साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लेभ तोल्सस्तोइका विश्व-प्रसिद्ध उत्कृष्ट कथाहरू, २ हुस्सार भागः ५

Chovar Blues Mobile Size

    ५

नवनिर्वाचित पुलिस-इन्सपेक्टर र उनका साथीभाइहरू नयाँ भट्टीपसलमा निकै समयदेखि रक्सी घुटक्याउँदै थिए र जिप्सीहरूको गाना-बजाना पनि सुनिरहेका थिए । अश्वारोही दलको अफिसर पनि त्यहीं नै थियो । त्यत्तिकैमा ग्राफ पनि त्यहाँ आइपुगे । उनले भालुको छालाको भित्री हालिएको बनातको नीलो ओभरकोट लगाइरहखेका थिए । त्यो आन्ना फ्योदोरोभ्नाका दिवंगत पतिको ओभरकोट थियो ।

“सबारी होस्‌, हजूर ! सवारी होस्‌ ! हामीले त हजूर सवारी होइबक्सने आशा नै मारिसकेका थियौं ।”- एक जिप्सीले ग्राफलाई ओभरकोट फुकाल्न मद्दत गर्दै भन्यो । त्यो दगुरेर ढोकानेर पुगेको थियो । कालो घुम्रिएको कपाल र डेढा आँखा हुने त्यो जिम्सी सेता दन्तलहर चम्काउँदै हाँसिरहेको थियो । -“हजूरसँग लेबेद्यानमा भेट भएपछि, आजसम्म भेट हुन सकेको थिएन ।…स्तेशा त हजूरसितको बिछोडले गर्दा सुकेर सिठ्ठी भैसकी ।…”

स्तेशा पनि दगुरेर ग्राफको स्वागत गर्न आइपुगी । भर्खरकी जिप्सी-तरुनी गहुँगोरो रङ्ग, राता-राता गाला, चम्किला र ठूल्ठूला काला आँखा, लामा-लामा बाक्ला परेला ।

| “एहे, ग्राफज्यू ! हाम्रा प्यारा ग्राफज्यू ! हाम्रा हृदयका तारा ग्राफज्यू ! अहो । मेरो त खुसीको सीमा नै रहेन !”- उसले मुसुमुसु हाँस्दै साँखिलो भएर भनी ।

sagarmani mobile size

इल्यूश्का पनि भेद्न भनी दगुर्दै आयो । ग्राफको आगमनले गर्दा ज्यादै खुसी छ भन्ने साथै ऊ देखाउन चाहन्थ्यो । बूढी र अधबैंसे आइमाईहरूको साथै भर्खरका युवतीहरू पनि दगुर्दै आएर ग्राफको वरिपरि झुम्मिए । कैयौंले उनीसँग मित लगाएका थिए भने कैयौंका उनी आफन्त पनि ठानिन्थे, किनभने उनका बालबच्चाहरूका उनी धर्मपिता बन्न पुगेका थिए ।

ग्राफले सबै तरुनी जिप्सिनीहरूको ओठमा नै चुम्बन लिए । बूढी जिप्सिनीहरू र पुरुषहरूले चाहिँ उनको काँधमा र हातमा चुमे । अभिजात वर्गका मान्छेहरू पनि पाहुना, आइपुगेकोमा निकै रमाएका थिए । यसको खास कारण त के थियो भने जमघटको रौनक पनि पराकाष्टामा पुगिसकेपछि अब फिका पर्न थालिसकेको थियो । रक्सीले पनि अब त नसाहरूलाई उत्तेजित गर्न छोडिसकेको थियो र भुँडीको लागि मात्रै भार बन्न थालेको प्रतीत हुन्थ्यो । सबैले जे जति हाँसोठट्टा गर्न सकिन्थ्यो त्यो सबै गरि पनि सकेका थिए र अब त एक अर्काबाट वाक्क समेत भैसकेका थिए । गीतहरू पनि सबै नै गाएर तुरिइसकेका थिए । अब त तिनको धून हरेकको मथिंगलमा खिचडी बन्न थालिसकेको थियो । त्यहाँ एक तमासको खैलाबैला र कोलाहलको अनुभूति मात्र बाँकी रहन गएको थियो । कसैले कुनै दिलबहलावको नयाँ तरीका निकालिहाले तापनि कसैको ध्यान त्यसमा लागिरहेको थिएन । कसैले पनि त्यहाँ कुनै कुरामा रमाइलो र मजा अनुभव गरिरहेको थिएन । पुलिस-इन्सपेक्टर बडो भद्दा ढंगले एउटी बुढियाको गोडैनेर भुइँमा गुडुल्किरहेको थियो ।

“शैम्पेन !”-खुट्टा बजार्दै ऊ करायो ।-“ग्राफ आइपुग्नुभो !..ल, शैम्पेन ल्याओ । एक ठूलो खड्कलो नै शैम्पेनले भरिदिनेछु र त्यसमा डुबुल्की लगाएर स्नान गर्नेछु । प्यारा महानुभाव हो ! आज मैले यस्ता उच्च घरानका भद्रभलादमीहरूको सँगत पाएको छु । म ज्यादै खुशी छु !..ए, स्तेश्का ! लौ, ‘सडक’ भन्ने गीत गाएर सुना त !”

अश्वारोही भूतपूर्व अफिसर पनि मस्तीमा थियो । किन्तु उसको मस्तीको ढाँचाकाँचा केही अर्कै थियो । ऊ एउटा कौचको कुनामा एउटी अग्ली कदकी ज्यादै हिसी परेकी तरुनी जिप्सिनीको बगलमा बसिरहेको थियो । ऊ आँखा झिमझिम गर्दै थियो र रक्सीको मात जागेको केही मन्थर गर्न बेलाबेलामा टाउको झटकार्दै थियो । ऊ एक सुरमा खासखुस गर्दै जिप्सेनीलाई कतै भागेर जान फकाउँदै थियो । ल्युबाशा सुन्दै थिई र मुस्कुराउँदै पनि थिई, मानौं उसको कुरा निकै मनोरञ्जक हुनुको साथै केही करुणाजनक पनि लागिरहेको होस्‌ । बीच बीचमा ऊ आँखा उठाएर डेढो आँखा भएको आफ्नो लोग्ने साश्कातिर हेर्ने गर्थी जो उसैको सामुन्ने एउटा कुर्सी पछिल्तिर उभिइरहेको थियो । यस्तो प्रेमालापको जवाफमा ल्युबाशाले केही भुकेर अश्वारोही भूतपूर्व अफिसरको कानैमा खुसुक्क भनी: “मेरो लागि केही रिबन र एक शिशी अत्तर पनि किनिदिस्योस्‌ न ! तर कसैलाई नभनिबक्सेला नि !

“हुर्रा !”- ग्राफ भित्र पस्न मात्रै के पसेका हुँदा हुन्‌, अश्वारोही भूतपूर्व अफिसर करायो ।

एक सुन्दर युवक कोठामा ओहोर-दोहोर गरिरहेको थियो । उसको चालमा दृढता थियो भने उसको अनुहारमा चिन्ताको झलक देखिन्थ्यो । त्यो अन्तः पुरमा विप्लव” (The Revolt in Seragilo) भन्ने संगीतको कुनै धून गुनगुनाउँदै थियो ।

एक वयोवृद्ध कुटुम्बपति जसलाई यी उच्च खानदानका मानिसहरूले बडो बिन्तिभाउ गरेर जिप्सीहरूकहाँ ल्याएका थिए त्यो चाहिँ सोफामा पल्टिरहेको थियो । ऊबेगर त्यहाँ केही मजा हुनेछैन र ऊ नजाने भए त्यहाँ जानु नै व्यर्थ छ भनेर उसलाई भनिएको थियो । तर यहाँ पुग्नेबित्तिकै त्यो जसरी सोफामा पल्टिएको थियो त्यसरी नै अहिलेसम्म पनि पल्टि नै रहेको थियो र कसैले पनि उसतर्फ ध्यान दिएको थिएन । एक जना सरकारी कर्मचारी आफ्नो फ्रककोट फुकालेर एउटा टेबुलमा उपरखुट्टी लगाएर बसिरहेको थियो र बारम्बार आफ्नो कपाल गुज्मुज्याउँदै थियो । यसरी ऊ आफूलाई एक लफङ्गा साबित गरिरहेको थियो । ग्राफ भित्र पस्नेबित्तिकै उसले आफ्नो कमीजको कलर पनि खोलिदियो र टेबुलमाथि खुट्टा फैलाएर बस्यो । जे होस्‌, ग्राफ आइपुगेपछि जमघटमा फेरि चहलपहल देखा पर्यो ।

ती जिप्सिनीहरू, जो पहिले कोठामा यताउति टहल्दै थिए, अब एक घेरा बनाएर बसिरहेका थिए । जिप्सीमण्डलीकी गायिका स्तेश्कालाई ग्राफले आफ्नै काखमा बसाले र फेरि शैम्पेनको आडर पनि दिए ।

इल्यूश्का चाहिं हातमा गितार लिएर अगिल्तिर बस्यो र स्तेश्कालाई गाउने इशारा गर्यो । अनि “प्ल्यास्का’ अर्थात एक विशेष क्रमसित गाइने जिप्सी गीतमाला शुरु भैहाल्यो । गीतका बोल थिए: “जब म सडकतिर घुम्न निस्कन्छु”, “ए, हुस्सार हो”, “सुन । सम्झ…” इत्यादि । स्तेश्काले खूब राम्रोसित गाई । उसको सुरिलो र गहिरो स्वरमा निकै लचक थियो । उसको भित्री अन्त:करणको गहिराइबाट नै आवाज निस्किरहेको जस्तो भान पर्थ्यो । उसका ओठहरूमा मुस्कान थियो भने नजर चाहिँ चंचल र तीक्ष्ण । गीत गाउँदै ऊ आफ्ना गोडाले भुइँमा ताल पनि दिदैजान्थी सहगानको शुरुमा ऊ हरेकपल्ट तिक्खर आलाप छोड्ने गर्थी । गीत सुन्नेको मनको विरलै झन्कृत हुने तार समेत बज्नेगर्थ्यो । मगनमस्त भएर गाउँथी ऊ ! इल्यूश्का गितार बजाउँदै थियो । गीतको साथसाथै उसको तनमन एकाकार हुँदै थियो । उसको पीठ हल्लिरहेको थियो, गोडाले भुइँमा ताल दिदै थिए , ओठमा मुस्कान खेलिरहेको थियो । गीतको लयको सँगसँगै उसको टाउको पनि हल्लिरहेको थियो । आँखा स्तेश्काको अनुहारमा गढेका थिए । उसको एकाग्रता र तल्लीनता देख्दा पहिलोपल्ट ऊ त्यो गीत सुनिरहेको हो कि भन्ने भान पर्थ्यो । गीतको अन्तिम चरण टुङ्गियो । इल्यूश्का एकाएक यसरी जुरुक्क उठ्यो मानौं संसारमा ऊ आफूलाई मात्रै मै हुँ भन्ने सम्झँदो होस्‌ ! जानाजानी नै बडो गर्वपूर्वक उसले गितार आफ्नो घुँडाले धकेल्यो । गितार हावामा फनफन घुम्यो । त्यसपछि उसले स्वयं नै जुत्ताको कुर्कुच्चाले भुइँमा ठोकेर ताल दिन थाल्यो, कपाल पनि झट्का दिएर पछिल्तिर फर्कायो र आँखिभौं समेटेर सहगान-मण्डलीतर्फ कर्के आँखाले हेर्यो। अनि उ नाच्न लाग्यो । उसको अङ्ग-प्रत्यङ्घ थर्किरहेको थियो । बीसै जना जोडले चर्को स्वर निकाल्दै सँगसँगै गाउन लागे, मानौं एक दोस्रोसँग प्रतिस्पर्धा गरिरहेका होउन्‌ ! बूढी जिप्सिनीहरू आफ्नो ठाउँमा बसेका बस्यै रुमाल हल्लाएर हाँस्न र बिस्तार-बिस्तार काम्न लागे र गीतको लयसँगसँगै कराई कराई एक अर्कोसँग होडबाजी गर्न थाले । लोग्नेमान्छेहरू आ-आफ्ना कुर्सीहरूको पछिल्तिर उभिएर गहिरो र गम्भीर स्वरमा तान छोड्न लागे । उनीहरूको शिर एकातिर झुकेको र घाँटीको नसा फुलेको देखिन्थ्यो ।

जतिखेर स्तेश्काको स्वर चर्को भएर आउँथ्यो त्यतिखेर इल्यूश्का आफ्नो गितार उसको मुखको नजीक पुर्याउँथ्यो, मानौं उसलाई मद्दत गर्न खोजेको म ति सुन्दर युवक खुशीले गदगद हुँदै कराउन थाल्यो: “ल सुन, अब स्तेश्काले पंचम स्वरमा गाउली ?”

नाचको धून बज्नासाथै दुन्याशा सामुन्ने आइपुगी र काँध औ छाती हल्लाउदै ग्राफको अगाडि नाच्न र चक्कर मार्न थाली । त्यतिखेर तुर्बीन उफ्रेर उभिए र ज्याकेट पनि फुकाले । अब उनको आङमा एउटा रातो कमीज मात्र बाँकी थियो । अनि उनी दुन्याशासँग नाच्न लागे । जसै जिप्सीहरू आपसमा एक अर्कालाई हेर्दै मुस्कराएर ग्राफको नृत्य कौशलको तारीफ गर्न थाले ।

पुलिस-इन्सपेक्टर तुर्कहरूको पाराले पलेटी कसेर बसेको थियो । आफ्नो छातीमा मुड्कीले हान्दै ऊ करायो: “वाह ! वाह !” अनि उसले ग्राफको गोडा अँगालेर के बताउन थाल्यो भने ऊ त्यहाँ आउँदा उससँग दुई हजार रुबल थियो, तर अब चाहिँ उससँग केवल पाँच सय रुबल मात्र बाँकी रहन गएका छन्‌ । जे होस्‌ ग्राफको आज्ञा मात्र पाइन्छ भने ऊ आफूलाई मन लागेको जे पनि गर्न सक्छ । वृद्ध कुटुम्बपति ब्यूँझियो र घरतिर जान तैयार भयो, तर उसलाई जान दिइएन । सुन्दर युवकले निकै अनुनय-विनय गरेर एउटी जिप्सिनी ठिटीलाई आफ्नो साथमा वाल्ज नाच्न राजी गरायो । रिसल्ला अफिसर आफ्नो कुनाबाट उठेर आयो । आफूलाई ग्राफको घनिष्ठ मित्रको रुपमा प्रदर्शन गर्न उसले तुर्बीनलाई अँगाल्यो ।

“अहो, प्यारा मित्र !”- उसले भन्यो ।-“हामीलाई छोडेर तपाईं किन जानुभो हँ ?” ग्राफले कुनै जवाफ फर्काएनन्‌ । सके उनी कुनै अर्कै कुरा सोच्दै थिए । “तपाईं कहाँ हिंडिदिनुभो नि ? बडो कप्टी हुनुहुँदो रैछ तपाईं त । सुटुक्क कहाँ जानुभएको थियो, मलाई एक एक थाहा छ !”

किन हो कुन्नि, तुर्बीनलाई यस्तो घनिष्ठता मन परेन । उनी न मुस्कुराए, न त उनले केही भने । रिसल्ला अफिसरलाई उनले खालि घृणापूर्वक घुरेर हेरे र अचानक यस्तो फोहोर र अश्लील गालीको बर्षा उसमाथि गरे जसबाट रिसल्ला अफिसर खिन्न हुन पुग्यो र उसले निकै बेरसम्म ठम्याउनै सकेन: यसलाई ठट्टा सम्झने कि साँच्ची नै ठान्ने ? अन्त्यमा उसले यसलाई ख्यालठट्टा नै ठान्ने अठोट गर्यो र ङिच्च दाँत देखाउँदै फेरि आफ्नी जिप्सिनी केटी भएको ठाउँमा नै फर्कियो । अनि ईश्वरको पर्व सकिनासाथ उससँग बिहे नै गर्ने उसले वचन दियो । सारा जिप्सी मण्डलीले मिलेर फेरि एउटा अर्को गीत गाए र त्यसपछि फेरि एक अर्को गीत सुनाए । अनि नाच शुरु भयो । त्यसपछि एक दोस्रोको सम्मानमा गीतहरू गाइए । हामी बडो आनन्द लुटिरहेका छौं भन्ने सबैको सोचाइ थियो । शैम्पेनको त खोलो नै बगिरहेको थियो । ग्राफले पनि रक्सी खूबै घुट्क्याइसकेका थिए । उनका आँखा रसाइसकेका थिए, तर उनी लडखडाइरहेका थिएनन्‌, बरु पहिलेको भन्दा पनि राम्रोसँग नाच्न लागे । उनी सबैसित स्थिर स्वरमा कुरा गर्दै थिए । जिप्सी मण्डलीले सहगान गाउन लाग्दा उनले समेत साथ दिए र स्तेशाले “प्रेम-भावको मधुर उडान” भन्ने गीत गाउन थाल्दा त ग्राफ पनि सुरमा सुर मिलाएर तान छोड्न लागिहाले । नाचगान अझै चलि नै रहेको थियो । यत्तिकैमा भट्टीपसलको मालिक आयो पाहुनाहरूसित घर फर्केर जाने आग्रह गर्न लाग्यो । त्यतिखेर बिहानको तीन बजिसकेको थियो ।

ग्राफले भट्टीपसलको मालिकलाई कठालोमा समातेर थैया थैया नाच्न कर गरे । उसले नाच्न मञ्जूर गर्यो । ग्राफले भट्टीपसलको मालिकलाई उधोमुन्ट्याएर टाउकोको बलमा खडा गराइदिए र उसका गोडा समातेर यसै स्थितिमा उसलाई ठड्याइराख्न अह्राए । अनि शैम्पेनको एक बोतल उठाएर बोतलको सारा मदिरा उसको आङमा खलल खन्याइदिए । सबै नै पेट मिचीमिची हाँस्न लागे ।

मिर्मिरे बिहान भैसकेको थियो । ग्राफ एक जना बाहेक अरू सबैको अनुहार लस्त र मलिन देखिन्थ्यो ।

“मलाई त छिट्टै नै मास्को पुग्नुछ !” जुरूक्क उठ्दै उनले एकाएक भने । महानुभाव हो, मलाई बिदा गर्न मकहाँ हिँड्नोस् । त्यही नै हामी चियापान पनि गरौंला !”

सबका सब तैयार भैहाले । बृद्ध कुटुम्बपति एक जना चाहिँ त्यतिखेर मस्त निद्रामा थियो । उसलाई त्यही नै छोडियो । सबका सब नै ढोकैनेर राखिएका तीनओटा स्लेज गाडीमा अटाई नअटाई चढेर कोचाकोच गरेर बसिहाले र होटलतर्फ लागे ।

लेखक परिचय
कश
कृष्णप्रकाश श्रेष्ठ
प्रतिक्रिया
Loading...