‘हेर हेर… । काठमाडौं गएको एक वर्ष पनि पूरा हुन पाएको छैन, माथ्लोघरे गोले माईले घाँटी नै छपक्क छोप्ने गरी कति धेरै सुन लाएर गाउँमा आइपुगिन् है ।’ बिहानको खाजा एक बटुको जाँड आधिजस्तो एक स्वासमै स्वाट्टा तान्यो र राम्ररी घुटुक्क निल्न नपाउँदै हतार हतारमा स्याङतान बुढाले आफ्नो मनको कुरा घिसिङ बबुलाई पोख्यो ।

‘ए बाजेको त… ! पारिपाखाको योन्जनको तिउरीले त झन् काठमाडौं गएकी चार महिनामै दुई तोला सुन जोडेकी रे । हिजो अस्तिसम्म रित्तै कान हल्लाउँदै हिँडेकी तिनकी आमा चाहिँले पनि हेर्नु न छोरी चाहिँले पठाएकी बेरुवा सुन कानलाई नै चुँडाएर लैजालाजस्तो गरेर लोती झुण्डिँदा पनि लाएर हिँडिरहेकी ।’

‘तिनीहरु पनि यिनकै दौतरी नै त हो नि । खोई यी लाटीचाहिँ १६ वर्षमा पसिसकी, तै पनि केही सुर छैन ।’ स्याङतान बुढाले अगेनामा भैँसी माउलाई बसाएको खोले चलाउँदै अर्को बटुकोमा जाँड हालेर घिसिङ बाबुलाई दिन लागेकी नातिनीको मुखतिर हेर्दै बकबकायो ।

‘तिनीहरुको त आफन्तहरु काठमाडौंमा छन् र पो त यस्तो सुविस्ता भयो बाजे । खै हाम्रो त कोही पनि छैनन् । अब त म नै पचास वर्ष कट्न लागि सक्यो आजसम्म काठमाडौंको मुख देखेको छैन । बिचरा म्हुईसाङ मैच्याङ त भखरै १६ वर्ष टेक्दै गरेकी बच्चीलाई के भन्ने ?’ स्याङतान बुढाको बिरक्तिएको मनलाई फकाउने मेलो झिक्नको लागि योन्जन बाबुले कुरा बुन्यो ।

यकिना अगाध

‘हुन त हो है बबु । उहिले एकपटक रक्सीको भाँडो किन्नको लागि जानु पर्यो भनेर तयार भएको थिएँ, खोई पुग्दो पैसा पनि जुटाउन सकेन, बल्ल तल्ल यसो जुटाएको थिएँ, जानलाई कोही साथीभाइ नै पाइएन । त्यहाँसम्म पुग्न नसकी यस्सै जीवन गयो ।’ स्याङतान बुढाले पनि आफ्नो मनको बह पोख्दै सोध्यो, ‘होइन नाती बबु, त्यो गलैंचा भन्ने चाहिँ कस्तो चिज हो हँ ?’

‘के थाहा र बाजे ! गोलेघरे माईलाई सोध्दा त तिनले भन्थिन् कि उहिलेको थारे (चर्खामा बुनेको कपडा)जस्तो हो रे ।’

‘चर्खामा त पैसा आउँदैन थ्यो । यो चिजमा चाहिँ असाध्यै पैसा हुँदो रहेछ हगि । हुन त उहिले चर्खा बुनेर बेच्नलाई किन्ने मान्छे नभएर पनि होला है ?’ स्याङतान बुढाले अघिको एक बटुको जाँड रित्यायो । यत्ति भए त पुग्यो भनेझैं गरी पेट सुमसुम्याँदै कम्मरमा पटुको बाँधेर घिसिङ बाबुसँगै खोरियातिर हँसिया बोकेर ओर्लियो ।

हाम्रो देशको गाउँघरको चलन नै यस्तो हुँदै आयो कि रुपैयाँ पैसा, सम्पत्ति कमाउन सक्ने पौरखी छोरा, छोरी, नातानातिनी घरको नि प्यारो हुने अनि घरगाउँका सबैको सम्मानित व्यक्ति पनि बन्ने । पैसा कमाउन नसक्नेहरुलाई हेप्ने, कराउने र श्राप्ने, दुर्व्यवहार गर्ने । म्हुईसाङले बाजेहरु निस्केर गइसकेपछि सम्झिइन्, ‘वर्षभरिमा पनि एकसरो लुगा फेर्न नसक्ने आफ्नो बुबा । उहिले विवाहमा एकचोटी नयाँ फरिया पहिरिएदेखि यता सधैं टालटुल पारेको बाहेक नयाँ फरिया फेर्न नपाएकी आमा । सेताम्मे फुलेको कपाललाई छोप्न लगाउँदा च्यातेर धुजाधुजा भएकोले छोप्न नसकेर माकुरोको जालोजस्तो भएको हजुरबाको टोपी ।

जन्मिएदेखि यता एकमुठी तातो राम्ररी खान नपाएर भुँडी पिल्टिक्क निस्केर करङ नै करङ मात्र देखिने कुपोषित भाइ । फेरि तिनले सम्झिइन्, आफूले जस्तै दुःख बोकेर हुर्केकी गोलेघरे माई र योन्जनघरे तिउरी माईली । हेर्दा हेर्दै तिनको आँखाले देख्यो, हिजोअस्ति मात्रै नाङ्गै भएको ती दुईटीको घाँटी पहेंलपुर सुनले लपक्कै छोप्दै गएको । तिनीहरुकी बाउआमाले नयाँ नयाँ लुगा फेरेको । गाउँघरमा अहिले ती दुईटीको प्रशंसाभन्दा अरु कसैको कुरा छैन । मानौं कि त्यो गाउँमा अरु कोही पनि मान्छे नै छैनन् । बुढा, बुढी, युवायुवती, परपाहुना जोसुकै होऊन्, ती दुईटीमाथि नै मन्त्रमुग्ध भइरहेका छन् । फेरि तिनले सम्झिइन्, अघि मात्रै बाजेले घिसिङ बाबुसँग गरेको कुरा, ‘तिनीहरु पनि यिनकै दौतरी नै त हो नि । खोई यी लाटीचाहिँ १६ वर्षमा पसिसकी तै पनि केही सुर छैन ।’

माबार (महाभारत) डाँडाको दक्षिणी भेगमा रहेको यो लाप्से गाउँको कुनै पनि गाउँलेले आजसम्म काठमाडौंको भूमि टेकेका छैनन् । घाँसदाउरा, बाख्रा कुखुरा, गाईभैंसी, मेलापात गर्दागर्दै आजसम्मको समय बित्यो । काठमाडौं पुग्नको लागि यिनीहरुमा कुनै आतुरी छैन । खानपिन र लत्ताकपडाको लागि बारी, खोरियाको बालीले पुन नपुग वर्ष टार्दै आइरहेका छन् । त्योभन्दा ठूलो सपना पनि यिनीहरुले कहिल्यै देखेनन् । वारीपारी, तलमाथिको गाउँघर र आफन्तकोमा हुने छेवार, विवाह, घेवामा जानु पर्यो भने गाउँको कसैको नयाँ लुगा सापटी लाएर परपाहुना जाने गर्दथे । यिनीहरुको सामूहिक रुपमा मन दुखाउने कुरा चाहिँ एउटै थियो, त्यो हो जात्रामात्रा । त्यो बेला चाहिँ कसैसँग पनि नयाँ कपडा जगेडा हुँदैन थियो र सापटी पाइन्न थ्यो । नयाँ कपडा हुनेहरु आफैं पनि जात्रामा जाने भएकोले यसो हुने गर्दथ्यो । यी बाहेक यो गाउँमा गुनासो भन्ने केही थिएन ।

यस पटकको दसैंमा गोलेघरे माई र योन्जनघरे तिउरी आइपुगिन् । घरकालाई थाहै नदिई ती दुईटीलाई सुटुक्क भेट्न गइन् म्हुईसाङ । अहो ! अस्ति गाउँमा हुँदा आफूले जस्तै टाल्दा टाल्दा टाल्ने ठाउँ नै नभेटाएको लुगा लाएर हिँड्ने ती दुईटी टिसर्ट र पाइन्टमा कत्ति राम्री देखिएकी । चैत बैशाखमा घामको तापले फुङ्ग उडेको जंगलजस्तो देखिने अनुहार पनि कस्तरी झकझक बल्ने भएछ । गाउँमा हुँदा लठ्ठा परेर जुम्राको झुत्ति खेल्ने कपाल पनि सर्लक्क परेको मात्र होई खरबारीमा बतास आउँदा सरसराएर हल्लिने बाबियो जत्तिकै सलसलाउँदो । ठ्याक्कै हजुरआमाले सुनाउने कथाको परीजस्तै । कत्ति राम्री त ! ती दुईटीको अनुहार, जिउडाल देखेर म्हुईसाङ तिनछक्क परेर हेरेको हेर्यै भइन् ।

‘ओई ! के सोचेर बसेकी ?’ आफूहरुलाई देख्दा ट्वाल्ल परेर हेरिरहेकी म्हुईसाङको गालामा प्याट्टा हिर्काएर तिउरीले सोधिन् ।

‘म… म… म पनि काठमाडौं जानु पर्यो । तिमीहरुसँगै…. ।’ ती दुईटी आफ्नै साथी भएकी भए पनि तिनीहरुको हाउभाउ देखेर नयाँ मान्छेको अगाडि याचना गरेझैं गरी हडबडाएर म्हुईसाङले बिन्ति बिसाइन् ।

‘लाटी… ।’ आफ्नै साथी म्हुईसाङको तौरतरीका देखेर तिउरी र माई खित्का छाडेर हाँस्न थालिन् ।

‘हामीलाई त तेमाले मितबुबाले लानुभएको थियो । तँ मुलालाई कस्ले लिएर जानु र काठमाडौं पुग्नु ?’ ती दुईटीले जिस्क्याउन थालिन्, ‘गलैंजा बुन्ने सीप पनि छैन । के काम तँ मुलाकी ।’ तिउरीको बुबाले तेमाले दोङसँग मित लगाएका थिए । त्रिचालिस वर्ष जत्तिको त्यो मान्छे बाख्रा व्यापारी थियो । तिउरीको बुबा ताम्बा भएको कारण वारीपारीका आफन्तहरुसँग राम्रो सम्बन्ध थियो । गाउँघरमा खसी, बोका, बाख्रा खोज्नको सजिलो बनाउनको लागि त्यो बाख्रा व्यापारीले तिउरीको बुबासँग मित लाएको थियो । बाख्रा व्यापारी दोङ बुढाकाअनुसार उनको छोराको काठमाडौंमा गलैंजा कारखाना थियो । छोराको कारखानामा गलैंचा बुन्ने मान्छेको आवश्यकता पर्यो रे भनेर उनले मितको छोरी तिउरी र माईलाई लिएर गएको थियो । उनको मूल पेशा नै बाख्रा र केटीहरु खोज्नुमा हुन्थ्यो । यी बाख्रा व्यापारी दोङसँग स्याङतान बुढा अर्थात् म्हुईसाङको कुनै साइनो सम्बन्ध थिएन ।

‘लौन नि ! त्यसो नभनिदिनु न साथी हो ।’ म्हुईसाङले ती दुईटी साथीले जिस्क्याएको कुरा बुझिनन् र बिन्ति बिसाइन्, ‘तिमीहरुले जस्तै म पनि छिट्टै बुन्नलाई सिक्ने छु ।’

‘हेरौँला नि के हुन्छ ? काठमाडौँ फर्कने बेलासम्ममा….।’, ती दुइटीले एकअर्काको कानमा खासखुस कुरा गरिन् र भनिन्, ‘कसैलाई केही पनि जानकारी नदिनु । तिमीलाई मात्र खबर गर्छु ।’ साहुलाई काठमाडौंमा काम गर्ने नयाँ तरुनीको आवश्यकता भएको कुरा सम्झेर ती दुईटीको अनुहार उज्यालो भयो । म्हुईसाङ तामाको भाँडाजस्तै झकझकाउँदी थिइन् ।

गाउँमा दसैँ, तिहार सकियो । आइपुगेका पाहुना, आफन्तजनहरु आआफ्नो बाटो लागे । आज बिहानको मिरमिरे उज्यालोसँगै ती तीनवटीले पनि काठमाडौंको लागि बाटो समाए । माबार (महाभारत) डाँडाबाट जुकेपानी, भदौंरे हुँदै रोशीको मंगलटार ओर्लिए । तीनपिप्लेबाट झोलुङ्गे पुल तरेर डाप्चोङ गाङ (दाप्चा डाँडा) उक्लेर नमोबुद्ध छिचोल्यो अनि पनौतीको बसपार्कमा आइपुगे ।

‘ओई माई ! हेर न होई घरै पो गुरुरु गुडिरहेको छ ।’ घरजस्तो बस्तु गुडेको देखेर म्हुईसाङको सातो उड्यो ।

‘केको घर हुनु नि बस पनि नचिन्ने…. ।’ हिजो आफू पनि यसरी नै तिनछक्क परेको कुरो बिर्सेर माईले भनिन्, ‘मान्छेले पाखे भनेर गिल्याउँलान् । चुप लागेर बस । नबुझेको कुरामा तिमीलाई किन कुतकुती लाग्नु पर्ने ?’

‘अब उसलाई माई नभन्नू माया भन्नू । मलाई चाहिँ तिउरी होइन जिया भन्नू ।’, सभ्यताको नाममा सहरी वातावरणको कुरूपतामा आफ्नो गाउँको सोझो अनुहारको काँचुली फेरिसकेकी तिउरी बोलिन्, ‘गाउँको हाम्रो नाम सुन्यो भने यहाँ त कुकुरले पनि खिसी गर्छ । अबदेखि तिम्रो पनि नाम– प्रिती ।’

त्यहाँबाट बस भन्ने घरजस्तो बस्तुमा चढेर तिनीहरु काठमाडौं आइपुगे । म्हुईसाङले बसमा बस्दा कम्ति सकस ब्योहोर्नु परेनन् । बसबाट नउत्रेसम्म आफू बसेको सीट पिङको डोरीलाई झैं हातले नफुत्कने गरी बेस्सरी समाइन् । गुड्दै गरेको बस ठाउँठाउँको खाल्टाखुल्टीमा कोल्टे पर्दा पल्टिन्छ कि भन्ने सोचेर आफूतिर यस्सो उठाउन खोजेर आड दिइन् । रत्नपार्कमा आइपुगुन्जेलमा तिनी पसिनाले निथ्रुक्कै मात्र भिजिनन्, हत्केलामा ठेला उठेर भत्भती पोल्न थाल्यो ।

‘अरे ! यो बस भन्ने बस्तुको पनि मान्छे, गाई बाख्राको जस्तै ससाना बच्चाहरु हुँदा रहेछन् ।’ रत्नपार्कबाट पुतलीसडक हुँदैं मैतीदेवीसम्म हिँडेर जाँदा कहिल्यै नदेखेको ट्रक, बस, ट्याक्सी, मोटरसाइकल, साइकल देखेर म्हुईसाङ अक्मकमा परिन् ।

‘बिचरा ! यी चाहिँ कहिले ठूलो हुने होला ?’ एक जना मान्छे मात्र चढेर डिल्लीबजार ओरालो झरेको साइकिल देखेर माईलाई सोध्नको लागि तिनको हात यस्सो तानिसकेकी थिइन्, तिनले अघि तिउरीले भनेको कुरा सम्झिइन्, ‘मान्छेले पाखे भनेर गिज्याउँछन्, नचाहिँदो कुरा नसोध्नु ।’

झमक्क साँझ पर्दै गर्दा ती तीनवटी डेरा पुगे । मैतीदेवीमा रहेको उनीहरुको डेरा राम्रै बन्दोबस्तको थियो । धारामा गएर तिनीहरुले हात, मुख धोए । माइ भात पकाउने मेसोतिर लागिन् ।

‘तिमीहरुले खान पकाउने गरेकी छैनौ र ?’ चुल्हो नदेखेकी कारण म्हुईसाङले तिउरीलाई सोधिन् ।
‘लौ यो चाहिँ के हो नि ? देखेनौ र ? ग्याँसको चुल्हो भनेको यही त हो नि ।’ तिउरीले म्हुईसाङलाई सम्झाइन्, ‘एक दुई दिनमा तिमीले नि सबै बुझ्ने छ्यौ ।’ तरकारी लिन तिउरी पसलतिर गइन् । कुकरमा चामल बसाएर माई पनि दाल किन्नको लागि बाहिर निस्किइन् । म्हुईसाङले सपनामा पनि नदेखेकी चिजहरु काठमाडौंमा देखेर सपना झैं लागेर मनमा कुरा खेलाउँदै ओछ्यानमा पल्टिरहिन् ।

‘सुँइयाँ….. स्याँ….. ।’ कुकरले सिठ्ठी फुक्यो ।
‘आबुई नि… ।’ म्हुईसाङ डराएर फुत्तै बाहिर निस्किइन् र बेसुरमा चिच्याइन्, ‘गुहार, गुहार ।’ एउटी तरुनीमान्छे गुहार्दै थरथरी कामेर चिच्याएको देखेर मानिसहरु भेला भए ।

‘के भो ? के भो ? खै खै ?’ मानिसहरु तिनको कोठामा पसेर हेर्न थाले ।
‘उ त्यो । उ त्यो… ।’ तिनले डराउँदै सिठ्ठी लागिरहेको कुकरतिर देखाइन् ।
‘धत् ! कस्ति गवाँर रहेछे । कुकरको सिठ्ठी लाग्दा पनि तर्सिने ?’ के घटना भएछ भनेर हेर्न आएका मान्छेहरुले भने, ‘भर्खर गाँउबाट आएकी हो कि क्या हो ? कुकर पनि नदेखे कि…।’ ती मान्छेहरुको कुरा सुनेर म्हुईसाङ सरमले पानी पानी भइन् ।

‘बाहिर (चर्पी) जानु पर्ने ।’ सुत्ने बेलामा म्हुईसाङले तिउरीलाई सोधिन्, ‘टाढै पुग्नु पर्छ कि ?’
‘पर्दैन, उ त्याँ जानु । पल्लो कोठामा बिजुली बालेर ढोका खोलिदिइन् माईले । तिनी कोठाभित्र पसिन् । बाहिर (चर्पी) जाने ठाउँ खोजिन् । टायल्स लगाएको यस कोठामा बिर्कोले छोपी राखेको एउटा सेतो बक्सा थियो । तीन चार वटा धारा थियो । साबुन रहेछ, बाँस्न आइरहेको थियो । यस कोठाबाट बाहिर निस्कने ठाउँ भेट्टाइनन् । एउटा सानो झ्याल थियो । यहाँबाट बाहिर निस्कन सक्ने स्थिति थिएन ।

‘बाहिर जाउँ भनेको खोई त बाटो चाहिँ ?’ यहाँबाट निस्केर कोठामा पुगी तिनले तिउरीसँग सोधिन् ।
‘हि हि हिहिहि…।’ म्हुईसाङको कुरा सुनेर तिउरी हाँसिन् ।
‘भुँडी फुलेर मर्न लाग्यो । छिटो देखाऊ न हो ।’ म्हुईसाङ बोलिन्, ‘बाहिर जाने ठाउँ सोध्दा किन हिहिहि हाँसेर जिस्क्याई रहेकी नि ?’
‘यहाँ आऊ ।’ तिउरीले अघिकै कोठामा लगेर गइन्, ‘काठमाडौंमा बाहिर जाने ठाउँ यस्तै हो । यो कमटको बिर्को यसरी उघार्नु अनि यसरी यहाँ बस्नु ।’ तिनले सिकाइन् । गाउँमा जस्तै सम्झेर जंगलतिर जान खोजेकी म्हुईसाङ ट्वाइलेट बस्ने ठाउँ देखेर फेरि लजाइन् ।

बिहान उठेर चिया खाईवरी तिउरीले पिसिओमा गएर साहुलाई फोन गरिन् । गाउँबाट काम गर्ने मान्छे ल्याएको सुनेर साहु खुसी भयो । तिउरी र माईलाई मात्र बोलाएर साहुले म्हुईसाङलाई नयाँ कपडा खरिद्नुको साथै पार्लरमा लगेर मेकअप गरिदिनको लागि रकम दियो ।

‘कपडा किन्नको लागि बजारमा जाऔं ।’ आफूहरु तयार हुँदै माई र तिउरीले म्हुईसाङलाई भनिन् । काठमाडौं आइपुग्ने बित्तिकै नयाँ लुगा लाउन पाउने कुराले म्हुईसाङको मन खुसीले चङ्गाझैं नाच्यो । मनमनै दुईटी साथीलाई धन्यवाद दिइन् ।

‘तिमीहरु दुईटी त मेरी आमा जत्तिकै पो भयौ त । बरु आमाले आजसम्म यसरी लुगा किनेर दिन सकेकी छैन ।’ मैतीदेवीको फेन्सी पसलमा लुगा छान्दै म्हुईसाङले भनिन्, ‘यो फरिया र चोलो मलाई सुहाउँछ जस्तो छ ।’ म्हुईसाङले फरिया उठाएर ओल्टाई पल्टाई हेरिन् ।

‘लाटी ! यो गाउँ हो र ?’ तिउरीले प्रतिप्रश्न गरिन्, ‘फरिया लाउनलाई ?’ तिनैजना भएर पाइन्ट र टिसर्ट छानिन् । मैतीदेवी चोकको पुलिस बिटसँगै गाँसिएको ‘सुन्दरी पार्लर’मा पसिन् । तिउरी र माईले अह्राएअनुसार कपाल काटिन्, अनुहारमा कोदोको पीठोजस्तो बस्तु दलिन् । गाउँको फरिया फ्यालियो । पाइन्ट र टिसर्ट पहिरियो । ऐना अगाडि उभिँदा आफ्नै अनुहार देखेर म्हुईसाङको झण्डै सातो उडेन । अघि फरिया बेरिएको जिउको टाउकोको कपाल पनि कागको गुँडझैं गुँडुलिएको थियो, म्हुईसाङ अहिले हजुरआमाले सुनाउने गरेकी कथाको परीजस्तै झकझकाउँदी देखिइन् । तिनको छेऊमा तिउरी, माई मात्र होइन कि यो पार्लरमा भएकी अघिका सुन्दरी देखिएकीहरु त अहिले बकुल्लोको अगाडि कागझैं देखिइन् ।

दिउँसोको दुई बजेतिर ती तीनवटी काम गर्ने ठाउँमा पुगे । गाउँघरमा तिहारतिर बत्ति बालेझैं गरी ढोका र झ्याल वरीपरी बिजुलीको झिलिमिलि बत्तिले सजाइएको थिथो । कानै बैरो बनाउँलाझैं गरी डुकचुक डुकचुक गीतको आवाज घन्किरहेको थियो । म्हुईसाङले गीत बुझ्न सकिनन् । अफिसभित्र पसेर यत्ताउति हेरिन् । टेबल र कुर्सीहरु मिलाएर राखेको थियो । भित्तामा बनाइएको र्याक भरीभरी कहिल्यै नदेखेकी रङ्गीबिरङ्गी बोतलहरु थियो । कुर्सीमा बसेर रक्सी खाइरहेका मान्छेहरु देखेर तिनले अनुमान लगाइन्, ‘यिनीहरु चाहिँ गलैंचाको साहु रहेछन् ।’

‘नमस्कार गर्नु ।’ तिउरीले अह्राइन्, ‘उहाँ चाहिँ हाम्रो साहु ।’ कपाल पनि रातो लाएर राताम्मे बनाई लट्टे कपाललाई जुरो बाँधी कानमा कुण्डल लाएको हेर्दै डरलाग्दो मान्छे तिनको अगाडि मुसुमुसु हाँस्दै ठिङ्ग उभिन आइपुग्यो । झसङ्ग झस्केका कारण तिनले नमस्कार गर्नै बिर्सिइन् ।

थाङ्क्यु जिया , माल त राम्रै पो ल्याइछौ ।’ तिउरीको गाला निमोठ्दै साहुले भन्यो ।
‘मेरी हट् डार्लिङ माया… ।’ टेबलमा रक्सी खाइरहेको मध्ये एकजनाले माईलाई देख्ने बित्तकै च्याप्पा समाएर आफ्नो काखमा राख्यो ।
‘लाच पचेकी नक्चरी…. ।’ माईको ब्योहोरा देखेर म्हुईसाङले मनमनै घृणा गरिन् ।

‘छिः यो तिम्रो मितबुबा दोङको छोरा भनेकी होइन ?’ म्हुईसाङले तिउरीलाई सोधिन्, ‘मितबुबाको छोराले पनि कहीँ आफ्नो मितबुबाको छोरीको गाला निमोठ्छ त ? गलैंचाको साहु अरे के विधि मात्तेको ?’
‘यो त गलैंचा कारखाना होइन नि मेरी नयाँ डार्लिङ ! यो त क्याबिन हो क्याबिन… ।’ साहुले म्हुईसाङको कुममा आफ्नो हात राख्दै भन्यो । म्हुईसाङले आफ्नो कुमबाट साहुको हातलाई एक्कै झट्कामा हुर्र्याइन् ।
‘किन बाघ देखेकी बाख्राझैं तर्सिएकी डार्लिङ ?’ साहुले सोध्यो ।
‘मलाई बिना कारण लोग्नेमान्छेले कुममा हात राखेको राम्रो लाग्दैन ।’ सानो स्वरमा भए पनि तिनले रिस पोखिन् ।
‘बिस्तारै बानी पर्छ ।’ साहुले हाँस्दै यत्ति मात्र भन्यो ।

गलैंचा भनेको के हो ? क्याबिन भनेको के हो ? म्हुईसाङले कुनै कुराको मेसो नै पाइनन् । तिनलाई यत्ति मात्र थाहा छ, तिउरी र माईले जस्तै पैसा कमाउनु छ ।
‘गलैंचामा मरुन्जेल काम गर्दा पनि पैसा नकमाएको कारण हामीले यहाँ काम गरेका हौं ।’ तिउरीले म्हुईसाङलाई सुनायो ।
‘यहाँ चाहिँ के के काम गर्नु पर्छ त ?’ म्हुईसाङले तिउरीसँग सोधिन् ।

‘केही पनि गर्नु पर्दैन । खान आउने ग्राहकहरुसँग बस्नु पर्छ, गफ लाउनु पर्छ, उनीहरुले दिएको खानु पर्छ, साहुले अह्राएको मान्नु पर्छ । बस् यत्ति मात्रै हो ।’ तिउरीले गर्नु पर्ने कामको बारे बेलिबिस्तार सुनाइन् ।

‘काठमाडौंमा त यस्तो सजिलोलाई पनि काम भन्दो रहेछ हगि ?’ तिनको सोझो गाउँले मनको कुरो मुखबाट फुत्कियो । गाउँघरमा काम गर्नलाई कसैले उछिन्न नसक्ने तिनलाई यस्तो हलुङ्गो काम पाएकोले केही सुर्ता लागेन ।

‘यो होटल हो ?’ क्याबिन भन्ने नबुझेपछि आफूले बुझेको भाषामा म्हुईसाङले सोधिन् ।
‘हो भने पनि हुन्छ । भए पनि त्यस्तो चाहिँ होइन ।’ तिउरी भनिन् ।
‘कामको पैसा चाहिँ कत्ति पाउँछु त ?’ म्हुईसाङले आफूले पाउने पारिश्रमिक बारे जिज्ञासा राखिन् ।
‘काम गर्न सक्यौ भने, साहुले अह्राएको मान्यौं भने, महिनाको चालिस पचास हजार जत्ति… ।’
‘आम्मामा … ! यत्ति धेरै…. ?’ तलब सुनेर तिनले एक्कासी जिब्रो टोकिन् र आफैंलाई विश्वास गरिनन् ।

साँझ पर्दै गयो । तिउरी र माई त्यहाँ खानपिन गर्न आउने ग्राहकहरुसँग छिल्लिदै नारिँदै खानपिन गर्नमा तल्लिन रहिन् । तिनलाई चाहिँ साहुले काउन्टरमा बस्न लगाएकोले यता उता नहल्लि त्यही बसिरहिन् । भोकायो कि भनेर समय समयमा काम गर्नेहरुले खाने कुरा पनि ल्याइदिन्थे ।
‘कत्ति हलुङ्गो काम… ।’ एकातिर खुसीले नाचेर तिनको मन ठाउँमा छैन ।

‘अघि त जुठोपुरो भाँडाकुँडा पनि उठाउनु पर्छ है भन्थे, खोई त त्यो काम अह्राएकै छैन त ?’ अर्कोतिर किन हो किन डरले काँप्दै तिनको मनले भनिरहेको थियो, ‘यिनीहरुको चरित्र राम्रो देखिएन है ।’

साँझ छिप्पिँदै गएर रात पर्यो । क्याबिन बन्द भयो । साहुले ट्याक्सी बोलायो । त्यहाँ खानपिन गरिरहेका दुईजना ग्राहक, साहु र तिनीहरु तीनवटी अटाई नअटाई एकअर्काको काखमा बसेर ट्याक्सी चढे । ट्याक्सी गौशालाको गेष्टहाउसमा गएर रोकियो ।
‘यो त हाम्रो कोठा होइन त है ?’ तिनले माईसँग शंका व्यक्त गरिन् ।
‘साहुको घर हो के ।’ माईले कुरा लुकाइन् ।
‘के कामले यहाँ हामी आएकी नि ?’ तिनले फेरि प्रश्न गरिन् ।
‘आज निकै ढिला भइसक्यो । घरबेटीले हामीलाई गेट खोलिदिँदैन, यसकारण… ।’
तिनीहरु छ जना नै भित्र पसे ।

‘अहो ! यो साहु त कति धनी रहेछन् । घरमा नि काम गर्ने मान्छे नै मान्छे ?’ भित्ताको र्याकमा सजाएको रक्सी देखेर तिनको मनले सोचिन्, ‘घरमा पनि अघिको क्याबिनमा जस्तै रक्सी नै रक्सी ।’ तिनले आँखाले जे देख्दथिन्, त्यत्ति मात्र बुझ्दथिन्, अक्षर तिनको लागि रङ्गीविरङ्गी धर्काहरु मात्र ।

माई र एकजना तन्नेरी एउटा कोठामा छिरिन् । तिउरीले पनि त्यसै गरिन् । तिनलाई चाहिँ साहुले बोलाएर अरु नै कोठामा लगे । कोठामा एउटै मात्र खाट थियो । सेतो तन्नाले मोडेको ओछ्यान देखेर किन हो कुन्नि म्हुईसाङलाई यो खाट लोग्ने मरेर उराठिएकी आर्यन महिलाको अनुहार बनेर आँखामा फनफनि घुम्न थाल्यो ।

‘यहाँ आऊ ।’ साहुले हातमा तानेर तिनलाई ओछ्यानमा थपक्क बसायो । साहु पनि टपक्कै टाँसिएर तिनीसँगै बसे । यत्ति नजिक आजसम्म तिनी लोग्नेमान्छेको सम्मुख नबसेका कारण हो कि किन हो कुन्नि आफूले फेरिरहेकी सास नै बन्द होला जस्तो महसुस हुन थाल्यो । अनुहार रातो रातो भएर चिसो मौसममा पनि जीउलाई बफ्याएर पसिना उम्रिन थाल्यो । के गर्ने के नगर्नेको दोधारमा अलमलिँदै म्हुईसाङ अलि पर सरिन् ।

‘खोई त तिनीहरु ?’ कामेको आवाजमा म्हुईसाङले सोधिन् ।
‘सुत्न गइन् ।’
‘अरे ! ती दुई जना लोग्नेमान्छे ती दुईटीकी पोई हुन् ?’
‘होइन । पैसा दिने ग्राहक हुन् । आज रातभरि बसेको दुई हजार ।’
‘लोग्नेमान्छेसँग सुत्दा पनि पैसा पाउँछ र ? म कहाँ सुत्ने नि त ?’
‘मसँग ।’
‘धत्….।’
‘डराउनु पर्दैन । तिमीले पनि निराश भएर रित्तो हात फर्कन पर्ने छैन । तिनीहरुले भन्दा धेरै…’
‘साहुलाई खुसी पार । महिनाको चालिस पचास हजार…।’ म्हुईसाङको कानमा अघि तिउरीले भनेको आवाज भुनभुनायो ।

बाजेको माकुरो जालोजस्तो टोपी, बुबाले कहिल्यै फेर्न नसकेको कपडा, आमाले बेर्न नपाएकी फरिया, भाइले खान नपाएको पोषण…. । तिनको मन चैतको भुमरीझैं हुँडलियो । साहुले बिस्तारै अंगालो मारेर सानो बच्चालाई झैं ओछ्यानमा पल्टायो । तिनको ओठमाथि साहुको ओठ जोडिन आइपुग्यो । एउटा हात कपालतिर अर्को हात छातीतिर सलबलाउन थाल्यो । म्हुईसाङको जिउमा एकखाले नजानिँदो तरंग पैदा भयो । डराएजस्तो, कामेजस्तो । खोई जिउ के भयो भयो ।
‘एकछिन् पख्नु ।’ सपनाबाट ब्युँझेझैं गरी म्हुईसाङ एक्कासी जुरुक्क उठिन् ।
‘थुक्क कुकुर… ।’ अनुहारभरि थुकेर साहुलाई उत्ताने हुने गरि लात्तीले भकुर्यो ।
‘पख्लास् । मलाई छोयो भने बाँकी राख्दिनँ ।’ बाघझैं गर्जिएर होहल्ला गरिन् ।

केटीमान्छेको चर्को आवाज सुनेर तिनको वरीपरी मान्छेहरु भेला भइसकेका थिए । तिउरी र माईलाई पनि देखेर म्हुईसाङ कराइन्, ‘आफ्नो अस्तित्व बेचेर म तिमेरुले जस्तो पैसा, गरगहना कमाउन चाहन्न । म गाउँ फर्कन्छु । बरु आधी आङ ढाक्छु । आधी पेट खान्छु ।’

म्हुईसाङ फर्किएको हल्ला चलेदेखि गाउँमा न त बाख्रा व्यापारी दोङ नै देखियो न त तिउरी र माई अघिअघि जस्तो ठाँटका साथ गाउँमा नै आउन सके ।