१५
“आफ्नो सम्पूर्ण विवाहित जीवनभर मैले ईप्याको यन्त्रणाबाट एक छिन पनि मुक्ति पाउन सकेको थिइनँ । बरु यस्ता दिनहरू पनि थिए जतिखेर मेरो यन्त्रणा अझ बढी तिव्र भएर जानेगर्थ्यो । मेरो पहिलो बच्चा जन्मेपछिका दिनहरू पनि यस्तैन नै एउटा अवधि रह्यो डाक्टरहरूले मेरी पत्नीलार्इ आफ्नो बच्चालार्इ दूध ख्वाउन मनाही गरिदिएका थिए । मेरो मनमा ईष्या जागेको थियो । पहिलो कूरा त के भने मेरी पत्नी स्वय नै चिन्तित हुन थालेकी थिई र एउटा बच्चाकी आमा हुनेचाहिंको जीवनको स्वाभाविक क्रममा अकारण नै कुनै अवरोध खडा हुन गयो भने यस्तो चिन्ता उठ्नु स्वाभाविकै थियो । दोस्रो- जसरी सजिलैसँग उसले एक आमाको नैतिक दायित्वलाई तिलाञ्जली दिएकी थिई त्यसरी नै उसले आफ्नो पतिव्रत धर्मलाई पनि त मिल्काइदिन सक्छे भन्ने मैले ठीकै निष्कर्ष निकालेको थिएँ, यद्यपि अनायासै यस्तो निर्णयमा म पुगेको थिएँ । खास कारण के त भने ऊ एकदमै स्वस्थ थिई । डाक्टर महानुभावहरूले मनाही गर्दागर्दै पनि उसले पछि आफ्ना अरु सबै बालबच्चाहरूलाई आफ्नै दूध चुसाएकी थिई र यसबाट उसको स्वास्थ्य कत्ति पनि धक्का पुग्न गएको थिएन ।”
“सके तपाईं डाक्टरहरूलाई मन पराउनुहुन्न क्या र ?” – मैले भनें । हुन पनि डाक्टरहरूको चर्चा चल्यो कि त जहिले पनि उसको स्वरमा एक विशेष किसिमको द्रेषको भाव झल्कनेगर्थ्यो ।
“कुरा मन पराउनु वा मन नपराउनुको होइन । उनीहरूले मेरो जीवन पनि त्यसरी नै बर्बाद गरिदिए जसरी अन्य लाखौंलाख मानिसहरूको जीवन बर्बाद गर्छन् । म कारण र परिणामलाई जोड्न सक्तिनँ । उनीहरू पनि वकिलहरू वा अन्य पेशाका मान्छेहरूले झैँ पैसा झार्ने ताकमा रहन्छन् भन्ने कुरा म बुझ्न सक्छु । यदि उनीहरूले हाम्रो परिवारलाई सघैँ टाढा राख्न सकिने भए त स खुशीसाथ आफ्नो आयस्ताको आधा हिस्सा दिन समेत तैयार हुनेथिएँ । उनीहरू के गर्न सक्छन् भनी वास्तविक स्थिति थाहा पाउने जो कोही पनि यस्तै नै गर्दो हो । मैले तथ्याङ्क त सङ्कलन गर्नेगरेको छैन तर पनि गर्भवती आइमाईले बच्चालाई जन्म दिन सक्तैन भनेर बच्चालाई गर्भमा नै मारिदिएको उदाहरण एक-दुई होइन, दशौंको संख्यामा म प्रस्तुत गर्न सक्छु (यस्ता उदाहरण अनगन्ती छन्) । पछि उसै आइमाईको कोखबाट कैयौं बालकहरू सजिलैसित जन्मेका पनि भेटिन्छन् । फेरि कुनै किसिमको अपरेशन गरेर आमा हुनेचाहिंलाई नै मृत्युको मुखमा होमिदिएको उदाहरण पनि प्रशस्तै छन् । यसरी मारिदिनुलाई कसैले पनि हत्या भन्नेगरेको छैन । इन्क्वीजिशनल( धर्म कचहरी) पनि त कैयौंलाई मृत्युको घाटमा पुर्याइदिनेगरेको थियो तर त्यसलाई पनि हत्या भनिदैनथ्यो, किनभने मानव-हितको निम्ति नै यस्तो सजाय दिइन्छ भन्ने आम धारणा थियो । डाक्टरहरूको हातबाट जति हत्या हुन्छ तिनको गन्ती गरेर साध्य छैन । परन्तु यी सबै अपराधहरू त्यस नैतिक भ्रष्टताको तुलनामा केही पनि होइनन् जुन उनीहरूको भौतिकवादले संसारमा ल्याउनेगरेको छ, खास गरी आइमाईहरूको माध्यमबाट । साथै यत्रतत्र र सर्वत्र हरेक वस्तुबाट संक्रामक रोगको डर रहन्छ भन्ने उनीहरूको चेतावनीलाई यदि स्वीकार गर्ने हो भने त मानिसलाई मानिसको निकट ल्याउनुको सट्टा एक दोस्रोबाट कोसौं टाढा राख्नुपर्ने हुनजान्छ । उनीहरूको भनाइअनुसार त प्रत्येक व्यक्तिले मुखमा कार्बोलिक एसिडको झोल भरेर छुट्टाछुट्टै बस्नुपर्ने हल (हुन त हालै पत्ता लगाइएअनुसार यसले पनि कुनै काम दिदैन) । तर यो नै मुख्य कुरा होइन । गाँठी कुरा के हो भने उनीहरू मानव मात्रलाई, विशेष गरी नारीहरूलाई भ्रष्ट गरिदिन्छन् ।
“अचेल तपाईं कुनै मान्छेलाई पनि यसो भन्न सक्नुहुन्न : “हेर, तिम्रो रहनसहन ठीक भएन । तिमीले आफ्नो आचरण बढल्नुपर्छ !” यो कुरा कसैले पनि न आफूलाई भन्न सक्छ, न त अरुलाई नै । यदि तपाईंको आचारविचार ठीक छैन भने कोपेक(कोपेक रूबलको एक सयौ भाग मूल्य बराबरको सिक्का।) पनि तपाईंको स्नायुप्रणालीमा कुनै विकार भएको होला वा यस्तै कुनै गडबडी हुन गएको होला । यसैउसले तपाईंले डाक्टरकहाँ जानुपर्नेछ । उसले तपाईंलाई पैंतीस कोपेकी पर्ने कुनै औषधिको नुस्खा लेखिदिनेछ र औषधालयबाट त्यो औषधि किनेर तपाईं खानुहुनेछ । यसरी तपाईंको अवस्था सप्रनुको सट्टा बिग्रने बढी सम्भावना छ र तपाईं अरु डाक्टरहरूकहाँ पुग्नुहुनेछ । अनि पहिलेको भन्दा झन् बढ्ता औषधि खानुपर्नेछ र बढी डाक्टरहरूकहाँ धाउनुपर्नेछ । खूब राम्रो उपाय !
तर मैले यस कुराको चर्चा गर्न चाहेको होइन । म त के भन्दैथिएँ भने मेरी पत्नीले आफ्ना अन्य बच्चाहरूलाई राम्रैसित आफ्नो दूध खुवाएकी थिई । जतिखेर ऊ गर्भवती हुन्थी र बच्चाको पालनपोषण गरिरहेकी हुन्थी त्यसबखत मात्र मैले ईष्याको आगोमा पिल्सिनुपरेको हुँदैनथ्यो । यदि यस्तो नहुँदो हो त त्यो घटना धेरै पहिले घटिसक्नेथियो । बालबच्चाहरूले नै उसलाई र मलाई पनि बचाएर राखेका थिए । आठ बर्षको विवाहित जीवनमा उसले पाँच जना बच्चा जन्माएकी थिई । ती पाँचैको पालनपोषण उसले स्वयं नै गरी ।”
“अहिले ती तपाईंका बालबच्चाहरू कहाँ छन् नि?”
“बालबच्चा ?”- उसले दोहोर्यायो र उसको मुखाकृतिमा आतङ्कको भाव झल्कियो ।
“माफ गर्नोस् ! सके उनीहरूको सम्झनाले तपाईंको मनमा चोट पर्छ क्या रे ?”
“हैन । चोट पर्नुपर्ने कुनै कुरा छैन । मेरा बालबच्चा मेरी साली र सालाको साथमा छन् । बालबच्चाहरू मसँगै रह्न् भन्ने उनीहरूले चाहेनन् । मैले आफ्नो सारा जायज्यथा उनीहरूकै नाउँमा लेखिदिएँ, तर उनीहरूले मलाई बालबच्चाहरू दिन चाहेनन् । उनीहरूत् मलार्इ बहुलाहा भन्ठान्छन् । भर्खरै मात्र म आफ्ना बालबच्चाहरूलाई भेटेर आउँदैछु । म उनीहरूलाई भेट्न सक्छु, तर मलाई नै बालबच्चा सुम्पिदिन उनीहरू कदापि तैयार हुनेछैनन् । यदि बालबच्चाहरू मसँग रहँदा हुन् त म उनीहरूलाई आफ्ना आमाबाबु जस्तो नबन्ने शिक्षा दिन प्रयत्नशील रहँदो हुँ । तर ती पनि आमाबाबु जस्तै होऊन् भन्ने नै सबैको चाहना छ । अँ, गर्न नै पो के सकिन्छ र ? उनीहरूले मलाई पत्यार नगर्नु र बालबच्चाहरू पनि नसुम्पनु स्वाभाविकै हो । उनीहरूको स्याहारसुसार गर्न सकुँला भन्ने कुरामा स्वयं मलाई पनि त विश्वास छैन । मलाई लाग्छ्, शायद ममा यस्तो क्षमता पनि छैन । मेरो शरीर कमजोर भैसकेको छ र जराजीर्ण बनिसकेको छ । हो, मसँग एक कुरा जरुर बाँकी छ । त्यो हो – जानकारी । मलाई ती कुराहरूको राम्रो बोध छ जसलाई थाहा पाउन अरुहरूलाई वर्षौ लाग्न सक्छ।
अँ, मेरा बालबच्चाहरू जीवित छन् र उनीहरू पनि हुर्केबढेपछि आसपासका अरू सबै जस्तै क्रूर र निर्दयी नै बन्नेछन् । मैले अहिलेसम्ममा उनीहरूलाई तीनपल्ट भेट्ने मौका पाएको छु । म उनीहरूलाई कुनै किसिमले मद्दत गर्न पनि सक्तिनँ – एकदमै सक्तिनँ । अहिले म दक्षिणतिर जाँदैछु । त्यहाँ मेरो एउटा सानो घरबारी छ ।
हो, मलाई जुन कुरा थाहा छ सो थाहा पाउन अरुहरूलाई निकै समय लाग्नेछ । हुन पनि सूर्य र अन्य नक्षत्रहरूमा फलाम कति छ र अन्य धातुहरूको मात्रा कति छ भन्ने पत्ता लगाउन धेरै समय लाग्नेछ्लैन । परन्तु जसबाट हाम्रो पाशविकताको भण्डाफोड हुन्छ त्यस रहस्यका भेद खोल्नु कठिन हुन्छ, असाध्य गाह्रो हुन्छ … ।
तपाईं मेरो कुरा सुनिरहनुभएको छ र यो पनि लरतरो कुरा होइन । यसको लागि म तपाईंप्रति कृतज्ञ छु ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।