४
वाध्यवृन्दका कलाकारहरू चियापान कक्षमा लहरै उभिएका थिए । उनीहरू सबका सब सरदाससाहेबकै भूदासहरू थिए । भोटोको बाहुला समातेर उनीहरू बाजा बजाउन तैयार भैसकेका थिए । चियापानकक्ष चाहिँ नाचगानकै लागि खाली गरिएको थियो । इशारा पाउने बित्तिकै पोल्याण्डको पुरातन नाच “अलेक्सान्द्र एलिजाबेता” गुञ्जन थालिहाल्यो । नृत्यशाला मैनबत्तीहरूको मधुरो प्रकाशले झलमल थियो । नाचमा सरीक हुन चाहनेहरू एक-एक जोडी मिलाएर काठको फल्याक ठोकिएको ठूलो बैठककोठामा पस्न थाले । सबभन्दा अगिल्तिर बडाजर्नेल साहेब नै सरदारसाहेबकी सिकुटे पत्नीको हात समातेर नृत्यशालामा पसेका देखिए । उनको छातीमा तक्माको तारा झलल्ल चम्किरहेको थियो । त्यसपछि सरदारसाहेब पनि जरसाहेबकी पत्नीलाई डोर्याउँदै आए । अनि यस्तै क्रमसित अरु जोडीहरूले पनि त्यहाँ प्रवेश गरे । सबका सब नै त्यस गुबेर्नियाका शासक परिवारहरूबाट आएका थिए । त्यसै बेला जाभाल्शेभ्स्की पनि भित्र पस्यो । उसले उठेको अग्लो कलर र कुममा स्कन्धाभरणको फुर्का भएको निलो रंगको फ्रककोट लगाइराखेको थियो भने गोडामा चाहिँ माथिसम्म आउने जुराफ र फैशनदार जुत्ता थियो । ऊ भित्र पस्नासाथै चारैतिर अत्तरको मगमग बास्ना फैलियो, मानौं आफ्नो जुँगा, काटेको कलर र रुमालमा उसले चमेलीका अत्तर खन्याएको होस् ! उसको साथमा एक सुन्दर हुस्सार पनि थियो जसले अश्वारोहीहरूको टम्म कसिएको नीलो जुराफ र सुनौला भुवाको घेरा हालिएको रातो कोट लागाइराखेको थियो । कोटमा भ्लादीमिर-क्रस र अठार सय बाह्र सालको युद्धको तक्मा पनि झुण्डिरहेका थिए । होचो कदका भए तापनि हुस्सारको शारीरिक गठन अत्यन्तै सुन्दर थियो । उनको नीलो र निर्मल आँखा टल्किरहेका थिए । गाढा कैला घुम्रिएको कपालमा ठूल्ठूला चक्रहरू परिरहेका थिए । यसले गर्दा उनको अनुहार अझ बढ्ता खुलेका देखिन्थ्यो । सरदारसाहेबको नृत्यशालामा उनको आगमन अप्रत्याशित थिएन । जुन सुन्दर युवकसँग होटलमा उनको भेट भएको थियो उसले नै सरदारसाहेबलाई ग्राफ पनि नाच-समारोहमा सरीक हुन सक्छन् भन्ने सूचना दिइसकेको थियो । यस समाचारप्रति मानिसहरूको प्रतिक्रिया बेग्लाबेग्लै किसिमको थियो । परन्तु सामान्यतया खुसी त कोही पनि भएको थिएन । “यस ठिटोले हाम्रो हाँसो त उडाउने हैन कतै !” पुरुषहरू र उमेर ढल्किसकेका नारीहरूको मनमा यस्तो विचार उठेको थियो । ‘अँ ) कतै यसले मलाई नै उडाएर लान पनि के बेर र ?’-अधिकांश युवतीहरू र भद्र महिलाहरूको विचार चाहिं यस्तो थियो ।
पोल्याण्डको नृत्य-धून समाप्त हुने बित्तिकै नाचमा भाग लिइरहेका जोडीहरू एक दोस्रोको सामुन्ने झुकेर अलग्गिए । नारीहरू नारीहरू नै भएको ठाउँमा गए भने पुरुषहरू पनि पुरुषहरू भएकै ठाउँमा फर्किए । गर्व र खुसीले गद्गद भएको जाभाल्शेभ्स्कीले ग्राफलाई घरपष्टिनीको नजीकै डोर्याएर लग्यो । सरदारसाहेबकी पत्नी चाहिँ यस हुस्सारले कतै अरु सबैको सामुन्ने आफ्नो बेइज्जती त गर्ने होइन भन्ने विचारले केही झस्केकी समेत थिइन् । बडो रवाफ र बेवास्ताको प्रदर्शन गर्दै अर्कैतिर मुख फर्काएर उनले भनिन् : “ज्यादै खुशी लाग्यो ! आशा छ, तपाई पनि त नाच्नु होला ?” अनि यस्तो अविश्वासपूर्वक दृष्टिले उसतर्फ हेर्न लगिन्, मानौं भनिरहेकी होउन् : “यदि तिमीले कुनै महिलाको अपमान गरि नै हालेछौ भने तिमी एक नम्बरको गुण्डा ठहरिने छौँ ।’ परन्तु ग्राफले केही मिनेट भित्रमा नै उनको मनोभावना बदलिदिए । आफ्नो विनम्रता, शिष्टता, हँसिलो मिजास र सौम्य रुपले गर्दा उनले सरदारनीको मन जितिहाले । सरदारसाहेबकी पत्नीको अनुहारको भाव पनि एकदमै बद्लियो र सबैलाई उनले यस्तो भनिरहेको जस्तो प्रतीत भयो : ‘बुझ्यौ ? यस किसिमका मान्छेहरूलाई तह लाउन जानेकी छु मैले ! कससँग कुरा गर्दै छ भन्ने उसले तुरुन्तै बुझिहाल्यो । पुरै साँझभरि नै अब मेरै अगलबगलमा घुमिरहेको हुनेछ यो ! ठिक त्यसै बेला जर साहेब ग्राफका छेउमा आइपुगे र गर्न भनेर उनलाई एकतिर डोर्याएर लगे । उनी ग्राफका बुबालाई चिन्थे । थ्यसपछि त स्थानिय कुलिनताहरूको मनको शैका समेत निवारण भयो । उनीहरूको दृष्टिमा ग्राफको स्थिति अझ माथि उठ्यो । केही बेरपछि जाभाल्शेभ्स्कीले उनलाई आफ्नो बहिनीसित पनि परिचय गराइदियो । त्यो मोटीघाटी एउटी तरुनी विधवा थिई । ग्राफको आगमनदेखि नै ऊ आफ्ना ठूल्ठूला काला-काला आँखाले उनलाई खाउँला झैं गरेर हेर्दैथिई । ग्राफले उससँग वाल्ज नृत्य नाच्ने प्रस्ताव राखे । वाद्यवृन्द पनि त्यतिखेर त्यसै नाचको धून बजाउँदै थियो । ग्राफ ज्यादै नै राम्रो नाच नाच्ने गर्थे र उनको नाच देखेपछि त मानिसहरूको मनमा बचेखुचेको पूर्वाग्रह पनि हराएर गैहाल्यो ।
“क्या गजब नाच्दो रैछ !”-एउटी थसुल्ली महिलाले भनी । उ नीलो जुराफ लगाइराखेको ग्राफको गोडाको चाल मार्दै मनमनै ताल दिइरहेकी थिई: “एक, दुई, तीन ! एक, दुई तीन !…बाह ! वाह ! गजबको नाच !’
“अहो ! क्या राम्रो नाच ! वाह रे वाह !”- अर्को एउटी महिलाले भनी । ऊ केही दिनको लागि मात्र त्यस शहरमा आएकी थिई र कुलीन समाजमा उसलाई कुलता ठानिन्थ्यो । “उसको एडीले कसैलाई ठक्कर समेत लगाउँदैन । कस्तो आश्चर्य ! वाह, क्या गजबसित ताल मिलाएर नाच्दैछ ।”
ग्राफले कति राम्रोसँग नाचेका थिए भने त्यस गुबेर्नियाका तीन जना नाम चलेका नर्तकहरूको समेत सेखी झारिदिएका थिए । तीमध्ये एकजना थियो- जरसाहेबको हजुरिया । सनपाटका रेशा जस्तो कपाल भएको त्यो मान्छे निकै अग्लो पनि थियो । त्यो नाचमा आफ्नो फुर्तिलो चालले गर्दा प्रसिद्ध थियो । जुन महिलासँग ऊ नाच्थ्यो त्यसलाई आफ्नो जीउमा टाँसेर राख्न पनि ऊ सिपालु थियो । अर्को चाहिं अश्वारोही सेनाको अफिसर थियो । वाल्ज नाच्दाखेरि उसको जीउ ज्यादै मनमोहक ढंगले हल्लिने गर्थ्यो । ऊ ज्यादै हलुका चालले छिटो-छिटो ऐडी टेकाउने गर्थ्यो । त्यहाँ अर्को एकजना पनि खूब राम्रो नाच्ने मान्छे थियो जसलाई सबै मान्छेहरू नाचसमारोहको मुख्य पात्र ठान्ने गर्थे । हुन त ऊ त्यति समझदार अवश्य पनि थिएन । ऊ एक निजामती कर्मचारी थियो । नाच शुरु भएदेखि नै ऊ नाच्दै थियो र सास फेर्नको लागि समेत रोकिने गर्दैनथ्यो । हरेक नाचपछि ऊ लहरै बसिरहेका महिलाहरूको अगाडि पुगिहाल्थ्यो र क्रमानुसार एक-एक महिलासँग नाच्ने अनुरोध गर्थ्यो । कहिलेकाहीं मात्र ऊ निधारको पसीना पुछ्न भनेर अडिन्थ्यो । उसको मुख चिर्टाचट पसीनाले भिजेको भए तापनि हँसीलो देखिन्थ्यो र रुमाल पनि निध्रुक्क भिजिसकेको थियो । ग्राफले सबभन्दा प्रमुख तीन महिलाहरूको साथमा नाचेर यी सबैको मेख मारिदिएका थिए । ती महिलाहरूमध्ये एउटी चाहिँ हट्टकट्ट, अग्ली र निकै धनी थिई, हिसी पनि परेकी थिई, तर पटमूर्ख थिई । अर्की चाहिँ मझौला कदकी र दुब्ली-पातली थिई, अनि उति राम्री नदेखिए तापनि ज्यादै चतुर थिई । अन्य महिलाहरूको साथमा पनि ग्राफ नाचेका थिए । त्यस नाच-समारोहमा थुप्रै सुन्दरी नारीहरू भेला भएका थिए । परन्तु ग्राफलाई चाहिं जाभालशेभ्स्कीकी विधुवा बहिनी नै सबभन्दा ज्यादा मन परेकी थिई । उसको साथमा ग्राफले क्वाड्रिल, एकोसाएए र मजूर्का नाचहरू नाचे । शुरुमा क्वाड्रिल नाचको बखत नै उनले उसको रुप-लावण्यको खुब प्रशंसा गरे र भीनस, डायना, गुलाफको फूल र अरु थुप्रै फूलसित उसको तुलना गर्दैरहे । यसको जवाफमा तरुनी विधवा चाहिँ खालि आफ्नो गोरो र सुन्दर गर्दन एकातिर झुकाउँथी र आँखाको पटल बन्द गर्ने गर्थी । अनि उसका आँखा आफूले लगाइराखेको सेतो मलमली जम्फरमा पर्थे र ऊ हातमा लिइराखेको पङ्खा अर्को हातमा सार्थी । भैगो, ग्राफ ! यस्तो ठट्टा गर्नु पर्दैन !”-ऊ यस्तै वा अर्कै कुनै वाक्य भन्थी । उसको स्वर सुरीलो थियो र त्यसमा सुधोपना, सरलता र सहृदयता झल्कन्थ्यो । ग्राफ सोच्ने गर्थेः यो वास्तवमा आइमाई होइन, बरु फूल हो फूल ! बरु कुनै फक्रेको बनफूल हो- गुलाफी र सेतो रंगको फूल ! त्यस फूलमा बास्ना त छैन, तर त्यो कतै निकै टाढा रमणीय प्रदेशमा थुप्रिएको हिउँ झैँ एक्लै फूलिरहेको प्रतीत हुन्छ ।
उसको सुधोपना, सरलता र यसको साथसाथै उसको रुपको ताजापना देखेर ग्राफको मनमा एउटा अनौठो भावना उब्जिन थाल्यो । कुराकानीको क्रममा उनले कैयौं पटक चूपचाप उसका आँखामा सोझै हेरेका पनि थिए । उसका सुडौल गर्दन र पाखुरामा हेर्दाहेर्दै कतिपल्ट त उसको हात तानेर चुम्बन लिने समेत उनको मनमा उत्कट अभिलाषा जागेको थियो । आफूलाई काबूमा राख्न पनि उनलाई धौ-धौ परिरहेको थियो । तरुनी विधुवा पनि आफ्नो प्रभावको सुइँको पाएर अति नै खुशी थिई । किन्तु ग्राफको व्यवहारमा झल्केको कुनै कुराले उसलाई व्याकुल तुल्याउन थाल्यो र ऊ बेचैन हुन लागी । युवा हुस्सार चाहिँ उसलाई खुशी पार्न उसकै अगल बगलमा घुमिरहेका थिए । अचेलको जमानालाई हेर्दा त उनको शिष्टता पनि चाहिनेभन्दा अलि ज्यादा नै थियो । उनले दगुरेर गई उसको निम्ति सर्बत ल्याइदिए, अनि उसको रुमाल खस्दा पनि झटपट टिपेर दिएका थिए । ग्राफले कमलपित्तको रोगी जस्तो देखिने एक युवकको हातबाट कुर्सी खोसेर उसलाई त्यसमा बस्न दिए । त्यो ख्याउटे युवकले पनि विधुवाको लागि नै भनेर त्यो कुर्सी ल्याएको थियो । यस तरहका सानातिना कैयन् कुराहरू उनले गरेका थिए ।
प्रेमाभिव्यक्तिका यस्ता कामकुराहरूले विधुवामाथि कत्ति पनि असर नपारेको देखेर ग्राफले उसैको मनोरञ्जनको लागि नाना थरीका किस्सा चुट्किलाहरू सुनाउन शुरु गरे । उनले के पनि विश्वास दिलाए भने उसले हुकुम मात्रै दिनुपर्छ उनी टाउकोले टेकेर उभिन, भाले बासे झै बास्न, झ्यालबाट बाहिर हाम्फाल्न अथवा बरफ जमेको नदीमा जहाँनेर चिरा परेको हुन्छ त्यहाँ नै उफ्रेर ज्यान फाल्न समेत तैयार भैहाल्ने छन् । ग्राफको यस्तो भनाइको असर पर्यो पनि । तरुनी विधुवा दङ्ग परी र खितिखिति हाँस्न लागी ! उसका सेता र सुन्दर दन्त लहर पनि बेलाबेलामा टल्किन लागे । आफ्नो सहचरसित ऊ निकै प्रसन्न भई । ग्राफलाई चाहिं ऊ झन् झन् मन पर्दै गइरहेकी थिई । क्वाड्रिल समाप्त हुन पाउँदा नपाउँदै उनी त उसलाई प्रेम समेत गर्न लागिसकेका थिए ।
क्वाड्रिल नाच समाप्त भयो । त्यस इलाकाको सबभन्दा धनी बिर्तावालको ढाक्रे छोरो तरुनी विधुवाको नजिकै आयो । अठार वर्षको त्यो युवक विधुवाको आसिकी थियो । त्यही कमलपित्तको रोगी नै थियो त्यो जसको हातबाट तुर्बीनले कुर्सी खोसेर लिएका थिए । विधुवाले उससित ज्यादै रुखो व्यवहार गरी । ग्राफले विधुवाको मनमा जस्तो उत्तेजना पैदा गरिदिएका थिए त्यसको दशौं हिस्सा पनि त्यस ठिटोले उत्पन्न गर्न सकेको थिएन ।
“तपाई पनि बतासे मान्छे नै हुनुहुँदो रैछ !”- उसले भनी । उसका आँखा चाहिँ ग्राफको पिठ्यूमा परिरहेका थिए र उनले लगाइरखेको कुर्ता सिउनमा कति गज सुनौला धागो खर्च भएको होला भनेर पनि ऊ मनमनै हिसाब गरिरहेकी थिई ।- “बतासे मान्छेको बतासे कुरा न हो । स्टेजमा सैर गराउने र चक्लेट पनि ल्याउने वचन दिनुभएको होइन र तपाईले ?”
“म त आएकै हुँ नि, आन्ना फ्योदोरोभ्ना ! तपाई पो घरमा हुनुहुन्थेन त । मैले तपाईको लागि बढिया चक्लेट पनि त्यहाँ छाडेको छु ।”- युवकले जवाफ दियो । ऊ निकै अग्लो कदको भए तापनि उसको स्वर चाहिँ झीनो थियो ।
“जहिले पनि कुनै बहाना बनाउन त पास नै हुनुहुन्छ है तपाई । मलाई तपाईका चक्लेटहरू पनि चाहिया छैनन् ! कृपया कतै यस्तो नसम्झनुहोला कि…”
“म देख्दैछु, आन्ना फ्योदोरोभ्ना ! म प्रति तपाईको व्यवहार पनि बदलिएको छ । यसको कारण पनि मलाई थाहा छ । तपाईको यस्तो चाला राम्रो होइन !”- उसले भन्यो । ऊ अरु पनि केही थप्न चाहन्थ्यो, तर उत्तेजनाले गर्दा उसका ओंठ काम्न लागे र उसले त्यसभन्दा बढ्ता केही बोल्न सकेन ।
उसको कुरामा आन्ना फ्योदोरोभ्नाको ध्यान पटक्कै गइरहेको थिएन । ऊ त तुर्बीनलाई नै नियालेर हेर्दै थिई । नाच-समारोहमा आयोजक घरपट्टि सरदारसाहेब ग्राफको छेउमा आए । थोते भए तापनि उनी ज्यादै रवाफिला, हट्टाकट्टा र बुज्रुक थिए । सरदारसाहेबले ग्राफको हात समातेर उनलाई आफ्नो लेखपढ गर्ने कोठामा लिएर गए । त्यहाँ धुम्रपान र मदिराको पनि चाँजोपाँजो मिलाइएको थियो । तुर्बीन बाहिर निस्कनु मात्रै के निस्केको थियो, आन्ना फ्योदोरोभ्नाको निम्ति नृत्यशाला एक तमासको उराठलाग्दो हुन गयो । आफ्नी एक पुरानो संगिनीलाई डोर्याएर
ऊ पत्ति सोझै श्रृङ्गारकक्षमा पसी । उसकी संगिनी चाहि दुब्ली-पातली र अधबैंसे बुढीकन्या थिई ।
“कसो ? मन पप्यो त ?”- संगिनीले सोधी ।
“तर जहिले पनि पछि लागेको लाग्यै छ !”- आन्तना फ्योदोरोभ्नाले जवाफ दिई र ऐनाको अगिल्तिर गएर आफ्नो रुप निहार्न लागी ।
ऊ अलिकति लज्जाइरहेकी थिई । उसको अनुहार रन्किएको थियो र आँखा चाहिँ मुस्कुराइरहेका थिए । एकाएक कुर्कुच्चा उचालेर ऊ बुढीऔंलाको बलमा एउटै मात्र गोडामा उभिई र चुनावको बेला आफूले देखेका ब्यालेनर्तकीहरूको नक्कल गरेर खितिखिति हाँस्दै फनक्क घुमेर दुवै ऐडी ठोकी र बुर्लुक्क उफ्रिई ।
“थाहा छ के ? उसले सम्झनाको लागि भनेर कुनै चीज मागेको छ ।”- उसले संगिनीलाई भनी ।-“तर उसले केही पनि पाउने छैन । केही पनि दि-इ-ने-छ-इ-न !”- अन्तिम दुई शब्द लेग्रो तानेर गाउँदै उसले औंला नचाउँदै भनी । हातमा उसले मुलायम छालाको पञ्जा लगाइराखेकी थिई ।
सरदारसाहेबले तुर्बीनलाई लेखपढ गर्ने जुन कोठामा लिएर गएका थिए त्यहाँ किसिम किसिमका सदिरा, शैम्पेन, भोड्का र सितन-भुटुवा आदि राखिएका थिए । चुरोटको धुवाँले कोठा गुम्म भरिएको थियो । अभिजात वर्गका मानिसहरू कोही उभिएर त कोही बसेर चुनावको चर्चा-परिचर्चा गरिरहेका थिए ।
“हाम्रो जिल्लाका सबै भद्र-भलाद्मीहरूले उसलाई चुनेर कदर गरेका छन् भने”- पुनर्निर्वाचित पुलिस-इन्सपेक्टर भन्दै थियो । ऊ मात लागेर चूर भैसकेको देखिन्थ्यो । “समाजप्रति आफ्नो कर्तव्य पालना गर्नमा उसले आनाकानी गर्न हुँदैनथ्यो ! यस्तो आनाकानी गर्ने उसलाई कुनै अधिकार छैन !..”
ग्राफले कोठामा प्रवेश गर्नेबित्तिकै कुराको मेसो नै बदलियो । सबैलाई ग्राफसँग परिचित गराइयो । खास गरी पुलिसको इन्स्पेक्टर दुवै हातले निकै बेरसम्म ग्राफको हात मिच्दै रह्यो र बारम्बार नाच सकिएपछि त्यसै साँझ एउटा नयाँ भट्टीपसलमा आयोजना गरिने जमघटमा पनि सामेल हुने निम्तो दोहोर्याउँदै थियो । “त्यहाँ भोजको प्रबन्ध गरिएको छ र जिप्सीहरूको सहगान पनि हुँदैछ ।”- उसले भन्यो । ग्राफले उसको निम्तो स्वीकार गरिहाले र उसको साथमा त्यहाँ कैयौं गिलास शैम्पन पनि घुट्क्याए ।
“महाशय हो, तपाईहरू किन नाचिरहनुभएको छैन ?”- ग्राफले लेखपढ गर्ने कोठाबाट निस्कदै प्रश्न गरे ।
“हामीलाई नाच्न-साच्न आउँदैन !” – पुलिस-इन्स्पेक्टरले हाँस्दै जवाफ दियो ।- “हामीलाई त रक्सी भए पुगिहाल्छ, ग्राफ ! फेरि यी ठिटीहरू मैले देख्दादेख्दै त हलक्क हुर्केका हुन् नि सबै ! कहिलेकाही त म पनि एकोसाएज-नाचमा सरीक हुने गर्छु, ग्राफ ! अझैं पनि । थोरबहुत नाच देखाउन सक्छु हो, ग्राफ !..”
“ल त हिन्नोस् ! अहिले नै नाचौं न !”-तुर्बीनले भने ।-“जिप्सीहरूको गानाबजाना सुन्नुभन्दा पहिले यहाँको मजा पनि लिइहालौं न !”
“ठीक छ ! महाशय हो, हिन्नोस् ! घरपट्टिलाई खुशी पार्न त नाचौं कमसेकम !”
मात लागेर रातो देखिने अनुहार भएका तीन जना कुलीन सज्जनहरू उठे । नाच शुरु भएदेखि नै उनीहरू लेखपढ गर्ने कोठामा बसेर रक्सी धोक्दै थिए । कसैले मुलायम छालाको कालो त कसैले चाहिँ रेशमको सेतो पञ्जा लगाए । तीनै जना नृत्यशालातर्फ जान तैयार भैहाले । परन्तु त्यतिखेर नै कमलपित्तको रोगी युवक त्यहाँ दाखिल भयो । उसलाई देखेर सबै टक्क रोकिए । युवकको अनुहार रगत सुकेर पहेंलो देखिन्थ्यो र उसका आँखामा पनि आँसु टलपलाइरहेको थियो । ऊ सरासर तुर्बीनको बगलमा पुग्यो ।
“के ठान्नुभएको हो तपाईले आफैलाई ? ग्राफ हुनुहुन्छ भन्दैमा के जसलाई पनि धक्का दिएर हिंड्न पाउनुहुन्छ र ? के यो हाटबजार हो र कुनै ?”- उसले भन्यो । उसको सास बढ्दै गइरहेको थियो । -“यो त बिल्कुलै अभद्र व्यवहार पो हो !..”
उसका ओंठ काम्न लागे र उसले नचाहँदा नचाहँदै पनि वाक्य घाँटीमा नै रोकियो ।
“के हो ?”- तुर्बीनले कड्केर भने । उनको आँखिभौं एक्कासि खुम्चिन पुग्यो । -“के भन्छस् हँ, छाउरा ?” तुर्बीनको स्वर झन् चर्को भयो । उनले युवकको दुवै हात निमोठेर यसरी थिचे कि युवको अनुहार नै अपमानको कारणले होइन, बरु डरको कारणले गर्दा रातो भयो । तुर्बीन चाहिं कड्केर भन्दैथिए ।-“लड्ने नै निहुँ खोजेको होस् त ? ल आइज, लडौं! म तैयार छु !”
तुर्बीनले उसको हात छोडिदिनेबित्तिकै दुई जना भलादमीहरूले उसको पाखुरा समातेर उसलाई कोठाको पछिल्तिर दैलोतिर धकेल्दै लिएर गए ।
“मगज त ठाउँमा छ के ? धेरै रक्सी घुट्क्याउनुभो कि, कसो ? बुबाले थाहा पाइबक्सेला है । के भो तपाईलाई ?”- उनीहरूले युवकलाई भने ।
“मैले रक्सी खाएको छैन । यो धक्का दिँदै हिड्छ, तर माफी चाहिँ माग्दैन । निकै बढेको रैछ । गधा कहींको !”- युवकले झीनो स्वरमा भन्यो र साँच्ची नै सुँक्क सुँक्क गर्न पनि थालिहाल्यो ।
उसको कुरातर्फ कसैले ध्यान नै दिएन र उसलाई घरसम्म पुर्याइयो ।
“भैहाल्यो, ग्राफ ! छोडिदिनोस् !” -पुलिस-इन्स्पेक्टर र जाभालशेभ्स्कीले तुर्बीनलई शान्त गराउँदै भने । -“त्यो त अझै केटाकेटी नै छ । घरमा अझै पनि उसको पिटाई हुन्छ सोह्र सत्र मात्रै त भयो भर्खर ! कुन्नि के जङ चलेछ उसलाई आज र यस्तो उत्पात मच्चाउन तम्सियो ? सके मात लागेर होला ! उसका बाबु चाहिँ ज्यादै भलादमी छन् र उनको ठूलो मानमर्यादा पनि छ । चुनावमा उनी हाम्रा उम्मेदवार छन् ।”
“ल, भैगो ! लड्न-भिड्न चाहन्न भने भर्सेलो नै परोस् !..”
त्यसपछि ग्राफ नृत्यशालामा फर्किए र फेरि त्यही तरूनी विधुवाको साथमा एकोसाएज-नाच नाच्न लागे । जो अध्ययन-कक्षबाट उसको पछि लागेर नाच्न आएका थिए तिनीहरूको नाच देखेर तुर्बीनलाई हाँसो आइरहेको थियो । एकपल्ट पुलिस-इन्सपेक्टरको खुट्टा चिप्लियो र ऊ नाचिरहेका जोडीहरूको बीचमा बुङ्ग लड्यो । ग्राफ जोडले खित्का छोडेर हाँस्न लागे । सारा कोठाभरि नै उनको हाँसो गुञ्जायमान भयो ।
ग्राफ जतिखेर अध्ययन कक्षमा गएका थिए त्यतिखेर आन्ना फ्योदोरोभ्ना आफ्नो दाजुकहाँ गई । कुन्नि किन हो, ग्राफप्रति बेवास्ताको भाव झल्काउनु पर्ने कुरा उसले सोधी “दाजु, बताउनुहोस् न ! को हो नि यो हुस्सार जो मसँग नाच्दैथियो ?”
अश्वारोही दलको अफिसरले जाने-बुझे जति कुरा बताउँदै के भने भने तुर्बीन बडो नाउँ चलेका हुस्सार हुन् र बाटोमा पैसा चोरी भएकोले मात्र उनी त्यस शहरमा रोकिएका हुन् स्वयं आफूले पनि ग्राफलाई एक सय रुबल सापटी दिएको तर त्यो रकम ज्यादै नै थोरै भएको कुरा पनि उसले बतायो र बहिनीले उसलाई अरु दुई सय रुबल सापटी दिन सक्छिन् कि भनेर पनि सोध्यो । तर जाभाल्शेभ्स्कीले यस बारेमा कसैलाई पनि नबताउने र खासगरी ग्राफसित त कुरै पनि नगर्ने अनुरोध गर्यो । आन्ना फ्योदोरोभ्नाले त्यसै साँझ पैसा पठाइदिने र यो कुरा कसैलाई पनि नबताएर गोप्य राख्ने समेत वचन दिई । परन्तु एकोसाएज-नाच नाच्दाखेरि ग्राफलाई जति चाहिन्छ त्यति नै पैसा स्वयं दिने कुरा गर्न उसको मनमा तीव्र इच्छा जाग्यो । परन्तु ग्राफलाई यसबारे प्याच्च भनिहाल्न चाहिं उसले निकै बेरसम्म आँट गर्न सकिन । शुरुमा बडो प्रयत्न गरेपछि उसले कुरा झिकी ।
“तपाईले बाटोमा कुनै दुर्घटना झेल्नुपरेको कुरा मेरा दाजु भन्दै हुनुहुन्थ्यो । तपाईलाई पैसाको पनि खाँचो छ रे ! गर्जो टार्नु नै छ भने मसँग नै सापटी लिनुभए पनि त हुन्छ ? मलाई बडो खुशी लाग्नेछ !”
किन्तु यति भन्दाभन्दै आन्ना फ्योदोरोभ्ना लाजले भुतुक्क भई र एक किसिमको भयले उसको मुख पनि रातो भयो । ग्राफको अनुहार पनि एकाएक निदाउरो र मलिन देखियो ।
“तपाईको भाइ महामूर्ख रैछ !”- उनले रुखो स्वरमा भने । -“तपाईलाई थाहा नै छ, यदि कुनै मर्दले अर्को मर्दको अपमान गर्छ भने उसलाई द्वन्द्रयुद्धको लागि हाँक दिइन्छ । तर कुनै आइमाईले मर्दको अपमान गरी भने त्यसको नतिजा के हुन्छ नि ? थाहा छ के तपाईलाई ?”
लाजले गर्दा बिचरी आन्ना फ्योदोरोभ्नाको कान र गर्दन समेत रातै भयो । अकमक्क परेर उसले आँखा भुइँतिर झारी र मुखले पनि एक लवज नबोलेर चूप लागिरही ।
“यस्ती आइमाईलाई सबैको सामुन्ने म्वाइँ खाइन्छ !”-ग्राफले झुकेर उसैको कानमा खासखुस गर्दै भने । -“तपाईको हातसम्म चुम्ने मलाई अनुमति मिलोस् !”-उनले निकै बेर चुप्पी साँधिसकेपछि सुस्त-सुस्त भने । त्यस तरुनी विधुवाको व्याकुलता देखेर ग्राफको मनमा दया जागेको थियो ।
“ओह ! अहिले त नाइँ !”- आन्ना फ्योदोरोभ्नाले लामो सास फेरेर भनी ।
“फेरि कहिले त ? भोलि त सबेरै म हिंडि पनि हाल्छु ।… तपाईले भने यो ऋण चुकाउनु नै छ !”
“अँ, म यहाँ नै कसरी ऋण तिर्न सक्छु र ?”-आन्ना फ्योदोरोभ्नाले मुस्कुराउँदै भनी ।
“त्यसो हो भने आजै तपाईंसँग भेट्ने आज्ञा मिलोस् ! मौका त म आफैं खोजिहालुँला ।”
“कसरी तपाईं मौका खोज्नुहुन्छ नि?”
“यो तपाईंको चासोको विषय होइन । तपाईसँग भेट्न त म जे पनि गर्न तैयार हुन सक्छु ।… तपाईंलाई कुनै आपत्ति त छैन ?”
“छैन !”
एकोसाएज नाच समाप्त भयो । त्यसपछि एकपल्ट फेरि मजूर्का-नाच नाचियो । ग्राफले निकै चमत्कार गरेर देखाए : कहिले उनी उडिरहेको रुमाल पक्रन्थे, कहिले एउटा घुँडा टेकेर उभिन्थे, अनि कहिले चाहिं वार्सावासीहरूले जस्तै गरेर दुवै एडी ढ्याक्क गरेर जोड्थे । जो बुढापाकाहरू मेचमा बसेर तास खेलिरहेका थिए ती समेत उठेर नाच हेर्न आए । नृत्यकलामा सर्वोत्कृष्ट मानिएको अश्वारोही सेनाको अफिसरले पनि आफ्नो हार स्वीकार गर्यो । त्यसपछि भोज शुरु भयो । अनि अन्तिमपल्ट “ग्रोस फाटेर” नाच चल्यो र पाहुनाहरू बिदावारी हुन लागे । ग्राफका आँखा चाहिं तरुनी विधुवालाई नै ताकिरहेका थिए । उसको खातिर बरफमा परेको भाँजोमा हाम्फाल्न समेत तैयार भएको जुन कुरा उनले गरेका थिए सो अतिशयोक्ति कदापि थिएन । त्यो मायापीर्ति हो वा लहड या खालि हठ नै किन नहोस्, त्यतिखेर चाहिँ उनको सारा आन्तरिक इच्छा र अभिलाषा एउटै कुरामा मात्र केन्द्रित थिए- त्यस आइमाईलाई एकान्तमा भेट्ने र उसलाई प्यार गर्ने । आन्ना फ्योदोरोभ्ना घरपट्टिनीसँग बिदाबारी भैरहेको देख्नेबित्तिकै उनी दगुर्दै नोकरचाकरहरू बस्ने कोठामा पुगे र त्यहाँबाट भुवादार ओभरकोट समेत नलगाएर सरासर आँगनमा त्यस ठाउँमा दाखिल भै हाले जहाँनेर पाहुनाहरूका बग्गीहरू राखिएका थिए ।
“आन्ना फ्योदोरोभ्ना जाइत्सेभाको बग्गी ल्याऊ !”- उनले जोडले कराएर भने । एउटा बडेमानको अग्लो बग्गी ढोकातिर जान लाग्यो । त्यसमा चारजना बस्ने ठाउँ थियो र बत्तीहरू पनि जोडिएका थिए । “पर्ख !”-उनले कोचवानलाई रोके र घुँडासम्म हिउँको रासमा टेक्दै बग्गीतर्फ दगुरे ।
“के चाहियो ?”-कोचवानले सोध्यो ।
“म बग्गीमा चढ्न चाहन्छु !”-ग्राफले जवाफ दिए । बग्गी चल्दाचल्दै ढोका खोलेर दगुर्दै त्यसमा चढ्ने जमर्को गर्दै कराए “रोक् भन्या बग्गी, गधा साले !”
“भास्का ! पख् !”-कोचवानले टहलुवालाई डाक्यो र लगाम तानेर घोडाहरूलाई रोक्यो ।- “अर्काको बग्गीमा किन चढ्न लाग्नुभो, हजुर ? यो बग्गी त हजुरको होइन ! श्रीमती आन्ना फ्योदोरोभ्नाको बग्गी पो हो त यो!”
“चूप लाग्, ए चण्डाल ! ला,तँलाई एक रुबल नै भयो ! तल ओर्लेर ढोका थुनिदे !”- ग्राफले भने । तर कोचवान आफ्नो ठाउँबाट हटेन । ग्राफले आफै सिँढी माथि उठाए र झ्याल खोलेर जसोतसो ढोका चाहिँ थुनिदिए । बग्गीभित्र डढेको न गन्हाएको जस्तो एक तमासको गन्ध आइरहेको थियो, यस्तो दुर्गन्ध पहिला गोटावाला गद्दा हालिएको पुरानो बग्गीबाट अक्सर आउनेगर्छ । घुँडासम्म आउने हिउँमा हिँडेको हुँदा ग्राफका गोडा भिजेका र चिसा थिए । उनले हलुका बूट र घोडचढीको कसिएको सुरुवाल लगाइराखेका थिए । त्यसैले उनको जीउ नै थर्थर कामिरहेको थियो । कोचवान आफ्नो आसनमा बसेर बडबडाइरहेको थियो र अहिलेको अहिल्यै ओर्लेर आउनेछ भन्ने लागिरहेको थियो । तर ग्राफले उसतर्फ कत्ति पनि ध्यान दिएनन् र उसको बडबड पनि सुनेनन् । उनको अनुहार रन्किएर आएको थियो र उनको मुटु पनि बेसरी धुक्धुक गर्दै थियो । कठ्याङ्ग्रिएको औंलाले उनले पहेंलो डोरी समाते र बगलको झ्यालबाट टाउका बाहिर निकालेर हेर्न लागे । उनी सम्पूर्ण रुपले नै चिरइच्छित घडीको प्रतीक्षा गर्दैथिए । उनले यसरी धेरै बेर पर्खिनु पनि परेन । घरको द्वारमण्डपनेरै कसैले कराएर भनेको सुनियो “जाइत्सेभाको बग्गी खै !” कोचवानले लगाममा एक झट्का दियो र बग्गी ठूल्ठूला कमानीहरूमाथि ढलपल गर्दै अगिल्तिर सर्यो । बग्गीको झ्यालबाट बगलको घरमा झलझलाकार झ्यालहरू ओझेल हुँदै गइरहेका देखिए ।
“हेर् है, टहलुवालाई मेरो बारेमा केही पनि नभन् ! सुन्दैछस् के, हरामी ?” अगिल्तिरको सानो खिर्कीबाट टाउको निकालेर ग्राफले कोचवानलाई चेतावनी दिए ।- “चुइक्क मात्र बोलिस् भने दनक पाउनेछस् ! मुखमा बुजो हालेर बसिस् भने दश रुबल बक्सीस पाउलास् !” ग्राफले ढ्याम्म गरेर झ्याल बन्द गरे । ठीक त्यतिखेर नै बग्गी पनि क्याच्च गर्दै टक्क रोकियो । ग्राफ एक कुनामा टाँसिन पुगे । उनले सास समेत रोकेर राखे र आँखा पनि चिम्म बन्द गरे । कतै कुनै बाधा त आइपर्ने होइन भनेर उनी असाध्य नै हड्बडाइरहेका थिए । बग्गीको ढोका खुल्यो, एक-एक गरेर सिंढीका खुड्किलाहरू पनि टक-टक-टक खुले । अनि एउटी महिलाको जम्फरको सरसराहट सुनियो । बग्गीभित्र जहाँ पहिले ढुसीको गन्ध व्याप्त थियो त्यहाँ अब चमेलीको अत्तरको मगमग बास्ना आउन थाल्यो । हलुका पाइला सारेर सटसट खुड्किलाहरू चढेको आवाज आयो र आन्ना फ्योदोरोभ्ना आफ्नो पछेउराको फेरले ग्राफका गोडाहरूलाई मुसारे झैं गरी अगाडि सरी र लामो सास फेर्दै उनको बगलमै थ्याच्च बसी ।
के उसले ग्राफलाई देखिसकेकी थिई त ? यो कुरा त कसैले पनि बताउन सक्दैन । स्वयं आन्ना फ्योदोरोभ्ना पनि बताउन असमर्थ होली । परन्तु जब ग्राफले उसको हात समातेर अब त तपाईंको हातमा जरुर पनि चुम्बन गरुँला भनी सुस्त-सुस्त भने, त्यतिखेर पनि ऊ झस्केकी थिइन । उसले केही पनि जवाफ दिइन । उसले आफ्नो हात मात्र फ्यात्त उनको हातमा राखिदिई । पञ्जा लगाइराखेको ठाउँभन्दा निकै माथि खालि ठाउँमा ग्राफले तारन्तार चुम्बन गरे । बग्गी पनि चल्न लागिहाल्यो ।
“केही त भन न ! रिसाएकी त छैनौ तिमी ?”- ग्राफले भने ।
आन्ना फ्योदोरोभ्ना खुम्चिएर आफ्नो कुनामा बसिरही । अनि एक्कासि कुनै कारण नै नभईकन उसका गहभरि आँसु टलपलायो । उसले ग्राफको छातीमा आफ्नो टाउको थपक्क राखिदिई ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।