै प्रश्नहरूको उत्तरहरू तपाईंलाई थाहा छ ? तपाईंलाई यति मात्रै थाहा छ कि, हतियारले समस्याको समाधान हुँदैन भन्ने कुरा । तर आवश्यकता अनुसार हतियार पनि उठाउनु पर्छ । हतियार उठाउनु रहर होइन आमा, बाध्यता हो, बाध्यता ।

आमा  : (आक्रोशमा) भो, नसिकाऊ यस्तो कुरा ! तिमीले भन्दा अगाडि मैले धेरै भोटो फटाएको छु । र, तिम्रो सबै प्रश्नहरूको उत्तरहरू पनि मलाई राम्ररी थाहा छ । मलाई यो पनि थाहा छ कि, आफ्नो अधिकार माग्दा तिम्रो आ’पाको शत्रुहरूले बीभत्स हत्या गरेको कुरा पनि । तर मैले भन्नु खोजेको कुरा यति मात्रै हो कि, हतियारले समस्याको समाधान हुँदैन भन्ने कुरा । (अचानक झस्किएर बाखामा भाग्छ । बन्दुकको आवाजसँगै आमा भुक्लुक्क ढल्छ ।)

सेनानी : (पार्श्वमा) ओइ केटा हो ।

सेनाहरू : हजुर सा’प !

सेनानी : राम्ररी खोजतलास गर ।

सेनाहरू : (पार्श्वमा) हुन्छ सा’प । (सेनाहरू प्रवेश गरेर यताउति खोजतलास गर्छ ।)

सेनानी : खै कता भाग्यो अरू ? (लासलाई हेर्दै) साले यो बुढिया पो अकालमै गएछ । (आदेश दिँदै) ओइ केटा हो ?

सेनाहरू : हजुर सा’प !

सेनानी : (आदेश दिँदै) यो बुढियाको छेउछाउमा पर्चाहरू छर्दे ।

सेनाहरू : हुन्छ सा’प ।

सेनानी : अनि सुन् ।

सेनाहरू : हजुर सा’प ।

सिपाही : यो बुढियाको लास छेउमा केही गोलीहरू पनि राख् । अनि ‘सरकारी सुरक्षाकर्मीहरूमाथि आक्रमण गरेकोले जवाफी कारबाहीमा एक आतङ्ककारी महिलाको घटना स्थलमै मृत्यु भयो’ भनेर समाचार पठा

सेनाहरू : हुन्छ, साप । (आफ्नो झोलाबाट पर्चाहरू निकालेर छर्छ । त्यो लासको छेउमा एउटा ग्रिनेड पनि राख्छ । खोजतलासपछि सेनानीको प्रवेश गर्छ ।)

सेनानी : खोइ केटा हो ? अरू आतङ्ककारीहरूलाई भेटेनौँ ?

सेनाहरू : (एउटै स्वरमा) भेटेनौ सा’प ।

सेनानी : ल ठिक छ । उसो भए अब हाई अलर्टको साथ सर्च गर्दै हिँड केटा हो ।

सेनाहरू : (एकै स्वरमा) हुन्छ, सा’प । (सेनाहरूको बिचमा सेनानी जान्छ । एउटा लठेप्रो काँधमा रेडियो झुण्डाएर प्रवेश गर्दा लासलाई देख्छ ।)

लठेप्रा : (आत्तिँदै) छ…छ…छन्ना ? ति…ति..तिमीलाई के..के..के भयो ? (गुहार्दै) तु…तु..तुप्पा । छ…छ…छन्नालाई से…से…सेनाले मा…मा…मारेछ, ह…ह… है । छि…छि…छिटो आ…आ…आउनु प…प…पर्यो, ह…ह…है । य…य…यहाँ ब….ब…बरबाद भ…भ…भयो, ह…ह…है । (लठेप्राको रेडियोमा पीडाको गीत बजिरहेको हुन्छ । यताउति हेर्दै बिस्तारै चाल   मारेर बाखामाको प्रवेश हुन्छ । लठेप्राको छेउमा बिस्तारै बसेर बाखामा रुन्छ । खलबल गर्दै गाउँलेहरू दौडिएर आउँछन् । गाउँलेहरू छक्क पर्छन् । गीत सकिएपछि रेडियोले समाचार भन्छ ।)

रेडियो : अहिले तपाईंहरू सुन्दै हुनुहुन्थ्यो आधुनिक गीत । अब सुन्नुहोस ब्रेकिङ न्यूजः ‘आज बिहान खोटाङको पाथीभरामा सेना र आतङ्ककारीबिच मुडभेड हुँदा एक आतङ्ककारी महिलाको घटना स्थलमा नै मृत्यु भएको छ । उक्त आतङ्ककारी महिलाबाट सेनाले एक थान एसएसजी राईफल र सय वटा गोली बरामत गरेको छ । हाल त्यस घटनास्थल वरपर सेनाले आफ्नो कारबाहीलाई तीव्र बनाएको कुरा रक्षा मन्त्रालयले जनाएको छ ।’

साप्तोङखा : हेर दक्छावुवाचि ! पोर बाखामापालाई मारेर आतङ्ककारी भन्यो । अस्ति दोवालाई साम्खा गरिरहेकै ठाउँमा मारेर आतङ्ककारी भन्यो । हिजो वाचीपालेमालाई बलात्कार गरी मारेर आतङ्ककारी भन्यो । आज फेरि बाखामामालाई घरैमा मारेर आतङ्ककारी भन्यो । (आक्रोशमा) के यो सबै सोझासाझा जनताहरू आतङ्ककारी नै हो त ? के आफ्नो अधिकार खोज्नेहरू सबै आतङ्ककारी नै हो त ? के आफ्नो अधिकार खोज्ने हामी सबै आतङ्ककारी हौँ त ? होइन भने किन राज्यले सधैँ हामीलाई सीमान्तकृत बनाइरहन्छ ? के हामीले सधैँ राज्यको अन्याय–अत्याचार र दमन सही नै रहनु पर्ने हो ?

बाखामा : (आक्रोशमा) होइन ! सुरक्षाको नाममा हामीलाई राज्यले सधैँ अन्याय, अत्याचार र दमन गरिरह्यो । आफ्नो अधिकार माग्दा आतङ्ककारी भन्दै सिधासाधा जनताहरूलाई भटाभट मारिरह्यो । अब यिनीहरूको अन्याय, अत्याचार र दमन सहेर बस्नु हुँदैन । आजैदेखि आफ्नो अधिकारको लागि एकजुट भएर उठ्नु पर्छ । सहिदहरूको रगतको मूल्य उठाउनु पर्छ । अब हाम्रो सीमान्तकृत आवाजहरूलाई उठाउनै पर्छ ।

गाउँलेहरू   : (एकै स्वरमा उठेर नारा लगाउँदै) हो हो, हाम्रो सीमान्तकृत आवाजहरूलाई उठाउनै पर्छ । उठाउनै पर्छ ।

बाखामा : (नारा लाउँदै) सीमान्तकृत आवाजहरू जिन्दाबाद !

गाउँलेहरू   : (नारा लाउँदै) जिन्दाबाद ! जिन्दाबाद !

बाखामा : (नारा लाउँदै) सीमान्तकृत आवाजहरू जिन्दाबाद !

गाउँलेहरू   :  (नारा लाउँदै) जिन्दाबाद ! जिन्दाबाद ! (गाउँलेहरूले निरन्तर नारा लगाई रहेको हुन्छ । प्रकाश बिस्तारै विलयन हुन्छ । नाराहरू झनझन चर्किँदै जान्छ ।)