३
लुखनोभले दुई मैनबत्ति आफूतिर सार्यो । खल्तीबाट एउटा खैरो रङको ठूलो थैली निकाल्यो पुन नोटका क्याँटले भरिएको थियो । अनि बिस्तार बिस्तार त्यो थैली खोल्यो । मानौ कुनै रहस्यमय कृत्य गरिएको होस् । त्यसबात उसले सय सय रूबलका दुई ओटा नोट निकाल्यो र थपक्क तासको चाङमुन्तिर राखिदियो ।
हिजोको जस्तै नै आज पनि दुई सय रुबलको थाँती रहनेछ ।” उसले भन्यो र आफ्नो चश्मा मिलाएर तासको चाङ खोल्न थाल्यो ।
“ठीक छ !”- उसतर्फ ऊ हेर्दै नहेरीकन इल्यीनले भन्यो । ऊ कुरा तुर्बिनसँग कुरा गर्नमा नै तल्लिन थियो ।
खेल शुरु भयो । लुखनोभ यन्त्रवत् सटासट तासका चक्कीहरू बाँड्दैथियो, कहिलेकाही बीचैमा टक्क रोकिएर बडो आरामसित प्वाइन्ट लेख्थ्यो या आफ्नो चश्माको माथिबाट घुरेर हेर्दै मसीनो स्वरले भन्थ्यो : “पत्ती चाल्नोस् !” थसुल्लो बिर्तावालको स्वर नै सबैको भन्दा चर्को थियो । ऊ बड्बडाउँदै आफ्नो हिसाब जोड्थ्यो र मोटा औंलाले तासको चक्कीको कुना किच्याउँथ्यो । सुरक्षा-सेनाको अफिसर चूपचाप आफ्नो प्वाइन्ट सफा अक्षरमा लेख्थ्यो र टेबुलमुनि हात घुसारेर चक्कीको कुना अलिकति मोड्ने गर्थ्यो । थाँती राखेर खेल्नेको बगलमा नै ग्रीक बसिरहेको थियो र आफ्ना काला-काला आँखाले खूब ध्यानपूर्वक खेल हेर्दै थियो, मानौं ऊ कुनै घटनाको प्रतीक्षामा होस् ! जाभाल्शेभ्स्की टेबुलको छेउमा उभिन्थ्यो र एक्कासि उसमा स्फूर्तिको संचार हुन्थ्यो । ऊ आफ्नो पैण्टको खल्तीबाट रातो या नीलो रङ्गको नोट झिकेर त्यसमाथि तासको एउटा चक्की फाल्थ्यो, अनि धाप दिएर त्यसमाथि हात राख्थ्यो र चर्को स्वर निकालेर कराउँथ्यो । “हेर्, आयो सत्ता !” त्यसपछि उ दाँतले जुँगा टोक्थ्यो र कहिले एउटा गोडा त कहिले अर्को गोडाको बलमा उभिन्थ्यो । उसको अनुहार रातो भएर आउँथ्यो र सारा शरीर नै काम्न थाल्थ्यो । तासको चक्की नखुलुन्जेल सम्म नै यस्तै स्थिति रहन्थ्यो । इल्यीनको छेवैमा सोफामाथि नै एउटा रिकापीमा बाछाको भुटुवा मासु र काँक्रो राखिएका थिए । ऊ कपाकप त्यो खाँदै थियो र ज्याकेटमा नै झटपट औंला पुछेर एकपछि अर्को चक्की धमाधम फ्याँकिरहेको थियो । तुर्बीन पहिलेदेखि नै सोफामा बसिरहेको थियो । उसले तुरुन्त नै कुराको मेसो बुझिहाल्यो । लुखनोभ चाहिँ न उल्हन तर्फ हेर्थ्यो, न त केही भन्थ्यो, मात्र कहिलेकाही आफ्नो चश्मा उठाएर उसको हाततर्फ पुलुक्क हेर्थ्यो। उल्हनको हातमा रहेका तासका चक्कीहरूमध्ये धेरैजसो हार्ने खालका नै थिए ।
“इल्यीनको चक्की लिनोस् न तपाई ! मेरो चक्कीको त के कुरा भयो र ?” बिर्तावालले जवाफ दियो ।
हुन पनि इल्यीनको जति हरूवा चक्की त अरु कसैसित पनि थिएन । हरेक पल्ट उसैको हार भै रहेको थियो । ऊ व्याकुल भएर त्यस हरूवा चक्कीलाई च्यातेर टेबुलमुनि मिल्काइदिन्थ्यो । कामेको हातले फेरि अर्को चक्की उठाउँथ्यो । ग्राफ तुर्बीन सोफाबाट उठे, अनि ग्रीकसँग आफूलाई उसको ठाउँमा बस्न दिने अनुरोध गरे । त्यसको बगलमा बसेर नै लुखनोभ थाँती खेल्दै थियो । ग्रीक आफ्नो ठाउँ छोडेर अर्को कुर्सीमा बस्न गयो । ग्राफ चाहिं उसको ठाउँमा बसेर खूब ध्यानपूर्वक लुखनोभको हाततर्फ हेर्न लागे ।
“इल्यीन !”- एकाएक ग्राफ बोल्न थाले । उनले आफ्नो सामान्य आवाजमा नै बोलेका थिए, तैपनि उनको स्वर अरु सबैको भन्दा चर्को थियो । “एउटै मात्र चक्कीको बाजी किन लगाउँदछौ ? तिमीलाई त तास खेल्न नै आउँदैन क्यारे !”
“जसरी खेले पनि मेरै हार हुन्छ त !”
“यस्तै हो भने त हार हुने नै भयो नि ! खै, तिम्रो सट्टा म खेलिहेरूँ त !”
“नाइँ कृपया कर नगर । म आफ्नो सट्टा अरु कसैलाई पनि खेल्न दिन्नँ । खेल्न नै चाहन्छौ भने आफै खेल !”
“आफ्नो लागि त खेल्न चाहन्नँ भनेर मैले भनिहालें नि । म त तिम्रो निम्ति पो खेल्न लागेको हुँ ! तिमी यसरी हार्दैं गइरहेको देख्दा मलाई खपिनसक्नु भएको छ ।”
“हुने हार दैव नटार !”
ग्राफ चुप लागिरहे । अनि कूहिना टेबुलमा टेकाएर उनले लखनोभको हाततिर एकटक लगाएर हेरिरहे ।
“धत्तेरिका !”- एकाएक उनले चर्को स्वर निकालेर लेग्रो तान्दै भने । लुखनोभले पनि उसतर्फ पुलुक्क हेस्यो ।
“धत्तेरिका ! धत्तेरिका !”- उनले अझ चर्को स्वरमा भने र लुखनोभको आँखामा सोझै आँखा गाडेर हेर्न थाले । खेल चलि नै रहेको थियो ।
“राम्रो है-न !”- तुर्बीनले फेरि भने । लुखनोभले इल्यीनको एक अर्को ठूलै चक्की पनि मारिदिएको थियो ।
“कुत कुरा चित्त बुझेन हँ, ग्राफ ?”- लुखनोभले नम्रतापूर्वक तर बेवास्ताको स्वरमा भन्यो ।
“जसरी तपाई इल्यीनको आँखामा छारो हालेर ठूलो बाजी जित्नुहुन्छ र सानो बाजी चाहि हार्नुहुन्छ सो राम्रो होइन !”
लुखनोभले कुम हल्लायो र आँखिभौं खुम्च्यायो । जे हुँदै छ सो भाग्यजोग्यको कुरा हो भन्ने नै यसको आसय थियो । तास खेल्नमा फेरि ऊ तल्लीन भैहाल्यो ।
“ब्यूलहर ! यता आइज !”- ग्राफले उठ्दै कराएर भने । ल, यसलाई पक्रिहाल् !”-उनले छिटो-छिटो थपे ।
ब्यूलहर कति छिटो सोफामुन्तिरबाट उफ्रेर बाहिर निस्कियो भने सुरक्षा- सेनाको अफिसर झण्डैझण्डै बुङ्ग ढल्न आँटिसकेको थियो । कुकुर झटपट दगुरेर आफ्नो मालिकको नजिक पुग्यो र घुर्र घुर्र गर्न लाग्यो । पुच्छर हल्लाउँदै कोठामा बसिरहेका सबै मानिसहरूतर्फ ऊ यसरी हेर्न लाग्यो, मानौं सोधिरहेको होस् : ‘बदमाश को हो हँ ?’
लुखनोभले तासका चक्कीहरू थपक्क राखिदियो र कुर्सी पनि पछिल्तिर खस्कायो ।
“यसरी त खेल्नै सकिन्न !”-उसले भन्यो । “कुक्कुर भनेपछि मलाई पटक्कै मन पर्दैन । कोठाभरि कुक्कूरै कुक्कुर छन् भने कसरी खेल्न सकिन्छ र ?”
“त्यसमा पनि यस जातका कुक्कुरहरू जो चुसाहा भनिन्छन् क्या रे !” सुरक्षा-सेनाको अफिसरले हो मा हो मिलाउँदै थप्यो ।
“भन्नोस्, मिखाइल भासिलिच ! खेल जारी राखौं कि बन्द गरौं ?” लुखनोभले घरपट्टिसँग सोध्यो ।
“कृपया, हाम्रो खेल नबिगार न, ग्राफ !”- इल्यीनले तुर्बीनलाई भन्यो ।
“एक छिन एता आऊ !”- तुर्बीनले भन्यो र इल्यीनको हात समातेर उसलाई बाहिर तानेर लग्यो ।
ग्राफको स्वर प्रष्ट सुनिन्थ्यो । उनी सामान्य तवरले चर्को आवाजमा बोल्दै थिए । उनको आवाज नै यस्तो थियो जुन तीन कोठाभित्रसम्म पनि सुन्न सकिन्थ्यो ।
“केतिमी बहुलाउन त बहुलाएनौ ? त्यो चश्मावाल मान्छे खप्पीस तासबाज हो ! देख्दा पनि देख्दैनौ कि क्या ?”
“हुनै सक्दैन ! के कुरा गर्दैछौ हँ तिमी यस्तो ?”
“खेल्नपट्टि नलाग ! म भन्दै छु है ! मलाई त यसको के मतलब र ? अरु कुनै बेला हुँदो हो त म स्वयं नै पनि तिमीबाट यो पैसा जितेर लिन सक्थें हुँला ! तर आज किन हो कुन्नि तिमी यसरी लुटिएको टुलुटुलु हेर्न नै म सक्तिनँ । जुन पैंसा तिमी हार्दैछौ त्यो कतै सरकारी ढुकुटीको पैंसा त होइन ?”
“हो !..हैन ! अँ , किन र ? किन तिमी सोध्दैछौ यो कुरा ?”
“मैले यो सब भोगिसकेको छु, भाइ ! यी तासबाजहरूका सबै चाल म बुझ्छु । त्यो चश्मावाल मान्छे पक्कै पनि तासबाज नै हो । म फेरि पनि तिमीलाई भन्दैछु । खेल रोकिहाल ! अहिलेको अहिल्यै रोकिहाल ! म तिमीलाई एक साथीको नाताले सल्लाह दिदैछु । ”
“म अरु एक हात मात्रै खेलिहेर्छु अब !”
“अरु एक हातको मतलब के हुन्छ त्यो पनि मलाई थाहा नभएको होइन ! लौ त, हेरिहालौं एक फेरा !”
उनीहरू फर्केर आए । एकै पटकमा इल्यीनले निकै चक्की फ्याँक्यो र त्यसमध्ये निकै चक्की हार्यो पनि । आखिर उसको ठूलो नोक्सान हुन गयो । तुर्बीनले टेबुलको बीचमा दुवै हात फैलाइदिए ।
“बस् भयो ! हिंड जाऔं !”
अहँ, म अब खाल कसरी छोड्न सक्छु र ? बरु कृपा गरेर मलाई एक्लै छोडिदेऊ !”- इल्यीनले झर्केर तुर्बीन तर्फ हेर्दै नहेरीकन कच्याककुचुक भएका तासका चक्कीहरू फटाफट फेट्दै भन्यो ।
“ल, भर्सेलो नै परोस् त ! हार्नमा नै तिमीलाई मजा आइरहेछ भने धमाधम हार्दैजाक ! म त अब यहाँ बढ्ता रोकिन सक्तिनँ ! जाभाल्शेभ्स्की ! जर्साहबकहाँ जाऔं न !”
उनीहरू बाहिर निस्किए । सबै चुप लागिरहे । बरण्डामा उनीहरूको पदचाप र ब्ल्यूहरको पञ्जाको ख्यार-ख्यार आवाज सुनिइन्जेल लुखनोभले तासको चक्की बाँड्दा पनि बाँडेन ।
“यो पनि मगजदार रहेछ !”- बिर्तावालले हाँस्दै भन्यो ।
“खैर, अब हामी आरामका साथ खेल्न सक्छौं नाइँ !”- सुरक्षा-सेनाको अफिसरले
खासखुस गर्दै भन्यो ।
अनि खेल जारी रह्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।