भागः बाह्र

जून २९ तारीखको बिहानै मेरो मेजरले उसलाई शहरबाहिर त्रोस्तीत्सातर्फ लैजाने आडर गर्यो। त्यहाँ उ प्रतिरक्षात्मक किल्लाबन्दीको निर्माणको नेतृत्व गर्दै थियो। हामी मोटरमा चढ्यौं र रवाना भयौं। मेजर पछिल्लो सीटमा मस्तसँग उँघ्दै थियो। अगिल्लो सीटमा चाहीं मेरो मुटुको धड्कन बढेर मुटु नै फुट्ला फुट्ला जस्तो हुन् लागिरहेको थियो। म बेतोडले मोटर हाँकिरहेको थिएँ। तर शहरबाहिर पुगेपछि मोटरको, गति केही मन्द गरेँ। अनि मोटर रोकेँ, बाहिर निस्के र चारैतिर नजर दौडाएर हेरेँ। पछिल्तिर निकै टाढा दुईवटा ट्रकहरू बिस्तारै घिस्रिरहेका थिए। मैले फलामको त्यो डल्लो झिकेँ र मोटरको ढोका फराकिलो पारेर खोलेँ। धम्मरधुस मेजर सीटमा अडेस लागेर यस्तरी मस्तसंग घुरि रहेको थियो, मानौं उसकी स्वास्नी पनि उसकै बगलमा होस्‌ । बस्‌ मैले फलामको डल्लाले दिएँ दनक त्यस बजियाको देब्रे कन्चटमा ! उसको टाउको पनि लुलुक्क झुण्डियो उसैको काँधमा। काम कच्चा चहोस्‌ भनेर मैले फेरि उसलाई अर्को एक दनक दिएँ। तर उ खुत्रुक्कै मरि चाहि नहालोस्‌ भन्ने म चाहन्थेँ । म त उसलाई जिउदै आफ्नो साथमा लैजाने ताकमा थिएँ। हाम्रा साथीहरूले उसबाट कैयौं काम लाग्ने कुराहरू थाहा पाउन सक्थे । मैले उसको पिस्तोलदानीबाट पिस्तोल झिके र आफ्नो गोजीमा हालें । त्यसपछि मैले पछिल्लो सीटको अडेसोमा एउटा ब्रैकेट घुसारेँ र मेजरको गर्दनमा टेलिफोनको तार बेह्रेर त्यसलाई ब्रैकेटमा बाँधिदिएँ। वेगले मोटर दौडाउँदा उ गुडुल्किएर सीटमा लम्पसार चाहीँ नपरोस्‌ भनेर नै मैले यो सब बन्दोबस्त गरेको थिएँ। अनि मैले जर्मन वर्दी लगाएँ र टाउकोमा अफिसरको टोपी पनि ढल्काएँ।

त्यसपछि मोटर बेतोडले त्यसै दिशातिर दौडाएँ जहाँ जमीन थर्किरहेको थियो र लडाइँ मच्चिइरहेको थियो ।

तोपहरूको भूमिगत चौकीहरुको बीचबाटै मैले जर्मन मोर्चाको सीमारेखा पार गरेँ। एउटा ट्रेन्चबाट मेशीनगन चालकहरूले टाउको उठाएर बाहिर हेरे पनि मैले जानीबुझीकनै मोटरको गति मन्द गरिदिएँ, ताकि उनीहरूले मोटरमा मेरो साथको मेजरलाई पनि देखिहालून्‌ ! त्यसपछि उनीहरूले जोडले कराएर हात हल्लाउँदै मलाई अगाडि नजाने इशारा गर्न थाले। तर मैले बुझ्दै नबुझेको अभिनय गरेँ र मोटरलाई अस्सीको रफ्तारमा दौडाएँ। जब जर्मनहरूले वास्तविक कुरा बुझेर मेशीनगनबाट गोलीको पर्रा छोड्न थाले, त्यतिन्जेलसम्म त म खाल्डाखुल्डीबाट बच्दै खरायोको चालले पुगिसकेको थिएँ तटस्थ क्षेत्रमा ।

त्यहाँ पछिल्तिरबाट जर्मनहरू गोली चलाउँदै थिए भने अघिल्तिरबाट पनि आफ्नै साथीहरू मलाई निशानाको तारो बनाएर गोली दाग्न थाले। चारवटा गोली त मोटरको ऐना नै छेडेर वारपार भएर गए , रेडियटर पनि गोलीले छियाछिया भयो। तर नजीकै तलाउको किनारामा मैले एउटा सानो वनजंगल देखेँ र केही आफ्नै साथीहरू पनि मोटरतर्फ दौड्दै आइरहेको पनि देखेँ। मैले मोटर त्यसै वनजंगलतर्फ नै हाँकेर लगें । त्यहाँ पुगेर मैले ढोका खोलें र भुइँमा पल्टेर, माटो चुम्न थालेँ । त्यस बेला मलाई सास फेर्ने समेत ज्यादै मुश्किल भइरहेको थियो.. ।

एक जना नौजवान सिपाही, जसको खाकी कुर्तामा तानाबाना समेत खाकी रंगको नै थियो, जस्तो कि पहिले मैले कहिल्यै पनि देखेको थिइनँ, सबभन्दा पहिले मेरो सामुन्ने आयो र ङिच्च दाँत देखाउँदै फट्कार्न थाल्यो- “पख्लास्‌, जर्मन शैतान ! बाटो बिराइस्‌ कि क्या ?” मैले आफूले लगाइराखको जर्मन वर्दी तानेर झ्यार्र च्याते , टाउकोको टोपी समेत फुकालेर गोडाले किचमिच पार्दै कुल्चिदिएँ उसलाई भने- हे मेरा प्यारा ओंठे काजी ! प्यारा नौजवान ! म केको जर्मन हुन्थेँ, जब कि म भोरोनेजमा जन्मेर त्यहीं नै हुर्केबढेको हुँ। म त युद्धबन्दी बनाइएको थिएँ, बुझ्यौ ?
बरू जाऊ, त्यो मोटरमा बसेको भुँडीवाललाई बाहिर निकाल । उसको ब्याग पनि लेऊ र मलाई आफ्ना कम्याण्डरकहाँ झट्टै पुर्याऊ !”

मैले उसलाई पिस्तोल पनि बुझाइदिएँ र साँझसम्म नै एक हातबाट अर्को हातमा सुस्पिइँदै गएँ। आखिर बेलुकीपख मात्रै सैनिक डिभिजनका कम्याण्डर कर्नेलको सामुन्ने हाजिर हुने देश पाइयो र नुहाइ-धुवाइ सफासुग्घर पनि गरियो । थरी थरीको बयान लिइएको थियो र नयाँ पोशाक पनि पाइसकेको थिएँ। यसरी म भुइँघरमा बसेका कर्नेलको सामुन्ने काइदासाथ पुगेको थिएँ। नयाँ वर्दी लगाइराखेको थिएँ, अनि शरीर र आत्मा दुबै बिल्कुलै निर्मल थियो। कर्नेल आफ्नो कुर्सीबाट उठेर मेरो स्वागत गर्ने अगाडि लम्किए। सबै अफिसरहरूको सामु मलाई अंकमाल गरेर उनले भने “ जर्मनहरूबाट हामीलाई जुन सौगात ल्याइदियौ त्यसको लागि धन्यवाद, सिपाही ! तिम्रो मेजर र उसको ब्यागबाट हामीले यतिकसा सूचना पाएका छौं जति मोर्चामा बन्दी तुल्याइने बीस जवान जर्मनहरूबाट पनि पाउन सकिँदैन। सरकारी पदक र सम्मानको लागि म तिम्रो नाउँ सिफारिश गरी पठाउँने छु ….” कर्नेलका यी शब्हरू र उनको स्नेहले गर्दा म ज्यादै नै हडबडाइरहेको थिएँ र मेरा ओठ काँपिरहेका थिए केवल यत्तिकै मात्र भन्न सकें मेले ! त्यस बेला- “साथी कर्नेल ! मलाई राइफल युनिटमा सामेल गरियोस्‌, बिन्ती छ !”

तर कर्नेल चाहिं हाँस्न थाले । उनले मेरो काँधमा थपथपाउँदै भने- “के लडौला खै तिमी , जब कि दुई खुट्टाले, टेकेर उभिन समेत तिमीलाई मुश्किल-मुश्किल परिरहेछ ? आजै तिमीलाई अस्पताल पठाइदिन्छु। त्यहाँ तिम्रो औषधि उपचार हुने छ र तिमीलाई ख्वाई-प्याईकन केही तगडा तुल्याइने छ । त्यसपछि एक महीनाको छुट्टी लिएर तिमी घर जान सक्छौ र आफ्ना जहान-परिवारसंग भेटघाट गर्न सक्छौ। त्यसपछि जब तिमी फर्केर आऔला, अनि विचार गरिएला कहाँ तिमीलाई सामेल गर्ने भन्ने कुरा! ”

कर्नेलका साथै उनको भुइँघरमा भेला भएका सबै अफिसरहरूले मसित हात मिलाएर हार्दिकतापूर्वक बिदाबारी गरे। जब म बाहिर निस्केँ, मैले आफूलाई ज्यादै नै उत्तेजित र द्रवित पाएँ, किनभने युद्धबन्दी तुल्याइएको दुई वर्षेभित्र मैले मान्छेद्वारा मान्छेलाई गरिने व्यवहार कस्तो हुन्छ भन्ने पनि बिर्सिसकेको थिएँ। फेरि भाइ, यो ,पनि नबिर्स कि निकै दिनसम्म त मेरो कस्तो आदत बनिसकेको थियो भने माथिल्लो ओहदाका कुनै अफिसरसंग कुरा गर्नु पर्दा म आफ्नो टाउकोको बोझ काँधमा बिसाउने गर्थें। जहिले पनि मलाई के डर लागिरहन्थ्यो भने अहिले तत्कालै नभए पनि केही बेरपछि त उसको झापट ममाथि कसो नपर्ला। यस्तरी तह लगाई सकेका थिए हामीलाई फासिष्ट बन्दीशिविरमा रहँदा .. ।

अस्पतालमा भर्ना हुने बित्तिकै मैले इरीनालाई एउटा चिट्ठी लेखेँ। छोटकरीमा मैले त्यस चिट्ठीमा सबै कुराको यथार्थ बयान गरेको थिएँ कसरी म युद्धबन्दी बनाइएँ भन्ने देखि लिएर कसरी जर्मन मेजरको साथमा भागेँ भन्नेसम्म…….