
दृश्य : एक चौरस्ता | जुन सुनसान छ । निर्जन छ ।
समय: साँझ |
मञ्च : रिक्त ।
केही समयपछि एक अन्वेषक प्रवेशिन्छ । केही अलमलिएपछि ।
अन्वेषक (स्वगत) : म कहाँ आइपुगेँ । एकलास जीवनमा शून्यता अँगालेर वैरागी बस्ने ठाउँमा ? म त एउटा लक्ष्य प्राप्तिका निम्ति यात्रामा निक्लिएको यात्री हुँ । धेरै माइल खुट्टीहरू काटिसकेँ | थुप्रै मोडहरू भेटिसकेँ, यो यात्रा गर्दा । तर म अलमलिइनँ । आज यहाँ आइपुगेर मार्ग निर्देशन किन गुमाउँदै छु ? (चारैतिर हेरेर) यी बाटाहरूमा मैले हिँड्नुपर्ने बाटो कुन हुन सक्छ?
(मृगतृष्णाको प्रवेश)
मृगतृष्णा : तपाईं यहाँ आगन्तुक हुनुहुन्छ शायद ।
अन्वेषक : म एकजना यात्री हुँ।
मृगतृष्णा: कहाँबाट आउनुभयो ?
अन्वेषक : मान्छेको रगत र नालाको पानी बराबर बग्ने जगतबाट ।
मृगतृष्णा : अहो ! तपाईंको जगतमा रगत र पानीमा कुनै भिन्नता छैन कि क्या हो ?
अन्वेषक : भिन्नता छ । अवश्यै छ । तर महत्त्व छैन । तपाईंको परिचय ?
मृगतृष्णा : म मृगतृष्णा हुँ ।
अन्वेषक : शायद म मरूभूमिमा आइपुगेछु । म यहाँ यी बाटाहरू देखेर अलमलिएको छु। मैले जानु पर्ने बाटो कुन हो ? मैले चिन्न सकेको छैन ।
मृगतृष्णा : तपाईं कहाँ जानुहुन्छ ? मलाई भन्नुहोस् ।
अन्वेषक : प्रथम म सत्यलाई भेट्न चाहन्छु । त्यसपछि एक रात प्रेमको घरमा बस्छु अनि भोलिपल्ट न्यायलाई भेट्न जान्छु। त्यसपछि शान्ति भएकोमा जान्छु । तपाईं बताउन सक्नुहुन्छ यिनीहरूको वासस्थान कहाँ छ ? यी बाटाहरूमा कुन बाटो गए यिनीहरूलाई भेट्न सकिन्छ ?
मृगतृष्णा : प्रथम त तपाईं त्यो बाटो भएर जानुपर्छ जहाँ मेरो घर पर्छ ।
अन्वेषक : अर्थात् म असत्यको घर भएर जानुपर्छ ?
मृगतृष्णा : हो ।
अन्वेषक: त्यसो भए त्यो बाटो मेरो उद्देश्यतर्फ जाँदैन ।
मृगतृष्णा : तर जबसम्म मेरो घर भएर जानुहुन्न तबसम्म तपाईं सत्यको घर पुग्नुहुन्न ।
अन्वेषक : होइन । असत्यको बाटो भएर सत्यको घर पुग्नु म चाहन्नँ ।
मृगतृष्णा : (हाँसेर) हा… हा…. तपाईंको कुरा सुनेर मलाई हाँसो उठ्छ । कारण अहिलेसम्म यात्रीहरू मेरो घरको बाटो भएर नै हिँडेका छन् ।
अन्वेषक: म ती यात्रीहरूमाझ छैन ।
मृगतृष्णा: तब तपाईं यात्री होइन ?
अन्वेषक : देख्नेले यात्री देख्छन् । भेट्नेले आन्दोलन भेट्छन् मलाई । देख्नु र भेट्नु मात्रै केही होइन | राम्ररी देखेर बुझ्नु र राम्ररी भेटेर गहिराइ केलाउनुमा छ केही ।
मृगतृष्णा : म यस्तो कुरा बुझ्दिनँ ।
अन्वेषक : लीलामा विश्वास गर्नेले गरोस् । दृष्टिदोषलाई सत्य देख्नेले देखोस् । तर म यथार्थमा बाँच्न चाहन्छु । सत्यलाई सत्य देख्न चाहन्छु ।
मृगतृष्णा : अप्ठ्यारो कुरा नगर्नुहोस् । सीधा कुरा गर्नुहोस् ।
अन्वेषक : बौद्धिक कुरा अप्ठ्यारो हुन्छ ।
मृगतृष्णा : पहिला साधारण कुरा गर्नेहरू बौद्धिक कुरा गर्न थालेपछि किन अप्ठ्यारा भएका ? नबुझ्ने भएका ?
अन्वेषक : जीवनलाई, जगतलाई सतही दृष्टिकोणबाट हेर्दा साधारण देखिन्छ । गहिराइमा डुबेर हेर्दा जटिलतम पाइन्छ । यसरी साधारणबाट जटिलता सृष्टि हुन्छ ।
मृगतृष्णा : तर जटिलतालाई सरलीकरण गर्न सकिन्न र ?
अन्वेषक : जटिलतालाई सरलीकरण गर्दा व्यक्तित्व फितलो हुनसक्छ । यसैले जटिलतालाई अझ जटिल बनाएर आफ्नो व्यक्तित्व स्थापित गर्ने चलन छ अक्षरहरूको संसारमा ।
मृगतृष्णा : तपाईंको कुरा यात्रीको नलागेर एक दार्शनिकको झैँ लाग्छ । तपाई दार्शनिक ?
अन्वेषक: होइन, अन्वेषक । म सत्य, प्रेम, न्याय र शान्तिको अन्वेषणमा छु ।
मृगतृष्णा : तर किन ?
अन्वेषक: कारण यिनीहरूबिना जीवन नीरस छ । सारहीन छ ।
मृगतृष्णा : तर मेरो विचारमा त यिनीहरूको महत्त्व असत्य, घृणा, अन्याय र अशान्ति हुनाले मात्र छ ।
अन्वेषक: विपरीत विचार हो यो । यिनीहरू त प्रतिवाद हुन् सत्य, प्रेम, न्याय र शान्तिका ।
मृगतृष्णा : तर अचेल प्रत्येक कुरोको प्रतिवाद हुनु आवश्यक ठानिन्छ ।
अन्वेषक: नराम्रो कुरोको प्रतिवाद हुनु आवश्यक छ । तर अचेल राम्रो कुरोको पनि प्रतिवाद हुँदै छ । कारण स्वार्थ हुन्छ त्यस्तो प्रतिवादमा । वास्तवमा प्रत्येक कुरोको नबुझी प्रतिवाद हुनु उचित छैन । आलोचना हुनुपर्छ स्वस्थ । चाप्लुसी गर्ने र ईर्ष्याले जल्ने मनोवृत्तिबाट स्वस्थ आलोचना जन्मिँदैन । राजनीतिको छाया पर्नु हुँदैन आलोचनामा।
मृगतृष्णा : तपाईं त निकै मर्मज्ञ हुनुहुँदो रहेछ । राजनीति भनेको चाहिँ के होला ?
अन्वेषक : राज्यको रक्षा अनि शासनलाई दृढ बनाउने उपाय बताउने नीतिलाई राजनीति भनेर परिभाषित गरेको पाइन्छ । तर अचेल राजनीति एउटा पासो जस्तो भएको छ जहाँ जनता मात्र होइन, राजनीतिज्ञ पनि फस्न सक्छन् ।
मृगतृष्णा : तपाईंले प्रत्येक कुरोको जवाफ दिनु हुँदै छ । तर सत्य, प्रेम, न्याय र शान्ति कहाँ छन् ? त्यसको जवाफ भने तपाईंसित छैन ?
अन्वेषक: छ । एक समय सत्य मानिसको जिब्रोमा, प्रेम मान्छेको हृदयमा न्याय मान्छेको मस्तिष्कमा अनि शान्ति मान्छेको जीवनमा थियो । सत्य हुनाले प्रेम थियो | सत्य र प्रेम हुनाले न्याय थियो अनि सत्य, प्रेम र न्याय हुनाले शान्ति थियो । तर आज सत्य मान्छेको जिब्रोबाट भागेको छ, प्रेम मान्छेको हृदयबाट भागेको छ, न्याय मानिसको मस्तिष्कबाट उम्केको छ अनि भागेको छ शान्ति मानिसको जीवनबाट । कारण असत्यले मानिसको जिब्रो दखल गरेर घर बनाएको छ, घृणाले मानिसको हृदय भत्काएर बसेको छ, अन्यायले मानिसको मस्तिष्कमा छापा मारेको छ अनि अशान्तिले मानिसको जीवनमा प्रवेश गरेको छ । यसर्थ उनीहरू यस्तो यन्त्रणा, अत्याचार र बीभत्सता सहन नसकेर भागेका छन् । म यिनीहरूकै खोजीमा छु ।
मृगतृष्णा : यिनीहरूको खेदाइमा म पनि अप्रत्यक्ष रूपमा आरोपित हुँदै छु तपाईंको कुराबाट |
अन्वेषक : ठीकै भन्नुभयो । यसमा तपाईं आरोपित हुनुहुन्छ । किनभने तपाईंको नाममा नै छल छ ।
मृगतृष्णा : कसरी ?
अन्वेषक : तपाईंको नाम छ मृगतृष्णा अर्थात् मृग + तृष्णा अर्थात् मृगमा तृष्णा जोडिएको छ; जसको अर्थ मृगको जस्तो तृष्णा नभएर मिथ्या प्रतीति भएको छ, झुटो विश्वास अर्थात् असत्य भएको छ, लीला भएको छ । साँचो देखेर पनि झुटो भएको छ | यसैले धोका भएको छ मान्छेलाई, तृषित मान्छेलाई । तब मान्छेलाई धोका दिनुमा तपाईँ आरोपित हुनुहुन्छ ।
मृगतृष्णा : तर यो मेरो दोष होइन । दोष त मान्छेकै छ । कारण मान्छेले नै मलाई यस्तो नामकरण गर्यो | असत्य बनायो । तर मान्छे नै छक्कियो । विवेकशील श्रेष्ठ प्राणी मदेखि छक्कियो (हाँस्छ) हा… हा… |
अन्वेषक: वास्तवमा तपाईं प्रकृति प्रदत्त हुनुहुन्छ । प्रकृतिसित मान्छे सधैँ छक्किएको छ ।
मृगतृष्णा : त्यसो भए दोष प्रकृतिको पनि छ । कारण मेरो निर्माण प्रकृतिले गराएको छ । मान्छे र म प्रकृति कै देन हो भने हामीमाझ किन यस्तो वैरभाव ? ममाथि किन आरोप ?
अन्वेषक: तपाईंमाथि प्रत्यक्ष आरोप छैन । आरोप त मानिसमाथि छ, मानिसको आँखा, जिब्रो, मस्तिष्क र हृदयमाथि छ । तपाईं त निमित्त भइदिनुभएको छ ।
मृगतृष्णा : त्यसो भए दोष मेरो छैन ?
अन्वेषक : छैन ।
मृगतृष्णा : त्यसो भए जाऔँ मेरो घर ।
अन्वेषक: त्यहाँ मिथ्या छ । म जाँदिनँ ।
मृगतृष्णा: निमन्त्रणा अस्वीकार गर्नुमा शिष्टाचार मर्दैन ?
अन्वेषक : शिष्टाचारको कदरमा आफ्नो इमानदारीलाई धोका दिनु उचित छैन ।
मृगतृष्णा : त्यसो भए बिदा पाऊँ | (जान लाग्छ)
अन्वेषक : अरे ! तपाईं त म आएको बाटोतर्फ जानु हुँदै छ ?
मृगतृष्णा : हजुर ! त्यहाँ मेरा आफन्तहरूले मलाई निमन्त्रणा दिएका छन् । त्यही जाँदै छु ।
अन्वेषक: तपाईंका आफन्तहरूका नाम ?
मृगतृष्णा : प्रलोभन, झुट, लोभ, मिथ्या आदि ।
अन्वेषक : तर त्यहाँ जानु अनुचित छ ।
मृगतृष्णा: किन ?
अन्वेषक : कारण त्यहाँ अझै भ्रान्ति सृष्टि हुनसक्छ ।
मृगतृष्णा : तर म उनीहरूको निमन्त्रणालाई अस्वीकार गर्न सक्दिनँ । गएँ । (प्रस्थान )
अन्वेषक (स्वगत) : मृगतृष्णा गयो त्यो बाटोतर्फ । त्यो बाटो भएर मेरो उद्देश्य पुग्दैन । तब मेरो बाटो कुन हो ? सहयात्री छैन कोही । भेट्छु त जहीँ त्यहीँ मृगतृष्णाहरू | उफ ! (नेपथ्यमा केही देखेर) अरे! त्यहाँ के हुँदै छ ? (मूर्तिवत् हुन्छ)
(यत्तिमा शान्ति ‘बचाऊ’ भन्दै भाग्दै आइपुग्छे मञ्चको एक कुनामा । पछि पछि अराजकता र प्रजातन्त्र शान्तिलाई खेद्दै आइपुग्छन् मञ्चमा । शान्ति आफूलाई बचाउँदै भाग्न लाग्दा अराजकताले उसको बाटो छेक्छ ।)
शान्ति : छाेड मेरो बाटो । किन रोक्छौ तिमी मेरो बाटो ? तिमी को हौ ?
अराजकता : छोड्दिनँ तिम्रो बाटो । अशान्तिको निम्ति रोक्छु तिम्रो बाटो । म अराजकता हुँ।
(शान्ति अर्काे पट्टि जान लाग्छे । प्रजातन्त्रले छेक्छ बाटो)
शान्ति : छोड भन्दै छु मेरो बाटो ।
प्रजातन्त्र: छोड्न सक्तिनँ ।
शान्ति : तिमी को हौ ?
प्रजातन्त्र : म प्रजातन्त्र हुँ ।
शान्ति : किन छेक्छौ मेरो बाटो तिमी ?
प्रजातन्त्र : मेरो तन्त्रमा व्यभिचार जन्माउनु छ । त्यसैले ।
शान्ति : तिमी प्रजातन्त्र ! तिम्रो साथी अराजकता ! तब मेरो अस्तित्व कहाँ बाँच्न सक्छ यहाँ ?
अराजकता : तिमी को हौ ?
शान्ति : म शान्ति हुँ ।
प्रजातन्त्र : हा… हा… मेरो तन्त्रमा शान्ति ? हा… हा… (हाँस्छ)
(शान्तिलाई अराजकता र प्रजातन्त्रले पक्रेर इज्जत लुट्न खोज्छन् । शान्ति बाँच्न खोज्छे । यही अभिनयमा सबै मूर्त्तिवत्: हुन्छन् । मञ्च अँध्यारिएर उज्यालिएपछि अन्वेषक मात्र देखिन्छ ।)
अन्वेषक : (मूर्तिवत् अभिनय तोडेर स्वागत) यो के ? म के देख्दै छु यस्तो दूषित सपना जस्तो ? होइन, होइन, यो सपना होइन, सत्य हो सत्य ! हामीले भोगेको सत्य !
(एक युवकको प्रवेश)
युवक (स्वागत) : म नितान्त एक्लो रहेछु । म नितान्त रित्तो भएछु । म नितान्त उराठलाग्दो रहेछु । म नितान्त खोक्रो रहेछु ।
अन्वेषक : आफूलाई नितान्त एक्लो सम्झने मान्छे अन्धो हो । आफूलाई नितान्त रित्तो सम्झने मान्छे लाटो हो । आफूलाई नितान्त उराठलाग्दो ठान्ने मान्छे बहिरो हो। आफूलाई नितान्त खोक्रो ठान्ने लङ्गडाे हो ।
युवक: मेरा आँखा छन्, अन्धो होइन म । मेरो जिब्रो छ, लाटो होइन म । मेरा कान छन्, बहिरो होइन म । मेरो शरीर ठिक छ, लङ्गडो होइन म ।
अन्वेषक : आँखा भएर पनि यो उज्यालो संसार अन्धकार देख्ने अन्धो नै हो । जिब्रो भएर पनि अत्याचारको परिवेशमा चुप बस्ने लाटो नै हो । कान भएर पनि आफ्नो सन्तानको पीडा नसुन्ने बहिरो नै हो । शरीर ठिक भएर पनि आफ्नोत्व जोगाउन नसक्ने लङ्गडो नै हो ।
युवक : मैले आँखा भएर पनि अन्धकार देख्नुमा परिवेशको दोष छ । मैले जिब्रो भएर पनि चुप बस्नुमा देशको खोट छ । मैले कान भएर पनि नसुन्नुमा समाजको भूल छ | मैले शरीर ठिक भएर पनि आफ्नोत्व जोगाउन नसक्नुमा वातावरणको भूल छ ।
अन्वेषक: परिवेशको दोष के हो ?
युवक: यो परिवेश ईर्ष्या र आह्रिसको साम्राज्य हो । यो परिवेश जलन र दमनको साम्राज्य हो । मैले उज्यालो हेर्ने रहर गर्दा मलाई अङ्कुसे लगाएर लडाउने यही परिवेश हो ।
अन्वेषक : देशको खोट के हो ?
युवक : देशमा कडा कानुन ठिक स्थानमा, ठिक समयमा व्यवहार नहुनाले, भ्रष्टाचारीहरूले निर्दोष र इमानदारको सत्य बोल्ने जिब्रो काटिदिएको हुनाले यहाँ अशान्ति र हिंसा दिनहुँ देखिन्छ । यसलाई रोक्ने सरकारको कर्तव्य हो ।
अन्वेषक : समाजको भूल के हो ?
युवक : मैले समाजलाई परिवर्तन गराउने चेष्टा नगरेको होइन । मैले समाजको उन्नति गर्ने योजना नदेखाएको होइन । तर मलाई शङ्कालु नजरले हेरेर अविश्वास गरे । मलाई मेरो सङ्घर्षमा साथ नदिएर घृणा गरे ।
अन्वेषक : वातावरणको भूल के हो?
युवक : वातावरण प्रदूषित छ । यसैले यसभित्र बाँच्ने प्राणीहरू पनि प्रदूषित हुँदै छन् । फेशन, स्टाइल, ड्रग्स, युद्ध र अवनतितर्फ मात्र ध्यान छ वातावरणको ।यस्तो विकृत हुँदै गएको वातावरणमा नयाँ निर्माणको आधार उठाउने कार्यमा मलाई पछिबाट होस्टे कसैले भनेनन् ।
अन्वेषक : देश कसको ? तिम्रो हाम्रो सबैको । कसले बनायो देश ? तिमी हामी सबैले। यसर्थ देशलाई बचाउने दायित्व कसको ? तिम्रो हाम्रो सबैको ।
युवक : म थाकिसकेको छु ।
अन्वेषक : परिवेश कसले बनायो यस्तो ? तिम्रो हाम्रो सबैको सङ्कुचित मनले । किन घिनलाग्दो छ आज परिवेश ? तिम्रो हाम्रो सबैको प्रलोभनले ।
युवक : म गलिसकेको छु ।
अन्वेषक: समाज कसको ? तिम्रो हाम्रो सबैको । कसले निर्माण गर्यो समाज यस्तो ? तिमी हामी सबैले । समाजमा बसेर समाजलाई आरोप लगाउनु, समाजको भूलमा निराश्रित हुनु शिक्षित र सभ्य युवाको रूप होइन ।
युवक : उफ् ! म सुन्न सक्तिनँ अब केवल उपदेशहरू । मलाई व्यावहारिकता चाहिएको छ ।
अन्वेषक : वातावरण किन प्रदूषित छ आज ? तिमी हामी सबैले गर्दा । तिमी हामी सबै पनि किन प्रदूषित छौँ आज ? तिम्रो हाम्रो सबैको विवेकको दुरुपयोगले गर्दा ।
युवक : उफ् ! म सुन्न सक्तिनँ केवल भाषणहरू । मलाई समाधान चाहिएको छ । हो, मलाई यहाँ हर थोकको व्यावहारिकता र समाधान चाहिएको छ । (प्रस्थान)
अन्वेषक : (हाँसेर) हाँ… हाँ… हाँ… युवा जमातको वर्तमान असली रूप ?
(शान्तिको अस्तव्यस्त अवस्थामा सुकसुकाउँदै प्रवेश)
अन्वेषक: अरे ! तिमी किन रुँदै छौ ?
शान्ति : (चुपचाप रुन्छे)
अन्वेषक : तिमी को हौ ?
शान्ति : म शान्ति हुँ ।
अन्वेषक : शान्ति ? तिमी शान्ति हौ? मैले खोजेको शान्ति हो ? होइन, होइन, तिम्रो रूप यस्तो हुन सक्तैन । भन, तिमी को हौ ?
शान्ति : म भन्दै छु । म शान्ति हुँ शान्ति ।
अन्वेषक: तर तिमी किन रुँदै छौ ?
शान्ति : प्रजातन्त्र र अराजकताले मेरो इज्जत लुटे ।
अन्वेषक : हँ ! यो म के सुन्दै छु ?
शान्ति : सत्य ! म मान्छेको जगतमा अटाउन सक्तिनँ अब । म प्रजातन्त्रसित बस्न सक्तिनँ। म अराजकतासित बस्न सक्तिनँ । त्यो जगत अशान्तिको हो मेरो होइन | मेरो रूप कुरूप बनायो प्रजातन्त्रले । मेरो अनुहार बीभत्स बनायो अराजकताले ।
अन्वेषक : प्रजातन्त्र र अराजकताको ठाउँमा जहिले पनि शान्ति लुटिएकी छ । यसैले मानिसको मनबाट तिमी हराएकी छौ । म तिम्रो खोजीमा थिएँ । तिमीलाई भेट्न चाहन्थे ।
शान्ति :किन ?
अन्वेषक: कारण म जीवनको सिंहासनमा तिमीलाई राख्न चाहन्छु ।
शान्ति : जीवन त काँडाले भरिएको छ । त्यसैले त्यो विषाक्त छ । हिंसक छ | म विषाक्त र हिंसक जीवनको सिंहासनमा कदापि बस्न सक्तिनँ । किनभने त्यहाँ लुटिएकी छु ।
अन्वेषक : तिम्रो अनुपस्थितिमा जीवन व्याकुल छ । जीवन जीवन जस्तो हुन छैन ।
शान्ति : तर म त्यहाँ जान सक्तिनँ। मेरो यस्तो अवस्था देखेर पनि तपाईँ अझ मलाई त्यही लान चाहनुहुन्छ ?
अन्वेषक : तिम्रो अवस्था देखेर मलाई दुःख लागेको छ । तर बलिदानबिना को अमर भएको छ र संसारमा ?
शान्ति : उद्देश्यहीन बलिदान गरेर म अमर हुन चाहँदिनँ ।
अन्वेषक : त्यसो भए तिमी जीवनतर्फ जाने छैनौ ?
शान्ति : जबसम्म जीवनले सत्य बोल्दैन, जबसम्म जीवनले न्याय पाउँदैन अनि जबसम्म जीवनले जीवनलाई प्रेम गर्दैन, माया बाँड्दैन तबसम्म म जीवनमा जान सक्तिनँ ।बिदा पाऊँ। | (प्रस्थान)
अन्वेषक : अरे ! सुन मेरो कुरा सुन । उफ् ! हाम्रो शान्तिको रूप किन यस्तो छ ? किन जीवनदेखि शान्ति ठुस्किएकी छ ? आज बुझेँ । हामीमा नै कमी छ । हाम्रो जीवनमा धेरै अपुग र अभाव रहेछन् । कमजोरी र बीभत्सता रहेछन् । त्यसैले शान्ति यसरी भागेकी छ । उफ् ! अब म के गरूँ?
(सत्यको प्रवेश। सत्यको अनुहार र हातमा चोट छ । गर्दन बाङ्गिएको छ)
सत्य: के गर्न सक्छौ तिमी मिथ्या अनुहार लिएर ?
अन्वेषक : तपाईं नि को हुनुहुन्छ ?
सत्य: मेरो परिचय जानेर के गर्छौ ? तिमी भन । यहाँ यसरी किन एक्लै कराइरहेछौ पगलाजस्तो ।
अन्वेषक: वास्तविकता बोल्दा पनि पगला भइन्छ र ?
सत्य: वास्तविकता ? (हाँस्छ) हा… हा… तिमी वास्तविकता बोल्दै छौ ? होसियार !
अन्वेषक : होसियार ? किन ? के यहाँ वास्तविक कुरा गर्नु मनाइ छ ? के यहाँ सत्य बोल्नु मनाइ छ ?
सत्य: (हाँस्छ) हा… हा… (हाँसो रोकेर) जोसमा होस हराई, आक्रोशमा बुद्धि हराई, प्रतिवादमा जनहित हराई नारा लगाउनु उचित छैन यहाँ । सत्य तीतो मात्र छैन अचेल । तर सत्य विषालु पनि भएको छ यहाँ । सत्यको पक्षमा बोल्नेहरू लाटा हुन सक्छन् । सत्यलाई हेर्नेहरू अन्धा बन्न सक्छन् । सत्य डरलाग्दो भएको छ । र यहाँ सत्य बोल्नु मनाइ छ ।
अन्वेषक : तर म सत्य बोल्छु । सत्य बोल्नेछु । सत्यको खोज गर्नेछु | किनकि मैलेसोक्रेटसलाई विष पिउनुबाट रोक्नु परेको छ । मलाई यहाँ फेरि सोक्रेटस चाहिएको छ। यसैले म सत्यको खोजमा छु ।
सत्य : सत्यको खोज?
अन्वेषक : हो | मैले जुडासहरूलाई प्रतिवाद गर्नु परेको छ । जिजसलाई क्रुसिफाइ हुनुबाट रोक्नु परेको छ । कारण मलाई यहाँ फेरि जिजस चाहिएको छ । सांसारिक सत्यलाईउद्घाटित पारेर मान्छेलाई सचेत बनाउने बुद्ध चाहिएको छ मलाई । मानव अधिकारका निम्ति, स्वदेशका निम्ति लडी सबैलाई स्वतन्त्रता दिने गान्धीजी फेरि चाहिएको छ । नाथुरामको पिस्तोलको गोली छेक्ने साँचो देशप्रेमी छातीहरू धेरै चाहिएको छ मलाई । यसैले सत्य खोज्दै छु म | वास्तविकता बोल्दै छु म ।
सत्य : तिम्रो विचार उच्च छ । तर एकचोटि मलाई हेर । म त्यही सत्य हुँ जसको खोजीमा तिमी छौ ।
अन्वेषक: तपाईँ सत्य ? उफ् ! प्रजातन्त्रमा सत्यको यस्तो अवस्था ? महात्मालाई मारेर सत्य दस्युलाई पुज्ने युग आयो कि क्या हो फेरि ? तर तपाईँको किन यस्तो अवस्था ?
सत्य : मिथ्या, स्वार्थ, झुट र प्रलोभनले लुटे मलाई । षड्यन्त्र, व्यभिचार, भ्रष्टाचार र राजनीतिक दावपेचले कुटे मलाई । प्रजातन्त्रको नाममा स्वाधीनताको अर्थको सीमा नाघियो त्यहाँ । मान्छेहरूले स्वाधीनताको अर्थ छाडा हुनु सम्झे, कानुन आफ्नो हातमा लिएर प्रशासन तोड्नु सम्झे । भ्रष्टाचारीहरूको विरोध हुँदा राजनीतिक चाप दिएर ती भ्रष्टाचारीहरू नै गन्यमान्य बने फेरि । तर विरोध गर्नेहरू, न्याय खोज्नेहरू थुना परे। रुपियाँको टुनामा म हराएँ। आज मभन्दा ठुलो रुपियाँ छ त्यहाँ । रुपियाँको जगतमा म अटाउन सकिनँ । रुपियाँले खेद्यो मलाई ।
अन्वेषक : तर तपाईंको गद्दीमा रुपियाँ बसेको म हेर्न सक्दिनँ । यसर्थ तपाईं फेरि त्यो जगतमा जानुपर्छ | कारण तपाईंको अनुपस्थितिमा शान्ति छैन मान्छेको जीवनमा | तपाईंको खाँचो छ त्यहाँ ।
सत्य: मेरो खाँचो छ ? हा… हा… हा… (हाँस्छ) मान्छेको जीवनमा मान्छेले नै असत्यलाई शिरको मुकुट बनाएको छ । म असत्यको राजमा बाँच्न सक्तिनँ । जबसम्म त्यो जगतमा प्रेम र न्याय हुँदैनन् तबसम्म मेरो अस्तित्व त्यहाँ बाँच्न सक्तैन । हिंसा, अधर्म र प्रलोभनको बुनियादमा खडा भएको त्यो जगतमा म अहिले जान सक्तिनँ ।मेरो हालत हेरेर पनि बुझ । बुझ्न सकेनौ भने त्यहाँ हेर के हुँदै छ अहिले । हेर ।
(सत्य र अन्वेषक मूर्तिवत् हुन्छन्)
(मञ्चमा दुई युवकहरू हातमा तरबार लिएर आपस्तमा लड्दै आउँछन् । दुवै कालो पोसाकमा छन्)
केटा (१): होइन, होइन । तिम्रो भगवानभन्दा ठुलो मेरो ईश्वर हो ।
केटा (२) : होइन । तिम्रो ईश्वरभन्दा मेरो भगवान नै ठुलो हो ।
केटा (१): कदापि होइन । तिम्रो धर्ममा त्यस्तो के छ र तिमी आफ्नो भगवान्लाई महान् सम्झन्छौ ? मेरो धर्मलाई हेर । कति ठुलठुला आदर्शहरू छन् ।
केटा (२) : तिमी मेरो धर्मलाई खिसी नगर। कारण मेरो धर्ममा जति धेरै उपदेशहरू तिम्रो धर्ममा छैनन् । तिम्रो धर्ममा लोभ, लालच, युद्ध र नरसंहार सिकाउने मन्त्रहरूबाहेक केही छैन। तिम्रो धर्म तुच्छ छ तुच्छ ।
केटा (१) होइन । तिमी मेरो धर्मलाई चुनौती नदेऊ। कारण मेरो धर्ममा जति सुन्द प्रवचनहरू, सन्देशहरू, नीतिहरू तिम्रो धर्ममा छैन। तिम्रो धर्ममा केही छैन । असत्य, अहङ्कार, अहम् र अधर्म सिकाउने श्लोकहरू मात्र छन् । गालीहरू मात्र छन् ।
केटा (२) : मेरो धर्मलाई खिसी नगर । नत्र म तेरो ईश्वरको मन्दिर भत्काइदिन्छु ।
केटा (१) : धम्की नदे | नत्र म पनि तेरो भगवान् पुने थान तोडिदिन्छु ।
केटा (२) : हेर्छस् मेरो धर्मको तागत ? (तरबार उचाल्छ)
केटा (१ ) : हेर्छस् मेरो धर्मको शक्ति ? (तरबार उचाल्छ)
(दुवैले एक अर्कालाई प्रहार गर्छन् । त्यही अभिनयमा मूर्तिवत् हुन्छन् । प्रकाश अँध्यारिएर उज्यालिँदा सत्य र अन्वेषक मात्र पूर्ववत् छन् मञ्चमा)
सत्य: देख्यौ, त्यो जगतमा के हुँदै छ ? व्यर्थको धार्मिक युद्ध हुँदै छ । धर्मको नाममा हिंसा हुँदै छ | तर मलाई भन, कुन धर्मले त्यस्तो हिंसा गर्नु सिकाएको छ ? कुनै धर्मले एकर्काका धर्मलाई गाली गर्नु सिकाएको छ ? बदनाम पार्नु सिकाएको छ ? त्यो जगतमा धार्मिक युद्ध किन जारी छ ? कुन धर्मले एक अर्काको मन्दिर र मठ भत्काउने उपदेश दिएको छ? त्यस्तो जगतमा म बस्न सक्तिनँ । सक्तिनँ । सक्तिनँ। (प्रस्थान)
अन्वेषक: सुन्नुहोस्, सुन्नुहोस् । उफ् ! यो के हुँदै छ यस्तो ?
(रुपियाँ र राजनीतिले न्यायलाई न्याक र झ्याक पारेर ल्याउँछन्)
अन्वेषक: यो के हो फेरि ?
न्याय : मलाई बचाउनुहोस् | मलाई मुक्त पार्नुहोस् यिनीहरूको बन्धनबाट ।
अन्वेषक: तिमी को हौ ?
न्याय : म न्याय हुँ न्याय ।
अन्वेषक : न्याय?
न्याय: हो | म न्याय हुँ ।
अन्वेषक: यिनीहरूको को हुन् ?
रुपियाँ :म रुपियाँ हुँ ।
राजनीति: अनि म राजनीति हुँ ।
अन्वेषक: रुपियाँ र राजनीति ?
रुपियाँ : हो, मैले न्यायलाई मेरो पासोमा पारेको हुँ ।
न्याय : मेरो केही दोष छैन । मैले त मान्छेलाई उचित फैसला दिन खोजेको थिएँ । तर यिनीहरूले मलाई फैसला गर्न दिएनन् र पक्रेर ल्याए । मैले त अपराधीलाई सजाय र निर्दोषलाई मुक्ति दिन खोजेको थिएँ । तर यिनीहरूले त्यसो गर्नु मलाई दिएनन् ।
राजनीति : चुप ! हाम्रो बदनाम गर्छस् ?
अन्वेषक : छोडिदेऊ उसलाई । त्यो जगतमा उसको उपस्थिति अति आवश्यक छ । जान देऊ उसलाई |
रुपियाँ: होइन | हामी उसलाई जान दिन सक्दैनौँ। मैले आफूलाई बलिदान दिएर किनेको छु उसलाई ।
अन्वेषक : तिम्रो बलिदान सस्तो छ । भ्रष्टाचारी छ । जान देऊ उसलाई । उसको अस्तित्व बाँच्यो भने नै जनताले त्यहाँ न्याय पाउनेछ | छोडिदेऊ ।
राजनीति : (छुरी निकालेर) चुप लाग् । हाम्रो बाटो नरोक । नत्र …. |
रुपियाँ : (रिवाल्वर निकालेर) छोड् हाम्रो बाटो । नत्र ठिक हुने छैन ।
(अन्वेषक अवाक् हुन्छ र बाटो छोड्छ)
न्याय : मलाई बचाउनुहोस् | बचाउनुहोस् ।
(रुपियाँ र राजनीतिले न्यायलाई तान्दै लान्छन् ।)
अन्वेषक : उफ् ! कस्तो युग हो यो ? यो युगमा सबैभन्दा डरलाग्दो गुण्डा त रुपियाँ र राजनीति रहेछ उफ् !
(यत्तिमा प्रेमको प्रवेश भाग्दै । अन्वेषकसित ठोकिन्छ । उसको अनुहारभरि चोट छ)
अन्वेषक: तिमी को हौ ? किन यसरी भागिरहेछौ ?
प्रेम : म प्रेम हुँ । मलाई घृणाले खेदिरहेछ ।
अन्वेषक : प्रेम ? तिमी ? अहो ! म तिमीलाई पनि खोजिरहेको थिएँ। तर तिमीलाई घृणाले किन खेदिरहेछ ?
प्रेम : कारण ऊ मेरो सिंहासन हत्याउन चाहन्छ । मेरो राज उसले मन पराएन ।
अन्वेषक : तर तिमी यसरी भाग्नु हुँदैन । मान्छेलाई तिम्रो नितान्त प्रयोजन छ ।
प्रेम :मान्छेलाई ? (हाँस्छ) हा…हा… स्वार्थी मान्छेलाई ? मान्छेको संसारमा हर थोक पैसामा बिक्री हुन्छ अचेल । यसैले मान्छेको मनमा लोभ-लालच छ बेसी, स्वार्थ छ त्यहाँ । पैसाका निम्ति मान्छेले मान्छेलाई घृणा गर्न थालेको छ । विश्वासघात गर्न थालेको छ । यसर्थ मान्छेको मनमा आज कठोरताले वास गरेको छ । कोमलता छैन त्यहाँ ।
अन्वेषक: तर तिम्रो उपस्थिति अति आवश्यक छ मान्छेको मनमा ।
प्रेम : जहाँ कठोरता हुन्छ । जहाँ कोमलता मर्छ । त्यहाँ मेरो उपस्थिति बेकार छ। कारण म कठोरताको आसनमा बस्न सक्तिनँ । मलाई कोमलता चाहिन्छ । परार्थ र परोपकार चाहिन्छ । मान्छेको हत्यामा होइन । मान्छेको कल्याणमा बस्न चाहन्छु म| मान्छेको विश्वासघातमा होइन । मायामा जिउन चाहन्छु म । मान्छेको सङ्कुचित हृदयमा होइन । तर खुल्ला र उदार, विराट र कोमल, स्वच्छ र निःस्वार्थ हृदयमा बस्न चाहन्छु । तर मैले त्यस्ता हृदयहरू पाइनँ ।
अन्वेषक : तर त्यस्ता हृदयहरू छन् । खोज्नुपर्छ तिमीले, रोज्नुपर्छ तिमीले मानव उत्थानका निम्ति ।
प्रेम : देखाउनुहोस् मलाई त्यस्ता हृदयहरू | म जान तयार छु ।
अन्वेषक : (अलमलिएर) अँ…अँ…अँ ( यताउता हेर्छन्) उः त्यहाँ हुन सक्छन् । खोज्नुपर्छ | ।
प्रेम : (हाँस्छ) हा… हा…. हुन सक्छन् ? खोज्नुपर्छ ? हा… हा… तपाईंले किटेर भन्नसक्नु भएन । निश्चित भएर देखाउन सक्नुभएन । मलाई थाहा थियो । तपाईंले सक्नुहुन्न भनेर | कारण त्यहाँ त्यस्ता हृदयहरू नै छैनन् । (नेपथ्यमा हेरेर केही अत्तालिएपछि) माफ गर्नुहोला । ऊ आइरहेछ । म गएँ । म गएँ । (प्रस्थान)
अन्वेषक : अरे ! अरे ! नजाऊ तिम्रो खाँचो छ हामीलाई । सुन ।
(घृणाको प्रवेश)
घृणा : एइ ! तैँले प्रेमलाई देखिस् ?
अन्वेषक : देखिनँ । तिमी को हौ ?
घृणा : म घृणा हुँ घृणा !
अन्वेषक: तिमी प्रेमलाई किन खेदिरहेछौ ?
घृणा : प्रेमले मेरो बदनाम गरेको छ । मान्छेलाई धेरै कमजोर बनाएको छ । त्यसलेहरेक सीमालाई पार गरेको छ ।
अन्वेषक: होइन । तिम्रो भूल धारणा हो यो। प्रेमले त मान्छेलाई मायालु बनाउँछ । कमजोर होइन । प्रेम सीमाहीन छ ।
घृणा : झुट ! सरासर झुट !
अन्वेषक: होइन । म साँचो भन्दै छु । प्रेमबिना मान्छेको जीवनमा कुनै सार छैन । प्रेमबिना मान्छेको जीवन ढुङ्गा-मुढाजस्तै हुन्छ । यसर्थ मान्छेको जीवनमा प्रेमको ठुलो महत्त्व छ ।
घृणा : चुप | तँ मलाई प्रेमको महत्त्व देखाउँछस् ? मलाई दर्शन चाहिएन प्रेममाथि । (नेपथ्यतर्फ हेरेर ) उ: प्रेम त्यहाँ भाग्दै छ । म छोड्दिनँ त्यसलाई | छोड्दिनँ । (प्रस्थान)
अन्वेषक : उफ् ! यो के भइरहेछ यस्तो ? मानवतालाई बचाउने आधारहरूको किन बिजोग छ ? म ती आधारहरूको खोजीमा थिएँ । तर उनीहरूलाई भेटेर पनि बचाउन सकिनँ । फकाउन सकिनँ । उफ् ! मानव कल्याणका निम्ति मैले केही गर्न सकिनँ । (दुवै हातले अनुहार छोप्छ । दुःखी बन्छ । शिर निहुराउँछ । त्यसपछि अनुहारबाट हात हटाई शिर उठाएर) तर म सत्य, न्याय, प्रेम र शान्तिलाई बचाउन एउटा लडाइँ लड्नेछु फेरि। आन्दोलन गर्नेछु । म उनीहरूका निम्ति, उनीहरूको सुरक्षाका निम्ति आवश्यकता परे बलि पनि चढिदिनेछु । तर उनीहरूलाई बचाउने छु । अब म आवाज उठाउने छु । म रुपियाँ र राजनीतिको षड्यन्त्र तोड्ने छु ।
(रुपियाँ र राजनीतिको हाँस्दै प्रवेश)
राजनीति : हा.हा.. हा… हाम्रो षड्यन्त्र तोड़छस् ?
रुपियाँ : हा. हा.. हा…तर हामी तँलाई तोड्छौँ । हा. हा..
अन्वेषक: होइन । तँहरूले मेरो केही गर्न सक्दैनस् ।
रुपियाँ : म रुपियाँ हुँ । म अति शक्तिशाली छु । म तँलाई जे पनि गर्न सक्छु ।
अन्वेषक: म मान्छेलाई सचेत गराउँछु ।
राजनीति : तँ मान्छेलाई सचेत गराउँछस् ? तर म राजनीति हुँ । मेरो चाल माकुराको जाल हो अनि मान्छे हो पुतली । मान्छे जहिले पनि मेरो जालमा अल्झिएको छ । यस्तो मान्छेलाई तँ सचेत बनाउँछस् ?
अन्वेषक: तँ मैला राजनीति होस् । तँ बिग्रिसकेको छस् । रुपियाँको आडमा तँ घिनलाग्दो भएको छस्, षड्यन्त्रकारी भएको छस् । तर मलाई घिनलाग्दो र मैला राजनीति चाहिएन | म चाहन्छु साँचो र सफल राजनीति | म चाहन्छु रुपियाँको सदुपयोग | मान्छे र उसको देशको विकासमा रुपियाँको सदुपयोग | तर दुरुपयोग होइन ।
रुपियाँ : यो त धेरै बोल्ने भएछ | (अन्वेषकको पछि गएर अन्वेषकलाई समात्छ)
अन्वेषक : छोड् मलाई छोड् ।
राजनीति: (छुरी निकालेर) तँ हामीलाई चुनौती दिन्छस् ? हेर्छस् हाम्रो शक्ति ? हेर्छस् ?
(राजनीतिले अन्वेषकको पेटमा छुरी रोप्छ । अन्वेषक कहालिन्छ । रुपियाँले अन्वेषकको दुवै हात समात्छन् । त्यही अभिनयमा सबै मूर्तिवत् हुन्छन्)
(यत्तिमा सत्य, न्याय, प्रेम र शान्तिको प्रवेश)
सत्य : (दर्शक वर्गलाई) म सत्य हुँ । अब तपाईंहरू आफैँ भन्नुहोस् । यस्तो स्थितिमा (हातले राजनीति, रुपियाँ र अन्वेषकको मूर्तिवत् अवस्थातर्फ इङ्गित गर्दै ) मेरो अस्तित्व कसरी बचाउनु तपाईंहरूको संसारमा ? (मूर्तिवत् हुन्छ)
न्याय : ( दर्शक वर्गसित) म न्याय हुँ । अब तपाईंहरू आफैँ भन्नुहोस् । यस्तो अवस्थामा मैले कसरी उचित न्याय दिनु तपाईंहरूको अदालतमा ? (मूर्तिवत् हुन्छ)
प्रेम : (दर्शक वर्गसित) म प्रेम हुँ। अब तपाईंहरू आफैँ भन्नुहोस् । यस्तो परिवेशमा म कसरी बस्नु तपाईंहरूको हृदयमा ? (मूर्तिवत् हुन्छ)
शान्ति : दर्शक वर्गसित) म शान्ति हुँ । अब तपाईंहरू आफैँ भन्नुहोस् । यस्तो व्यवस्थामा म कसरी आउनु तपाईंहरूको जीवनमा ? (मूर्तिवत् हुन्छे)
पटाक्षेप



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

